Monday, February 15, 2016

नियत र नियतिका नेता


कसैको मूल्यांकन गर्दा वा कुनै वाद, व्यक्ति र सिद्धान्तप्रति धारणा बनाउँदा दृष्टिकोणको प्रभाव सबैभन्दा बढी हुन्छ । व्यक्तिको दृष्टिकोण पूर्ण हुँदैन। अपूर्ण दृष्टिकोणबाट गरिने मूल्यांकन पूर्ण वस्तुगत पक्कै हुन सत्तै्कन । यसैले अहिले वा पछि सुशील कोइरालाको पनि यथार्थ मूल्यांकन हुनसत्तै्कन। उनीप्रति व्यक्तिका दृष्टिकोणहरू प्रकट हुनेमात्र हो।

हिरो' हुने चाहने सुशील कोइरालालाई नियतिले राजनीतिमा अल्झाइदियो। राजनीतिमा रमाएपछि उनले हलिउड सपना त्यागे। सुशील कोइराला २०१७ सालमा लोकतन्त्रको हत्यालगत्तै बीपी कोइरालाको परिवारको हेरचाहमा संलग्न भएदेखि प्रधान मन्त्री हुँदासम्मको कथा दोहोर्यातइरहनु पर्दैन।

बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासँग तुलना गरेर सुशील कोइरालाको मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन। त्यसो त कुनै व्यक्तिलाई पनि अर्कोसँग पूरै तुलना गर्न मिल्दैन। तैपनि, दाँज्ने नै हो भने सुशील कोइरालालाई उनैका समकालीन प्रधान मन्त्रीहरू वा नेपाली कांग्रेसकै पनि उनका समकक्षी (समवयी सायद छैनन्!) नेताहरूसँग तुलना गर्नु उचित हुन्छ।

नवकुवेरका हुलमा फकिर

पहिलो संविधान सभा निर्वाचनपछि प्रधान मन्त्री भएकाहरूमध्ये कसैको पनि (बाबुराम भट्टराईले चाहिँ त्यही ताका घर बनाएका थिए क्यारे!) २०४६ सालभन्दा पहिले काठमाडौंमा घर थिएन। पुर्ख्यौली सम्पत्ति पनि सायद सुशील कोइरालाको जति अरू कसैको थिएन। राजनीतिक शक्ति केन्›मा यीमध्ये सबैभन्दा लामो समय सुशील कोइराला नै थिए। घरबार नगरेकै कारणले मात्रै सुशील कोइरालाले श्रीसम्पत्ति नजोडेका हुन् भन्नु सतही टिप्पणी हुन्छ। सन्तान नभए पनि सम्पत्ति र शक्तिका लागि मरिहत्ते गर्नेहरू समाजमा बग्रेल्ती भेटिन्छन्। 'अपुताको धन प्यारो' भन्ने उखान त्यसै चलेको हैन। यसैले नियतवश नै उनले सम्पत्ति संग्रह नगरेका हुन् भन्न हिचकिचाउनु पर्दैन।

अर्कातिर, सुशील कोइरालाबाहेक उनका पार्टीभित्र वा बाहिरका उनैको कोटीमा राजनीतिक नेता सबैजसो 'नवकुवेर' भएका छन्। सबैको जीवन शैली काठमाडौंका सम्भ्रान्त सामन्तहरूको भन्दा कम विलासी छैन। 'जोगी हुन राजनीति गरेको हैन' भन्ने त तिनको थेगो नै भएको छ। गुजाराका लागि सम्पत्ति जोड्नु अनुचित नमानिएला तर विलासका लागि सम्पत्ति जोड्न सत्ताको प्रत्यक्षपरोक्ष दुरुपयोग गर्नु पक्कै पनि उचित होइन। सत्ताको दुरुपयोग नगरी गुजारा चल्नेसम्म सम्पत्ति संग्रह होला तर विलासका लागि पुग्दैन। अर्थात्, सम्पत्ति संग्रहमात्रकै आधारमा हेर्दा समकक्षीहरू सबैजसो भ्रष्ट सिद्ध हुँदा सुशील कोइराला अरूभन्दा बेग्लै देखिन्छन् । व्यवहारवादीले उनलाई 'मूर्ख' भन्न सक्छन् भने आदर्शवादीका दृष्टिमा अरू नेताहरू भ्रष्ट ठहरिन्छन् । सुशील कोइरालाले जानीजानी नै सम्पत्ति नथुपारेका हुन् भन्नेमा सायद कसैको पनि विमति नहोला। सरल जीवनशैली र निष्कलंक छवि नै सुशील कोइरालालाई सम्झने एवं सराहना गर्ने आधार हुन्। इतिहासमा लेखिनेछ– अमुक कालखण्डमा नवकुबेरका हुलमा एकजना फकिर पनि शासनमा पुगेका थिए।

'एफ्लुएन्जा' मुक्त एक्ला नेता!

फकिर जीवनशैली र दर्शनले उनलाई क्यान्सर भयो, टीबी पनि भयो र निमोनियाले उनको ज्यान लियो। तर उनलाई समृद्धि रोग (एफ्लुएन्जा) बाट जोगायो । (अंग्रेजीमा एउटा शब्द छ 'एफ्लुएन्जा'। धनी हुने उन्माद रोग बन्न पुगेको अवस्थालाई 'एफ्लुएन्जा' भनिन्छ। यो समृद्धि रोग ग्रस्त समाज र दरि›ताको संस्कृति व्याप्त शासकीय मानसिकताबीच सन्तुलन र संगति कायम गर्न पक्कै सहज छैन ।

नेपाली समाजलाई पनि 'समृद्धि रोग' लागेको छ। समृद्धि रोग पनि सामाजिक असमानता बढाउने कारक हो। सुशील कोइराला आफू त यो एफ्लुएन्जाबाट बचे तर उनले पार्टीका अरू सदस्य र समकालीन समाजलाई यसबाट मुक्त हुने प्रेरणा दिन भने सकेनन्। अर्थात्, उनी पार्टीका सभापति भए र त्यस भूमिकामा सफल पनि भए तर युग हाँक्ने नायक बन्न सकेनन्। तैपनि, नैतिकतालाई बुर्जुवाको ढोंग ठान्नेहरूका भिडमा मात्र हैन स्वयं कांग्रेसजनकै बीचमा पनि उनी अलग्गै र उज्याला भने देखिन्छन्। कांग्रेसमा अहिले उनीसँग तुलना गर्न सकिने अर्को नेता छैन। कांग्रेस सुकिलामुकिला 'भुइँफुट्टाहरू'को पार्टी जो बनेको छ।

