Thursday, August 30, 2012

उपहार




जिन्दगीको पहिलो आर्जन उसले प्रेयसीका लागि समर्पित गर्ने अठोट गर्‍यो। जाडो बैंसमा थियो। उनको पछ्यौराभन्दा राम्रो उपहार अरू के हुन्थ्यो र? बजारमा पाएसम्मको राम्रोे कास्मिरी सल किन्यो। सल छुँदा पनि उसलाई काउकुती लाग्यो। पैसा तिरेर पसलबाहिर निस्कने बेलामा सम्झ्यो घरमा त जाडोमा लगलग कामेर घरधन्दा गर्दै बाँचेकी आमा बुढी पनि छिन्। पसलमा फर्क्यो र पाएसम्म सस्तो अर्को पछ्यौरा पनि किन्यो। पसलेले भन्यो - 'नौकर्नीको लिए तो काम चलिजान्छ हजुर' 
 हतारिएर घर पुग्यो। अनुहार र आँखामा भएसम्मको बैंस समेटेर कोठामा पत्नीको अगाडि उभियो। निकै आकर्षक ढंगले पछेउरा फुकालेर ओडाइदियो। पत्नीले पछेउरा हेरी। छामी। आँखाभरि उपेक्षा भरेर पुलुक्क उसको अनुहार हेरेर नाक, मुख, आँखीभौँ खुम्च्याई। ऊ खिसि्रक्क पर्‍यो। मन अमिलिए पनि हाँस्ने कोसिस गर्दै भान्सामा कोठामा गयो। आमा सधैँजस्तै केके केलाउँदै थिइन्। पछ्यौराको पोको आमाको पोल्टामा पर्ने गरी फ्यात्त फालिदियो। आमाले पोको फुकाइन्। पछ्यौरा छातीमा टाँसिन् र ओडिन्। डबडबाउँदा आँखा पारेर आमाले भनिन् - 'मेरो बाबाको पहिलो कमाइ !'
 उसलाई धेरै बेरसम्म लागिरह्यो पछ्यौरा नसाँटेकोमा थकथकी लागिरह्यो ।   
( २०४४ साल चैत)

Tuesday, August 28, 2012

आमा र लास


आमाको लास चितामा राख्नु अगाडि लुगा र गहना फुकाइदिन भनियो। लुगा त सजिलै फुकालियो तर गहना फुकाल्न गाह्रो भयो। माघको जाडो, नदीको तिर, आधिरात । हातमात्र हैन शरीर पनि लगलग कामेको थियो। गहना खासै केही थिएनन्  - फूली, ढुंग्री र मारबाडी मुन्द्री।  ढुंग्री सजिलै फुक्ल्यो। मारबाडी अलि मोटै थियो। फुकाल्न पनि गाह्रै भयो। बेर लागेको देखेर नजिकैका सज्जनले सम्झाए 'अलि बल गरेर तान न !  दुख्ने हैन क्यारे। अहिल्यै पोल्ने शरीरको के माया?'  नभन्दै अलि बल गर्नेबित्तिकै मुन्द्री फुक्ल्यो। फूलीको पालो आयो। फूली फुकाल्न झन् गाह्रो भयो। सानो टुक्रा समात्नै नमिल्ने। नाकको प्वालभित्र पेच फुकाउनु पर्ने। बेर लाग्ने देखेर तिनै सज्जनले फेरि भने ' बाबु ! आमा त मरेर गइन्। जाबो फूलीको के मोह? सुन हो, अपवित्र हुँदैन। लाससँगै जलाइदिए हुन्छ।' 
(करिब २५ वर्ष पहिले लेखेका लघु कथा  भेिटए । जाँगर चले ल्बगमा राखौँला ।)

