Thursday, September 13, 2012

पुटिनको उडान र सम्पादकको जागिर

 दी न्युयोर्क टाइम्सको अनलाइन संस्करणमा गएको सोमबार एउटा ब्लग प्रकाशित भएको छ। ब्लगर माशा गेसेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी आलोचक हुन्। उनले 'आकारविहीन व्यक्ति'  (The Man Without a Face)  शीर्षकमा पुटिनको जीवन पनि लेखेकी छन्। प्रसंग रोचक र सान्दर्भिक लागेकाले केही अंशको अनुवाद र उद्धरण प्रस्तुत गरेको छु।
माशा लेख्छिन् - 'संसारकोपुरानो मध्येको लोकप्रिय विज्ञान पत्रिकाको सम्पादकको जागिर गुमाउने काम मैले सोचेभन्दा छिटो र कम पीडादायी भयो। मेरो जागिर खोसिने कार्य कसरी होला भनेर मैले केही महिनादेखि सोच्दै आएकी थिएँ।'
पत्रिकाको प्रकाशकले केही महिना पहिले रसियन जोग्राफीकल सोसाइटीसँग साझेदारी गरे । सो सामान्य लाग्ने घटना रुसमा भने बिस्तारै व्यवसाय हात पार्ने उपाय रहेछ। रसियन जोग्राफीकल सोसाइटी भ्यादिमिर पुटिनको अध्यक्षतामा रहेको गैरसरकारी संस्था हो। मासाका अनुसार यसको अर्थ हुन्छ यसले जे चाह्यो त्यो हुन्छ। यसको कार्यालय क्रेमलिन नजिकैको चार तले घरमा रहनुलाई उनले उदाहरणका रूपमा प्रस्तुत गरेकी छन्। यस वर्षको सुरुमा रसियन जोग्राफीकल सोसाइटीका हाकिमहरूले रुसको सबैभन्दा बढी वितरण हुने पत्रिका भोक्रुग स्वेतामा अधिकार जमाउने  निर्णय गरेपछि प्रकाशकले खुरुक्कै पत्रिकाको आवरणमा रसियन जोग्राफीकल सोसाइटीको पत्रिका भन्ने छापे। प्रकाशकको स्वामित्व नाममात्रको भयो तर आर्थिक दायित्व भने पूरै उनैको रह्यो रे। पत्रकारहरू रसियन जोग्राफीकल सोसाइटीका रमाइलो र खर्चिलो अभियानहरूमा जान थाले। माशा भने अलि अप्ठेरोमा परिछन्। एकातिर नयाँ नयाँ ठाउँमा संवदाता पठाउन पाइने तर अर्कातिर अभियानको उद्देश्य भने थाहै नहुने । उनका अनुसार पैसा खर्च गर्न पाइने भएकाले खर्च गर्नेबाहेक अरू कुनै तर्क उनले भेटिनन्।  उनलाई चिन्ता लागेको अर्को विषय चाहिँ पुटिन आफैँ रसियन जोग्राफीकल सोसाइटीका प्रकृति संरक्षणका कार्यक्रमहरूमा बढी अग्रसर हुनु पनि रहेछ। माशा लेख्छिन् - ' सन् २००८ मा पुटिनले आफैँ जंगली साइबेरियन बाघलाई स्याटेलाइट ट्रान्समिटर राख्दै गरेको देखाइएको थियो। यथार्थमा वातावरणवादी ब्लगरले पछि लेखेअनुसार त्यो बाघ खबरोवस्क चिडियाखानाबाट लगिएको थियो।'  माशाका अनुसार भोक्रुग स्वेताका पत्रकार रसियन जोग्राफीकल सोसाइटीका कार्यक्रममा बढी जान थालेपछि यस्ता कथा पनि धेरै थाहा हुन थाल्यो। सन् २०१० मा पुटिनले हिउँ भालुमा स्याटेलाइट ट्रान्समिटर राखे। तर स्थानीय व्यक्तिहरूका अनुसार त्यो भालु धेरै दिन पहिले समातिएको थियो र पुटिनको भ्रमणभन्दा पहिले नै लठ्याइएको थियो।  माशाले पुटिनका पाखण्डहरूको अरू पनि उदाहरण ब्लगमा लेखेकी छन्।
ब्लगको अन्त्यतिर माशा लेख्छिन् - एक साता अगाडि शनिबार प्रकाशकले फोन गरे। साइबेरियन क्रेन (सारस) लाई जंगलमा छाड्ने कार्यक्रमको समाचार संकलनका लागि संवाददाता पठाउन राष्ट्रपतिको कार्यालयका कर्मचारीले भनेका छन्। पुटिनले सारसहरूलाई ग्लाइडरबाट बाटो देखाउने छन्। पहिलेजस्तै कुनै पाखण्ड हुने हो भन्ने मलाई लाग्यो। त्यस्तो भयो र थाहा पाइयो भने त्यो समाचार पनि लेख्नुपर्छ। त्यस अवस्थामा मेरो जागिर त जान्छ। त्यसैले मैले संवाददाता पठाउँदिन भने। तर मेरो जागि त उति नै बेला चट् भयो।
माशा लेख्छिन् - 'एक प्रकारले सन्चै भयो। रसियन जोग्राफीकल सोसाइटी साझेदारका रूपमा भित्रिएपछि जागिर जान्छ भन्ने त मलाई पहिल्यै लागेको थियो। त्यो घटनाको समाचार दिन नपाएकोमा भने मलाई पछुतो भइरह्यो। मलाई आफैँ जाने मन थियो।  दुई दिनपछि जीवशास्त्रका विद्यार्थी र संरक्षण स्वयंसेवक एक जनाले पुटिन अभियानमा प्रयोग गरिएका चरा कार्यक्रम स्थलसम्म ल्याउनु पर्दा दुईवटा मरेको समाचार ब्लगमा लेखिन्। यो समाचार खुब छिटो फैलियो। पछि उनले आफूले विवाद बढाउन नखोजेको स्पष्टीकरण दिइन् र 'पुटिनले नै मारेका त हैनन् नि!' भनेर पन्छिइन्। माशा अन्त्यमा लेख्छिन् - 'त्यहाँ साँच्चै के भएको हो मलाई थाहा छैन। दुर्भाग्यवश, म त्यहाँ हुन पाइन।'
 पाखण्डी पुटिन र तिनका गुलामहरू जताततै छन्। त्यसैले माशाहरू पनि हुन्छन्।
तैपनि, पढ्न रमाइलै छ हैन?  

1 comment:

  1. यस्तो अर्थपूर्ण सामग्री अनुवादका लागि गोविन्द सरलाई धेरैधेरै धन्यवाद, पत्रकारिताका विद्यार्थी र अभ्यासकर्ताहरू सबैले एक पटक पढ्नै पर्ने सामग्री

    ReplyDelete