Sunday, November 17, 2013

चुनावको संकेत

यो भविष्यवाणी हैन सूचनाका आधारमा गरेको अनुमानमात्र हो । 
मधेसी राजनीति ः नेता जित्ने पार्टी हार्ने  
यस चुनावमा सबैभन्दा धेरै घाटा मधेसी दलहरूलाई पर्ने अनुमान धेरैले गरेको देखिन्छ। सत्ताविरोधी आक्रोश माओवादीसँगै मधेसी दलहरूप्रति पनि लक्षित हुनु स्वाभाविकै हो। यसैगरी मधेस आन्दोलनको वेग थामिइसकेको छ। मधेसी नेताहरूले कुनै पनि क्षेत्रमा खासै केही गर्न पनि सकेनन्। उल्टै धेरै जना बदनाम भए। यसैले तिनीहरू प्रतिरक्षात्मक पंक्तिमा पुगेका छन्। तर, पहिलेदेखि स्थापित नेताहरूको व्यक्तिगत प्रभाव भने खासै कमजोर भएको देखिँदैन। यसैले प्रत्यक्षतर्फ मधेसी दलका नेताहरू उल्लेख्य संख्यामा जित्ने र समानुपातिकमा भने तिनको पार्टीले कम मत पाउने पनि हुनसक्छ। पहाडमा जस्तै चुनावमा नेताको व्यक्तिगत प्रभाव पक्कै पर्ला तर समानुपातिकमा मधेसी दलहरूको भन्दा राष्ट्रिय पार्टीहरूकै मत मधेसबाटै धेरै आउनेछ। पहिले पनि आएकै हो। मधेसबाट राप्रपा नेपालले समानुपातिकमा राम्रै मत पाउने अनुमान भने भरपर्दो लागेन । 
जेहोस् अब, मधेसीलाई हाउगुजी बनाएर स्वार्थ सिद्ध गर्ने जमात भने निराश हुनसक्छ। मधेसी पनि पहाडी वा हिमाली जत्तिकै नेपाली हुन्। तिनको हित पनि अरूसँग नछुट्टने गरेर जोडिएको छ। तिनलाई नेपालको हितविरुद्ध न भारतीय बाबुहरूले न नेपालका बाबुसाहेबहरूले नै प्रयोग गर्न सक्नेछन्। यसले संघीयतामा जानेबित्तिकै नेपाल टुक्रन्छ भनेर डुक्रने मात्र हैन मधेसलाई नेपालबाट छुट्ट्याउँछौँ भनेर कुर्लनेहरूलाई पनि मत परिणामले उत्तर दिने लक्षण छ।  
मधेसमा माओवादी ः खुट्टा टेक्ने प्रयास 
मधेसमा दह्रो खुट्टा नटेकी नेपालको राजनीतिमा टिक्न सकिन्न भन्ने एनेकपा (माओवादी)का नेताले पनि बुझेछन्। यसैले उनीहरूले यसपटकको निर्वाचनमा मूलतः मधेसकेन्द्री आक्रामक प्रचार गरे। रबाफिलो चुनाव प्रसारले पहाडीभन्दा मधेसी मतदातालाई बढी आकर्षित गर्नसक्छ भन्ने माओवादी नेताले राम्रै बुझेजस्तो छ। हुन पनि, पहाडमा धेरै उत्ताउलो प्रदर्शन प्रत्युत्पादक हुनसक्छ। उनीहरूको यो रणनीति काम लाग्यो भने माओवादीको पहाडमा गुमेको मतको केही अंश मधेसबाट पूर्ति हुनसक्छ। माओवादीले अगिल्लो पटक नसोचेको परिणाम ल्याएको थियो। त्यस्तै परिणामको अपेक्षा त यस पटक माओवादी नेताहरूले नै पनि गरेका छैनन् होला, मधेसका मतदाता आकर्षित भएका रहेछन् भने एमाओवादीले पहिलो दलको हैसियत कायम राख्न पनि सक्छ। ठूला नेता दुवैले मधेसबाट पनि चुनाव लड्नुको एउटा कारण यो पनि होला। 
एमालेको उत्थान ः अन्तर्घात कम
अशोक राईहरूले नेकपा (एमाले)को मत घटाए होलान् तर तिनलाई समेट्न नपरेकै कारण एमालेमा अन्तर्घात पनि कम भएको देखिएको छ। अगिल्लो चुनावमा 'एक पटक माओवादीलाई हेरौँ' भन्ने एमाले समर्थकहरूको रहर पक्कै मेटिएको हुनुपर्छ। माओवादीबाट दिक्क भएका मतदाताले एमालेको मतसंख्या बढाउने नै छन्। त्यसमाथि मधेसमा पनि एमालेले पुराना मतदातामध्ये धेरैलाई फर्काएको अनुमान छ। अन्तर्घात कम भएका कारणले प्रत्यक्षमा एमाले उमेदवारले अगिल्लोपटक भन्दा बढी स्थान पाउन सक्छन्। पूर्वी पहाड र पश्चिमाञ्चलमा पनि एमालेको स्थिति सप्रेको अनुमान सही हुनसक्छ। यसैले समग्रमा एमालेले अगिल्लो चुनावभन्दा राम्रै गर्ने लक्षण छ। 
