Tuesday, March 31, 2015

बन्धकमा विवेक

प्रधानमन्त्री सुशील कोइरालाकै शासन कालमा न्यायको खोजीमा अनशन बसेका नन्दप्रसाद अधिकारीको ज्यान गयो। उनको अन्तिम संस्कार अझै भएको छैन। पत्नी गङ्गामाया अझै पनि अस्पतालमै छिन्। छोराका हत्यारामाथि प्रचलित कानुनअनुसार कारबाही होस् भन्नेमात्र अधिकारी दम्पतीको माग थियो। तैपनि, राज्यले तिनलाई न्याय दिएन। नन्दप्रसादको मृत्यु नेपालको इतिहासमा कहिल्यै नमेटिने कलङ्क बन्न पुग्यो। तैपनि, प्रधानमन्त्री कोइरालाई जनताले क्षमा दिएजस्तै देखिएको थियो। कोइरालाका मुखर आलोचकहरूले समेत बिस्तारै त्यस घटनालाई बिर्सन खोजेका थिए। 

डा. गोविन्द केसीको अनशनका लागि भने धेरै हदसम्म प्रधानमन्त्री सुशील कोइराला दोषी छन्। जनताले उनलाई 'मेडिकल माफिया'को चंगुलमा फसेको ठानिसकेका छन्। प्रधानमन्त्री कोइरालालाई शंकाको सुविधा दिए पनि परिबन्दले उनलाई दोषी नै सिद्ध गर्छ। सुशील कोइराला प्रधानमन्त्री हुने बेलामा पनि डा. केसी अनशनमै थिए। डा. केसीलाई अनशन भङ्ग गर्न प्रधानमन्त्री कोइरालाले मेडिकल माफियाको राज चल्न नदिने वाचा गरेका थिए। उनैको अग्रसरतामा चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति निर्धारणका लागि शिक्षाविद् केदारभक्त माथेमाको संयोजकत्वमा समिति पनि गठन गरिएको थियो। उनैले नयाँ मेडिकल कलेजहरूलाई राष्ट्रिय नीति नबन्दासम्म सम्बन्धन नदिन लिखितै निर्देशन दिएका पनि थिए। यसैले कम्तीमा मेडिकल कलेजहरूलाई जथाभावी सम्बधन दिन यिनले रोक्नेछन् भन्ने विश्वास धेरैले गरेका थिए। अचानक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा मन्त्रालयलाई पत्र लेखेर नयाँ सम्बन्धने प्रक्रिया सुरु गर्न निर्देशन दियो। मेडिकल माफियाको प्रभावमा पहिल्यै परिसकेको शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले निहुँ पाइहाले। हतारहतार मिल्ने नमिल्ने सबै उपाय अपनाएर नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन दिने प्रक्रिया थाले। प्रधानमन्त्री सुशील कोइरालाको विश्वासमा अनशन भंग गरेका डा. केसी सायद सबैभन्दा बढी दुःखी भए। देशलाई मेडिकल माफियाको चंगुलबाट मुक्त गर्ने अरू उपाय नदेखेर डा.केसीले पुनः अनशन थाले। नैतिक शक्ति हुने र अहिंसामा विश्वास गर्नेहरूले प्रयोग गर्ने अन्तिम अश्त्र यही हो। माग पूरा नभएसम्म अनशन नतोड्ने दृढता उनले प्रदर्शन गरेका छन्।

(यसबीच उनको स्वास्थ्य निकै बिग्रेको चिन्ताजनक जानकारी चिकित्सकहरूले दिएका छन्। सरकारले समस्या समाधानभन्दा वार्ताको अभिनयमा ध्यान केन्द्रित गरेको देखिएको छ। देशको स्वास्थ्य र शिक्षाको भविष्य डा. केसीको अनशनको सफलता र विफलतामा निर्भर हुनेदेखिन्छ। स्वास्थ्य र शिक्षाको जिम्मा राज्यले लिने कि व्यापारीलाई दिने? स्वास्थ्य र शिक्षाको जिम्मा राज्यले लिने हो भने डा. केसीका माग पूरा गर्न एकछिन पनि अलमलिनु पर्दैन। शिक्षा र स्वास्थ्यसम्बन्धी दायित्वबाट राज्य पन्छने हो भने शासन पनि व्यवसायीलाई सुम्पे हुन्छ। त्यतिबेला डा. केसीले अनशन पनि गर्नेछैनन्। नत्र, तत्कालका लागि कम्तीमा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने चिकित्साशास्त्र अध्ययन संस्थानको निर्णयलाई त्रिभुवन विश्वविद्यालय प्रशासनले रकमी खेल गरेर नउल्ट्याउने वाचा गर्ने र त्रिवि पदाधिकारीमाथि लागेको आरोपको छानबिन गर्न तिनलाई निलम्बन गर्ने हो भने डा.केसीले पनि अनशन भंग गर्नुपर्छ। (यति भएपछि अलिकति पनि नैतिकता भए त्रिवि पदाधिकारीले राजीनामा गरिसक्नुपर्थ्यो।) प्रधानमन्त्री सुशील कोइरालाको नियतको कसी बनेको डा. केसीको अनशनले कोइराला र कांग्रेसको नियति पनि निर्धारण गर्नेछ। हेरौँ प्रधानमन्त्रीलाई 'राजा नहुष' बनाउन खोज्नेहरू कति सफल हुनेहुन्? यी पंक्तिहरू लेख्दासम्म सकारात्मक संकेत देखिएको छैन। पाठकका हातमा पत्रिका पुग्दासम्म डा. केसीका माग पूरा भएर उनले अनशन तोडिसकेको थाहा पाउन पाए हुन्थ्यो। )

प्रधानमन्त्री कोइरालाबाट शासनमा ठूलो सुधार वा राष्ट्रको उन्नति हुने कामको अपेक्षा सायद कसैले पनि गरेको थिएन। यस्तै, पदको लोभ नभएको छवि बनाएका कोइरालाले सत्ताका लागि यसरी विवेकलाई नै बन्धक राख्लान् भन्ने पनि सायद कसैले सोचेका थिएनन्। उनका कार्यकालमा खासै चर्को घोटाला भएको समाचार नआएकाले पनि कोइरालाई नेपाली जनताले औँला ठड्याउन परेको थिएन। दुर्भाग्य, डा. गोविन्द केसीलाई दिएको वचन उल्लंघन गर्दा अहिले उनी चेतनशील नागरिकहरूको आलोचनाका पात्र बन्न पुगेका छन्। त्यसमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लेखेको पत्रका लागि पनि सत्ता साझेदार नेकपा (एमाले)माथि दोष थोपर्न थालेपछि त उनको बचेखुचेको साख पनि सकियो। एमालेकै दबाबमा परेर उनले पत्र लेखेका भए पनि अहिले तर्कनु 'पानीमाथि ओभानो' हुनुखोज्नु मात्रै हो। डा. केसीको अनशनका लागि नैतिक र वैधानिक दुवै दृष्टिमा दोषी त कोइराला नै देखिन्छन्।

भानुभक्तको रामायणमा एउटा प्रसङ्गमा रामले बालीलाई लुकेर बाण हानेपछि बानर राज बाली भन्छन् — 'चोरी मारिलियौ न यश हुन गयो न मासु खानु भयो।' एमालेका केही प्रभावशाली नेता आफ्नो लगानीको मेडिकल कलेजलाई सम्बन्धन दिलाउन कम्मर कसेर लागेका छन् भन्ने दुनियाँलाई थाहा छ। उनीहरूले सार्वजनिकरूपमै दबाब पनि दिएका छन्। सत्ताका लागि विवेक बन्धक राखेर सम्झौता गरेकै भए प्रधानमन्त्री कोइरालाले 'नीलकण्ठ' बन्ने हिम्मत गर्नुपर्थ्यो। कम्तीमा एमालेका नेताहरूले गुन त मान्थे। तर उनले त एमालेको दबाबले त्यसो गर्नु परेको हो भनेर पन्छन खोजे। अब एमालेले नै पो उनलाई कसरी विश्वास गर्ला र? जनताका आँखामा त उनको साख यसै नै गिरेको छ। अर्थात्, न गठबन्धनका सहयोगीको विश्वास कायम राख्न सके न आफ्नो साख नै जोगाउन सके।

सत्याग्रही डा. गोविन्द केसीलाई प्रधानमन्त्री कोइरालाले धोका दिएको पापले सिंगै काग्रेसलाई पोल्छ। कांग्रेस सिद्धान्तसँग सम्झौता नगर्ने लोकतन्त्रवादी दल हो भनेर नेपाली जनताले पत्याउने आधारहरू मेटिँदै जान लागेका छन्। व्यक्तिगतरूपमा कुनै नेताले डा. केसीका मागमा समर्थन जनाउनुको कुनै अर्थ छैन। केसीको अनशन स्थलमा वा सामाजिक सञ्जालमा उनको समर्थन गर्ने तर सरकार र आफ्नै पार्टी सभापतिलाई गलत बाटामा जान रोक्न अग्रसर नहुने प्रवृत्ति पाखण्डमात्रै हो।

यता कि उता?
डा. गोविन्द केसीको जस्तो साहस र नैतिक शक्ति हामीमध्ये धेरैमा छैन। आफ्ना समस्या, आफूमाथि भएको अन्याय र बेथितिलाई कुनै न कुनै डा. केसीले सुधार गरिदेलान् भनेर पर्खिबसेका हुन्छौँ हामी। डा. गोविन्द केसी मेडिकल माफियासँग लड्न सफल होलान् नहोलान्? विवेक र नैतिकता नभएको सत्ता सबैभन्दा डरलाग्दो र अविश्वसनीय हुन्छ। तर, मुलुकमा हिंसाविना नै परिवर्तन होस् भन्ने चाहने हो भने डा. केसी हार्नु हुँदैन। उनलाई हार्न नदिन अहिले हामीले पनि डर र लोभ त्याग्नुपर्छ। अहिले चुप लाग्दा बोल्ने मौकै नआउन सक्छ। नागरिक समाजले देखाएको समर्थन सशक्त बनाउनुपर्छ। साथै, केसीको मागको समर्थन गर्नेहरूले घृणा र उत्तेजनाको खेती गरे भने त्यो प्रत्युत्पादक हुनेछ। कुण्ठा र प्रतिशोध मिसियो भने अनशन प्रभावहीन हुन्छ। गलत तत्व मिसिए भने केसीको नैतिक शक्ति कमजोर हुनेछ। नैतिक बल नभए अनशन सफल हुनसक्तैन। केसीको समर्थन गर्नेमा उनको अनशनलाई आफ्नो व्यक्तिगत अभीष्ट पूरा गर्ने अवसर बनाउन खोज्ने पनि भेटिए। केसीको समर्थन गर्ने हो भने अहिले उनको मागमा अरू केही मिसाउने दुस्साहस कसैले पनि नगरून्। केसीका युवा शिष्यहरू सावधान होऊन्। अनशनमा घृणा वा उत्तेजना मिसाउनु दूधमा चुक हालेजस्तो हो। अचार अमिलो नभए स्वादिलो हुँदैन तर खीरमा अमिलो हाले विष हुन्छ।

सत्ताको आश र त्रासमा विवेक बन्धकी राख्ने कि सत्य र न्यायका पक्षमा उभिने नैतिक साहस देखाउने हो भन्ने निर्णय गर्न ढिलो नगरौँ। समयले कसैलाई पर्खँदैन।

सामन्तवादको उत्तराधिकार
चीन भ्रमणमा निस्केका राष्ट्रपति डा. रामवरण यादवलाई शीतलनिवासदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्म पुर्यारउन सुरक्षाका नाममा सिङ्गै काठमाडौंलाई हल न चल बनाइयो। यसरी सार्वजनिक यातायात अवरुद्ध पारिँदा मर्कामा पर्नेले कति गाली गरे वा सरापे भन्ने राष्ट्रपतिका सहयोगी र चाटुकार कसैले पनि उनलाई पक्कै सुनाउँदैनन्। सुनाए भने पनि रणबहादुर शाहलाई साँढे मरेको समाचारजस्तो बनाएर सुनाउलान्। त्यसो त राष्ट्रपति यादवले सामाजिक सञ्जाल नियाले आफैँ पनि थाहा पाउँथे होलान्। यसभन्दा पहिले पनि विशिष्ट व्यक्तिको आवागमनका निहुँमा जनताले सास्ती पाएपछि सामाजिक सञ्जालमा मात्र हैन मूलधारमा सञ्चार माध्यममा समेत त्यसको चर्कै विरोध भएको थियो। बीचमा एकाधपटक राष्ट्रपति डा. यादवले सुरक्षाकर्मीलाई जनतालाई मर्का नपर्ने गरी आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको समाचार पनि आएको थियो। तर, नागरिकलाई 'मामुली' र शासकलाई 'विशिष्ट' ठान्ने कुसंस्कार ग्रस्त शासन संयन्त्रले सुधारको प्रयास गर्नै चाहेन। राष्ट्रपति स्वयंले पनि सुधारका लागि नभएर सायद समाचारका लागि निर्देशन दिएका थिए। नत्र उनले त्यस्तो निर्देशन कार्यान्वयन गराउन सक्नुपर्थ्यो। (मन्त्रिपरिषद्ले विशिष्ट व्यक्तिको आवागमनमा सास्ती नदिन निर्देशन दिएको छ रे! ) हेरौँ अब राष्ट्रपति चीनबाट फर्कने दिन जनताले सास्ती पाउँदैनन् कि? राष्ट्रपति जाँदाआउँदा मात्र हैन उनलाई पुर्या उन जाने 'विशिष्ट' व्यक्तिहरू जानेआउने बेलामा पनि सडक अवरुद्ध पारिन्छ। गएको बिहीबार एसएलसी, जिल्ला स्तरीय र विद्यालयमा आन्तरिक परीक्षा चलिरहेका थिए। बेला ठिक्क अड्कलेर निस्केका विद्यार्थी बाटो थुनिएपछि बिचल्लीमा परे। तीमध्ये कतिको जाँचै छुटेको हुनसक्छ। जाँच छुट्ने डरले आत्तिएका कतिले राम्ररी लेख्न पनि सकेनन् होला। शासकहरूले कहिल्यै यस्ता समस्याबारे सोचेका छन्?

