Thursday, May 6, 2010

अब के गर्ने ?

आन्दोलन लम्मिदै जाँदा आशंका गरिएजस्तै हिंसात्मक पनि हुँदै गएको छ। यसैका कारण नागरिकहरूको ज्यान जान थालेको छ। पत्रकार, प्रहरी, मजदुर, व्यवसायी, सर्वसाधारण जनता, आन्दोलनकारी सबै हिंसाको मारमा परेका छन्। यस्तै हुम्लादेखि झापासम्म सबैतिर हिंसात्मक घटना भएका छन्। विस्तृत शान्ति सम्झौतापूर्वको अवस्था उत्पन्न हुने जोखिम बढेको छ।
प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहमतिका लागि संवाद गरिरहेका छन्। उनीहरूले सहमतिको नजिकै पुगेको र केही विषयमा मात्र विवाद रहेको बताउँदै आएका धेरै दिन भइसक्यो। प्रधानमन्त्रीको राजीनामा, लडाकुको व्यवस्थापन, संविधान सभाको अवधि थपमध्य सहमति हुनै नसकेको विषय कुन हो? कुन बुँदामा को सहमत भएन? एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को प्राथमिकता के हो? सरकार परिवर्तन कि शान्ति प्रक्रियाको सफलता? पुष्पकमल दाहालले सत्ता प्राथमिकता हैन भनेका छन्। बाबुराम भट्टराईले सत्ता नै माओवादीको अहिलेको प्राथमिकता हो भनेका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले) को अडान के हो? माओवादीलाई सरकारको नेतृत्व सुम्पन किन अप्ठेरो भयो? यस्ता प्रश्नको उत्तर जनताले पाउनुपर्ने हो। सरकार परिवर्तन, लडाकु व्यवस्थापन, संविधान सभाको अवधि थप गर्ने विषयमा राष्ट्रिय हितलाई प्राथमिकता दिने हो भने संकटको निकास भेटिने छ।

सरकार परिवर्तन
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा पटकपटक आफू राजीनामा दिन तयार रहेको त बताइसकेकै छन्। माओवादीले हडताल फिर्ता लिए उनलाई राजीनामा गर्न सजिलो हुनेछ। उनले राजीनामा गरेपछि अर्को सरकार त बन्ने अवस्था त हुनुपर्‍यो नि। माओवादीले सबै सहमत हुने नेतृत्व अगाडि सारे सहमति सजिलै जुट्ने देखिएको छ। प्रधानमन्त्री नेपालबाहेक अरूले दाहालकै नेतृत्वलाई पनि खासै आपत्ति गरेका छैनन्। माओवादीप्रतिको अविश्वास त अन्त्य भएमा राष्ट्रिय सहमतिको सरकार बन्न पनि सक्छ। नभए, पनि तर्कसंगत प्रस्ताव राख्ने हो भने बहुमत जुटाउन माओवादीलाई कठिन हुने छैन। आन्दोलनबाटै जितेर सरकार बनाउने हो भने नेपालको अन्तरिम संविधान, २०६३ को उल्लंघन हुनेछ। त्यसको अर्थ बाह्र बुँदे समझदारीदेखि विस्तृत शान्तिसम्झौतालगायतका सहमतिहरू सबै समाप्त हुनु हो। त्यस्तो भयो भने मुलुक अकल्पनीय गृहयुद्धमा प्रवेश गर्ने, भयानक नरसंहार हुने र त्यसपछि वैदेशिक हस्तक्षेप हुने अवस्थामा पुग्नसक्छ। यसैले माओवादी एक्लैले जित्न खोज्ने हो भने संकट झन् चर्को हुनसक्छ। संविधान पालना गरेरै सरकार बनाउन सकिन्छ भन्ने विश्वास माओवादी नेताहरूमा हुनु आवश्यक देखिन्छ। हडताल अन्त्य गर्ने बित्तिकै प्रधानमन्त्रीले राजीनामा दिने सहमतिमा पुग्नुको विकल्प छैन।