प्रतिगमनको पैरवी



यस्तै रहे, पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'सुशील कोइराला राजा फर्काउन चाहन्छन्, त्यसैले संविधान सभाबाट संविधान बनाउन नमानेका हुन्' भन्ने प्रचार कुनै पनि क्षण सुरु गर्नेछन्। नेपालका राजनीतिक नेतामध्ये दाहाल 'ढाँट शिरोमणि' जो सिद्ध भएका छन्। दाहाल जति छिटो छिटो र धेरै कुरा फेर्ने अरू कुनै नेता देखिएका छैनन्। आश्चर्य, यसैलाई दाहालका गुमस्ताले उनको 'गतिशीलता' भन्ने गरेका छन्।
दाहालले 'कांग्रेसले संघीयता नमानेकाले संविधान बनेन' भनेर संविधान बन्न नसक्नुको सबै दोष नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको थाप्लामा हालिदिएका छन्। त्यसमाथि रामचन्द्र पौडेल र शेरबहादुर देउवा त संविधान सभा जोगाउन तयार थिए तर कोइराला मान्दै मानेनन् भन्ने पनि प्रचार गरेका छन्। कांग्रेसका मन्दबुद्धि नेता भने दाहालले खेलाएको होसै नपाएर हो कि कोइरालाका कारण हैन, दाहालहरूको 'सर्वसत्तावादी' चाहनाले संविधान बन्न नसकेको यथार्थ जनतालाई बुझाउन तयार छैनन्। केही पहिले संविधान सभा रहँदासम्म दाहालले यसरी नै सुशील कोइरालालाई खेलाएका थिए। 'कोइराला प्रधानमन्त्री बन्नुपर्छ' भन्ने गुलियो वचन सुनेकै भरमा उनले आफ्ना निकटतम सहयोगी कृष्ण सिटौलालाई माओवादीको सरकारमा मन्त्री बनाए र माओवादीको नेतृत्व स्वीकार नगर्ने भन्ने नैतिक शक्ति गुमाए। कोइराला सांसद थिएनन्। संविधानमा सांसदमात्र प्रधानमन्त्री नियुक्त हुने व्यवस्था छ। अर्थात्, कोइराला प्रधानमन्त्री हुने वैध उपाय थिएन। माधवकुमार नेपाललाई संसद्मा पुर्या।एरै पछुताएका माओवादी नेता सजिलै कोइरालालाई सांसद बनाउने पक्षमा पक्कै थिएनन्। यसैले सुशील कोइरालालाई आजीवन प्रधानमन्त्री बनाइदिने आश्वासन दिए पनि हुन्थ्यो। मुखको बाबुको जान्छ के?
अहिले जातीय संघीयता स्वीकार नगरेकाले कांग्रेस र नेकपा (एमाले)विरुद्ध मोर्चाबन्दी गर्नुपरेको प्रचारवाजी दाहालले गरिरहेका छन्। उनले कांग्रेस र एमालेलाई पनि मोर्चा बनाउन सल्लाह दिएका छन्। दाहालको दुर्नियत कांग्रेस र एमालेका नेताहरूले बुझेका छन् कि छैनन्? थाहा छैन। जनताले भने बुझेका छन्। मधेसका अनगिन्ती टुत्रे्क पार्टीको मोर्चाको हैसियतमा कांग्रेस र एमालेलाई खसाउन पाए दाहालको एक छत्र राज गर्ने अभीष्ट सहजै पूरा हुन्छ।
निर्वाचित संस्था नहुँदा पार्टीको हैसियत उसको देशव्यापी उपस्थितिका आधारमा तय हुनुपर्छ। दाहाल नेतृत्वको मोर्चामा माओवादीको पार्टीबाहेक अरू कुनै पनि दलको देशव्यापी उपस्थिति छैन। सत्तारुढ गठबन्धन विरोधी कांग्रेस र एमालेमात्र हैन, रष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायत्का दलहरूको देशव्यापी अस्तित्व छ। कमजोर होला तर उपस्थिति त छ। यसैले दाहालको मोर्चा र यी प्रत्येक दलको राजनीतिक हैसियत बराबर हुन्छ। अर्को निर्वाचन नहुँदासम्म पुरानै जनमतलाई आधार मान्ने हो भने पनि माओवादी र सबै मधेसी दल फुटिसकेका छन्। यस आधारमा पनि मोर्चाको हैसियत कांग्रेस र एमालेको भन्दा ठूलो मान्न सकिँदैन। यसैले मोर्चाबन्दीको प्रस्ताव कांग्रेस र एमालेलाई खुम्च्याउने प्रयासमात्रै हो। यो सम्भवतः राष्ट्रपतिलाई तर्साउने रणनीति पनि हो। दाहाललाई 'पाटने ६ प्रधान' जस्तै 'किङ मेकर' हुने रहर हुनसक्छ। विगतमा झलनाथ खनाललाई प्रयोग गरेर उनले आफ्नो 'शक्ति' देखाइसकेका जो छन्। अब पनि त्यही रहर गर्नु 'अपराध' हैन।
व्यक्तिका आकांक्षा, कुण्ठा र ग्रन्थी पूरा होउन् वा फुकुन् भनेर समय पर्खेर बस्दो रहेनछ। दाहालका हकमा पनि त्यस्तै भएको छ। उनले मोर्चाबन्दीबाट शक्ति हासिल गरेको ठानेका छन्। साथै, त्यो शक्ति दार्शनिकमात्र भौतिक अर्थमा समेत कति 'क्षण भंगुर' र 'अनित्य' छ भन्ने ज्ञान पाउन उनले अब सुकदेव मुनिबाटै ज्ञान पाउन पक्कै परोइन। यसैले चार जनाले नपत्याउने र दुई दिन पनि नटिक्ने प्रचारवाजीमा रमाएर मुलुक बर्बाद पार्ने जिद्दी पुष्पकमल दाहाल 'प्रचण्ड'ले नगर्नु नै बेस हुनेछ।
