Monday, February 15, 2016

नियत र नियतिका नेता


कसैको मूल्यांकन गर्दा वा कुनै वाद, व्यक्ति र सिद्धान्तप्रति धारणा बनाउँदा दृष्टिकोणको प्रभाव सबैभन्दा बढी हुन्छ । व्यक्तिको दृष्टिकोण पूर्ण हुँदैन। अपूर्ण दृष्टिकोणबाट गरिने मूल्यांकन पूर्ण वस्तुगत पक्कै हुन सत्तै्कन । यसैले अहिले वा पछि सुशील कोइरालाको पनि यथार्थ मूल्यांकन हुनसत्तै्कन। उनीप्रति व्यक्तिका दृष्टिकोणहरू प्रकट हुनेमात्र हो।

हिरो' हुने चाहने सुशील कोइरालालाई नियतिले राजनीतिमा अल्झाइदियो। राजनीतिमा रमाएपछि उनले हलिउड सपना त्यागे। सुशील कोइराला २०१७ सालमा लोकतन्त्रको हत्यालगत्तै बीपी कोइरालाको परिवारको हेरचाहमा संलग्न भएदेखि प्रधान मन्त्री हुँदासम्मको कथा दोहोर्यातइरहनु पर्दैन।

बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासँग तुलना गरेर सुशील कोइरालाको मूल्याङ्कन गर्नु उपयुक्त हुँदैन। त्यसो त कुनै व्यक्तिलाई पनि अर्कोसँग पूरै तुलना गर्न मिल्दैन। तैपनि, दाँज्ने नै हो भने सुशील कोइरालालाई उनैका समकालीन प्रधान मन्त्रीहरू वा नेपाली कांग्रेसकै पनि उनका समकक्षी (समवयी सायद छैनन्!) नेताहरूसँग तुलना गर्नु उचित हुन्छ।

नवकुवेरका हुलमा फकिर

पहिलो संविधान सभा निर्वाचनपछि प्रधान मन्त्री भएकाहरूमध्ये कसैको पनि (बाबुराम भट्टराईले चाहिँ त्यही ताका घर बनाएका थिए क्यारे!) २०४६ सालभन्दा पहिले काठमाडौंमा घर थिएन। पुर्ख्यौली सम्पत्ति पनि सायद सुशील कोइरालाको जति अरू कसैको थिएन। राजनीतिक शक्ति केन्›मा यीमध्ये सबैभन्दा लामो समय सुशील कोइराला नै थिए। घरबार नगरेकै कारणले मात्रै सुशील कोइरालाले श्रीसम्पत्ति नजोडेका हुन् भन्नु सतही टिप्पणी हुन्छ। सन्तान नभए पनि सम्पत्ति र शक्तिका लागि मरिहत्ते गर्नेहरू समाजमा बग्रेल्ती भेटिन्छन्। 'अपुताको धन प्यारो' भन्ने उखान त्यसै चलेको हैन। यसैले नियतवश नै उनले सम्पत्ति संग्रह नगरेका हुन् भन्न हिचकिचाउनु पर्दैन।

अर्कातिर, सुशील कोइरालाबाहेक उनका पार्टीभित्र वा बाहिरका उनैको कोटीमा राजनीतिक नेता सबैजसो 'नवकुवेर' भएका छन्। सबैको जीवन शैली काठमाडौंका सम्भ्रान्त सामन्तहरूको भन्दा कम विलासी छैन। 'जोगी हुन राजनीति गरेको हैन' भन्ने त तिनको थेगो नै भएको छ। गुजाराका लागि सम्पत्ति जोड्नु अनुचित नमानिएला तर विलासका लागि सम्पत्ति जोड्न सत्ताको प्रत्यक्षपरोक्ष दुरुपयोग गर्नु पक्कै पनि उचित होइन। सत्ताको दुरुपयोग नगरी गुजारा चल्नेसम्म सम्पत्ति संग्रह होला तर विलासका लागि पुग्दैन। अर्थात्, सम्पत्ति संग्रहमात्रकै आधारमा हेर्दा समकक्षीहरू सबैजसो भ्रष्ट सिद्ध हुँदा सुशील कोइराला अरूभन्दा बेग्लै देखिन्छन् । व्यवहारवादीले उनलाई 'मूर्ख' भन्न सक्छन् भने आदर्शवादीका दृष्टिमा अरू नेताहरू भ्रष्ट ठहरिन्छन् । सुशील कोइरालाले जानीजानी नै सम्पत्ति नथुपारेका हुन् भन्नेमा सायद कसैको पनि विमति नहोला। सरल जीवनशैली र निष्कलंक छवि नै सुशील कोइरालालाई सम्झने एवं सराहना गर्ने आधार हुन्। इतिहासमा लेखिनेछ– अमुक कालखण्डमा नवकुबेरका हुलमा एकजना फकिर पनि शासनमा पुगेका थिए।

'एफ्लुएन्जा' मुक्त एक्ला नेता!

