Monday, February 8, 2016

कांग्रेस सिन्डिकेट हुने कि राजनीतिक दल ?

आज नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनका क्रममा देशभर जिल्ला अधिवेशन भइरहेका छन् । बितेको साता नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरू भए । यी भेलालाई अधिवेशनको नाम दिइए पनि यथार्थमा सम्बन्धित तहको निर्वाचनबाहेक अरू केही भएन । र निर्वाचन पनि नितान्त व्यक्तिको अनुहारका आधारमा भयो । तनहुँको संसदीय निर्वाचन क्षेत्र १ को क्षेत्रीय अधिवेशन पनि फरक थिएन । निर्वाचन परिणाम पनि देशभरकै जस्तो भयो । अपेक्षित तर अव्याख्येय !

प्रतिनिधिहरूको उत्साह भने लोभलाग्दै थियो । राजनीतिमा संलग्न रहँदाका पुराना साथी पनि भेटिने लोभले केही घन्टा अधिवेशन स्थलमा पुगेको थिएँ । धेरै साथी भेटिए पनि । कतिलाई मैले चिनेर बोलाएँ । कतिले मलाई चिनेर बोलाए । केहीले फर्कीफर्की हेरेर राम्रैसँग खुट्याएपछि बोलाए । जनमत संग्रहताका २०३६ सालमा बहुदलका पक्षमा संगठन गर्दा मुस्किलले समिति बनाएका गाउँमा समेत अहिले चिनेका प्रतिनिधि एकाध जनामात्र बाँकी रहेछन् । अहिले आएका कतिपय प्रतिनिधि पुराना साथीकै छोराछोरी रहेछन् । छिम्केश्वरी गाउँ विकास समितिमा त बाबुछोरा दुवै जना प्रतिनिधि भएर आएका रहेछन् ।
कांग्रेसमा केही त आकर्षण छ । नत्र यसरी एउटै परिवारका दोस्रो तेस्रो पुस्ताका सदस्यहरू पार्टीमा सक्रिय भइरहने थिएनन् । नेपाली कांग्रेसका नेताहरूले यस अवसरलाई व्यक्तिगत लाभहानि र चालबाजीभन्दा माथि उठेर पार्टीको संगठन विस्तारमा प्रयोग गरेको भए संख्यासँगै गुणस्तर पनि बढ्ने थियो । प्रतिनिधि चुनिएका एक जना साथीले भने पनि — कांग्रेसको संगठन विस्तारको ठूलो मौका हुन्थ्यो यो महाधिवेशन तयारी । पार्टीमा ३ दशकभन्दा बढी संलग्न भइसकेका यी मित्रलाई अभैm भ्रम छ उनको पार्टीका नेता सिद्धान्तप्रति निष्ठावान् छन् भन्ने । भुइँचालो र नाकाबन्दीले जीवन त यिनको पनि कष्टकर भएकै होला तर अचम्मको उत्साह देखिन्थ्यो उनीहरूमा । लोकतन्त्रका नाममा समर्पित यस्ता कार्यकर्ताको पाप त लाग्छ कांग्रेसका अहिलेका नेतालाई !

नीतिविहीन नेतृत्व चयन
कांग्रेस महाधिवेशनपछि राष्ट्रिय राजनीतिले कोल्टो फेर्ने लगभग निश्चित छ । कांग्रेसको नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि क्षेत्रीय अधिवेशनबाट चुनिएका छन् । यस अर्थमा गएको माघ २२, २०७२ ले नेपालको राजनीतिलाई निर्देश गरिसकेको छ । कांग्रेसका नेतृत्व चयन नीतिका आधारमा हुनेगर्दैन । व्यक्तिको छनोटमा सीमित हुँदै आएको महाधिवेशन यसपटक पनि फरक हुने लक्षण भने छैन । व्यक्ति चयनमा पनि उमेरअनुसारको रोलक्रम निर्धारण गरिएजस्तो लाग्ने नेतृत्व चयनमा खासै चमत्कार हुने लक्षण छैन । त्यसैले महाधिवेशनपछि हुने परिवर्तनले पनि देशलाई खासै गति र दिशा दिनसक्छ भनेर विश्वास गर्ने आधार चाहिँ देखिँदैन ।

