Monday, August 18, 2014

'कामराज’ खोज !

अहिलेको समयलाई सुहाउने गरी प्रधानमन्त्री सुशील कोइरालाले पार्टी र सरकार हाँक्नसकेको देखिएको छैन। यसैले तीव्र परिवर्तन र प्रगतिको अपेक्षा गर्ने जनमत बिस्तारै कोइरालाबाट निराश हुँदैगएको छ। यस्तो अवस्था जति लम्मिन्छ देश, कांग्रेस र कोइराला सबैलाई उति नै नोक्सान हुन्छ। तर, सुशील कोइरालाले पद त्याग गर्दैमा समस्या समाधान हुने पनि देखिँदैन। 

कांग्रेसलाई पन्छाएर सरकार त जेनतेन चल्ला तर संविधान बन्दैन। यसैले संविधान नबन्दासम्म सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ। कोइरालाको सहमतिबिना कांग्रेसकै अर्को नेता प्रधानमन्त्री बने स्थिति झन् बिग्रनसक्छ। किसुनजीलाई हटाएर २०५६ सालमा गिरिजाबाबु प्रधानमन्त्री भएकै दिन पार्टी विभाजन र लोकतन्त्र हरणको बीउ रोपिएको थियो। सुशील कोइरालाले प्रभावकारीरूपमा नेतृत्व गर्न नसक्ने, कांग्रेसको अर्को कुनै नेताबाट पनि समस्या समाधान नहुने र कांग्रेसबिना पनि संविधान बन्न नसक्ने जटिल अवस्थामा देश फसेको छ। यसबाट उम्कन कांग्रेस पार्टीले गति लिनसक्नुपर्छ। पार्टी गतिशील हुने उपाय के हुनसक्छ त? नेपाली कांग्रेसको विनिर्माण। अर्थात्, नयाँ स्वरूपको 'कामराज योजना’।
के हो कामराज योजना?
भारतको राजनीतिबारे रुचि राख्ने धेरैले अखिल भारतीय राष्ट्रिय कांग्रेसका नेता के. कामराजको चर्चा सुनेकैे हुनुपर्छ। कम्तीमा नेपाली कांग्रेसको नेतृत्वमा पुगेका ६० वर्ष नाघेका नेताले त पक्कै पनि कामराज योजनाका बारेमा थाहा पाएका होलान्। ( थाहा नपाउनेले गुगल गरे हुन्छ।) सन् १९६२ को उपनिर्वाचनमा डा. राममनोहर लोहिया लगायतका प्रखर कांग्रेसविरोधीहरू विजयी भए। लगातार ३ पटक संसदीय निर्वाचन जितेको र प्रधानमन्त्री जवाहरलाल नेहरूलगायत उनै नेताले नेतृत्व गरेको भारतीय कांग्रेसप्रति जनतामा असन्तोष बढ्दै गएको संकेत थियो त्यो। कामराजले सन् १९६३ वरिष्ठ नेताहरू सत्ता छाडेर पार्टीको काममा जाने र नयाँ पुस्तालाई सरकारमा पठाउने योजना बनाए। उनको युक्तिले भारतीय कांग्रेसलाई नयाँ जीवन दियो। जनतामा संगठन र सरकारको छविमा सुधार गर्योउ भने कार्यकर्तामा पनि उत्साह र आत्मविश्वास बढायो। इन्साइक्लोपेडिया ब्रिटानिकाले 'कामराज प्लान’लाई सजिलोसँग बुझिने गरेर लेखेको छ — ' कांग्रेस पार्टीलाई जनस्तरमा पुनःस्थापित गर्ने कार्यमा संलग्न हुनका लागि उच्च तहका केन्द्रीय तथा राज्य स्तरका पदाधिकारीको स्वेच्छिक पदत्याग।’ यो ५० वर्ष पहिलेको भारतमा अपनाइएको उपाय थियो। अहिले नेपाली कांग्रेसलाई गति दिन पनि कामराज योजनाजस्तै तर देश, काल र परिस्थिति सापेक्ष उपाय आवश्यक छ। 