फकिर जीवनशैली र दर्शनले उनलाई क्यान्सर भयो, टीबी पनि भयो र निमोनियाले उनको ज्यान लियो। तर उनलाई समृद्धि रोग (एफ्लुएन्जा) बाट जोगायो । (अंग्रेजीमा एउटा शब्द छ 'एफ्लुएन्जा'। धनी हुने उन्माद रोग बन्न पुगेको अवस्थालाई 'एफ्लुएन्जा' भनिन्छ। यो समृद्धि रोग ग्रस्त समाज र दरि›ताको संस्कृति व्याप्त शासकीय मानसिकताबीच सन्तुलन र संगति कायम गर्न पक्कै सहज छैन ।

नेपाली समाजलाई पनि 'समृद्धि रोग' लागेको छ। समृद्धि रोग पनि सामाजिक असमानता बढाउने कारक हो। सुशील कोइराला आफू त यो एफ्लुएन्जाबाट बचे तर उनले पार्टीका अरू सदस्य र समकालीन समाजलाई यसबाट मुक्त हुने प्रेरणा दिन भने सकेनन्। अर्थात्, उनी पार्टीका सभापति भए र त्यस भूमिकामा सफल पनि भए तर युग हाँक्ने नायक बन्न सकेनन्। तैपनि, नैतिकतालाई बुर्जुवाको ढोंग ठान्नेहरूका भिडमा मात्र हैन स्वयं कांग्रेसजनकै बीचमा पनि उनी अलग्गै र उज्याला भने देखिन्छन्। कांग्रेसमा अहिले उनीसँग तुलना गर्न सकिने अर्को नेता छैन। कांग्रेस सुकिलामुकिला 'भुइँफुट्टाहरू'को पार्टी जो बनेको छ।

जस र अपजस

संविधान सुशील कोइरालाकै नेतृत्वमा जारी भयो। संविधानको धाई भएको दाबी केपी वा पुष्पकमलले गर्नसक्छन् तर आमाका रूपमा सुत्केरी व्यथा त कोइरालाले नै सहे । यसैले उनलाई संविधान सभाबाट नेपालको संविधान, २०७२ पारित भएकोमा जस दिनुपर्छ। र यो संविधान पारित हुनु गलत सिद्ध भयो भने त्यसको सबैभन्दा बढी अपजस उनकै भागमा पर्छ ।

पहिलो संविधान सभा तुहाउन खलनायकको भूमिका खेलेको आरोप पनि सुशील कोइरालामाथि लागेको छ। उनको उपस्थिति नै नभएको संविधान सभा तुहाउन व्यक्तिका रूपमा उनको भूमिका निर्णायक हुनसक्तैन थियो। नेपाली कांग्रेसको सभापतिका रूपमा भने सुशील कोइरालाले आफ्नो र आफ्नो पार्टीको निष्ठाको रक्षा गरेको देखिन्छ। पहिलो संविधान सभाबाट संसदीय संविधान पारित हुन सहज थिएन। कांग्रेस संसदीय पद्धतिको पक्षधर पार्टी हो। त्यति बेला संसदीय लोकतन्त्रका पक्षमा सुशील कोइरालाको अडानको सराहना लोकतन्त्रवादीले गरेका पनि थिए। हो, संसदीय लोकतन्त्र विरोधीका लागि उनको अडान पक्कै पनि मन परेन होला। यसैले संसदीय लोकतन्त्र पक्षधरले सुशील कोइरालाको अडानलाई सिद्धान्त निष्ठा देख्छन् भने अरूले त्यसलाई अनुचित जिद्दी ठान्छन्। यद्यपि, यो संविधानले आत्मसात गरेको पद्धति पनि पूर्ण संसदीय छैन। 'सुधारिएको' भनिएको अहिलेको पद्धतिले ल्याउने अस्थिरतालगायतका विकृतिका लागि दोष सुशील कोइरालालाई लाग्छ। यद्यपि, आहिलेको संविधान सभाको संरचनामा उनले भन्ने गरेको 'विन–विन' का लागि 'गिभ एन्ड टेक' गर्दा बन्ने संविधान सायद यस्तैमात्र हुनसक्थ्यो।