लडाकु व्यवस्थापन
लडाकु व्यवस्थापनमा सुरक्षा निकायमा समायोजन गरिने संख्यालाई महत्व दिएर दुवै पक्षले लडाकुहरूको अपमान गरेका छन्। दोस्रो जनआन्दोलनको सफलतामा माओवादीको योगदान रहेको मान्ने हो भने त्यसको जस तिनै लडाकुलाई जान्छ। माओवादीले तिनै लडाकुका भरमा शक्ति आर्जन गरेको हो। माओवादी पंक्तिमा अहिले सबैभन्दा उपेक्षित पनि तिनै लडाकु भएका छन्। लडाकु व्यवस्थापन मूलतः मानवीय समस्या हो। शिविरमा राखिएका लडाकुलाई उपलब्ध अवसर स्वतन्त्रतापूर्वक रोज्ने अधिकार छ। लडाकुले पुनःस्थापना सहयोग लिएर घर फर्कने कि सुरक्षा निकायको आधारभूत मापदण्ड पूरा गरेर तिनमा समायोजन हुने भन्ने विकल्पमा स्वेच्छाले सुसूचित निर्णय गर्न पाउनुपर्छ। घर फर्केपछि सामान्य नागरिकका रूपमा पेसा रोज्ने स्वतन्त्रता तिनलाई पनि हुन्छ। सुरक्षा निकायमा जान चाहनेलाई समायोजन गर्न संख्यात्मक सीमा तोकिनु हुँदैन। यसै पनि दुई हजार लडाकु समायोजन गरिए सुरक्षा निकाय व्यवसायिक हुने र तीन हजार गरियो भने व्यवसायिक मर्यादा नरहने तर्कमा कुनै तुक देखिँदैन। लडाकुलाई होच्याउने, शत्रु ठानेर शंका गर्ने र भर्‍याङ बनाउन समस्या कायमै राख्ने मानसिकता छाड्ने बित्तिकै समस्या समाधान हुनेछ। सुरक्षा निकायमा आधारभूत आवश्यकता पूरा गरेका लडाकुलाई संख्या नतोकी उनीहरूले रोजेको संगठनमा प्रवेश गर्न दिएमा सम्भवतः यो समस्या समाधान हुनेछ। लडाकुलाई यसरी नै सास्ती कटाइराख्ने हो भने उनीहरूको धैर्य पनि समाप्त हुनेछ। त्यसको अर्थ गृह युद्धमा मुलुकलाई होम्नु हुनेछ। गृह युद्धभन्दा सबै दृष्टिबाट खुकुलो समायोजन लाभदायक हुनेछ।

संविधान निर्माण
संविधान निर्धारित समयमा नबन्ने निश्चित भयो। संविधान सभाको अभ्यास विफल भयो भने माओवादी विद्रोह औचित्यहीन साबित हुनेछ। राजतन्त्र समाप्त गर्नुको वैधता समाप्त हुनेछ। जनताले जितेको लडाइँ नेताहरूको कारण हारमा परिणत हुनेछ। जनता हार्नु लोकतन्त्रको पराजय हो। लोकतन्त्रको पराजय भयो भने अधिनायकवादको उदय हुन्छ। त्यसले पनि अन्ततः विद्रोह वा गृहयुद्धै निम्त्याउँछ। यसबाट जोगिनका लागि संवैधानिक शून्य उत्पन्न हुनै नदिनु बुद्धिमानी हुनेछ। आउने जेठ १४ पछि उत्पन्न हुने राजनीतिक संकट पहिले नै समाधान गर्ने सबैभन्दा सजिलो उपाय संक्षिप्त संविधान जारी गर्नु हुनेछ। त्यसले माओवादी र अरू दलबीचको अविश्वास कम गर्न पनि सघाउनेछ। नभए सहमतिको दस्तावेजका रूपमा ल्याइएको अन्तरिम संविधान र संविधान सभालाई अर्को ६ महिना निरन्तरता दिने र अहिले सहमति हुन नसकेका विषयलाई प्राविधिक दृष्टिबाट समाधान गरेर नयाँ संविधान जारी गर्ने निर्णय संविधान सभाबाट गरिएका यो विवाद पनि कसैले नहारीकन सल्टिने छ।
जनतालाई सास्ती दिएर नेताहरूको जित हुँदैन। अहिलेको अवस्था लम्मियो भने सबैले हार्ने निश्चित् छ।

Tuesday, May 4, 2010

अब इन्डोनेसिया कि कम्बोडिया?

smaller text tool iconmedium text tool iconlarger text tool icon
राजनीतिक गतिरोध अन्त्य गर्न सहमतिको प्रयास जारी छ। राजनीतिक दलका नेताहरू रातदिन छलफल गरिरहेका छन्। वार्ताबाहेक समाधानका अरू बाटा र विकल्प रोज्ने हो भने मुलुकमा कल्पनै गर्न नसकिने भयावह अवस्था उत्पन्न हुनसक्छ। वार्ताबाटै संकटको निकास खोज्न सबै सहमत भए पनि समस्या के हो र को हो भन्नेमा विवाद छ। संकटको कारक प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा रहेको सरकार हो कि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले थालेको अनिश्चित्कालीन आमहडताल? यस प्रश्नको पक्ष विपक्षमा थुप्रै तर्क गर्न सकिन्छ। तर तर्कले समाधान निस्कन सत्तै्कन। सरकारले माओवादी हडताललाई र माओवादीले सरकारलाई समस्या देखेको छ। नागरिकका दृष्टिबाट यी दुवै समस्या देखिन्छन्। राजनीतिका अरू पक्षलाई थाती राखेर हेर्दा सरकारले खुरुक्क राजीनामा दिए त भइहाल्थ्यो नि भनेजस्तो लाग्छ। हुनपनि, मुलुक ठप्प भएपछि सरकारले कि त चलाउन सक्नुपर्छ नभए छाड्नुपर्छ। कानुनव्यवस्था कायम गर्न नसके सरकारको नैतिक वैधता समाप्त हुन्छ। नैतिक वैधता नै कानुनी वैधताको आत्मा हो।