राष्ट्रपतिलाई शीतलनिवासबाट हेलिकप्टरमा विमानस्थल पुर्याए जनतालाई सास्ती दिनै पर्दैन। सडकबाटै हिँडाउने हो भने पनि शीतलनिवासबाट बालुवाटार हुँदै भित्री बाटो प्रयोग गरे पनि अलि थोरैलाई सास्ती हुन्थ्यो। चक्रपथकै बाटो हिँडाए पनि सहरभित्रबाट जाँदाआउँदा भन्दा यातायात थोरै बिथोलिन्छ। सहरभित्रकै सडक प्रयोग गरे पनि बन्द नगरी हिँडाए खासै मर्का पर्दैन। तर, राजाहरूले जे गरे, जसो गरे त्यसै नगरी राष्ट्राध्यक्षको मर्यादा नै हुँदैन भन्ने सोच भएका शासक र प्रशासकका कारण सामन्ती शैलीमा सानो सुधारसम्म पनि भएन।

राजाले जे गर्थे राष्ट्रपतिले पनि त्यसै गर्नुपर्ने त पक्कै थिएन। उनले जनताको सुविधालाई प्राथमिकता दिने सुरक्षा व्यवस्था अपनाउन लगएका भए सबैले सराहना नै गर्थे। राष्ट्रपति डा. यादवको कार्यकाल सकिने बेला भयो। जनताले नेपालका प्रथम राष्ट्रपतिलाई सामन्ती संस्कारलाई निरन्तरता दिने शासकका रूपमा सम्झनुपर्ने भयो।

र अन्त्यमा,
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले आयोगका सिफारिस कार्यान्वयन गरेर मानव अधिकार प्रबर्धन गर्न सहयोग नगरे पदबाट राजीनामा दिने चेतावनी दिएका छन्। अध्यक्ष शर्माको चेतावनीलाई अहिलेको सरकारले गम्भीररूपमा लेला भनेर विश्वास गर्ने कुनै आधार त छैन तर, शर्माले बोलेको पुर्याधउनसक्छन्। यी पदमा पुग्न मरिहत्ते गर्ने राजनीतिकर्मी वा पद नभए अस्तित्व नै सकिएको ठान्ने कारिन्दा संस्कारमा दीक्षित व्यक्ति हैनन्। पदमा टिक्नैका लागि यिनले विवेक बन्धक पक्कै राख्नेछैनन्। यस्तै, राजीनामा गर्ने अठोट गरे भने यिनले जोखाना पनि गर्नेछैनन्। तर, यिनको राजीनामा मुलुकका लागि अभिशाप बन्न सक्छ।

Friday, March 27, 2015

सर्वसत्तावादीसँग सहमतिको खोजी

'सहमति, संवाद र सहकार्य' थेगो भएका प्रधानमन्त्री सुशील कोइरालालाई 'उल्लु' बनाएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उनको नेतृत्वका मधेसी तथा जनजाति नेता दोस्रो चरणको आन्दोलनको तयारीमा हिँडेका छन्। बीचमा वार्तामा बस्ने उनीहरूको निर्णय त पहिलो चरणको आन्दोलनको थकाइ मेटाउने उपायमात्रै रहेछ। यहीबीच एमाओवादी अध्यक्ष दाहालले आफ्ना मान्छेलाई संवैधानिक निकायमा छिराउने मौका पनि छोपे। 

सत्ता साझेदारहरूबीच झगडाको बीउ रोप्ने प्रयास पनि गरे। संविधान सभामा सुरु भएको संविधान निर्माण प्रक्रियालाई 'अनिश्चित कालसम्म' स्थगित गरेर सहमतिको खेती गर्न हिँडेको सत्तापक्ष विशेषगरी प्रधानमन्त्री कोइराला चाहिँ तिनैको स्वार्थ पूरा गर्न र गराउनैमा तल्लीन देखिए। संविधान निर्माण झन् दुरुह र जटिल बन्न पुग्यो। त्यतिमात्र हैन संसद्को हिउँदे अधिवेशन बोलाउने मेसो पनि सरकारले पाएन। अर्थात्, चौपटतन्त्र। र, यो स्वाभाविक पनि थियो। किनभने, सर्वसत्तावादीहरूले सहमति र सहकार्य शब्द जति रटे पनि व्यवहारमा अभ्यास भने निषेधको गर्छन्। कम्युनिस्टहरू त सैद्धान्तिकरूपमै सर्वसत्तावादी हुन् भने जनताले चुनेका प्रतिनिधिले निर्णय गर्न पाउँदैनन् भन्ने अरू मधेसी र जनजातिलाई पनि अरू जे भने पनि कम्तीमा लोकतन्त्रवादी चाहिँ भन्न मिल्दैन। अर्कातिर, सिद्धान्ततः लोकतन्त्रवादी भए पनि संविधान सभाबाहिर समाधान खोज्न अग्रसर भएर नेपाली कांग्रेसका नेताले पनि सर्वसत्तावादकै औँला समाएका छन्। यसैले वार्ता छाडेर विपक्षीहरू आन्दोलनमा लागेकोमा आश्चर्य मान्नुपर्दैन। नियत, स्वार्थ र सिद्धान्तका कारण अहिलेको अल्पमत पक्ष कुनै पनि अवस्थामा संविधान सभाबाट संविधान बन्न दिन तयार हुनेछैन। नपत्याए, अल्पमतले राखेको सबै प्रस्ताव स्वीकार गर्न बहुमत पक्ष तयार भएको जनाउ दिएर हेरे हुन्छ। एमाओवादी नेतृत्वमा रहेका दलहरूले उनीहरूकै बीचमा सहमति कायम गर्न सक्तैनन्। जनतालाई सर्वोच्च नठान्दासम्म हुने पनि यस्तै हो। सत्ता र समग्र राजनीतिकै चरित्र र अभ्यासमा सामन्ती सर्वसत्तावाद कायम रहुन्जेल जनतालाई वास्तवमै सर्वोच्च हुन पनि दिइनेछैन।

सामन्ती सत्ताको निरन्तरता
पञ्चायत राणा शासनको नयाँ अवतार थियो। सीमित राणाहरूको साटो अलि धेरै भारदार शासनमा संलग्न हुने व्यवस्था। लोकतन्त्रको स्थापना, पुनःस्थापना, गणतन्त्र घोषणा केहीले पनि शासनलाई राणाकालीन धङधङीबाट मुक्त गर्न सकेको देखिएन। लाग्छ, अहिले पनि भारदारहरूकै शासन छ राणाकाल र पञ्चायतको नयाँ 'एक्सटेन्सन ' का रूपमा। दल छन् गुटका साटो। नेता छन् र राजा र भारदारका ठाउँमा। साहुजीहरू सत्ताको दलाली गर्छन् अझ त्यसोभन्दा पनि भन्नुपर्छ होला भारदारहरू सत्ताका लागि साहुजीहरूको दलाली गर्छन्। साहुहरूमा बहुराष्ट्रिय कम्पनीदेखि स्थानीय भट्टीवालासम्म सबैको आआफ्नै प्रकारको प्रभाव र पहुँच छ। पहिले नजराना टक्य्राउनेहरू अहिले 'कुकुरलाई हड्डी' फाल्छन्, गोरुलाई घाँस हाल्छन्। कानुनले उति बेला पनि ठूलाठालुलाई छुँदैनथियो। अहिले पनि छुँदैन। राज्यले एउटा वर्गलाई विशेष बनाएको हुन्थ्यो र त्यस कोटरीमा सदस्य थप्ने क्रम चलिरहन्थ्यो। अहिले पनि चलिरहेको छ विशेषवर्ग 'मोर इक्वेल'हरूको क्लबको सदस्यता विस्तार। नत्र, सत्तामा जनताको यथार्थ प्रतिविम्बित हुन्थ्यो। 

सरकारको प्राथमिकता
विश्वेश्वरप्रसाद कोइरालाले प्रधानमन्त्री भएका बेला राष्ट्रिय योजना आगोगको बैठक कक्षमा राजासँगै हलोजोत्दै गरेको किसानको तस्बिर पनि झुन्ड्याउने निर्देशन दिएका थिए। त्यस्तो तस्बिर २०४६ पछि झुन्ड्याइयो पनि। राजासँगै देशमा गरिब किसान पनि छन् र उत्तिकै महत्व तिनलाई पनि दिइनुपर्छ भन्ने बुझाउन उनले किसानको तस्बिर राख्न भनेका थिए। उनका लठुवा अनुयायीले त्यसको शब्द त बुझे भाव भने सायद बुझ्दै बुझेनन्। वा बुझेर पनि बुझ पचाइदिए। अहिले राजाको तस्बिर त हटाइयो होला तर राज्य र जनताबीच सामन्तवादले बनाएको दूरी कायमै छ। अहिले त झन् गाउँमा महिलाले अनौ समाउनु परेको छ र मानिसहरू नारिएर वा एक्लै हलो तान्नु परेको छ। राष्ट्रिय योजना आयोगलगायत सम्भवतः कुनै पनि सरकारी कार्यालयमा त्यस्ता तस्बिर राखिएका छैनन् होला। अरबको खाडीमा उसिनिएर पठाएको पैसाले सरकार चलाउनेको गाडी चल्छ। वैदेशिक रोजगारमा गएको कुनै युवाको उदास अनुहार सरकारी बैठक र सभाकक्षमा सायद कतै पनि छैन। यसैबाट स्पष्ट हुन्छ नेपालको राजकीय संस्कार र राज्यको प्राथमिकता। जनता सँधै मामुली मान्छे भइरहन्छन् भुइँफुट्टाको शासनमा। र, वैध अवैध भ्रष्टाचार पनि निरन्तर रहन्छ।

भ्रष्टाचारको मुहान
प्रधानमन्त्री हुनेबित्तिकै सुशील कोइरालाले भ्रष्टाचार विरुद्ध भाषण गरे। उनको छवि भ्रष्ट पनि थिएन तर भ्रष्टाचार कम गर्ने नीति र उपाय अपनाएनन्। यसैले अहिले आफैँ भ्रष्टाचार बढेको गथासो सुनाउँदै हिँड्नुपरेको छ। प्रचार पाखण्डले भ्रष्टाचार कम हुँदैन। 'एकाधिकार र तजबिजी अधिकार हुने तर जवाफदेही नहुने' शासनमा भ्रष्टाचार बढ्छ भन्ने रबर्ट क्लितगार्डको सूत्र अहिले पनि उत्तिकै सान्दर्भिक छ। भ्रष्टाचार कम गर्न शासनमा पारदर्शिता र उत्तरदायित्व बढाउने तथा एकाधिकार एवं तजबिज घटाउने अभ्यास हुनुपर्ने सल्लाह उनले दिएका छन्। एकैपटक यी सबै काम व्यवहारमै अभ्यास गर्न गराउन सजिलो पक्कै हुँदैन तर पारदर्शिता र जवाफदेहीको बाटामा लाग्ने हो भने मात्र समाजलाई बिस्तारै भ्रष्टाचारविरुद्ध जागरुक बनाउन सम्भव हुन्छ। ( सुशील कोइरालाको शासन हेर्दा झलक्क पञ्चायतका 'मिस्टर क्लिन' लोकेन्द्रबहादुर चन्दको सरकारको सम्झना हुन्छ। प्रधानमन्त्री चोखो देखिने तर मन्त्रीहरूले भ्रष्टाचारको रकर्डै तोड्ने गरेको देखिन्थ्यो।)

यहाँ त, सरकारी निर्णयहरू पारदर्शी गर्ने भनेको निर्णय सार्वजनिक गर्नुमात्र हो भन्ने ठानिन्छ र पो त! पारदर्शिता त उस्तै परिस्थिति भए निर्णय पनि समान हुनुपर्छ भन्ने पनि हो। व्यक्ति विशेषको प्रभाव र पहुँचबाट राज्यको निर्णय प्रभावित हुनुहुँदैन भन्ने पनि हो। विडम्बना, भ्रष्टहरू त यसै पनि भ्रष्टाचार बढाउन लाग्ने नै भए 'स्वच्छ' भनिएका सुशील कोइरालाबाट पनि भ्रष्टाचार कम गर्न कुनै भरपर्दो काम भएन। र, शासनमा निर्णायक रहिआएका सत्ताका दलालहरू व्यवस्थालाई पारदर्शी हुन रोक्न सफल भइरहने छन्।

सत्ताको चरित्र
वैदेशिक रोजगार प्रवर्धन बोर्डको कामदार कल्याणकारी कोष सञ्चालनमा देखिएका विकृतिहरू अहिलेको राज्यको नीति र प्रवृत्तिको यथार्थ प्रतिविम्ब हुन्। कोषमा जम्मा भएको पैसा तिर्नेहरू विदेशमा अलपत्र पर्दा उद्धार नगर्ने तर राजनीतिक र प्रशासनिक पहुँच हुनेहरू तिनैको पैसामा विदेश सयर गर्न लाज नमान्नेहरू भ्रष्ट र सर्वसत्तावादी दुवै हुन्। राज्यको सम्पत्तिलाई निजी ठान्नु सामन्ती प्रवृत्ति हो। सर्वसत्तावादीहरूमा सार्वजनिक सम्पत्तिलाई निजी ठानेर तजबिजमा खर्च गर्ने बानी परेको हुन्छ। पार्टीका नाममा जम्मा गरेको पैसा व्यक्तिका लागि खर्च गर्नु भ्रष्टाचार हो। तर नेपालका सबै पार्टीका नेताहरूलाई त्यसो गर्नु भ्रष्टाचार होजस्तो लाग्दैन। समाजले पनि त्यसलाई भ्रष्टाचार मान्दैन। नत्र, अधिकांश शीर्ष नेताहरू झ्यालखानामा भेटिने थिए। राज्यको ढुकुटीबाट नक्कली लडाकुका नाममा पैसा निकासा गराएर हिनामिना गर्नेमाथि भ्रष्टाचारको कारबाही हुँदा जोखिममा पर्ने शान्ति प्रक्रिया नेपालबाहेक अन्त कतै पक्कै पनि छैन। क्रान्तिका नाममा गरे जे पनि जायज हुन्छ?