रह्यो सुशील कोइरालाले संविधान बन्न दिएनन् भन्ने प्रचारवाजी! यो त झन् कसैले पनि पत्याउँदैन। शायद, दाहाल आफैँलाई पनि यसो भनिरहँदा हाँसो उठ्दो हो। कोइरालामा त्यति गर्नसक्ने क्षमता भइदिएको भए मुलुकको यस्तो दुर्गति हुने नै थिएन। बाह्र बुँदे सहमति र त्यसका आधारमा माओवादीलाई कांग्रेसले विशेषगरी गिरिजाबाबुले काँधमा चडाएकोमा सुशीलको असन्तुष्टि बेलाबखत प्रकट भइरहेको थियो। तर, जब पार्टी हाँक्ने बेला आयो, उनले गिरिजाबाबुलाई गलत बाटोमा जान सल्लाह दिनेहरूलाई नै सारथि बनाए। उनको इच्छाशक्ति कति कमजोर छ भन्ने पोल त यसैले खोलेको छ। कथम्, कांग्रेसलाई प्रधानमन्त्री हुन दिइने भयो भने पनि कोइराला सरकारको नेतृत्व गर्न तयार होलान् भन्नेमा दुविधै छ। यस्तै, कांग्रेसका अरू प्रधानमन्त्री भए पनि उनका लागि प्रिय हुने छैन। सुशील गिरिजाबाबुका भाइ भए पनि उनमा दाजुको जस्तो आँट र इच्छा शक्ति छैन।
इतिहासले सुम्पेको जिम्मेवारीप्रति सुशील कोइराला साँच्चै नै सजग र गम्भीर छन् भने उनले शाब्दिकरूपमा 'प्रतिगमन'को बाटो रोज्ने आँट गर्नुपर्छ। प्रतिगमनको एउटा अर्थ अगाडि बढ्नुको साटो विपरीत दिशातर्फ लाग्नु भन्ने पनि हुँदो रहेछ। यही अर्थमा नेपाली कांग्रेसले प्रतिगमन रोज्नुपर्छ र केही वर्ष हैन, सात दशक पछि फर्कनुपर्छ। नेपाली कांग्रेसले २००७ मा गरेको उद्घोषमै अडिग रहनुपर्छ। कारण, ती वाचा अधुरै छन्।
मुलुकबाट राजतन्त्र समाप्त भएकाले 'महाराजाधिराजको वैधानिक नायकत्व' त सन्दर्भहीन भइसकेको छ तर २००७ सालको घोषणाका मूल काम बाँकी नै छन्। नेपाली कांग्रेसको घोषणापत्र, १९५० हेर्दा मूलतः 'जनताका प्रतिनिधिहरूद्वारा निर्मित विधानअनुसार ...' शासन चलाउने र 'समानता र इन्साफका आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण' गर्ने सबैभन्दा महत्वपूर्ण कार्यभार देखिन्छन्।
'जनताका प्रतिनिधिहरूद्वारा निर्मित विधानअनुसार ...' शासन चलाउने व्यवस्थाका लागि संविधान सभाकै चुनाव हुनुपर्छ भन्ने विषयमा कांग्रेस द्विविधामा पर्नुहुँदैन। निर्वाचनको स्वतन्त्रता र निष्पक्षतासँग कांग्रेसले सम्झौता गर्नु हुँदैन। आफ्नो नेतृत्वमा निर्वाचन होस् भन्नुभन्दा चुनावलाई स्वच्छ र विश्वसनीय बनाउन कांग्रेसले बढी जोड दिनुपर्छ। पहिलो संविधान सभाको निर्वाचन स्वतन्त्र र निष्पक्ष हुन सकेन। माओवादी बिच्किएलान् र शान्ति प्रक्रिया विफल होला भन्ने भयले जताततै सम्झौता गरियो। अब त्यस्तो हुनुहुँदैन। निष्पक्षता सुनिश्चित नहुँदासम्म कांग्रेसले निर्वाचन बहिष्कार गरे हुन्छ तर गलत जनमतलाई मान्यता दिनुहुँदैन।
'समानता र इन्साफका आधारमा सम्पूर्ण समाजको पुनर्निर्माण' पनि अहिलेसम्म हुन सकेको छैन। कांग्रेसले लामो समय सत्ता पाएका बेलामा पुँजीवादी चिन्तनलाई उदार लोकतन्त्र ठान्ने भुल गर्यो। अब त्यसलाई सच्याउन सक्छ। माओवादीले अपनाएको आर्थिक नीति 'बक्सिसे पुँजीवाद' (क्रोनी क्यापिटलिज्म) हो। सत्ताधारीको तजबिजमा राज्यको सम्पत्तिमा ब्रह्मलुट गर्ने नीति यसको सार हो। अहिलेका जातिवादी मुखियाहरू राज्यको स्रोतसाधन दोहन गर्न र गरिबलाई पहुँचमा पुग्नै नदिन विभिन्न अनुहारमा क्रियाशील भएका छन्। यसलाई सफल हुन नदिन नेपाली कांग्रेसले समानता र न्याय कायम गर्ने अर्थतन्त्रको खाका कोर्नुपर्छ।
विकास न्यायपूर्ण र दिगो हुन ठाउँ सुहाउँदो हुनुपर्छ। राज्यले कम्तीमा शिक्षा र स्वास्थ्यको जिम्मा लिने पद्धति निर्माण हुनुपर्छ। शिक्षा र स्वास्थ्यका लागि स्रोत जुटाउन आवश्यक भए सेनाको संख्या घटाउनुपर्छ। कांग्रेस अगाडि नसरे अरूले यसो गर्ने आँट गर्ने छैनन्। इक्वेडरको संविधानमा प्रकृतिको बाँच्ने अधिकार पनि मौलिक हकमा समावेश गरिएको छ। नेपालका लागि त्यो महत्वपूर्ण पाठ हुनसक्छ। अब चुनावमा जाँदा यस्ता विषयमा जनादेश माग्ने हो भने कांग्रेसले जनताको विवेक जगाउन सक्छ। लगानीको प्राथमिकता न्याय र विवेकसम्मत हुनुपर्छ। राजधानीका सम्भ्रान्तको हित हेरेर जनताको भलो हुँदैन। जनताको भलो नभए कांग्रेसको पनि हित हुँदैन। कांग्रेसले जनहितकारी आर्थिक र सामाजिक नीति तय गर्नुपर्छ।
संविधानमै स्थानीय स्रोतसाधनमा जनताको स्वामित्व सुनिश्चित भएमात्र संघीयता सार्थक हुन्छ। नेपालजस्तो विविधता भएको समाजमा संघीयता सफल हुन संसदीय पद्धति आवश्यक हुन्छ। नेपालले अमेरिकी हैन, क्यानाडेली संघीयता अनुकरण गर्नुपर्छ। अब त, कांग्रेस संसदीय प्रणालीका पक्षमा उभिन हिचकिचाउनुपर्ने कुनै कारण छैन! यसैले नेपाली कांग्रेसले 'प्रतिगमन' रोज्नैपर्छ। तैपनि, विध्वंश, विग्रह र आतंकको पर्याय बनेको दुई शताब्दी पुरानो विचार बोकेर हिँडेका पुष्पकमलहरूभन्दा त अग्रगामी नै हुनेछ।