यस्तै, माओवादी हडतालले जनजीवन अस्तव्यस्त भएको छ। धेरै दिन यसरी थेग्न सकिँदैन। कर्मचारी र केही सम्पत्ति भएका व्यापारीबाहेक अरूले यस्तो अवस्था धेरै दिन धान्न सत्तै्कनन्। बाहिरबाट सामान ल्याउन नपाएपछि पसलेले पनि के बेच्ने? जुलुसमा आउनेले त सामल लिएरै आएका होलान् रे तर यहीँ बसेकाले के गर्ने? स्कुल कति दिन बन्द गर्ने? दिनहुँ कमाएर छाक टार्नेले के गर्ने? चरम सास्ती पाएपछि स्थानीय जनता सडकमा जान वाध्य हुनेछन्। त्यति बेला उनीहरूको आक्रोश सरकार र माओवादी दुवैविरुद्ध खनिनेछ। सहर पसेका आन्दोलनकारीविरुद्ध स्थानीय बासिन्दा उत्रन थाले भने त्यो सबैभन्दा दुर्भाग्य हुनेछ। यसले नेपालीहरूको पारस्परिक सद्भाव बिथोल्नेछ। सम्भवतः आन्दोलनबाट मुलुकको सबैभन्दा ठूलो क्षति त्यही हुनेछ।

राजीनामा र हडतालको अन्त्य कुन पहिले भन्दाभन्दै स्थिति नराम्ररी बिग्य्रो भने मुलुकको अवस्था सम्हाल्नै नसकिने हुनसक्छ। माओवादी नेताहरूले पटकपटक सडकबाटै सरकार हटाएको उदाहरण दिने गरेका छन्। तर, राणा शासन, पञ्चायत वा ज्ञानेन्द्रको शाही शासन कुनै पनि जननिर्वाचित संसद्बाट बनेका थिएनन्। त्यसैले अहिलेको सरकारलाई ती अधिनायकवादी सरकारहरूसँग तुलना गर्नु उचित हुँदैन। यो सरकार सेनाको बल वा सडकबाट बनेको होइन। त्यसैले यसलाई असंवैधानिक विधिबाट हटाउँदा समस्या समाधान हुँदैन, बरु संकटै थपिन्छ। यसलाई सडकबाट हटाउन माओवादी सफलै भयो भने पनि अर्काे सरकार कसरी बनाउने भन्ने समस्या उत्पन्न हुन्छ। नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ (१) अनुसार राजनीतिक सहमति वा (२) अनुसार संसद्को बहुमतबाट निर्वाचित व्यक्तिमात्र प्रधानमन्त्री हुनसक्छ। त्यस्तो प्रावधान पूरा नगरेको व्यक्तिलाई राष्ट्रपतिले धारा ४२ बमोजिम प्रधानमन्त्री पदको शपथ गराउन मिल्दैन। त्यस अवस्थामा के गर्ने? सडकबाटै सरबमर बन्ने हो भने संसद् र अन्तरिम संविधान पनि खारेज हुने भए। संविधान सभा खारेज गर्ने हो भने संविधान निर्माण र शान्ति प्रक्रिया समाप्त हुन्छ। अनि के हुन्छ?

माओवादीले सडकबाटै जित्यो भने मुलुक खमेररुजको कम्बोडिया हुनसक्छ। माओवादी नेताले कम्बोडिया हुने आशंकालाई ‘प्रतिक्रियावादी' प्रचार भन्न सक्छन् तर उनीहरूले रोपेको घृणा र विद्वेषको बीउले मुलुकलाई त्यही दिशामा लैजाने जोखिम बढेको छ। सडकबाट जितेका बेला प्रचलित विधि र नियमको कुनै अर्थ रहँदैन। पूरै नजित्दा त माओवादी कार्यकर्ताका व्यवहार आधारभूत मानव अधिकारविपरीत भएका अनेकौँ उदाहरण छन् भने साँच्चै जित्दा उनीहरूले के गर्लान्? त्यति बेला कार्यकर्तालाई नियन्त्रण गर्न खोजे नै पनि सम्भव हुनेछैन। विजयी सेनाले धेरैजसो उपद्रो मच्चाउने गरेको छ। जातीय सद्भाव बिथोलिएको त छ नै माओवादीले सडकबाट जिते वर्गीय घृणाले पनि चरमरूप लिनेछ।