सत्ताका दलाल र सहमतिको भोरजुवा
हुनत, सुशील कोइरालाले सत्ताका दलाल पन्छाउलान् भनेर अपेक्षा गर्नु पनि उनीमाथि अन्याय गरेजस्तो हुन्छ। अहिले राजनीतिक रङ्गमञ्चमा रहेका पात्र सायद कसैबाट पनि शासनमा जनताको स्वामित्व स्थापना गराउन सहयोगी हुने अपेक्षा गर्न सकिँदैन। सत्ताको केन्द्रमा सामान्य जनतालाई पुर्यानउने बरु जनताको बाटामा भाँजो हालेर आफैँ शासनको केन्द्र रहिरहने यिनको नियत धेरैपटक उजागर भइसकेको छ। सत्ताका दलालहरूको प्रभाव र पहुँच सीमित बनाउन सकेमात्र शासनमा जनताको पहुँच स्थापित हुन्छ। सहमतिको राजनीतिले मुलुकलाई अनिर्णयको भुमरीमा जाकेको छ। त्यसमाथि शासनमा समेत विधिको साटो सहमतिलाई निर्णायक बनाउँदा भोरजुवा मच्चिने नै भयो। सत्ताका दलालहरूलाई भने सहमतिको भोरजुवा सायद सबैभन्दा अनुकूल हुन्छ।

शीर्ष भनिएका नेताहरूको कुनै एउटा सहमतिमा 'भारतीय नम्बर प्लेटका गाडीहरूमा' बजेटबाट लगाइएको कर खारेज हुनुपर्ने माग पनि समावेश थियो। त्यस सहमतिका अरू बुँदा कता गए के भए सायद सहमति गर्नेहरूले पनि बिर्सिसके तर भारतीय नम्बर प्लेटका गाडीहरू अचेल काठमाडौंका निकै देखिन थालेका छन्। यही उदाहरणले नेपालका राजनीतिक दलहरूको हैसियत र नियत स्पष्ट हुन्छ। यस्तो नियत हुनेहरूले अरूलाई हैसियत देखाउने धम्की दिँदा कुरीकुरी भन्न पनि आफैँलाई लाजलाग्छ।

थपिएका मालिकहरू
अहिले मालिकहरूको तह थपिएको छ। विदेशी मालिकलाई रिझाउने होड चलेको छ। लाजै नमानी लम्पसार पर्न थालिएको छ। भारत, चीन, अमेरिका, युरोपेली संघ धेरै मालिक छन्। सबैलाई रिझाउन नेपाली जनतालाई भित्तैमा पुर्याछउने प्रयास भएको छ। भारत, चीन, युरोप र अमेरिका सबै नेपालका हितैषी हुन् तर त्यसभन्दा पहिले तिनले आआफ्नै स्वार्थ हेर्छन्। नेपालमा लोकतन्त्र फराकिलो र बलियो हुँदाभन्दा यस्तै अस्थिरता आफ्नो स्वार्थमा हुन्छ भन्ने तिनले ठानेको देखिएको छ। हुन पनि, नेपालमा लोकतन्त्र बलियो भए न चीनले तीब्बती समुदायलाई आधारभूत मानव अधिकारको अभ्यास गर्न पनि नदेऊ भने निर्देशन दिन सक्छ न नेपालको 'माइक्रो म्यानेजमेन्ट'मा भारतीय रजगजै सहज हुन्छ, न युरोपेली र अमेरिकीले पैसा देखाएर नेपालको शासन चलाउनै सक्छन्।

कतै पढेको थिएँ- टार्न नसकिने भविष्य र बिर्सन नसकिने अतीतको चेपुवामा परेको इतिहासलाई बेलैमा समातेन भने हातबाट चिप्लिन्छ । यो राणाहरूले ठेक्कामा चलाएको मुलुक हो। राज्य र जनताबीचको सम्बन्ध मालपोत लिने र दिनेमा सीमित थियो। मालपोत उठाउने जिम्मा मुखिया, जिम्मुवाल र जमिनदारलाई दिइन्थ्यो। भन्सार उठाउने कामसमेत ठेक्कामा लगाइएको थियो। राज्य भनेका तिनै सरकारी कामका ठेकेदार थिए जनताका लागि। अहिले पनि गहिरो गरेर हेर्ने हो भने स्थिति धेरै बदलिएको छैन। राज्य देखिने र सुनिने त भएको छ तर जनहितकारी हुनसकेको छैन। सबैभन्दा दुःखको विषय त सरकारमा अनुहार जति फेरिए पनि व्यवहार फेरिएको छैन।

र अन्त्यमा
सडकबाटै समाधान खोज्ने मानसिकता 'क्रान्तिकारी' भन्न सकिएला लोकतान्त्रिक हैन। जति नै क्रान्तिकारी 'जनादेश' भए पनि शासनका वैधताका लागि अन्ततः निर्वाचनमा जानै पर्छ। संविधानको निर्माणमा पनि सामन्ती वा अधिनायकवादीबाहेक कसैले पनि जनताले चुनेका प्रतिनिधिले हैन कथित जनादेशका नाममा जनाधार नभएका ठालुहरूले संविधान बनाउनुपर्छ भन्न सक्तैनन्। जनताले चुनावमा हैसियत देखाइदिएकाहरू समेत जनतालाई देखाइदिने धम्की दिँदैछन्। संविधान सभाको अपमान नेपाली जनताकै अपमान हो। जनताले पनि कुनै दिन यो अपमानको बदला लेलान् तर जनताको प्रतिशोध बढी नै निर्मम हुन्छ।

Monday, March 16, 2015

नदिमको नियति

'न्यायका नौ सिङ' नेपालीमा प्रचलित एउटा भनाइ। 'नेपालको कानुन दैवले जानुन्' भुक्तभोगीहरूको टिप्पणी। न्याय र कानुनलाई एउटै ठान्छन् कतिपय वकिल र न्यायाधीशहरू। तर, कानुन सबै न्यायपूर्ण हुँदैनन्। अन्याय सधैँ गैरकानुनी पनि हुँदैन। यस्तै, गैरकानुनी काम सधैँ अन्याय पनि हुँदैन। तर, अदालतमा न्यायाधीशले त कानुन हेरेर न निर्णय गर्छन्। न्यायाधीशको निर्णयलाई 'न्याय' ठान्ने कि नठान्ने? दुबिधा हुन्छ। उस्तै मुद्दामा न्यायाधीश र अभियुक्त बदलिँदा इन्साफ पनि फेरिएका उदाहरण नेपालका अदालतमा बग्रेल्ती नै होलान्। (कसैले यसको अध्ययन गरेका छन् कि? ) न्यायाधीशहरूसँगै मुद्दा जोडियो भने 'न्यायिक मन' राखेर फैसला गर्न कठिन पनि होला। 

न्यायाधीशलाई बर्खास्त गरेको मुद्दामा पनि न्यायभन्दा प्रतिशोध नै बढी प्रभावकारी होला। यद्यपि, न्यायाधीशले फैसला गर्दा न्यायिक मन राख्ने अपेक्षा एवं विश्वासमा उनीहरूलाई आफ्नो मानहानिको मुद्दासमेत आफैँले हेर्न पाउने सुविधा र अधिकार दिइएको हुन्छ। तर, बेलाबखत न्यायाधीशहरूले न्यायिक मनको मर्म मिचेको देखिन्छ। मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदलाई 'आतंकवादी' ठहर गरी १३ वर्ष कैद गर्ने त्यहाँको अदालतको फैसलामा पनि न्यायिक मन र विवेक प्रयोग भएको देखिएन।

नसिदलाई दिइएको कैद सजायलाई नेपाली सञ्चार माध्यममा खासै महत्व दिइएको देखिएन। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार मालदिभ्सको फौजदारी अदालतको विशेष इजलासले नदिमलाई गत शुक्रबार 'आतंकवाद'मा संलग्न भएको ठहर्यारएर १३ वर्ष कैद गर्ने निर्णय सुनाएको छ। नदिम राष्ट्रपति भएका बेला तत्कालीन प्रधान न्यायाधीश अब्दुल्ला मोहमदलाई पक्राउ गरेको र गैरकानुनीरूपमा थुनामा राखेको आरोप उनीमाथि लगाइएको छ। आधारातमा फैसला सुनाएपछि नदिमलाई तत्कालै झ्यालखानामा पठाइयो। ( फैसला नै मध्यरातमा सुनाइएकाले पनि षड्यन्त्र र न्यायका नाममा अन्याय गरिएको शंका पुष्टि हुन्छ।)

नदिमले भने आफूमाथि लगाइएको अभियोग पूरै अस्वीकार गरेका छन्।

नदिमका समर्थकहरू उनलाई राष्ट्रपति यामिन अब्दुल गयुमको निर्देशनमा सजाय दिइएको ठान्छन्। मालदिभ्समा सन् २०१८ मा हुने राष्ट्रपतिको चुनावमा सबैभन्दा बलिया प्रतिस्पर्धी हुनेथिए नदिम। अहिले नै उनलाई कैदमा हाले पछि 'मैदान साफ' हुने ठाने होलान् गयुमले। नदिमका सहयोगीहरूले यस निर्णयलाई 'पूर्णत राजनीतिक' भनेका छन्। उनीहरूका अनुसार 'राष्ट्रपति नदिमलाई कानुन व्यवसायी राख्न दिइएन, पुनरावेदन गर्नबाट रोकियो, उनका साक्षीहरूलाई बोल्न दिइएन अनि सरकारी अभियोक्ताहरूलाई प्रहरी र न्यायाधीशले निर्देशन' दिइरहे।

नदिमले अदालतमा आफूमाथि लगाइएको अभियोग इन्कार गर्नुका साथै 'सत्ताको अधिनायकवादी शक्तिको प्रतिवाद' गर्न देशवासीलाई आह्वान पनि गरे। समाचार एजेन्सीहरूका अनुसार उनले माल्दिभ्सको न्यायपालिका 'भ्रष्टाचारी र कलंकित' भएको आरोप पनि लगाए। न्यायाधीशहरूले घुस लिने गरेको दाबीसमेत नदिमले गरेका छन्। उनका अनुसार ती न्यायाधीशहरूको निर्णयका कारण सामान्य जनताले अन्याय सहनु परेको छ भने मुलुकको विकास प्रभावित भएको छ।

नदिमको दल माल्दिभिएन डेमोक्य्राटिक पार्टी (एमडीपी)ले उनको मुद्दामा गरिएको फैसलालाई त्यहाँको 'कलिलो लोकतन्त्रमाथि प्रहार ' भनेको छ। पार्टीकी प्रवक्ता साउना अभिनाथका अनुसार 'लोकतन्त्रलाई १३ वर्षका लागि कैद गरिएको' छ र यसले कसैको भलो गर्नेछैन। अहिले ४७ वर्षका नदिम १३ वर्ष कैदमा बस्नु पर्यो् भने छुट्दा ६० वर्षका हुनेछन्।