सजिला छैनन् मतदाता
निर्वाचनमा उमेदवारी समूहगत भए पनि मतदाताले विवेक प्रयोग गरेको देखियो । गाउँ अधिवेशनमा जति समूहगत मतदान सायद क्षेत्रीय अधिवेशनमा भएन । जिल्लामा अपेक्षाकृत समूहगत मतदान बढी हुनसक्छ । तर महाधिवेशन प्रतिनिधिहरू निर्वाचित हुँदाकै समूहमा रहिरहन्छन् भन्ने ठानेर अहिले यता र उताको भागबन्डा गर्नेहरू मतदानपछि जिल्लिने सम्भावना उत्तिकै बलियो छ । पार्टीसँग भविष्य गाँसिएका तरुणहरू पार्टीलाई सधैँ गुटको समूह बनाइराख्न प्रयोग हुन्छन् भन्ने ठान्नु मूर्खता हुन्छ । यसैले महाधिवेशन प्रतिनिधिलाई ‘ह्याकुलाले मिच्ने काम’ नगरे बेस !

चरित्रविपरीतको संरचना
नेपाली कांग्रेसको संरचना २००७—२०१७ को जति पनि पार्टीको चरित्र र प्रवृत्तिअनुरूपको छैन । कांग्रेस कार्यकर्तामा आधारित पार्टी हैन । लामो समय प्रतिबन्धित रहँदा र सशस्त्र विद्रोह गर्दा पार्टी कार्यकर्तामा आधारितजस्तो हुन पुगेको थियो । तर २०४६ पछि पनि पार्टीको संरचना र कार्यशैली उदार जनाधारित राजनीतिक दलको जस्तो बनाउन खोजिएन । बरु कम्युनिस्टहरूको सिको गर्न थाले कांग्रेसका प्रभावशाली भनिने नेताहरूले । त्यसको फल अहिले पार्टीले भोग्दैछ । पूर्णकालीन वा वृत्तिभोगी कार्यकर्ता पद्धतिले नेपाली कांग्रेसलाई ‘सिन्डिकेट’ बन्ने बाटामा डो¥याएको छ । कार्यकर्ता पाल्न पैसा जुटाउनै पर्ने बाध्यता देखाएर नेताहरू भ्रष्टाचारको औचित्य सिद्ध गर्ने प्रयास गर्दैछन् ।

चुनाव हारे पनि भाग खोज्ने प्रवृत्ति कांग्रेसको संगठनका लागि घातक रोग हुन पुगेको छ । एकल नेतृत्व भए पार्टीभित्र भागबन्डाको रोग त अन्त्य हुन्छ नै सभापतिले जिम्मेवारी पनि लिनुपर्छ । अझ संसदीय दलको नेता नै पार्टी सभापति हुने व्यवस्था भए जनताले दुत्कारेका व्यक्तिले दलको नेतृत्व गर्ने परम्परा पनि समाप्त हुनेछ ।  

उदार लोकतान्त्रिक दलमा जसरी नेतृत्व चयन गर्ने हो भने महाधिवेशन नेपाली कांग्रेसलाई नयाँ दिशा र गति दिने अवसर बन्नसक्थ्यो । विडम्बना, अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन । बीपी, गणेशमान र महेन्द्रनारायणका छोराहरूले संयुक्तरूपमा आँट गरे भने अहिलेको रोलवाला शैली भत्काउन सक्छन् । दुर्भाग्य, पार्टीको आत्मा जोगाएरै युग सुहाउँदो बनाउन यिनीहरू मिलेर अगाडि सर्ने संकेत देखिएको छैन । केही दिन पहिले प्रकाशमान सिंह पनि सभापति पदमा निर्वाचन लड्न इच्छुक भएको समाचार सार्वजनिक भएको थियो । सिंह नेतृत्वका लागि अगाडि सरेका हुन् भने यो सकारात्मक पक्ष हो । उनी वा उनीजस्तै जनताबाट चुनिएका, कांग्रेसभित्र साख पनि भएका व्यक्तिले कांग्रेसलाई युगसापेक्ष बनाउन नेतृत्व गर्न सक्छन् ।

