Wednesday, May 21, 2014

साख गुमाउने प्रतिस्पर्धा


न्याय परिषद्ले सर्वोच्च अदालतका रिक्त १० स्थायी न्यायाधीश पदमा आठ जना ‘योग्यता पुगेका व्यक्ति’को नाम सिफारिस गर्‍यो। नियुक्ति अनुमोदनका लागि सुनुवाइ गर्ने संसदीय समितिले सिफारिसमा चित्त नबुझाएर प्रधान न्यायाधीशलगायत परिषद्का सबै सदस्यलाई सोधपुछका लागि समितिमै बोलाउने निर्णय गर्‍यो।
न्याय परिषद्ले संसदीय समितिले क्षेत्राधिकार नाघेको ठहर गरी बयान दिन उपस्थित नहुने निर्णय ग¥यो । यसैबीच परेको रिटमा सर्वोच्च अदालतले न्यायपरिषद्का सदस्य संसदीय समितिमा जानु नपर्ने आदेश जारी ग¥यो । अर्थात्, गुजुल्टो परेको डोरी तानातान गरेर खेलेजस्तो भयो । स्थिति झन् झन् गुजुल्टियो । 
निर्णयका क्रममा व्यक्तिकेन्द्री रणनीति बनाएर न्याय परिषद्ले न्यायाधीशको नाम सिफिारिस गर्ने अधिकारलाई न्यायपालिकाको साख बढाउने अवसरभन्दा शक्तिको अभ्यास गर्ने मौका ठानेको देखिन पुगेको छ । तर सिफारिस गरिएका व्यक्तिविरुद्ध राजनीतिकेन्द्री रणनीति अपनाएर विरोध अभियान चलाइयो । सुनुवाइ समितिको निर्णय पनि वस्तुनिष्ठ हुन सकेन । परिषद् र समिति दुवैलाई तजविजी निर्णय गर्ने अधिकार होला तर त्यसलाई सदस्यहरूले रणनीतिक वा अन्य कुनै अभीष्ट पूरा गर्न वा शक्ति देखाउन प्रयोग गर्नु उचित थिएन । संसदीय समिति र न्यायिक परिषद्का सदस्यहरूको नियतमा शंका नगरौँ तर निर्णय दुवैका लागि प्रत्युत्पादक भएकाले ढंग र बुद्धि त नपुगेकै हो । यसले सर्वोच्च अदालतका प्रधान न्यायाधीशलाई विवादमा तानेको त छ नै न्यायपालिका र संसद्को गरिमा पनि घटाएको छ । 
न्याय परिषद्को सिफारिसलाई संसदीय समितिले सामान्य प्रक्रियाअनुसार टुंग्याएको भए विवादमा परेका नाम अस्वीकार गर्दा पनि न्यायालय र संसद् दुवैको साख जोगिने थियो । न्यायाधीश छनौटको विषय दलगत राजनीतिक रणनीतिको कार्यसूची बनाउँदा संसदीय सुनवाइ स्वयं उपहासको विषय बन्न पुग्यो । अब सबैको नाम अनुमोदन गरे समिति ‘रबर स्ट्याम्प’ सिद्ध हुनेछ भने छानेर कुनै नाम स्वीकार वा अस्वीकार गर्ने वस्तुगत आधार पनि छैन । अनुमोदन नभएका व्यक्तिले मात्रै भए पनि राजनीतिक पूर्वाग्रहको आरोप त पक्कै लगाउनेछन् । पार्टी मुख्यालयमा जम्मा भएर न्यायाधीश नियुक्तिका बारेमा रणनीति बनाउने वकिलहरू भोलि न्यायाधीशमा सिफारिस भए भने अर्को पार्टीले के गर्ने ? सामान्य नागरिकले तिनबाट निष्पक्ष न्याय हुन्छ भनेर कसरी मान्ने ? शपथग्रहण गरेको दौरासुरुवालसमेत नफुकाली पार्टी नेतालाई ‘दाम राख्न’ पुगेका बहालवाला न्यायाधीशै पनि निष्पक्ष छन् भनेर कसरी पत्याउने ? 
आवरणजस्तै आचरण पनि हुँदो हो त आफ्नो अध्यक्षतामा भएको निर्णयको नैतिक जिम्मेवारी लिएर प्रधान न्यायाधीशले राजीनामा गरिसक्थे होलान् । न्यायालयको इतिहासमै न्यायाधीश नियुक्तिमा यति धेरै विवाद भएको थिएन । न्यायालयको साख पनि यस्तरी गिरेको पनि थिएन । आफ्नो नेतृत्वको संस्थाको साख सबैभन्दा तल्लो विन्दुमा पुग्ने निर्णय गरेकोमा ‘आद्यात्मिक प्रकृति’का भनिएका प्रधान न्यायाधीशलाई पक्कै आत्मग्लानि भएको हुनुपर्छ । न्यायाधीश रामकुमार साहले निर्णयमा राय बझाएका छन् । उनको असहमति पनि आग्रहरहित देखिएन । सबैभन्दा बढी विवादमा परेका भनिएका व्यक्तिविरुद्ध उनी किन बोलेनन् ? अर्थात्, साहले पनि समान अवस्थामा रहेका व्यक्तिहरूबीच भेदभाव गरे । मन नपरेका व्यक्तिविरुद्ध मात्र औँलो ठड्याउने ‘फरक राय’ न्यायिक मनबाट प्रेरित देखिँदैन र वस्तुनिष्ठ मान्न सकिँदैन । मुद्दाको रोहमा माथिल्लो अदालतका न्यायाधीशले गरेको टिप्पणीलाई सिफारिस गरिएका केही न्यायाधीशविरुद्ध अयोग्यताको प्रमाणका रूपमा लिन खोजिएको देखिन्छ । तर, त्यस्तो टिप्पणी नै कति वस्तुनिष्ठ थियो भनेर पर्गेल्ने काम भने कसैले गरेको पाइएन । न्यायाधीश साहको रायलाई ‘स्थाली पुलक न्याय’ अनुसार हेर्ने हो पहिलेका टिप्पणी पनि मनोगत हुनसक्ने देखिन्छ । आत्मपरक टिप्पणीका आधारमा व्यक्ति विशेषको मूल्यांकन गर्नु अन्याय हुन्छ तर मुद्दामा देखिएका बदमासीलाई आधारै नमान्ने हो भने त झन् न्यायाधीश यसै निरंकुश हुनेछ । दुवै अवस्था मारमा पर्ने त न्यायपालिकाको स्वतन्त्रता नै हो । न्यायपालिकाको स्वतन्त्रता जोगिन त न्यायाधीश पनि पवित्र हुनसक्नुपर्छ । धर्मो रक्षति रक्षितः !