Saturday, August 25, 2012

न्यायाधीशको शासन

भारतका प्रधान न्यायाधीश एस एच कपाडियाले 'न्यायाधीशले मुलुकमा शासन गर्नु हुँदैन' भनेका छन्। संवैधानिक संरचनाको विधिशास्त्र विषयमा इन्डिया इन्टरनेसनल सेन्टरमा प्रवचन दिने क्रममा शनिबार उनले भने -'न्यायाधीशले यो मुलुकको शासन गर्ने होइन। हामीले सिद्धान्तको दृढतापूर्वक पालना गर्नुपर्छ। कानुनको व्याख्याका क्रममा शासनमा हस्तक्षेप हुनु हुँदैन। हामी जनताप्रति उत्तरदायी छैनौ। वस्तुगतता, निश्चितताजस्ता संविधानले प्रतिपादन गरेका आधारभूत सिद्धान्तलाई बढी महत्व दिनुपर्छ। हालै सुत्न पाउनुलाई मौलिक अधिकार ठहर गरिएको फैसलाको उनले उदाहरण दिएका थिए। जीवनको अधिकारमा वातावरण संरक्षण, मर्यादित जीवन यापनको अधिकारजस्ता अधिकारसँगै अब सुत्न पाउने अधिकार पनि थपिएको छ।' उनले न्यायाधीशहरुलाई निर्णय कार्यान्वयन हुनसक्छ कि सक्तैनन् भन्ने विषयमा पनि ध्यान दिन सल्लाह दिए।
न्यायाधीश कचत सक्रिय हुने भन्ने विषयमा विवाद छ। कतिपय अवस्थामा सरकार र संसद्ले गर्न नसकेको न्याय अदालतले दिएको छ। यस्तै, कतिपय अवस्थामा भने न्यायाधीशको सक्रियताले विवाद पनि निम्त्याएको छ। न्यायको सर्वमान्य मान्यताविपरीत कतिपय न्यायाधीशले वादीले नमागेको विषयमा फैसलामा बोलेका छन्। नेपाल पनि यस प्रवृत्तिबाट मुक्त छैन।
केही यता न्यायाधीशले भ्रष्टाचारको मुद्दामा न्यायिक मन प्रयोग गर्नै नसक्ने वातावरण निर्माण गरिएको छ भने अर्कातिर कर्तव्य ज्यानमा सजाय पाएका अपराधीसम्बन्धी न्यायालयको निर्णय कार्यान्वयन नगरेर सरकारले सोझै न्यायालयलाई चुनौती दिएको छ। नेपालमा कानुन व्यवसायीले यस्ता विषयलाई राजनीतिक आग्रह नराखी बिरलै उठाउने गरेका छन्। के यो बौद्धिक अधोपतनको लक्षण हो? अर्थात्, राज्यमात्र हैन नागरिक समाज पनि असफल हुने दौडमा लागेको हो? 