जस र अपजस

संविधान सुशील कोइरालाकै नेतृत्वमा जारी भयो। संविधानको धाई भएको दाबी केपी वा पुष्पकमलले गर्नसक्छन् तर आमाका रूपमा सुत्केरी व्यथा त कोइरालाले नै सहे । यसैले उनलाई संविधान सभाबाट नेपालको संविधान, २०७२ पारित भएकोमा जस दिनुपर्छ। र यो संविधान पारित हुनु गलत सिद्ध भयो भने त्यसको सबैभन्दा बढी अपजस उनकै भागमा पर्छ ।

पहिलो संविधान सभा तुहाउन खलनायकको भूमिका खेलेको आरोप पनि सुशील कोइरालामाथि लागेको छ। उनको उपस्थिति नै नभएको संविधान सभा तुहाउन व्यक्तिका रूपमा उनको भूमिका निर्णायक हुनसक्तैन थियो। नेपाली कांग्रेसको सभापतिका रूपमा भने सुशील कोइरालाले आफ्नो र आफ्नो पार्टीको निष्ठाको रक्षा गरेको देखिन्छ। पहिलो संविधान सभाबाट संसदीय संविधान पारित हुन सहज थिएन। कांग्रेस संसदीय पद्धतिको पक्षधर पार्टी हो। त्यति बेला संसदीय लोकतन्त्रका पक्षमा सुशील कोइरालाको अडानको सराहना लोकतन्त्रवादीले गरेका पनि थिए। हो, संसदीय लोकतन्त्र विरोधीका लागि उनको अडान पक्कै पनि मन परेन होला। यसैले संसदीय लोकतन्त्र पक्षधरले सुशील कोइरालाको अडानलाई सिद्धान्त निष्ठा देख्छन् भने अरूले त्यसलाई अनुचित जिद्दी ठान्छन्। यद्यपि, यो संविधानले आत्मसात गरेको पद्धति पनि पूर्ण संसदीय छैन। 'सुधारिएको' भनिएको अहिलेको पद्धतिले ल्याउने अस्थिरतालगायतका विकृतिका लागि दोष सुशील कोइरालालाई लाग्छ। यद्यपि, आहिलेको संविधान सभाको संरचनामा उनले भन्ने गरेको 'विन–विन' का लागि 'गिभ एन्ड टेक' गर्दा बन्ने संविधान सायद यस्तैमात्र हुनसक्थ्यो।

अर्कातिर, पहिलो संविधान सभा विफल बनाउन उनको निर्णायक भूमिका रहेछ नै भने पनि रणनीतिकरूपमा समेत त्यो बुद्धिमानी हो भन्नुपर्छ। कारण, संविधान सभाको दोस्रो निर्वाचनमा सुशील कोेइरालाको दल नेपाली कांग्रेस सबैभन्दा ठूलो र निर्णायक दल बन्न पुग्यो। पार्टी सभापतिका रूपमा त्यसको मूल श्रेय त सुशील कोइरालालाई नै जान्छ। अर्थात् पहिलो संविधान सभाबाट संविधान जारी हुन उनले रोकेका हुन् भने त्यो उनको रणनीतिक कौशल सिद्ध भयो। माओवादी र मधेसी दलहरूको रणनीतिक विफलता थियो त्यो।

संविधान जारी भएपछि मधेस आन्दोलन चर्क्याे। ठूलो जनधनको क्षति भयो। मधेस आन्दोलन भारतको निर्देशनमा भएको पुष्टि मधेसी दलका नेताहरूले नै गरेका छन्। भारतीय नाकाबन्दीका कारण देशको अर्थतन्त्र पनि ध्वस्त प्रायः भयो। सुशील कोइराला प्रधान मन्त्री छँदै सुरु भएको आन्दोलनको व्यवस्थापन गर्न नसकेको दोष उनलाई पनि लाग्छ। हुन त, मधेस आन्दोलन साम्य पार्ने संविधान संशोधन उनकै पालामा संसद्मा दर्ता भएको थियो र पारित पनि मूलतः उनकै पहलमा भएको हो।

नियति र भक्तिको साथ

सुशील कोइरालासँग पीएल सिंह र शैलजा आचार्यको अवस्था तुलना गर्न सकिन्छ। कोइरालाभन्दा सिंह र आचार्य दुवै कम सम्भावना भएका, कम संघर्षशील र कम समर्पित नेता त हैनन्। आचार्य कोइराला परिवारकी सदस्य पनि हुन् र उनलाई गिरिजाबाबुको स्वाभाविक उत्तराधिकारी मानिन्थ्यो पनि। गिरिजाबाबुलाई 'मेन्टर' स्वीकार गर्न नसकेकै कारण शैलजा कांग्रेसको संस्थापनबाट बाहिर परिन्। पीएल सिंहलाई अहिल्यै कांग्रेसले बिर्सिसकेको भान हुन्छ। सम्भवतः गणेशमान सिंहको पारिवारमा उनी स्वीकार्य रहिरहन सकेनन्। नियतिले सिंह र आचार्यलाई धोका दियो। सुशील कोइरालालाई साथ दियो। कांग्रेसभित्र बढेको गुटबन्दी, अन्तर्घात र संकीर्णताका लागि सुशील कोइरालालाई धेरै दोष दिइन्छ। उनको दोष गिरिजाबाबुको 'लक्ष्मण' हुनु नै हो। शूर्पणखाको नाक कान काट्नेदेखि सीतालाई वनमा त्याग गर्नसमेत रामले लक्ष्मणलाई नै खटाए। लक्ष्मण समर्पणले सुशीललाई गिरिजाबाबुले पार्टीको मियो बनाइदिए। यसैले सुशील कोइरालाको सफलतामा गिरिजाबाबुको महत्वाकांक्षा पूरा गर्न गरिएको गुटबन्दी र अन्तर्घातको पनि योगदान छ। उनी निमित्त नै भए पनि दोष मुक्त छैनन्।