न्यायाधीशले धर्म पालन नगर्दा न्यायालय विवादमा प¥यो । सांसदहरूले विवेक प्रयोग गर्न नसक्ता संसदीय सर्वोच्चता कुण्ठित भयो । सामान्यतः एकमतले निर्णय गर्नुपर्ने न्यायपरिषद्मा न्यायाधीशले नै राय बझाए । अनि, संविधान र लोकतान्त्रिक मर्यादा मिचेर प्रधान न्यायाधीशलाई समितिमा बयान लिन बोलाउने निर्णयमा भने कांग्रेसहरूले कम्युनिस्टको डाँकोबाट थर्केर सही हाले् । धन्य छन्, नेपालको न्यायपालिका र व्यवस्थापिकाका स्वनामधन्य माननीय सदस्यहरू ! संविधानको कुन धारा, कुन लोकतान्त्रिक परम्परा वा केका आधारमा प्रधान न्यायाधीशलाई समितिमा बोलाएर वयान लिने निर्णय गरियो ? 
कम्युनिस्टहरू शक्ति पृथकीकरण वा न्यायालयको स्वतन्त्रतामा विश्वास गर्दैनन् । तिनका लागि सिद्धान्ततः न्यायालय पार्टीको अभीष्ट पूरा गर्ने संयन्त्रमात्रै हो । तिनले आपूmलाई वा आफ्नो पार्टीलाई मन नपर्ने निर्णय आउनेबित्तिकै अदालत र न्यायाधीशविरुद्ध नाराबाजी ढुंगामुढा सबै गरेकै हुन् । त्यस्तो व्यवहारमा उनीहरूले ग्लानि वा पश्चाताप प्रकट गरेका पनि छैनन् । कम्युनिस्टहरूले राजनीतिमा लागेदेखि नै आपूmलाई मन नपर्ने सबै निर्णयमा वर्गीय षड्यन्त्र, स्वार्थ र अन्याय लुकेको हुन्छ भनेको सुन्दै र पत्याउँदै आएका हुन्छन् । तर, नेपाली कांग्रेस त घोषितरूपमै लोकतन्त्रवादी हो । त्यसका सदस्यले त विधिको शासनमा विश्वास गर्नुपर्ने हो । न्यायालयको स्वतन्त्रता र गरिमा जोगाउनुलाई तिनले महत्वपूर्ण ठान्नुपर्ने हो । विडम्बना, संसद्मा कांग्रेसका नेता र कार्यकर्ताको मानसिकता र व्यवहार कम्युनिस्टभन्दा खासै फरक देखिएन । 
माओवादीले करबल रणनीतिक रूपमा लोकतन्त्र स्वीकार गर्नुपरेको लुकाएका छैनन् । तिनलाई अभ्यासबाट कांग्रेसले लोकतान्त्रिक आचरण सिकाउन सक्नुपथ्र्यो । तर, यहाँ त ‘लालु र बुस’को ठट्यौली पो दोहोरियो । यिनको कामकाज हेर्दा त प्रख्यात दार्शनिक बर्ट«ेन्ड रसेल र सुन्दरी अभिनेत्रीको संवादको सम्झना हुन्छ । तर, दुवै अवस्थामा हार त लोकतान्त्रिक पद्धति र संस्कारको हुनेभयो । कम्युनिस्टहरूले संसदीय समितिले जिते न्यायालय स्वतन्त्र हुनुहुँदैन भन्ने निहुँ पाउनेछन् । न्याय परिषद्ले जिते संसदीय पद्धतिलाई नै दोष दिनेछन् । सहमति वा बाध्यताका नाममा सिद्धान्तहीन राजनीतिले अन्ततः भलो गर्दैन । यही कारणले नेपाली कांग्रेसले जनताले दिएको विश्वास पनि धान्न नसक्ने गरेको छ । न्यायपालिकाको स्वतन्त्रता हजम गर्न मुस्किल भएका माओवादीले यही विवादलाई संविधान निर्माणका बेला न्यायपालिकाको स्वतन्त्रता समाप्त पार्ने भ¥याङ बनाउने प्रयास पक्कै गर्नेछन् । त्यति बेला पनि एमालेले काँध थाप्ने र कांग्रेसहरू डाँकैले थर्कने भए के होला ? 
यथार्थमा दुवै थरीले पदीय गरिमा धान्न सकेको देखिएन । दुवै पक्षलाई अधिकार भएपछि तजबिजमा जे गरे पनि हुन्छ भन्ने अलोकतान्त्रिक मानसिकताले प्रभाव पारेको देखियो । सत्ताले शक्ति दिलाउँछ तर नैतिक वैधता बिनाको शक्ति प्रयोगले साख गिराउँछ । न्याय परिषद् र संसदीय समिति दुवै संस्थाको साख त्यसकै सदस्यहरूको निर्णयबाट गि¥यो । शक्तिको प्रयोग गर्दा दायित्व र विवेकको ख्याल राखेको भए दुवै संस्थाको साख गिर्ने थिएन । न्यायपरिषद् र संसदीय सुनुवाइ दुवै राम्रा अभ्यास हुन् । तर, अपात्रका हातमा पर्दा दुवैको साख गुम्यो । भागबन्डाको संस्कारले त निर्णय बढी विवादास्पद हुन पुगेको हैन ? परिषद्मा निर्णयको उत्तरदायित्व कसैले पनि लिनु नपर्ने र समितिमा चर्को कुरा गर्ने लोभले दुवै पक्षलाई फसाएको त हैन ? 
अहिलेको सबै विकृतिको जरो सहमतिको सिद्धान्तहीन राजनीति हो । तर, चर्का र ठूला कुरा गर्नेहरू कसैले पनि त्यसलाई दोषी देखेनन् । कारण, चर्का कुरा गर्नेहरूले सहमतिको फल पाउँदै आएका छन् । आपैmँलाई नोक्सान पर्ने काम किन गर्नु ? 
र, अन्त्यमा
यति विवाद भइसके पछि प्रधान न्यायाधीशलगायत न्याय परिषद्का सबै सदस्यले पद त्याग्ने र संसदीय सुनुवाइ समितिका सबै सदस्य बदल्ने हो भने राज्यका दुवै अंगको इज्जत र साख जोगिने थियो । तर यस्तो उच्चतम अभ्यासका लागि आवश्यक नैतिकता र आत्मसम्मान न्याय परिषद् वा संसदीय सुनवाइ समितिका सदस्यमा कसरी अपेक्षा गर्ने ? जापानका सम्भ्रान्त र भारदारहरू मिथ्या आरोप लाग्यो भने ‘हाराकिरी’ गर्थे । त्यागका लागि नैतिक साहस र उच्च मनोबल जो चाहिन्छ । अहिले सबैभन्दा खडेरी यसैको छ । यसैले यो समाधान जति नै उत्तम भए पनि कार्यान्वयन हुने लक्षण देखिँदैन । 
त्यसो त, अर्को सजिलो ‘काइते’ समाधान पनि उपलब्ध छ । सुनवाइ समितिले विवादमै समय बिताइदिने र स्वतः नियुक्तिको बाटो खोल्ने । भर्सेलैमा परोस् न्यायालय र संसदीय समितिको साख ! अथवा, केही गरेको देखाउन कमजोर एकाध जनालाई बलि दिएर पार्टीपिच्छे भागशान्ति गरी केहीलाई न्यायाधीश बनाउने सहमति गरेर कुरा मिलाए पनि हुन्छ । सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने । यही त हो सहमतिको राजनीतिले देखाएको बाटो !