जनाधारित संरचना
कांग्रेसको नेतृत्वमा मात्र हैन संगठनको संरचना र नीतिमा पनि जनाधारित उदार लोकतान्त्रिक दलअनुरूप हुने गरी परिवर्तन गर्नु आवश्यक छ । अहिले नेपाली कांग्रेस चरित्र र इतिहासका दृष्टिले उदार लोकतान्त्रिक दल, नीतिका आधारमा बजारमुखी पुँजीवादी, नेतृत्वका दृष्टिबाट अनुदार परम्परावादी र संगठनतात्मक संरचनाका आधारबाट कम्युनिस्ट पार्टीजस्तो देखिन्छ । सिद्धान्त र संरचना नमिले कृत्रिम अंगले लामो समय काम नगरेजस्तै धेरै दिन चल्दैन । विधान संशोधनका क्रममा कांग्रेसजनले यसको हेक्का राख्नुपर्छ । नेपाली कांग्रेसले पार्टीको संरचना बनाउँदा २०१७ सालभन्दा पहिलेको विधान हेरेर परिमार्जन गरे पनि हुन्छ । जनाधारित र संसदीय पद्धति स्वीकार गर्ने पार्टीमा एकल नेतृत्व हुन्छ । नेतृत्वमा पुग्ने मौका क्षमताका आधारमा सबैले पाउँछन् । कम्युनिस्टहरूको सिको र संगत गर्न छाडेर दायाँबायाँमात्र हैन पछाडि पनि फर्केर हेर्दै अगाडि बढ्ने (सिंहावलोकन) कार्यशैली अपनाउने हो भने नेपाली कांग्रेसले पुनः मुलुकको नेतृत्व गर्नेछ  । कम्युनिस्टहरूको संगतमा गर्नुपर्ने र गर्नै नहुने सबै काम त गिरिजाबाबुकै पालामा भइसकेको छ । बाँकी सुशील कोइरालाको नेतृत्वमा समपन्न भएको छ । इतिहासले मूल्यांकन गर्नेछ । अब कांग्रेसजनले आफ्नै इतिहास र यथार्थ सम्झे भने पार्टी र मुलुक दुवैको हित हुनेछ ।

उदार लोकतान्त्रिक दल सुहाउँदो संरचना बनाउने हो भने त्यसमा देशको जनसांख्यिक संरचना प्रतिविम्बित हुनुपर्छ । उमेरअनुसार सबैभन्दा ठूलो समूहको सबैभन्दा धेरै प्रतिनिधित्व होस् । जनसंख्यामा १८ देखि ५५ वर्षको उमेर समूह ५० प्रतिशत जति छ । यस्तै ५१ प्रतिशत महिला छन् । सन् २०१४ मा सबैभन्दा ठूलो समूह १५ — १९ र २० — २४ वर्षको थियो । आदर्श र उदार संरचना जातिमात्र हैन उमेर र लिंगमा पनि समानुपातिक हुनसक्नु पर्छ ।