खमेर रुजले शासन हत्याएपछि चिनिया र भियतनामी मूलका नागरिक, मुसलमान, बुद्धिजीवी, व्यवसायी, सहरिया मध्यमवर्ग र बौद्ध भिक्षुहरूलाई छानीछानी दुःख दिन थाले। कतिलाई उनीहरूले मारे भने अरू धेरै खमेररुजको मूर्खता र प्रतिशोधपूर्ण नीतिका कारण सास्ती खाएर र खान नपाएर मरे। सन् १९७५ देखि १९७९ सम्मको चार वर्षमा २० लाख कम्बोडियाली मारिए। त्यसपछि, भियतनामतिर ढल्केको सरकार सत्तामा आयो। अपदस्थ राजा सिंहानुकलाई पुनः राजगद्दीमा बसाइयो। अहिलेसम्म पनि कम्बोडियाको घाउ निको भएको छैन। खमेररुजको पतन तथा पोलपोटको दुःखान्तको अर्को कहालीलाग्दो कथा छ।

कम्बोडियाजस्तो अवस्थामा नेपाल नपुग्ला तर सडकबाट माओवादीले शासन कब्जा गर्ने भयो भन्ने मध्यमवर्गका मनमा पर्‍यो भने उनीहरूले पनि प्रतिरक्षाको उपाय अपनाउन सक्छन्। त्यस अवस्थामा यहाँ सन् १९६५ को इन्डोनेसियाको उदाहरण दोहोरिन सक्छ। त्यति बेला इन्डोनेसियाली कम्युनिस्ट पार्टी (पीकेआई) को प्रभाव चरमोत्कर्षमा पुगेको थियो। राष्ट्रपति सुकार्नो पीकेआई समर्थकहरूको प्रभावमा थिए। उनले सेना, राष्ट्रवादी दलहरू र कम्युनिस्टहरूबीच सन्तुलन कायम राखेका थिए। पीकेआईले मलेसियासँग युद्ध गर्ने बहानामा आफ्ना सदस्यलाई सैनिक तालिम दिन थालेको थियो। मुलुकको आर्थिक अवस्था निकै बिग्रेको थियो।

मुद्रास्पि्कति दर ६ सयप्रतिशत पुगेको थियो। पीकेआईका नेता आइडिटको घुसपैठको सूत्रअनुसार हवाइ र जन सेनामा उनीहरूले प्रभाव बढाएका थिए। पीकेआईले सत्ता कब्जा गर्न लागेको हल्ला चलेको थियो। त्यस्तैमा १९६५ सेप्टेम्बर ३० को राति इन्डोनसियाली सेनाका ६ जना उच्च अधिकारी मारिए। उनीहरूलाई पीकेआईले मारेको शंका गरियो। त्यसपछि सेनाले कम्युनिस्टविरोधी अभियान थाल्यो। जनरल सुहार्तोले सेनाको नेतृत्व आफ्नो हातमा लिएर पीकेआईविरुद्ध ‘कारबाही' थाले। सुरु नै नभएको कम्युनिस्ट विद्रोह दबाउने नाममा ५ लाख इन्डोनेसियाली मारिए। कतिले त १० लाख मारिए पनि भनेका छन्। तीमध्ये कतिपय पीकेआईका सदस्य थिए भने अरू सामान्य नागरिक पनि थिए। त्यसपछि सुहार्तोले ३० वर्ष इन्डोनेसियामा अधिनायकवादी शासन चलाए।

माओवादीका कतिपय कार्यकर्ताले लेनिनको अक्टोबर क्रान्ति दोहोर्‍याउने सपना पनि देखेका हुनसक्छन्। उनीहरूले सोचेजस्तै भयो भने पनि बाँकी राजनीतिक दल त समाप्त हुने भए। त्यसपछि माओवादीका आदर्श स्टालिनको उदय पनि होला। अनि लाखौँ मानिस मारिने शृंखला दोहोरिएला।
माथिका कुनै पनि उदाहरण नेपालमा दोहोरिउन् भन्ने चाहना त माओवादी नेताको पनि नहोला। राजनीतिक नेताहरू मुलुकको संकट मोचनका लागि गम्भीर छैनन् भन्नु अन्याय हुनेछ। तर, उनीहरूको व्यवहारले भने कहीँ न कहीँ कमजोरी रहेको साबित हुन्छ। माओवादीले सहयोद्धाहरूमा विश्वास जगाउन सकेन। गैरमाओवादीले प्रतिक्रियाको राजनीति गरे। त्यसैले न कसैले केही पाए न त्याग गरेकै देखाउन सके। सहमति अपरिहार्य भन्दाभन्दै कटुता बढाउने काम भइरहेको छ। घृणा र विद्वेषको खेती भइरहेको छ। यसरी कटुता बढ्दै जाने हो भने मुलुकले अन्ततः कम्बोडिया वा इन्डोनेसियाको नियति भोग्नैपर्ने हुनसक्छ।