अर्कातिर, पहिलो संविधान सभा विफल बनाउन उनको निर्णायक भूमिका रहेछ नै भने पनि रणनीतिकरूपमा समेत त्यो बुद्धिमानी हो भन्नुपर्छ। कारण, संविधान सभाको दोस्रो निर्वाचनमा सुशील कोेइरालाको दल नेपाली कांग्रेस सबैभन्दा ठूलो र निर्णायक दल बन्न पुग्यो। पार्टी सभापतिका रूपमा त्यसको मूल श्रेय त सुशील कोइरालालाई नै जान्छ। अर्थात् पहिलो संविधान सभाबाट संविधान जारी हुन उनले रोकेका हुन् भने त्यो उनको रणनीतिक कौशल सिद्ध भयो। माओवादी र मधेसी दलहरूको रणनीतिक विफलता थियो त्यो।

संविधान जारी भएपछि मधेस आन्दोलन चर्क्याे। ठूलो जनधनको क्षति भयो। मधेस आन्दोलन भारतको निर्देशनमा भएको पुष्टि मधेसी दलका नेताहरूले नै गरेका छन्। भारतीय नाकाबन्दीका कारण देशको अर्थतन्त्र पनि ध्वस्त प्रायः भयो। सुशील कोइराला प्रधान मन्त्री छँदै सुरु भएको आन्दोलनको व्यवस्थापन गर्न नसकेको दोष उनलाई पनि लाग्छ। हुन त, मधेस आन्दोलन साम्य पार्ने संविधान संशोधन उनकै पालामा संसद्मा दर्ता भएको थियो र पारित पनि मूलतः उनकै पहलमा भएको हो।

नियति र भक्तिको साथ

सुशील कोइरालासँग पीएल सिंह र शैलजा आचार्यको अवस्था तुलना गर्न सकिन्छ। कोइरालाभन्दा सिंह र आचार्य दुवै कम सम्भावना भएका, कम संघर्षशील र कम समर्पित नेता त हैनन्। आचार्य कोइराला परिवारकी सदस्य पनि हुन् र उनलाई गिरिजाबाबुको स्वाभाविक उत्तराधिकारी मानिन्थ्यो पनि। गिरिजाबाबुलाई 'मेन्टर' स्वीकार गर्न नसकेकै कारण शैलजा कांग्रेसको संस्थापनबाट बाहिर परिन्। पीएल सिंहलाई अहिल्यै कांग्रेसले बिर्सिसकेको भान हुन्छ। सम्भवतः गणेशमान सिंहको पारिवारमा उनी स्वीकार्य रहिरहन सकेनन्। नियतिले सिंह र आचार्यलाई धोका दियो। सुशील कोइरालालाई साथ दियो। कांग्रेसभित्र बढेको गुटबन्दी, अन्तर्घात र संकीर्णताका लागि सुशील कोइरालालाई धेरै दोष दिइन्छ। उनको दोष गिरिजाबाबुको 'लक्ष्मण' हुनु नै हो। शूर्पणखाको नाक कान काट्नेदेखि सीतालाई वनमा त्याग गर्नसमेत रामले लक्ष्मणलाई नै खटाए। लक्ष्मण समर्पणले सुशीललाई गिरिजाबाबुले पार्टीको मियो बनाइदिए। यसैले सुशील कोइरालाको सफलतामा गिरिजाबाबुको महत्वाकांक्षा पूरा गर्न गरिएको गुटबन्दी र अन्तर्घातको पनि योगदान छ। उनी निमित्त नै भए पनि दोष मुक्त छैनन्।