भारत समर्थक : भारत विरोधी

सुशील कोइराला २० महिना प्रधान मन्त्री भए। उनलाई भारतले भ्रमणका लागि बोलाएन। यति लामो अवधि प्रधान मन्त्री भएर पनि भारतको निम्तो नपाउने सायद उनी एक्ला प्रधान मन्त्री हुन्। विडम्बना, तिनै सुशील कोइराला भारतकै विश्वासमा आफ्नो पूर्व घोषणाविपरीत प्रधान मन्त्री पदमा उमेदवार भए। संविधान पारित नगर्न भारतीय पक्षले दिएको दबाब थेग्न कोइरालालाई निकै कठिन भएको हुनुपर्छ। कोइरालाहरूको भारतीय संस्थापनसँग 'प्रेम र ईर्ष्या' को सम्बन्ध देखिन्छ। कोइरालाहरूमाथि भारत समर्थक भएको आरोप लागिरह्यो तर भारतीय संस्थापनले कोइरालाहरूलाई असहयोग पनि गरिरह्यो। यसका धेरै कारण होलान् बीपीको छवि र अटेरीपनदेखि सुशीलकै पनि अडान नेपाललाई 'संरक्षित प्रान्त'जस्तो ठान्ने भारतीय बाबुहरूलाई कहिल्यै मन परेन। कोइरालाहरूले पनि अरू राजनीतिक नेताहरूले जस्तो बाबुहरूलाई भाउ दिएनन्। राजनीतिक नेतृत्वसँगै सम्बन्ध भएकाले बाबुहरूलाई तह लगाउन सकिन्छ भन्ने भ्रममा उनीहरू रहे। तर, बेलायती उपनिवेशको धङधङीबाट मुक्त हुनै नसक्ने भारतको बाबुतन्त्रले त्यहाँको राजनीतिलाई पनि घुमाउने गरेको छ। भारतीय शासकको यातनासमेत सहेका सुशील कोइरालालाई नियतिले जीवनको अन्तिम घडीमा भारतीय बाबुहरूप्रति विश्वस्त बनायो। कस्तो विडम्बना!

अन्तिम अवसाद!

पार्टी सभापतिमा पनि दोस्रो पटक उमेदवार नहुने वाचा उनले गरेका थिए। बाँचेका भए उनलाई त्यो वाचा पनि तोड्न बाध्य बनाइन सक्थ्यो। नियतिले उनलाई त्यसबाट जोगाइदियो। 'संविधान जारी भएपछि सत्तामा बस्दिन' भनेर पटकपटक दोहोर्याथउने कोइरालालाई उमेदवारी दिन केले बाध्य बनायो? सायद अब अनुमानमात्रको विषय हुनेछ। तर सुशील कोइरालालाई आफ्नो वचन पूरा गर्न नसकेको चोट निकै गहिरोसँग परेजस्तो देखियो। प्रधान मन्त्री पदको उमेदवारी र पराजयपछि उनी स्वस्थ हुन सकेनन्।

त्यसरी अडान छाड्ने र दबाब सामु झुक्ने कार्य उनको प्रकृति एवं चरित्रविपरीत थियो। त्यसले उनमा गहिरो अवसाद उत्पन्न गरेको हुनसक्छ। अस्पष्ट ग्लानि त उनका पछिल्ला एकाध अभिव्यक्तिमा पनि ध्वनित हुन्छ। अर्थात्, सुशील कोइराला आफ्नै अडान र संयोगले बनेका पात्र हुन्। अर्थात् नियत र नियतिका नेता!

र अन्त्यमा : कांग्रेसको भविष्य

नेपाली कांग्रेसको आसन्न महाधिवेशनले पार्टीको नेतृत्व चयनमात्र गर्नेछैन। सुशील कोइरालाको निधनका कारण पार्टीको भविष्य पनि निर्धारण गर्नेछ। अहिले प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेल र शेरबहादुर देउवामध्ये कुनै एक जना सभापति चुनिएलान् तर एक अर्कालाई नेता स्वीकार गर्न उनीहरूले सक्ने छैनन्। यसको परिणाम धेरै राम्रो भए अहिलेकै जस्तो भागबन्डा गरेर पार्टी चलाइनेछ। नत्र कांग्रेस निकट भविष्यमै फुट्न सक्छ। कारण, पार्टी कब्जा गर्ने प्रयास दुवै पक्षले गर्नेछ। यसैले पार्टीलाई एकजुट बनाइराख्ने हो भने दुवैले स्वीकार गर्नसक्ने तर पार्टी कब्जा गर्ने महत्वकांक्षा नभएका नेतालाई सभापति बनाउनु उपयुक्त हुने देखिन्छ। सम्भवतः केबी गुरुङ यसका लागि सही व्यक्ति हुन सक्छन्। कांग्रेसजन र नियतिलाई मन्जुर होला/नहोला तर अर्को पुस्तालाई पार्टी हस्तान्तरण गर्ने हो भने संक्रमणका लागि उपयुक्त पात्र केबी गुरुङ नै हुन्।

Monday, February 8, 2016

'मियाँ दाइ'ले ढाँटेछन् !


