Monday, June 16, 2014

असान्दर्भिक समाजवाद

सम्मेलनका प्रमुख वक्ताले मूल विषयमा रहेको शब्दै उच्चारण नगर्दा आयोजकलाई अलिकति नमजा लाग्छ होला। त्यसो हो भने बीपी शतवार्षिकीका अवसरमा आयोजित 'प्रजातान्त्रिक समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनका आयोजक पनि खिन्न भएको हुनुपर्छ। 

किनभने, सम्मेलनकी प्रमुख वक्ता स्वनामधन्य लोकतन्त्रवादी नेता आङ साङ सु चीले 'समाजवाद’ भन्ने शब्द नै उच्चारण गरिनछन्। नागरिकको सहप्रकाशन रिपब्लिकाका प्रकाशित उनको सम्बोधन भाषणमा कतै पनि समाजवाद (सोसलिज्म) शब्द प्रयोग भएको देखिएन। त्यस सम्बोधनमा उनले यदाकदा सामाजिक लोकतन्त्र (सोसल डेमोत्रे्कसी) र मुख्यरूपमा लोकतन्त्र (डेमोत्रे्कसी) शब्द नै प्रयोग गरेकीछिन्। अर्थात्, पछिल्लो कालखण्डमा अधिनायकवादको पर्याय हुन पुगेको समाजवाद शब्द नै एक्काईसौं शताब्दीमा असान्दर्भिक भइसकेको उनले बुझेकी रहिछन्। 
यस शताब्दीको पहिलो दशकको उत्तरार्धमा थालिएको अरब जागरणलाई लोकतन्त्रको तेस्रो लहर भन्ने गरिएको छ। सन् १९९० को दशकमा लोकतन्त्रको दोस्रो लहर चलेको विश्लेषण राजनीतिक इतिहासकारहरूको छ। नेपालमा पनि त्यही ताका लोकतन्त्र पुनःस्थापना भएको हो। त्यसयता विसं २०५८—२०६३ का ५ वर्ष राजाले प्रत्यक्ष शासन चलाए। अरूबेला अधिकांश समय सत्तामा बसेका र संसार घुमेका कांग्रेसी नेता भने सन् १९९० पछि अधिकांश समय नजरबन्दमा राखिएकी सु चीभन्दा विश्वको परिस्थिति र परिवर्तनप्रति धेरै अनभिज्ञ देखिए। सु चीलाई नोबेल शान्ति पुरस्कार ग्रहण गर्ने वा मृत्यु शैयामा रहेका पतिलाई भेट्ने मानवीय हर्ष र विश्मात्का चरम क्षणमा समेत सहभागी हुन नदिएर एक्ल्याइएको थियो। उनले बरु समाजवाद शब्द प्रयोग गरेकी भए अस्वाभाविक हुने थिएन। 
विश्वेश्वरप्रसाद कोइरालाका विचार उनको कालखण्डमा मात्र हैन अहिलेसम्म पनि नेपाली समाजमा अपेक्षाकृत आधुनिकै देखिन्छन्। अहिले पनि नेपालका कम्युनिस्टहरू समाजको चरित्र, सामन्ती, पुँजीवादी, अर्ध सामन्ती के हो भनेर खुट्याउने जमर्कोभन्दा अगाडि बढ्न सकेका छैनन्। कांग्रेसहरू चाहिँ बीपीले २०१२ सालमा तत्कालीन राजनीतिक परिस्थितिअनुसार प्रयोग गरेका शब्द 'समाजवाद’मै अलमलिएका छन्। बीपीलाई अक्षरशः प्रयोग गर्ने हो भने त बैठकमा माटो लिएर बस्नुपर्योछ वा जमिनको स्वामित्व ट्याक्टर ड्राइभरलाई दिनु पर्योह। 
समाजवाद के हो? हेगेलको व्याख्या गर्नेहरूले प्रयोग गर्ने गरेको वाद, प्रतिवाद वा संवाद के हो अहिलेको समाजवाद? कुनै बेला पुँजीवादको प्रतिवादमा साम्यवाद प्रस्ताव गरिएपछि संवादका रूपमा लोकतान्त्रिक समाजवादको उदय भएको भन्ने गरिन्थ्यो। साम्यवाद अब संसारमा पुँजीवादको प्रतिवादी रहन सकेन। संसारकै सबैभन्दा ठूलो 'साम्यवादी’ मुलुक चीन सम्भवतः अहिले विश्वमै सबैभन्दा ठूलो र चर्को पुँजीवादी बनिसकेको छ। 
