अनिष्टलाई निम्तो
जातीय अग्राधिकार खोज्ने र संघीयता हुँदै हुन्न भन्ने दुवै समूह राष्ट्रिय अखण्डता विरोधी हुन्।
देश भित्रभित्रै विखण्डित भइरहेको छ। सामाजिक सद्भाव, एकता, र सहिष्णुता समाप्त हुने क्रममा देखिएको छ। संसारभर चरम व्यक्तिवादले समाजलाई विखण्डित पारेको भए पनि नेपाली समाज राजनीतिक स्वार्थका कारण आक्रान्त हुन पुगेको हो। राजनीति स्वार्थको संक्रमणबाट लागेको यो अदृश्य घाउ भित्रभित्रै सइन पल्टिने डर बढेर गएको छ।
केही महिना यता नेपालमा एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को अग्रसरतामा भएको जातीय राष्ट्रियता र भारत विरोधी भावना बढाउने कार्यले अनिष्टको संकेत गरेको छ। राजनीतिमा जातीयतावादलाई प्रश्रय दिइँदा नेपाली राष्ट्रियता विस्थापित हुने खतरा बढेको छ। अहिलेसम्म झापाका धिमालदेखि कञ्चनपुरका रानाथारुसम्मले आफूलाई नेपालीकै रूपमा चिनेका छन्। संखुवासभाका शेर्पादेखि दार्चुलाका व्यासीसम्म सबैले आफ्नो राष्ट्रियता नेपाली नै मानेका छन्। तर अब जातिका आधारमा राज्यको विभाजन गर्ने र त्यस्ता राज्यमा जातीय अग्राधिकार कायम गर्ने हो भने राष्ट्रिय नभएर जातीय पहिचान प्रमुख बन्नेछ। त्यसपछि बिस्तारै नेपाली राष्ट्रियता लोप हुनेछ।
सम्भवतः यही डरले नेपाली समाजको मध्यम वर्ग संघीयता विरोधी हुँदै गएको छ। केही महिना पहिलेसम्म संघीयताका पक्षमा सकारात्मक रहेका अहिले निरपेक्ष हुँदै गएका छन्। बीचमा रहेका धेरै संघीयता विरोधी भएका छन्। संघीयता नरुचाउनेहरू कट्टर विरोधी बन्दैछन्। हुनत, यस्तो जनमत धेरै अव्यक्त रहेको हुन्छ तर अहिले संघीयतालाई नेपाली राष्ट्रियताविरुद्धको षड्यन्त्र मान्नेहरूको संख्या बढ्दै गएको देखिन थालेको छ।
मुलुक संघीयताबाट फर्कन नसक्ने अवस्थामा छ। अहिले मुलुकलाई संघीय संरचनामा जानबाट रोक्ने प्रयास भए त्यसले पनि अस्थिरता र विखण्डन निम्त्याएर राष्ट्रियता कमजोर बनाउने छ। संघ बन्दैमा राष्ट्र विखण्डित हुने त होइन तर नेपालमा विकसित घटनाक्रमले भने विखण्डनको जोखिम बढाएको देखिएको छ। नेपाललाई अहिले धेरैवटा राज्य मिलाएर संघमा एकीकृत गर्न लागिएको होइन। राज्यको केन्द्रीकृत संरचनालाई संघीय आधारमा पुनःनिर्माण गर्न लागिएको हो। यसैले शासनमा स्थानीय जनताको अत्यधिक सहभागिता र स्वशासनको अधिकारबाहेक संघीयताको हाम्रा लागि अरू आधार र प्रयोजन जनहितकारी हुने देखिँदैन।
