Monday, February 23, 2015

कांग्रेसको विनिर्माण


देशमा जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने सम्भावना टर्दै गएको छ। चिन्ता भने कसैले गरेजस्तो देखिएको छैन। संविधान निर्माणप्रति गम्भीर व्यक्तिहरू 'महाघण्ट'को शिलान्यास वा 'खुला दिसामुक्त क्षेत्र'को घोषणाजस्ता महत्वहीन कार्यक्रममा आफ्नो छवि र पदको गरिमालाई बेवास्ता गरेर व्यक्ति विशेषलाई खुसी तुल्याउन जाने थिएनन्। संविधान सभाको अल्पमतका नेतालाई त झन् पौंठेजोरी खेल्नेबाहेक अरू कुनै काममा चाख नै छैन। शक्ति प्रदर्शन र परीक्षणपछि बुद्धि फिर्योत भने बेग्लै। यसैले संविधान निर्माणका लागि थालिएको लोकतान्त्रिक प्रक्रिया भर्सेलैमा परोस्।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन आउँदो भदौमा काठमाडौंमा हुने घोषणा गरिएको छ। खासै, तलमाथि केही नभए महाधिवेशन होला पनि। कांग्रेसको महाधिवेशनमा विचार र नीतिमा खासै छलफल हुँदैन बरु पदाधिकारीको निर्वाचनमा केन्द्रित हुन्छ। नेपालका राजनीतिक दलमा विचार र सिद्धान्तको ठेक्का केही ठालुले लिएका छन्। कांग्रेसमा त झन् २०४६ सालपछि सायद एउटै समूहले नीति र कार्यक्रम तथा घोषणापत्र लेख्दैआएको छ। संसार जहाँ सुकै पुगोस्, नेपाली जनताको चेतनास्तर जति नै बढोस् तिनलाई मतलब भएजस्तो देखिँदैन। तैपनि, नेपालको आधुनिक राजनीतिमा सबैभन्दा धेरै प्रभाव र योगदान भएको पार्टी भएकाले नेपाली कांग्रेसको महाधिवेशनले धेरैको ध्यान तान्नु स्वाभाविकै हो।

जनता र कांग्रेस
कांग्रेस अहिले संविधान सभाको सबैभन्दा ठूलो पार्टी भएको छ। त्यसो त नेपालमा अहिलेसम्म भएका सबै संसदीय निर्वाचनमा नेपाली कांग्रेस पहिलो वा दोस्रो दल हुने गरेको छ। अर्थात्, नेपाली जनताले पत्याउँदै आएका छन्। तर, प्रत्येक अर्को निर्वाचनमा कांग्रेसलाई जनताले सजाय दिने पनि गरेका छन्। अहिले कांगे्रससँग अर्को निर्वाचनका लागि प्रयोग गर्न सकिने आकर्षक व्यक्तित्व र कार्यक्रम दुवै छैनन्। व्यक्तित्व रातारात पैदा गर्न त सकिँदैन तर निर्माण गर्न सम्भव छ। कांग्रेसमा अपेक्षाकृत लोकप्रिय र सम्भावना युक्त नेताहरू धेरै छन्। तीमध्ये धेरैको पारिवारिक पृष्ठभूमि पनि छ। दक्षिण एसियाली राजनीतिमा पारिवारिक पृष्ठभूमिको महत्व अझै कायमै छ। तर, युगअनुसारको विचार र कार्यक्रमसहित जनतामा जोडिन नसक्ने हो भने कांग्रेस बिस्तारै सन्दर्भहीन हुनपुग्नेछ।

मतदाताले आफ्नै पुस्ताका नेता खोज्छन्। नेपालको जनसंख्यामा सबैभन्दा धेरै बालबालिकापछि १८–४० वर्षका छन्। यसैले ७० वर्षमाथिका नेताहरूले नै पार्टी र सरकारको नेतृŒव गरिरहनु सायद उपयुक्त हुँदैन। नेपालको राजनीतिलाई नयाँ आयाम दिन कांग्रेसका ७० वर्षमाथिका नेताले अवकाश लिनु उपयुक्त हुनेदेखिन्छ। परिपक्व नेताहरूको कमी नभएकाले यसले राजनीतिक रिक्तता उत्पन्न पनि हुनेछैन। नीति र कार्यक्रममा हकमा पनि पुनः विचार जरुरी छ।