सुशील कोइरालाले अत्यन्त जटिल समयमा मुलुकको नेतृत्व गर्नुपरेको छ। नियतिले उनलाई इतिहास बनाउने अवसर र जिम्मेवारी दिएको छ। लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व गरेर मुलुकलाई अस्थिरताको भुमरीबाट पार लगाउने जिम्मा इतिहासले उनलाई दिएको छ भने पार्टीलाई पनि युगअनुसारको आधुनिक र सक्षम नेतृत्वको जिम्मा उनले लगाउनु छ। लोकतन्त्र र राष्ट्रियता कमजोर हुन नदिन कांग्रेस पनि सुदृढ र युगसापेक्ष हुनुपर्छ। अहिले जसरी नियतिले डोर्या्एको बाटामा हिँडिदिएरमात्र कांग्रेसले समयको गति पछ्याउन सत्तै्कन। नेपाली समाजमा आएको आमूल परिवर्तन आत्मसात् गर्न र जनसाधारणसँग सम्बन्ध जोड्न पनि कांग्रेसले नयाँ केही गर्नैपर्छ। विडम्बना, यति सरल र स्पष्ट यथार्थ बुझ्न र स्वीकार गर्न पनि कांग्रेसका अहिलेका नेता तत्पर र अग्रसर देखिएका छैनन्। 
कांग्रेसमा कामराज योजना किन? 
स्थायी सत्ताले स्वीकार गरिनसकेको भए पनि नेपालको राजनीति संघीय र समावेशी भइसकेको छ। यसैगरी अब शासन चलाउन बहुमतै आए पनि 'साझेदारी' (कोयलेसन) संस्कार र शैली अपनाउनु पर्छ। शासनमा जनताको स्वामित्व यथार्थमै चरितार्थ हुनेगरी राज्यको पुनःसंरचना अब अपरिहार्य छ तर कांग्रेसका शीर्ष नेता भने मानसिकरूपमा २०४८ सालभन्दा अगाडि बढ्नैसकेका छैनन्। लाग्छ, आजका कांग्रेस र कम्युनिस्ट नेता पञ्चायतको विरोध गर्दागर्दै मानसिकरूपले पञ्चजस्तै एकात्मकवादी अर्थात् 'कमलकोटी' भइसकेका छन्। लोकतन्त्रले सामान्य जनताका छोराहरूलाई प्रधानमन्त्री त बनायो तर उनीहरू लोकतान्त्रिक हुनसकेनन्। तिनले सत्तालाई सिंहदरबारको घेराबाट सत्ता बाहिर उम्काउनै खोजेनन्। गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले समेत अन्ततः सिंहदरबारको पर्खाल र सम्भ्रान्तको खोपीबाट बाहिर निस्कने चेष्टा गरेनन्। विसं २०४८ सालमा रामशरण महत र महेश आचार्यका नीति अपेक्षाकृत प्रगतिशील थिए। मुलुकलाई अहिलेसम्म त्यति बेलैको गतिले घचेटी रहेको छ। अहिले पनि उनीहरू नै मन्त्री छन्। तिनलाई पुरानै नीति र मान्यता प्रिय लाग्नु अस्वाभाविक होइन। तर, अहिले समय त फेरिइसक्यो। बजारमुखी अर्थतन्त्रका कमजोरी धेरै उजागर भएका छन् भने परम्परागत लोकतन्त्रले जनताको पूर्ण प्रतिनिधित्व गर्न नसकेर समावेशी प्रतिनिधित्वको खोजी भइरहेको छ। सन् १९९० को दशक यता संसारमा भएका आर्थिक, राजनीतिक, सामाजिक प्रगति र परिवर्तन नेपालमा शासन संयन्त्रले आत्मसात् गर्न सकेको छैन। यसैले मुलुकको शासनलाई पनि एक्काइसौं शताब्दीमा पुर्या उन कांग्रेस तयार र अग्रसर हुनुपर्छ। त्यसको उपाय कांग्रेसको विनिर्माण हो। वरिष्ठ नेताहरूले कार्यकारी पद छाडेर स्थानीय तहमै पार्टीको विनिर्माण सुरु गर्नसक्छन्।
विनिर्माण कसरी? 
सबैभन्दा पहिले लामो समयदेखि सत्तामा रहेका, धेरै पटक मन्त्री भएका वरिष्ठ नेता सरकार छाडेर पार्टीको काममा लाग्नुपर्छ। उनीहरूले कार्यकारी पद छाडे पनि सक्रिय राजनीति छाड्नु पर्दैन। त्यसो भए नयाँ नेतृत्वको विकास पनि हुनपाउँछ भने तिनले अनुभवी नेताको साथ पनि पाइरहन्छन्। संसद्मा निर्वाचित वरिष्ठ नेताले संविधान निर्माणमा ध्यान केन्द्रित गरे हुन्छ। कांग्रेसमा नयाँ पुस्तालाई अगाडि सार्ने हो भने प्रतिस्पर्धी र सहयोगीहरूको पनि विश्वास लिन सहज हुनेछ। 
