Tuesday, November 19, 2013

भोटको अनुभव

मैले पहिलो पटक २०२३ सालमा भोट हालेको हो। युवक संगठनको जिल्ला कार्य समितिको चुनावमा। आफैं उमेदवार थिएँ । जितें । बाबाले भोट माग्नु भएकाले उहाँलाई नै भनेर भोट दिएको भन्थे। त्यसपछि २०२७ मा उपप्रधानपंचमा चुनाव लडेको हारेँ। यस्तै २०२८ मा युवक संगठनकै जिल्लाको चुनाव हारेँ। कांग्रेसकै नाममा चुनाव लड्न र भोट हाल्न थालेको चाहिँ त्यही चुनावपछि हो। त्यसपछि २०३० मा उपप्रधानपंचमा चुनाव जितें। जिल्ला सभासद् पनि भएँ। गाउँफर्कका पालामा चुनावमा भाग लिनै दिएनन् मलाई। जनमत संग्रहमा बढी नै खटियो। २०३८ को रापसको चुनाव भने बहिष्कार गरेको थिएँ। श्रीभद्र जी उमेदवार थिए। घरका अरू सबैले मत दिए। मैले नदिन भनिन । भनेकै भए पनि मान्ने थिएनन्। त्यसपछि २०३९ मा चुनाव लड्नुपर्ने भयो। प्रधानपंच अनि जिल्ला पंचायतको उपसभापति चुनाव जितें।
त्यसपछि २०४३, २०४४ मा भएका पंचायतका विभिन्न चुनावमा स्वाभाविक रूपमा सक्रिय भइयो। राजनीति छाडेर २०४४पछि काठमाडौं बस्न थालेको हो। तैपनि, २०४६ पछिका चुनावहरूमध्ये २०४९ को स्थानीय निकायको निर्वाचन बाहेक सँधै नै तनहुँ र तेसमा पनि आँबु खैरेनीमै सक्रिय हुने गर्थें। मेरो घरैलाई चुनाव लाग्थ्यो। साता दिन पहिलेदेखि नै तनाव र तयारी सुरु हुन्थ्यो।
यस पटक भने काठमाडौंमा नै नाम लेखाइयो। आज बिहान बेलैमा भोट हालियो। काम सकियो।  मलाई त उति नियास्रो लागेको छैन। सामाजिक संजालमा व्यस्त हुन्छु। सबै चुनावमा निकै सक्रिय भएर लाग्ने, मभन्दा बढी नै जुझारु मेरी उनले भने नियास्रो मानिन्। खैरेनी सम्झँदै छिन्। 

No comments:

Post a Comment