साहित्यको शब्द विनिर्माण नेपाली बृहत् शब्दकोषको पछिल्लो संस्करणमा समेत समावेश भएको छैन। तर अब यो शब्द नेपाली साहित्यमा पनि चलिसकेको छ। उही सामग्री प्रयोग गरेर तर जगैदेखि नयाँ संरचना निर्माण गर्नुलाई विनिर्माण भन्न सकिन्छ। नेपाली कांग्रेसभित्रै त्यस्तो सम्भावना छ। कांग्रेस जति लचिलो अरू दल हुनसकेका छैनन् र सत्तै्कनन् पनि। यसैले महाधिवेशनका क्रममा पार्टीको विनिर्माण हुने गरी नेपाली कांग्रेसका नेता कार्यकर्ता अग्रसर हुनसके नेपाली राजनीतिमै नयाँ युगको सूत्रपात हुने थियो।

सबैको पार्टी
नेपालमा जाति, वर्ग, धर्म, क्षेत्रजस्ता सीमित र साम्प्रदायिक राजनीति गर्नका लागि अरू दल नै पर्याप्त छन्। यस्तै, अधिनायकवादबाट मुलुकको हित हुने ठान्नेहरूका लागि पनि दलहरू छन्। तर, लोकतन्त्र र राष्ट्रियताप्रति प्रतिबद्ध सुधार र प्रगतिका पक्षधर जनताको सबै वर्ग एवं समूहको हितमा राजनीति गर्नका लागि भने अहिले पनि नेपाली कांग्रेसबाहेक अरू दल देखिएको छैन। अझै पनि कांग्रेस त्यति धेरै बदनाम भइसकेको छैन जसमा संलग्न हुन लाजै लागोस्। अर्थात्, इतिहास र भविष्य दुवै भएको दल त कांग्रेसै देखिन्छ। सबै वर्ग, धर्म, जाति, समूह र क्षेत्रका मानिसको साझा दल भएकाले कांग्रेस कसैको पनि शत्रु हुन सत्तै्कन। तर नीति र कार्यक्रममा परिमार्जन गरेमा कमजोरहरूको मित्र भने हुनसक्छ। अझै पनि सबै शक्तिले कांग्रेसको नेतृŒव स्वीकार गर्न सक्छन्। अरू त्यस्तो कुनै दल छैन। यसैले नेपाली कांग्रेसले सबैभन्दा पहिले आफूलाई सबैको पार्टी बनाउने संकल्प गर्नुपर्छ। विखण्डन र विभाजनको राजनीति गर्ने त अरू छँदैछन्।

सबैको पार्टी बन्नका लागि कांग्रेसजस्तो जनाधारित दलले संगठन विस्तारका क्रममा पारदर्शी तथा खुला प्रक्रिया अपनाउनुपर्छ। महाधिवेशनमा प्रतिनिधि चयन गर्ने बेलामा मात्र सदस्यता विस्तार गर्ने अहिलेको अभ्यास छाड्नु आवश्यक छ। कांग्रेस हुन आवश्यक आधारभूत योग्यता तोकेर सहमति हुनेहरूलाई साधारण सदस्यता खुलारूपमा दिने पद्धति अपनाउनुपर्छ। त्यसपछि अर्को महाधिवेशनसम्म तिनको सक्रियताका आधारमा क्रियाशील सदस्यता दिने पद्धति बसाल्न सकिन्छ। पारदर्शी रूपमा क्रियाशील सदस्यता दिने हो भने पार्टीलाई कसैले पेवा बनाउन सक्नेछैन। पार्टीको क्रियाशील सदस्यसम्मलाई नीति र कार्यक्रम निर्माणमा सहभागी गराएमा त्यसमा तिनको अपनŒव पनि बढ्छ । यसरी पार्टीको विनिर्माणका लागि अहिलेको नेतृत्वलाई पार्टी संगठन गर्न जिल्लामा पठाउने र ७० नाघेका जतिले अवकाश लिने गर्नु उचित हुन्छ। अहिले त क्रियाशील सदस्यता दिँदैमा षड्यन्त्र गरिन्। त्यसको कार्यकर्ता र अरू शुभेच्छुकहरूमा कस्तो छाप पर्ला? सक्रिय कार्यकर्ता सबै नै पार्टीको नीति निर्माणमा संलग्न हुने वातावरण बनाउनुपर्छ। भातृ भगिनी संस्थाहरू पार्टीका आधिकारिक दस्तावेजहरू निर्माणमा सहभागी हुन पाउनुपर्छ। अझ निर्वाचन र महाधिवेशनलाई अलग्ग गराउन सके पार्टीभित्र सिद्धान्त, नीति र कार्यक्रममा सम्बन्धमा व्पापक छलफल हुनसक्थ्यो। संगठनभित्र छलफल जति धेरै हुन्छ त्यो उनी नै जीवन्त हुन्छ।

