Tuesday, January 1, 2013

चौपट राजाको शासन


सरकारी कर्मचारीले गरेको बलात्कार गर्दा प्रचलित कानुनअनुसार कारबाही हिचाउने सरकार क्षतिपूर्तिका नाममा जरिबाना तिर्न भने हतारिएको देख्दा 'अन्धेर नगरीका चौपट राजा'को कथाको सम्झना हुन्छ।

धेरै पहिले एक जना जोगी चेलालाई लिएर देशाटनमा निस्केछन्। घुम्दै जाँदा एउटा नगरबाहिर कुटी बनाएर बस्न मन लागेछ। उनले आफ्ना चेलालाई नगरभित्र खानेकुरा किनमेल गर्न पठाएछन्। चेलाले बजारमा गएर मोलतोल गर्न थाले। जुन माल सोधे पनि भाउ टका सेर ( रुपियाँ सेर) भएको सुनेपछि चेला छक्क परेछन्। मेवा मीष्टान्न पनि टका सेर, सागपात पनि टका सेर। चेलालाई नगर मन परेछ। रमाउँदै आएर गुरुलाई सुनायो। गुरुले भनेछन् - बाबु! त्यसो हो भने यो अन्धेर नगरीमा बस्नु हुँदैन। चेलालाई गुरुको कुरा मन परेन। मीठाइ यति सस्तो पाइने ठाउँमा पनि नबसेर कहाँ अन्त जानु? गुरुलाई भने - म त केही दिन यहीँ बसौँ कि? गुरु त्यहाँबाट गए तर चेला त्यहीँ बसे। चेला सस्तो मीठाइ खाएर मोटाघाटा भए।

दिन बित्तै गयो। यस्तैमा कुनै एक जना किसानको बारीमा बाख्रा पसेछ। किसानले लौरीले हान्दा बाख्रा ठहरै भएछ। बाख्राको मालिकले राजाकहाँ उजुर गरिछन्। राजाले दण्ड सुनाएछन्  - ज्यानको बदला ज्यान। किसानलाई फाँसी दिनु । तयारी भयो। फाँसीको तख्तामा पुगेपछि िकसानको गर्धन फाँसी दिने डोरीको पासोमा छिरेछ। त्यो सुनेपछि राजाले वरपर मोटो गर्दन भएको जो भेटिन्छ उसैलाई ल्याएर फाँसी दिनु भन्ने हुकुम दिएछन्। फाँसीको पासोमा गर्धन मिल्ने मान्छे खोज्दै जाँदा टका सेर खाजा खाएर मोटाघाटा भएका चेला फेला परेछन्। उनैलाई फाँसी दिने तयारी गरियो। चेलाले गुरुको वचन सम्झे। संयोगले गुरु पनि त्यहीँ आइपुगेका रहेछन्। गुरुले चलाखी गरेर राजालाई नै फाँसीको पासोमा पठाई चेलालाई बचाएछन्।

सञ्चार माध्यममा आएको जानकारीअनुसार अध्यागमन विभागले सीताले नक्कली राहदानी प्रयोग गरेको फेला पारेछ। त्यहाँका कर्मचारीले घुस नदिए पक्राउ गरेर कैदमा हाल्ने धम्की दिएछन्। अनि सीताले ल्याएको पैसा हाकिमहरूलाई समेत दिनुपर्छ भनेर खोसेछन्। सीताको विपत्ति त्यतिमै सकिएन। प्रहरीले लजमा लजेर बलात्कार गरेछ। घटना सार्वजनिक भएपछि सरकारले प्रचलित कानुनअनुसार सरकारवादी हुने बलात्कार र भ्रष्टाचारको मुद्दामा कारबाही गर्नुको साटो पैसा दिएर थामथुम बनाउन खोज्यो। मानौ, सीताको बलात्कारको घटना कुनै सडकमा मोटरले कुखुरा चेपेजस्तै हो। बिगो र केही थप क्षतिपूर्ति दिए पुगिहाल्छ।  सीताको लुटिएको पैसा कर्मचारीबाट असुल गराएर दिनुपर्छ तर पहिले त ती अपराधीमाथि प्रचलित कानुनअनुसार कारबाहीको पहल गर्नुपर्थ्यो।

सरकारले अपराधको गम्भीरतालाई उपेक्षा गरेर अन्धेर नगरीको चौपट राजाकै सिको गरेको छ। यस निर्णयले सत्तामा बस्नेहरूको मानसिकताको पोल खोलेको छ। हत्या, बलात्कार, लुट, आगजनीजस्ता मानवता विरोधी अपराधमा संलग्न भएकाहरूलाई दण्डबाट जोगाउन कसरत गरिरहेको सरकारले पीडितको कोणबाट हेर्ने सम्भावना पनि थिएन। तर, बलात्कारीलाई कारबाही गर्नुको साटो पैसा दिएर पीडितको मुख बुझो लगाउने प्रयास गर्ने सरकारी प्रयास अत्यन्त निन्दनीय छ।  नागरिकहरूले यस घटनालाई गम्भीरतापूर्वक लिएको देखियो। अहिले मानव अधिकारकर्मीहरू आन्दोलित छन्। सीताले न्याय पाउने सम्भावना बढेको छ। तर, यस प्रकारको व्यवहार गर्न सरकार तम्सनुको एउटा कारण भने यसभन्दा पहिले दण्डहीनतालाई प्रश्रय दिँदा पनि नागरिकहरू मौन रहनु नै हो।

अदालतले सजाय सुनाएका अपराधीलाई प्रधानमन्त्रीले बोकेर हिँड्दा पनि नागरिकका साथै राज्यका संयन्त्रहरू तमासे भएका छन्। यस्तो अवस्थामा अपराधीहरूले प्रोत्साहन र प्रश्रय पाउनु स्वाभाविकै त हो।  'अकुपाई बालुवाटार' अभियान यस पटक सरकारलाई झुकाउन सफल पनि होला तर त्यतिले दण्डहीनता अन्त्य हुँदैन। राज्यका हर्ताकर्ताले पनि कानुन पालन गर्नुपर्छ भन्ने मान्यता स्थापित नगर्दासम्म यस्तो अभियान थामिनु हुँदैन तर विडम्बना, अहिलेसम्म संसारमा थालिएका यस्ता अधिकांश अभियान पटके भएका छन्। पटकपटक अन्यायविरुद्ध उही माग दोहोरयाउनु परेको छ। उही विषयमा आन्दोलन गर्नु परेको छ।

No comments:

Post a Comment