पुँजीवाद राजनीतिक सिद्धान्तभन्दा बढी आर्थिक रणनीति बन्न पुगेको छ। लोकतान्त्रिक वा अधिनायकवादी राजनीतिक व्यवस्था जस्तो भए पनि संसारभरका सबैजसो मुलुकमा पुँजीवादी अर्थतन्त्र चलाइएको छ। समाजवादले पुँजीवादलाई अपनाउने हो भने त्यो अर्थहीन भयो। नअपनाउने हो भने कल्पनामा सीमित हुन्छ। किनभने समाजवादीहरूले बितेका सय वर्षमा पुँजीवादकै हाँगाबिगाँमा शीतल ताप्नेबाहेक अरू केही गरेका छैनन्। बीपीले कांग्रेसको सिद्धान्तका रूपमा समाजवादलाई भिœयाउँदा यसकोे छवि उपनिवेशवाद विरोधी थियो। शीतयुद्धमा उपनिवेशवाद विरोधी तर खुला समाजका पक्षधर लोकतन्त्रवादीका लागि यो एक प्रकारको 'ब्रान्ड’ र 'फेसन’ बनेको थियो। यसैले जवाहरलाल नेहरूसमेत समाजवादी भएका थिए। नेहरूले त अर्थतन्त्रमा समाजवाद लागु पनि गरेका थिए। तर, ठूला उद्योगहरूको राष्ट्रियकरण र लाइसेन्स राजको नेहरू समाजवाद अभिशाप सिद्ध भयो भारतको आर्थिक विकासमा। नेहरू र इन्दिराका समाजवादी नीति छाडेपछि भारतले आर्थिक विकासमा मात्र हैन सामाजिक न्याय हासिल गर्ने कार्यमा पनि प्रगति गरेको छ। बीपीले त समाजवाद शब्दमात्र प्रयोग गरेका हुन्। उनका छरिएका विचार राम्ररी अनुशीलन गर्ने हो भने सु चीले भनेजस्तै लोकतन्त्र र सामाजिक न्यायकै सेरोफेरोमा समेटिन्छन्। यथार्थमा समाजवाद संवाद बनाउने प्रयासमा वाद बन्न गयो र कालान्तरमा 'विवाद’ मात्र भयो। धेरै अधिनायकवादीले समाजवादको नाममा निरंकुश शासन चलाए। बीपीले समाजवाद नभनेका भए महेन्द्रले आफूलाई समाजवादी भन्न बेर लगाउने थिएनन्। उनले पनि शासनमासमाजवादीकै केही शैली र संरचना खडा गरेका थिए। 
अहिलेका कांग्रेसहरू 'राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई बीपीको पहिचान ठान्छन्। तर 'समाजवाद’मा भन्दा राष्ट्रियता, सामाजिक न्याय र विकासका सम्बन्धमा बीपीका विचार बढी आधुनिक र वैज्ञानिक छन्। बीसौं शताब्दीको अन्तिम दशकतिर बढी चर्चामा आएका दिगो विकास, पर्यावरण संरक्षण र सामाजिक न्यायका बारेमा उनका विचार छरिएका छन्। बीपीमा तीनको बीउ ५० वर्ष अगाडि नै देखिएको छ। त्यसको व्याख्या गर्न खोजिएको भए सम्भवतः विश्वलाई नेपालले बीपीका विचारका रूपमा केही दिन सकिने थियो। उनका समर्थक र अनुयायीमात्र हैन स्वतन्त्र अध्येता पनि अहिलेसम्म 'लकिरका फकिर’ मात्रै रहेका छन्। बीपीलाई बलजफ्ती समाजवादी बनाउन खोज्नेहरूमध्ये अझ धेरैले त बीपीको व्याख्या गर्दा आफ्ना विचार बढी मिसाए। यथार्थमा बीपीका आर्थिक सामाजिक विचार अहिलेका दिगोविकास, वातावरण संरक्षण, सामाजिक न्यायसँग बढी निकट छन्। राजनीतिमा त लोकतन्त्रसँग उनले सम्झौता गरेकै छैनन्। उनले हेनरी फोर्डको शैलीको विकास संसारका लागि उपयुक्त हुँदैन भनेर विकासको प्रचलित ढाँचाको विकल्प दिएका छन्। बीपी विचारमा देखिने यस्ता विकल्पका बारेमा खासै ध्यान दिइएकै छैन। 