Tuesday, May 13, 2014

सरकारको पुनःस्थापना

स्वनामधन्य साहित्यकार केशवराज पिंडालीले एउटा निबन्धमा ‘चन्द्रज्योति’ ‘बले नबलेको टर्च लाइट बालेर हेर्नुपर्ने’ लेखेका छन् । झट्ट पढ्दा हाँसो उठ्ने यस व्यंग्यले अस्तित्वकै लागि अरूको सहायता चाहिने समाजका धेरै विसंगतिलाई कुरीकुरी गरेको छ । 

अस्तित्व नै अन्यत्र खोज्नुपर्ने हो भने त्यसको हुनु र नहुनुको अर्थै हुँदैन । अहिले सरकारको अवस्था ‘चन्द्रज्योति’को त्यही वर्णनसँग मिल्छ । प्राथमिक कर्तव्य नै पूरा गर्न नसकेपछि सरकारको अस्तित्व सिद्ध गर्न अरू नै केही गर्नुपर्ने हुँदोरहेछ ।
हुनत, नेपालमा सरकार नामको संस्था सँधै कायमै रहेको छ । राणा शासनको अन्त्यपछि जनआन्दोलनका बलमा दुईपल्ट र राजाले दुईपल्ट बलजफ्ती हटाएबाहेक अरू बेला त्यति बेलाको संविधानअनुसारै सरकार बदलिएको छ । यसैले ‘सरकारको पुनःस्थापना’ भन्न सामान्य अर्थमा त मिल्दैन पनि होला । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत् शब्दकोशमा पहिलो संस्करण (२०४०) मा पुनःस्थापना शब्द समावेश गरिएको रहेनछ । त्यतिबेला यो शब्द उति प्रचलनमा पनि नभएकाले समावेश नगरिएको होला भन्ने ठानेको त ‘संशोधित र परिवर्धित सातौं संस्करण (२०६७) मा पनि रहेनछ । यसबीच नेपाली सञ्चार र शासनमा यो शब्द बढी नै चल्तीमा आएकाले यसले विशेष अर्थ भएको सिंगो शब्दका रूपमा शब्दकोशमा प्रवेश पाएको होलाजस्तो लागेको थियो । यस शब्दकोशको पहिलो र सातौं संस्करणका बीचको २७ वर्षमा मुलुकमा २ पटक त राज्य व्यवस्था नै बदलिएको छ । पहिलो जनआन्दोलनपछि नै विशेषगरी सामाजिक सेवाका क्षेत्रमा पुनःस्थापना शब्द प्रयोग हुन थालेको थियो । माओवादीको सशस्त्र विद्रोहपछि त अंग्रेजीको ‘रिहाबिलिटेसन’का अर्थमा ‘पुनःस्थापना’ शब्द निकै प्रचलित भएको छ । नेपाली बृहत् शब्दकोशमा दिइएका ‘पुनः’ र ‘स्थापना’को अर्थ मिलाउँदा केही नजिक पुगे पनि विशेष अर्थ ग्रहण गरिसकेको पुनःस्थापना शब्दलाई त्यसले समग्रतामा बुझाउँदैन । गतिशील समाजमा यसरी नयाँ अर्थ ग्रहण गरेका शब्दलाई तत्काल शब्दकोशमा समावेश गरिन्छ । शब्दकोशमा समावेश नगरिएको भए पनि यो शब्द ‘पहिलेजस्तै बनाउने वा पुरानै स्थान र अवस्थामा फर्काउने अर्थमा’ प्रयोग भइरहेको छ । त्यतिमात्र हैन पुनःस्थापना शब्दले पहिलेभन्दा पनि बढी प्रभावकारी र सशक्त हुने ÷ गराइने प्रक्रिया बुझाउन थालेको छ । तैपनि, काम चलाउनैका लागि पुनः र स्थापना मिलाइएको ‘फेरि दृढतापूर्वक खडा गर्ने ’ भन्ने अर्थ लगाए पनि हुन्छ । यस्तो अर्थमा चाहिँ नेपाल सरकारको पुनःस्थापना गर्नुपर्छ भन्नु अत्युक्ति हुनेछैन । ‘अक्सफोर्ड इंग्लिस डिक्सनरी’को अनलाइन संस्करणमा भने ‘कुनै व्यक्तिलाई तालिम वा व्यायाम÷उपचारका माध्यमबाट सामान्य जीवनमा फर्काउने’ अर्थमा यो शब्द प्रयोग भएको रहेछ । सायद, यस अर्थले सरकारको पुनःस्थापनालाई बढी बुझाउँछ ।
सरकार थपनाको देवताजस्तो छ नाम मात्रको । सरकारका धेरै काम अरूले नै गर्छन् । सरकार भने बेलाबखत बौरिएका बेला अलिअलि चलमलाउँछ र फेरि मुच्र्छा पर्छ । उदाहरण पाइलै पिच्छे पाइन्छ । गएको साताका तीन वटा घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरौँ । 
मुक्तिनाथको दर्शन गर्न जान पाउने कि नपाउने निर्णय बाबा स्वयंले पनि गर्न पाउँदैनन् । म्याग्दीको बेनीमाथिका सडक दादाले गर्छन् । त्यहाँ सरकारको प्रतिनिधित्व गर्ने स्थानीय प्रशासन पनि छ । तर राज चाहिँ संगठित गिरोहको चल्छ । एकाध पटक वा आक्कलझुक्कल त्यस्तो भएको पनि हैन । स्थानीय बाहुबलीले मोटर चलाएका छन् । भाडा उनीहरूले नै तोक्छन् । बजारमुखी अर्थतन्त्रमा यतिसम्मलाई ठीकै मान्न सकिएला । त्यो कुनै समूहले बनाएको सडक भए पनि तिनको हैकम चल्नु स्वाभाविकै भन्ने मान्न सकिन्थ्यो होला । तर, यो सडक त राज्यको हो । त्यसैले त्यसको सार्वजनिक चरित्र कायम राख्ने दायित्व सरकारको हो । सडक बनाएर सञ्चालनका लागि संगठित गिरोहलाई सुम्पने काम संसारको कुनै सरकारले पनि गरेको छैन होला । राज्य भने स्थानीय बाहुबलीहरूका सामु लाचार देखिएको छ । धेरै वर्षै भइसक्यो । यो त सानो उदाहरणमात्रै हो । 
चुरे क्षेत्रका रुख, ढुंगामाटोमा यस्तै संगठित गिरोहको राज चल्छ । सरकारले क्रसर मेसिन चलाउनेसम्मलाई पनि नियमभित्र राख्न सकेको छैन । चुरे क्षेत्रको साधन स्रोतको अतिदोहन गरेर तिनले उत्पन्न गरेको वातावरणीय समस्याको मूल्यांकन गर्ने हो भने सायद अहिले क्रसर व्यवसायीले कमाएको सबै पैसाले पनि क्षतिपूर्ति हुनसक्ने छैन । क्रसरवालाले सोभैm नभने पनि भारत तस्करीका लागि नै यसरी अतिदोहन गरिएको हो । नेपालभित्रको मन्द गतिको विकास निर्माणका लागि सायद यति धेरै दोहन गर्नु आवश्यक पर्दैन । मानिसले कुटेको गिटी र खोलाले ल्याएको बालुवाबाटै पनि नेपालको आवश्यकता पूरा हुन्थ्यो होला । सरकार चलाउनेको दूरदृष्टि हुन्थ्यो भने निर्माणको प्रवृत्ति विश्लेषण गरेर कति निर्माण सामग्री चाहिन्छ भन्ने अनुमान गरी त्यहीअनुसार दोहनको अनुमति दिइन्थ्यो होला ।
मापदण्ड पालन गर्न नपरोस् भनेर अहिले क्रसरवालाहरूले सबै कारोबार ठप्प पारेका छन् । गिटी बालुवाको बेचबिखन रोकेका छन् । कसैले निजी आवादीबाट झिकेको भए अरूलाई हानि नहुने गरी थन्क्याएर राख्ने अधिकार होला । तर तिनले संकलन गरेर राखेका गिटी बालुवा सार्वजनिक स्थानबाट झिकिएको हो । अनुमति लिँदा पनि उत्पादन र बेचबिखन गर्नै भनेर लिएको त होला । त्यसो भए त त्यो राज्यकै सम्पत्ति भयो । तर राज्यको सम्पत्ति भएकाले कृत्रिम अभाव उत्पन्न गराएर रोकेर राख्न पाइँदैनसम्म पनि यो सरकारले भन्न सकेको छैन । 
पेट्रोल चोरहरूले त झन् राज्यलाई ठाडै चुनौती दिए । चोरी गर्दागर्दै दसीसहित समातिएकाहरूलाई कारबाही नगरी छाड्नुपर्छ भनेर दबाब दिन गरिएको हड्ताल तोड्न सही अर्थको सरकार भएको कुनै मुलुकमा सम्झौता त पक्कै गरिँदैन । वार्ता त पुनर्वास गराउने क्रममा झिँझा वा चम्बलका डाँकासँग पनि गरिएको थियो । चोरीमा संलग्न भएकामाथि तत्काल कानुनी कारबाही चलाउने र हड्ताल गर्नेको अनुमति रद्द गर्ने हो भने केही दिन अलिकति असहज होला तर छिटै नै अरू व्यवसायी ढुवानीका लागि अग्रसर हुनेछन् । अरू व्यवसायी अगाडि नसर्दासम्म प्रहरी र सेनाका साधन प्रयोग गरेर पनि अभाव टार्ने आँट सरकारमा हुनुपर्छ । त्यसमाथि नेपाल आयल निगमका भ्रष्ट कर्मचारीलाई पनि कारबाही गर्ने हो भने त राज्यले बर्सेनि अर्बौं रुपियाँ अनुदानका नाममा लुटाउनु पर्ने पक्कै थिएन ! 
गएको साता चर्चामा रहेका यी तीनवटा प्रतिनिधि घटनाले राज्यमा सरकारको अस्तित्व नै संकटमा रहेको पुष्टि हुन्छ । नेपालमा सरकार त छ तर त्यसले अहिले शासन गर्न सकेको देखिँदैन । अर्थात्, सरकार सामान्य अवस्थामा छैन । थला परेको मधौरुजस्तो छ । सुस्त गति, मन्द बुद्धि र चरम आलस्य नेपाल सरकारका विशेषता बनेका छन् । यस्तो सरकारलाई तंग्रिन समय लाग्छ । तर, त्यसका लागि सही उपचार र व्यायाम भने अपरिहार्य हुन्छ । ‘फिजियोथेरापी’का क्रममा असह्य पीडा पनि हुनसक्छ । थकाइ त बढी नै लाग्छ । तर, केही दिनपछि भने बिरामी तंग्रिन्छ र कतिपय अवस्थामा त पहिलेभन्दा पनि फुर्तिलो र स्वस्थ हुनपुग्छ । अनिमात्र उसको ‘पुनःस्थापना’ भएको मानिन्छ । सरकारका हकमा पनि यही प्रक्रिया लागु हुन्छ । 
कानुनले गर्नुपर्ने कुनै काम रोकेको छ भने सरकारले त्यस्तो कानुनै बदल्न लगाउन सक्छ । संसद् नभएकै बेलामा पनि सरकारलाई अप्ठेरो नपरोस् भनेर अध्यादेशको व्यवस्था गरिएको हुन्छ । तर, भएका कानुन नबदलिँदासम्म त्यसलाई लागु गर्नुपर्छ । प्राकृतिक स्रोत वा सरकारी ढुकुटीमा भएको दोहनमा आँखा चिम्लने सरकारले नागरिकको जीउधनको रक्षा गर्ला भनेर कसरी पत्याउने ? निर्वाचनबाट जनादेश पाउनु सरकारको प्राणवायु थपिनु नै हो । दुर्गालाई सबै देवताले आआफ्नो शक्ति सुम्पेजस्तै हो सरकारलाई जनादेश प्राप्त हुनु । त्यस्तो शक्तिलाई दुर्गाले तिनै देवताको रक्षामा प्रयोग गरेकी थिइन् । सरकारले पनि सिको गरोस् । कष्टकर फिजियोथेरापी गरेर भए पनि पुनःस्थापित होस् । फिजियोथेरापीबाट निको हुन बिरामीकै इच्छा शक्ति अत्यावश्यक हुन्छ । सरकारले पनि शासन गर्ने इच्छाशक्ति देखाउनुपर्छ । नत्र, संगठित गिरोहहरूले सरकारलाई ‘क्लिनिकल्ली डेड’ घोषणा गरेरै आफ्नो राज चलाउनेछन् ।

