Monday, June 2, 2014

मैले पाएको पुरस्कार


फेसबुकमा सन्देश आयो -  नमस्कार सर, मलाई चिन्नुभयो? उत्तर फर्काएँ - चिन्न सकिन। उनले आफ्नो नाम भनेर र युसेपमा तालिम लिएको त्यहाँको प्रेसमा काम गरेको बताएपछि सम्झेँ। कान्तिपुरको पुरानो कार्यालयमा रहेको क्यान्टिनमा काम गर्दै गरेका एक जना भाइलाई मैले युसेप लगेको थिएँ। उनले राम्ररी तालिम लिएर प्रेसमा काम थालेका थिए। अहिले ती भइ मलेसियामा काम गर्दै रहेछन्। 
त्यसभन्दा पहिले अर्का एकजना भाइले पनि त्यसरी नै सोधे - चिन्नुभयो सर? फेसबुकमा उनको नाम र तस्बिर भएकाले मैले उनलाई चिने होला भन्ने उनको अनुमान अस्वाभाविक थिएन। तर केटाकेटी छिटो बढ्छन्। चिन्न कठिन हुन्छ। त्यसमाथि बुढ्यौलीले हो  िक अलिअलि बिर्सने रोग लागेको मैले कसरी चिन्नु? अन्दाज गरेर भनेको ती त अर्कै व्यक्ति रहेछन्। उनले आफू युसेपको बाल सुधार गृहमा बसेको भनेपछि चाहिँ सम्झेँ। अहिले उनी युसेपकै कार्यक्रममा राजधानीबाहिर काम गर्दै रहेछन्। 
केही महिना पहिले काठमाडौंमा ठेलामा चना भटमास बेच्दै गरेका अर्का भाइ भेटिएका िथए । उनी पनि बाल सुधार गृहमा बसेका रहेछन्। उनैले बोलाए। िबहा गरेछन्। राम्रै कमाइ गर्दा रहेछन्।
खुसी लाग्यो। ितनीहरूको प्रगतिमा र सम्झेकोमा ।
 कानुनसँग विवादमा परेका भनिने बालबालिकाका लागि सुधार गृह स्थापना र सञ्चालनमा केही वर्ष म पनि संलग्न भएको थिएँ। नेपालमा पहिलो प्रयोग थियो। सरकारकाे कारागार गैरसरकारी संस्थाले चलाएको। त्यसलाई भारतमा बाल न्यायका क्षेत्रमा नाम चलेकाे संस्था ‘प्रयास’ का संस्थापक आमोद कण्ठ र अगुवा बाल अधिकारकर्मी कैलाश सत्यार्थीले  'दक्षिण एसियाकै नौलो र उत्कृष्ट प्रयोग ‘ भनेर सराहना गरेका थिए। अर्थात्, काम राम्रै थियो र राम्रैसँग भएको थियो। 
गोपाल, प्रदीपहरूको  प्रगति र सम्झना मलाई सामाजिक संस्थामा काम गर्दाकाे सबैभन्दा ठूलो पुरस्कार लाग्छ ।  
पत्रकारितामा सन्तोष लागेको एउटा प्रसंग । अख्तियारले सरकारका २२ जना कर्मचारीलाई आधारातमा पक्रेर मुद्दा लगायो। मलाई तिनलाई पक्रन गएको समय र शैली पटक्कै चित्त बुझेन। सबै पत्रकारले अख्तियारको गुन गाएका बेला मैले कर्मचारीलाई दिउँसै पक्रेको भए हुन्थ्यो र तिनका लालाबालालाई आतंकित पार्नु अमानवीय व्यवहार हाे भन्ने लेखेँ। सरकारका प्रवक्ता थिए जेपी गुप्ता। उनले आधारातमा पक्राउ गर्नु सही हो भने । ( पछि जेपी र तेतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवासमेत राज्यको ज्यादतीको सिकार भए।) धेरै वर्षपछि तीमध्येका एक जना कर्मचारीसँग कुनै समारोहमा भेट भयो। मैले नाम पनि सम्झेको थिइन। मेरालागि त्यो एउटा स्तम्भको विषय न थियो। उनले परिचयपछि म तेही समानान्तर लेख्ने स्तम्भकार हो भन्ने चिनेर गहभरी आँसु पारेर भने - सबैले दुत्कारेका र आफन्तले समेत टाउको बटारेका बेला तपाईँले त्यति लेिखदिँदा पनि घाउमा मलम लगाइदिए जस्तो भएको थियो। धन्यवाद भन्ने धोको थियो। आज पूरा भयो।  
तेसाे त, एक पटक तक्मा लिने मौका परेको थियो। समाज कल्याण परिषद्मा छँदा। भुटानी शरणार्थी व्यवस्थापनको प्रारम्भिक चरण र २०५० को बाढी पीडितको उद्धार, पुनःस्थापना र पुननिर्माण राम्रैसँग भएको थियो। म पनि त्यसमा संलग्न थिएँ। तक्मा सिफारिस गर्नुपर्ने भयो। मैले परिषद्का दुई जना अधिकृतको नाम सिफारिस गरेँ। गृह मन्त्रालयमा तक्मा सम्बन्धी विषय त्यति बेलाका सहसचिव श्रीकान्त रेग्मीले हेर्थे। रेग्मीले सोधे 226128148 तपार्इँ तक्मा नलिने? आफैँले नाम लेख्न अप्ठेरो लागेको हो भने म थपिदिन्छु। मैले लिन्न भने। कुन्नि किन कहिल्यै रहर लागेन। 
एकजना पत्रकारले अरू कसैले तक्मा पाएकोमा देखाएको झोंकले यो प्रसंगको सम्झना भयो। 

No comments:

Post a Comment