Wednesday, August 22, 2012

अरूले लेखेको





जनयुद्ध’ के बाद नेपाली माओवादी जंगल से शहर की ओर आ तो गए, पर उन्होंने शहर को ही जंगल बना दिया। जहां भी किसी कमजोर की जोरू, जमीन-जायदाद, उद्योग-व्यवसाय पर उनकी नजर पड़ी, वह माओवादियों की हो गई। इस संपत्ति हरण को लेकर माओवादी नेता आपस में भिड़ने लगे। आज भी नेपाल के अधिकतर लोग अपनी संपत्ति वापसी की राह देख रहे हैं। 

़़़भारत के बैंकों, जमीन-जायदाद कारोबार और ‘इंफ्रास्ट्रक्चर बिजनेस’ में पड़ोसी देशों का भरपूर काला धन छिपाया गया है। भारत में बाहरी देशों का काला धन कितना जमा है, यह सचमुच शोध का विषय है। सवाल है कि इस पूरे प्रकरण में भारत सरकार की क्या कोई जवाबदेही बनती है? भारत सरकार को उत्तर देना चाहिए कि नेपाल का काला धन हिंदुस्तान होते हुए स्विट्जरलैंड कैसे गया। एक बड़ा सवाल यह भी है कि नेपाली माओवादियों को भ्रष्ट करने में क्या भारत का भी हाथ रहा है?


हिन्दी दैनिक जनसत्ताको अनलाइन संस्करणमा २२ अगस्त २०१२ मा प्रकाशित  ' माओवाद के नाम पर' लेखबाट साभार