Thursday, May 8, 2014

कोइरालाको कसी

प्रधानमन्त्री भएपछि सुशील कोइराला कांग्रेसकै कार्यकर्ताको पनि सहज पहुँचमा छैनन् रे ! उनलाई भेट्ने प्रयास कहिल्यै नगरेको व्यक्तिले उनी सहज पहुँचमा छन् कि छैनन् कसरी भन्नु ? तर, उनको कार्यशैली जनतासँग निकट हुने प्रकारको कहिल्यै देखिएको थिएन। उनी कार्यकर्ताका घेरामा सीमित रहन रुचाउने व्यक्ति देखिन्थे।

तैपनि, अहिले चर्चा गरिएजस्तै वा आभास दिलाउन खोजिएजस्तै उनको वरपर साँच्चै घेरा लागेको वा लगाइएको हो भने त्यसले उनको, उनको पार्टीको र सबैभन्दा बढी मुलुकको क्षति गर्नेछ। 
उनको आलोचनाका नाममा थालिएको तेजोबधको प्रयास भने कपटपूर्ण छ। सञ्चार माध्यमहरूमा अहिले उनलाई कमजोर देखाउने, बनाउने र ‘ब्याजस्तुति’ शैलीमा ‘प्रशंसा’ गर्नेको भिड बड्दै गएको छ। उनका दिनचर्यामध्ये नकारात्मक प्रतीत हुने विवरणको वर्णन गरेर जनतासमक्ष सुशील कोइराला प्रधानमन्त्री हुन अक्षम व्यक्ति हुन् भन्ने भान पार्न खोजिएको छ। उनको वरपरको घेरा कति बलियो छ वा उनको दिनचर्या कस्तो छ यसको सबैभन्दा जानकार त उनी नै होलान् तर नियोजितजस्तो लाग्ने यस प्रचार अभियानले गति लिएमा संसद्लाई अब संविधान निर्माण गर्न हैन कोइरालालाई बिदा गर्न अग्रसर गराइनेछ। 
भनिन्छ, व्यक्तिपिच्छे शैली हुन्छ। शैली शास्त्रमा व्यक्ति स्वयं शैली मानिन्छ। सुशील कोइरालाले गिरिजाबाबुले जस्तो भेटघाट गर्ने शैली अपनाएनन् वा अरू कसैले जस्तो सल्लाहकार सहयोगीको हुल थुपारेर राज्यको ढुकुटी लुटाएनन् भनेर आलोचना गर्नु यसैले न्यायोचित हुँदैन। उनले गर्नुपर्ने काम गर्न सकेका छन् भने वा सक्छन् भने एक्लै सबै गरे पनि हुन्छ। कांग्रेसजनमा प्रचलित ‘योग्य व्यक्ति इमानदार हुँदैन र इमानदार व्यक्ति योग्य हुँदैन’ भन्ने दीक्षा कोइरालाले पनि लिएका होलान्। 
प्रधानमन्त्रीको कार्यालयलाई बलियो बनाउनुपर्छ भन्ने प्रस्ताव अन्तरिम सरकारको नेतृत्व गरेका बेला किसुनजीले पनि अस्वीकार गरेका थिए। पञ्चायत कालमा राजदरबारले गर्ने सबै काम २०४६ को जनआन्दोलनपछि सिंहदरबारबाटै गर्नुपर्ने भयो। त्यसका लागि प्रधानमन्त्री कार्यालयको क्षमता बढाउनु आवश्यक थियो। किसुनजीलाई धेरै जनाले कार्यालय सुदृढीकरणका निम्ति विभिन्न सल्लाह दिएका थिए। साझा सरकारको संस्कार नभएको समाजमा एउटा केन्द्र धेरै बलियो बनाइयो भने त्यसले असन्तुष्टि जन्माउँछ भन्ने ठानेर हो कि किसुनजीले प्रधानमन्त्री कार्यालयलाई बलियो बनाउन खासै रुचि देखाएनन्। गिरिजाबाबुको व्यक्तित्वले उनलाई सहजरूपमै केन्द्रमा स्थापित गराउँथ्यो। उनले संयुक्त वा एकल सरकार जेको नेतृत्व गरे पनि अरूलाई शक्तिशाली देखिन दिएनन्। त्यसो त, सूचना लिने उनको शैलीको तारिफ त आलोचकहरूले पनि गर्थे। किसुनजी व्यक्तिका रूपमा ‘अनिच्छुक’ थिए। यसैले उनले शक्ति केन्द्र बन्ने लालच नगरेका होलान्। गिरिजाबाबु स्वतः केन्द्र बन्थे। उनका लागि प्रधानमन्त्रीको कार्यालय बलियो बनाउन आवश्यकै परेन। 
प्रधानमन्त्री सुशील कोइरालाको व्यक्तित्व आकर्षक छैन। उनीबाट चमत्कारको अपेक्षा गर्नु पनि अन्याय हुन्छ। तैपनि, उनी देशका प्रधानमन्त्री त हुन्। उनमा सत्ताको केन्द्र बन्ने चाहना छ वा मिलेर सरकार चलाउने रुचि छ त्यो अहिलेसम्म सायद प्रकट भइसकेको छैन। यसैले उनले प्रधानमन्त्री कार्यालयलाई सशक्त बनाउन अर्थात् शक्ति केन्द्रित गर्न नखोजेको पनि हुनसक्छ। तर शक्ति केन्द्रित गर्ने र सूचना संकलन एवं विश्लेषण गर्ने कार्य भने नितान्त अलग विषय हुन्। नेपालको शासकीय संयन्त्रमा सूचना लुकाउने संस्कार छ। सूचनाको शक्ति बुझेरै अधिनायकवादी शासनले त्यस्तो अभ्यास गरेको हुनुपर्छ। शासन प्रणाली बदलियो तर सूचना लुकाउने शैली भने कायमै रह्यो। 
सत्तामा बस्नेलाई सुविधा र लाभ दुवै हुने हुनाले सूचना लुकाउने वा त्यसको दुरुपयोग गर्ने अभ्यासलाई लोकतान्त्रिक प्रधानमन्त्रीहरूले पनि निरन्तरता दिएको हुनुपर्छ। समाजले त्यसमा उति चासो पनि लिएको देखिँदैन। त्यसमाथि गोपनीयताको संस्कार बदल्न नदिन कर्मचारीहरू बढी नै लागि पर्छन्। गोपनीयताकै कारण त आपैmँ सचिव रहेको मन्त्रालयअन्तर्गतका निकायका लागि ‘कन्सल्ट्यान्सी’ गर्दा वा सचिव भएर पाएको सूचना व्यावसायिक फर्मका लागि प्रयोग गर्दा वा बेच्दा समेत पनि तिनको नैतिकताको प्रश्न नउठेको हुनुपर्छ। आपैmँ कानुनी सल्लाहकार रहेका बेला संस्थाले गरेको निर्णविरुद्ध मुद्दा लड्नेलाई न्यायाधीश बनाइँदा पनि कसैले प्रश्न उठाउँदैन। पहिले कानुनी सल्लाहकार भएर आपैmँले तयार गरेको मुद्दा न्यायाधीश भएर पक्षमा छिन्दा पनि नैतिकताको प्रश्न उठ्दैन। यस्तो फाइदाको काइदा बदल्न कर्मचारी नमान्नु अस्वाभाविक होइन। मन्त्रीहरूलाई पनि पदमा रहुन्जेल शासकीय गोपनीयताले धेरै बदमासी लुकाउन सहयोग पुग्छ। 
सल्लाहकारको हुल जम्मा गर्दा कर्मचारीले नाक खुम्च्याउँछन्। ‘नकाम’ गर्न उक्साएपछि आपैmँले सूचना चुहाएर राजनीतिक नियुक्ति पाउनेहरूलाई अप्ठेरोमा पारेका पनि थुप्रै उदाहरण छन्। प्रधानमन्त्री नहुँदै सत्तासँग लामो संसर्ग गरिसकेका सुशील कोइरालाले यति त पक्कै बुझेका छन्। त्यसैले आफ्ना नाममा फाइदा उठाउने सहयोगी र सल्लाहकारको हुल जम्मा गर्न कोइराला हच्किएका पनि हुनसक्छन्। अहिलेसम्मका सबै प्रधानमन्त्रीले जागिर खुवाएका सल्लाहकार सहयोगीमध्ये एकाध जनाबाहेक अरू ‘बालुवा’ चरित्रका देखिएका छन्। घाम लाग्यो भने बालुवा सूर्यको रापभन्दा पनि तातो हुन्छ तर ओझेल पर्नेबित्तिकै ठण्डाराम भइहाल्छ।
शासनमा छाप छाड्ने वा केही गरेर देखाउने महत्वाकांक्षा त सुशील कोइरालामा पनि होला तर उनी केही गरेर जोखिम उठाउनुभन्दा केही नगरी सुरक्षित रहन रोज्ने ‘कर्मचारी’ संस्कारमा बढी लहसिएका देखिए। गिरिजाबाबुको निकट रहँदाको अनुभवले उनलाई त्यसमा प्रवृत्त गराएको हुनसक्छ। तैपनि, प्रधानमन्त्रीको कार्यालय सबै मन्त्रालयको तालुक अड्डा हुनसक्नुपथ्र्यो। अहिले प्रधानमन्त्री हैन मुख्य सचिव शासनको केन्द्र हुन पुगेको देखिन्छ। निर्वाचित जनप्रतिनिधिले शासन गर्ने हो भने प्रधानमन्त्रीको कार्यालय सक्षम हुनुपर्छ। 
सल्लाहकारको हुल नथुपारेर पनि सक्षम कर्मचारीहरूबाटै प्रधानमन्त्री कार्यालयलाई वैचारिक नेतृत्व दिन समर्थ संस्था बनाउन सकिन्थ्यो। राजस्वबाट कार्यकर्ता पाल्न गरिने ब्रह्मलुट सधैँका लागि रोक्न उनले संस्थागत व्यवस्था गर्नसक्थे। ऊर्जा सकिएका वा वैचारिक गरिबीबाट ग्रस्तहरूको भिडले मुलुकको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई बाटो देखाउन र गतिशील गराउन सक्ला भनेर विश्वास पो कसरी गर्नु ? विडम्बना, त्यस्तै भिड जम्मा नगर्दा सुशील कोइरालालाई अक्षम, सुस्त र अयोग्य सिद्ध गर्ने अभियान थालिएको छ।
नेपालको शासनलाई सभ्य र जनमुखी बनाउने हो भने सबैभन्दा पहिले राजनीतिमा व्याप्त कपटाचार त्यागेर नयाँ संस्कार आरम्भ गराउनु जरुरी छ। सुशील कोइरालाले चाहने हो भने कपटी संस्कार अन्त्य गर्ने प्रयास थाल्न सक्छन्। सायद, उनले नेपालको राजनीतिलाई लगाउने सबैभन्दा ठूलो गुन पनि त्यही हुन्थ्यो। यस्तै, शासनमा व्याप्त तजबिजी संस्कार र गोपनीयताका नाममा गरिने कपटी अभ्यास समाप्त पार्न पनि संस्थागत प्रयत्न थाल्न सक्छन्। यी दुवै प्रयास नेपाली समाजको उन्नतिका लागि उत्तम संविधानजत्तिकै महत्वपूर्ण र उपयोगी हुनेछन्। यस्ता युगान्तकारी काम गर्न चमत्कारी व्यक्तित्व नै चाहिन्छ भन्ने छैन। भारतको कृषिक्रान्ति लालबहादुर शास्त्रीले सुरु गरेका हुन्। जवाहरलाल नेहरुको ‘समाजवाद’ र इन्दिरा गान्धीको ‘गरिबी हटाओ’ले कस्को भलो ग¥यो भन्न सकिँदैन तर शास्त्रीको हरित क्रान्तिपछि भारतमा अनिकाल पर्न छाड्यो। किसुनजी र गिरिजाबाबुबाट नभएको शासनबाट कपटाचार अन्त्य गर्ने प्रयास सुशील काइरालाले थालनी गरे भने उनका आलोचकहरूलाई सबैभन्दा मीठो उत्तर हुनेथियो। धेरै खर्च गर्नसक्ने अर्थ मन्त्री सफल मानिएजस्तै ढुकुटीको ब्रह्मलुट गर्ने गराउने प्रधानमन्त्री योग्य ठहरिने त पक्कै होला नि !
र, अन्त्यमा
कतै सुशील कोइराला बदनाम अभियानमा उनैका आसेपासे त लागेका छैनन् ? उनका बारेमा प्रवाहित सूचना हेर्दा लक्षण त्यस्तै देखिन्छ। संविधान सभामा, राष्ट्रिय योजनाआयोगमा, राजदूतमा वा सल्लाहकारका रूपमै सही गतिलै नियुक्ति पाउने लोभ देखाइएका वा महत्वाकांक्षा राखेकालाई कोइरालाको सुस्त शैलीले सबैभन्दा बढी छटपटी लागेको हुनुपर्छ। तिनैले प्रधानमन्त्री कोइरालालाई तर्साउन त यो सबै गरे गराएका हैनन् ? नहुन सक्छ तर हुँदै होइन भन्न पनि त कसरी सकिएला र ?

Tuesday, April 22, 2014

तिब्बतास्त्रको चोट

महाभारतको अन्तिम युद्ध अश्वत्थामा र अर्जुनका बीचमा भएको थियो। अश्वत्थामाको दिव्यास्त्रको चोट भने अभिमन्युकी पत्नी उत्तराको गर्भमा रहेको बालकले सहनुपरेको थियो। नेपालले पनि अहिले त्यसरी नै अमेरिका र चीनले प्रयोग गरेको तिब्बतास्त्र प्रहारको सामना गर्नुपरेको छ।