मेरा अधिकांश साथी राजनीतिक भेलामा भेटिन्छन् । विशेषगरी तनहुँ जिल्लामा हुने नेपाली कांग्रेसका कार्यक्रममा उनीहरू अझै सहभागी भइरहेकै छन् । यसैले फुर्सद पाएका बेला कांग्रेसको जिल्ला र क्षेत्रीय अधिवेशनहरू हेर्न तनहुँ जाने गर्छु । यसपटक पनि गएको थिएँ ।
माघ २२ गते डुम्रेमा संसदीय क्षेत्र नं १ को अधिवेशन थियो । आँबु खैरेनीका प्रतिनिधिहरूसँगै डुम्रे पुगेँ । क्षेत्र नं १ मा महाधिवेशन प्रतिनिधिलगायतका पदका लागि निर्वाचन हुँदै थियो । त्यस क्षेत्रका कांग्रेसका हस्तीहरू समूह बनाएरै भिडेका थिए । दुवै समूहबाट चुनिए । विशेष के भयो भने नेपाल विद्यार्थी संघका नेताहरू आनन्द त्रिपाठी र दीपक भट्टराई राम्रो मत ल्याएर चुनाव जितेछन् ।
धेरै पुराना साथीहरू भेटिए । छिम्केश्वरी, देउराली, धरमपानीमा मेरा धेरै परिचित साथीहरू थिए । ती गाविसहरूमा कांग्रेसको संगठन गर्दा मैले धेरै कार्यकर्ता बनाएको थिएँ । छिम्केश्वरीका श्रीबहादुर गुरुङ र देउरालीका रणध्वज गुरुङ अभैm सक्रिय नै रहेछन् । रणध्वज त २०३६ सालमै बहुदलको पक्षमा लागसकेका थिए । छिम्केश्वरीबाट क्षेत्रमा प्रतिनिधित्व गर्नेमध्ये बाबुछोरा भेटिएका थिए ।
यही हुलहालमा पुराना कांग्रेस नेता सूर्यनाथ खनाल पनि भेटिएका थिए । त्यहाँ भेटिएकामध्ये मलाई ‘तिमी’ भन्ने मान्छे उनीमात्रै थिए । सूर्यनाथ दाइसँगको चिनजान कति पुरानो हो सम्झना छैन । तर २०३९—४३ सालमा म तनहुँ जिल्ला पञ्चायतको उपसभापति छँदा उनी सतीश्वाँराका प्रधानपञ्च थिए । उनको पंचायत ६ नं क्षेत्रमा पथ्र्यो । त्यस क्षेत्रबाट मैलै प्रतिस्पर्धीले भन्दा दोब्बर मत ल्याएको थिएँ । यसमा सूर्यनाथ दाइहरूकै योगदान थियो । मैले त त्यस क्षेत्रमा टेकेको मात्रै थिएँ । धेरैलाई चिन्दैनथेँ । पाँच वर्ष उपसभापति छँदा निकट रहेर काम गरियो । उनी पुराना प्रतिबद्ध लोकतन्त्रवादी भएकाले श्रद्धा लाग्थ्यो । उनले पनि मलाई माया गर्थे । पछि काठमाडौंमा बिरामी भएका बेला उनलाई अस्पतालमा केही सहयोग उपलब्ध गराएको सम्झना छ ।
म राजनीति र जिल्ला दुवै छाडेर काठमाडौंमा भौँतारिन थालेँ । त्यसपछि मुस्किलले २—४ पटक भेट भयो होला । डुम्रेमा भेटिँदा सूर्यनाथ दाइ अलि थाकेका देखिन्थे । मैले किन दुःख गरेको ? भने । उनले ठट्टा गर्दै भने यहाँ नआएको भए तिमीसँग भेट हुन्थ्यो त ? हामी हास्यौँ । उनलाई म ‘मिया दाइ’ भन्थेँ । सम्जुरमा हुर्केकाले चुरेटा भाषा बोल्न सक्थे । र उनको लबजमा पनि कताकता मियाँहरूको बोलीको झल्को लाग्थ्यो । सूर्यनाथ प्रधानपञ्च हुँदा इसुफदिन मियाँ उपप्रधान थिए । म उनीहरूलाई जिस्क्याउने गर्थेँ — सूर्यनाथले ‘अल्लाह कसम’ भन्छन् र इसुफदिनले ‘रामको कसम’ खान्छन् भनेर । इसुफदिन दाइ केही वर्ष पहिले बितेछन् । सूर्यनाथले भनेका थिए ‘गइसक्यो ऊ त, म एक्लै हो । दाइले काठमाडौंमा घर सोधे र भेट्न आउँछु भने । उनले मेरो फोन नंबर मागे । र हामी बिदा भएका थियौँ ।
मियाँ दाइले त ढाँटेछन् मलाई । उनी त कहिल्यै नआउने गरी पो गएछन् । दमौलीमा बुद्धिकुमार बतासजीले सूर्यनाथको मरण त गजबको भयो भन्दा मैलै मेरै मियाँ दाइ हुन् भन्ने कल्पनासम्म पनि गरिन । दोहो¥याएर सोधेँ । परशुरामजी साथैमा थिए । उनले भने — म सिंपानीमा हुर्केको तर मैले कांग्रेसको झन्डा भने सूर्यनाथको घरमा देखेको हुँ । ’
ठाँट्यौ दाइ ! काठमाडौं आएर भेट्ने वचन पूरा गरेनौ ।
मेरो हार्दिक श्रद्धाञ्जली !

