Monday, November 18, 2013

विवेकको कसी

भोलि २०७० साल मंसिर ४ गते संविधान सभाका लागि मतदान हुने दिन हो । यति अप्ठेरो परिस्थितिमा पनि निर्वाचनका लागि यसरी उत्सुक हुनु नेपालीको लोकतन्त्रप्रतिको मोह हो । संविधान सभाका लागि मतदान गर्न पाउनु आफैँमा सौभाग्य हो । हामी नेपालीले शासन व्यवस्था छान्न प्रतिनिधि चुन्ने मौका पाएका छौँ । विवेक प्रयोग गरेर मतदान गरेमात्र यो अवसर सार्थक हुन्छ । यही बुद्धिमानी पनि हुन्छ । चुनावका बारेमा भविष्यवाणी गर्नु असाध्यै सजिलो र निकै कठिन काम दुवै हो । आफूले जसलाई मत दिइन्छ उसैले जित्छ भन्ने धेरैलाई लाग्छ । तर, सधैँ त त्यस्तो हुँदैन । अमुक दल वा उमेदवारले जितोस् भन्ने चाहना मतदातालाई हुनु अस्वाभाविक हैन । पत्रकार, विश्लेषक सबैको कुनै न कुनै पक्षमा झुकाव हुनु पनि स्वाभाविकै हो । तर, झुकाव भएकै भरमा सूचनालाई बंग्याउनु भने व्यावसायिक मर्यादाअनुरूप हुँदैन । यसैले पनि चुनावको भविष्यवाणी गर्नेले सकेसम्म बढी सावधान हुनु जरुरी हुन्छ ।

