दिल्लीको एअरपोर्टबाट एअर टेलको काउन्टरबाट बेलायत फोन गर्न मिनेटको १५ रुपैया लाग्छ भने काठमाडौंका लागि २५ रुपैया।
म्युनिखबाट आएको लुफ्तान्साको जहाज ओर्लने बेलामा दिएको 'काठमाडौं पठाएको सामान दिल्लीमा फेरि लेखाउनुपर्छ' भन्ने सूचनाले रिस उठ्यो र ग्लानि पनि लाग्यो। दिल्लीमा अलि बेग्लै व्यवहार गरिन्छ काठमाडौं आउने–जाने यात्रुलाई।
दिल्लीमा यात्री ट्रान्जिटमा बसेको हैन हवाइ अड्डामा थुनिएको भान हुन्छ। कोही ५० घन्टा त कोही ३६ घन्टादेखि बसेका भेटिए यसपल्ट। बाहिर जान नपाइने र गन्तव्यमा जाने जहाज पनि छैन। बस्ने कुर्सीमा सुत्ने कि बस्ने? शौचालयमा जहिले पनि यात्रुभन्दा धेरै कर्मचारी भेटिने। धेरैजसो त चर्को स्वरमा झगडा गरिरहेजस्ता।
यस पटक पनि जान्दाजान्दै दिल्ली भएरै जानु पर्यो। काठमाडौंमै उडान ढिलो भयो। चेक इन गरेपछि पनि पर्खँदा पर्खदा हैरान। यात्रुको सुविधाको ख्यालै छैन। अरू बाटो जाँदा एक पटक सुरक्षा जाँच गरेपछि पुग्छ। दिल्ली भएर जाँदा जहाजमा चढ्ने बेलामा समेत खानतलासी हुन्छ। जेट एअरको विमानमा चड्ने बेलामा भएको सुरक्षा जाँचलाई संकेत गर्दै एक जना विदेशी महिलाले भनेकी थिइन् – नेपाली सुरक्षालाई भारतले विश्वास गर्दो रहेनछ। भारतमा पनि सुरक्षा जाँच अलि बढी नै। दिक्कै लाग्ने।
दिल्लीको इन्दिरा गान्धी विमानस्थल भएर यात्रा गर्दा कहिल्यै सजिलो लागेन। दिल्लीसम्म ५ पटक र अन्यत्र जाँदा ३ पटक त्यहाँ ओर्लेको छु। पहिलो पटक एचआईभीसम्बन्धी सार्कस्तरीय बैठकमा भाग लिन जाँदा दिल्ली विमान स्थलमा ओर्लेको हो। जाँदा सुटकेस खोल्न लगाएर पसारो पारेकोबाहेक अरू दुःख पाइएन। आउँदा कचकच गर्ने भारतीय बेहोर चिनेकाले उनीहरूले आपत्ति गर्ने केही ल्याइन। तर, सँगै गएकी डाक्टर सरोजले दिल्लीमा पूजा गरेको नरिवल प्रसादका रूपमा ल्याएकी थिइन्। नफुटाई ल्याउनै दिएनन्। बिचरीले मन अमिलो बनाएर फुटाइन्। यो सन् १९९२ तिरको घटना हो।
भारतका प्रधानमन्त्री नरसिंह राव नेपाल भ्रमणमा आउन लागेका थिए। यता शेरबहादुर देउवा प्रधानमन्त्री थिए। भारतीय दूतावासले केही पत्रकारलाई भारत भ्रमणमा लग्यो। म पनि सामेल भएँ। त्यस पटक खासै अप्रिय घटना त केही भएन तर सुखद भने थिएन। सँगै गएका केही साथीलाई सामान जाँच गर्ने क्रममा दुःख दिइएको थियो।