माओवादीको आक्रामक प्रचारले संघीयताको पक्ष लिने बित्तिकै जातीय राष्ट्रियताको समर्थक ठानिने अवस्था निर्माण भएको छ। त्यसमाथि जातिवादी राजनीति गर्ने समूहहरूको धम्की र घुर्कीले अल्पसंख्यक र बहुसंख्यक दुवै समुदायलाई झस्काएको छ। एकातिर बहुसंख्यक क्षेत्रीबाहुन संगठित हुन थालेका छन् भने अर्कातिर अल्पमतमा परेकाहरू आफ्नो थातथलो नै गुम्ने डरले आत्तिएका छन्। जातिगत आधारमा राज्यको पुनःसंरचना गरिने र अग्राधिकारजस्तो अवैज्ञानिक तथा अनुदार धारणा लादिने हो भने नेपाली समाजमा विद्यमान सद्भाव, सहिष्णुता र सहजीवन खलबलिने निश्चित् छ।
संघीयताका पक्ष र विपक्षमा निर्माण हुँदै गएको जनमतले मुलुकमा चर्को ध्रुवीकरण हुने र राष्ट्रिय अखण्डता संकटमा पर्ने जोखिम बढाएको छ। संघीयताका विरोधी र उत्ताउला समर्थक दुवैका कारण मुलुक विखण्डनको संघारमा पुगेको हो। संघीय संरचना धान्न थप सहिष्णुता र सद्भाव आवश्यक हुन्छ। नेपालमा भने विद्वेष, घृणा र विभेद बढाउने कार्य भएको छ। यसैले अहिले संघीयताका पक्षमा देखिएकाहरू यथार्थमै संघीय संरचनाका समर्थक हुन् भन्नेमा पनि शंकै छ। संघीय संरचना लोकतान्त्रिक पद्धतिमामात्र सार्थक हुन्छ। अधिनायकवादी शासनमा संघ देखाउने दाँत मात्रै हो। नभए चीनकै उदाहरण हेरे हुन्छ। माओवादी लोकतन्त्रवादी दल होइन। यसैले सैद्धान्तिक आधारमा माओवादी यथार्थमै संघीय शासन प्रणालीका पक्षमा छ भनेर पत्याउन सकिँदैन। जातीयताको भावना चर्काएर अराजकता बढाउने र शासन कब्जा गर्ने रणनीतिकै एउटा पाटो संघीयतालाई बनाइएको हुनसक्ने आशंका छ।
सिंगो राष्ट्रको ध्यान संविधान निर्माणमा केन्द्रित हुनुपर्ने अवस्थामा माओवादीको बेमौसमी आन्दोलनले संघीयताविरुद्ध अविश्वास सिर्जना गरेजस्तै संविधानप्रति पनि वितृष्णा उत्पन्न गराउने जोखिम बढ्दो छ। जातीयताका आधारमा विभाजन र अग्राधिकारको विषयले सन्देह र असुरक्षाको भाव बढेको छ। शासनमा जातीय अग्राधिकार कायम गर्ने हो भने केन्द्रीय सरकारमा मुलुकभरमा सबैभन्दा धेरै संख्यामा रहेका क्षेत्रीहरूको अग्राधिकार स्थापित हुनेछ। के नयाँ नेपाल ‘कबिला युग'तर्फको यात्राको नाम हो?
माओवादीको उत्ताउलो विरोधका कारण भारतीय जनतामा समेत अहिले नेपाल विरोधी भावना उत्पन्न हुन लागेको छ। सरकारभन्दा पनि भारतीय जनता चिढिए भने नेपालको धेरै क्षति हुनेछ। भारतलाई अहिले चिढ्याउनुको उद्देश्य संविधानसभाबाट ध्यान अन्तै लैजानु त हैन? नेपालको राजनीतिमा भारतको अति विरोध गर्नेहरू सधैँजसो भारतीय स्वार्थअनुरूप परिचालित हुने गरेको इतिहास छ। भारतको कुबेलाको अस्वाभाविक विरोध उसलाई उक्साउन प्रायोजित नौटंकी त हैन? कतै सधैँ बाघ आयो भनेर गाउँलेलाई झुक्याउने गोठालाले साँच्चै बाघ आउँदा गुहार नपाएको कथा दोहोर्याउने नियत त छैन?
साभारः नागरिक दैनिक
No comments:
Post a Comment