Monday, June 2, 2014

भाँगेको हैजा र खानेपानी

चन्द्रनिगाहपुर गाविसमै पर्ने गैडाटारमा महिना दिनभन्दा बढी हैजा फैलिरहेको समाचार पढ्दा करिब ४५ वर्ष पहिले तनहुँको भाँगे भन्ने गाउँमा हैजा आएपछि आँबुलेहरूले सिउँदी खोलामा भाँजा हालेको सम्झना भयो। हैजाका बिरामीको उपचार गराउन छिमेकीले सहयोग गरेनन्। मेजर नरबहादुर थापा नामका सज्जन भर्खरैजस्तो बेलायती सेनाबाट पेन्सनमा आएका थिए। उनले सेनामा मेडिकल कोर्स गरेका रहेछन्। हैजाका बिरामीको उपचार गर्नुपर्छ र निको बनाउन सकिन्छ भन्ने उनको तर्क आँबुलेले सुनेनन्। अनि, उनी एक्लै घोडामा भाँगेतिर लागेका थिए। सबैभन्दा पहिले उनले सिउदी खोलाको भाँजो फालिदिएका थिए। अनि गाउँमा गएर बिरामीको सेवा गर्न थाले। उनलाई अ194रू कसैले साथ दिएनन्। तर, अन्ततः हैजाको रोकथाम गरेर भँगेलीलाई बचाउन र आँबुलेको आँखा खोल्न उनी सफल भएका थिए। चन्द्रनिगाहपुरेले त भाँजो पक्कै हालेका छैनन् होला। तैपनि, किन रोकिएन हैजा महिना दिनसम्म <
मेजर थापाले भाँजो भत्काएको केही वर्षपछि मैले भँगेलीलाई स्वच्छ पानी खुवाउने मौका पाएको थिएँ। तिनताका युनिसेफले खानेपानी योजना बनाउँथ्यो। तनहुँमा सच्चिदानन्द श्रीवास्तव प्रमुख जिल्ला अधिकारी थिए। जिल्ला पञ्चायत सभापतिले मलाई सहयोग नगरेको उनले थाहा पाएका थिए। उनैले पठाएका भनेर युनिसेफका कर्मचारी आँबुखैरेनी पञ्चायत भवनमा मलाई खोज्दै आए। म उपप्रधान पञ्च थिएँ। सायद, पदावधि सकिएको थियो वा सकिनै लागेको थियो। तत्कालै बनाउने गरी ठूलो  खानेपानी योजना सञ्चालन गर्न कुनै ठाउँ सुझाउन सीडीओले खबर पठाएका रहेछन्। मेरै गाउँमा र खैरेनी बजारमा पनि पानीको दुःख थियो तर भाँगेमा धेरै अप्ठेरो थियो। पानी लिन खोलामा झनुपर्ने र पानी बोकेर उकालो फर्कनुपर्ने हुन्थ्यो। खानेपानीले धेरै रोग लाग्छ भन्ने मैले पनि थाहा पाएको थिएँ। अरूले र युनिसेफकै कर्मचारीले पनि मलाई योजना खैरेनी बजारमै निर्माण गर्न सल्लाह दिए तर कुन्नि केले प्रेरित गर्‍यो म मानिन र भाँगे नै पठाएँ। सायद, मेरो अवचेतनमा कतै मेजर थापाको प्रभाव परेको थियो। त्यसपछि भाँगेमा हैजा कहिल्यै फैलेन। 

No comments:

Post a Comment