प्रहरी : नेपाल र भारतमा


नेपाल प्रहरीका नायब प्रहरी उपरीक्षक (डीएसपी) दीप शमशेर राणालाई फेसबुकमा नेकपा (एमाले)का नेताविरुद्ध टिप्पणी गरेकोमा कारबाही स्वरूप सरुवा गरिएको छ। भारतमा महाराष्ट्र नवनिर्माण सेनाका नेता राज श्रीकान्त थाकरेलाई सार्वजनिकरूपमा 'गुलाबको फूल' दिने प्रहरी कन्सटेबल प्रमोद तावडेमाथि कारबाही हुनसक्ने समाचार दी टाइम्स अफ इन्डियाले अनलाइन संस्करणमा दिएको छ।  
उपरीक्षक राणाले एमालेको भातृसंस्था युवा संघका अध्यक्ष महेश बस्नेतले एक जना प्रहरीलाई मसालको राँकोले झोसेको तस्बिरमा आक्रोशपूर्ण टिप्पणी गरेका थिए। डीएसपी राणाले टिप्पणी गरेको तस्बिरको आधिकारितामा सन्देह गरेर त्यो कम्प्युटरबाट तयार गरिएको आरोप पनि बस्नेतले लगाएका थिए। पछि एएफपीका फोटो पत्रकार प्रकाश माथेमाले त्यो तस्बिर आफूले खिचेको पुष्टि गरे। प्रहरी जवानलाई आगो झोस्ने बस्नेतलाई राणाले 'राक्षस' लेखेेका छन्। राणालाई उनको संगठनले कारबाही गरे पनि उनका प्रति जनसमर्थन बढेको देखिएको छ। सामाजिक सञ्जालहरूको प्रतिक्रियालाई जनमतको आधार मान्ने हो भने सायद रमेश खरेलपछि सामाजिक सञ्जालमा यति धेरै प्रशंसा र समर्थन पाउने प्रहरी अधिकृत दीप राणा नै भएका छन्।  
भारतमा प्रमोद तावडेमाथि यी पंक्तिहरू लेख्दासम्म कारबाही गएको समाचार सार्वजनिक भएको छैन। राज थाकरेले केही दिन पहिले उत्तरपूर्वमा भएको जातीय दंगापछि तनाव ग्रस्त मुम्बईमा प्रहरीको भूमिकाको सराहना गरेका थिए। थाकरेलाई मुम्बईका दबंग 'नेता' मानिन्छ।  महाराष्ट्रमा विशेष प्रभाव भएको हिन्दु अतिवादी संगठन शिव सेनाका प्रमुख बाल थाकरेका कुनै बेला उत्तराधिकारी मानिने राजले विरोध प्रदर्शनमा अपेक्षाकृत सन्तुलित भाषण गरेकोमा लेखिका शोभा डेले ट्विट गरेर आश्चर्य मिश्रित प्रसंशा गरेकी थिइन्। तिनै राज थाकरेले प्रहरीको मनोबल बढाउने भाषण गरेपछि मन थाम्न नसकेर फूल अर्पण गरेको प्रतिक्रिया कन्सटेबल तावडेले दिएका छन्। दी टाइम्स अफ इन्डियाका अनुसार राजलाई फूल दिँदा आफूमाथि कारबाही हुन्छ भन्ने जानीजानी आँट गरेको तावडेले बताएका छन्। 
दुवै देशमा प्रहरीमाथि संगठनभित्रैबाट सामान्यतः सही देिखने काम गर्दा पनि कारबाही हुने गरेको देखियो। दुवै घटनाका पात्र  प्रहरीले आवेग थाम्न सकेनन्। प्रहरी संयमित हुनुपर्छ । यो भन्नमात्र सजिलो छ । यी दुवै घटनामा हृदयहीन व्यक्तिबाहेक अरू सबैले यस्तै व्यवहार त गर्थे होलान् । मातहतका सहयोगीमाथि आगो झोसेको देख्दा पनि रिस त साधुलाई मात्र । नत्र अरूले सहन सक्तैनन् । यस्तै, सबैले दुत्कारेका बेला आफूलगायत संगठनको सराहना भएको सुन्दा खुसी नहुन पनि मन जित्नुुपर्छ।  
प्रहरी भावुक र आक्रोशित हुन हुन्छ कि हुँदैन ?  भावना व्यक्त गरेबापत सजाय दिने कि नदिने ? राणालाई सरुवा गर्दा प्रहरी मनोबल कमजोर हुन्छ कि हुदैन ? राणाको सरुवा र बस्नेतमाथि मुद्दा सँगै हुनु पर्ने थियो कि ?  सामाजिक संजालमै सही छलफल हुनु राम्रै होला ।
जेहाेस्, राणा र तावडेले कारबाही भोग्दै रहुन् तर यीभित्रको जीउँदो मानिस पनि बाँची रहोस्। नत्र, मानिस र मेसिनमा के फरक हुन्छ र?  

Tuesday, August 21, 2012

उहिलेका कुरा - १


' बिहानै आँखा खुल्दछन्, मनमा कुरा खेल्दछन् । 
अब मेरो बुढेसकाल लागिसक्यो क्यार हजुर ! '

यस्तै लक्षण मैले आफैंमा देख्न थालेको छु । त्यसमाथि थप अर्को लक्षण पनि देखिएकाे छ -  पुराना कुरामात्रै सम्झने र भनिहाल्न मन लाग्ने । कतै पढेको कि सुनेको हो सम्झना भएन तर वाक्य बिर्सेको छैन - 'बूढाहरू अतीतमा बाँच्छन् ।' अंग्रेजीमा 'नोस्टाल्जिया' भन्छन्  क्यारे नि ! हो त्यस्तै ।

म पहिलो पटक विराटनगर २०२७ सालमा आएको थिएँ । मेरै उमेरका मामा साथी लिएर । नारायणघाटसम्म हिँडेर । अनि बसमा वीरगन्ज । त्यसपछि रेलमा कटियार हुँदै जोगवनी । बाटामा कटियारको रिक्सा हडतालले झन्डै रेल नछुटेको र उत्तम मामाको झोंकले झन्डै विहारी भैयाको  चटकन खानुपरेको  र कटिहारमा बजारभित्र जाँदा रेल छुट्नै लागेकोबाहेक अरू घटना वर्णनीय छैन ।