मालदिभ्समा तीस वर्षसम्म एकछत्र राज गर्ने अधिनायक पूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमविरुद्धको आन्दोलनपछि त्यहाँ बहुदलीय लोकतन्त्र स्थापना भएको ७ वर्षमात्र भएको छ। मौमुनलाई हटाउन भएको आन्दोलनको नेतृत्व वातावरणवादी युवा नदिमले गरेका थिए। श्रीलंका र बेलायतबाट शिक्षा हासिल गरेका नदिम सन् २००८ को पहिलो लोकतान्त्रिक निर्वाचनमा माल्दिभ्सको राष्ट्रपति पदमा विजयी भए। लोकतान्त्रिक अभ्यास हुँदै नभएको समाजमा प्रायः सबै क्रान्तिकारीले गर्ने गल्ती नदिमले पनि दोहोर्यााउन थाले। उनको सरकारले भ्रष्टाचारको अभियोगमा पत्रे्कर थुनेको विपक्षी राजनीतिक कार्यकर्तालाई अदालतले छाडिदिएपछि नदिम अदालतमाथि नै जाइलागेका थिए। यही क्रममा उनको सरकारले तत्कालीन प्रधान न्यायाधीशलाई पक्रने र थुन्ने गरेको थियो। प्रधान न्यायाधीशलाई पत्रे्कपछि मालदिभ्समा महिनौसम्म विरोध प्रदर्शन चल्यो। सम्भवतः त्यति बेलाको विपक्षले अन्तिम लडाइँ गर्ने निर्णय गरेको थियो। लामो अशान्तिपछि सशस्त्र प्रहरीको दबाबमा नदिमले सन् २०१२ मा पदबाट राजीनामा गरे। लगत्तै उनले 'बन्दुक देखाएर राजीनामा गर्न बाध्य पारिएको' भने पनि त्यसपछि सत्ता बदलियो। अन्तरिक सरकारले चुनाव गरायो र नदिम हारे। पूर्वराष्ट्रपति मौमुनकै भाइ पर्ने अब्दुल गैयुम राष्ट्रपति चुनिए। अनि थुनिने पालो आयो नदिमको। यसबीच नदिमलाई पक्रने र छाड्ने क्रम चलिरह्यो। अगिल्लो महिना उनलाई सफाइ पनि दिइएको थियो तर सत्ताको चित्त बुझेन सायद। मुद्दा उल्टियो।

नदिमलाई राजनीतिबाट पन्छाउने माल्दिभ्स सरकारको षड्यन्त्रप्रति भारत र संयुक्त राष्ट्रसंघले चासो लिएको एएफपीले जनाएको छ। पढेर फर्केपछि पत्रिकामा सरकारले सन् १९८९ को चुनावमा धाँधली गरेको आरोप लगाएर पत्रिकामा लेख प्रकाशित गरेपछि त्यतिबेलाको शासनले उनलाई पत्रे्कको थियो। त्यसपछिका वर्षहरू नदिमले धेरै कैदमै बिताए। सन् १९९९ मा उनी मालेबाट सांसद चुनिए पनि राजीनामा गर्न बाध्य पारिएका थिए। यही बीचमा उनी देशबाहिर गए। माल्दिभिएन डेमोक्य्राटिक पार्टी स्थापना गरे। माल्दिभ्समा विरोध प्रदर्शन बढ्न थालेपछि अन्ततः २००५ मा बहुदलीय व्यवस्था स्थापना भयो।

नदिम अहिले कैदमा छन्। चञ्चल सत्ताले कुनै पनि क्षण कोल्टे फेर्न सक्छ। उनी पुनः सत्तामा पुग्न पनि सक्छन्। लोकतन्त्रवादीलाई नदिमप्रति ऐक्यबद्धता जनाउन मन पनि लाग्छ। तर, नदिमको आरोहअवरोह हेर्दा स्थान र नाम बदल्ने हो थुप्रै नेपाली राजनीतिकर्मीको विगतजस्तै देखिन पुग्नेछ। नदिमको नियतिले नेपालका राजनीतिकर्मीहरूलाई झकझक्याउला त?

नेपाली नेताको दुर्योधन प्रवृत्ति
केही दिन पहिले पुष्पकमल दाहालले 'आफूलाई उठी सुख न बसी सुख' भएको गुनासो गरेका थिए। उनको दिक्दारी पढ्दा धेरै वर्ष पहिले विश्वेश्वरप्रसाद कोइरालाले 'आफू एक्लो बृहस्पति भएको' घोषणा गरेको सम्झना भयो। पात्र, परिस्थिति र प्रवृत्ति नितान्त बेग्लै भए पनि राजनीतिक नेताहरूले धेरैजसो प्रतिकूल अवस्था नै भोग्नुपर्ने हुन्छ। राजनीति तिनको आफ्नै रोजाइ भएकाले त्यस्तो नियतिबाट भाग्न पनि सत्तै्कनन्। तर, विवेक प्रयोग गर्ने हो भने सायद जीवनको अन्तिम घडीमा सन्तोषको सास फेर्न सक्छन् बीपी कोइरालाले जस्तै।

दाहालमात्र हैन अधिकांश नेपाली राजनीतिकर्मीहरू 'दुर्योधन पथ'मा हिँडेका देखिन्छन्। महाभारतको उद्योग पर्वमा एउटा प्रसंग छ दुर्योधनको प्रवृत्ति उजागर गर्ने। सम्झौताको अन्तिम प्रयास गर्न कृष्ण हस्तिनापुर गएका बेला दुर्योधनलाई एकान्तमा भेटेर सम्झाउँछन्- तिमीलाई धर्म र न्यायको ज्ञान छ। वनवास र गुप्तवास पूरा गरेर फर्केका पाण्डवलाई उनीहरूको राज्य फिर्ता नगर्नु अन्याय र अधर्म दुवै हो। तैपनि किन तिमी आफूलाई नसुहाउने हठ गरिरहेका छौ?' कृष्णका कुरा सुनेपछि दुर्योधन भन्छन्- हो मलाई धर्म के हो भन्ने पनि थाहा छ तर त्यसप्रति कुनै रुचि छैन। पाप के हो भन्ने पनि थाहा छ तर त्यसबाट पन्छने पनि मन पनि छैन। मनभित्रको कुनै तत्वले जे जे भन्छ म त्यही त्यही गर्छु।'

अहिले मुलुकमा जे भइरहेको छ त्यसले कसैको पनि भलो गर्दैन भन्ने सबै राजनीतिकर्मीहरूले बुझेका छन्। तर, कुन्नि किन सबै आआफ्ना हठ, स्वार्थ र दम्भका कैदी भएका छन्। जानीजानी उनीहरू दुर्योधनको दुःखान्त वरण गर्ने दिशामा उन्मुख भएका छन्। बिहान संविधान सभाबाट सहमतिमा संविधान निर्माण गर्न प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गर्ने एनेकपा (माओवादी)का अध्यक्ष दाहाल दिउसो संविधान सभा नै भङ्ग गरेर राजनीतिक सभा गठन गरी संविधान लेख्नुपर्छ भन्ने नेकपा–माओवादीसँग एकीकरण वार्तामा बस्छन्। उनले आफूलाई बिहान ढाँटे कि दिउँसो छकाए?

छातीमा लोकतान्त्रिक उदारता समेट्न सक्ने कोही नहुनु सायद समसामयिक नेपाली राजनीतिमा उत्पन्न संकटको मुख्य कारण हो। विडम्बना, सहमतिको माला जप्नेहरू नै घृणाको खेती गर्दैछन्। पञ्चायतलाई 'राष्ट्रिय' र 'राम्रो' व्यवस्था देखाउन त्यति बेला लोकतन्त्रवादीलाई अराष्ट्रिय तŒव भनियो। पञ्चहरूले निषेधको नकारात्मक राजनीति गरे। लोकतन्त्र स्थापना त भयो तर पञ्चायती शासनमा हुर्केको पुस्ताले सिकेको जानेकै त्यही नकारात्मक प्रवृत्तिमात्र थियो। अर्को लामो धर्को तान्नतिर कोही लागेन। अरूको धर्को मेटेर छोटो बनाउनै सबै लागे। राजनीति अपशब्दको भण्डार भयो। राजनीतिमा नाममा अपसंस्कारको विकास गरियो। लोकतन्त्र शिष्ट, भद्र र सभ्य राजनीतिक प्रणाली हो। सायद यसैले नेपाली राजनीति र लोकतन्त्रबीच तालमेल मिल्न नसकेको हो।

अरू नेताहरूले सुशील कोइराला र पुष्पकमल दाहाललाई सहमति निर्माण गर्ने जिम्मा दिएछन्। शल्यलाई सेनापति बनाएर महाभारतको युद्ध जित्ने दुर्योधनको आशाभन्दा कोइराला—दाहाल वार्ताबाट संविधानमा सहमति बन्ने अपेक्षा पनि खासै फरक होलाजस्तो त देखिँदैन।

तैपनि, अंग्रेज दार्शनिक स्यामुएल टेलर कलरिजले सुझाएजस्तै 'अविश्वासको निलम्बन' ( सस्पेन्सन अझ डिस्बिलिभ) गरेरै भए पनि नेपाली राजनीतिप्रति आशावादी हुन मन लागेको छ। नियतिले पुनः निराश नबनाओस्!

संविधान नौटंकी र टेम्पोकी नानी

संविधान निर्माणलाई प्रमुख भनिने दलका शीर्ष कहलिएका नेताले 'नौटंकी' बनाइदिए। नेपालको संविधान लेखन हेर्दा पूर्वीय नाटकका केही तत्व भेटिन्छन् भने परिणाम पश्चिमी दुःखान्तको जस्तो हुनेगरेको छ। आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्तिपछि नेपाली राजनीति 'फलागम'मा पुग्दैन र पुगिहाले पनि 'दुःखान्त' हुनपुग्छ। दुःखान्त चाहिँ पश्चिमी नाटककका ग्रिक र सेक्सपियर दुवैको प्रवत्ति मिसिएर हुन्छ। अर्थात्, बाहिरी तत्वको प्रभाव र आन्तरिक कमजोरीका कारण त्रासद अन्त्य हुन्छ। नायकहरूले थाहा पाउँदापाउँदै नाटक चरमोत्कर्षमा पुग्दानपुग्दै दुःखान्तमा परिणत हुन्छ। 

सहमति र प्रक्रियाको 'झिँगेदाउ' कहिले सकिने हो र संविधान बन्ने हो? सम्भवतः यस प्रश्नको उत्तर कसैले पनि दिन सत्तै्कन। एनेकपा (माओवादी)का नेता बाबुराम भट्टराई 'गुहार माग्न' दिल्ली गएका हैनन् रे! कसैले पनि नमागीकन त उताबाट 'गुरुमन्त्र' पनि पक्कै नआउला। भगवद्गीतामा कृष्णले भनेका छन्- सबै जे हुन्छ उनकै इच्छामा हुन्छ। तिनै कृष्णकै कुलका अर्थात् यदुवंशी नै मूल शासक भए पनि अहिले नेपालमा अरूकै 'इच्छा'अनुसार शासन चल्छ। यसैले 'आकाशवाणी' नआउँदासम्म संविधान बन्ला भनेर कसरी पत्याउने?

नयाँ चरणको वार्ता नामको नौटंकीले जनतालाई मनोरञ्जन दिनसके त त्यो पनि ठीकै हुन्थ्यो। किन्तु, दिने त सास्तीमात्रै हो। न दुःखकष्टको विरेचन हुन्छ न शान्ति र स्वतन्त्रताको रस निष्पत्ति नै हुन्छ। यसैले नेपालको राजनीति र संविधान निर्माण नौटंकीको वर्णन तथा विश्लेषण अब नाट्य समीक्षककै जिम्मा लगाउनु बेस होला। सम्भावित दृश्यको परिकल्पना गर्न सकी पो हाल्छन् कि?

टेम्पोकी नानी
पानीपोखरीबाट सुन्धारा आउने सफा टेम्पोमा भेटिएकी सानी नानीका बारेमा मैले फागुन १९ गते टि्वट गरेको थिएँ- ड्रेस भिजेर टेम्पोमा : आमाले चलाएको टेम्पोमा भेटिएकी बलम्बुको स्कुलमा पढ्ने सानी नानी ड्रेस भिजेर स्कुल नगएकी रे! नागरिकका सहकर्मीहरूले त्यो विवरण पूरै लेख्न उक्साए।

हँसिलो अनुहारकी ती नानी फरासिली पनि थिइन्। उनकी आमा त्यही रुटमा टेम्पो चलाउँछिन्। त्यसैले बेलाबखत आमासँग टेम्पोमा हिँड्ने गर्दिरहिछन्। भाडा उठाउन र यात्रु बोलाउन पनि रमाउँदिरहिछन्। उनकी आमाले भनेअनुसार नानीले बोलाउँदा यात्रुहरू पनि आउँछन् रे!

मलाई टेम्पोमा सकेसम्म अगाडिको सिटमा बस्न मन लाग्दैन। तर, त्यस दिन संयोग त्यस्तै पर्यो । साना केटाकेटीसँग भेट भएपछि उनीहरूसँग जिस्किन पनि रमाइलो लाग्छ। यिनलाई जिस्क्याउँदै भने- तिम्रो नाम चनमती हो? उनले 'हैन' भन्दै आफ्नो दुईवटा नाम छ भनिन्। स्कुल जाने उमेरका केटाकेटीलाई विद्यालय समयमा अन्तै भेट्दा कताकता नरमाइलो लाग्छ र धेरैजसो सोध्ने गर्छु- आज स्कुल किन नभएको? सानी नानीले भने यस प्रश्नको जबाफ दिन आनाकानी गरिन्। अनि, आमासँग सोधेँ। आमाले भनिन्- स्कुलको ड्रेस भिजेकाले आज जान मानिन। मैले भने- अर्कै लुगा लगाएर पढाएको भए पनि त हुन्थ्यो। यसरी पढ्ने बेलामा अन्त हिँडाउँदा बानी बिग्रन्छ र स्कुल जान मनै नलाग्ने हुन्छ। आमाले कारण खुलाइन्- एकपटक अलिकति दाग लागेको लुगा लगाएर गएकी थिई स्कुलमा मास्टरले कुटेछन्। त्यसपछि त ड्रेस नलगाई स्कुल जानै मान्दिन। सानीले पनि थपिन्- सरले खुट्टैखुट्टामा कुट्नुभयो। सानी नानी बलम्बुको निकै नाम चलेको स्कुलमा पढ्छिन् रे!