सामाजिक सुरक्षा
कांग्रेसले समाजवाद भन्ने गरेको छ। यथार्थमा अब त्यो भेदभावकारी समाजवादी चोला उतारेर अगाडि बढ्नुपर्छ। बीपीले जीवनको उत्तरार्धमा प्रकट गरेका विचारहरूले त्यसको मार्गदर्शन गर्छ। व्यक्तिलाई भेदभाव नगरी शिक्षा र स्वास्थ्यको अवसर उपलब्ध गराउने नीति कांग्रेसजस्तो सबैको पार्टीले लिनुपर्छ। राज्यले दिँदा वर्ग, जाति, क्षेत्र वा सम्प्रदायका आधारमा भेदभाव नगर्ने नीति अपनाएमा कांग्रेस अरूभन्दा अलग हुनेछ। यसै पनि सबैलाई नदिँदासम्म कमजोर, निर्धा र निमुखाले पाउँदैनन्। अहिलेसम्म राज्यले कर्मचारीलाई मात्र पालेको छ। सामान्य नागरिकले राज्यबाट केही पाएका छैनन्। अब राज्यको त्यस प्रवृत्तिमा परिवर्तन गर्नुपर्छ। कम्तीमा स्वास्थ्य र शिक्षाको सेवा बिन्दुमा पैसा लिइनुहुँदैन। राज्यले दिँदा सबैलाई बराबर दिने तर लिँदा हुनेसँग धेरै लिने उदारवादी नीति लिनुपर्छ। अनिमात्र आरक्षण वा विशेषधिकारका पक्षधरभन्दा अलग्ग हुनसकिन्छ।

सार्वजनिक सेवा
बजार अर्थतन्त्रका नाममा नेपाली कांग्रेसकै अगुवाइमा थालिएको भतांभुंगे आर्थिक पद्धति अहिले नै प्रत्युत्पादक भइसकेको छ। यातायात, सञ्चार, ऊर्जा जस्ता विषयमा सार्वजनिक क्षेत्रको विकल्प निजी क्षेत्र हुन सत्तै्कन। नेपालमा निजी क्षेत्र यी सेवामा अलग गर्न नसकिने गरी संलग्न भएकाले अत्यावश्यक सेवालाई सरकारको नियन्त्रणमा मात्र राख्न नमिल्ला। आधा शताब्दी पहिलेजस्तो राष्ट्रियकरण गरेर पनि अब समस्या समाधान हुँदैन। यसैले सार्वजनिक सेवाको व्यवस्थापन र नीति निर्माणमा समेतमा निजी क्षेत्रको निर्णायक प्रतिनिधित्व हुनेगरी सबै सेवालाई यथार्थमै सार्वजनिक हित उन्मुख बनाउनुपर्छ। संसारका सबैजसो राज्यमा यातायात, ऊर्जा र सञ्चार सेवामा राज्यको संलग्नता छ। नेपालमात्र अपवाद बन्न खोज्नु हुँदैन।

यति गर्न आर्थिकरूपमा कठिन पनि हुनेछैन। शिक्षामा शिक्षकको तलबमा खर्च गरिने रकम विद्यार्थीलाई छात्रवृत्ति दिने र स्वास्थ्यमा तलब भत्तामा खर्च हुने रकमको न्यायोचित वितरण गरेर देशव्यापी स्वास्थ्य बिमा लागु गर्ने हो भने सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्थाले सेवाका आधारमा मेवा पाउने व्यवस्था हुनेछ। सरकारी वा निजी कुनै क्षेत्रले पनि ठगेर खान नपाउने बन्दोबस्त मिलाउने राज्यको कर्तव्य हो। व्यक्तिको हित सर्वोपरि त हुनु नै पर्छ।