येा छाया युद्धमा नेपालले हारिरहेको छ। मूलतः तिब्बतको छिमेकी भएकैले नेपालले प्रहार सहनुपरेको हो। उत्तराको सन्तानलाई त कृष्णले रक्षा गरेको कथा छ तर नेपालीले आफ्नो प्रतिरक्षा आफैँ गर्नुपर्छ। र, त्यसका लागि छिमेकीसँग बलियो विश्वास र अन्तर्राष्ट्रिय साखमात्र बलियो कवच हुनसक्छ।
अमेरिकाले चीनसँग कुनै मोलतोल गर्नुपर्ने बित्तिकै तिब्बत मामिला चर्काउने गर्छ। केही तिब्बतीलाई भने अमेरिका तिब्बतलाई स्वतन्त्र बनाउन सहयोग गर्दैछ भन्ने भ्रम छ। अमेरिकी सरकारले तिब्बतमा अशान्ति मच्चाउन सहयोग गर्नसक्छ तर तिब्बतको स्वतन्त्रता उसको अभीष्ट होइन। हो! केही अमेरिकीलाई तिब्बत स्वतन्त्र भएको हेर्ने रहर छ। तिनीहरू इमानदारीसाथ तिब्बत स्वतन्त्रताको कामना गर्छन्। तिब्बतमा असन्तुष्टि पनि छ। बेलाबखत हिंसात्मक आन्दोलन हुनेगरेका छन्। चीनले त्यस्ता आन्दोलन दमन पनि गर्दैआएको छ। चीन सरकार देशभित्र वा बाहिर कतै पनि मानव अधिकार वा स्वतन्त्रता आन्दोलनको पक्षमा देखिनेगरेको छैन। तिब्बतीमात्र हैन चीनका अरू अल्पसंख्यक पनि असन्तुष्ट होलान्। त्यहाँ मानव अधिकारको हनन भएको पनि होला। तिब्बती भाग्ने क्रममा नेपाल पस्छन्। यसमा पनि नेपाललाई दोष दिन त नमिल्नुपर्ने हो। 
अमेरिकास्थित ह्युमन राइटस वाचले नेपाल सरकारले चीनको दबाबमा तिब्बती शरणार्थीको मानव अधिकार हनन गरेको आरोप लगाएर हालै एउटा लामो प्रतिवेदन सार्वजनिक गरेको छ। त्यस प्रतिवेदनमा आंशिक सत्य पनि छ। नेपालमा तिब्बतीले सबै काम गर्न पाए पनि चीनविरुद्ध प्रदर्शन गर्न पाउँदैनन्। सरकारले सकेसम्म रोक्नेगरेको छ। त्यति हुँदाहुँदै पनि तिब्बती शरणार्थी आत्मदाहको प्रयास गरे। चीनले बेवास्तै गरे पनि नेपाल सरकारले आफ्नो भूभागमा सार्वजनिक स्थलमा आत्मदाह गर्ने छुट दिन सत्तै्कन। त्यसमाथि चीनको चासो झन्झन् बढ्दै छ। यसैले प्रहरी प्रशासन तिब्बतीका मामिलामा बढी नै सजग हुनेगरेको हुनुपर्छ। त्यसक्रममा प्रहरीले अरू दंगाका बेलामा जस्तै आवश्यकभन्दा बढी बल प्रयोग गरेको पनि हुनसक्छ। तर, यत्तिले त नेपाल सरकारले चीनको दबाबमा तिब्बतीमाथि अत्याचार गरेको ठानिनु नपर्ने हो। 
परराष्ट्र मन्त्रालयले पुरानै शैली ह्युमन राइटस वाचको आरोपको खण्डन गर्योे। सरकारी खण्डन झारा टराइभन्दा बढी थिएन। त्यसैले प्रभाव पनि परेन। कसैले वास्तै गरेन। नेपाल सरकारको स्पष्टीकरणपछि लेखिएको इन्टरनेसनल न्युयोर्क टाइम्सको सम्पादकीयमा सरकारी कथनको बेवास्ता हुनु यसैको उदाहरण हो। न्युयोर्क टाइम्स संसारमै प्रभावशाली अखवारमध्येमा पर्छ। त्यसको सम्पादकीय समूहको निष्कर्षलाई बेवास्ता गर्नु प्रत्युत्पादक हुनसक्छ। न्युयोर्क टाइम्सको अप्रिल १२ को सम्पादकीयमा ह्युमन राइटस वाचको प्रतिवेदन उद्धृत गर्दै नेपालले आफूलाई चीनको तिब्बत विरोधी नीतिको साझेदार बनाएको आरोप लगाइएको छ। तिब्बतीको आधारभूत मानव अधिकारको सम्मान र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रावधानअनुरूप शरणार्थीको व्यवहार गर्न न्युयोर्क टाइम्सले नेपाल सरकारलाई सल्लाह दिएको छ। यति नगरे 'नेपालको लोकतान्त्रिक पद्धति अपूर्ण नै रहने’ ठोकुवासमेत न्युयोर्क टाइम्सले गरेको छ।
यसबाट पनि नेपाल सरकारले आफ्नो पक्ष राम्ररी राख्न नसकेको पुष्टि हुन्छ। त्यसो त, सञ्चार माध्यम र मानव अधिकार समुदायबीच मात्र हैन दुई पक्षीय र बहुपक्षीय मञ्चमा पनि नेपालले आफ्ना भनाइ राम्ररी राख्न नसकेको चर्चा धेरै सुनिएको छ। केही मात्रामा अभिव्यक्ति कौशल, भाषिक दक्षता र सम्बन्धित व्यक्तिको अध्ययनको अभावका कारण त्यसो भएको हुनुपर्छ तर मूलतः सरकारको नीतिगत अस्पष्टता यसका लागि जिम्मेवार छ। नीति भएर पनि पालन नगर्ने एक प्रकारको 'कूटनीतिक अराजकता’ले पनि नेपालको साख अन्तर्राष्ट्रिय मञ्चमा गिराएको हो। सन् १९८० को दशकमा थालिएको यो 'कूटनीतिक अराजकता’ र 'सिद्धान्तहीन परराष्ट्र नीति’को निरन्तरता नै वर्तमान संकटको जग हो। राज्यकै संरक्षणमा तस्करी गराउनेदेखि तिब्बती, ताइवानी तथा कस्मिरीलाई चलखेल गर्ने र प्रभाव बढाउने मौका दिनेजस्ता कार्य भए। अहिले पनि सबैजसो पार्टीका नेताको तिब्बती स्वतन्त्रता आन्दोलनसँग कुनै न कुनै प्रकारको सम्पर्क रहेको छ। नेपालमा आयात गरिने सुपारीको परिणाममात्रै हेरे पनि यहाँको सरकारप्रतिको विश्वास खलबिलन्छ। पैसाका लागि सुपारी तस्करी गर्न दिनेले सुन तस्करी गर्न पनि दिन्छ। दिँदैआएको देखिएकै हो। सुनभन्दा लागु पदार्थ तस्करी गर्न दिए बढी पैसा आउँछ। हतियार तस्करी त अझ संसारकै धेरै नाफा हुने अवैध व्यापार हो रे! अनैतिकरूपमा राज्यले पैसा लिने वा लिन दिने बानी परेपछि त्यो कहाँ पुगेर टुंगिन्छ भन्न सकिँदैन। त्यस्तो सरकारलाई कसैले पनि विश्वास नगर्नु अस्वाभाविक होइन। 
हुनत, तिब्बतका विषयमा सन् १९६० र ७० को दशकको उथलपुथल ताकाभन्दा पनि नेपालमाथि बढी दबाब पर्न थालेको छ। चीनले आक्रामक कूटनीति अपनाउन थालेकाले दबाबको चाप बढेको हुनसक्छ तर नेपालप्रति विश्वास गर्नसक्ने वातावरण नबनेकाले नै चीन पनि मैदानमा आएको हुनुपर्छ। चीन र अमेरिका दुवैले तिब्बतका नाममा नेपालमाथि अनुचित दबाब दिँदैछन्। चीनको आक्रामक कूटनीति कर्मचारी र राजनीतिकर्मीमात्र हैन गैससकर्मीलाई समेत प्रभावित गर्ने गरी फैलिँदै गएको छ। भारतले त्यसरी नै व्यक्ति, संस्थालाई लोभ्याउने र स्वाभिमानी राजनीतिकर्मीको तेजोबध गर्ने गरेको धेरै भइसक्यो। दुर्भाग्य, नेपालले त्यसलाई रोक्ने प्रयास गरेेन। अब त चीनले पनि भारतकै सिको गर्न थालेको छ। अहिलेको नेपालको तिब्बत नीतिमा न चीनले विश्वास गर्छ न तिब्बती नै सन्तुष्ट छन्। सरकारले त्यसको औचित्य सिद्ध गर्न पनि सकेको छैन। 
अहिले नेपालको राष्ट्रिय परराष्ट्र नीति नै छैन। विवादबाट सकेसम्म पन्छने 'भगुवा’ नीति अपनाएर अन्तर्राष्ट्रिय मञ्चमा साख कमाउन सकिँदैन। स्पष्ट अडान नराख्दा नेपाल हेपिनेमात्र हैन चेपिने जोखिम पनि बढेको छ। नेपाल कुनै बेला अन्तर्राष्ट्रिय समुदायको प्रतिष्ठित सदस्य थियो। त्यति बेला यस्तो कूटनीतिक अराजकता र शून्य थिएन। परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले साझा परराष्ट्र नीति बनाउन छलफल थालेका छन् रे। राम्रो प्रयास हो। तर, युत्रे्कन संकटमा नेपालको 'भगुवा’ तटस्थताले धेरै आशावादी हुने ठाउँ दिएको छैन। नेपालको परराष्ट्र सम्बन्धको मूल आधार भारत र चीनसँग विश्वास निर्माण र राष्ट्रिय स्वाभिमानको रक्षा हो। दुवै छिमेकीलाई तिनको हितविरुद्ध नेपाली भूमि प्रयोग गर्न जुन दलको सरकार आए पनि दिइनेछैन भन्ने विश्वास दिलाउनुपर्छ। यसका साथै, नेपालले अरूको स्वार्थमा आत्मसम्मान गुमाउनेछैन भन्ने पनि स्पष्ट पार्न सक्नुपर्छ। तीब्बती शरणार्थीकै सम्बन्धमा भन्ने हो भने नेपाल छिरेका तिब्बतीलाई फिर्ता पठाइनेछैन तर नेपालमा बसेर चीनविरुद्ध वा नेपालको 'एक चीन नीति’विरुद्ध कुनै गतिविधि गर्न भने दिइनेछैन भन्ने स्पष्ट पार्नुपर्छ। दबाब वा लोभमा परेर नेपालले तिब्बतीसँग गर्ने व्यवहारमा परिवर्तन गर्दैन भन्ने लागे चीन र अमेरिका दुवै पक्षले शक्ति खेर पनि फाल्नेछैनन्। तिब्बतीलाई नेपालमा बसेर स्वतन्त्रता आन्दोलन चलाउन पाइँदैन भन्ने स्पष्ट हुने हो भने तिनले पनि शान्तिपूर्वक यहाँ बस्ने कि स्वतन्त्रता आन्दोलन चलाउने एउटा रोज्लान्। नीति निर्माण गर्दा सैद्धान्तिक आधार छाड्नु हुँदैन तर व्यावहारिक पनि हुनुपर्छ। यत्तिकै अपरिहार्य छ — नैतिक पक्ष। नैतिक आधार नभए नीतिको प्रतिरक्षा गर्न सकिँदैन। 
पश्चिमाहरू साँच्चै नै तिब्बतीले यहाँ दुःख नपाउन् भन्ने चाहन्छन् भने तिनले नेपालमा चलखेल गर्न छाड्नुपर्छ। पश्चिमी हस्तक्षेप र भूमिका भएन भने चीनको दबाब पनि पक्कै कम हुनेछ। अहिले चीनले राजनीति, प्रशासन र नागरिक समाजमा राम्रै घुसपैठ सुरु गरेको छ। तिब्बतका बारेमा चिन्ता नभए चीनले सायद यसरी समाजका सबै क्षेत्रमा पस्न अमेरिका र भारतसँग प्रतिस्पर्धा गर्ने थिएन। देशमाथि अरूको औँलो नउठोस् भन्ने हो भने सरकारले पनि विशेषगरी भारत, चीन र अमेरिकाका अवाञ्छित गतिविधिप्रति आपत्ति जनाउनुपर्छ। तिनको देशमा गर्न नपाइने काम नेपालमा पनि गर्न दिनु हुँदैन। तिब्बतास्त्रको प्रभावबाट जोगिने कवच सायद यही हुनसक्छ।

Tuesday, April 15, 2014

लुटेरा गिरोहको राज

आउने वर्षका लागि बजेट बनाउने तरखर सुरु भयो होला। सरकारमा प्रभाव र पहुँच भएकाहरू अहिल्यै रकमान्तर गरेर अपेक्षाकृत पिछडिएका ठाउँको बजेट आआफ्नो क्षेत्र वा स्वार्थमा प्रयोग गर्ने दाउमा होलान्।

