Monday, October 1, 2012

तमासे हुने बेला हैन


असोज महिनासम्म समाधान निकाल्ने सहमति कार्यान्वयन होला भन्ने विश्वास सायद तिनै नेतालाई पनि छैन। अहिले राजनीतिमा स्पष्ट दुई धार देखिएको छ। नयाँ चुनाव गरेर जनादेशका आधारमा समस्या टुंग्याउने पक्षमा एउटा र संविधान सभा ब्युँताएर वा अरू कुनै बहानामा सत्तामा टिकिरहने वा पुग्ने दाउमा अर्को। माओवादी र मधेसीबाहेक अरू सबै पार्टीभित्र यी दुवै पक्ष देखिएका छन्। सत्तामा हुने र सत्तामा पुगिएला कि भन्ने सपना भएकाहरू जसरी पनि चुनाव टार्न खोज्दैछन्। माओवादीको जालमा परेका अरू पार्टीका नेताले पनि सत्ताको भागबन्डालाई जनादेशलाई भन्दा बढी महत्व र प्राथमिकता दिएको देखापरेको छ।  राजनीतिक नेताहरू राजनीतिका मूल पात्र हुन् तर तिनलेे बाटो बिराउन लागेका बेलामा सूत्रधारले खबरदारी गर्नुपर्छ। यसैले अहिले नागरिकका तहबाट हस्तक्षेप हुनु जरुरी देखिएको छ। बेला छँदासम्म सुस्ताउने र समय बितेपछि पछुताउने गर्नु बुद्धिमानी होइन।  
संविधान सभाको अर्को निर्वाचन गर्न माओवादी र मधेसी सहमत भएकै हुन् भने उनीहरू सरकारबाट बाहिरिन पनि तयार हुनुपर्छ। तर, यिनीहरू सत्ता छाड्न तयार होलान् भन्ने चाहिँ लाग्दैन। यसैले नागरिक अगुवाहरूको पहिलो काम बाबुराम नेतृत्वको सरकारलाई हटाउन दबाब दिन जनमत बनाउनु अग्रसर हुनुपर्छ। विपक्षमा रहेकाहरूले पनि सरकारको नेतृत्व मागेर अलमल गर्नुभन्दा त चुनाव निष्पक्ष हुने आधार बनाउन बढी ध्यान दिनुपर्छ। यसैले, नेपाली कांग्रेस र नेकपा (एमाले) लोकतान्त्रिक आदर्श, विधि र प्रक्रियाको सम्मान गर्न तयार छन् भने तिनले पनि स्वतन्त्र व्यक्तिका नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव स्वीकार गर्न हिचकिचाउन हुँदैन।  
सहमतिबाट सरकार परिवर्तन हुनैसकेन भने त्यसको समाधान राष्ट्रपतिको हस्तक्षेपबाट हैन जनमतको दबाबबाट निकाल्नेे वातावरण बनाउनुपर्छ। समय लाग्नसक्छ र यो निकै कठिन तथा विवादपूर्ण विधि पनि हो। सकेसम्म मुलुकले सडकबाट सरकार हटाउने अभ्यास गर्नु नपरेकै राम्रो। परन्तु, अहिलेसम्मको राजनीतिक घटनाक्रमको विकास र परिदृश्य हेर्दा भने लोकतन्त्र र राष्ट्रियता जोगाउन त्यही अप्रिय उपाय अपनाउनै पर्ने बाध्यता उत्पन्न हुँदै गएको देखिएको छ।  यसैले निर्वाचनको साख राख्नका लागि पनि यो सरकार हट्नुपर्छ। त्यसका लागि हुने आगामी आन्दोलनमा लोकतन्त्र र राष्ट्रियताका पक्षधरहरू तटस्थ बस्न मिल्दैन। त्यसो त दलहरूले आन्दोलन गरेनन् भने पनि नागरिक समाजका अगुवाहरूले पहल गर्नुपर्छ। 
कृशकाय डा. गोविन्द केसीले सिंगो राज्य संयन्त्रलाई झुकाए। मुलुकको माया गर्ने एक जनाले पनि ज्यानको माया नगर्ने हो भने ठूला शक्तिलाई ढाल्नसक्छ। मुलुकको माया हुनेहरू तमासा हेरेर नबसौँ ! 

No comments:

Post a Comment