यति बेला गिरिजाप्रसाद कोइरालाको अभाव खट्केको छ। संकट मोचनका लागि औंँला ठड्याउन सक्ने र सुहाउने उनको कदको अर्को नेता छैन। यसैले, अब मुलुकलाई संकटबाट जोगाउन उनको पार्टीले अगुवाइ गर्न सक्नुपर्छ। माधवकुमार नेपालले राजनीनामा गरे पालो आउला भनेर प्रधानमन्त्री हुने सपना कांग्रेसका नेताहरूले देख्नु हुन्न। संविधान निर्माणले लोकतन्त्रलाई संस्थागत र सुदृढ बनाउँछ। कम्युनिस्टहरूको अभीष्ट लोकतन्त्र नहुन सक्छ तर कांग्रेसको त हो। लोकतन्त्र र राष्ट्र जोगाउन कांग्रेसको भूमिका अहिले मध्यस्थका रूपमा प्रकट हुनुपर्छ। एमालेलाई विश्वासमा लिएर सरकार परिवर्तनको बाटो खोल्न कांग्रेस सरकारबाट हट्नुपर्छ।

यसले माओवादीलाई आश्वस्त बनाउनेछ। कांग्रेस सरकारबाट हटेपछि माओवादीले आन्दोलन फिर्ता लिनुपर्छ। त्यसपछि राजनीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि सहज हुनेछ। अनि, सकेसम्म सहमतिको सरकार गठन गरेर संविधान सभाको अन्योल समाप्त पार्नुपर्छ। प्रधानमन्त्री को हुने भन्ने विवादलाई प्रतिष्ठाको विषय नबनाईकन समाधान निकाल्नुपर्छ।

त्यसो भए मुलुकलाई कम्बोडिया वा इन्डोनेसियाको नियतिबाट पनि जोगाउन सकिनेछ। नयाँ संविधान लेखिनेछ। र, सबैले जित्नेछन्। नत्र, हामी ‘सुनको फाली पाउने बेलामा आँखा चिम्लने' दन्त्यकथाका पात्र भइरहने छौँ।

Monday, April 26, 2010

गिरिजाबाबुको अभाव

बाँचुन्जेल कतिले उनलाई समस्या भने । मरेपछि एकाध जना खलनायक भन्ने पनि निस्के । नेपालको इतिहासमा सबैभन्दा धेरै गाली खाने नेता उनै हुन । तर, उनको अभावको अर्थ अब बुझ्न थालिएको छ । मुलुक मुठभेडमा जाँदैछ। बर्बाद हुन्छ भन्ने थाहा पाएरै पनि हठ छाड्न कोही तयार छैनन् । कम्तीमा सबैलाई बोलाएर एकै ठाउँमा राख्न अौला ठड्याएर सहमति, सहकार्य र एकताको विकल्प छैन भन्ने त सम्झाउँथे गिरिजाबाबुले । यसरी सबैले हठ गरिरहने हो भने मुलुक कम्बोडिया कि इन्डोनेसिया हुने जोखिम बढ्दो छ । गिरिजाबाबु थिए र गाली भने पनि गरेर चित्त बुझाउन पाइन्थ्यो । अब कस्लाई दोष दिने?

माओवादी कब्जाको हल्ला

नेपाललाई भूपिले हल्लै हल्लाको देश भनेका छन् । यहाँ हल्ला बढी नै चल्छ । अहिले सुनिएका केही हल्लाः
१. काठमाडौं ल्याइने कार्यकर्ता राख्न परेकाले अखिल क्रान्तिकारीले नीजी विद्यालय बन्द गराएको हो ।
२. बैशाख १८ गते काठमाडौं आएपछि माओवादी कार्यकर्ता सत्ता कब्जा गरेरमात्रै फर्कने छन् ।
३. सिंहदरबार घेरेर प्रधानमन्त्रीलाई किर्गिज शैलीमा बर्खास्त गर्ने र सरकारको घोषणा गर्नेछन् । त्यो सरकारले भूमिसुधारलगायत केही चर्का क्रान्तिकारी (?) घोषणा गर्नेछ । माओवादीले ९महिनामा केही गरेन भन्ने मेटाउने रे ।
४. यसरी बनाएको सरकारलाई चीनले मान्यता दिन्छ रे । अनि अनमिनले सघाउँछ रे । भारतले कचकच गरे सन् १९५० को सन्धि खारेज गरिदिने रे ।
५. अरू मुलुकले मान्यता नदिए पनि चीन र राष्ट्रसंघको आड पाएपछि १५-२० वर्ष सजिलै माओवादी सरकार चल्छ रे ।
६. माओवादीले गर्न लागेको जनप्रदर्शनमा सरकारले बल प्रयोग गरे क्रान्तिकारी युवाले मुलुक नियन्त्रणमा लिने माओवादी अध्यक्ष पुष्पकमल दाहालले भनेपछि हो कि तल्ला तहका कार्यकर्ताका कुरा सही हो कि क्या हो जस्तो लाग्न थालेको छ तर पत्याउन भने गाह्रै भएको छ।