त्यसरी अर्काको भाग हरेर पनि आफ्नो क्षेत्रमा बजेट ल्याउने केन्द्रको नेता स्थानीय ठालुका आँखामा 'हिरो’ हुन्छ। सबै तिकडम थाहा नपाउँदासम्म तिनले जे भन्छन् जनताले पत्याउनै पर्‍यो। अहिले त झन् भर्खरै 'विकास बाँड्ने’ वाचा गरेर भोट मागेका छन्। वचन पूरा गर्नै पर्‍यो। अब स्थानीय निकायको चुनाव गरिएला। त्यसका लागि भोट माग्ने बाटो बनाउन पनि केही त बाँड्नै पर्‍यो। आफ्नो खल्तीबाट बाँड्न सकिने हैन। अनि, राष्ट्रिय ढुकुटीको ब्रह्मलुट नगरे के गर्ने? त्यसरी बाँड्दा भ्रष्टाचारको कुनै परिभाषाले छुने पनि हैन। ढुकुटी कसरी भर्ने र त्यसलाई सकेसम्म आफू वा आफ्नालाई फाइदा हुने गरी कसरी खर्च गर्ने भन्ने कसरत नै त बजेट हो। नेपालमा हुँदै आएको यस अभ्यासलाई सिद्धान्त र आदर्शको मुकुन्डो पहिर्‍याउनु जनतासँग गरिने अर्को त्रू्कर उपहासमात्रै हो। 
नेपालका राजनीतिक दल सबै लुटेरा गिरोहवादी हुन्। यो वाद सन् १९६० को दशकतिर फस्टाएको आसेपासे पुँजीवाद (क्रोनी क्यापिटलिज्म) कै विकृत संस्करण हो। यो विशुद्ध पुँजीवाद पनि होइन। समानता र स्वतन्त्रताको मर्ममै प्रहार गर्नेहरूलाई समाजवादी वा उदारवादी भन्नु त जनता ढाँट्ने तिनको हुइयाँमा स्वर मिलाउनुमात्रै हो। बजेट राष्ट्रिय विकास वा जनताका लागि बनाइन्छ भन्ने ठान्नु पनि अहिलेसम्म गरिएका अभ्यासप्रतिको अज्ञानमात्रै हो। विकासका लागि बजेट विनियोजन गर्ने ध्येय हुँदो हो त ११ वर्षसम्म एउटा पुल बनाउन पैसा नपुग्ने त नहुनुपर्ने हो। दुर्गम भेगमा त हुरीले भत्काएको भनिएजस्तो अधुरा योजना अनगिन्ती छन्। सुगम भनिएकै ठाउँमा पनि धेरै नै छन्। बर्सेनि तिनै योजनामा नाममात्रको रकम विनियोजन गर्ने र धेरथोर कमिसन हात पार्न पैसा सक्ने गरिन्छ। अहिलेसम्म अर्थ मन्त्रीले यति पनि बुझेका छैनन् भने ती मूर्ख हुन्। बुझिबुझी हेलचेक्य्राइँ गरेका हुन् भने या त ती पनि त्यही कमिसनको खेलमा थिए नभए गैरजिम्मेवार हुन्। सुनकोसीकै पुल बेलैमा बनाएको भए जनताले सुविधा त पाउने थिए त्यसको लागत पनि बढ्ने थिएन। त्यो एउटा पुल त के त्यस्ता सयौं पुल बनाउन पुग्ने पैसा बर्सेनि 'ल्याप्स’ बनाइन्छ। ( योजना बनाउने नै उद्देश्य भए विनियोजित रकम अर्को वर्षका लागि स्वतः त्यही आयोजनाका लागि सर्ने व्यवस्था मिलाउन सकिन्छ। त्यसो भए पैसाको अभाव हुँदैन र हतारमा सकेर खेर फाल्न पनि पर्दैन।) मिलेसम्म टाठाबाठाको स्वार्थअनुसार रकमान्तर गरेर बजेटमा नभएको वा थोरै पैसा भएको ठाउँमा खर्च गरिन्छ। केही नपाए सरकारका हर्ताकर्ताले बरु कुनै पाखण्डी मठाधीशको पाउमा चढाउँछन् जनताका हितमा त्यस्ता पैसा खर्च हुँदैन। अगिल्ला अर्थ मन्त्रीले विभिन्न नामधारी मठाधीशलाई दिएको पैसाले यस्ता थुप्रै योजनाको काम सकिने थियो। जुद्ध शमशेरले घरेलु उद्योगका लागि निकासा दिएको रकम बचाएर 'बाहुली दाखिला’ गराउने व्यक्तिलाई बढुवा गरेका र उद्योगको विकासमा खर्च गर्नेको जागिर खोसेको रमाइलो प्रसंग जनकलाल शर्माको कुनै लेखमा कतै पढेको सम्झना हुन्छ। अहिले पनि नेपालको शासक त्यही मानसिकतामा छन्। फरक चाहिँ कमाउने शैलीमा मात्र भएको छ। अब ढुकुटीमा जम्मा भएको रकम 'बाहुली दाखिला’ नहुने हुनाले अब खर्च गरेर कमाउने। वर्षैपिच्छे योजनाको संख्या बढाउने तर निर्माण सम्पन्न गर्नुको साटो ठेकेदारलाई पोस्ने प्रवृत्ति निर्माणको राष्ट्रिय चरित्र भएको छ। पापको कमाइले भरिएको भएरै हो कि ढुकुटीको अधिकांश रकम लोभीपापीले नै स्वाहा पारेका छन्।
ढुकुटीमा पैसा थुपारे राम्रो अर्थ मन्त्री र त्यो पैसा आफ्नाहरूलाई ब्रह्मलुट गराए असल नेता ठान्ने मानसिकता समाजमा हुँदासम्म प्रत्येक बजेटबाट सामान्य जनताले पाउने महंगीको मारमात्रै हो। कर्मचारी भए तलब थपिएला। व्यापारीको नाफा बढ्ला। वास्तविक किसानले तिनको उत्पादनको भाउ बढ्यो भने पनि भाग पाउने हैनन् बिलोमा चित्त बुझाउनुपर्छ। कथित राष्ट्रिय अर्थतन्त्र समृद्ध भयो भने धनीको सम्पत्ति यसै बढ्दो रहेछ। अहिलेको चुनावपछि सेयर बजारमा भएको वृद्धिले सेयरवालाको सम्पति बढ्यो। गरिब जनताको त केही थपिएन। 
संगठित गिरोहले एक्लो व्यक्तिमाथि गर्ने थिचोमिचो र शोषणलाई प्रत्येक बजेटले झन् गहिरो र फराकिलो बनाउने गरेको छ। विकासका नाममा जनतालाई ढाँट्ने र ठग्ने गिरोहको पकड समाज र राज्यमा निकै गहिरो, फराकिलो र कसिलो छ। निष्कर्षमा भन्न सकिन्छ — राजनीति, अर्थतन्त्र, विकास, बजार आदि सबै बलिया, धनी र शक्तिशाली गिरोहलाई निर्बाध ठगी गर्नका लागि मिलाइने प्रपञ्चबाहेक अरू केही हुनसकेका छैनन्। 
मानव जीवनलाई सार्थकता दिन शिक्षाको योगदान सबैभन्दा बढी हुन्छ। दुर्भाग्य, यही शिक्षा गिरोहहरूको कब्जामा छ। सार्वजनिक विद्यालयहरू राजनीतिक नेताका कृपापात्र शिक्षकहरूका विभिन्न नाममा संगठनका कब्जामा छन्। विद्यार्थीको भविष्य बिग्रे पनि आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार समूहलाई 'गुरुजन’ कसरी भन्नु? ती संगठनहरू गिरोह हुन् र विद्यार्थीहरू तिनै गिरोहका बन्दी। निजी विद्यालयमा त झन् सरकारीमा भन्दा पनि चर्को गिरोहबन्दी छ। विद्यार्थीसँग पैसा उठाउँदामात्र हैन शिक्षक कर्मचारीलाई तलब दिँदा पनि उनीहरूले आफूखुसी गर्छन्। सरकार तमासा हेरेर बस्छ। सरकारका हर्ताकर्ताले बुझेको 'उदारता’को अर्थ त्यही जो हो। सडक पेटीमा पसल थापेर वा गिटी कुटेर पनि सन्तानलाई 'राम्रो शिक्षा’ दिन  निजी विद्यालयमा पढाउनेहरूको संख्या सानो छैन। तर, सरकारले ती सबैसँग शिक्षा कर असुल्छ। विद्यार्थीसँग कर असुल्ने पाप कांग्रेस, एमाले र माओवादी सबै अर्थमन्त्रीले गरेका छन्। 
दुर्घटनामा परेर बेहोस भएको सिकिस्त बिरामीदसँग पनि सरकारले कर लिन्छ। सरकारी अस्पतालमा डाक्टर बस्दैनन्, भर्ना गर्न पहुँच, बल हुँदैन। डाक्टर भेटिए ठाउँ खाली नहुनसक्छ। बिरामी सिकिस्त छ। अनि निजी अस्पतालमा लैजानै पर्‍यो। निजी अस्पतालमा लाने बित्तिकै बिरामीले पनि कर तिर्नुपर्छ। बिरामीसँग कर उठाएर ढुकुटी भर्ने काम पनि सबै पार्टीका अर्थमन्त्रीले गरेका छन्।
राष्ट्रिय भनुन् कि दलाल पुँजीपतिले जनतालाई ठगेकै छन्। सताएकै छन्। मजदुरको हितमा सरकारसँग कुनै उद्योगी संगठनले कहिल्यै केही मागेको वा सरकारले यति दिए हामी मजदुरलाई यति थप्छौं भनेको मैले अहिलेसम्म थाहा पाएको छैन। यसैगरी उद्यम नभए रोजगारी नै गुम्ने भए पनि मजदुर संगठनहरूले उद्योगका हितमा आवाज उठाएको सुनिएको छैन। अर्थात्, संगठित गिरोहले पनि सामान्य सदस्यको हितका लागि काम गर्दैनन्। गिरोहका नाइकेको स्वार्थ पूरा गर्न बरु सदस्यको नाम र शक्तिको दुरुपयोग एवं दोहन गर्छन्। विभिन्न गिरोहमा संलग्न हुनेहरूका बीचमा कस्तो सम्बन्ध छ भनेर कसैले अध्ययन गरे निकै रोचक निष्कर्ष निस्कनेछ। कारण, लुटेराहरू कुनै न कुनै रूपमा एक अर्कासँग जोडिएका देखिनेछन्। कति जना त धेरैवटा गिरोहमा संलग्न भेटिनेछन्।
शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, बैंकिङ सबै क्षेत्रमा प्रत्यक्ष परोक्ष गिरोहबन्दी छ। खुला अर्थतन्त्र हो भने त प्रतिस्पर्धा हुनुपर्ने हो। उदारवादको त कुरै नगरौँ। मानवीय मूल्यले शासनको कुनै पक्षमा पनि प्राथमिकता पाउँदैन। पाठ्यपुस्तक बेच्नेले त आफ्नो गिरोहका सदस्यबाहेक अरूलाई सरकारले किताब बेच्न दिन पाउँदैन भने आन्दोलन गर्छन् भने अरू धेरै नाफा कमाउने बलिया गिरोहका नाइकेले नेपाली जनतालाई कति लुटेका होलान्? 
र अन्त्यमा
सिंहदरबारमा पहिले बोतलको पानी खान्थे रे! मितव्ययिता अपनाउन जारको पानी खाने फर्मान जारी भयो। राज्यको ढुकुटीमा महिनाको केही हजार रुपियाँ जोगियो रे। यसलाई सरकारको उपलब्धिका रूपमा प्रचारसमेत गराइयो। असल शासनमा भए सरकारले सबैलाई खान हुने पानी बाँड्थ्यो। कुशल प्रबन्धकको शासन भए सिंहदरबारमा मात्रै पनि पानी फिल्टर गरेर धाराबाटै खानहुने बनाइन्थ्यो। तर मुलुक अहिले असल वा कुशल हैन शल्यहरूको सेनापतित्वमा छ। तिनीहरूबाट पाखण्डबाहेक अरू केही अपेक्षा गर्न सायद मिल्दैन। आखिर सिंहदरबार पनि त 'सुपर गिरोह'कै कब्जामा छ।

Monday, April 7, 2014

खोक्रो समृद्धि

सामाजिक प्रगति सूचकांक, २०१४ हेर्ने हो भने पनि मुलुकको समग्र शक्ति र समृद्धिले मात्रै त्यहाँका नागरिकको कल्याण हुँदो रहेनछ भन्ने नै पुष्टि हुन्छ।

