Tuesday, January 15, 2013

शान्ति बिथोलिएको स्वयम्भू





आज स्वयम्भू जाँदा पहिलेजस्तो शान्ति र पवित्रता अनुभव भएन।जताततै दिक्कलाग्दो गन्जागोल थियो। म काठमाडौंमा सबैभन्दा बढी गएको तीर्थस्थल स्वयम्भू नै हो। सबैभन्दा पहिले गएको पनि स्वयम्भू नै हो। तनहुँको आँबुखैरेनीबाट ३ दिन १ बिहान पैदल हिँडेर म काठमाडौं आएको थिएँ। भीमढुंगाबाट ओर्लँदै गर्दा सबैभन्दा पहिले हेका रहने गरी देखेको पनि स्वयम्भू नै हो। संयोगले बसाइ पनि स्वयम्भूको नजिकै वीजेश्वरीमा भयो। खेल्दाखेल्दै पनि स्वयम्भू पुग्न सकिने ठाउँमा। मलाई स्वयम्भू जान मन पर्ने अर्को कारण त्यहाँको उकालो पनि हो। काठमाडौंका मेरा दौँतरीभन्दा धेरै चाँडै म ती सिँडीहरू उक्लिसक्थेँ। तिनलाई मैले दौडनमा मात्र जित्न सक्थेँ।


 सन् ७० को दशकमा हिप्पी हेर्न पनि स्वयम्भू गइन्थ्यो। त्यस्तो उर्बौलो उमेरमा समेत माथि उक्लेपछि चैत्यमा पुग्दा, माने घुमाउँदा शान्ति र पवित्रताको अनुभव हुन्थ्यो। माथिबाट काठमाडौं सहर हेर्दा रमाइलो लाग्थ्यो। आज भने पटक्कै शान्ति र पवित्रताको अनुभव भएन। जताततै राखिएका नांग्ले पसलहरूले अलिकति वातावरण बिथोलेजस्तो लाग्यो। स्वयम्भूको आद्यात्मिकता जोगाउन अति व्यावसायिकता रोक्नुपर्ने हो कि? काठमाडौं आफैँ कुरूप भएको छ। त्यहाँबाट के रमाइलो देखियोस् र?





हुँदाहुँदा स्वयम्भूबाट रिंगरोड हुँदै ओर्लने ठाउँमा त जुवा खेलाएर श्रद्धालुहरूलाई ठग्नेसमेत गर्दा रहेछन्। त्यसरी जुवा ३ - ४ वटा झुप्रामा खेलाइएको थियो। प्रहरीको संरक्षण नभए त त्यस्तो धन्दा स्वयम्भूजस्तो पवित्र स्थानमा चलाउने आँट कसैले नगर्नु पर्ने हो !


रिंगरोडको छेउमा ओर्लेपछि बुद्धको विशाल प्रतिमा भएको ठाउँमा ठूला माने पनि छन्। त्यहाँभित्र माने घुमाउँदा भने एकछिन शान्ति र पवित्रताको अनुभव भयो।

No comments:

Post a Comment