Saturday, February 6, 2016

दुष्टको दुर्गति !

‘सरकार हाम्रो मागप्रति गम्भीर छैन । वीरगन्ज नाकाले पनि सरकारलाई कुनै दबाब भएन । वीरगन्ज नाका बन्द गरेर जनतालाई मात्र दुःख भइरहेको छ ।’ भन्ने राजेन्द्र महतोले सायद बल्ल यथार्थ बुझे । यद्यपि, उनको बोली भोलि नै बदलिन सक्छ । मधेसी नेताहरू दिल्लीबाट पटना आइपुगे । अब यतै मोतीहारीका जिल्ला मजिस्ट्रेटको शरणमा पुग्ने होलान् । जनतालाई सास्ती नदिई आन्दोलन गरेको र दिल्ली र पटनामा गरेको परिश्रम काठमाडौंमै जनमत सिर्जना गर्न लगाएको भए सरकारमाथि  दबाब पर्नेथियो ।
अहिलेको सरकार ‘जालिम’ छ तर नेपाली जनताले चुनेको संसद्को बहुमतले बनाएको हो । यसैले बाहिरको दबाबबाट झुकाउन खोज्दा नेपाली जनताले सरकारको साथ दिएका हुन् । भित्रबाटै प्रयास भएको भए जनताको साथ पाउने कुनै गुण यो सरकारमा थिएन । मधेसी नेताले मात्र हैन दिल्लीवालहरूले पनि बुझिराखे हुन्छ । मधेस आन्दोलनका नाममा नेपाली जनतालाई दिइएको दुःख पाप र अपराध दुवै हो । अति भएपछि जनताले सहँदैनन् । वीरगन्ज नाकामा धर्ना दिनेका लागि सदावर्त चलाउने रक्सौलवाला वा नाकामा धर्नाकारीसँगै रात बिताउने वीरगन्जवासीहरूले नै आन्दोलनका नाममा तेस्र्याइएको तगारो भत्काउने यसैको उदाहरण हो ।
अहिले मधेसी नेतालाई धाप मार्ने देशभित्र र बाहिरका सबैले आआफ्नोको कर्मको फल पक्कै पनि बेहोर्नुपर्छ । दुष्टहरूको दुर्गति भएको देख्न धेरै दिन पर्खनु पनि नपर्ला कि ?


No comments:

Post a Comment