पुनर्निर्माणको पीडा

भूकम्पपीडितलाई राज्यले वास्ता नगरे पनि प्रकृतिले दया ग¥यो । पानी खासै परेन यो हिउँदमा । हिउँ पर्ने ठाउँमा पनि धेरै दिन र धेरै बाक्लो परेन । यद्यपि, उनीहरूको जीवनमा थप कष्टका लागि सायद ठाउँ नै छैन । कतै २०७३ सालको बैशाख १२ गते पनि अर्को भुइँचालो आइहाल्ला कि भनेर पर्खे झैँ पुनर्निर्माणको मिति तोक्ने प्राधिकरणको नेतृत्वबाट नवनिर्माण त के पुनर्निर्माण पनि हुनसक्तैन । अध्ययन र सर्वेक्षण भन्दै यिनले अर्बौं रुपियाँ सिध्याउनेछन् र पीडितहरू रोइरहनेछन्।
हाइटीमा अस्थायी बन्दोबस्तमा पैसा खर्च गर्ने र स्थायी व्यवस्थाका लागि योजना नै बनाइरहने गर्दा नै त अर्बौ डलर खेर गएको हो । अमेरिकी रेडक्रसको फजुलखर्ची शैली अहिले नेपालमा काम गर्ने अरू संस्थाले पनि अपनाएका छन् । विशेषगरी ठूला अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रसंघीय निकायहरूले बिना काम अर्बौं रुपियाँ खर्च गरेका छन् । आकस्मिक मानवीय सहायतामा बाहेक तिनले अरू काम गर्नु उपयुक्त थिएन । तिनको प्रशासनिक खर्च निर्माणमा लगाउन सके धेरै काम हुन्छ।
हुँदाहुँदा अब त नयाँ दाता सम्मेलन गर्ने भन्न थालेछन् । पहिले दाताले दिने भनेको पैसा खर्च गर्ने प्रस्ताव त बनाऊ ! त्यो पैसा अब आउँदैन भन्ने लागेको हो कि ? हुन पनि प्राधिकरण र सरकारको अहिलेकै संरचना र कार्यशैलीलाई दाताले पत्याउने आधार छैन । अर्को सम्मेलन गर्दा पहिले जति पनि रकम जुट्ने सम्भावना कमै छ । सरकार निकटका केही परामर्शदाताहरूलाई कमाउने मौका भने हुनसक्छ । अहिले नै धेरैले नेकपा (एमाले) निकट संस्थाहरूलाई काम ‘आउट सोर्सिङ’ गर्ने तारतम्यबाहेक प्राधिकरणको ध्यान अन्यत्र नगएको आरोप लगाउँदै आएका छन् ।
यसैले भूकम्पपीडित सामु सरकारलाई पर्खेर ‘भगवान भरोसे’ बस्ने कि आफैँ जो सकेको गर्न अगाडि सर्ने भन्नेमात्र विकल्प देखिन्छ । हो! उद्धारका बेलामा जस्तै युवा स्वयंसेवीहरू जुर्मुराए भने चाहिँ पुनर्निर्माणमा सहयोग पुग्नेछ । पीडितहरू स्वयंलाई उत्प्रेरित गरेर आआफ्ना घर बनाउन सहयोग गर्ने र अशक्तहरूको घर बनाइदिने हो भने अर्को वर्षको हिउँदमा सबैको आआफ्नै ओत हुनेछ । नत्र, बैशाख १२ पछि सुरु गर्ने भनेर पर्खने हो भने अर्को हिउँद पनि पाटामै बिताउनुपर्नेछ । बैशाखपछि वर्षा लाग्छ । चाडबाड मनाउने बेला हुन्छ । निर्माण कार्य त हिउँदमा मात्र सुरु हुन्छ र काम राम्ररी भए पनि अर्को वर्षको वर्षा याममा मात्र सकिन्छ ।
के युवा स्वयंसेवीहरू फेरि जुर्मुराउलान् ? पुनर्निर्माणलाई आन्दोलनका रूपमा लिन र सरकारी नियमले बाधा पारे त्यसको अवज्ञा गर्न तयार नहुने हो भने नेपाल हाइटी हुने निश्चित् छ ।

कांग्रेस सिन्डिकेट हुने कि राजनीतिक दल ?

आज नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका क्रममा देशभर जिल्ला अधिवेशन भइरहेका छन् । बितेको साता नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरू भए । यी भेलालाई अधिवेशनको नाम दिइए पनि यथार्थमा सम्बन्धित तहको निर्वाचनबाहेक अरू केही भएन । र निर्वाचन पनि नितान्त व्यक्तिको अनुहारका आधारमा भयो । तनहुँको संसदीय निर्वाचन क्षेत्र १ को क्षेत्रीय अधिवेशन पनि फरक थिएन । निर्वाचन परिणाम पनि देशभरकै जस्तो भयो । अपेक्षित तर अव्याख्येय !

प्रतिनिधिहरूको उत्साह भने लोभलाग्दै थियो । राजनीतिमा संलग्न रहँदाका पुराना साथी पनि भेटिने लोभले केही घन्टा अधिवेशन स्थलमा पुगेको थिएँ । धेरै साथी भेटिए पनि । कतिलाई मैले चिनेर बोलाएँ । कतिले मलाई चिनेर बोलाए । केहीले फर्कीफर्की हेरेर राम्रैसँग खुट्याएपछि बोलाए । जनमत संग्रहताका २०३६ सालमा बहुदलका पक्षमा संगठन गर्दा मुस्किलले समिति बनाएका गाउँमा समेत अहिले चिनेका प्रतिनिधि एकाध जनामात्र बाँकी रहेछन् । अहिले आएका कतिपय प्रतिनिधि पुराना साथीकै छोराछोरी रहेछन् । छिम्केश्वरी गाउँ विकास समितिमा त बाबुछोरा दुवै जना प्रतिनिधि भएर आएका रहेछन् ।
कांग्रेसमा केही त आकर्षण छ । नत्र यसरी एउटै परिवारका दोस्रो तेस्रो पुस्ताका सदस्यहरू पार्टीमा सक्रिय भइरहने थिएनन् । नेपाली कांग्रेसका नेताहरूले यस अवसरलाई व्यक्तिगत लाभहानि र चालबाजीभन्दा माथि उठेर पार्टीको संगठन विस्तारमा प्रयोग गरेको भए संख्यासँगै गुणस्तर पनि बढ्ने थियो । प्रतिनिधि चुनिएका एक जना साथीले भने पनि — कांग्रेसको संगठन विस्तारको ठूलो मौका हुन्थ्यो यो महाधिवेशन तयारी । पार्टीमा ३ दशकभन्दा बढी संलग्न भइसकेका यी मित्रलाई अभैm भ्रम छ उनको पार्टीका नेता सिद्धान्तप्रति निष्ठावान् छन् भन्ने । भुइँचालो र नाकाबन्दीले जीवन त यिनको पनि कष्टकर भएकै होला तर अचम्मको उत्साह देखिन्थ्यो उनीहरूमा । लोकतन्त्रका नाममा समर्पित यस्ता कार्यकर्ताको पाप त लाग्छ कांग्रेसका अहिलेका नेतालाई !

