Monday, March 16, 2015

संविधान नौटंकी र टेम्पोकी नानी

संविधान निर्माणलाई प्रमुख भनिने दलका शीर्ष कहलिएका नेताले 'नौटंकी' बनाइदिए। नेपालको संविधान लेखन हेर्दा पूर्वीय नाटकका केही तत्व भेटिन्छन् भने परिणाम पश्चिमी दुःखान्तको जस्तो हुनेगरेको छ। आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्तिपछि नेपाली राजनीति 'फलागम'मा पुग्दैन र पुगिहाले पनि 'दुःखान्त' हुनपुग्छ। दुःखान्त चाहिँ पश्चिमी नाटककका ग्रिक र सेक्सपियर दुवैको प्रवत्ति मिसिएर हुन्छ। अर्थात्, बाहिरी तत्वको प्रभाव र आन्तरिक कमजोरीका कारण त्रासद अन्त्य हुन्छ। नायकहरूले थाहा पाउँदापाउँदै नाटक चरमोत्कर्षमा पुग्दानपुग्दै दुःखान्तमा परिणत हुन्छ। 

सहमति र प्रक्रियाको 'झिँगेदाउ' कहिले सकिने हो र संविधान बन्ने हो? सम्भवतः यस प्रश्नको उत्तर कसैले पनि दिन सत्तै्कन। एनेकपा (माओवादी)का नेता बाबुराम भट्टराई 'गुहार माग्न' दिल्ली गएका हैनन् रे! कसैले पनि नमागीकन त उताबाट 'गुरुमन्त्र' पनि पक्कै नआउला। भगवद्गीतामा कृष्णले भनेका छन्- सबै जे हुन्छ उनकै इच्छामा हुन्छ। तिनै कृष्णकै कुलका अर्थात् यदुवंशी नै मूल शासक भए पनि अहिले नेपालमा अरूकै 'इच्छा'अनुसार शासन चल्छ। यसैले 'आकाशवाणी' नआउँदासम्म संविधान बन्ला भनेर कसरी पत्याउने?

नयाँ चरणको वार्ता नामको नौटंकीले जनतालाई मनोरञ्जन दिनसके त त्यो पनि ठीकै हुन्थ्यो। किन्तु, दिने त सास्तीमात्रै हो। न दुःखकष्टको विरेचन हुन्छ न शान्ति र स्वतन्त्रताको रस निष्पत्ति नै हुन्छ। यसैले नेपालको राजनीति र संविधान निर्माण नौटंकीको वर्णन तथा विश्लेषण अब नाट्य समीक्षककै जिम्मा लगाउनु बेस होला। सम्भावित दृश्यको परिकल्पना गर्न सकी पो हाल्छन् कि?

टेम्पोकी नानी
पानीपोखरीबाट सुन्धारा आउने सफा टेम्पोमा भेटिएकी सानी नानीका बारेमा मैले फागुन १९ गते टि्वट गरेको थिएँ- ड्रेस भिजेर टेम्पोमा : आमाले चलाएको टेम्पोमा भेटिएकी बलम्बुको स्कुलमा पढ्ने सानी नानी ड्रेस भिजेर स्कुल नगएकी रे! नागरिकका सहकर्मीहरूले त्यो विवरण पूरै लेख्न उक्साए।

हँसिलो अनुहारकी ती नानी फरासिली पनि थिइन्। उनकी आमा त्यही रुटमा टेम्पो चलाउँछिन्। त्यसैले बेलाबखत आमासँग टेम्पोमा हिँड्ने गर्दिरहिछन्। भाडा उठाउन र यात्रु बोलाउन पनि रमाउँदिरहिछन्। उनकी आमाले भनेअनुसार नानीले बोलाउँदा यात्रुहरू पनि आउँछन् रे!

मलाई टेम्पोमा सकेसम्म अगाडिको सिटमा बस्न मन लाग्दैन। तर, त्यस दिन संयोग त्यस्तै पर्यो । साना केटाकेटीसँग भेट भएपछि उनीहरूसँग जिस्किन पनि रमाइलो लाग्छ। यिनलाई जिस्क्याउँदै भने- तिम्रो नाम चनमती हो? उनले 'हैन' भन्दै आफ्नो दुईवटा नाम छ भनिन्। स्कुल जाने उमेरका केटाकेटीलाई विद्यालय समयमा अन्तै भेट्दा कताकता नरमाइलो लाग्छ र धेरैजसो सोध्ने गर्छु- आज स्कुल किन नभएको? सानी नानीले भने यस प्रश्नको जबाफ दिन आनाकानी गरिन्। अनि, आमासँग सोधेँ। आमाले भनिन्- स्कुलको ड्रेस भिजेकाले आज जान मानिन। मैले भने- अर्कै लुगा लगाएर पढाएको भए पनि त हुन्थ्यो। यसरी पढ्ने बेलामा अन्त हिँडाउँदा बानी बिग्रन्छ र स्कुल जान मनै नलाग्ने हुन्छ। आमाले कारण खुलाइन्- एकपटक अलिकति दाग लागेको लुगा लगाएर गएकी थिई स्कुलमा मास्टरले कुटेछन्। त्यसपछि त ड्रेस नलगाई स्कुल जानै मान्दिन। सानीले पनि थपिन्- सरले खुट्टैखुट्टामा कुट्नुभयो। सानी नानी बलम्बुको निकै नाम चलेको स्कुलमा पढ्छिन् रे!