अर्थतन्त्र
अबको अर्थतन्त्र बजारमा हैन व्यक्तिमा केन्द्रित हुनुपर्छ। नेपाली कांग्रेसले मात्र त्यसमा पनि अगुवाइ गर्नसक्छ। यस्तै वातावरण संरक्षण हाम्रो अर्थतन्त्रका सन्दर्भमा बढी महत्वपूर्ण छ। बीपीले पछिल्ला दिनमा इएफ सुमाकरको 'स्मल इज ब्युटिफुल' को सराहना गर्न थालेका थिए। त्यो समाजवादी अवधारण त हैन। समाजवादमा राज्यको भूमिका प्रमुख हुन्छ भने सानो व्यवसायमा वा अर्थतन्त्रमा निजी क्षेत्र नै मुख्य हुनसक्छ। यसैले अर्थतन्त्रका हकमा पनि कांग्रेसले नयाँ प्रणाली अपनाउनुपर्छ। निजी क्षेत्रसँग साझेदारी गर्ने र व्यवस्थापनमा सहभागी गराउने तर व्यक्तिको हितलाई केन्द्रमा राख्ने नीति अपनाउनु उचित हुन्छ। त्यस अवस्थामा मजदुर कामदारहरू पनि व्यवस्थापनमा सजिलै सहभागी हुनसक्नेछन्। त्यस्तो अर्थ व्यवस्थामा लुट र शोषणमुखी हैन समतामूलक तथा न्यायोचित उत्पादन एवं वितरण प्रणालीको थालनी हुनेछ।

अहिलेसम्म सबै अग्रगामी परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ। अधिनायकवादविरुद्ध संघर्ष पनि कांग्रेसले नै गरेको छ। अब लोकतान्त्रिक संस्कृतिको विकास र गरिबीविरुद्धको आन्दोलनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्छ। नत्र, मुलुक विखण्डित हुने र जनता गरिबी, शोषण र दमनको दुश्चक्रमा अझ बढी फस्ने खतरा झन् बढ्नेछ। कांग्रेस अहिले अरूको पछि लागेको र अरूकै कार्यसूचीमा घिसारिएको देखिएको छ। अब कांग्रेसले सबै वर्ग र समूहप्रति न्याय गरेर राजनीतिक संस्कृति परिरवर्तन गर्न सबैभन्दा पहिले आफ्नै विनिर्माण गर्न सक्नुपर्छ।

र अन्त्यमा,
हुकुमी राणा शासनविरुद्धको जनक्रान्ति र माओवादीले संसदीय लोकतन्त्रविरुद्ध गरेको हिंसात्मक विद्रोहलाई एउटै कोटीमा राख्न मिल्दैन। यस्तै तत्कालीन राजा ज्ञानेन्द्रको लहैलहैमा शेरबहादुर देउवाले चुनावै हुन नसक्ने बेलामा भंग गरेको प्रतिनिधि सभा पुनःस्थापनाका लागि गरिएको आन्दोलन र जननिर्वाचित संविधान सभाविरुद्ध अहिले गर्ने भनिएको आन्दोलनलाई पनि उस्तै मान्न सकिँदैन। नेपाली कांग्रेसले २००७ सालको जनक्रान्तिबाट जनताको सम्प्रभुता स्थापित गर्योन। महेन्द्रले पञ्चायत कालमा खोसेको जनअधिकार २०४६ सालको जनआन्दोलनबाट फिर्ता भएको थियो। ज्ञानेन्द्रले पनि जनअधिकार खोसेपछि २०६२ /६३ को जनआन्दोलन भयो र प्रतिनिधि सभा पुनःस्थापना गर्योी। तर, अहिले जनताका कुनै अधिकार खोसिएका छैनन्। बरु, जनताका प्रतिनिधिलाई लोकतान्त्रिक प्रक्रिया अपनाएर संविधान बनाउन नदिन यो कथित आन्दोलन गर्न लागिएको छ। जनताले चुनेको संसद् क्रियाशील हुँदासम्म यस्ता आन्दोलन सफल हुँदैनन्। सडकबाटै सत्ता कब्जा गर्ने नियत हो भने लोकतन्त्रका पक्षधरहरू त्यसलाई विफल तुल्याउन अग्रसर हुनुपर्छ। विदेशीले पनि विखण्डन र विग्रहलाई काँध नथापून्।

