Tuesday, August 5, 2014

काजीहरूलाई झड्का !

संसारको चौथो ठूलो लोकतन्त्र इन्डोनेसियाका जनताले २०१४ जुलाई ९ को मतदानबाट छाप्रामा हुर्किएका सिकर्मीलाई आफ्नो शासक राष्ट्रपति चुनेका छन्। हाल जाकार्ताका मेयर जोको (जोकोई) विदोदोे गएको मंगलबार ५३ प्रतिशतभन्दा बढी मत हासिल गरी राष्ट्रपति पदमा विजयी भएको घोषणा त्यहाँको निर्वाचन आयोगले गरेको छ। 

उनका प्रतिद्वन्द्वी उमेदवार जर्नेल प्रबोओ सुबिआन्तोले भने चुनावमा धाँधली भएको आरोप लगाएर अन्तिम अवस्थामा मतगणना बहिष्कार गरेको घोषणा गरेका छन्। जर्नेल सुबिआन्तो इन्डोनेसियामा ३१ वर्षसम्म एकछत्र राज गर्ने जर्नेल सुहार्तोका ज्वाइँ हुन्। सुबिआन्तोले अहिले जे भने पनि मत सर्वेक्षणहरूमै जोकोइ विजयी हुने प्रक्षेपण गरिएको थियो। जोकोईको जितलाई इन्डोनेसियाली राजनीतिमा नयाँ लोकतान्त्रिक युगको थालनीका रूपमा हेर्न थालिएको छ भने अन्तर्राष्ट्रिय जगतमा सत्तामा भारदारहरूको प्रभुत्वविरुद्ध जनमतको अभिव्यक्तिका रूपमा लिइएको देखिन्छ। 
सामान्य गरिब परिवारमा मध्यजाभाको एउटा सहरमा रहेको छाप्रे बस्तीमा ५३ वर्ष अघि जन्मेका जोको विदोदोले सिकर्मीका रूपमा काम थालेका थिए र पछि फर्निचर व्यापार गर्थे। सन् २००५ मा मात्र जोको राजनीतिमा प्रवेश गरेका रहेछन्। गृहनगर सोलोमा २ पटक प्रमुख निर्वाचित भएपछि जोकोईलाई जाकार्ताको मेयरमा उठाइयो। जाकार्ताको मेयर पदमा बहालै छँदा उनलाई मेगावती सुकार्नोपुत्रीको दल इन्डोनेसियन डेमोक्य्राटिक पार्टीले राष्ट्रपतिको उमेदवार बनाएको थियो। 
धेरै हदसम्म नेपालका बीपी कोइरालासँग तुलना गर्न सकिनेे सुकार्नोलाई जर्नेल सुहार्तोले सत्ताबाट अपदस्थ गरेका थिए। (बीपीले धेरै चर्चा गरेका 'आइडिट फमुर्ला’ यिनै सुकार्नोसँग जोडिएको छ। इन्डोनेसियाली कम्युनिस्ट पार्टीका महासचिव डीएन आइडिटले सुकार्नोका कमजोरीहरूलाई प्रयोग गरेर राष्ट्रपति भवनमा घुसपैठ र पछि प्रभाव बढाउन थाले। विशेषगरी प्रशंसा रुचाउने उनको कमजोरीलाई प्रयोग गरेर सुकार्नोलाई कम्युनिस्टहरू घेरिसकेका थिए। उनैलाई प्रयोग गरेर सत्ता कब्जा गर्ने कम्युनिस्ट रणनीति सेनाले थाहा पाएपछि ठूलो नरसंहार गरेर सत्ता हातमा लिएको थियो। बीपीले आफूलाई पनि राजाका मानिसहरूले त्यसरी नै घेरेर सबै सूचना दरबार पुर्याहएको चर्चा चाहिँ खासै गरेका छैनन्। तर त्यही प्रकृतिको षड्यन्त्र बीपीविरुद्ध भएको र बीपीले पनि डा. तुलसी गिरीलगायतलाई बढी नै च्यापेको गुनासो रुद्रप्रसाद गिरीहरूले धेरैपछिसम्म गर्थे। ) तिनै सुकार्नोकी छोरी मेगावतीसमेतको नेतृत्वमा आन्दोलन इन्डोनेसियामा लोकतान्त्रिक आन्दोलन भएको थियो। सुहार्तो पद त्याग गर्न बाध्य भए। त्यसपछि भएको निर्वाचनमा चुनिएका राष्ट्रपति अपदस्थ गरिएपछि केही वर्ष मेगावती बहुसंख्यक मुसलमान भएको इन्डोनेसियाको राष्ट्रपति भएकी थिइन्। अहिले तिनै मेगावती सुकार्नोपुत्रीको पार्टीका उमेदवारले जर्नेल सुहार्तोका जर्नेल ज्वाइँ सुविआन्तोलाई हराएका छन्। छाप्रोमा हुर्केको र राजपाठको खासै अनुभव नभएको व्यक्ति जोकोईले राष्ट्रपतिको कार्यभार समाल्न सत्तै्कनन् (सुहाउँदैन पो भनिएको हो कि?) भन्ने प्रचार निर्वाचन अभियानमा गरिएको थियो। जनताले भने छाप्रामा हुर्केको त्यही सिकर्मीलाई पत्याए।
