Monday, January 28, 2013

सुसंस्कार र पापको कमाइ


एक जना भारतीय साधुले पापको कमाइ खानेलाई संस्कारवान् बनाउन सकिँदैन भनेका थिए मलाई २०४९ सालतिर। म उतिबेला तिनको भनाइमा सहमत भइन। अहिले भने मनमा कतै म गलत त थिइन भन्ने सन्देह उत्पन्न भएको छ।
तिनताका म समाज कल्याण परिषद्मा काम गर्थेँ। रानीको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् नयाँ ऐन आएपछि समाज कल्याण परिषद् भइसकेको थियो। त्यति बेला समाज कल्याण शिक्षा मन्त्रालयमै थियो। सरकारले त्यति बेला केही बाल गृहहरू चलाएको थियो। त्यस्तो एउटा बाल गृह नेपालगन्जमा पनि खोलिएको थियो। सरकारले चलाएका गृहहरूमा खर्चका अनुपातमा सुविधा कम हुन्थे। कर्मचारीमा खर्च बढी हुन्थ्यो। यसैले यस्ता गृहहरू सरकारले चलाउनुको साटो सामाजिक संघसंस्थालाई दिनु उपयुक्त हुने देखियो।
तेतिबेला सम्म पनि अहिलेजस्तो संस्थागत हेरचाहभन्दा बालबालिकाका लागि पारिवारिक वातावरण बढी लाभदायी हुन्छ भन्ने मान्यता स्थापित भइसकेको थिएन। तेसमाथि सरकारले थालेको कार्यक्रम बन्द गर्ने आँट कसैले पनि गर्न सत्तै्कन थियो। यसैले नेपालगन्जको बाल गृह पनि बन्द गर्ने सम्भावना थिएन। गृह सञ्चालन गर्न सरकारले दिने अनुदानले बालबालिकाको राम्रो लालनपालन हुनै सत्तै्कन थियो। बाल गृह
सञ्चालन गर्ने स्थानीय समितिका सदस्य पनि खर्च नपुग्ने समस्याबाट आजित हुन लागेका थिए। यसैले बाल गृह जिम्मा लिने संस्था खोज्न थालियो। यस्तैमा एउटा कोरियाली संस्थाले बाल गृह चलाउने रुचि देखायो। स्थानीय समितिसँग सहकार्य गरेर बाल गृह सञ्चालन गर्न कोरियाली संस्थालाई जिम्मा दिइयो।
एकाध महिनाभित्रै बाल गृहमा इसाई धर्म प्रचार गरियो र बालबालिकालाई इसाई बनाउन खोजियो भन्दै समितिकै सदस्यहरूले असन्तोष व्यक्त गर्न थाले। कोरियाली संस्थासँग ३ वर्षे सम्झौता गरिएको थियो। सम्झौता भंग गर्दा पनि बाल गृह सञ्चालन गर्ने खर्च जुटाउन कठिन थियो। राज्यको ढुकुटीबाट पैसा निकाल्न अहिलेजस्तो सजिलो कहाँ थियो र  ? गृहको निरीक्षण गर्दा धर्म प्रचार गरिएको प्रमाण भेट्न पनि नसकिने।

बालबालिकालाई पहिलेभन्दा केही सुविधा भएको थियो। यद्यपि, गृहको सरसफाइलगायत विषयमा मेरो पनि चित्त बुझेको थिएन। काठमाडौं फर्केपछि मैले बाल गृहको समस्यामा धेरै ध्यान दिन सकेको थिइन। यस्तैमा ती भारतीय साधु काठमाडौंमा मलाई खोज्दै आइपुगे। उनले मलाई नेपालगन्जमै भेट्न खोजेका थिए रे। रूपैडिया नजिकै उनको कुटी भएकाले नेपालगन्जका बारेमा उनी राम्रै जानकार रहेछन्। बाल गृह इसाईलाई चलाउन दिएकोमा उनले असन्तुष्टि व्यक्त गरे। मैले खासै प्रतिवाद नगरी उनका कुरा सुने। क्रोध अलि साम्य भएपछि उनले त्यो बाल गृह चलाउने इच्छा देखाए। कोरियालीसँग ३ वर्षका लागि सम्झौता भएको र म एक्लैले त्यसलाई उल्टाउन नसक्ने जानकारी उनलाई दिएँ। उनले बाल गृह चलाउन स्थानीय उद्योगी व्यापारीबाटै चन्दा उठाउने उनको योजना सुनाए।
मलाई नेपालगन्जमा बादी समुदायका बालबालिकालाई आवासीय विद्यालयमा राखेर पढाउने रहर लागेको थियो। एउटा पुस्तालाई 'अमर्यादित' वातावरणबाट मुक्त गरेर राम्रो शिक्षा दिन पाए तिनको समाजमा सहज पुनर्स्थापना हुन्थ्यो भन्ने मलाई लागेको थियो। मैले साधुसँग बादी बालबलिकाका लागि बाल गृह र विद्यालय सञ्चालन गर्न आग्रह गरे। त्यो योजना सफल भए अर्को बाल गृह पनि ३ वर्षपछि सञ्चालन गर्न दिने आश्वासन पनि दिएँ। साधु एकछिन घोरिए, अनि हुन्छ भने। तर, उनले त एउटा मुस्किल सर्त पो राखे -
उनको आश्रममा बसुन्जेल बालबालिकाले आमाबाबुसँग सम्पर्क राख्न पाउनेछैनन्। आश्रममा आएर भेटे पनि आमाहरूले केही खाने वा लाउने कु्रा सन्तानलाई दिन पाउने छैनन्।
यस्तो कठोर सर्त मलाई उचित लागेन। मैले आमाबाबुलाई भेट्न नदिनु वा तिनले दिएको खान लाउन नदिनु बाल अधिकारविरुद्ध हुन्छ भने। साधुले भने - शिक्षा दिने भनेको संस्कार निर्माणका लागि हो। बादी महिलाहरूलाई यौन व्यवसायबाट हटाउन सजिलो छैन। यौन व्यवसाय पापवृत्ति हो। पापको कमाइ उपभोग गर्ने हो भने पवित्रता समाप्त हुन्छ। अपवित्र व्यक्तिले सुसंस्कार सिक्तैन। यसैले तिनको कमाइ खाने हो
भने चरित्र निर्माणका सबै प्रयास व्यर्थ हुन्छन्। त्यस्तो व्यर्थको प्रयत्नमा दाताको दान खर्च गर्दा पाप लाग्छ। म पापको भागी बन्न चाहन्न।
मसँग उनलाई सम्झाउने तर्क थिएन। उनको सर्त स्वीकार गर्न पनि सत्तै्कन थिएँ। मैले स्वीकार गरे पनि बादी समुदायको अपमान हुने त्यो सर्त उनीहरूले मान्ने थिएनन्। उनलाई नमस्कार गरेर बिदा गर्नुबाहेक मसँग अरू केही उपाय थिएन। पापको कमाइको उनको धारणाले केही झकझक्याए पनि सहमत हुन पनि सकिन। उनी बाटो लागे। मैले पनि बिर्सिदिएँ।
अहिले आएर ती साधुको भनाइ कतै सत्य त हैन भन्ने सन्देह लाग्न थालेको छ। यद्यपि, बादीहरूको यौन व्यवसाय व्यवसाय रोजाइभन्दा बाध्यता भएकाले त्यसलाई पापवृत्ति ठान्न पनि मेरो मन मान्दैन।
तैपनि, अपवित्र साधन प्रयोग गरेर सही साध्य भेटाउन नसकिने नै हो त ?

No comments:

Post a Comment