Monday, February 16, 2015

अल्पमतको नियत

संविधान निर्माण प्रक्रिया पुनः रोकियो। सायद, एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नेता पुष्पकमल दाहाल 'प्रचण्ड'को 'समानान्तर सरकार' चलाउने धम्कीबाट सत्ता पक्ष डरायो। त्यसो त, राष्ट्रपतिदेखि छिमेकी मुलुकका प्रधानमन्त्रीसमेतले विपक्षीलाई धाप मार्न थालेपछि सरकारमा हुनेहरूको सातो जानु अस्वाभाविक पनि होइन। भन्न त, सहमतिका लागि सत्ता पक्ष हदैसम्म लचिलो भएको प्रमाणका रूपमा पनि संविधान सभा स्थगनलाई प्रस्तुत गर्न सकिएला। 

त्यसै हो भने पनि सत्ता पक्षको 'सदाशय'लाई विपक्षले कमजोरी ठानेर थप पेल्न खोजेको स्पष्टै देखिन्छ। 'पालभित्र नाक घुसारेपछि पालवालालाई नै बाहिर निस्कन' भन्ने अरबी उँटको कथाजस्तै देखिन थालेको छ प्रचण्डको कार्यशैली। संविधान सभाको बैठक अनिश्चित कालका लागि स्थगित गरेपछि पनि उनी वार्ताका तयार भएनन्। पहिले कुरा मिलेमात्र औपचारिक वार्ता गर्ने रे? यसैले विपक्षीको भित्री मनसाय वार्ताबाट सहमति खोज्नु हैन भन्ने सन्देह नै पुष्टि हुन्छ। उनीहरू या त सत्ता पक्षलाई घुँडा टेकाउन चाहन्छन् नभए अन्तै कतैबाट सञ्चालित छन्। घटनाक्रमले देखाएको चित्र यही हो।
वाताकै लागि सर्त!
वार्ताकै लागि सर्त राख्नेहरू सहमतिका लागि गम्भीर छन् भन्ने ठान्नुभन्दा नै मूर्खता हो। संविधान सभा मिति नतोकी स्थगित गर्नुको उद्देश्य वार्ताका लागि समय दिने नै हो भने त्यो त्यत्तिकै खेर जाने सम्भावना नै बढी देखिन्छ। कुनै पनि विधि र प्रक्रिया स्वीकार नगर्ने मध्यकालीन युद्ध सरदारको प्रवृत्तिजस्तै देखिन्छ लोकतान्त्रिक विधि र प्रक्रिया स्वीकार नगर्ने प्रचण्डको हठ। वार्ता सुरु गर्दैमा के गर्ने भन्ने कागज गर्नुपर्ने हो भने वार्ता गर्नै किन पर्योर र? खुरुक्क सत्ताको साँचो प्रचण्डलाई सुम्पेर नेपाली कांग्रेस र नेकपा (एमाले)लगायतका दलका नेताले राजनीतिक सन्यास लिए हुन्छ। जनादेश पाउँदा पनि कार्यान्वयन गर्ने आँट नहुनेलाई राजनीतिक मैदानमा बसिरहने नैतिक अधिकार हुँदैन। सहमतिबाटै निकास खोज्ने हो भने सत्ता र विपक्ष दुवैले विनासर्त वार्ता सुरु गर्नुपर्छ। वार्तामा बस्नकै लागि सर्त राख्नेहरूको त नियतै खोटो हुनसक्छ।
प्रचण्डले खोजेकै सहमतिका त लागि कांग्रेसले सत्ता र सिद्धान्त दुवै छाड्नुपर्नेछ। सिद्धान्त छाड्न अहिलेका तर्बुजा कांग्रेसलाई खासै कठिन पनि नहोला तर सत्ता छाड्न कसरी सक्लान् र? यद्यपि, सिद्धान्त छाडेपछि सत्ता पनि जोगिनेछैन। बलजफ्ती लाद्न खोजिएको सहमतिका नाममा सिद्धान्त नछाड्ने हो भने बरु सत्ता र स्वत्व दुवै जोगिन सक्छ।