इन्डोनेसियाली चुनावले लोकतन्त्रमा नयाँ युग सुरु भएको संकेत त गरेको हैन! हुनत, इतिहासमा यस्ता असामान्य लाग्ने घटना सामान्यरूपमा थुप्रै भएका छन्। सन् २००८ मा अमेरिकाको ४४ औं राष्ट्रपतिका रूपमा अश्वेत बाराक हुसेन ओबामाको जित संसारलाई नै तरंगित पार्ने घटना थियो। लामो र धेरैहदसम्म स्थिर लोकतान्त्रिक शासन प्रणाली भएको अमेरिकामा समेत अल्पसंख्यक र उत्पीडनमा परेको समुदायको व्यक्ति राष्ट्रपति निर्वाचित हुनु असामान्य घटना नै थियो। यसैगरी भारतको १६ औं लोकसभाको निर्वाचन परिणामले पनि संसारलाई लगभग चकित बनाएको थियो। भारतीय जनता पार्टीको स्पष्ट बहुमत आएको वा भारतीय कांग्रेसले इतिहासमै सबैभन्दा नराम्ररी हारेका कारणले संसार चकित भएको हैन। रेल स्टेसनमा चिया बेचेर हुर्केका नरेन्द्र मोदीलाई सत्ताको शिखरमा पुर्यालउने भारतीय जनताको निर्णयले संसारलाई तरंगित बनाएको हो। मोदीले चुनावका बेला स्टेसनमा चिया बेचेको अतीतलाई पनि प्रचारको विषय बनाएका थिए। 
( अमेरिकामा चुनाव हार्नेले धाँधलीको आरोप लगाउँदैनन्। अमेरिकाका ४३ औं राष्ट्रपतिका रूपमा सन् २००० मा जर्ज बुस निर्वाचित हुँदा चुनाव विवादास्पद थियो तर, पराजित उमेदवार र पार्टीले धाँधलीको आरोप लगाएनन्। भारतकै चुनावमा पनि यसपटक धेरै ठूला पार्टी र हस्ती हारे तर कम्युनिस्टबाहेक अरूले धाँधलीको आरोप लगाएनन्। इन्डोनेसिया र नेपालमा पनि चुनाव हार्नेले धाँधलीको आरोप लगाए। दुवै देशको चुनावको परिणाम केही हदसम्म पूर्वानुमान अनुरूपै थियो। किन? लोकतन्त्रको अभ्यास परिपक्व नभएर हो? )
ओबामा, मोदी र जोकोई कोही पनि क्रान्तिकारी नेता हैनन्। सामान्य प्रणालीभित्रै देखिएका अलिकति असामान्य पात्रमात्रै हुन्। ओबामाबाट धेरै परिवर्तनको अपेक्षा गर्नेहरू निराश भएका छन्। मोदी र जोकोईबाट पनि खासै ठूलो परिवर्तनको अपेक्षा गर्नु मूर्खता हुनेछ। कारण, यी सबै प्रचलित प्रणालीकै अंग र उपज हुन्। तैपनि, संसारका ठूला लोकतन्त्रमा देखिएको यो परिवर्तन लामो समयदेखि रहेको कुलीनतन्त्र (काजीराज) विरुद्ध व्यक्त जनमत भने पक्कै हो। यसैले यस परिवर्तनको दूरगामी प्रभाव संसारकै राजनीतिमा पर्न पनि सक्छ। 
अहिले, संसारका ठूला मुलुकमध्ये चीनमा मात्र 'काजीका छोरा नै काजी’ छन् अहिले। राष्ट्रपति सी जिनपिङ वरिष्ठ कम्युनिस्ट नेता सी जोङसुनका छोरा हुन्। चीनमा शासकहरूको जीवनशैली सम्राटहरूको भन्दा कम विलासी नभएको खुलासा धेरैले गरेका छन्। सायद, यसैले नेपालका राजा चौतारामा देखिँदा गीत लेखिएजस्तै चीनका राष्ट्रपति पसलमा लाम लागेर रोटी किन्दा वा कुनै रेस्टुराँमा खाना खान जाँदा अन्तर्राष्ट्रिय समाचार बन्ने गरेको हो। चीनमा जनताले शासन चुन्ने शासन व्यवस्था छैन। नयाँ सम्राटका कृपापात्र केही काजीहरूको जनकांग्रेसले जनताका नाममा सबै निर्णय गर्छ। रुसी राष्ट्रपति पुटिनका बाजे लेनिन र स्टालिनका दरबारमा काम गर्थे रे। 