भारत समर्थक : भारत विरोधी

सुशील कोइराला २० महिना प्रधान मन्त्री भए। उनलाई भारतले भ्रमणका लागि बोलाएन। यति लामो अवधि प्रधान मन्त्री भएर पनि भारतको निम्तो नपाउने सायद उनी एक्ला प्रधान मन्त्री हुन्। विडम्बना, तिनै सुशील कोइराला भारतकै विश्वासमा आफ्नो पूर्व घोषणाविपरीत प्रधान मन्त्री पदमा उमेदवार भए। संविधान पारित नगर्न भारतीय पक्षले दिएको दबाब थेग्न कोइरालालाई निकै कठिन भएको हुनुपर्छ। कोइरालाहरूको भारतीय संस्थापनसँग 'प्रेम र ईर्ष्या' को सम्बन्ध देखिन्छ। कोइरालाहरूमाथि भारत समर्थक भएको आरोप लागिरह्यो तर भारतीय संस्थापनले कोइरालाहरूलाई असहयोग पनि गरिरह्यो। यसका धेरै कारण होलान् बीपीको छवि र अटेरीपनदेखि सुशीलकै पनि अडान नेपाललाई 'संरक्षित प्रान्त'जस्तो ठान्ने भारतीय बाबुहरूलाई कहिल्यै मन परेन। कोइरालाहरूले पनि अरू राजनीतिक नेताहरूले जस्तो बाबुहरूलाई भाउ दिएनन्। राजनीतिक नेतृत्वसँगै सम्बन्ध भएकाले बाबुहरूलाई तह लगाउन सकिन्छ भन्ने भ्रममा उनीहरू रहे। तर, बेलायती उपनिवेशको धङधङीबाट मुक्त हुनै नसक्ने भारतको बाबुतन्त्रले त्यहाँको राजनीतिलाई पनि घुमाउने गरेको छ। भारतीय शासकको यातनासमेत सहेका सुशील कोइरालालाई नियतिले जीवनको अन्तिम घडीमा भारतीय बाबुहरूप्रति विश्वस्त बनायो। कस्तो विडम्बना!

अन्तिम अवसाद!

पार्टी सभापतिमा पनि दोस्रो पटक उमेदवार नहुने वाचा उनले गरेका थिए। बाँचेका भए उनलाई त्यो वाचा पनि तोड्न बाध्य बनाइन सक्थ्यो। नियतिले उनलाई त्यसबाट जोगाइदियो। 'संविधान जारी भएपछि सत्तामा बस्दिन' भनेर पटकपटक दोहोर्याथउने कोइरालालाई उमेदवारी दिन केले बाध्य बनायो? सायद अब अनुमानमात्रको विषय हुनेछ। तर सुशील कोइरालालाई आफ्नो वचन पूरा गर्न नसकेको चोट निकै गहिरोसँग परेजस्तो देखियो। प्रधान मन्त्री पदको उमेदवारी र पराजयपछि उनी स्वस्थ हुन सकेनन्।

त्यसरी अडान छाड्ने र दबाब सामु झुक्ने कार्य उनको प्रकृति एवं चरित्रविपरीत थियो। त्यसले उनमा गहिरो अवसाद उत्पन्न गरेको हुनसक्छ। अस्पष्ट ग्लानि त उनका पछिल्ला एकाध अभिव्यक्तिमा पनि ध्वनित हुन्छ। अर्थात्, सुशील कोइराला आफ्नै अडान र संयोगले बनेका पात्र हुन्। अर्थात् नियत र नियतिका नेता!

र अन्त्यमा : कांग्रेसको भविष्य

नेपाली कांग्रेसको आसन्न महाधिवेशनले पार्टीको नेतृत्व चयनमात्र गर्नेछैन। सुशील कोइरालाको निधनका कारण पार्टीको भविष्य पनि निर्धारण गर्नेछ। अहिले प्रतिस्पर्धामा रहेका रामचन्द्र पौडेल र शेरबहादुर देउवामध्ये कुनै एक जना सभापति चुनिएलान् तर एक अर्कालाई नेता स्वीकार गर्न उनीहरूले सक्ने छैनन्। यसको परिणाम धेरै राम्रो भए अहिलेकै जस्तो भागबन्डा गरेर पार्टी चलाइनेछ। नत्र कांग्रेस निकट भविष्यमै फुट्न सक्छ। कारण, पार्टी कब्जा गर्ने प्रयास दुवै पक्षले गर्नेछ। यसैले पार्टीलाई एकजुट बनाइराख्ने हो भने दुवैले स्वीकार गर्नसक्ने तर पार्टी कब्जा गर्ने महत्वकांक्षा नभएका नेतालाई सभापति बनाउनु उपयुक्त हुने देखिन्छ। सम्भवतः केबी गुरुङ यसका लागि सही व्यक्ति हुन सक्छन्। कांग्रेसजन र नियतिलाई मन्जुर होला/नहोला तर अर्को पुस्तालाई पार्टी हस्तान्तरण गर्ने हो भने संक्रमणका लागि उपयुक्त पात्र केबी गुरुङ नै हुन्।

No comments:

Post a Comment