Tuesday, September 25, 2012

सत्ताको बन्द


जनमत संग्रहताका दमौलीमा बीपी कोइराला आउँदा चरमपन्थी कम्युनिस्टहरूको एउटा समूहले मादीको पुलमा नारा लगायो - 'वीर विश्वेश्वर : मूर्दावाद।' नारा सुनेर बीपीको स्वागत गर्न पुलमा पुगेका कांग्रेसजन हाँस्न थाले। नाराको चर्कै प्रतिवाद हुने ठानेका नारा लगाउनेहरूचाहिँ जिल्ल परे। बीपीको टोली दमौली बजारतिर लागेपछि पनि उनीहरू पुलमा नारा लगाउँदै थिए। विश्वेश्वरप्रसाद कोइरालालाई मूर्दावाद भन्नेहरू पनि 'वीर विश्वेश्वर' भन्दै थिए। हाँसोको विषय त्यही भएको थियो। थर्पुबाट पठाइएका ती बाल कम्युनिस्टले कांग्रेसहरू किन हाँसे भन्ने शायद कहिल्यै बुझेनन्।


जनमत संग्रह (२०३६/३७) ताका कम्युनिस्टहरू मूलतः दुई खेमामा बाँडिएका थिए। अधिकांश पुराना नेता पञ्चायतविरुद्ध बहुदलका पक्षमा लागेका थिए। तिनको संगठन बलियो थिएन। नेकपा (माले) लगायत् चरमपन्थीले जनमत संग्रह बहिष्कारको नारा दिएर पञ्चायतलाई सघाएका थिए। विशेषगरी युवा विद्यार्थीमा यिनको प्रभाव थियो। संगठन पनि बलियो थियो। यिनले बहुदलको प्रचारप्रसारका लागि विभिन्न जिल्लामा पुग्ने नेताहरूलाई बढी सताएका थिए। हेटौँडा, ठाँटीपोखरीलगायत्का घटना बढी चर्चित भए। 
तनहुँमा 'वीर विश्वेश्वर' भन्ने नारा धेरै लाग्ने भएकाले विद्यार्थी कम्युनिस्टहरूलाई लाग्यो होला- विश्वेश्वर र वीर सँगसँगै हुन्छ। निषेधको राजनीति सिकेका थिए। यसैले मूर्दावादको नारा सहज लागेको हुनुपर्छ। बहुदलको विरोध गर्दा कांग्रेसको मेख मर्ने ठान्थे। शायद, राजनीतिक दलहरूमाथि प्रतिबन्ध हट्दा तिनकै पार्टी पनि खुला हुन्छ भन्ने विचारै गरेका थिएनन्। 
अहिले नेपाली कांग्रेसका कार्यकर्ता पनि माओवादीको लहैलहैमा ज्ञानेन्द्र शाहको आवागमनमा अवरोध पुर्यानउने कार्यमा सरिक भएको समाचारले २०३६ सालको घटनाको सम्झना भएको हो। कम्युनिस्ट र कांग्रेसको पछिल्लो पुस्तामा जीवन शैलीमा अन्तर देखिँदैन। व्यक्तिको आवागमनमा अवरोध उत्पन्न गर्न उद्यत हुने प्रवृत्तिले सैद्धान्तिक आधारमा पनि फरक मेटिएको देखियो। 
माओवादीका लागि व्यक्तिको स्वतन्त्रता 'बुर्जुवाहरूले सर्वहारामाथि अन्याय गर्न बनाएको बहाना' मात्र हो। कम्युनिस्टै भएर मार्क्स, लेनिन, स्टालिन, माओका सूत्र घोकेर हुर्केका एमाले नेताहरूलाई पनि स्वतन्त्रता अपहरण खासै असहज नलाग्नु अस्वाभाविक होइन। कांग्रेसले भने कम्तीमा सैद्धान्तिक आधारमै पनि व्यक्ति विशेषको आवागमनमा अवरोध उत्पन्न गर्नु/गराउनु हुँदैन थियो। यसबाट नेपाली कांग्रेस 'तर्बुजा कांग्रेस' मा बदलिएको सन्देहकै पुष्टि भएको छ। भारतको पश्चिम बंगाल राज्यकी वर्तमान मुख्य मन्त्री ममता बनर्जी