नीतिगत मार्गदर्शन
नीतिका लागि पनि कांग्रेसजनले धेरै दुःख गर्नु पर्दैन । विश्वेश्वरप्रसाद कोइरालाका पहिलेका विचार सारमा कालजयी छन् । तर, २०३३ पछिका विचारलाई सूत्र मानेर प्रयोग गर्ने हो भने अहिलेका लागि पनि उत्तिकै सान्दर्भिक र उपयोगी देखिन्छन् । यस लेखको विषय बीपीका पछिल्ला चरणका विचार र धारणाका समयमा विस्तारमा चर्चा गर्नु होइन । तर, उनका मानवतावादी उदार लोकतान्त्रिक विचार आज पनि उत्तिकै सान्दर्भिक छन् । व्यक्ति सबै विचार र नीतिको केन्द्रमा हुनुपर्छ र व्यक्ति ‘असल बन्ने’ वातावरण बन्नुपर्छ भन्ने नै त हो बीपीको पछिल्लो मान्यता । त्यसैका लागि आर्थिक सामाजिक न्याय र समानता आवश्यक हुने हो । बीपीका अनन्य सहयोद्धा गणेशमान सिंहले अहिलेको समानुपातिक र सामाजिक न्यायका पक्षमा गम्भीर धारणा सार्वजनिक गरेका थिए । प्रत्येक व्यक्तिलाई उत्तिकै सक्षम हुने वातावरण निर्माण गर्न आवश्यक सामाजिक न्याय कायम गर्न सिंहले २०४६ पछि अगाडि सारेका मान्यतालाई पनि कांग्रेसले मार्गदर्शक सिद्धान्त बनाउन सक्छ । बीपी र गणेशमानलाई तिनले भनेकै शब्दमा भन्दा पनि सजिलोसँग बुझ्न र बुझाउन सकिन्छ । तर कांग्रेसका नेताहरूले संस्थागतरूपमा यस्तो प्रयासै गरेनन् ।

नेतृत्वका लागि तयारी
अहिलेको संविधान संयुक्त सरकार अनिवार्य हुनेगरी बनाइएको छ । यही संविधानअनुसार एकलौटी सरकार बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ । उदार लोकतन्त्रको सेरोफेरोभित्र ‘मध्य दक्षिण’ वा ‘मध्य वाम’ पन्थी नीति र कार्यक्रमभन्दा कुनै दल पनि धेरै टाढा जानसक्ने अवस्था छैन । कांग्रेसलाई नेपाली जनताले चारपटक पहिलो र दुई पटक दोस्रो दल बनाएका छन् । कांग्रेस अहिलेसम्म तेस्रो दल हुनुपरेको छैन । यसैले आउने दिनहरूमा पनि नेपाली कांग्रेसले जनताको विश्वास पाउने र संयुक्त सरकारको नेतृत्व लिने सम्भावना अरू पार्टीको भन्दा धेरै छ भन्नु अन्यथा हुँदैन । त्यस अवस्थामा आफ्नो सिद्धान्त नछाडी विपरीत विचार हुनेसँग पनि सम्झौता र सहकार्य गर्नसक्ने क्षमता कांग्रेसमा विकास हुनुपर्छ । नैतिक र राजनीतिक कौशल यसका पहिला आधार हुन् । यसका लागि पार्टी र नेतृत्व दुवैको साख आवश्यक हुन्छ । इमानदार तर उदार छवि आवश्यक हुन्छ । नेतृत्व दोष लिन, कमजोरी स्वीकार्न गर्न तथा र जस बाँड्न तयार हुनुपर्छ । जनचाहना बुझ्न र त्यसलाई शासनको मन्त्र बनाउन तयार र सक्षम हुनुपर्छ ।

र अन्त्यमा,
भन्न त, नेकपा (एमाले)ले पनि आपूmलाई राजनीतिक दल नै भन्दैआएको छ । तर त्यसको संरचना र कार्यशैली हेर्दा राजनीतिक सिद्धान्तका आधारमा संगठित समूहभन्दा कारोबारका लागि एकत्रित ‘सिन्डिकेट’जस्तो लाग्छ । सिद्धान्त, संरचना र कार्यशैलीमा पूरै परिवर्तन नगर्ने हो भने नेपाली कांग्रेस पनि अर्को ‘सिन्डिकेट’मा परिणत हुने निश्चित् छ । त्यस अवस्थामा कांग्रेसमा क्रियाशील अहिलेका धेरैको उपादेयता समाप्त हुनसक्छ भने आकर्षणको कारण पनि बदलिनेछ ।
निर्वाचनपछि भए पनि कांग्रेसका युवा प्रतिनिधिहरू देशप्रति गम्भीर हुने अपेक्षा राख्नु अर्घेल्याइँ त नहोला नि !

No comments:

Post a Comment