यसो त शासनमा सामान्य जनताको पहुँच र प्रभाव धेरै हदसम्म आलंकारिकमात्रै हुनसकेको छ। संसारमा एकाध मुलुक छाडेरसबैतिर जनताका नाममा काजीहरूले नै शासन गर्दै आएका छन्। जर्ज बुसको बाबु छोरै राष्ट्रपति भए अमेरिकामा। अर्का बुससमेत लाममा छन्। यत्ति हो लोकतान्त्रिक शासन प्रणाली भएका मुलुकमा जनताले बेलाबखत काजीहरूलाई चकित बनाइदिन्छन् र आफूजस्तै कसैलाई छान्छन्। राजा र राष्ट्रपतिका बीचमा भेद हुन्छ भन्ने देखाइदिन्छन्। सायद, ओबामा, मोदी र जोकोई यसैका उदाहरण हुन्। 
काजी र साहुजीकै धरमा जन्मनेको नियत असल नै भए पनि जनसाधारणको मर्म बुझ्न सत्तै्कनन्। प्रसिद्ध दार्शनिक लियो टल्सटायको प्रसंगमा कतै पढेको सम्झना हुन्छ। साथीले सम्भ्रान्त परिवारका टल्सटायले गरिबी नभोगेका हुनाले दरिद्रहरूका बारेमा लेख्नु बेइमानी हो भनेछन्। अनि गरिबी भोग्नका लागि सबै सुविधा छाडेर टल्सटाय गरिबहरूको बस्तीतिर लागेछन्। केही समय त्यहाँ बिताउँदा उनलाई गरिबीको भोगाइले पीडा हैन गर्वजस्तो अनुभव भयो रे। ’ तर सामान्य जनताका सन्तान पनि जब जंगी, निजामती वा राजनीति 'सेवा’ मा प्रवेश गर्छ अनि ऊ जनसाधारण रहँदो रहेनछ। सेवाबाट निस्कने बेलामा त ऊ उतैको हुँदो रहेछ। आफूलाई उसले सामान्य जनताभन्दा विशिष्ठ ठान्दोरहेछ। नेपालका ठूला लोकतन्त्रवादी र कम्युनिस्ट नेताहरूको तिनको जीवनशैली हेर्दा यो विडम्बना छर्लंग हुन्छ। जेलमा बस्दा अनेकौंपटक जेल सुधारका लागि आन्दोलन गर्ने कुनै नेताले त्यहाँबाट निस्केपछि जेल सुधारका लागि गम्भीर प्रयास गरेको अहिलेसम्म देखिएको छैन। गरिबीका बारेमा पनि सायद यही दृष्टान्त लागु हुन्छ। सत्तामा पुगेको गरिब वा शोषण, दमन सहेको व्यक्तिले गरिबी निवारणको गम्भीर प्रयास गरेको उदाहरण भने बिरलै पाइन्छ। यद्यपि, सामान्य व्यक्तिको असामान्य उदयले जनतामा भने आशा जगाउँदो रहेछ। कुनै अध्ययन भएको त थाहा छैन तर अमेरिकामा ओबामाको उदय 'अकुपाई वालस्ट्रिट’ आन्दोलनको कारक हुनसक्छ। ओबामाप्रतिको अपेक्षा पूरा नभएपछि असमानता र शोषणका विरुद्ध थालिएको त्यस आन्दोलनको प्रतिध्वनि संसारभर विभिन्न रूप र शैलीमा सुनिएको थियो। अरब जागरणको बीउसमेत त्यसैमा खोज्नेहरू पनि छन्। बहुसंख्यकका पक्षमा परिवर्तन नभए पनि अकुपाइ आन्दोलनले संसारका नीति निर्माताको ध्यान पक्कै आकर्षण गरेको हुनुपर्छ। 
जनताका छोराको सत्तारोहण यथास्थितिलाई बलियो बनाउने अश्त्र बन्न पुग्ने खतरा पनि छ तर सायद 'पुर्पुरोमा लेखेर’ नल्याए पनि राजकाज गर्ने अधिकार पाइन्छ भन्ने मान्यता स्थापित हुँदैगएको हो भने त्यस परिवर्तनबाट संसारको भलो नै हुने आशा चाहिँ गर्न सकिन्छ। यद्यपि, छाप्रामा हुर्केकाहरूको उदयले 'बढा द्यौता अलिकति जल्ने’ र तपस्या भंग गरिने खतरा पनि छ।

No comments:

Post a Comment