मामा र म रक्सौलबाट रेल चडेका थियौँ । रेल यात्रा पहिलो त थिएन तर दुई जना उर्बौला ठिटामात्र हिँडेकाले मलाई बढी नै डर लागेको थियो । रेल सुगौली कटिहारहुँदै जोगवनी जान्थ्यो । रक्सौलमा केही देहाती पनि हामी चडेकै डिब्बामा थिए । मलाई एक जना बूढी आमाले चिठी पढिदिन भनिन् । चिठी भोजपुरी भाषामा थियो क्यारे । पढ्दा लय मिलाउन नजानेकाले हो कि सुन्नेहरू हाँसेका थिए । मामा केटाहरूसँग कुरा गर्दै थिए एक जनाको गाला चड्काइ दिएछन् । 'उसले मेरो खल्तीमा हात हाल्यो' - मामा भन्छन् । 'हैन मैले त आफ्नै शरीर कन्याउँदा छोइएको हो ' - ऊ भन्छ । उसका साथीहरू जुर्मुराउन थाले । मामा पनि के कम ? । उनी मभन्दा एकाधपटक बढी नै रेल चडेका । तै  चिठी पढिदिएको गुन काम लाग्यो । तिनै आमाले देहाती केटाहरूलाई सम्झाइन् र हामीलाई जोगादिइन् । 

कटिहारमा चाहिँ रेल अलिधेरै बेर रोकिने रहेछ । विराटनगरको एउटा परिवार पनि भेटिएको थियो । बजारभित्र जाने सल्लाह भयो । बजारको एउटा होटलमा गइयो रिक्सा लिएर । खाना खाएर केहीबेर सुस्ताएपछि फर्कन लाग्दा त रिक्सा हड्ताल भइसकेछ । होटेलवालाले बल्लतल्ल तीनवटा रिक्सा खोजेर पठाइदियो । एकैछिन हिँड्नेबित्तिकै हड्तालकारीले रोकेर हावा फुस्काइदिए । रेल छुट्ने बेला भइसक्यो तर हामी बजारैमा । अत्यास लाग्न थाल्यो । मामाले मेरो झोला पनि बोकिदिए । दौडेर गइयो । धन्न रेल छुटेन ।
 
दोस्रो पटक विराटनगर गएको २०२८ को चैतमा हो । त्यो मेरो दोस्रो हवाई यात्रा थियो । त्यसभन्दा पहिले २०२४ सालको जेठमा पालुंगटार गएको थिएँ काठमाडौंबाट । डकोटा भन्ने जहाज चल्थ्यो नेपालमा उतिबेला । जहाज चड्दा रोमांचक अनुभूति हुन्छ अझै पनि । डर र रमाइलो दुवै एकै पटक लाग्छ । रोंगटे पिंग खेलेकोजस्तै । विराटनगर आउने अगिल्लै दिनदेखि काठमाडौंमा पानी परेको थियो । बिहान त निकै जाडो थियो अचेलको पुसमाघ जत्तिकै । मैले स्वेटर लगाएको थिएँ । साथीले हवाईजहाजमा जानेमान्छेले कोट पनि लगाउनुपर्छ भन्यो । त्यो पनि लाइदिएँ । वायुसेवा निगमको नयाँ सडक अफिसबाट बसले एअरपोर्ट लान्थ्यो । तेहाँ कोट लगाउने धेरै जना थिएनन् । म गमक्क परेको थिएँ । 

हवाई जहाजमा चड्न धेरै बेर कुर्न परेन । जहाज उड्दा डरले अनुहार बिगारेछु क्यारे, छेवैमा बसेका मोटा मान्छेले सान्त्वना दिए - मत डरो । कुछ नहीं होगा । लाजैमर्दो भएको थियो । बाहिर हेरेँ । पहाडै पहाड़ । कताकति खरले छाएको घर । ढुंगाले छाएको घर कतै देखिएन । पहाडमा जताततै पहिरो गएको देखेको सम्झना छ । तेस्तै डँडेलो कि कुहिरो पनि देखेजस्तो लाग्छ । वाकवाक लागेजस्तो हुन लागेको थियो जहाज ओर्लने बेला भएछ । कोटधारीको धन्न इज्जत जोगियो ।

जहाजबाट बाहिर के निस्केको थिएँ रसेटामा बसेजस्तै पो भयो । फरक्क फर्केर जहाज भित्रै पसौँ जस्तो भयो । सामान लिउन्जेल कुर्दा पसिनै पसिना भइसकेको थियो । मेजस्तो कोट र स्वेटर लगाउने कोही थिएन । मान्छेहरू मलाई हेरेर हाँसेजस्तो लाग्यो । सामान आएपछि बाहिर निस्केर रिक्सा खोज्न थालेँ । रिक्सावालाले त गंजीमात्रै लगाएको थियो । बजारअड्डामा मामाको घरमा पुग्ने बेलासम्ममा त म उसिनिइसकेँ जस्तो लागेको थियो । मामा त मेरो अवस्था देखेर हाँस्न र गिज्याउन पो थाले । हजुरआमाले लुुगा फुकाउन भन्नुभयो । पानी ल्याएर दिनुभयो । बल्ल मैलै बुझे संकटको जड त स्वेटर र कोट रहेछन् ।