त्यहाँका कांग्रेसलाई तर्बुजा कांग्रेस भन्ने गर्छिन्। ममताका अनुसार त्यहाँका कार्यकर्ताको चोला कांग्रेसको भए पनि आत्मा कम्युनिस्टको भएकाले त्यहाँ कम्युनिस्टले ३० वर्ष शासन गरेका हुन्। कांग्रेसहरूको तर्बुजा प्रवृत्तिबाट आजित भएपछि ममताले तृणमूल कांग्रेस नामक पार्टी बनाइन् र अन्ततः पश्चिम बंगालबाट कम्युनिस्ट शासन हटाइछाडिन्। तर्बुजाको बोक्रा हरियो भए पनि गुदी रातो हुन्छ। 
माओवादीलाई बाटो थुन्नु, व्यक्तिको सम्पत्ति लुट्नु वा विधिको शासन र व्यक्तिगत स्वतन्त्रताका मूल्य वा विशेषतासँगै चिढ छ। उनीहरू यही विधिको शासन र व्यक्तिगत स्वतन्त्रताका कारण राज गर्न नपाएकोमा चिन्तित छन्। यस्तो चिन्ता प्रधानमन्त्री बाबुराम भट्टराईले बेलाबखत प्रकट गर्ने पनि गरेका छन्। विधिको शासन, व्यक्तिगत स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत गुणहरू समाप्त पार्ने माओवादी अभीप्सा लोकतान्त्रिक हुँ भन्ने कांग्रेसहरूले बेवास्ता गर्छन् भने दोष तिनैको हो र फल तिनैले भोग्नुपर्छ। भोग्न त अरूले पनि पर्ला। अहिले ज्ञानेन्द्र शाहको स्वतन्त्रता अतिक्रमण गर्ने माओवादीले भोलि आफूलाई पनि बाँकी राख्दैनन् र त्यति बेला विरोध गर्ने नैतिक शक्ति पनि हुँदैन भन्नेचाहिँ कांग्रेस र एमालेका नेताले पनि हेक्का राख्नुपर्थ्यो। (यसै पनि ज्ञानेन्द्रलाई रोक्न त सकेनन् क्यारे! यसबाट कांग्रेस र एमालेका स्थानीय नेताहरूको दयनीय 'बौद्धिक दरिद्रता' मात्र उजागर भयो। साथै केन्द्रमा जे भनिए वा देखिए पनि र अमेरिका वा अरूले माओवादीलाई जति सुनपानी छर्के पनि गाउँमा तिनको दबदबा कायमै छ भन्ने पनि पुष्टि भयो। (आतंक त कसरी भन्नु र लोकतन्त्रको ठेकेदार अमेरिकाले सुनपानी छर्केको र सबैभन्दा ठूलो लोकतन्त्र कहलिएको भारतले पालेपोसेको संगठनको चरित्रलाई!) 
माओवादीले सरकार सुम्पेला र राज गरौँला भन्ने लोभले कांग्रेसका नेताले पार्टीको सिद्धान्त र आदर्शमात्र हैन, लोकलाजलाई पनि त्याग गरिसकेका छन्। यसैले सामान्य व्यक्तिले सहजै अनुमान गर्नसक्ने विषयमा पनि बेवास्ता गरेको हुनुपर्छ। नत्र, माओवादीले सत्ता देलान् भनेर कांग्रेसका नेताले आफ्नो सिद्धान्तसँग सम्झौता नगर्नुपर्ने हो। माओवादीको सहयोगमा प्रथम राष्ट्रपति हुने लोभमा गिरिजाबाबुले एमालेकै हाराहारीमा माओवादीलाई स्थापित गरिदिए। संविधान सभाको निर्वाचनमा हुने नहुने जे पनि गर्ने छुट माओवादीले पाए। अन्ततः माओवादी सबैभन्दा ठूलो पार्टी बन्न पुग्यो। परिणाम, माओवादीको पहिलो प्रहार तिनै गिरिजाबाबुमाथि भयो। अहिलेका सबै नेता यसको प्रत्यक्ष साक्षी हुन्। तैपनि सत्तामोहमा मति बिग्रेकाले अझै माओवादीकै जालमा लुट्पुटिइरहेका छन्। 