आर्थिक विकासका लागि समुदायले चुकाउनु परेको वातावरणीय मूल्यबाट लाभान्वित हुनेमा भारदार र साहुजी हुन्छन्। संविधानले सार्वभौम घोषणा गरिएका नागरिकको अवस्था अझै पनि धेरै दृष्टिबाट रैतीकै जस्तो छ। राजाको ठाउँ राज्यले लिएको छ। राज्यका नाममा सरकारका हर्ताकर्ताले शासन चलाउँछन्। राजनीतिकर्मी दलका नाममा सत्ताका दलाल भारदार र व्पापारीले सरकारलाई नियन्त्रित गर्छन्। समग्रमा यी सबै मिलेर सामान्य जनताको स्वतन्त्रता, अवसर र समृद्धि खोस्छन्। राज्यले यो चक्र टुटाउन सकेको छैन। सकेको छैन पनि के भन्नु खोजेकै छैन। यसैले राज्यको समृद्धि वा शक्ति जनताका लागि खोक्रो हुन्छ। यो यथार्थ भारदार ( राजनीतिक र प्रशासनिक नेतृत्व) र साहुजी (उद्यमी, व्यवासायी)लाई बुझाउन भने निकै कठिन छ। कारण, यस सत्यलाई आत्मसात् गर्नेबित्तिकै उनीहरूको स्वार्थको साम्राज्यको जगै हल्लिन्छ। आर्थिक वृद्धिदरलाई प्राथमिकता दिने विकास ढाँचाले मानवीय पक्षलाई उपेक्षा गरेको हुन्छ भन्ने पुष्टि गर्न अहिले धेरै अध्ययन, अनुसन्धान र प्रयास भएका छन्। सामाजिक प्रगतिको मापन पनि त्यस्तै एउटा प्रयास हो।
आधारभूत मानवीय आवश्यकता, जनहितका आधार र अवसर गरी तीनवटा पक्षका आधारमा यो प्रगति मापन गरिएको छ। आधारभूत आवश्यकताअन्तर्गत पोषण र आधारभूत स्वास्थ्य सेवा, खानेपानी र सरसफाइ, आवास र वैयक्तिक सुरक्षा राखिएका छन्। जनहितका आधारमा ज्ञानमा पहुँच, सूचना र सञ्चारमा पहुँच, स्वास्थ्य र कल्याण र वातावरणीय प्रणालीको दिगोपन रहेका छन्। अवसरअन्तर्गत व्यक्तिगत अधिकारहरू (मौलिक हक), वैयक्तिक स्वतन्त्रता र छनौट, सहिष्णुता र समावेशन, उच्च शिक्षामा पहुँच राखिएका छन्। सामाजिक प्रगतिको परिभाषामा ‘ नागरिकहरूको आधारभूत आवश्यकता पूरा गर्ने समाजको क्षमता, नागरिक र समुदायको जीवन स्तर उकास्न र दिगो राख्ने आधारहरूको निर्माण र सबै नागरिकको क्षमताको पूर्ण विकासको अवस्था सिर्जना ’ उल्लेख गरिएको छ। संसारका १३२ मुलुकहरू यस वर्षको प्रतिवेदनमा समावेश गरिएका छन्। यस प्रतिवेदनले भने नेपाललाई निराश बनाएको छैन।
प्रतिव्यक्ति आयका दृष्टिले नेपालभन्दा ४ गुणामाथि रहेको अंगोलाले ३९.९३ अंक पाएको छ र १२७ औं स्थानमा छ। नेपालले चित्त बुझाउने अर्को उपलब्धि चाहिँ नेपालभन्दा कम प्रतिव्यक्ति आय भएको कुनै मुलुक पनि सामाजिक प्रगतिका दृष्टिले नेपालभन्दा माथि छैन। नेपालको प्रतिव्यक्ति आय प्रतिवेदनमा १२७६ डलर उल्लेख भएको छ। नेपाल कुल ५१.५८ अंक प्राप्त गरेर १०१ औं स्थानमा छ। नेपालभन्दा दोब्बर बढी प्रतिव्यक्ति आय भएको पाकिस्तान ४२.४० अंक पाएर १२४ औं स्थानमा छ। पाकिस्तानबाटै अलग्गिएको बंगलादेशको प्रतिव्यक्ति आय १ हजार ६२२ मात्रै छ तर यसले ५२.०४ अंक पाएको छ र ९९ औं स्थानमा छ। सबैभन्दा तल चाड रहेको छ। यसको अंक ३२.६० छ तर प्रतिव्यक्ति आय भने १ हजार ८७० अर्थात् नेपालको भन्दा बढी छ। नेपालभन्दा बढी प्रतिव्यक्ति आय धेरै भएका भारतलगायतका १८ वटा मुलुक सामाजिक प्रगतिका सूचकमा पछि परेका छन्। 
भारतको प्रतिव्यक्ति आय ३ हजार ३४१ डलर छ तर सामाजिक प्रगतिमा नेपालभन्दा एक स्थान तलै छ। कुल ५०.२४ अंक पाएर भारत १०२औं स्थानमा छ। उत्तरको छिमेकी चीन पनि खासै टाढा छैन। चीनको प्रतिव्यक्ति आय नेपालका तुलनामा धेरै गुण बढी छ तर सामाजिक प्रगतिमा यसले पाएको अंक ५८.६७ मात्रै छ र ९० औं स्थानमा छ। 
नेपाल र मंगोलियाबीचमा रोचक समानता छ — दुवैले सबैभन्दा नजिकको ठूलो छिमेकीलाई जितेका छन्। यद्यपि, प्रतिव्यक्ति आयका दृष्टिबाट दुवै मुलुक छिमेकीहरूभन्दा धेरै तल छन्। 
न्युजिल्यान्ड सामाजिक प्रगति सूचकांक, ( सोसल प्रोग्रेस इन्डेक्स) २०१४ मा पहिलो स्थानमा छ। यसले १०० मा ८८.२४ अंक पाएको छ। पहिलो कोटीका १० वटा राष्ट्रमा सबैभन्दा कम प्रतिव्यक्ति आय २५ हजार ८५७ डलर पनि न्युजिल्यान्डकै रहेछ। न्युजिल्यान्डको भन्दा कता हो कता धेरै ४० हजार १०२ डलर प्रतिव्यक्ति आय भएको कुबेत चौथो कोटीमा परेको छ। यसको स्थान ४० औं छ। 
भर्खरै क्रिमिया गुमाउनेे निर्धो युत्रे्कनको स्थान ६२ औं छ र यसले ६४.९१ अंक पाएको छ भने बाहुबली रुस ६०.७९ अंक पाएर ८० औं स्थानमा छ।
संयुक्त राज्य अमेरिकाको प्रतिव्यक्ति आय ४५ हजार ३३६ डलर संसारमै सबैभन्दा धेरै छ। तर यस मुलुकले सामाजिक प्रगतिमा ८२.७७ अंकमात्र पाएको छ र १६ औं स्थानमा छ। छिमेकी क्यानाडाको प्रतिव्यक्ति आय ३५ हजार ९३६ डलर छ। अमेरिकाको भन्दा करिब १० हजार डलर कम आय भए पनि सामाजिक प्रगतिमा भने ८६.९५ अंक ल्याएर ७ औं स्थानमा अर्थात् ९ स्थान माथि छ। 
प्रतिव्यक्ति आयमा निकै माथि रहेको संयुक्त अरब इमिरेट ३७ सौं स्थानमा रहेको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ — ‘ प्रतिव्यक्ति आयको उच्च वृद्धि दरलेमात्रै सामाजिक प्रगति सुनिश्चित हुँदैन भन्ने स्पष्ट हुन्छ। ’ न्यायपूर्ण र मानवीय विकासका पक्षधरहरू यस तर्कसँग पूर्ण सहमत छन्। संसारको उदाहरणले पनि यसलाई पुष्टि गरेको छ। तर, धेरै मुलुकका हर्ताकर्ता यो सत्य स्वीकार गर्न तयार भए पनि आत्मसात् गरेर नीति र कार्यक्रममा परिवर्तन गर्न तयार छैनन्। 
दुर्भाग्य, सबैजसो लोकतान्त्रिक मुलुकमा चुनावमा यस्ता विषयमा खासै निर्णायक हुँदैनन्। भारतमा लोकसभाको निर्वाचनमा विकास सबैको एजेन्डा बनेको छ। तर, कांग्रेस र भारतीय जनता पार्टी दुवैका बीचमा भएको विकासको विवाद भने जनताका आधारभूत अधिकारको रक्षामा केन्द्रित छैन। त्यसमाथि चुनावी घोषणापत्रलाई मतदाताले पनि खासै महत्व दिने गरेको पाइँदैन। हुन पनि चुनाव सकिएपछि जित्ने वा हार्ने कसैले पनि घोषणापत्र पल्टाएर हेरेजस्तो देखिँदैन। नेपालका राजनीतिक दलहरूले त झन् सत्ताको तानातानमा चुनावमा घोषणापत्र पनि थियो भन्ने नै बिर्सेको अनेकौं उदाहरण छन्। नेपाली कांग्रेसले चुनावी घोषणापत्रमा कृषि, पर्यटन र जलस्रोतको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको थियो। सत्ता बाँडफाँटका बेलामा यी तीनैवटा मन्त्रालय एमालेलाई छाडिदियो। सत्ता साझेदारीमा केही सम्झौता त गर्नुपर्छ तर चाहेको भए यीमध्ये कुनै न कुनै र सके त सबै मन्त्रालय पनि राख्न सक्ने थियो। यद्यपि, कांग्रेस अपवादै चाहिँ होइन। यो राजनीतिक दलका नेताहरूको प्रवृत्तिको उदाहरणमात्रै हो। 
र अन्त्यमा
पेट्रोल सस्तो बनाउन सल्लाको दियालो बाल्नेले कर तिर्नु परेको छ भनेर लेखेको थिएँ मैले झन् अगिल्लो साताको समानान्तरमा। मेरा एक जना शुभचिन्तक बुज्रुग पाठकले गल्ती सच्याइदिएका छन्। पेट्रोलबाट पनि राज्यले कर लिएकाले दियालो बाल्नेको कर उपभोग गरेको भन्न मिल्दैन भन्ने उनको तर्कमा म पनि सहमत छु। मैले उठाउन खोजेको विषय चाहिँ अनुदान दिएर ठालु पल्टने राज्य सञ्चालकको मानसिकता हो। अनावश्यक कर्मचारी भर्ना गर्ने, आयल निगमको दोहन गर्ने, भ्रष्टाचार गर्ने ( नत्र त चुहावट र भ्रष्टाचार रोक्ने कार्यलाई प्राथमिकता दिनुपर्ने नि ) थप कर पनि लगाउने अनि सस्तोमा बेच्न अनुदान दिएको पाखण्ड प्रदर्शन गर्ने सरकारी अधिकारीको प्रवृत्ति सामन्ती चरित्र नै त हो। राज्यले हेर्छ भन्ने पारेर जनताको निष्ठा खरिद गर्ने प्रयास गरिएको छ। कर्णालीका लागि खाद्यान्न ढुवानी र अनुदानमा लाग्ने केही वर्षको पैसा त्यहाँको कृषि प्रणालीको विकासमा लगाउने हो भने रोजगारी र उत्पादन दुवै बढ्छ। त्यहाँका जनताले शासकहरूको कृपापात्र हुनै पर्दैन। यसैले सामन्तहरू कुनै नागरिक पनि आत्मनिर्भर हुन नसकोस् भन्ने चाहन्छन्। चामल किनेर दिनुको साटो कुलो बनाइदिने हो भने कर्णालीले फेरि चामल निर्यात गर्न सक्नेछ। पञ्चायतले निष्ठा खरिद गर्न अपनाएको यो सामन्ती रणनीति निरन्तरै छ। नेपाल यसमा पनि अपवाद चाहिँ होइन। तिब्बत र कस्मिरमा चीन र भारतको सैनिक उपस्थितिदेखि विकासका नाममा भौतिक पक्षमा दिइएको जोड यसैको उदाहरण हो। पैसा जति नै खन्याए पनि त्यहाँ असन्तोष कायमै छ र त्यसले झन् झन् उग्ररूपमा लिँदै गएको छ ।

