Monday, July 14, 2014

जनताको बाटो

गएको साता राजधानी नेकपा (एमाले) मय भएको थियो। सञ्चारका सबै माध्यममा एमालेकै चर्चा भएका थिए। उद्घाटनका दिन केही कार्यकर्ता (?)ले सानोतिनो उपद्रो के गरेका थिए साताभर भृकुटी मण्डपबाट पुतलीसडक जाने बाटै थुनिदियो प्रहरीले। गृह मन्त्रीको पार्टीको महाधिवेशन। तलमाथि भइहाल्यो भने के गर्ने भनेर होला प्रहरीले बढी नै सावधानी अपनायो। सामान्य जनताको सुविधाको चाहिँ वास्तै गरेन। कानुन व्यवस्था कायम राख्न प्रहरीले चाहिँ गैरकानुनी काम गरे पनि कसैले टाउको दुखाउँदैन नेपाली समाजमा। साँच्चै बाटै थुन्न परेको भए निषेधित क्षेत्र घोषणा गरेको भए पनि हुन्थ्यो। जिम्मेवारी लिने बानी त लाग्थ्यो। 
एमालेको महाधिवेशनमा नयाँ पुराना थुप्रै बाहुबलीभित्रै छन्। त्यहाँ निरीह जनताले भित्र पसेर त के पो गर्न सक्थेहोलान् र? त्यसमाथि बाटो हिँड्नेहरूलाई भित्र जे गरे पनि केको टाउको दुखाइ? बरु, हुलमुलमा आफ्नै टाउको जोगाउने चिन्ता बढी हुन्थ्यो त्यो बाटो हिँड्दा। बढुवामा चित्त नबुझ्नेबित्तिकै अदालतमा पुग्ने बानी परेका प्रहरीका हाकिमहरूले जनताको पनि अधिकार र स्वतन्त्रता हुन्छ र त्यसको संरक्षणलाई प्राथमिकता दिनुपर्छ प्रहरीको कर्तव्य हो भन्ने कहिले हेक्का राख्ने होला? ठूला हाकिमले त यस्ता विषयलाई बेवास्ता गर्छन् भने व्यस्त चोकका ट्राफिक प्रहरीले जेब्रा क्रसिङमा उभिएका पैदल यात्रुलाई १५ मिनेट कुराएर मोटरलाई बाटो दिइरहे भनेर के पो गुनासो गर्नु? नेपालमा प्रहरीले सामान्य व्यक्तिलाई पनि ठालुहरूजत्तिकै सम्मान र महत्व दिने दिन हाम्रो पुस्ताले देख्न पाउला कि नपाउला? तर, कुनै न कुनै दिन त पक्कै जनताको पनि महत्व होला नि 

No comments:

Post a Comment