Monday, April 19, 2010

रानीबारीमा फोहोर

लाजिम्पाटबाट सामाखुसी निस्कने बाटामा एउटा थुम्को छ । त्यसमा बन छ । थलीमा मन्दिर पनि छ । त्यसलाई रानीबारी भन्छन् । बिहान त्यहाँ जानेको संख्या ठूलै हुन्छ । त्यही बन पनि फोहोर बनाउँछन् बनभोज र सुटिङ गर्नेहरूले । रेखदेख गर्ने समिति छ । ९ बजेपछि बनभित्र पस्नै पैसा तिर्नुपर्छ तर फोहोरको भने तिनले खासै वास्ता गरेजस्तो लागेन । आइतबारको फोहोरका केही तस्बिर

Sunday, April 18, 2010

समस्या यता पो छ कि?

नेपाल-भारत सम्बन्ध विलक्षण छ। सरकारी स्तरमा अधिकांश समय कटुतापूर्ण रहे पनि जनस्तरमा संसारको अरु कुनै मुलुकमा पाइने भन्दा बेग्लै छ। नेपालमा पहिरो गए भारतको गाउँ डुब्छ। भारतमा बाटो थुनिए नेपालीको बजार सुक्छ। नेपालमा सडक दुर्घटना हुँदा भारतीय र भारतमा आतंककारी घटना हुँदा नेपाली पनि पर्ने जोखिम हुन्छ। यति अन्तर्निभरता सायद अन्त कतै छैन। अर्थात्, यी दुई मुलुकका जनताको हित बाझिएको छैन, गाँसिएको छ। तैपनि, सरकारी कर्मचारी र कथित बुद्धिजीवीले यसलाई सहज हुन दिँदैनन्। कुनै न कुनै बहानामा विवाद बनाइराख्छन्। तैपनि, धेरैजसो समय नेपाल र भारतको सम्बन्ध कटुतापूर्ण रहने गरेको छ। स्पष्ट गर्छ भने समस्या सरकारी स्तरमा छ।
'मैले भनिदिएको थिएँ कि राजदूतले राजदूत भएर बस्नुपर्छ। मैले यो खुल्ला वक्तव्य दिएको थिएँ कि उसले आफूलाई हिन्दुस्थानको डिस्ट्रिक्ट बोर्डको चेयरमैनजस्तो ठान्नु हुदैन। सीपी एन सिन्हा अघि मुजफ्फरपुर डिस्ट्रिक्ट बोर्डको चेयरमैन थियो। यहाँ त्यही डिस्ट्रिक्ट बोर्डको चेयरमैनले गरेकोजस्तो गर्न पाउँदैन भनेर मैले वक्तव्य दिएको छु। उसले आफ्नो ठाउँ कहाँ हो, त्यो बुझ्नुपर्छ भनेको छु।'

बीपी कोइरालाको आत्मवृत्तान्तमा वर्णन गरिएको यो प्रसंग उनी गृह मन्त्री हुँदाको अर्थात् २००८ सालतिरको हो। बीपीको आत्मवृत्तान्तमा उनी प्रधानमन्त्री भएका बखतका एक जना भारतीय राजदूत भगवान सहायका प्रसंगमा पनि लेखेका छन् - 'पार्टी आठ बजेका लागि बोलाएकोमा ऊ जानी जानी रातको नौ बजे आयो। सुवर्णजीकहाँ पार्टी थियो जाडो। सायद डिसेम्बरको थियो। हामीहरु पर्खिरहेका थियौँ। अनि आएर के भन्छ भने, देर हो गयी इसलिए की ज्यादा आत्मीयता वाले पार्टी हमको बहुत मिल गए।' तर मलाई लाग्छ उसले जानीबुझी विलम्ब गरेको थियो।' भारतीय राजदूतहरुको व्यवहार अहिले पनि लगभग यस्तै छ।