माओवादीले कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिँदैन। दिने पनि किन? कांग्रेसलाई दिनैपर्ने कारण के? कांग्रेसभन्दा माओवादी नै बलियो छ। जिल्लामा कांग्रेसका नेता/कार्यकर्ता माओवादीकै खटनमा हिँड्दा रहेछन्। पैसाको कुरै भएन! भारत, चीन, युरोप र अमेरिका माओवादीकै पक्षमा छन्। नेपालमा लोकतन्त्र, प्रगति वा न्याय उनीहरूको चासोको विषयै हैन। त्यस्ता विषय उठाउँदा आफ्नो स्वार्थ पूरा हुन्छ भने उनीहरू उठाइदिन्छन्। नत्र, पन्छन मन लागे त्यो अर्को मुलुकको आन्तरिक मामिला बन्छ। भित्र र बाहिर कतै पनि आड नभएको कांग्रेसलाई सरकारको नेतृत्व किन दिने? त्यसमाथि सुकदेव मुनिले नै भनिसके - कांग्रेसले मौका पाउँदैन।
संविधान सभाको निर्वाचन गर्ने सहमतिप्रति राजनीतिक नेताहरू इमानदार हुन्थे भने अहिलेसम्म धेरै विषय सल्टिसक्नुपर्थ्यो। तर, माओवादी र मधेसी मोर्चा गठबन्धन बलियो बनाउने तयारीमा लागेका छन्। सुकदेव मुनिले सम्भवतः भारतीय संस्थापनाको सन्देश दिएका छन्। उनका अनुसार 'माओवादी र मधेसी दलको चुनावमा जाने निर्णय सही हो। अब माओवादीले सिफारिस गरेको 'निष्पक्ष' व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्छ।' सुकदेव वाणी वर्षमान पुनसम्म बाटसमेत प्रतिध्वनित हुन थालेको छ- कांग्रेसलाई सत्ता दिने आधार छैन। (त्यसो त बाबुराम भट्टराईको सरकार सत्तामा बसिरहने नैतिक आधार त उहिल्यै समाप्त भएको थियो। यस्तो मापदण्ड 'मोर इक्वेल्स' हरूलाई जो लाग्दैन।) निहुँ केही बनाउनैका लागि राष्ट्रपतिलाई 'कांग्रेस' भन्न थालिएको छ। रामवरण यादव कांग्रेस हुन् तर राष्ट्रपति भएपछि उनले दलगत संलग्नता त्यागेका छन्। उनी दलगत स्वार्थमा संलग्न भएको देखिएको छैन। यसैले वर्षमानहरूको 'सुँगारटाइ' ले कुखुरा चोर्ने स्यालको चतुर्‍याइँको सम्झना हुन्छ। 
चुनाव गर्ने सहमति बुद्धिमानी हो। कांग्रेसका नेताहरूले बुद्धि पुर्याेउने हो भने सरकारको नेतृत्वका लागि 'झर्ला र खाम्ला' भनेर साँढेको पछि लागेको स्याल हुनुहुँदैन। स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउन अगुवाई गर्नुपर्छ। सत्ताबाट हट्नुपर्नेबित्तिकै माओवादीको मधेस मोह पनि भंग हुनेछ। मधेसका महन्थ ठाकुरहरू माओवादी कब्जाबाट मुक्त हुनेछन्। कारण- माओवादी र मधेसी सम्बन्ध गहिरो बनाउने मूल कारक सत्ताबाट आउने पैसा हो। त्यो मुहान सुकाउनु रावणको नाभीको अमृत सोस्नुजस्तै हो। 
सुकदेवहरूको 'रिमोट कन्ट्रोल' बाट मुलुकलाई मुक्त गराउन कांग्रेसले सत्तामोह त्यागेर राष्ट्रहितमा समर्पित हुनुपर्छ। नत्र, कांग्रेसले आवश्यकता र उपादेयता गुमाउनेछ।

No comments:

Post a Comment