कपिलवस्तु नरसंहारपछि मनको वेदना कागजमा पोखेको रहेछु । पुरानो नोटबुकमा भेटेँ ।
नदुखेको घाउ
दिक्क लाग्छ
अख़बार, रेडियो र टीवी च्यानलसँग
काठमाडौंलाई नदुखेको कपिलवस्तु
कोट्याइरहेको देख्दा
नदुखेको यो घाउ
कोट्याई कोट्याई भो नदुखाऊ
काठमाडौं त उत्सवमा रमाइरहेको छ
इन्द्र जात्रा छ
इन्डियन आइडल छ
( प्रशान्त तामांगलाई भोट दिन काठमाडौंमा देखिएको उत्ताउलो व्यग्रतामा प्रहार गरेर पत्रकार चन्द्र किशोरले कपिलवस्तु नदुखेको गुनासो गरेका थिए ।)
कपिलवस्तु दुख्न मुटुमा ठाउँ छैन ।
यहाँ त उत्सव पो छ !
यहाँ गिरिजाबाबु छन्
कमरेड प्रचण्ड छन्
उनीहरूका चण्डमुण्ड छन्
कांग्रेस एकीकरणको माचो छ
माओवादीलाई सत्तामा फर्काउनु छ
कपिलवस्तुको आर्तनाद सुन्ने
फुर्सद कहाँ छ ?
तेसमा पनि
तेहाँ के पो भइहालेको छ र?
केही मारिएका छन् रे
केहीको घर खरानी भएको छ रे
केही हजारको उठीवास भएको छ रे
केहीको वास रुखमुनि छ रे
केही चेलीको बलात्कार भएको छ रे
यस्ता दिनहुॅ हुने घटनालाई
ठूलो ठानेर साध्य चल्छ र?
शासन चलाउन सकिन्छ र?
काठमाडौं त नयाँ नेपालको तयारीमा व्यस्त छ
संविधान सभाको चुनाव गर्नु छ
देशको भाग्य बनाउने व्यक्ति छान्न
उमेदवारको बन्दसूची बनाउनु छ
देशलाई गणतन्त्र बनाउनु छ
के के गर्नु छ !
यस्तो माचोमा
कपिलवस्तु घटनाजस्ता
सानोतिना क़ुरामा अलमलिने
फुर्सद कहाँ हुन्छ ?
यस्तो बेलामा नदुखेको कपिलवस्तुको घाउ कोट्याई कोट्याई
किन उप्काउनु परेको ?
रामदेवको योग शिविर छ
कांग्रेसको संयुक्त महासमिति छ
राजदूतहरूको भेटघाट
अनमिनका इयान मार्टिन
ट्रान्सपरेन्सीको प्रतिवेदन
महत्त्वपूर्ण समाचार हुने यति धेरै विषय छन्
तेतै ध्यान केन्द्रित किन नगरेको ?
काठमाडौंलाई कहिल्यै नदुख्ने
कपिलवस्तु किन कोट्याएको ?
No comments:
Post a Comment