माओवादीको नियत?
'समग्र मधेस एक प्रदेश' भन्ने माग संघीयताको मर्मविपरीत छ। यसैगरी आर्थिक, सामाजिक, राजनीतिक सबै दृष्टिबाट अनुपयोगी र अव्यावहारिक पनि छ। तैपनि मधेसी नेताहरूको नियतमा धेरै सन्देह गर्नु आवश्यक छैन। उनीहरूले सिंगै तराई एउटै प्रदेश भए केन्द्रभन्दा बलियो हुने ठानेको हुनसक्छ। यसै पनि विखण्डनका नेता त विदेशीले सीके राउतलाई बनाइसकेका छन्।
माओवादी नेताहरू त बहुलवादसमेत स्वीकार गर्दैनन्। तिनले नियत अर्कै नभए जातीय राज्यको पैरवी नगर्नुपर्ने हो। तराईमा जति नै विविधता भए पनि एउटै प्रदेश बनाउनैपर्ने र पहाडमा डाँडैपिच्छे राज्य खडा नगरी नहुने कस्तो हठ हो? पहाड र तराई दुवै एउटै मुलुक हैनन्?
माओवादी र मधेसीले 'स्वायत्त प्रदेश' पनि भन्दै आएका छन्। कस्तो स्वायत्तता खोजिएको हो? चीनका स्वायत्त प्रदेशहरूजस्तो केन्द्र सरकारकै विस्तारित अंगका रूपमा रहने हो कि? भारतका प्रदेशहरू त स्वायत्त भनिदैनन्। यस्तै अमेरिकी राज्यहरू पनि स्वायत्त हैनन्। कि क्यानाडा वा जर्मनीको जस्तो संघीयतामा जाने भनेको हो? तर, तिनीहरू त कसैको नाममा पनि 'स्वायत्त' भन्ने विशेषण लागेको छैन क्यारे?
अल्पमतको चाहना के हो? नाममा स्वायत्त शब्द र जातिबोधक विशेषण जोडेपछि जति नै केन्द्रीकृत प्रणाली अपनाए पनि हुने हो? तमुवान वा मगरात बनाउनुपर्छ भने मिथिला, भोजपुरा र अवध बनाउन नपर्ने आधार के हो? यसैले माओवादीको नियतमा शंका उब्जेको हो।
विखण्डनको खतरा
अहिलेको वितण्डा मूलतः मधेसलाई नेपालबाट छुट्याउने नै हो भने सायद भारतको आडमा त्यस षड्यन्त्रमा लाग्नेहरू सफल पनि होलान्। तर, त्यसरी अलग भएको 'मधेस' स्वतन्त्र मुलुक रहन सक्नेछैन। एकछत्र राजको सपना त झन् सोझै चकनाचुर हुनेछ। अर्कातिर त्यस अवस्थामा भारतमा पनि कोचिला, मिथिला, भोजपुर, अवध प्रदेश बनाउने माग चर्कनेछ। भारतलाई त्यो 'भालुको कन्पट' हुनेछ।
यता, पहाडी र हिमाली भूभागका जनता चीनसँग नजिकिन बाध्य हुनेछन्। भारतका लागि त्यो पनि प्रिय त नहुनुपर्ने हो। गुप्तचरले सञ्चालन गरेको भारतको नेपाल नीतिअनुसार नेपाललाई गाभ्ने भारतको रणनीति अझै कायमै रहेको छ भने त्यो पनि अब सहजरूपमा कार्यान्वयन पक्कै हुनेछैन। चीनको भूराजनीतिक प्रभाव र महत्व दुवै धेरै जो बढेको छ।
भारतकै पाठ