नीतिविहीन नेतृत्व चयन
कांग्रेस महाधिवेशनपछि राष्ट्रिय राजनीतिले कोल्टो फेर्ने लगभग निश्चित छ । कांग्रेसको नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि क्षेत्रीय अधिवेशनबाट चुनिएका छन् । यस अर्थमा गएको माघ २२, २०७२ ले नेपालको राजनीतिलाई निर्देश गरिसकेको छ । कांग्रेसका नेतृत्व चयन नीतिका आधारमा हुनेगर्दैन । व्यक्तिको छनोटमा सीमित हुँदै आएको महाधिवेशन यसपटक पनि फरक हुने लक्षण भने छैन । व्यक्ति चयनमा पनि उमेरअनुसारको रोलक्रम निर्धारण गरिएजस्तो लाग्ने नेतृत्व चयनमा खासै चमत्कार हुने लक्षण छैन । त्यसैले महाधिवेशनपछि हुने परिवर्तनले पनि देशलाई खासै गति र दिशा दिनसक्छ भनेर विश्वास गर्ने आधार चाहिँ देखिँदैन ।

सजिला छैनन् मतदाता
निर्वाचनमा उमेदवारी समूहगत भए पनि मतदाताले विवेक प्रयोग गरेको देखियो । गाउँ अधिवेशनमा जति समूहगत मतदान सायद क्षेत्रीय अधिवेशनमा भएन । जिल्लामा अपेक्षाकृत समूहगत मतदान बढी हुनसक्छ । तर महाधिवेशन प्रतिनिधिहरू निर्वाचित हुँदाकै समूहमा रहिरहन्छन् भन्ने ठानेर अहिले यता र उताको भागबन्डा गर्नेहरू मतदानपछि जिल्लिने सम्भावना उत्तिकै बलियो छ । पार्टीसँग भविष्य गाँसिएका तरुणहरू पार्टीलाई सधैँ गुटको समूह बनाइराख्न प्रयोग हुन्छन् भन्ने ठान्नु मूर्खता हुन्छ । यसैले महाधिवेशन प्रतिनिधिलाई ‘ह्याकुलाले मिच्ने काम’ नगरे बेस !

चरित्रविपरीतको संरचना
नेपाली कांग्रेसको संरचना २००७—२०१७ को जति पनि पार्टीको चरित्र र प्रवृत्तिअनुरूपको छैन । कांग्रेस कार्यकर्तामा आधारित पार्टी हैन । लामो समय प्रतिबन्धित रहँदा र सशस्त्र विद्रोह गर्दा पार्टी कार्यकर्तामा आधारितजस्तो हुन पुगेको थियो । तर २०४६ पछि पनि पार्टीको संरचना र कार्यशैली उदार जनाधारित राजनीतिक दलको जस्तो बनाउन खोजिएन । बरु कम्युनिस्टहरूको सिको गर्न थाले कांग्रेसका प्रभावशाली भनिने नेताहरूले । त्यसको फल अहिले पार्टीले भोग्दैछ । पूर्णकालीन वा वृत्तिभोगी कार्यकर्ता पद्धतिले नेपाली कांग्रेसलाई ‘सिन्डिकेट’ बन्ने बाटामा डो¥याएको छ । कार्यकर्ता पाल्न पैसा जुटाउनै पर्ने बाध्यता देखाएर नेताहरू भ्रष्टाचारको औचित्य सिद्ध गर्ने प्रयास गर्दैछन् ।

चुनाव हारे पनि भाग खोज्ने प्रवृत्ति कांग्रेसको संगठनका लागि घातक रोग हुन पुगेको छ । एकल नेतृत्व भए पार्टीभित्र भागबन्डाको रोग त अन्त्य हुन्छ नै सभापतिले जिम्मेवारी पनि लिनुपर्छ । अझ संसदीय दलको नेता नै पार्टी सभापति हुने व्यवस्था भए जनताले दुत्कारेका व्यक्तिले दलको नेतृत्व गर्ने परम्परा पनि समाप्त हुनेछ ।  

उदार लोकतान्त्रिक दलमा जसरी नेतृत्व चयन गर्ने हो भने महाधिवेशन नेपाली कांग्रेसलाई नयाँ दिशा र गति दिने अवसर बन्नसक्थ्यो । विडम्बना, अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन । बीपी, गणेशमान र महेन्द्रनारायणका छोराहरूले संयुक्तरूपमा आँट गरे भने अहिलेको रोलवाला शैली भत्काउन सक्छन् । दुर्भाग्य, पार्टीको आत्मा जोगाएरै युग सुहाउँदो बनाउन यिनीहरू मिलेर अगाडि सर्ने संकेत देखिएको छैन । केही दिन पहिले प्रकाशमान सिंह पनि सभापति पदमा निर्वाचन लड्न इच्छुक भएको समाचार सार्वजनिक भएको थियो । सिंह नेतृत्वका लागि अगाडि सरेका हुन् भने यो सकारात्मक पक्ष हो । उनी वा उनीजस्तै जनताबाट चुनिएका, कांग्रेसभित्र साख पनि भएका व्यक्तिले कांग्रेसलाई युगसापेक्ष बनाउन नेतृत्व गर्न सक्छन् ।

जनाधारित संरचना
कांग्रेसको नेतृत्वमा मात्र हैन संगठनको संरचना र नीतिमा पनि जनाधारित उदार लोकतान्त्रिक दलअनुरूप हुने गरी परिवर्तन गर्नु आवश्यक छ । अहिले नेपाली कांग्रेस चरित्र र इतिहासका दृष्टिले उदार लोकतान्त्रिक दल, नीतिका आधारमा बजारमुखी पुँजीवादी, नेतृत्वका दृष्टिबाट अनुदार परम्परावादी र संगठनतात्मक संरचनाका आधारबाट कम्युनिस्ट पार्टीजस्तो देखिन्छ । सिद्धान्त र संरचना नमिले कृत्रिम अंगले लामो समय काम नगरेजस्तै धेरै दिन चल्दैन । विधान संशोधनका क्रममा कांग्रेसजनले यसको हेक्का राख्नुपर्छ । नेपाली कांग्रेसले पार्टीको संरचना बनाउँदा २०१७ सालभन्दा पहिलेको विधान हेरेर परिमार्जन गरे पनि हुन्छ । जनाधारित र संसदीय पद्धति स्वीकार गर्ने पार्टीमा एकल नेतृत्व हुन्छ । नेतृत्वमा पुग्ने मौका क्षमताका आधारमा सबैले पाउँछन् । कम्युनिस्टहरूको सिको र संगत गर्न छाडेर दायाँबायाँमात्र हैन पछाडि पनि फर्केर हेर्दै अगाडि बढ्ने (सिंहावलोकन) कार्यशैली अपनाउने हो भने नेपाली कांग्रेसले पुनः मुलुकको नेतृत्व गर्नेछ  । कम्युनिस्टहरूको संगतमा गर्नुपर्ने र गर्नै नहुने सबै काम त गिरिजाबाबुकै पालामा भइसकेको छ । बाँकी सुशील कोइरालाको नेतृत्वमा समपन्न भएको छ । इतिहासले मूल्यांकन गर्नेछ । अब कांग्रेसजनले आफ्नै इतिहास र यथार्थ सम्झे भने पार्टी र मुलुक दुवैको हित हुनेछ ।