मैले आमालाई 'स्कुलको ड्रेस दुई जोर किन नसिलाएको' भन्न सकिन। मैलै स्कुल नाम पनि सोधिन। यो नेपालका लगभग सबैजसो औसत विद्यालयमा पाइने साझा प्रवृत्ति नै हो। केही महंगा स्कुलमा यस्तो समस्या नपर्ला। दिनैपिच्छे पोसाक फेर्न परे पनि आमाबाबुलाई खासै मर्का पर्दैन। अनि, गाउँतिर रुखमुनि वा 'देवघाटमा शीत छल्न बनाइएको झाप्रो' जस्ता नाममात्रका स्कुलमा सायद ड्रेस पनि तोकिएकै हुँदैन। अरू सामुदायिक भनिने सरकारी विद्यालय र संस्थागत भनिएका शिक्षाका थोक पसलमा ड्रेस अनिवार्य छ। ( महाकवी लक्ष्मीप्रसाद देवकोटाले कुनै भोजमा लुगालाई खानेकुरा खुवाएका थिए रे! त्यसैगरी बालबालिकाका साटो स्कुलका कक्षा कोठामा ड्रेस झुन्ड्याउने हो भने कस्तो देखिएला?)

हाम्रो शिक्षा प्रणालीमा भित्रिएको थुप्रै विकृतिमध्येको हो यो विद्यालयमा निर्धारित ड्रेसको चलन। शिक्षाका काला व्यापारीहरू विद्यालयमा पोसाक अनिवार्य बनाएर आमाबाबुको थप दोहन गर्छन्। उनीहरूले तोकेकै पसलमा पोसाक किन्नुपर्छ। बजारभन्दा महंगो तिर्नुपर्ने हुन्छ। स्पष्ट छ, स्कुलका सञ्चालकले कमिसन खान्छन् र माथिसम्म पनि पुर्यापउँछन्। यस्तो कालो बजारीका लागि कुनै स्कुलको प्रधान अध्यापक वा सञ्चालकमाथि कारबाही नगरिनु माथीसम्म भागबिलो पुगेकै प्रमाण त हो। आमाबाबुलाई भावनात्मक 'ब्ल्याकमेल' गर्नैका लागि शिक्षक शिक्षिकाले ड्रेस नलगाएको निहुँमा केटाकेटीलाई ठूलै अपराध गरे झैँ त्रू्कर सजाय दिन्छन्। पैसा हुनेले दुई तीन जोर पनि किन्लान् तर नहुने के गर्ने? यही प्रश्नको उत्तर थिइन् ती टेम्पोमा भेटिएकी सानी नानी।

ड्रेस नभएकै कारण कतिपय बालबालिकाले विद्यालय नै छाडेकाछन्। सरकार र गैरसरकारी संस्थाहरू विदेशीसँग रिन अनुदान मागेर भए पनि ड्रेस बाँड्न बरु तयार हुन्छन् शोषणको जालो भत्काउन अगाडि सर्दैनन्। सबैले त विद्यालय पोसाकबाट कमिसन पाएका छैनन् होला। ड्रेस नतोके विद्यार्थीले लुगाको भद्दा प्रदर्शन गर्छन् र धनी र गरिबका बीचमा अन्तर देखिन्छ भन्ने तर्क दिनेहरू पनि छन्। केही हदसम्म त्यो तर्क सही पनि होला तर समाजमा जताततै सम्पत्तिको भद्दा प्रदर्शन भई नै रहेको बेला सुधा गाईजस्ता बालबालिकालाई ड्रेसको बन्धनमा राख्नुको के औचित्य? कथित ठूला नेताको लबाइखबाइ, आवागमन र रहनसहनमा जस्तो सम्पत्तिको भद्दा प्रदर्शन अन्यत्र कता भएको होला र? तिनलाई चाहिँ पोसाकको बन्धन नचाहिने तर साना नानीलाई भने तोकिएकै लुगा लाएन भनेर कुटपिट गर्ने कुसंस्कार कसरी बदल्ने? शिक्षामा सुधारको बहसमा यस्ता विषय किन समावेश गरिँदैनन्?

किनभने, यस्तो संस्कार बदल्न नीति निर्माताको आँखा खुल्नुपर्छ। तिनमा समाज बदल्ने चाहना र प्रतिबद्धता हुनुपर्छ। राजनीति गर्नेहरूमा समाजका सबै वर्गको हित गर्ने इच्छा, आँट र समपर्ण हुनुपर्छ। सबैभन्दा बढी त तिनीहरू पाखण्डबाट मुक्त हुनसक्नुपर्छ। दुर्भाग्य, पाखण्ड नै नेपालका राजनीतिक नेता र प्रशासकहरूको मूल प्रवृत्ति रहिआएको छ। र, आफूले जति ढाँटे पनि, जति पाखण्ड देखाए पनि अरू कसैले थाहै पाउँदैनन् भन्ने भ्रममा बाँचेका छन् तिनीहरू। केहीलाई भने जनताले थाहा पाए पनि केही गर्न सत्तै्कनन् भन्ने घमण्ड छ। हत्या, हिंसा, भ्रष्टाचार, ठगी, फट्याइँ र पाखण्डका पुञ्जहरूले सबैभन्दा चर्को डाँकोमा धम्की दिँदा पनि टुलुटुलु हेरेर बस्ने जनता पनि सायद नेपालीमात्रै होलान्? र यस विकृतिका लागि आंशिकै सही दोषी पनि छन्।

पाखण्डको यो रूप!
टर्किस एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावनमार्गबाट हटाउन भारतीय वायु सेवाको सहयोग मागियो। आवश्यक उपकरण लिएर वायु सेवाको विमान नेपाल आयो। निकै अप्ठेरो काम रहेछ क्यारे विमानस्थल पुनः चालु गराउन ४ दिन लाग्यो। विमानस्थल खोल्न सहयोग गरेकोमा भारतीय वायुसेवा र सम्बन्धित प्राविधिकहरूलाई धन्यवाद दिएर सरकार र जनताले पनि कृतज्ञता ज्ञापन प्रकट गर्नुपर्थ्यो। नेपाल कम्युनिस्ट पार्टी—माओवादी नाम गरेको आफूलाई राजनीतिक दल भन्ने एउटा समूहका नेताले भने उल्टै त्यसलाई भारतीय हस्तक्षेप र के के भनेर सरापेछन्।

संविधान सभाको सबैभन्दा महŒवपूर्ण समितिका सभापति भए पनि संविधान निर्माण प्रक्रियामा सबैभन्दा बढी भाँजो हाल्ने अर्का माओवादी नेताले चाहिँ नयाँ दिल्लीमा पुगेर 'नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतीय सत्ता पनि 'स्टेकहोल्डर ' हो' भन्दै हस्तक्षेपको बिन्ती चढाएछन्। नेपाली जनताले चुनेको संविधान सभाले लोकतान्त्रिक प्रक्रिया अपनाएर बनाएको संविधान स्वीकार्य नहुने तर दिल्लीले दिएको भीखमा दिए शिरोपर हुने?

यिनले बनाउने संविधानमा जस्तो शासकीय स्वरूप अपनाए पनि, जतिवटा प्रदेश बनाए पनि र प्रदेशको नाम जे राखे पनि त्यसले टेम्पो चलाएर गुजारा चलाउने आमाकी छोरी ड्रेस भिजेकै कारण स्कुल जान नपाउने अवस्था बदल्दैन। ती सानी नानीको समस्यामा केन्द्रित राजनीति निकट भविष्यमा हुने संकेतसम्म पनि छैन।

यस्तो निराशाको तुवाँलोले ढाकेका बेला पाखण्डीहरूलाई धिक्कार्नुबाहेक अरू केही लेख्नु र भन्नुको सायद औचित्य पनि छैन!

र, अन्त्यमा
रानीबारीमा साँझबिहान घुम्न जानेको भिडै हुन्छ। तीमध्ये पचासौं जना त्यसको परिक्रमा पनि गर्छन्। ढलेको रुखले बाटो छेकेको महिनौ दिन भइसक्यो। वनका बाँस प्रहरीहरूले काटेर लगेको देखिन्छ। प्रहरीको एउटा केन्द्रको रानीबारीसँग साँध जोडिएको छ। वन उपभोक्ता समिति पनि छ रे। एकजना सज्जनका अनुसार- 'देवताको पूजा गरेर प्रसाद खाँदा (भोज गर्दा?) पनि समितिलाई पैसा तिर्नुपर्छ रे! नजिकै घर भएका अर्का सज्जन भन्थे- समितिलाई सुधार्ने प्रयास काम लागेन। ती ढलेका रुख हटाएर बेचे पैसा आउँथ्यो होला। नभए पनि बाटो त सजिलो हुन्छ। प्रहरीले चाहे रुख हटाउन एक बिहान पनि लाग्दैन। रुख आफैँ गलेर नजाउन्जेल सजिलोसँग हिँड्न पर्खनै पर्नेजस्तो छ। कारण, अरू कसैलाई त्यहाँका रुख काट्न पनि त दिइँदैन।

Monday, March 2, 2015

सराङकोटमा सुधारगृह


कास्कीको सराङकोट सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि संसारमै प्रसिद्ध छ। म भने अस्ति शनिबार बिहान सराङकोटमा सञ्चालित बाल सुधारगृह हेर्न बढी उत्सुक थिएँ। बालबालिकालाई न्यायिक निकायका आदेशमा थुनामा राख्न परे बाल सुधारगृहमा राख्नुपर्छ। 
नेपालमा सराङकोटबाहेक अहिले सानोठिमी र विराटनगरमा बालसुधार गृह सञ्चालन गरिएको छ। यी बाल सुधारगृहहरू न्यूनतम सुविधिविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप, नेपाल)को व्यवस्थापनमा सञ्चालन गरिएका छन्। सुधारगृहमा राखिने बालबालिकालाई 'कानुनसँग विवादमा परेका बालबालिका' पनि भनिन्छ। बाल अधिकारप्रति संवेदनशील नहुँदासम्म प्रचलित कानुनले गर्न नहुने भनेर किटान गरेका काम गरेको अभियोग लागेका यस्ता बालबालिकालाई अंग्रेजीमा 'जुभेनाइल डेलिङक्वेन्ट' र नेपालीमा 'बाल अपराधी' समेत भन्ने गरिन्थ्यो। बिस्तारै यही अर्थमा अलि सम्मानजनक शब्दहरू प्रयोग गर्न थालियो।

बालअधिकार चेतनासँगै बालबालिकालाई वयस्कहरूसँग झ्यालखानामा राख्न हुँदैन भन्ने सिद्धान्ततः स्वीकार गरियो। नेपाललगायत संसारका धेरै मुलुकमा न्याय प्रणालीमा आएको यस परिवर्तनमा बालअधिकार महासन्धि, १९८९ को विशेष योगदान छ। नेपालले २०४६ सालको जनआन्दोलन लगत्तै यस महासन्धिमा हस्ताक्षर गरेको हो। यसैगरी बालबालिका सम्बन्धी छुट्टै ऐन पनि २०४८ मै बनाएको हो। बालअधिकारका क्षेत्रमा नेपाल यसरी अपेक्षाकृत चाँडै नै विश्वरङ्गमञ्चमा देखापर्यो। तर, त्यसलाई चरितार्थ गर्न आवश्यक भौतिक तयारीलाई भने खासै महत्व र प्राथमिकता दिइएन। त्यही क्रममा बाल सुधारगृहहरूको स्थापना पनि ओझेलमै परिरहेको थियो।

