Saturday, September 1, 2012

धर्मका नाममा अधर्म



पाकिस्तानको अदालतमा एउटा विचित्रको मुद्दा चलिरहेको छ । एक जना अपेक्षाकृत सुस्त मनःस्थितिकी १४ वर्षीया बालिकाले इस्लामावादमा खाना पकाउन कागज बाल्ने क्रममा कुरानका केही पाना पनि बालिन् रे । संयोगले ती बालिका इसाई परिवारमा जन्मेकी रहिछन् । उनले कुरानका पाना बालेको कसैले देखेको नभए पनि पाकिस्तानको अदालतमा मुद्दा चलाइएको छ । ती बालिकालाई वयस्क बन्दीसँगै झ्यालखानामा राखिएको छ । सीएनएनको अनलाइन संस्करणअनुसार यो मुद्दा सुरु भएपछि त्यहाँको इसाई समुदाय त्रस्त बनेको छ र कतिले घरबार छाडेर सुरक्षित ठाउँमा आश्रय लिएका छन् । 
कम्तीमा पनि ती बालिकालाई जमानीमा छाडेर परिवारमा फर्कन दिइयोस् भन्ने उनको वकिलको मागमा पाकिस्तानको एउटा अदालतले शनिबार निर्णय गरेन । उनलाई जमानीमा छाड्ने आदेश दिन पनि अदालतलाई सजिलो छैन। त्रु्कद्ध मुसलमान समुदायले रिस फेर्लान् कि भन्ने डर छ । प्रहरीका अनुसार ती बालिका निरक्षर छिन्। उनलाई पोलिएका कागजमा कुरानका पाना भए नभएको थाहै थिएन रे ।
यसलाई सीएनएनले मुसलमानले इसाईमाथि गरेको अत्याचारका रुपमा प्रस्तुत गर्न खोजेको भान हुन्छ। यस्ता मानवीय संवेदना भएका विषयलाई मानवीय आँखाले मात्र हेर्न सकिँदैन?
पाकिस्तानी कानुन र त्यहाँको समाज यो मध्य युगीन बर्बबरताबाट कहिले मुक्त होला ? अक्षरै नचिनेकी बालिकाले जानीजानी त पक्कै कुरानका पाना पोलेकी हैनन् । अज्ञानमा भएको गल्तीमा यति चर्को सजाय त्यै पनि धर्मका नाममा ?  यो मुद्दै अधार्मिक भएन ?
समाचारमा थप

पाकिस्तानमा धर्मका नाममा भएको अधर्मको खेलले नयाँ रूप लिएर ।कुरानका पाना पोलेको अभियोगमा बालिकालाई २ साता थुनामा राखिएपछि प्रहरीले आज एक जना मुसलमान इमामलाई पक्रेको छ । खालिद चिस्ती नाम गरेका इमामले नै ती सुस्त मन:स्थितिकी केटीको झोलामा कुरानका पोलिएका पाना हालिदिएका बयान एक जना देखिजान्ने साक्षीले दिएको बीबीसीको अनलाइन संस्करणमा प्रकाशित समाचार उल्लेख छ । 
पाकिस्तानमा धर्म द्रोह गम्भीर अपराध मानिन्छ । वैरी साध्न पनि यस ऐनको दुरुपयोग हुँदै आएको छ ।


No comments:

Post a Comment