उदार लोकतान्त्रिक दल सुहाउँदो संरचना बनाउने हो भने त्यसमा देशको जनसांख्यिक संरचना प्रतिविम्बित हुनुपर्छ । उमेरअनुसार सबैभन्दा ठूलो समूहको सबैभन्दा धेरै प्रतिनिधित्व होस् । जनसंख्यामा १८ देखि ५५ वर्षको उमेर समूह ५० प्रतिशत जति छ । यस्तै ५१ प्रतिशत महिला छन् । सन् २०१४ मा सबैभन्दा ठूलो समूह १५ — १९ र २० — २४ वर्षको थियो । आदर्श र उदार संरचना जातिमात्र हैन उमेर र लिंगमा पनि समानुपातिक हुनसक्नु पर्छ ।

नीतिगत मार्गदर्शन
नीतिका लागि पनि कांग्रेसजनले धेरै दुःख गर्नु पर्दैन । विश्वेश्वरप्रसाद कोइरालाका पहिलेका विचार सारमा कालजयी छन् । तर, २०३३ पछिका विचारलाई सूत्र मानेर प्रयोग गर्ने हो भने अहिलेका लागि पनि उत्तिकै सान्दर्भिक र उपयोगी देखिन्छन् । यस लेखको विषय बीपीका पछिल्ला चरणका विचार र धारणाका समयमा विस्तारमा चर्चा गर्नु होइन । तर, उनका मानवतावादी उदार लोकतान्त्रिक विचार आज पनि उत्तिकै सान्दर्भिक छन् । व्यक्ति सबै विचार र नीतिको केन्द्रमा हुनुपर्छ र व्यक्ति ‘असल बन्ने’ वातावरण बन्नुपर्छ भन्ने नै त हो बीपीको पछिल्लो मान्यता । त्यसैका लागि आर्थिक सामाजिक न्याय र समानता आवश्यक हुने हो । बीपीका अनन्य सहयोद्धा गणेशमान सिंहले अहिलेको समानुपातिक र सामाजिक न्यायका पक्षमा गम्भीर धारणा सार्वजनिक गरेका थिए । प्रत्येक व्यक्तिलाई उत्तिकै सक्षम हुने वातावरण निर्माण गर्न आवश्यक सामाजिक न्याय कायम गर्न सिंहले २०४६ पछि अगाडि सारेका मान्यतालाई पनि कांग्रेसले मार्गदर्शक सिद्धान्त बनाउन सक्छ । बीपी र गणेशमानलाई तिनले भनेकै शब्दमा भन्दा पनि सजिलोसँग बुझ्न र बुझाउन सकिन्छ । तर कांग्रेसका नेताहरूले संस्थागतरूपमा यस्तो प्रयासै गरेनन् ।

नेतृत्वका लागि तयारी
अहिलेको संविधान संयुक्त सरकार अनिवार्य हुनेगरी बनाइएको छ । यही संविधानअनुसार एकलौटी सरकार बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ । उदार लोकतन्त्रको सेरोफेरोभित्र ‘मध्य दक्षिण’ वा ‘मध्य वाम’ पन्थी नीति र कार्यक्रमभन्दा कुनै दल पनि धेरै टाढा जानसक्ने अवस्था छैन । कांग्रेसलाई नेपाली जनताले चारपटक पहिलो र दुई पटक दोस्रो दल बनाएका छन् । कांग्रेस अहिलेसम्म तेस्रो दल हुनुपरेको छैन । यसैले आउने दिनहरूमा पनि नेपाली कांग्रेसले जनताको विश्वास पाउने र संयुक्त सरकारको नेतृत्व लिने सम्भावना अरू पार्टीको भन्दा धेरै छ भन्नु अन्यथा हुँदैन । त्यस अवस्थामा आफ्नो सिद्धान्त नछाडी विपरीत विचार हुनेसँग पनि सम्झौता र सहकार्य गर्नसक्ने क्षमता कांग्रेसमा विकास हुनुपर्छ । नैतिक र राजनीतिक कौशल यसका पहिला आधार हुन् । यसका लागि पार्टी र नेतृत्व दुवैको साख आवश्यक हुन्छ । इमानदार तर उदार छवि आवश्यक हुन्छ । नेतृत्व दोष लिन, कमजोरी स्वीकार्न गर्न तथा र जस बाँड्न तयार हुनुपर्छ । जनचाहना बुझ्न र त्यसलाई शासनको मन्त्र बनाउन तयार र सक्षम हुनुपर्छ ।

र अन्त्यमा,
भन्न त, नेकपा (एमाले)ले पनि आपूmलाई राजनीतिक दल नै भन्दैआएको छ । तर त्यसको संरचना र कार्यशैली हेर्दा राजनीतिक सिद्धान्तका आधारमा संगठित समूहभन्दा कारोबारका लागि एकत्रित ‘सिन्डिकेट’जस्तो लाग्छ । सिद्धान्त, संरचना र कार्यशैलीमा पूरै परिवर्तन नगर्ने हो भने नेपाली कांग्रेस पनि अर्को ‘सिन्डिकेट’मा परिणत हुने निश्चित् छ । त्यस अवस्थामा कांग्रेसमा क्रियाशील अहिलेका धेरैको उपादेयता समाप्त हुनसक्छ भने आकर्षणको कारण पनि बदलिनेछ ।
निर्वाचनपछि भए पनि कांग्रेसका युवा प्रतिनिधिहरू देशप्रति गम्भीर हुने अपेक्षा राख्नु अर्घेल्याइँ त नहोला नि !

Saturday, February 6, 2016

दुष्टको दुर्गति !