सपनाको सुरु
सन् १९९३ मा हुनुपर्छ समाज कल्याण परिषद् र जिल्ला विकास समितिहरूबीच समन्वयको सम्भावना खोज्ने उद्देश्यले झापामा पूर्वाञ्चल विकास क्षेत्रका सभापति र स्थानीय विकास अधिकारीहरूको गोष्ठी आयोजना गरिएको थियो। गोष्ठी सकिएपछि झापा कारागारका बन्दीले बनाउने मुढा किन्न त्यहाँ जाँदा झ्यालखानामा बालबालिका देखिए। सोध्दा थाहा भयो आमाबाबु कैदमा परे आश्रित बालबालिका पनि झ्यालखानामा पर्ने रहेछन्। परिवारमा अरूले नहेरेमा वा आमा कैदमा राखिएका बेला साना दुधे नानीलाई सँगै राखिने रहेछ। त्यहाँ देखिएका बालबालिका त्यस्तै आश्रित केटाकेटी रहेछन्। झ्यालखानामा तिनले अपराध सिक्ने र बालापन गुमाउने जोखिम बढी हुन्छ। यसैले त्यस्ता बालबालिकालाई जोगाउनुपर्छ भन्ने लाग्यो। काठमाडौं आएपछि गृह मन्त्रालयसँग सोधपुछ गर्दा आश्रित बालबालिका त्यति बेला १०३ जना भएको थाहाभयो। बाबुआमा छुट्दा उनीहरू पनि जाने हुनाले त्यो संख्यामा घटबढ भइरहने जानकारी पनि भयो। राज्यले चाहेमा करिब सय जनालाई अलग्गै व्यवस्था गर्न खासै कठिन त नहुनुपर्ने हो भन्ने लाग्यो। परिषद्को वार्षिक कार्यक्रममा त्यसलाई समावेश गरियो। पछि बजेट छलफलका क्रममा त्यो कार्यक्रम शिक्षा, संस्कृति र समाज कल्याण मन्त्रालयको बनाउने र परिषद्ले कार्यान्वयन गर्ने तय भयो। कार्यक्रम तय त भयो तर २०५१ को मध्यावधि निर्वाचनपछि सरकारै फेरियो। मैले पनि समाज कल्याण परिषद् छाडेँ। आश्रित बालबालिकाका लागि बाल गृह सञ्चालन गर्ने कार्यक्रम पनि बेवारिसे भयो। त्यसपछिको सरकारले कार्यक्रम त राख्यो तर कार्यान्वयन नगरेकाले बजेट ल्याप्स भयो। सुधारगृह सञ्चालन गर्न भवन बनाउनुपर्ने र भवन बनाउने जमिन नभएको भनेर २०५२ मा सरकार फेरिए पनि कार्यक्रम कार्यान्वयन भएन। अर्को वर्ष भने म पनि युसेपसँग जोडिन पुगेँ। सरकारलाई युसेपले जमिन उपलब्ध गराउने र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले भवन निर्माण गर्ने सहमति भयो। भवन त बन्यो तर सरकार फेरिएपछि कार्यक्रम फेरि बिथोलियो। विसं २०५६ लागेपछि बल्ल कार्यक्रम सञ्चालन हुने छाँटकाँट आयो। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय हेरेका बेला बल्ल युसेपलाई आश्रित बालबालिकाका निम्ति कार्यक्रम सञ्चालन गर्न अनुमति र अनुदान दिने निर्णय भयो। निर्णय कार्यान्वयन गराउन झन् गाह्रो भयो। दुई पल्ट त सचिव र मुख्य सचिवकहाँबाट फाइलै हरायो। अन्ततः आश्रितहरूलाई आश्रय उपलब्ध गराउने गरी कार्यक्र सुरु भयो र देशभरबाट त्यस्ता बालबालिका ल्याउने क्रम थालियो। यद्यपि, यस्तो गृहलाई सुधारगृह भन्न मिल्दैन। भवन बनेपछि त्यसलाई दुर्व्यसनीहरूको सुधार गृह बनाउन पनि खोजिएको थियो। युसेपलाई नै सञ्चालन गर्न दिनुपर्ने र दुर्व्यसनीका लागि अरूले पनि सुधारगृह चलाएका हुनाले त्यो प्रयास सफल भएन।

अदालतको मानहानि
यसैबीच केही कानुन व्यवसायी बालबालिकालाई वयस्कहरूसँग झ्यालखानामा राख्न नहुने प्रावधान कार्यान्वयन गराउन अग्रसर भएका थिए। आशिष अधिकारी, किशोर सिलवाललगायतको अग्रसरतामा सर्वोच्च अदालतले बालबालिकालाई वयस्कहरूसँगै थुनामा राख्न नपाइने निर्णय गरेको थियो। धनकुटाका एक जना किशोरलाई सुधारगृहमा न पठाई कारागारमै राखेकोमा सर्वोच्च अदालतले गृह सचिव र धनकुटाका प्रमुख जिल्ला अधिकारीलाई जनही एकएक रुपियाँ जरिवाना गर्ने निर्णय गर्योच। तत्कालीन गृह सचिव श्रीकान्त रेग्मीले त्यसलाई सकारात्मक चुनौतीका रूपमा लिए र बाल सुधारगृह सञ्चालन गर्न सुझाव दिन एउटा कार्यदल बनाए। कार्यदलले तत्कालका लागि युसेपको परिसरमा रहेको भवनमा थुनामा राखिएका बालबालिकालाई राख्ने र कारागारमा आश्रित बालबालिकालाई नेपाल बाल संगठनको सिफलस्थित भवनमा गृह सञ्चालन गर्ने सुझाव दियो। अनि, बल्ल नेपालमा कानुनसँग विवादमा परेका भनिएका बालबालिकाका लागि सुधार गृहको थालनी भयो। बालबालिकालाई थुनामा राख्न परे सुधारगृहमा पठाउने आदेश दिनुपर्छ भन्ने न्यायाधीश र प्रमुख जिल्ला अधिकारीहरूलाई समेत थाहा थिएन। त्यसरी थालिएको सुधारगृह विस्तारका क्रममा कास्कीको सराङकोटमा भव्य रिसोर्टजस्तो लाग्ने भवनमा सञ्चालन हुन पुगेको देख्दा खुसी लाग्नु अस्वाभाविक होइन।

सुरुका दिनहरू
सुधार गृह सञ्चालनका लागि एउटा समिति रहने ऐनमा व्यवस्था छ। सुधार गृह महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमातहत सञ्चालित हुन्छ तर सुरक्षाको मुख्य चासो कारागार व्यवस्थापन विभागको हुन्छ। व्यवस्थापन भने एउटा गैरसरकारी सामाजिक संस्था युसेप—नेपालले गर्छ। कतिपय अवस्थामा त यो गृह मन्त्रालयहरूको तानातानीको सिकार बन्यो। निकै कठिन भयो चलाउन। कारागारमा राख्दा बालबालिकालाई दिनुपर्ने सुविधा सुधार गृहमा रहेकालाई दिनसमेत सरकारी कर्मचारीहरू सजिलै तयार भएनन्। सुरुमा धनकुटाबाट आएका एक जना किशोर र उनको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीबाट थालिएको गृहमा बिस्तारै सबै व्यवस्था र बन्दोबस्त हुँदैगयो। युसेपलाई बाल सुधारगृह चलाउन दिनुहुँदैन भन्नेदेखि आवश्यक सहयोग गर्नेहरूसम्मले चासो देखाउन थाले। बाल सुधारगृहमा कानुन व्यवसायी, मनोविमर्शदाता, शिक्षकहरू पनि आवश्यक हुँदारहेछन्। धेरैपछि मात्र सबै थाहा भयो र व्यवस्था पनि हुँदैगयो।

सानोठिमीमा मात्र सुधारगृह हुँदा सुविधामात्र हैन असुविधा पनि हुन थाल्यो। बाल सुधारगृहमा राख्ने आदेश दिन त थालियो तर देशभरका बालकालिकालाई काठमाडौं ल्याउन कठिन भयो। मुद्दाका क्रममा अदालतमा पुर्यारउन पनि अप्ठेरो र महंगो पर्थ्यो। आमाबाबु र कानुन व्यवसायीलाई पनि मुस्किल थपियो। यो सेवा विस्तार हुनैपर्ने देखिन थाल्यो। त्यही क्रममा केन्द्रीय बाल कल्याण समितिले अध्ययन गरायो। अध्ययन टोलीले युसेपकै व्यवस्थापन वा प्राविधिक सहयोगमा सुधारगृहहरूको विस्तार गनुपर्ने सुझाव दियो।

संसारका थुप्रै बाल न्यायविद् र बाल सुधारगृहका बारेमा जानकार व्यक्तिहरूले सानोठिमीको सुधारगृह हेरे। सल्लाह, सुझाव दिए र कतिले सराहना पनि गरे। भारतका आमोद कण्ठले व्यवस्थापन संरचनाको प्रशंसा गरेको अझै सम्झना छ। सरकारको कारागार गैरसरकारी संस्थाले सञ्चालन गरेको यो अभ्यास दक्षिण एसियाकै उत्कृष्ट उदाहरण हो भन्ने उनको टिप्पणीले पनि म हौसिएको थिएँ। केही पहिलेमात्र रुसको बाल सुधारगृहका बारेमा अध्ययन गरेर फर्केकी भारतको कानुनकी प्राध्यापक वेदकुमारीको टिप्पणीले पनि मन फुरुङ्ग भएको थियो। प्रा. वेदकुमारी त्यसको केही पहिले रुस, बेलायत र अमेरिकाको बाल न्याय प्रणालीको अध्ययनका क्रममा त्यहाँका सुधारगृहहरू हेरेर फर्केकी थिइन्। उनका अनुसार सानोठिमीका बालबालिकामा देखिएको हाँसो र खुसी उनले अरू कुनै सुधारगृहमा राखिएका बालबालिकामा देखेकी थिइनन्। सुधारगृहका बालबालिका हाँसीखुसी देखिनुको अर्थ उनीहरूको हेरचाह राम्रो हुनु नै हो। उनीहरूमा आक्रोश र प्रतिशोधको भावना विकास नहुनु नै सुधारगृहको वास्तविक लक्ष्य पनि हो। संयुक्त राष्ट्रसंघ बाल अधिकार समितिका तत्कालीन अध्यक्ष र उपाध्यक्ष पनि सानोठिमी सुधारगृहमा पुगेका थिए।

युसेप—नेपालका कार्यकारी निर्देशकलाई सुरुमा अवैतनिक र पछि नाममात्रको भत्ता दिएर २ — ३ जना कर्मचारीलाई आंशिकरूपमा काममा लगाएर थालिएको बाल सुधारगृह अहिले विराटनगरमा पनि सञ्चालित छ। नेपालगन्जमा पनि सरकारले भवनको बनाउँदै गरेको छ। बाल सुधारगृह सञ्चालनको सम्भावना अध्ययन गर्न मोरङ पुगेका बेला संयोगले पूर्वपरिचित मित्र मोदराज डोटेल त्यहाँ प्रमुख जिल्ला अधिकारी रहेछन्। उनैको सक्रियतामा जग्गा प्राप्त भयो। पछि भवन निर्माणका लागि सहयोग जुट्यो र गृह सञ्चालन भयो।

मैले युसेपको अध्यक्षबाट राजीनामा दिएकै करिब ८ वर्ष भइसक्यो। त्यसपछि युसेप र बाल सुधारगृहमा धेरै प्रगति भएको छ। त्यसको जस पछिका साथीहरूलाई नै जान्छ। मैले त बीउमात्र रोपेको खोजेको हो। सुदूर पश्चिम र मध्यपश्चिममा सुधारगृह अझै सञ्चालन गरिएको छैन। बालबालिकाको शिक्षाका लागि आवश्यक संस्थागत व्यवस्था अझै भइसकेको छैन। मनोविमर्श सेवाका लागि कास्कीमा अरू संस्थाको सहयोग लिनुपरेको छ। कानुनी सल्लाहका लागि पनि अधिकांश अवस्थामा बालबालिकाकै तर्फबाट व्यवस्था मिलाउनुपर्छ। बसाइ कोचाकोचै छ। तैपनि, आवासीय सुविधा औसत बोर्डिङ स्कुलभन्दा कम छैन। र जे भएको छ गौरव गर्न सकिने उदाहरण भएको छ।

सराङकोटमा व्यवस्थापन र सुरक्षामा संलग्न व्यक्तिहरूसँग कुराकानी गर्दा उनीहरूले त्यहाँको ड्युटीलाई पूजाजस्तै ठानेको पाएँ। त्यहाँ राखिएका किशोरहरू पनि खुसी नै देखिए। 'पर्याप्त पानी नभएकाले नुहाउनका लागि हिउँदमा निकै टाढा लैजानुपर्छ।' प्रहरी हवल्दारको मुख्य समस्या हामीलाई त्यहाँ लिएर जाने ट्याक्सी चालकले पहिले नै सुनाइसकेका थिए। उनको सुझाव थियो टाढाबाट ल्याइएको पाइपको पानीको भर पर्नुभन्दा 'बोरिङ' गरेर त्यहीँ पानी निकाल्नु बेस हुन्छ। सुधारगृहभन्दा निकै माथिको डाँडामा बोरिङ गरेर पानी निकालिएको छ रे ! सराङकोटको सुधारगृहमा पानी पर्याप्त छ भनेको सुन्न र देख्न पाउने सपना पनि पूरा होला कि?

र अन्त्यमा,
सानोठिमीको सुधारगृहलाई 'बन्द गरे हुन्छ' भनेका थिए एकजना अधिकारवादीले नगरकोटमा कारागार सुधारका विषयमा छलफलका क्रममा। मैले त्यति बेला सुधारगृह जति नै सुविधाविहीन भए पनि नहुनुभन्दा चलाउनै बेस भनेको थिएँ। अहिले प्रमाणित भयो म सही थिएँ। अधिकारको नाममा निहुँ खोज्ने तर सिन्को नभाँच्ने वा जे गर्न पनि पैसैमात्र खोज्ने प्रवृत्तिभन्दा त जे सकेको गर्नै अगाडि सर्नु जाति हो नि!