नेपाली कांग्रेसका ६० वर्षमाथिका विशेषगरी नेपाल विद्यार्थी संघका स्थापना काल एवं त्यसभन्दा पहिलेका नेताले सरकार छाडेर पार्टीमा सक्रिय हुन गाउँ फर्के भने 'कामराज योजना’को नेपाली संस्करण लागु हुनेछ। यो नेकपा (एमाले) को ७० नाघेका नेता कार्यकारी पदमा नबस्ने भनेजस्तो अवकाश लिने निर्णय चाहिँ होइन। एमालेको निर्णय कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरणको उत्तराधिकार कायम गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ। कांग्रेस कम्युनिस्ट वा फासिस्ट प्रकारको संगठन हैन। यसैले नियोजित अवकाश आवश्यक छैन। सरकारमा पनि सकेसम्म ३०—४० वर्ष उमेर समूहका नेतालाई पठाएर सांसद्कोे औसत उमेरका अनुपातमा सरकारमा युवा सहभागिता धेरै बनाएमा पार्टीमा नयाँ रक्त सञ्चार हुनेछ। पार्टीलाई सकेसम्म प्रत्येक व्यक्तिसम्म पुर्या उने प्रकारको संरचना र कार्यशैली अपनाउनुपर्छ। पार्टीको संरचना र संगठन विधिमा सुधार नगर्ने हो कांग्रेस बिस्तारै पुस्तैनी पार्टी बन्ने जोखिम बढेको छ। शीर्ष तहका नेताले कार्यकारी पद छाड्ने हो भने त्यसपछि पार्टी विनिर्माणको चरण सुरु हुनसक्छ। 
कांग्रेसका नेताहरू मन्त्री पद छाडेर गाउँमा गएर बस्ने हो भने त्यहाँको सामाजिक संास्कृतिक उन्नति हुनसक्छ। गाउँका स्कुल कलेजमा गएर पढाउने हो भने त स्थिति नै अर्को हुन्छ। नयाँ पुस्तासँग प्रत्यक्ष संवाद सुरु हुन्छ। सडकको ढुकढुकी सुन्ने अवसर नेताले पनि पाउँछन्। अहिले ६० नाघेका कांगे्रसका सबै केन्द्रीय नेता आफैँमा इतिहास हुन्। तिनको उपेक्षा कसैले गर्न सक्नेछैन। गाउँमा बसेर जनतालाई सघाउन थाल्ने हो भने जनताको सत्तामा प्रत्यक्ष पहुँच कायम हुनेछ। लोकतन्त्रप्रति जनतामा मोह उत्पन्न हुनेछ। उदाहरणका लागि रामशरण महत आजभन्दा करिब ४५ वर्ष पहिले लमजुङका विद्यालयमा पढाउन पुगेका थिए। त्यति बेलाको ऊर्जा, आनन्द र सन्तोष फेरि पाउन त्यस्तै रचनात्मक र ऊर्जाशील कामको नेतृत्व गर्नुपर्छ। केही नयाँ थालनी गर्नुपर्छ। डा. महतले नुवाकोटको विकासका लागि त्यहीँ बसेर केही गर्ने प्रयास गरे भने त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा कायापलट हुनसक्छ। अनि सन्तोष पनि लाग्न सक्छ। राजनीति नै छाड्ने त होइन। आवश्यक भयो र मन लाग्यो भने सत्तामा पुःन फर्के हुन्छ। कामराज योजनाअनुसार राजीनामा गरेका लालबहादुर शास्त्री तुरुन्तै बिनाविभागीय मन्त्री बनाइए। नेहरूको मृत्युपछि शास्त्री प्रधानमन्त्री भए। 
कांग्रेसको शीर्ष नेतृत्वमा रहेका नेताहरू २०४६ पूर्व अवसर नपाएको गनगन धेरै नै गर्थे। यही क्रममा कतिपयले पार्टी छाडेर हिँडेका थिए। आँट नहुने कति जना चुकचुकाएर बस्थे। त्यति बेला अवसरका लागि पञ्चायतमा हामफाल्त उद्यत नेताहरूले २०४६ पछि अवसरै अवसर पाइरहे। राजनीतिमा २०३६ पछि सक्रिय पुस्तामा नेपाल विद्यार्थी संघका संस्थापकमा भन्दा बढी ऊर्जा र नयाँ 'भिजन’ हुनसक्छ। तिनले अवसर पाउन धेरै ढिलो भइसक्यो। नेताहरूले उति बेलाको आफ्नो छटपटी सम्झेर परिवर्तनको ढोका खोल्नु पर्छ। नत्र नेपाली कांग्रेस 'ज्येष्ठ नागरिक क्लब’ बन्नेछ।

No comments:

Post a Comment