Wednesday, September 12, 2012

रहस्यमय रामराजा

 रामराजाप्रसाद सिंह पञ्चायतकालमा दुई पटक चर्चामा आए - पहिलो पटक राष्ट्रिय पञ्चायतका लागि स्नातक निर्वाचन क्षेत्रबाट उमेदवारी दिएर र दोस्रो पटक नेपाली कांग्रेसको सत्याग्रह शिथिल तर सफल हुनै लागेका बेला बम पड्काएर। दुवै पटक काठमाडौंमा उनलाई रहस्यमय बनाइएको थियो। पछिल्लो घटनाका बारेमा थाहा पाउने अझै धेरै नै छन्। विवाद पनि छ। यसैले राष्ट्रिय  पञ्चायतमा उनी उमेदवार भएको, जितेको, शपथ ग्रहण गरेको, निष्कासित गरिएको र पञ्चायतभित्र त्यति बेला उत्पन्न विवादका सम्बन्धमा देखे सुनेका कुरा लेख्ने जमर्को गरेको छु।  नेपालको संविधान, २०१९ को २०३२ सालमा संशोधन नहुँदासम्म स्नातक र वर्गीय संगठनहरूबाट पनि राष्ट्रिय पञ्चायतका सदस्य निर्वाचन हुन्थ्यो। त्यस्तो निर्वाचनमा देशभर मतदाता हुन्थे। स्नातक निर्वाचन मण्डलमा सदस्य हुन विश्वविद्यालयबाट स्नातकोपाधि पाए पुग्थ्यो। देशमा अधिकांश स्नातक सरकारी कर्मचारी थिए तर स्नातक निर्वाचन क्षेत्रबाट भने पञ्चायत विरोधी वा विपक्षी राजनीतिसँग निकट व्यक्तिहरू निर्वाचित हुन्थे। विसं २०२८ को निर्वाचनमा स्नातकबाट रामराजा पनि उमेदवार बने। रामराजाको उमेदवारीले कांग्रेस समर्थकहरूमा हलचल मच्चियो। नेपाल विद्यार्थी संघका पूर्णकालीन नेताहरू सायद पार्टीको आधिकारिक लाइनका कारण अो कि निर्वाचनमा संलग्न हुनुहुँदैन भन्ने मान्यता राख्थे। अरू धेरै समर्थकहरू भने रामराजाको आकर्षक नाराका कारण हो कि उनका पक्षमा स्वतःस्फूर्त परिचालित भएका थिए। विजय भट्टराईका कारण मैले पनि त्यसबारे थाहा पाएको थिएँ। उनी त्यतिबेला शाखा अधिकृत भइसकेका थिए तर कांग्रेसी राजनीतिमा पनि सक्रियतापूर्वक संलग्न थिए। संस्कृत छात्रावासका विद्यार्थीहरूमा उनको राम्रो प्रभाव थियो। मुक्ति पण्डितहरू रामराजाको प्रचारमा लागेजस्तो लाग्छ। पञ्चायतविरुद्ध उमेदवारी दिएकाले रामराजालाई जिताएर राजा र संसारलाई नेपालका वुद्धिजीवी पञ्चायतका पक्षमा छैनन् भन्ने देखाई दिनुपर्छ भन्ने तर्कमा धेरैको चित्त बुझेको थियो। नभन्दै चुनावमा विजयी चार जनामा रामराजा पनि परे। उनलाई राष्ट्रिय पञ्चायतको शपथ ग्रहण गर्न दिनुपर्ने र दिन नहुने पक्षमा पञ्चायतभित्र चर्कै विवाद भएको थियो। रामराजालाई काठमाडौं आउन नदिन कडा सुरक्षा बन्दोबस्त सरकारले मिलाएको थियो। अकस्मात्, रामराजा काठमाडौं आइपुगे। रुद्रप्रसाद गिरि मन्त्री थिए। उनैमाथि रामराजालाई काठमाडौं ल्याएको आरोप एउटा पक्षाले लगाएको थियो। राजाले हस्तक्षेप गरेपछि रामराजाले शपथ ग्रहण गर्न पाए। तर, त्यसपछि महाभियोग लगाएर उनलाई राष्ट्रिय पञ्चायतको सदस्यताबाट हटाइयो। रामराजाको रिक्त स्थानमा पुनः निर्वाचन भयो र त्यसमा काठमाडौंकी महिला निर्वाचित भएकी थिइन्।  रामराजा काण्ड केही दिनमा सेलायो तर त्यसपछि राष्ट्रिय  पञ्चायतमा स्नातक क्षेत्र र वर्गीय संगठनबाट प्रतिनिधित्व गराउने व्यवस्था पनि हटाइयो। यस काण्डसआग जोडिएको एउटा उल्लेखनीय घटनाको भने खासै चर्चा भएन। रामराजाको निर्वाचनपछि तत्कालीन प्रमुख निर्वाचन आयुक्त पूर्णप्रसाद 'ब्राह्मण'ले पनि राजीनामा गरेका थिए। उनलाई दरबारबाट रामराजालाई मतगणनाबाटै हराउन निर्देशन दिइएको रहेछ। उनले त्यसलाई कार्यान्वयन गराउन चाहेनछन्। मतगणनामा धाँधली नगरेकामा दरबार रिसाएपछि उनले राजीनामा गरेका रहेछन्।  (यिनको कविता संग्रह झिल्को हो कि जस्तो लाग्छ त्यसको एउटा पंक्ति यस्तो छ  - ' यी दरबार गरिबका रगत हुन् निर्धक्क कब्जा गरौँ ।' जयतु संस्कृतम् आन्दोलनका नायकमध्ये यी पनि हुन्।)
रामराजा त्यसपछि २०३६ को जनमत संग्रह ताका पनि देखा परेका थिए। कांग्रेसमा उनलाई खासै रुचाइँदैन थियो। हुन पनि सत्याग्रहको विफलताको मूल दोष रामराजाको बमकाण्डलाई नै जान्छ। त्यसमा उनको उद्देश्य के थियो हात कति थियो भन्ने रहस्य अहिलेसम्म चित्तबुझ्दोसँग प्रकट भने भएको छैन।  रामराजा रहस्यमय राजनीतिकर्मी थिए तर राजतन्त्रको विरोध भने उनले सधैँ गरिरहे। अब उनी छैनन्। तैपनि, थाहा पाउनेहरूले सत्य लेखिदिए भने भविष्यमा शोधार्थीका लागि काम लाग्नेछ।   

No comments:

Post a Comment