नेपालमा लोकतन्त्रको स्थापनापछि सम्बन्ध सुध्रनुको साटो झन् बिग्रेको छ। दुवै मुलुकले धेरैजसो धम्की र घुर्की लगाउने गरेका छन्। धम्की वा घुर्कीले सम्बन्ध सहज हुँदैन। सम्बन्ध सहज गर्न त एक अर्काको भावना बुझ्नु र सम्मान गर्नुपर्छ। मुलुकहरुबीच संवाद र सम्पर्कको महत्व भएरै राजदूत राख्ने चलन चलेको हो। तर, नेपाल भारत सम्बन्ध बिगार्ने काम यिनै राजदूतहरुले गर्ने गरेका छन्। विशेषगरी, सन् १९९० पछि विमलप्रसादबाहेक अरु कुनै पनि भारतका राजदूतले नेपाली जनताको स्नेह पाएको देखिएन। नेपालमा भारतले उनीपछि सबैजसो राजदूत कूटनीतिक सेवाका कर्मचारीलाई बनाएको छ। यी कर्मचारीहरुको व्यवहार अधिकांश समय विवादास्पद रहेको छ। तिनको कूटनीतिक मर्यादाविपरीतको उत्ताउलो व्यवहारले नेपालमा सिंगै भारतको छवि बिगारेको छ।

नेपाली पत्रकारहरुसँगको कुराकानीमा भारतका तत्कालीन विदेश मन्त्री इन्दरकुमार गुजरालले भनेका थिए - भारतको विदेश मन्त्रालय राजनीतिक नेतृत्वले हाँक्दैन। कर्मचारीहरुले राजनीतिक नेतृत्वले चाहेअनुसार परिवर्तन हुन दिँदैनन्। हुन पनि भारतमा सरकार परिवर्तन हुँदा त्यसको खासै असर पारस्परिक सम्बन्धमा देखिने गरेको छैन। त्यहाँका कर्मचारी सोभ र व्यवहारका दृष्टिले अझै पनि बेलायती उपनिवेशका बाबुजस्तै छन्। साम्राज्यवादी कालको अकड र सोच अझै बाँकी छ। साउथ ब्लकमा बसेको बेलायती भूतले नेपालसँगको भारतीय सम्बन्धलाई प्रभावित बनाएको छ। कूटनीति र रकमी काइते व्यवहार कूटनीति होइन। केभी राजनदेखि राकेश सुदसम्मको व्यवहार कूटनीतिक हैन काइते देखिएको छ।

अहिलेको राहदानी छपाइ काण्ड पनि सरकारी स्तरबाट उब्जाइएको समस्या हो। नेपालको परराष्ट्र मन्त्रालयले बेलामा बोलपत्र आह्वान गरिसकेपछि भारतीय विदेश मन्त्रीले छाप्न नखोजेकै भए हुन्थ्यो। भारतलाई दिने निर्णय गर्दा नियम मिचिने थियो भने त्यही बताएको भए हुन्थ्यो। तर दुवै देशका अधिकारीहरुको बुद्धि नपुग्दा व्यर्थको शंका र विवाद थपियो। त्यसैका निहुँमा भएको भारतको विरोध अनि भारतीय राजदूतको अशोभनीय गतिविधि र अभिव्यक्तिले सम्बन्ध झन् बिगारेको छ।

राजदूत राकेश सुदले देखाएको प्रतिक्रिया कूटनीतिक मर्यादाविपरीत छ। उनले प्रधानमन्त्री माधवकुमार नेपाललाई हैन परराष्ट्र मन्त्रालयका सम्बन्धित फाँटका सहसचिवलाई भेटेर भारतको असन्तोष राख्नु पर्थ्यो। सुदले एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष प्रमुख विपक्षी नेता पुष्पकमल दाहाललाई भेटेर जे भने भन्ने समाचार आएको छ त्यो पनि मर्यादाअनुरुप छैन। कुनै पार्टी वा नेताले जे गर्छ वा भन्छ त्यो नेपालको आन्तरिक विषय हो। प्रधानमन्त्री नेपालले के भने त्यो सार्वजनिक भएको छैन तर सुदलाई दाहालले भनेको भनेर जे प्रचार भएको छ त्यो पनि मर्यादाअनुरुप छैन। दाहालले राहदानी छपाइलाई भारतको विरोध गर्ने निहुँ बनाएकै हुन् र त्यो गलतै थियो। तर, राजदूतलाई त्यसको स्पष्टीकरण दिइरहन उनलाई सुहाउँदैन। दाहाल जे भए पनि नेपालका पूर्व प्रधानमन्त्री हुन् र संसद्मा विपक्षी दलका नेता हुन्।