त्यसपछि कति पटक विराटनगर गएँ  गनेरै सकिँदैन । धेरै पटक हवाईजहाजबाटै गएँ । त्यसपछि एक पटकबाहेक व्यक्तिगत कामका लागि गएको छैन । यस पटक पनि अपांगता भएका बालबालिकाले संचालन गरेका बाल क्लबसम्बन्धी अध्ययनका लागि गएको हुँ । काठमाडौंबाट १:४० बजे प्लेन उड्छ भनेर हतार गरेर विमानस्थल पुग्दा चेक इन सुरु भइसकेको थियो । आन्तरिक उडानमा एअरपोर्ट ट्याक्स लिन छाडिएको रहेनछ । उतिबेलाको हेरेर विमानस्थल निकै भव्य भए पनि  सफाइ भने उस्तै छ । विमान स्थलमा टेलीकम र एनसेलको थ्रीजी सेवा छैन रहेछ कि ! जीपीआरएस मात्र टिप्यो । तैपनि समय कटाउन सजिलै भयो । ( मैले एनसेलको सेवा प्रयोग गर्न बन्द गरेको थिएँ । आईप्याडमा टेलिकमको थ्रीजीले देउखुरीमा काम नगरेपछि धेरैले सल्लाह दिए एनसेलको कभरेज र सेवा राम्रो भनेर । इनरुवामा त एनसेलको पनि थ्रीजी रहेनछ । अझ गाउँतिर त कतै कतै टेलिकमको नेटवर्क भएको ठाउँमा समेत एनसेलको चालचुल केही भेटिएन । गाँठ गुमाना बेबकुफ बन्ना )

बुद्ध एअरको जहाज २:१५ मा उड्यो । सँगैको सिटमा कोटधारी महानुभाव बसेका थिए । आफ्नो कन्तबिजोग सम्झेँ ।  प्याब्सनको कार्यक्रममा गएका रहेछन् । भेट्ने भए यिनले पनि भन्ने ठाने । झ़्यालबाट बाहिर हेर्न थालेँ । बितेका ४० वर्षमा पहाडमा मोटर बाटा धेरै बनेछन् । बस्ती पनि धेरै बसाइएछन् । मैले त ख्यालै गरेको रहेनछु । सबैजसो घरहरूमा जस्ताको छानो देखियो । बाटामा देखिनेमध्ये मोटर बाटो र बस्ती नभएका डाँडा थोरैमात्रै थिए । उति बेलाजस्तै अहिले पनि कोसीको विनाश लीलाले मन चसक्क दुख्यो । 

यसपटक चाहिँ म टी सर्टमा थिएँ । जहाजबाट ओर्लने बित्तिकै पानी पर्न थाल्यो । गर्मीको अनुभव भएन ़। विराटनगरबाट हुलाकी राजमार्ग हुँदै इनरुवा २६ किलो मिटर रहेछ । मारुती भ्यानमा १२ सय भन्दारहेछन् । रिक्सावालाले सिकाउन थाले माइक्रो बससम्म रिक्सामा जाने र अनि बसमा जाने । आँट आएन गर्मीमा त्यो जोखिम उठाउने । मोलतोल पछि ११ सयमा कुरा छिनियो । पछिल्लो ढोका खोलिदिए चालकले । भित्र पसेपछि बल्ल तराई आएको थाहा भयो । झ्याल नखुल्ने रहेछ । साउनामा पसेजस्तै भयो । चालकलाई गाड़ी रोक्नु म अगाडि आउँछु भनेको त तेहीँ बस्नुस् एक छिन, तेल हाल्ने बेलामा रोकौँला पो भने । तेति बेला चाहिँ २०२८ सालकै गर्मी सम्झेँ । तर उत्निखेरै फर्कन मन चाहिँ लागेन । थाहा थियो नि त म फर्कन सक्तिन भन्ने ।  

उति बेलाका धेरै कुरा अब छैनन् । सबैभन्दा त मलाई िवराटनगर बोलाउने र डुलाउने नारायण मामा नै छैनन् । उनले मलाई फारबिसगन्ज लगेका थिए कांग्रेसहरूको क्याम्पमा । धरान घुमाएका थिए । मीठाइदेखि बियरसम्म खुवाएका थिए । त्यति धेरै माया गर्ने त्यहाँ अब कोही छैन । त्यसैले हो कि खासै रमाइलो पनि लाग्दैन । बजारभित्र पस्दै पसिन ।

बाटा धेरै नै बनेका छन् । टेलिफोन र बिजुली पनि गाउँमा पुगेका छन् । जीवनस्तरमा पनि सुधार भएकै छ । तै पनि, मानिस सन्तुष्ट चाहिँ छैनन् । किन ? उत्तर मलाई पनि थाहा छैन ।