हृेडरिक न्युमन फाउन्डेसनको निम्तोमा जर्मनी जाँदा दिल्ली भएर जानुपर्ने भयो। विमानस्थलमा उत्रेपछि सोझै टा्रन्जिट लाउन्जमा जान नदिएर भेडाँ गोठालाले जसरी हाँकेपछि दिक्क लाग्न थालेको लुफ्तान्साको विमानभित्र नपसुन्जेल मन खिन्न भइरह्यो। लुफ्तान्साका कर्मचारी आएर पासपोर्ट र टिकट लिएर गएको ६ घन्टासम्म पनि अत्तोपत्तो भएन। हातमा बोर्डिङ पास नपरेसम्म छटपटी लाग्ने नै भयो। विमान कम्पनीका काउन्टर ट्रान्जिट लाउन्जमा नभएकाले कसलाई सोध्ने? प्रहरी वा विमानस्थलमा कर्मचारीलाई सोध्यो हरियाणवी हिन्दीमा 'पता नहीँ' बाहेक केही उत्तर नपाइने। मध्यरातमा विमान उड्नुभन्दा आधाघन्टा अघिमात्रै बोर्डिङ पास हातमा लिएर लुफ्तान्साका कर्मचारी आए। अनि फ्र्यान्कफर्टका लागि काठमाडौंबाटै पठाएको सामान फेरि चेक गर्नुपर्छ भन्न थाले। सुटकेसमा काठमाडौं विमानस्थलमा सुरक्षा जाँचपछि बाँधिएको फिता जस्ताको तस्तै थियो। भारतीय चित्त बुझेन। उनीहरूका अगाडि सामान मेरै हो भनेपछि बल्ला जान पाइयो। फर्कँदा उस्तै दुःख। विमानस्थलमा रातभर अनिदो। लामखुट्टेले टोकेर सुत्नै नदिने। बस्ने ठाउँ पनि अप्ठेरो। त्यस पटक नेपाल वायु सेवाको उडान सधैँजस्तै रद्द भयो। अनि इन्डियन एअरलाइन्समा आउनु पर्यो। त्यही पनि लुफ्तान्साका कर्मचारीले मिलाइ दिएकाले। नेपाल वायुसेवाका कर्मचारी त रातभर देखै परेनन्। बल्ल बल्ल फ्यान्कफर्टबाट काठमाडौंसम्मका लागि पठाएको सामान फेरि मेरै हो भनेर सनाखत गर्ने झन्झट आइलाग्यो। फ्य्रान्कफर्टमा लुफ्तान्साका कर्मचारीले काठमाडौं सामान पठाउनै मानेनन्। काठमाडौं जाने जहाज भारतको आन्तरिक उडान हो भन्ने तर्क गरे। झोँकै चल्ने। मान्ने कुरै भएन। काउन्टर नछाडेपछि हाकिम आइपुगे। ती सज्जन नेपाल आएका रहेछन् र मात्रै समस्या समाधान भयो। नेपाल अर्कै देश साबित भयो। तर, दिल्ली आएपछि घुमाइफिराई व्यवहार त उस्तै। त्यहाँबाट उम्कन पाउँदा ठूलै काम भएजस्तो लाग्ने। त्यस पछि २ पटक दिल्लीसम्म मात्र गएको हो। पुराना कटु अनुभवले हो कि पटक्कै रमाइलो लागेन।
अमेरिका गएर जर्मनी आउने कार्यक्रम भएकाले अलिकति घुमाउरो भए पनि लुफ्तान्साकै उडान सजिलो र सस्तो हुने ठानेर त्यही रोजियो। साथमा २ जना पूर्वबालश्रमिक थिए। दिल्लीमा फेरि सास्ती पाइयो। टिकट र पासपोर्ट लिएर गएकी लुफ्तान्साकी कर्मचारी कता हराइन् कता? जहाज उड्न पौने घन्टा मात्र बाँकी हुँदा तिमीहरूसँग सोधपुछ गर्नुपर्छ भन्न थाले। अमेरिकी दूतावासले माग्दै नमागे पनिे ५ वर्षे भिसा दिएको थियो। यस्तो भिसा कसरी पायौ भनेर पो सोध्न थाले। झोँक चल्यो। भिसा नक्कली हो भन्ने लागे त्यही भन हैन भने कसरी पायौ भनेर अमेरिकी दूतावासलाई सोध भन्ने ओठे जवाफ दिएपछि उनीहरू खलबल गर्न थाले। फर्केर कतै गए। जहाज उड्नै लागेपछि बल्ल सामान सनाखत गर्न लगाए। हाम्रा सुटकेसहरू त छैनन्। काठमाडौंबाटै वासिङटनसम्म पठाएको सामान त उनीहरूले नपठाउने भनेर झकेका रहेछन्। बल्ल बल्ल भेटियो। फर्कँदा पनि उस्तै कचकच।