Monday, February 23, 2015

कांग्रेसको विनिर्माण


देशमा जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने सम्भावना टर्दै गएको छ। चिन्ता भने कसैले गरेजस्तो देखिएको छैन। संविधान निर्माणप्रति गम्भीर व्यक्तिहरू 'महाघण्ट'को शिलान्यास वा 'खुला दिसामुक्त क्षेत्र'को घोषणाजस्ता महत्वहीन कार्यक्रममा आफ्नो छवि र पदको गरिमालाई बेवास्ता गरेर व्यक्ति विशेषलाई खुसी तुल्याउन जाने थिएनन्। संविधान सभाको अल्पमतका नेतालाई त झन् पौंठेजोरी खेल्नेबाहेक अरू कुनै काममा चाख नै छैन। शक्ति प्रदर्शन र परीक्षणपछि बुद्धि फिर्योत भने बेग्लै। यसैले संविधान निर्माणका लागि थालिएको लोकतान्त्रिक प्रक्रिया भर्सेलैमा परोस्।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन आउँदो भदौमा काठमाडौंमा हुने घोषणा गरिएको छ। खासै, तलमाथि केही नभए महाधिवेशन होला पनि। कांग्रेसको महाधिवेशनमा विचार र नीतिमा खासै छलफल हुँदैन बरु पदाधिकारीको निर्वाचनमा केन्द्रित हुन्छ। नेपालका राजनीतिक दलमा विचार र सिद्धान्तको ठेक्का केही ठालुले लिएका छन्। कांग्रेसमा त झन् २०४६ सालपछि सायद एउटै समूहले नीति र कार्यक्रम तथा घोषणापत्र लेख्दैआएको छ। संसार जहाँ सुकै पुगोस्, नेपाली जनताको चेतनास्तर जति नै बढोस् तिनलाई मतलब भएजस्तो देखिँदैन। तैपनि, नेपालको आधुनिक राजनीतिमा सबैभन्दा धेरै प्रभाव र योगदान भएको पार्टी भएकाले नेपाली कांग्रेसको महाधिवेशनले धेरैको ध्यान तान्नु स्वाभाविकै हो।

जनता र कांग्रेस
कांग्रेस अहिले संविधान सभाको सबैभन्दा ठूलो पार्टी भएको छ। त्यसो त नेपालमा अहिलेसम्म भएका सबै संसदीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो वा दोस्रो दल हुने गरेको छ। अर्थात्, नेपाली जनताले पत्याउँदै आएका छन्। तर, प्रत्येक अर्को निर्वाचनमा कांग्रेसलाई जनताले सजाय दिने पनि गरेका छन्। अहिले कांगे्रससँग अर्को निर्वाचनका लागि प्रयोग गर्न सकिने आकर्षक व्यक्तित्व र कार्यक्रम दुवै छैनन्। व्यक्तित्व रातारात पैदा गर्न त सकिँदैन तर निर्माण गर्न सम्भव छ। कांग्रेसमा अपेक्षाकृत लोकप्रिय र सम्भावना युक्त नेताहरू धेरै छन्। तीमध्ये धेरैको पारिवारिक पृष्ठभूमि पनि छ। दक्षिण एसियाली राजनीतिमा पारिवारिक पृष्ठभूमिको महत्व अझै कायमै छ। तर, युगअनुसारको विचार र कार्यक्रमसहित जनतामा जोडिन नसक्ने हो भने कांग्रेस बिस्तारै सन्दर्भहीन हुनपुग्नेछ।

मतदाताले आफ्नै पुस्ताका नेता खोज्छन्। नेपालको जनसंख्यामा सबैभन्दा धेरै बालबालिकापछि १८–४० वर्षका छन्। यसैले ७० वर्षमाथिका नेताहरूले नै पार्टी र सरकारको नेतृŒव गरिरहनु सायद उपयुक्त हुँदैन। नेपालको राजनीतिलाई नयाँ आयाम दिन कांग्रेसका ७० वर्षमाथिका नेताले अवकाश लिनु उपयुक्त हुनेदेखिन्छ। परिपक्व नेताहरूको कमी नभएकाले यसले राजनीतिक रिक्तता उत्पन्न पनि हुनेछैन। नीति र कार्यक्रममा हकमा पनि पुनः विचार जरुरी छ।

साहित्यको शब्द विनिर्माण नेपाली बृहत् शब्दकोषको पछिल्लो संस्करणमा समेत समावेश भएको छैन। तर अब यो शब्द नेपाली साहित्यमा पनि चलिसकेको छ। उही सामग्री प्रयोग गरेर तर जगैदेखि नयाँ संरचना निर्माण गर्नुलाई विनिर्माण भन्न सकिन्छ। नेपाली कांग्रेसभित्रै त्यस्तो सम्भावना छ। कांग्रेस जति लचिलो अरू दल हुनसकेका छैनन् र सत्तै्कनन् पनि। यसैले महाधिवेशनका क्रममा पार्टीको विनिर्माण हुने गरी नेपाली कांग्रेसका नेता कार्यकर्ता अग्रसर हुनसके नेपाली राजनीतिमै नयाँ युगको सूत्रपात हुने थियो।

सबैको पार्टी
नेपालमा जाति, वर्ग, धर्म, क्षेत्रजस्ता सीमित र साम्प्रदायिक राजनीति गर्नका लागि अरू दल नै पर्याप्त छन्। यस्तै, अधिनायकवादबाट मुलुकको हित हुने ठान्नेहरूका लागि पनि दलहरू छन्। तर, लोकतन्त्र र राष्ट्रियताप्रति प्रतिबद्ध सुधार र प्रगतिका पक्षधर जनताको सबै वर्ग एवं समूहको हितमा राजनीति गर्नका लागि भने अहिले पनि नेपाली कांग्रेसबाहेक अरू दल देखिएको छैन। अझै पनि कांग्रेस त्यति धेरै बदनाम भइसकेको छैन जसमा संलग्न हुन लाजै लागोस्। अर्थात्, इतिहास र भविष्य दुवै भएको दल त कांग्रेसै देखिन्छ। सबै वर्ग, धर्म, जाति, समूह र क्षेत्रका मानिसको साझा दल भएकाले कांग्रेस कसैको पनि शत्रु हुन सत्तै्कन। तर नीति र कार्यक्रममा परिमार्जन गरेमा कमजोरहरूको मित्र भने हुनसक्छ। अझै पनि सबै शक्तिले कांग्रेसको नेतृŒव स्वीकार गर्न सक्छन्। अरू त्यस्तो कुनै दल छैन। यसैले नेपाली कांग्रेसले सबैभन्दा पहिले आफूलाई सबैको पार्टी बनाउने संकल्प गर्नुपर्छ। विखण्डन र विभाजनको राजनीति गर्ने त अरू छँदैछन्।

सबैको पार्टी बन्नका लागि कांग्रेसजस्तो जनाधारित दलले संगठन विस्तारका क्रममा पारदर्शी तथा खुला प्रक्रिया अपनाउनुपर्छ। महाधिवेशनमा प्रतिनिधि चयन गर्ने बेलामा मात्र सदस्यता विस्तार गर्ने अहिलेको अभ्यास छाड्नु आवश्यक छ। कांग्रेस हुन आवश्यक आधारभूत योग्यता तोकेर सहमति हुनेहरूलाई साधारण सदस्यता खुलारूपमा दिने पद्धति अपनाउनुपर्छ। त्यसपछि अर्को महाधिवेशनसम्म तिनको सक्रियताका आधारमा क्रियाशील सदस्यता दिने पद्धति बसाल्न सकिन्छ। पारदर्शी रूपमा क्रियाशील सदस्यता दिने हो भने पार्टीलाई कसैले पेवा बनाउन सक्नेछैन। पार्टीको क्रियाशील सदस्यसम्मलाई नीति र कार्यक्रम निर्माणमा सहभागी गराएमा त्यसमा तिनको अपनŒव पनि बढ्छ । यसरी पार्टीको विनिर्माणका लागि अहिलेको नेतृत्वलाई पार्टी संगठन गर्न जिल्लामा पठाउने र ७० नाघेका जतिले अवकाश लिने गर्नु उचित हुन्छ। अहिले त क्रियाशील सदस्यता दिँदैमा षड्यन्त्र गरिन्। त्यसको कार्यकर्ता र अरू शुभेच्छुकहरूमा कस्तो छाप पर्ला? सक्रिय कार्यकर्ता सबै नै पार्टीको नीति निर्माणमा संलग्न हुने वातावरण बनाउनुपर्छ। भातृ भगिनी संस्थाहरू पार्टीका आधिकारिक दस्तावेजहरू निर्माणमा सहभागी हुन पाउनुपर्छ। अझ निर्वाचन र महाधिवेशनलाई अलग्ग गराउन सके पार्टीभित्र सिद्धान्त, नीति र कार्यक्रममा सम्बन्धमा व्पापक छलफल हुनसक्थ्यो। संगठनभित्र छलफल जति धेरै हुन्छ त्यो उनी नै जीवन्त हुन्छ।

सामाजिक सुरक्षा
कांग्रेसले समाजवाद भन्ने गरेको छ। यथार्थमा अब त्यो भेदभावकारी समाजवादी चोला उतारेर अगाडि बढ्नुपर्छ। बीपीले जीवनको उत्तरार्धमा प्रकट गरेका विचारहरूले त्यसको मार्गदर्शन गर्छ। व्यक्तिलाई भेदभाव नगरी शिक्षा र स्वास्थ्यको अवसर उपलब्ध गराउने नीति कांग्रेसजस्तो सबैको पार्टीले लिनुपर्छ। राज्यले दिँदा वर्ग, जाति, क्षेत्र वा सम्प्रदायका आधारमा भेदभाव नगर्ने नीति अपनाएमा कांग्रेस अरूभन्दा अलग हुनेछ। यसै पनि सबैलाई नदिँदासम्म कमजोर, निर्धा र निमुखाले पाउँदैनन्। अहिलेसम्म राज्यले कर्मचारीलाई मात्र पालेको छ। सामान्य नागरिकले राज्यबाट केही पाएका छैनन्। अब राज्यको त्यस प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ। कम्तीमा स्वास्थ्य र शिक्षाको सेवा बिन्दुमा पैसा लिइनुहुँदैन। राज्यले दिँदा सबैलाई बराबर दिने तर लिँदा हुनेसँग धेरै लिने उदारवादी नीति लिनुपर्छ। अनिमात्र आरक्षण वा विशेषधिकारका पक्षधरभन्दा अलग्ग हुनसकिन्छ।

सार्वजनिक सेवा
बजार अर्थतन्त्रका नाममा नेपाली कांग्रेसकै अगुवाइमा थालिएको भतांभुंगे आर्थिक पद्धति अहिले नै प्रत्युत्पादक भइसकेको छ। यातायात, सञ्चार, ऊर्जा जस्ता विषयमा सार्वजनिक क्षेत्रको विकल्प निजी क्षेत्र हुन सत्तै्कन। नेपालमा निजी क्षेत्र यी सेवामा अलग गर्न नसकिने गरी संलग्न भएकाले अत्यावश्यक सेवालाई सरकारको नियन्त्रणमा मात्र राख्न नमिल्ला। आधा शताब्दी पहिलेजस्तो राष्ट्रियकरण गरेर पनि अब समस्या समाधान हुँदैन। यसैले सार्वजनिक सेवाको व्यवस्थापन र नीति निर्माणमा समेतमा निजी क्षेत्रको निर्णायक प्रतिनिधित्व हुनेगरी सबै सेवालाई यथार्थमै सार्वजनिक हित उन्मुख बनाउनुपर्छ। संसारका सबैजसो राज्यमा यातायात, ऊर्जा र सञ्चार सेवामा राज्यको संलग्नता छ। नेपालमात्र अपवाद बन्न खोज्नु हुँदैन।

यति गर्न आर्थिकरूपमा कठिन पनि हुनेछैन। शिक्षामा शिक्षकको तलबमा खर्च गरिने रकम विद्यार्थीलाई छात्रवृत्ति दिने र स्वास्थ्यमा तलब भत्तामा खर्च हुने रकमको न्यायोचित वितरण गरेर देशव्यापी स्वास्थ्य बिमा लागु गर्ने हो भने सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्थाले सेवाका आधारमा मेवा पाउने व्यवस्था हुनेछ। सरकारी वा निजी कुनै क्षेत्रले पनि ठगेर खान नपाउने बन्दोबस्त मिलाउने राज्यको कर्तव्य हो। व्यक्तिको हित सर्वोपरि त हुनु नै पर्छ।

अर्थतन्त्र
अबको अर्थतन्त्र बजारमा हैन व्यक्तिमा केन्द्रित हुनुपर्छ। नेपाली कांग्रेसले मात्र त्यसमा पनि अगुवाइ गर्नसक्छ। यस्तै वातावरण संरक्षण हाम्रो अर्थतन्त्रका सन्दर्भमा बढी महत्वपूर्ण छ। बीपीले पछिल्ला दिनमा इएफ सुमाकरको 'स्मल इज ब्युटिफुल' को सराहना गर्न थालेका थिए। त्यो समाजवादी अवधारण त हैन। समाजवादमा राज्यको भूमिका प्रमुख हुन्छ भने सानो व्यवसायमा वा अर्थतन्त्रमा निजी क्षेत्र नै मुख्य हुनसक्छ। यसैले अर्थतन्त्रका हकमा पनि कांग्रेसले नयाँ प्रणाली अपनाउनुपर्छ। निजी क्षेत्रसँग साझेदारी गर्ने र व्यवस्थापनमा सहभागी गराउने तर व्यक्तिको हितलाई केन्द्रमा राख्ने नीति अपनाउनु उचित हुन्छ। त्यस अवस्थामा मजदुर कामदारहरू पनि व्यवस्थापनमा सजिलै सहभागी हुनसक्नेछन्। त्यस्तो अर्थ व्यवस्थामा लुट र शोषणमुखी हैन समतामूलक तथा न्यायोचित उत्पादन एवं वितरण प्रणालीको थालनी हुनेछ।

अहिलेसम्म सबै अग्रगामी परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ। अधिनायकवादविरुद्ध संघर्ष पनि कांग्रेसले नै गरेको छ। अब लोकतान्त्रिक संस्कृतिको विकास र गरिबीविरुद्धको आन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्छ। नत्र, मुलुक विखण्डित हुने र जनता गरिबी, शोषण र दमनको दुश्चक्रमा अझ बढी फस्ने खतरा झन् बढ्नेछ। कांग्रेस अहिले अरूको पछि लागेको र अरूकै कार्यसूचीमा घिसारिएको देखिएको छ। अब कांग्रेसले सबै वर्ग र समूहप्रति न्याय गरेर राजनीतिक संस्कृति परिरवर्तन गर्न सबैभन्दा पहिले आफ्नै विनिर्माण गर्न सक्नुपर्छ।