पहिले धर्मका नाममा भारतको विभाजन भयो। त्यसपछि पाकिस्तान भाषाका नाममा विभाजित भयो। भारतमा रहेको पञ्जाबमा पनि शिख पृथकतावादी आन्दोलन दबाउँदा ठूलै रक्तपात भयो। कस्मिर भारतको अर्को टाउको दुखाइ भइरहेकै छ। पाकिस्तानमा सिन्धी र बलुच असन्तुष्टि वा उत्तरपूर्वी भारतको पृथकतावादी आन्दोलन कति बेला कसरी प्रकट हुने हो अनुमान गर्न पनि कठिन छ। बंगलादेशमा अझै पनि लोकतन्त्र संस्थागत हुनसकेको छैन। बन्दुक र सडकले निर्णय गर्ने शैलीलाई स्थापित जो गरियो। अहिले पनि बङ्गलादेश उद्वेलित छ। सत्ता र विपक्षीको मुठभेडबाट थुप्रै नागरिकको ज्यान गइसकेको छ। मुलुक एक प्रकारले ठप्पै छ।
भारतमै प्रदेशहरूको विभाजन कुन बिन्दुमा पुगेर टुंगिने हो भन्न सकिँदैन। यसले पनि विभाजनको यही आधार सही हो भन्न सकिने देखिएन। विखण्डनको क्रम विनाशमा पुगेरमात्र रोकिन्छ। अहिलेसम्म विश्व इतिहासले सिकाएको त यही हो।
जनताको निर्णय
'राष्ट्र भनेको जनता हुन्' भन्ने बीपीको कथन अहिले पनि उत्तिकै सान्दर्भिक छ। मधेसमात्र हैन कहीँका पनि जनताले अलग्ग हुने आँट गरे भने तिनलाई जबरजस्ती कुनै भूभागमा सधैँका लागि टाँसेर राख्न सकिँदैन। तर त्यसमा पनि केही लाउकेहरूको हैन तराईका बहुसंख्यक जनताको चाहना निर्णायक हुनुपर्छ। लोकतन्त्रमा विश्वास गर्ने हो भने झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई यता वा उता भनेर तानातान गर्नुको साटो त्यहीँका जनतालाई निर्णय गर्न दिनु उत्तम हुन्थ्यो। नामकै हकमा पनि सहमति नभए प्रादेशिक सभाले निर्णय गरे भइहाल्थ्यो। नभए प्रदेशहरूमा जनमत संग्रह गरे पनि हुन्छ। आयरल्यान्डको स्वतन्त्रताका बारेमा जनताले नै निर्णय गरे तर स्वतन्त्रताको माग सधैँका लागि समाप्त भयो भन्ने त हैन।
अन्तिम निर्णयकर्ता सम्बन्धित क्षेत्रका जनतामात्र हुनसक्छन्। सहमति नभए बहुमतबाट निर्णय लिने लोकतान्त्रिक विधि स्वीकार गर्ने हो भने सधैँका लागि समस्या समाधान गर्न सहज हुनेछ। यसै पनि संविधान दिगो हैन गतिशील हुनुपर्छ। समयसँगै परिमार्जन गरिरहनुपर्छ। अर्का पुस्ताका लागि अप्ठेरो किन बनाउने? कति पुस्ताले मानिरहनु पर्ने हो पुराना सम्झौता? कसैले चाहँदैमा कुनै व्यवस्था वा विधि दिगो हुने त हैन रहेछ।
अन्त्यमा
बन्दुकको बलबाट राज्य कब्जा गरेर सर्वहाराका नाममा पार्टी प्राधिकारका हैसियतले एकछत्र राज गर्ने पुष्पकमल दाहालको तिर्सना नमेटिउन्जेल उनले विधिको शासन हुन दिने छैनन्। सहमतिका नाममा जनादेश मिच्न नपाउँदासम्म प्रचण्डको चित्त बुझ्नै सक्तैनन् । अर्कातिर, जनादेशविपरीत उनैलाई सबै सुम्पने हो भने लोकतन्त्र उपहासको विषय बन्न पुग्नेछ। यसैले लोकतन्त्र र अधिनायकवाद के रोज्ने हो भन्ने निर्णय संविधान सभा सदस्यहरू, नागरिक समाज, सञ्चारकर्मी र सर्वसाधारण नागरिकले पनि गर्नैपर्छ।