मैले आमालाई 'स्कुलको ड्रेस दुई जोर किन नसिलाएको' भन्न सकिन। मैलै स्कुल नाम पनि सोधिन। यो नेपालका लगभग सबैजसो औसत विद्यालयमा पाइने साझा प्रवृत्ति नै हो। केही महंगा स्कुलमा यस्तो समस्या नपर्ला। दिनैपिच्छे पोसाक फेर्न परे पनि आमाबाबुलाई खासै मर्का पर्दैन। अनि, गाउँतिर रुखमुनि वा 'देवघाटमा शीत छल्न बनाइएको झाप्रो' जस्ता नाममात्रका स्कुलमा सायद ड्रेस पनि तोकिएकै हुँदैन। अरू सामुदायिक भनिने सरकारी विद्यालय र संस्थागत भनिएका शिक्षाका थोक पसलमा ड्रेस अनिवार्य छ। ( महाकवी लक्ष्मीप्रसाद देवकोटाले कुनै भोजमा लुगालाई खानेकुरा खुवाएका थिए रे! त्यसैगरी बालबालिकाका साटो स्कुलका कक्षा कोठामा ड्रेस झुन्ड्याउने हो भने कस्तो देखिएला?)

हाम्रो शिक्षा प्रणालीमा भित्रिएको थुप्रै विकृतिमध्येको हो यो विद्यालयमा निर्धारित ड्रेसको चलन। शिक्षाका काला व्यापारीहरू विद्यालयमा पोसाक अनिवार्य बनाएर आमाबाबुको थप दोहन गर्छन्। उनीहरूले तोकेकै पसलमा पोसाक किन्नुपर्छ। बजारभन्दा महंगो तिर्नुपर्ने हुन्छ। स्पष्ट छ, स्कुलका सञ्चालकले कमिसन खान्छन् र माथिसम्म पनि पुर्यापउँछन्। यस्तो कालो बजारीका लागि कुनै स्कुलको प्रधान अध्यापक वा सञ्चालकमाथि कारबाही नगरिनु माथीसम्म भागबिलो पुगेकै प्रमाण त हो। आमाबाबुलाई भावनात्मक 'ब्ल्याकमेल' गर्नैका लागि शिक्षक शिक्षिकाले ड्रेस नलगाएको निहुँमा केटाकेटीलाई ठूलै अपराध गरे झैँ त्रू्कर सजाय दिन्छन्। पैसा हुनेले दुई तीन जोर पनि किन्लान् तर नहुने के गर्ने? यही प्रश्नको उत्तर थिइन् ती टेम्पोमा भेटिएकी सानी नानी।

ड्रेस नभएकै कारण कतिपय बालबालिकाले विद्यालय नै छाडेकाछन्। सरकार र गैरसरकारी संस्थाहरू विदेशीसँग रिन अनुदान मागेर भए पनि ड्रेस बाँड्न बरु तयार हुन्छन् शोषणको जालो भत्काउन अगाडि सर्दैनन्। सबैले त विद्यालय पोसाकबाट कमिसन पाएका छैनन् होला। ड्रेस नतोके विद्यार्थीले लुगाको भद्दा प्रदर्शन गर्छन् र धनी र गरिबका बीचमा अन्तर देखिन्छ भन्ने तर्क दिनेहरू पनि छन्। केही हदसम्म त्यो तर्क सही पनि होला तर समाजमा जताततै सम्पत्तिको भद्दा प्रदर्शन भई नै रहेको बेला सुधा गाईजस्ता बालबालिकालाई ड्रेसको बन्धनमा राख्नुको के औचित्य? कथित ठूला नेताको लबाइखबाइ, आवागमन र रहनसहनमा जस्तो सम्पत्तिको भद्दा प्रदर्शन अन्यत्र कता भएको होला र? तिनलाई चाहिँ पोसाकको बन्धन नचाहिने तर साना नानीलाई भने तोकिएकै लुगा लाएन भनेर कुटपिट गर्ने कुसंस्कार कसरी बदल्ने? शिक्षामा सुधारको बहसमा यस्ता विषय किन समावेश गरिँदैनन्?