Tuesday, April 1, 2014

नक्कलको प्रतिप्रभाव


नेपालका राजनीतिक नेता र बुद्धिजीवी सामन्तवाद, पुँजीवाद, समाजवादजस्ता केही राजनीतिक थेगोको सेरोफेरोभन्दा बाहिर निस्कन सकेका छैनन्। तर, यी सबै शब्द अब लगभग असान्दर्भिक भइसके। यिनले स्वाभाविक अर्थ पनि गुमाइसकेका छन्। पश्चिमी राजनीतिक विचारकै सिको गरेर नेपाली समाजमा यी शब्द चलाइएका थिए। 
युरोपेली समाज उन्नतिको विभिन्न चरणमा क्रमशः अगाडि बढेको देखिन्छ। ईसाको सोह्रौ र सत्रौं शताब्दी युरोपेली 'पुनर्जागरण र सुधार’ को युग थियो। ग्रीक र रोमन सभ्यताको पुनरुत्थानपछि औद्योगिक क्रान्ति भएको थियो युरोपमा। त्यसपछि मात्र त्यहाँ आधुनिक र उत्तरआधुनिक प्रवृत्ति देखियो। यसैले त्यहाँ सामन्तवाद, पुँजीवाद, समाजवाद सबै लोकतन्त्रीकरणका क्रममा घोलिएर गए। पश्चिममा सामन्तवाद बिस्तारै गयो। पुनर्जागरण र सुधार तथा त्यसपछिको औद्योगिक क्रान्तिका कारण त्यहाँ सामन्तवाद धेरै समय टिक्न सकेन। पूर्वमा विशेषगरी चीन, भारतलगायतका मुलुकमा भने हतार गरियो। त्यसैले 'एन्टिबायोटिक’को मात्रा नपुगेजसरी सामन्तवादको रोग निको भएन।
नेपाली समाजको विकास भने चरणबद्धरूपमा भएको छैन। नेपाली साहित्यले स्वच्छन्दतावाद (रोमान्टिसिज्म) देखि अधियथार्थवादसम्मको यात्रा करिब ४० वर्षकै अवधिमा तय गरिसकेको थियो। राजनीतिमा पनि लगभग यस्तै प्रवृत्ति देखियो। विसं २००७ सालमा मात्र नेपालबाट जहानीयाँ शासन हटाइएको थियो। त्यसको ५८ वर्षभित्रै नेपालबाट बिनारक्तपात राजतन्त्र हट्यो। जननिर्वाचित संविधान सभाबाट मतदानकै प्रक्रिया अपनाएर राजतन्त्र समाप्त पार्ने निर्णय भयो। यस्तो तीव्र गतिमा राजनीतिक विकास अन्यत्र भएको छैन। राजनीतिक विकासमा नेपालले कसैको सिको गरेको होइन। यद्यपि, लोकतन्त्रका आधारभूत मान्यता भने नेपालमा पनि स्वीकार गरिएको छ।
नेपालमा महाथिर वा ली क्वान युको ढाँचा अनुकरण हुनसत्तै्कन र त्यो जनहितकारी पनि हुँदैन। यी दुवैको सोच चरम पुँजीवादी र अधिनायकवादी हो। तिनको मुलुकले भौतिक समृद्धि प्राप्त गरे पनि पुँजीवादको प्रतिअसर समाजमा पर्दै गएको छ। सिंगापुरमा विधिको शासनलाई महत्व दिएकाले आधुनिक उदार समाजमा प्रवेश गर्दा ठूलो झड्का नलाग्न सक्छ तर प्रतिपक्षी राजनीतिकर्मीलाई जाली मुद्दामा जेल हालेर शासन चलाउने महाथिरको शासनको प्रतिअसरका रूपमा मलेसियाली समाजले कुनै पनि बेला ठूलै उथपपुथलको सामना गर्नुपर्ने हुनसक्छ। त्यसमाथि मलेसियामा धनी र गरिबका बीचमा मात्र हैन धनीहरूकै बीचमा समेत ठूलो अन्तर भएको मुलुकमा पर्छ। 'दी वेल्थ रिपोर्ट, २०१४’अनुसार मलेसियामा अर्बपति र उच्च धनाढ्यको अनुपात १:३७ छ रे। सबैभन्दा नराम्रो अवस्था त भारतको रहेछ। त्यहाँ एक जना अर्बपतिका अनुपातमा २६ जनामात्र ३ करोड डलरभन्दा बढी सम्पत्ति भएका उच्च धनाढ्य रहेछन्। चीनमा यो अनुपात १:४४ रहेछ। चीन र भारतजस्तै उदीयमान अर्थतन्त्र भएका ब्राजिल र दक्षिण अफ्रिकामा भने यो अनुपात क्रमशः १:१२९ एवं १:११९ रहेछ। जापानमा सम्पत्ति वितरण सबैभन्दा सकारात्मक देखियो। त्यहाँ यसको अनुपात १:६०९ छ। जापानको जस्तो धेरै जना धनी हुने तर धेरै धनी भने अनुपातमा कमैै हुने ढाँचा अपनाउने कि मलेसिया वा भारत, चीनको जस्तो सम्पत्ति थोरै जनाको हातमा थुप्रिँदै जाने पद्धति रोज्ने? अझ नेपालीले त राम्ररी गुजारा चलाउने पद्धतिलाई पो प्राथमिकता दिनुपर्ने होला। नेपालीका लागि महाथिरको हैन बुद्धको शिक्षा बढी उपयोगी हुन्छ। बुद्ध, कौटिल्य, विदुर र शुक्रका उपदेश र नीतिबाट सार खिचिएको गान्धीको 'गर्जो टार्ने, लोभ नगर्ने' अर्थतन्त्र नेपालका हकमा दिगो र जनहितकारी हुनेछ।
राजनीतिको मानवीकरण गरिएमा मात्र व्यक्ति चिन्तनको केन्द्रमा हुन्छ। पश्चिमा व्यक्तिवाद र मानवीकरण समानार्थी शब्द हैनन्। मानवीकरण बुद्धको करुणामा बरु बढी जोडिन सक्छ। हामीले आर्थिक र राजनीतिक चिन्तनमा अन्तर्मुखी हुनसक्नुपर्थो। बहिर्मुखीमात्र हुँदा व्यक्ति सुखी हुन सकेन। यसको अर्थ भुटानको जस्तो 'खुसी’ को सूचकांक ( ह्यापिनेस इन्डेक्स) अनुसरण गर्ने पनि होइन। लोकतन्त्रका मूल्यलाई पूर्णतः आत्मसात गर्न नसक्ता भुटानको उन्नति खोक्रो देखिएको छ। देशको २० प्रतिशत जति जनसंख्यालाई उठीवास लगाएर शान्ति र समृद्धिको गुड्डी हाँक्नु यथार्थमा खोक्रो दम्भ नै हो। यस्तै, भारतले सस्तोमा खाना पकाउने ग्यास नदिनेबित्तिकै सरकारै बदलिने मुलुकको ऊर्जा विकासको कथा देश र जनताका लागि त्रू्कर व्यंग्यमात्रै हो।
नेपाली समाजले विकासका चरणहरूमा फड्को मारेको छ। लामो सामन्ती निद्राबाट बिउँझदा आधुनिक संसारमा पुगेजस्तो नाटकीय परिवर्तन देखिएको छ समाजमा। नेपाल एकैपटक आधुनिक युगमा प्रवेश गरिसकेको छ। नेपालले पुनर्जागरण, औद्योगिक क्रान्ति र पुँजीवादी संक्रमणको सबै चरण पार गर्नैपर्छ भन्नु मूर्खतामात्रै हो। अब सम्पत्ति र प्रगतिमा रहेको अन्तर कम गर्ने नीति अपनाउने हो भने नेपाली समाज छिटै नै सुखी र समृद्ध हुनेछ। व्यक्ति यथार्थमा स्वतन्त्र हुनेछ। आधुनिकतालाई भौतिक समृद्धिसँग जोड्ने सोच नै गलत हो। आधुनिकता त व्यक्ति, समाज, राज्यको मानसिकता र संस्कारमा प्रकट हुनुपर्छ। आधुनिक चिन्तनको केन्द्रमा व्यक्ति हुन्छ। यसैले मानवतावादी अद्यात्म आधुनिक जीवनशैलीको प्रमुख चरित्र हुनुपर्छ। तर, नेपाली राजनीतिमा मानवीय पक्ष उपेक्षित भएको छ। यसैले प्रगतिको प्रतिफल जनताले नपाएका हुन्। भूमिपुत्र भन्दै राजनीति गर्नेले वैदिक कालको 'माता भूमि पुत्रो हं पृथ्वा’ लाई हैन महाभारतकालको 'वीरभोग्या बसुन्धरा ’ लाई आत्मसात् गरे। अनि कसरी मिल्छ राजनीतिक संगति? यही सोचमा परिवर्तन आवश्यक छ।
र अन्त्यमा,
सडक बनाउँदा ह्विलचेयर चलाउनेको सुविधा वा बाटो काट्ने संकेत राख्दा दृष्टिहीनहरूको आवश्यकतालाई न हेर्नु विकासको अमानवीकरण हो। ट्राफिक प्रहरीले जेब्रा क्रसिङमा जम्मा भएका वा बाटो काट्न पर्खेर बसेका यात्रुलाई वास्ता नगर्ने संस्कार अमानवीय सामन्ती पुँजीवादको उदाहरण हो। फराकिलो सडक रहेछ भने नियम मानेर बाटो काट्ने यात्रुले आधा मिनेटको बाटो पार गर्न कम्तीमा पनि ५ मिनेट पर्खनुपर्छ। झमझम पानी परे पनि वा टन्टलापुर घाम लागे पनि जेब्रा क्रसिङबाट बाटो काट्नेलाई प्रहरीले हेप्छन् र मोटर चालकलाई मात्रै सजिलो हुनेगरी बाटो काट्न दिन्छन्। यो शासनमा रहेको सामान्य जनतालाई हेप्ने संस्कारको उदाहरण हो। सामान्य जनतामात्र हैन ट्राफिक प्रहरीको व्यवहार मोटर कार चड्ने र मोटर साइकल चड्नेप्रति पनि फरक हुन्छ रे। आलोपालो जस्तै दुवै साधन प्रयोग गर्ने एक जना मित्रले सुनाएअनुसार निजी मोटर हाँकेका बेला 'मापसे’को चेकजाँचमा भद्र बोली र व्यवहार गर्ने प्रहरीले मोटर साइकल चडेका बेला अलि हेप्छन् रे। त्यस्तो संस्कार भएका प्रहरीले पैदल यात्रुलाई हेप्नु कुन ठूलो कुरा भयो र? तर, संसारका सभ्य भनिएका समाज भने पहिले पैदल यात्रुको सुविधा हेरिन्छ, अनिमात्र मोटर चालकको। कार चड्ने त त्यहाँ नै धेरै हुन्छन् तर मानिसको सुविधाको बढी ख्याल गरिन्छ।
- See more at: http://www.nagariknews.com/opinion/story/15815#sthash.PUzyKtc8.dpuf