यसको निर्वाचनको अध्ययन गर्ने विद्या (सेफोलोजी) अर्थात् निर्वाचन विश्लेषण शास्त्र तथ्यांक र विषयगत अध्ययनका आधारमा जनमतको अनुमान गरिने विधा हो । नेपालमा यसको प्रयोग खासै भएको मैले थाहा पाएको छैन । पछिल्ला दिनहरूमा प्रकाशित मत सर्वेक्षणहरूको अध्ययन विधि र विश्लेषकहरूका बारेमा जानकारी नभएकाले केही टिपणी गर्नु अनुचित हुन्छ । डा. राघवध्वज पन्तले २०५६ सालको संसदीय निर्वाचनपूर्व प्रवृत्तिको विश्लेषण गरेका थिए । त्यस अध्ययनमा मलाई पनि विश्लेषण र प्रतिवेदन तयारीमा संलग्न हुने मौका दिएका थिए । त्यति बेलाको अनुमान धेरै मिलेको पनि थियो । डा. पन्त र उनको टोलीका सदस्यले सूचना संकलन र विश्लेषणमा निकै परिश्रम गरेका थिए । त्यो देखेपछि म चुनावमा यसै हुन्छ भनेर भविष्यवाणी गर्न हच्कन्छु । मतदान मानवीय प्रक्रिया हो र मान्छे अव्याख्येय प्राणी हो । यद्यपि, उपलब्ध सूचनाका आधारमा मोटामोटी अनुमान भने गर्न सकिन्छ । तर, अनुमानको खेती मेरो रुचिको विषय हैन ।
चुनावमा संयम र सद्भाव 
धेरै उमेदवारले चुनावका क्रममा 'जे परिआउँछ गर्नु परेको म बेहोरुम्ला’ भन्ने गर्छन् । नेताको यस्तै आश्वासनका भरमा पैसा खर्चन र चुनावमा धाँधली गर्न बल प्रयोग गर्न पनि तम्सने कार्यकर्ताको पनि कमी छैन । कार्यकर्तालाई दिइने आश्वासनप्रति उमेदवार वा अरू नेता बिरलै इमानदार भएको पाइएको छ । चुनाव जित्न जे पनि गर्नु भन्ने नेताको आदेश पालन गर्दागर्दै कतिपय कार्यकर्ताले ज्यान मुद्दासम्म बेहोर्नु परेको छ भने कतिको ज्यानै गएको छ । यसैले चुनावका स्थानीय स्तरका कार्यकर्ताले आफ्ना उमेदवारलाई धेरै मत खसोस् भनेर प्रयत्न गर्नु त उचितै होला तर जसरी पनि जित्नका लागि मरिहत्ते गर्ने प्रवृत्ति भने आत्मघाती हुनसक्छ । यसैले मतदान केन्द्रमा खटिने कार्यकर्ताले संयम र सद्भाव खलबलिन दिनु उचित हुँदैन ।
केन्द्रीय नेताको प्रवृत्ति
स्थानीय तहका कार्यकर्तालाई परी आए मार्न र मर्न पनि पछि नहट्नु भनेर उक्साउने केन्द्रीय नेताहरू लाभ सत्ताको प्रश्न आउनेबित्तिकै सबै शत्रुता पन्छाइदिन्छन् । उनीहरूबीच सम्झौता हुन बेरै लाग्दैन । विगतमा यस्ता अनेकौँ उदाहरण देखिएकै छन् । सशस्त्र विद्रोह कालमा एकातिर माओवादीले नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताको ज्यान लिँदै थिए भने अर्कातिर दुवै पार्टीका नेताहरू माओवादी नेतासँग सौहार्द सम्बन्ध स्थापना पनि गर्दै थिए । सुरक्षाकर्मीहरू मारिइरहेका थिए । माओवादीकै साना तहका कार्यकर्ता सुरक्षाकर्मीबाट मारिइँदै थिए । ज्ञानेन्द्र र प्रचण्ड भने सत्ता बाँडफाटबारे छलफल गर्दै रहेछन् । यसैले इमानबिनाको राजनीतिमा आफ्ना गाउँ टोलमा छरछिमेकीसँग झगडा गर्नुको कुनै तुक छैन ।नेताहरूबीच मेलमिलाप हुन बेर लाग्दैन भने स्थानीय स्तरमा कार्यकर्ता किन झगडा गर्ने ?सबै मिलेर निर्वाचन शान्तिपूर्णरूपले सम्पन्न गराउनु नै बुद्धिमानी हुन्छ नि ! 
धाँधलीको प्रतिवाद
यसै पनि मतदान केन्द्रमा पुगेका मतदाताले कुन उमेदवारलाई किन मत दिने भन्ने निधो गरिसकेका हुन्छन् । बलजफ्ती नगर्ने हो भने उनीहरूले गोप्य मत दिने हुन् । मन लागेका उमेदवारलाई दिन्छन् । यसै पनि अहिलेका मतदाताको चेतना हेर्ने हो भने अन्तिम समयमा भोटका ठेकेदारलाई किनेर, धम्क्याएर वा लोभ्याएर थोकमा भोट पाइन्छ भन्ने ठान्नु नै मूर्खता हुन्छ । जनचेतना जति बढ्दै जान्छ मतदान केन्द्रमा धाँधलीको प्रतिवाद पनि उति नै सशक्त हुँदै जान्छ । तत्काल प्रतिवाद गर्ने आँट नआए पनि मतदाताले बलमिच्याइँ गरेर आफ्नो अधिकार खोस्ने व्यक्तिप्रति गहिरो घृणा पालेर राखेको हुन्छ । अर्को चुनावसम्म अर्कै पार्टीका पुग्ने सम्भावना भएका व्यक्तिका लागि आजीवन घृणाको पात्र बन्ने मूर्खता गर्नु उचित होला र ? गएको निर्वाचनमा पनि धेरै कार्यकर्ताले धाँधली गरे गराएका थिए । अहिले तीमध्ये कतिपय कार्यकर्ता अर्कै पार्टीमा छन् र एक अर्काका शत्रुजस्ता बन्न पुगेका छन् । यसैले अरू कसैका लागि किन कोही आजीवन कलंक बोक्न तम्सनु ?
शत्रुताको बीउ 
गाउँमा बस्नु पर्नेहरूले आआफ्ना उमेदवारलाई जिताउन परस्परमै इबी बढाउनु मूर्खता हुन्छ । बहिष्कारकै पक्षधरले पनि ख्याल राख्ने नै छन् । कति कठिन भयो लहैलहैमा लाग्दा गाउँमा फर्केर दिन बिताउन धेरैले थाहा पाएकै हुनुपर्छ । अरूको राजनीतिक स्वार्थका लागि आपसमा शत्रुता बढाउनुभन्दा मूर्खता केही हुँदैन । अहिले विभिन्न दलमा सक्रिय कार्यकर्ताहरूले भोलि स्थानीय निकायमा मिलेर काम गर्नुपर्छ । 
आवेगमा आएर अनुचित विवाद गर्दा प्रहरीले सधैँका लागि झगडालुको सूचीमा राख्छ । अलि चर्कै विवाद भए मुद्दा लाग्न सक्छ । राजनीतिक अपराध सधैँ दण्डहीन भइरहने छैन । उद्दण्ड कार्यकर्ताको पार्टीलाई शालीन र सभ्य मतदाताले मत दिने पनि छैनन् । धाँधलीका लागि हुने झगडाका कारण टोल, परिवार र समुदायमा शत्रुता बढ्न सक्छ । यसैले कसैले पनि धाँधली नगर्ने सहमति गरेर सहजरूपमा मतदान गर्न सघाएमा गाउँ टोलकै इज्जत बढ्छ ।
निर्वाचन लोकतान्त्रिक अनुष्ठान हो । लोकतन्त्रको मर्यादाको रक्षा नगरे अनुष्ठान सफल हुँदैन । कसैले कुरीकुरी भन्न र औंला ठड्याउन नपाउने गरी निर्वाचन सफल गराउन सकेमात्र नेपालीको इज्जत जोगिनेछ । नबिर्सौँ ! संसारले हामीलाई हेरिराखेका छन् । व्यवहारले नै हामीप्रति तिनको धारणा बन्ने हो । संसारभर छरिएका नेपालीलाई लाजमर्दो नबनाऊँ । सन्तानले ग्लानि अनुभव नगर्ने आचरण गरौँ । सबैभन्दा बढी त आफैँलाई नढाटौँ । 
र, अन्त्यमा
ऊर्दु सायर बसिर बदरको यी पंक्तिहरू उद्धृत गर्न मन लाग्यो — 
'दुस्मनी जम कर करो लेकिन यह गुँजायस रहे । 
जब कभी हम दोस्त हो जाएँ तो सर्मिन्दा न हों । ’

No comments:

Post a Comment