किनभने, यस्तो संस्कार बदल्न नीति निर्माताको आँखा खुल्नुपर्छ। तिनमा समाज बदल्ने चाहना र प्रतिबद्धता हुनुपर्छ। राजनीति गर्नेहरूमा समाजका सबै वर्गको हित गर्ने इच्छा, आँट र समपर्ण हुनुपर्छ। सबैभन्दा बढी त तिनीहरू पाखण्डबाट मुक्त हुनसक्नुपर्छ। दुर्भाग्य, पाखण्ड नै नेपालका राजनीतिक नेता र प्रशासकहरूको मूल प्रवृत्ति रहिआएको छ। र, आफूले जति ढाँटे पनि, जति पाखण्ड देखाए पनि अरू कसैले थाहै पाउँदैनन् भन्ने भ्रममा बाँचेका छन् तिनीहरू। केहीलाई भने जनताले थाहा पाए पनि केही गर्न सत्तै्कनन् भन्ने घमण्ड छ। हत्या, हिंसा, भ्रष्टाचार, ठगी, फट्याइँ र पाखण्डका पुञ्जहरूले सबैभन्दा चर्को डाँकोमा धम्की दिँदा पनि टुलुटुलु हेरेर बस्ने जनता पनि सायद नेपालीमात्रै होलान्? र यस विकृतिका लागि आंशिकै सही दोषी पनि छन्।

पाखण्डको यो रूप!
टर्किस एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलको धावनमार्गबाट हटाउन भारतीय वायु सेवाको सहयोग मागियो। आवश्यक उपकरण लिएर वायु सेवाको विमान नेपाल आयो। निकै अप्ठेरो काम रहेछ क्यारे विमानस्थल पुनः चालु गराउन ४ दिन लाग्यो। विमानस्थल खोल्न सहयोग गरेकोमा भारतीय वायुसेवा र सम्बन्धित प्राविधिकहरूलाई धन्यवाद दिएर सरकार र जनताले पनि कृतज्ञता ज्ञापन प्रकट गर्नुपर्थ्यो। नेपाल कम्युनिस्ट पार्टी—माओवादी नाम गरेको आफूलाई राजनीतिक दल भन्ने एउटा समूहका नेताले भने उल्टै त्यसलाई भारतीय हस्तक्षेप र के के भनेर सरापेछन्।

संविधान सभाको सबैभन्दा महŒवपूर्ण समितिका सभापति भए पनि संविधान निर्माण प्रक्रियामा सबैभन्दा बढी भाँजो हाल्ने अर्का माओवादी नेताले चाहिँ नयाँ दिल्लीमा पुगेर 'नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतीय सत्ता पनि 'स्टेकहोल्डर ' हो' भन्दै हस्तक्षेपको बिन्ती चढाएछन्। नेपाली जनताले चुनेको संविधान सभाले लोकतान्त्रिक प्रक्रिया अपनाएर बनाएको संविधान स्वीकार्य नहुने तर दिल्लीले दिएको भीखमा दिए शिरोपर हुने?

यिनले बनाउने संविधानमा जस्तो शासकीय स्वरूप अपनाए पनि, जतिवटा प्रदेश बनाए पनि र प्रदेशको नाम जे राखे पनि त्यसले टेम्पो चलाएर गुजारा चलाउने आमाकी छोरी ड्रेस भिजेकै कारण स्कुल जान नपाउने अवस्था बदल्दैन। ती सानी नानीको समस्यामा केन्द्रित राजनीति निकट भविष्यमा हुने संकेतसम्म पनि छैन।

यस्तो निराशाको तुवाँलोले ढाकेका बेला पाखण्डीहरूलाई धिक्कार्नुबाहेक अरू केही लेख्नु र भन्नुको सायद औचित्य पनि छैन!

र, अन्त्यमा
रानीबारीमा साँझबिहान घुम्न जानेको भिडै हुन्छ। तीमध्ये पचासौं जना त्यसको परिक्रमा पनि गर्छन्। ढलेको रुखले बाटो छेकेको महिनौ दिन भइसक्यो। वनका बाँस प्रहरीहरूले काटेर लगेको देखिन्छ। प्रहरीको एउटा केन्द्रको रानीबारीसँग साँध जोडिएको छ। वन उपभोक्ता समिति पनि छ रे। एकजना सज्जनका अनुसार- 'देवताको पूजा गरेर प्रसाद खाँदा (भोज गर्दा?) पनि समितिलाई पैसा तिर्नुपर्छ रे! नजिकै घर भएका अर्का सज्जन भन्थे- समितिलाई सुधार्ने प्रयास काम लागेन। ती ढलेका रुख हटाएर बेचे पैसा आउँथ्यो होला। नभए पनि बाटो त सजिलो हुन्छ। प्रहरीले चाहे रुख हटाउन एक बिहान पनि लाग्दैन। रुख आफैँ गलेर नजाउन्जेल सजिलोसँग हिँड्न पर्खनै पर्नेजस्तो छ। कारण, अरू कसैलाई त्यहाँका रुख काट्न पनि त दिइँदैन।

No comments:

Post a Comment