र अन्त्यमा,
हुकुमी राणा शासनविरुद्धको जनक्रान्ति र माओवादीले संसदीय लोकतन्त्रविरुद्ध गरेको हिंसात्मक विद्रोहलाई एउटै कोटीमा राख्न मिल्दैन। यस्तै तत्कालीन राजा ज्ञानेन्द्रको लहैलहैमा शेरबहादुर देउवाले चुनावै हुन नसक्ने बेलामा भंग गरेको प्रतिनिधि सभा पुनःस्थापनाका लागि गरिएको आन्दोलन र जननिर्वाचित संविधान सभाविरुद्ध अहिले गर्ने भनिएको आन्दोलनलाई पनि उस्तै मान्न सकिँदैन। नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिबाट जनताको सम्प्रभुता स्थापित गर्योन। महेन्द्रले पञ्चायत कालमा खोसेको जनअधिकार २०४६ सालको जनआन्दोलनबाट फिर्ता भएको थियो। ज्ञानेन्द्रले पनि जनअधिकार खोसेपछि २०६२ /६३ को जनआन्दोलन भयो र प्रतिनिधि सभा पुनःस्थापना गर्योी। तर, अहिले जनताका कुनै अधिकार खोसिएका छैनन्। बरु, जनताका प्रतिनिधिलाई लोकतान्त्रिक प्रक्रिया अपनाएर संविधान बनाउन नदिन यो कथित आन्दोलन गर्न लागिएको छ। जनताले चुनेको संसद् क्रियाशील हुँदासम्म यस्ता आन्दोलन सफल हुँदैनन्। सडकबाटै सत्ता कब्जा गर्ने नियत हो भने लोकतन्त्रका पक्षधरहरू त्यसलाई विफल तुल्याउन अग्रसर हुनुपर्छ। विदेशीले पनि विखण्डन र विग्रहलाई काँध नथापून्।

Monday, February 16, 2015

अल्पमतको नियत

संविधान निर्माण प्रक्रिया पुनः रोकियो। सायद, एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को 'समानान्तर सरकार' चलाउने धम्कीबाट सत्ता पक्ष डरायो। त्यसो त, राष्ट्रपतिदेखि छिमेकी मुलुकका प्रधानमन्त्रीसमेतले विपक्षीलाई धाप मार्न थालेपछि सरकारमा हुनेहरूको सातो जानु अस्वाभाविक पनि होइन। भन्न त, सहमतिका लागि सत्ता पक्ष हदैसम्म लचिलो भएको प्रमाणका रूपमा पनि संविधान सभा स्थगनलाई प्रस्तुत गर्न सकिएला। 

त्यसै हो भने पनि सत्ता पक्षको 'सदाशय'लाई विपक्षले कमजोरी ठानेर थप पेल्न खोजेको स्पष्टै देखिन्छ। 'पालभित्र नाक घुसारेपछि पालवालालाई नै बाहिर निस्कन' भन्ने अरबी उँटको कथाजस्तै देखिन थालेको छ प्रचण्डको कार्यशैली। संविधान सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि पनि उनी वार्ताका तयार भएनन्। पहिले कुरा मिलेमात्र औपचारिक वार्ता गर्ने रे? यसैले विपक्षीको भित्री मनसाय वार्ताबाट सहमति खोज्नु हैन भन्ने सन्देह नै पुष्टि हुन्छ। उनीहरू या त सत्ता पक्षलाई घुँडा टेकाउन चाहन्छन् नभए अन्तै कतैबाट सञ्चालित छन्। घटनाक्रमले देखाएको चित्र यही हो।
वाताकै लागि सर्त!
वार्ताकै लागि सर्त राख्नेहरू सहमतिका लागि गम्भीर छन् भन्ने ठान्नुभन्दा नै मूर्खता हो। संविधान सभा मिति नतोकी स्थगित गर्नुको उद्देश्य वार्ताका लागि समय दिने नै हो भने त्यो त्यत्तिकै खेर जाने सम्भावना नै बढी देखिन्छ। कुनै पनि विधि र प्रक्रिया स्वीकार नगर्ने मध्यकालीन युद्ध सरदारको प्रवृत्तिजस्तै देखिन्छ लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार नगर्ने प्रचण्डको हठ। वार्ता सुरु गर्दैमा के गर्ने भन्ने कागज गर्नुपर्ने हो भने वार्ता गर्नै किन पर्योर र? खुरुक्क सत्ताको साँचो प्रचण्डलाई सुम्पेर नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका दलका नेताले राजनीतिक सन्यास लिए हुन्छ। जनादेश पाउँदा पनि कार्यान्वयन गर्ने आँट नहुनेलाई राजनीतिक मैदानमा बसिरहने नैतिक अधिकार हुँदैन। सहमतिबाटै निकास खोज्ने हो भने सत्ता र विपक्ष दुवैले विनासर्त वार्ता सुरु गर्नुपर्छ। वार्तामा बस्नकै लागि सर्त राख्नेहरूको त नियतै खोटो हुनसक्छ।
प्रचण्डले खोजेकै सहमतिका त लागि कांग्रेसले सत्ता र सिद्धान्त दुवै छाड्नुपर्नेछ। सिद्धान्त छाड्न अहिलेका तर्बुजा कांग्रेसलाई खासै कठिन पनि नहोला तर सत्ता छाड्न कसरी सक्लान् र? यद्यपि, सिद्धान्त छाडेपछि सत्ता पनि जोगिनेछैन। बलजफ्ती लाद्न खोजिएको सहमतिका नाममा सिद्धान्त नछाड्ने हो भने बरु सत्ता र स्वत्व दुवै जोगिन सक्छ।
माओवादीको नियत?
'समग्र मधेस एक प्रदेश' भन्ने माग संघीयताको मर्मविपरीत छ। यसैगरी आर्थिक, सामाजिक, राजनीतिक सबै दृष्टिबाट अनुपयोगी र अव्यावहारिक पनि छ। तैपनि मधेसी नेताहरूको नियतमा धेरै सन्देह गर्नु आवश्यक छैन। उनीहरूले सिंगै तराई एउटै प्रदेश भए केन्द्रभन्दा बलियो हुने ठानेको हुनसक्छ। यसै पनि विखण्डनका नेता त विदेशीले सीके राउतलाई बनाइसकेका छन्।
माओवादी नेताहरू त बहुलवादसमेत स्वीकार गर्दैनन्। तिनले नियत अर्कै नभए जातीय राज्यको पैरवी नगर्नुपर्ने हो। तराईमा जति नै विविधता भए पनि एउटै प्रदेश बनाउनैपर्ने र पहाडमा डाँडैपिच्छे राज्य खडा नगरी नहुने कस्तो हठ हो? पहाड र तराई दुवै एउटै मुलुक हैनन्?
माओवादी र मधेसीले 'स्वायत्त प्रदेश' पनि भन्दै आएका छन्। कस्तो स्वायत्तता खोजिएको हो? चीनका स्वायत्त प्रदेशहरूजस्तो केन्द्र सरकारकै विस्तारित अंगका रूपमा रहने हो कि? भारतका प्रदेशहरू त स्वायत्त भनिदैनन्। यस्तै अमेरिकी राज्यहरू पनि स्वायत्त हैनन्। कि क्यानाडा वा जर्मनीको जस्तो संघीयतामा जाने भनेको हो? तर, तिनीहरू त कसैको नाममा पनि 'स्वायत्त' भन्ने विशेषण लागेको छैन क्यारे?
अल्पमतको चाहना के हो? नाममा स्वायत्त शब्द र जातिबोधक विशेषण जोडेपछि जति नै केन्द्रीकृत प्रणाली अपनाए पनि हुने हो? तमुवान वा मगरात बनाउनुपर्छ भने मिथिला, भोजपुरा र अवध बनाउन नपर्ने आधार के हो? यसैले माओवादीको नियतमा शंका उब्जेको हो।
विखण्डनको खतरा
अहिलेको वितण्डा मूलतः मधेसलाई नेपालबाट छुट्याउने नै हो भने सायद भारतको आडमा त्यस षड्यन्त्रमा लाग्नेहरू सफल पनि होलान्। तर, त्यसरी अलग भएको 'मधेस' स्वतन्त्र मुलुक रहन सक्नेछैन। एकछत्र राजको सपना त झन् सोझै चकनाचुर हुनेछ। अर्कातिर त्यस अवस्थामा भारतमा पनि कोचिला, मिथिला, भोजपुर, अवध प्रदेश बनाउने माग चर्कनेछ। भारतलाई त्यो 'भालुको कन्पट' हुनेछ।
यता, पहाडी र हिमाली भूभागका जनता चीनसँग नजिकिन बाध्य हुनेछन्। भारतका लागि त्यो पनि प्रिय त नहुनुपर्ने हो। गुप्तचरले सञ्चालन गरेको भारतको नेपाल नीतिअनुसार नेपाललाई गाभ्ने भारतको रणनीति अझै कायमै रहेको छ भने त्यो पनि अब सहजरूपमा कार्यान्वयन पक्कै हुनेछैन। चीनको भूराजनीतिक प्रभाव र महत्व दुवै धेरै जो बढेको छ।
भारतकै पाठ
पहिले धर्मका नाममा भारतको विभाजन भयो। त्यसपछि पाकिस्तान भाषाका नाममा विभाजित भयो। भारतमा रहेको पञ्जाबमा पनि शिख पृथकतावादी आन्दोलन दबाउँदा ठूलै रक्तपात भयो। कस्मिर भारतको अर्को टाउको दुखाइ भइरहेकै छ। पाकिस्तानमा सिन्धी र बलुच असन्तुष्टि वा उत्तरपूर्वी भारतको पृथकतावादी आन्दोलन कति बेला कसरी प्रकट हुने हो अनुमान गर्न पनि कठिन छ। बंगलादेशमा अझै पनि लोकतन्त्र संस्थागत हुनसकेको छैन। बन्दुक र सडकले निर्णय गर्ने शैलीलाई स्थापित जो गरियो। अहिले पनि बङ्गलादेश उद्वेलित छ। सत्ता र विपक्षीको मुठभेडबाट थुप्रै नागरिकको ज्यान गइसकेको छ। मुलुक एक प्रकारले ठप्पै छ।
भारतमै प्रदेशहरूको विभाजन कुन बिन्दुमा पुगेर टुंगिने हो भन्न सकिँदैन। यसले पनि विभाजनको यही आधार सही हो भन्न सकिने देखिएन। विखण्डनको क्रम विनाशमा पुगेरमात्र रोकिन्छ। अहिलेसम्म विश्व इतिहासले सिकाएको त यही हो।
जनताको निर्णय
'राष्ट्र भनेको जनता हुन्' भन्ने बीपीको कथन अहिले पनि उत्तिकै सान्दर्भिक छ। मधेसमात्र हैन कहीँका पनि जनताले अलग्ग हुने आँट गरे भने तिनलाई जबरजस्ती कुनै भूभागमा सधैँका लागि टाँसेर राख्न सकिँदैन। तर त्यसमा पनि केही लाउकेहरूको हैन तराईका बहुसंख्यक जनताको चाहना निर्णायक हुनुपर्छ। लोकतन्त्रमा विश्वास गर्ने हो भने झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई यता वा उता भनेर तानातान गर्नुको साटो त्यहीँका जनतालाई निर्णय गर्न दिनु उत्तम हुन्थ्यो। नामकै हकमा पनि सहमति नभए प्रादेशिक सभाले निर्णय गरे भइहाल्थ्यो। नभए प्रदेशहरूमा जनमत संग्रह गरे पनि हुन्छ। आयरल्यान्डको स्वतन्त्रताका बारेमा जनताले नै निर्णय गरे तर स्वतन्त्रताको माग सधैँका लागि समाप्त भयो भन्ने त हैन।
अन्तिम निर्णयकर्ता सम्बन्धित क्षेत्रका जनतामात्र हुनसक्छन्। सहमति नभए बहुमतबाट निर्णय लिने लोकतान्त्रिक विधि स्वीकार गर्ने हो भने सधैँका लागि समस्या समाधान गर्न सहज हुनेछ। यसै पनि संविधान दिगो हैन गतिशील हुनुपर्छ। समयसँगै परिमार्जन गरिरहनुपर्छ। अर्का पुस्ताका लागि अप्ठेरो किन बनाउने? कति पुस्ताले मानिरहनु पर्ने हो पुराना सम्झौता? कसैले चाहँदैमा कुनै व्यवस्था वा विधि दिगो हुने त हैन रहेछ।
अन्त्यमा
बन्दुकको बलबाट राज्य कब्जा गरेर सर्वहाराका नाममा पार्टी प्राधिकारका हैसियतले एकछत्र राज गर्ने पुष्पकमल दाहालको तिर्सना नमेटिउन्जेल उनले विधिको शासन हुन दिने छैनन्। सहमतिका नाममा जनादेश मिच्न नपाउँदासम्म प्रचण्डको चित्त बुझ्नै सक्तैनन् । अर्कातिर, जनादेशविपरीत उनैलाई सबै सुम्पने हो भने लोकतन्त्र उपहासको विषय बन्न पुग्नेछ। यसैले लोकतन्त्र र अधिनायकवाद के रोज्ने हो भन्ने निर्णय संविधान सभा सदस्यहरू, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारण नागरिकले पनि गर्नैपर्छ।