‘सरकार हाम्रो मागप्रति गम्भीर छैन । वीरगन्ज नाकाले पनि सरकारलाई कुनै दबाब भएन । वीरगन्ज नाका बन्द गरेर जनतालाई मात्र दुःख भइरहेको छ ।’ भन्ने राजेन्द्र महतोले सायद बल्ल यथार्थ बुझे । यद्यपि, उनको बोली भोलि नै बदलिन सक्छ । मधेसी नेताहरू दिल्लीबाट पटना आइपुगे । अब यतै मोतीहारीका जिल्ला मजिस्ट्रेटको शरणमा पुग्ने होलान् । जनतालाई सास्ती नदिई आन्दोलन गरेको र दिल्ली र पटनामा गरेको परिश्रम काठमाडौंमै जनमत सिर्जना गर्न लगाएको भए सरकारमाथि  दबाब पर्नेथियो ।
अहिलेको सरकार ‘जालिम’ छ तर नेपाली जनताले चुनेको संसद्को बहुमतले बनाएको हो । यसैले बाहिरको दबाबबाट झुकाउन खोज्दा नेपाली जनताले सरकारको साथ दिएका हुन् । भित्रबाटै प्रयास भएको भए जनताको साथ पाउने कुनै गुण यो सरकारमा थिएन । मधेसी नेताले मात्र हैन दिल्लीवालहरूले पनि बुझिराखे हुन्छ । मधेस आन्दोलनका नाममा नेपाली जनतालाई दिइएको दुःख पाप र अपराध दुवै हो । अति भएपछि जनताले सहँदैनन् । वीरगन्ज नाकामा धर्ना दिनेका लागि सदावर्त चलाउने रक्सौलवाला वा नाकामा धर्नाकारीसँगै रात बिताउने वीरगन्जवासीहरूले नै आन्दोलनका नाममा तेस्र्याइएको तगारो भत्काउने यसैको उदाहरण हो ।
अहिले मधेसी नेतालाई धाप मार्ने देशभित्र र बाहिरका सबैले आआफ्नोको कर्मको फल पक्कै पनि बेहोर्नुपर्छ । दुष्टहरूको दुर्गति भएको देख्न धेरै दिन पर्खनु पनि नपर्ला कि ?


Thursday, February 4, 2016

आदर्शको स्खलन

विश्वेश्वरप्रसाद कोइरालाले (२०३६ सालको जेठमा हो कि ?) टुँडिखेलको जनसभामा आफूलाई ‘एक्लो बृहस्पति’ घोषित गरेका थिए । तेति बेला पार्टीमा उनको एकछत्र नेतृत्व थियो । कम्युनिस्टहरूले समेत उनलाई संयुक्त आन्दोलनको नेतृत्व गर्न आग्रह गरेका थिए । तैपनि, उनले आफूलाई एक्लो ठानेको रहस्य बिस्तारै खुल्दैगएको छ । उनकै पार्टीमा उनले जीवनकै सार बनाएका ‘राष्ट्रियता र लोकतन्त्र’लाई सर्वोपरि ठान्नेहरू बलिया रहेनछन् र पो बीपीले त्यो रहस्य खोलेका रहेछन् ।
वास्तविक लोकतन्त्रका प्रश्नमा पार्टीको नीति र व्यवहारमा चित्त नबुझेपछि गणेहमान सिंहले पार्टी छाडे । भारत भूमिमा भएको १२ बुँदेले रोपेको विष वृक्षको ताप सहन नसकेर कृष्णप्रसाद भट्टराईले राष्ट्रियताका पक्षमा पार्टी त्यागे । बीपीका साथीहरूले पार्टी त्यागेसँगै सम्भवतः नेपाली कांग्रेस पनि नैतिकरूपमा समाप्त भइसक्यो । अहिलेको कांग्रेस आदर्श हैन सत्ता स्वार्थमा संगठित जमातमात्रै देखिएको छ । अर्थात्, कांग्रस पनि नेपालका अरू पार्टीभन्दा फरक हुन सकेको छैन ।
विडम्बना, महाधिवेशनमा प्रतिस्पर्धा गर्ने कसैले पनि आदर्श र सिद्धान्त स्खलनको विषय उठाएको सुनिएको छैन।

Tuesday, February 2, 2016

शासक र विदूषक

अहिलेको राजनीति र राजनीतिक नेताहरूलाई नाट्यशास्त्रका आधारमा हेर्न खोज्दा वा विदूषकसँग अहिलेका नेताको तुलना गर्न नाट्यकर्मीहरूलाई होच्याएको बात नलागोस् । म नाट्यकर्मीको सम्मान गर्छु र विदूषकको अभिनय गर्नेहरूको झन् धेरै प्रशंसा गर्छु  - अरूलाई रुवाउन त धेरैले सक्छन् । हसाउनेहरू पो  महान् हुन् । तैपनि अरू विधाभन्दा नाटकमा रुचि बढी भएकाले परेका बेला यसको सहारा लिने गरेको हो । गुरु मोहन हिमांशु थापाले करिब ३६ वर्ष पहिले पढाएको पाठ अझै केही सम्झना जो हुन्छ । पूर्वीय नाट्यशास्त्रमा ४ प्रकारका नायकको वर्णन छ – उदात्त, ललीत, प्रशान्त र उद्धत । चारै प्रकारका नायक ‘धीर’ भने हुनैपर्छ । राजनीतिक नेतामा पनि नायकत्व हुनुपर्छ । अर्थात् धीरता नेताका लागि अनिवार्य गुण हो । दुर्भाग्य, नेपालका समसामयिक राजनीतिक नेताहरूमा सबैभन्दा अभाव यही धीरताको छ । अनि यिनलाई के नेता भन्नु ?
विदूषक आफैँ वा अरूलाई उल्याएर हाँसो लगाउने पात्र हो । उत्कृष्ट नाटकमा विदूषकले रहस्योद्घाटन गरेर कथालाई अगाडि पनि बढाउने गर्छ । विदूषक दुष्ट पात्र वा खल चरित्र भने होइन । अर्थात् अहिलेका नेतामा नायकत्व त के विदूषकीय गुण पनि छैन ।  देश लामो समय नायक विहीन भए अधिनायकहरूले मौका छोप्छन् र
 अधिनायकवादी शासन थोपरियो भने पनि मारमा पर्ने च निमुखा नै हुन् तर अहिलेका ठालुहको हैकम पनि समाप्त हुनसक्छ । यसैले शासकलाई विदूषक हुने सुविधा छैन ।