Saturday, September 8, 2012

यसरी हेर्दा पनि हुने रहेछ


सन्तानलाई रिन लगाइदिएको छैन। पैत्रिक सम्पत्ति पनि पैसामा परिणत गरेर हिसाब गर्ने हो खासै घटाइदिएको छैन। पाँच जना छोराछोरीलाई जो सकेको पढाइयो। चार जनाको बिहा भइसक्यो। तिनले हुर्कने बेलामा रहर पुर्‍याउन पाएनन् होला तर गाँस र वासकै समस्या पनि भोगेनन्। बाबुआमा र सन्तानले परिचय दिँदा गर्व गर्ने ठाउँ बनाउन नसके पनि लाज मान्नु पर्ने कुकर्म चाहिँ गरिएको रहेनछ।
आफूले  'अमिरी' नभोगेजस्तै गरिबी पनि भोग्नु परेन। अझ गाउँका दौँतरीहरूमा त धेरै कुरामा पहिलो नै भइयो। गाउँका दौँतरीमध्ये फुन्टिन कलम, हवाइ चप्पल, काला जुत्ता, स्वेटर, घडी, रेडियो, क्यामरा, कम्प्युटर, स्मार्ट फोन पहिले प्रयोग गर्ने मै हुँ। हवाई जहाज चड्ने र विदेश जाने पनि लाहुरेबाहेक पहिलो मै हुँ। शारीरिक श्रम रहरले गरियो तर गुजाराका लागि चाहिँ गर्न परेन।  छाकै टार्न दुःख कहिल्यै भएन। राजनीतिमा छँदा बेलाबखत पैसा हुँदैनथ्यो तर आमा वा पत्नीको पेवा मासेर भए पनि काम चलाइयो। कसैसँग हात पसारिएन । विलास गरेको त नभनौ तर रहर त मेटेकै हो ।
आफैँले गर्व गर्ने काम गर्न नसके पनि लाज मान्नुपर्ने चाहिँ अहिलेसम्म केही गरिएको रहेनछ। राजनीति, समाज सेवा, सरकारी कर्मचारी र पत्रकारका रूपमा काम गर्दा शिर झुकाउनु पर्ने केही गरेको छैन। लुकाएर केही लिएको छैन। दिन नहुने कसैलाई केही दिएको छैन। जानीजानी कसैको कुभलो पनि गरेको छैन। अर्थात् जीवन जो बाँचियो त्यसमा पछुतो गर्नुपर्ने चाहिँ रहेनछ। यसैले बाँकी केही दिनका लागि अर्को बाटो रोज्न पो किन पर्‍यो र?  अहिलेसम्म नहिँडेको बाटो अब किन हिँड्नु?  ।
महाकवी देवकोटाका शब्द सापटी लिँदा -
'विलासको लालस दास छैन म 
मीठो छ मेरो रसिलो परिश्रम' । 

No comments:

Post a Comment