कांग्रेसको पुनरोदय ः मतदाताको बाध्यता
भन्छन्, कांग्रेसलाई कांग्रेसबाहेक  अरूले हराउन सत्तै्कन। अघिल्लो निर्वाचनमा अन्तर्घात गर्दा भोग्नु परेको सास्तीकाे त कार्यकर्ता नै भुक्तभोगी छन्। देशले भुक्तमान सहिरहेको छ। पक्कै पनि बागी र कैँची उमेदवारहरूले कांग्रेसलाई अप्ठेरोमा पारेका छन्। तर, लोकतन्त्रप्रति समर्पित मतदाताले जति नै चित्त नबुझे पनि नेपाली कांग्रेसबाहेक मत दिने अरू ठाउँ देखिँदैैन। मधेसी पार्टीहरूले लोकतान्त्रिक साख कमाउन र  राष्ट्रिय रूप लिनसकेका भए सायद मधेसका लोकतन्त्रवादी मतदाताले पनि विकल्प पाउने थिए। यस्तै, पूर्वपञ्चहरूका पार्टीले पनि लोकतान्त्रिक साख कमाउन सकेनन्। यसैले लोकतन्त्रवादी मतदाता सामु विकल्प छैन। विशेषगरी राष्ट्रियता र लोकतन्त्र दुवैको माया गर्नेहरूले कांग्रेसलाई मत दिनेछन्।  
अगिल्लोपटक कांग्रेसका नेता कार्यकर्ताले नै स्वतन्त्र भन्दै कैँची उमेदवार उठाएका थिए। केही कार्यकर्ता लहैलहैमा लागेर पार्टीको उमेदवारविरुद्ध प्रचारमै लागेका थिए। अहिले तीमध्ये केही उमेदवार भएका छन्। तिनका विरुद्ध पहिलेका उमेदवार र समर्थकहरूका मनमा तुस हुनु पटक्कै अस्वाभाविक होइन। तर, अगिल्लोपटकको साटो फेर्न खोज्दा आफू पनि तिनै सरह तुच्छ होइन्छ भन्ने पनि यस क्रममा हेक्का राख्नु जरुरी छ। त्यतिमात्र हैन अन्तर्घातका कारण केही उमेदवार हारे भने संविधान निर्माण र सरकार गठनमा पनि त्यसको प्रत्यक्ष प्रभाव पर्छ। एउटा भोट कम भएर पनि उमेदवार हार्नसक्छ। यस्तै संविधान सभामा एउटा भोट नपुगेर अलोकतान्त्रिक प्रावधान भएको संविधान बन्नसक्छ। एक जनालाई हराउन लिइएको प्रतिशोधले मुलुक र आफू स्वयंले पनि दुःख पाउने अवस्था उत्पन्न हुनसक्छ।  
साथै पार्टीभित्रै प्रतिशोधको राजनीतिले जरा गाड्छ। त्यसबाट कसैको पनि भलो हुँदैन। यसैले अगिल्लो पटक अन्तर्घातमा परेका हरूले पनि पार्टीको आधिकारिक उमेदवार जिताउन प्रयास गर्नु राजनीतिक नैतिकता र बुद्धिमत्ता हो। कांग्रेसमात्र हैन अरू दलका नेता कार्यकर्तालाई पनि आफ्नै पार्टीका उमेदवार हराउनतर्फ लाग्ने कुबुद्धि नआओस्।   
यसपटक पहाडमा नेपाली कांग्रेसको मत पक्कै घट्दैन। पुराना मतदाता फर्केका छन्। मधेसमा पनि केही त पक्कै बढ्छ। कांग्रेसबाट गएका मधेसी दलका नेताहरूलाई प्रत्यक्षमा मत दिने मतदाताले पनि समानुपातिकमा 'गाछी' मा छाप लगाउन सक्छन्। नेपाली कांग्रेसले अगिल्लो निर्वाचनभन्दा केही बढी मत र स्थान पाउने अनुमान सत्य हुनसक्छ। 
कैँची र बल्छी बहिष्कार
संविधान बनाउनु पर्ने चुनावमा रहरले चुनाव लडेका वा समानुपातिकमा त केही न केही हात कसो नलाग्ला भनेर बल्छी थाप्नेहरूलाई सायद यसपटक मतदाताले अस्वीकार गर्नेछन् । लक्षण यस्तै देखिएको छ । हुन पनि यी ‘कैँची’ र ‘बल्छी’बाट संविधान बन्ने त हैन नि ।
 

No comments:

Post a Comment