समाजावाद अब हराउने क्रममा छ। मार्गरेट थ्याचरले 'कडा पुँजीवाद' नअपनाएको भए बेलायत बीसौं शताब्दीको अन्त्यसम्म युरोपको बिरामी हुनपुग्ने थियो। टोनी ब्लेयरले समाजवादी हैन उदार पुँजीवादी नीति अपनाई 'न्यु लेबर’ बनाएरमात्र पार्टीलाई पुनर्जीवन दिन सकेका हुन्। जर्मन समाजवादी झन् झन् कमजोर हुँदै गएका छन्। तिनको ठाउँ परम्परावादी र उग्र राष्ट्रवादीले लिन पुगेका छन्। युरोपमा जताततै चरम राष्ट्रवादीको उदय समाजवादप्रतिको वितृष्णाको उपज हो। भारतमा पनि अब सेमिनार गोष्ठीबाहेक अन्यत्र समाजवाद खोज्न दिउँसै बत्ती बाल्नुपर्ने दिन आइसकेको छ। चीन त संसारको सबैभन्दा चर्को पुँजीवादी मुलुक बनिसकेको छ। अमेरिकामा समाजवाद कहिल्यै आकर्षणको विषय बनेन। नेपाली कांग्रेसका नेताहरू कल्पनाशील नहुनुबाहेक समाजवादमा टाँसिनुको कारण अरू देखिँदैन। 
सु चीले समाजवादीसँग स्वर मिलाएर गरिबीलाई शोषणको उपज भनिनन्। त्यसको अन्त्यमा लागि शोषण समाप्त पार्नुपर्छ पनि उनले भनिनन्। बरु उनले त मानवीय सम्पूर्णताका लागि गरिबीबाट मुक्त हुनुपर्छ पो भनिन्। अरूलाई निषेध गर्ने समाजवाद, जनवाद वा पुँजीवादभन्दा बेग्लै राजनीतिक आर्थिक दिशानिर्देश गरिन्। सु चीका यिनै भनाइ पनि कतिले बुझ्छन् र कसरी अर्थ्याउँछन् त्यो बेग्लै विषय हो। 
बीपीको विकाससम्बन्धी चिन्तनको चर्चा गर्दा 'प्रत्येक नेपाली परिवारलाई खान, लाउन, बस्न, पढ्न र ओखतीमूलो गर्न सहजैसक्ने’ बनाउने उनको सपना बढी उद्धृत गरिन्छ। अर्थात्, उनका लागि परिवार विकासको इकाइ हो। 'जग्गा हुन्छ जोत्नेको’ उनको प्रिय थेगो हो। समाजवादीले त जमिनको राष्ट्रियकरण र सामूहिक खेतीमा पो जोड दिनुपर्ने। व्यक्तिको स्वतन्त्रतालाई सबैभन्दा बढी महत्व दिने, राष्ट्रियता र लोकतन्त्रलाई अभिन्न तत्व ठान्ने र दिगो विकासका पक्षधर बीपीलाई कसरी समाजवादी भन्ने? यथार्थमा व्यक्तिको स्वतन्त्रता जोगाएर सामाजिक न्याय कायम गर्ने बीपीको विचार कथित 'लोकतान्त्रिक समाजवाद’ भन्दा बढी सान्दर्भिक र विचारणीय हुनसक्थ्यो। बीपीको राष्ट्रियता व्यक्तिमा निहित हुन्छ र राष्ट्र भनेको जनता हुन् भन्ने विचारको विशद व्याख्या गरिनु आवश्यक थियो। संसारका अधिकांश राजनेताले अरूकै आर्थिक विचार अनुशरण गरेका छन्। आर्थिक विचारमा छलाङ मार्ने देङ सियाओ पिङहरूले व्यक्तिको स्वतन्त्रता र राजनीतिक सिद्धान्तलाई महत्व दिएका छैनन्। बीपीले राजनीतिक र आर्थिक दुवै विचार दिएका छन्। त्यतिमात्र हैन राष्ट्रियता र लोकतन्त्रसम्बन्धी उनको चिन्तनले बीपीलाई अरूभन्दा बेग्लै र विशिष्ट बनाएको छ। कांग्रेसहरू २०१२ सालमै छन्। यसैले बीपी शतवार्षिकीका सन्दर्भमा गैरकांग्रेस लोकतन्त्रवादीहरूले बीपीका विचारहरूको विशद चर्चा गरेर उनलाई यो 'समाजवाद’को बन्धनबाट मुक्त गराउनु बेस हुनेछ। कोही जाँगरिला तरुणहरू अगाडि सर्लान्?

No comments:

Post a Comment