नाति भेट्न बेलायत जान लागेकी हजुर आमालाई दिल्लीको सास्ती खुवाउन्न भनेर सकेसम्म अन्तैको टिकट खोजेको थिएँ। के के मिल्दै मिलेन। भिसा नलिई टिकट कन्फर्म गर्ने कुरा भएन। भिसा आएपछि टिकटलाई क्रिसमस र नयाँ वर्ष लाग्यो। जेट एअरको उडानमा ट्रान्जिट कम रहेछ। दिल्ली भएरै भए पनि टिकट दिइहाल्नु पर्ने देखियो। अलिकति महंगै भए पनि जेटको काठमाडौंँ– दिल्ली–लंडनको टिकट लिइयो। उड्ने दिन त जहाज बेलामा आउनै सकेन। त्यसले लंडनको जहाज नभ्याउने भएपछि जेटले अरू जहाज खोज्न थाल्यो। दिल्लीमा ९ घन्टा ट्रान्जिटमा बसेर इत्तिहादको जहाजबाट दुबई हुँदै पहिलेको भन्दा १४ घन्टा ढिलो लंडन पुग्ने गरी जानु पर्यो। धन्न काठमाडौंमा नै सबै थाहा भएर लंडनमा लिन आउनेले पनि सास्ती पाउनु परेन। आत्तिनु परेन।
यति भएपछि पनि कुनै मूर्ख दिल्ली भएर आउला त जस्तो तपाईँलाई लाग्ला। मै आउनु पर्यो। जर्मनीमा रगमार्कको मिटिङ थियो। दिल्ली हुँदै आए सस्तो हुन्छ भने। मान्नै पर्यो। यात्राको उत्साह आधा कम भयो। तोकिएको समयमा एअरपोर्ट आइ पुगेको काउन्टरै खुलेन। बल्लबल्ल जेट एअरको काउन्टर नेपाल वायु सेवा निगमका कर्मचारीले खोले। काउन्टरमा परिछन् नौली बहिनी। ह्यानोभरसम्मै ब्यागेज पठाउने भनेको त खैलाबैला भइगयो। जान्ने पल्टिएर आएका अर्का भाइले भने ह्यानोभर त रेल्वे स्टेसन हो। टिकट हेरेर खोज भनेपछि बल्ल बिचराले भेटेछन्।
दिल्लीमा लामो पर्खाइ थियो। काठमाडौंबाटै जहाज ढिलो भयो। ढिलो भए पछि दरै खाना देलान् भनेको त पाउभाजीमा टारे। सबा १२ बजे घरबाट निस्केको मान्छे दिल्ली पुग्दा झन्डै ६ बजेको थियो। जर्मनी जान बिहानको ३ बजे जहाज उड्ने।
जानीजानी दुःखै दिएको हैन होला तर दिल्लीको बाटो अन्तर्राष्ट्रिय यात्रा गर्दा रमाइलो र सजिलो अनुभव कहिल्यै भएन। विमानस्थल तुलनात्मकरूपमा सुविधाजनक त छैन नै मानवीय व्यवहार पनि हार्दिकतापूर्ण छैन। ट्रान्जिट लाउन्जमा विमान कम्पनीहरूको डेस्क नभएकाले बढी असुविधा भएको हो कि? नेपालीलाई बढी हेपेर हो कि? मनमा त्यस्तो लागेको मात्रै हो कि? दिल्ली भएर जानुपर्दा साह्रै दिक्क लाग्छ। नत्र दिल्ली नजिकको ठूलो विमानस्थल हो। पहिले कलकत्ता, त्यसपछि हंगकंग र बैंककजस्तै दिल्ली हाम्रा लागि सजिलो ढोका हुने थियो। अरूको पैसामा जानुपर्दा उनीहरूको खटन हुन्छ नत्र म त सकेसम्म दिल्ली भएर जाने थिइन।
No comments:
Post a Comment