भारतमा अहिले नेपाल धर्म निरपेक्ष घोषित भएको आलोचना र टिप्पणी हुनसक्छ। भारतीय जनता पार्टीको कुनै नेताले भाषणमा नेपालको विरोध पनि गर्न सक्छ। त्यसो भयो भने नेपाली राजदूतले गएर घुर्की लगाउन वा धम्की दिन हुन्छ? विरोध गर्नै परे आधिकारिक निकाय र अधिकारी समक्ष गर्नुपर्छ। नेपालका राजदूतले दिल्लीमा प्रधानमन्त्रीलाई यसरी भेट्न पाउँछन्? विपक्षी दलकै नेताले पनि राजदूतलाई घरघरै भेट्न बोलाउँछ? उनीहरु कूटनीतिक मर्यादामा रहन्छन्। त्यसैले त्यहाँ यस्तो सस्तो विवाद पनि कमै हुन्छ।

दुवै देशको राजनीतिक नेतृत्वकै कमजोरीले कूटनीतिक सम्बन्धमा अनावश्यक तनाव सिर्जना हुने गरेको छ। भारतले नेपालमा बाबुहरुलाई राजदूत बनाएका बेला धेरै समस्या हुने गरेको छ। नेपालको त कुरै नगरे हुन्छ। बितेका २० वर्षमा चक्र बास्तोला, भेषबहादुर थापा, लोकराज बरालबाहेक सायद अरु भारतका सरकारी अधिकारी र वुद्धिजीवीले गम्भीरतापूर्वक लिने मान्छे राजदूतै भएनन्। दिल्लीस्थित राजदूत प्रभावकारी भए नेपालसँग दिल्लीले उहीमार्फत् कुराकानी गर्थ्यो। नेपालको पक्ष स्पष्टसँग राख्ने मौका हुन्थ्यो। दिल्लीमा रहने नेपाली राजदूत सक्षम भए धेरै गर्न सक्ने रहेछन्।

यदुनाथ खनालले भारतमा राजदूत छँदा सरकारी स्तरमा दबाब पार्न जनस्तरको सम्बन्ध बढाएको चर्चा गरेका छन्। भारतसँगको कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्ने सम्भवतः यो सही उपाय पनि हो। भारतमा नेपाललाई माया गर्नेहरु पनि छन्। तिनको माया र समर्थनलाई आफ्ना पक्षमा प्रयोग गर्न सके केही सन्तुलन कायम हुने पनि थियो। तर, त्यसका लागि राजदूत हुनेमा क्षमता त चाहिन्छ।

यसैले, भारतीय नेताहरुसम्म पहुँच हुने वा भारतले कुरा सुन्ने नेपाली नेता छन् भने तिनले राजदूतहरुको व्यवहारको प्रश्न उठाउनु आवश्यक छ। नेपालमै पनि भारतमा राजदूत बनाउँदा उपयुक्त पात्रको चयन गर्न बढी गम्भीर हुनुपर्छ। भारतले पनि नेपाली जनता नै चिढिने गरेर सम्बन्ध बिगार्नुभन्दा सद्भावना बढाउन सक्ने राजनीतिक व्यक्तिलाई राजदूत बनाउनु उचित हुनेछ। नेपाली जनताको सद्भावको मूल्यमा बाबुहरुको हठ र दम्भ जोगाउने खोजियो भने भारतलाई पनि महंगो पर्नेछ। यथा, नेपालले पनि भारतसँगको मित्रतालाई कम महत्व दिनु ठूलो मूर्खता हुनेछ। नेपाल-भारत सम्बन्धमा विद्यमान समस्या समाधानको सबैभन्दा सही उपाय यही हो।

बीपीकै आत्मवृत्तान्तको अर्को उद्धरण अहिलेका लागि मार्गदर्शक बन्न सक्छ कि - 'गण्डक योजनासम्बन्धी सम्झौतामा त्यो भारतीय राजदूतको व्यवहारको खिलाफमा त्यो मेरो विरोधजस्तो थियो र म गइन त्यसको सही गर्ने समारोहमा। त्यसले म रिसाएको छु भन्ने थाहा पाएजस्तो लाग्छ मलाई। गण्डक र कोशी प्रोजेक्टको एउटा डाइरेक्टर थियो आईसीएस एक जना सिन्हा बिहारको एउटा प्रसिद्ध अफसर। त्यो दुईटै योजनाको संयुक्त चेयरमैनजस्तो थियो। त्यो आयो मकहाँ। आएर के भन्यो भने कोइराला साहब सुना कि आपको कुछ दुःख पहुँचा है और आपनो बहुत बुरा माना है। यदि ऐसी बात हैँ तो हमारे नेता जबाहरलालजीका कहना है कि बीपी कोइरालाकी मित्रता ज्यादा महत्व रखती है, बनिस्बत, गण्डक योजना का सम्झौता। कागजके टुकडेमे किए जानेवाले सम्झौते उतने महत्वपूर्ण नहीँ जितने महत्वपूर्ण हैँ प्रधानमन्त्री बीपी कोइराला के साथ कि मित्रता'। दुर्भाग्य, त्यस्ता नेता अहिले न उता छन्, न यता छन्