Monday, February 9, 2015

बहुमतविरुद्ध बलमिचाइ

नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री भएको वर्ष दिन पुग्यो। उनले वर्षैभर माघ ८, २०७१ का दिन जसरी पनि संविधान जारी गर्ने रट लगाइरहे तर संविधान आएन। उनी प्रधानमन्त्री नहुँदैदेखि रिक्त संवैधानिक निकायमा समेत पदाधिकारी नियुक्त गर्न सकेका छैनन्। यसबीच भएका प्रशासनिक संवैधानिक नियुक्तिमा पनि भागबन्डै भयो। उनी प्रधानमन्त्री हुने बेलामा एनेकपा (माओवादी) र मधेसी दलहरू संविधान सभामा भाग नलिने धम्की दिँदै थिए। अहिले संविधान सभा छाडेर सडक आन्दोलनमा पुगेका छन्। अर्थतन्त्रमा देखिएको सामान्य सुधार पनि सरकारको प्रयासभन्दा बढी निजी क्षेत्रले गरेको विश्वासको परिणाम हो। यसरी हेर्दा प्रधानमन्त्रीका रूपमा सुशील कोइराला सफल देखिँदैनन्।

सुशील कोइरालालाई 'संसारकै गरिब प्रधानमन्त्री' भनिएको थियो। अहिले पनि सम्पत्ति कमाएको आरोप चाहिँ लागेको छैन। उनको मन्त्रिपरिषद्का अरू सदस्य पनि उति धेरै बदनाम भएका छैनन्। हुनत बाबुराम भट्टराईको मन्त्रिपरिषद् गएपछि नै खासै ठूलो आर्थिक घोटाला भएको चर्चा छैन। यसको अर्थ अहिले भ्रष्टाचार नभएको भने पक्कै पनि होइन। तर, 'प्रिपेड घुस'माग्ने आँट सायद अहिलेका मन्त्रीले गरेका छैनन्। प्रधानमन्त्रीको छवि पनि यसको कारक बनेको हुनुपर्छ। सायद, यो उनको चित्त बुझाउने बाटो हुनसक्छ।
अर्को वर्षसम्म कोइराला नै प्रधानमन्त्री भइरहन नसक्लान्। संविधान बन्यो भने त उनैले पदत्याग गर्छु भनेका छन्। संविधान बने त्यसको यथोचित जस पनि पाउनेछन्। तर, अहिले थालिएको प्रक्रियाबाट संविधान बनेमा नायक भने नेकपा (एमाले) अध्यक्ष केपी ओली नै ठहरिनेछन्। कोइरालाले सहमतिका नाममा सिद्धान्त छाडे भने पनि संविधान त बन्ला तर त्यति बेला उनी निमित्त नायकमात्र हुनेछन्। ओलीलाई पूरै खलनायक बनाइनेछ र पुष्पकमल दाहाल नायक बन्न पुग्नेछन्। भारत, केही पश्चिमा राष्ट्र र राष्ट्रपति डा. रामवरण यादव सायद यही चाहन्छन्। प्रधानमन्त्रीका रूपमा बिताएको वर्ष दिन सुशील कोइरालाका लागि उपलब्धिमूलक नभए पनि केही साता यताको अडानले भने लोकतन्त्र र राष्ट्रियताप्रति प्रतिबद्ध उनको छवि उजिल्याएको थियो। सुशील कोइराला प्रधानमन्त्री हुँदा पनि उनको मूल योग्यता लोकतन्त्र र राष्ट्रियताप्रतिको अविचलित निष्ठा नै त मानिएको थियो। उनको आइतबारको पत्रले भने प्रधानमन्त्री कोइराला पनि सिद्धान्तहीन सम्झौताका बाटामा अगाडि बढ्ने हुन् कि भन्ने सन्देह उब्जेको छ। माघ ५ गते प्रक्रिया थालिएको थियो। 'संविधान सभाले सुरु गरेको प्रक्रिया रोक्ने म को हुँ?' भनेर जनताले चुनेको सार्वभौम संस्थाप्रति सम्मान प्रकट गर्दा लागेको थियो सुशील कोइरालाको लोकतन्त्रप्रतिको प्रतिबद्धता सत्तामा पुग्दा पनि कमजोर भएको रहेनछ। पछिल्लो पत्रले सन्देह उत्पन्न गराएको छ।
कोइरालाका योगदान
नेपालको आन्तरिक मामिला र लोकतान्त्रिक प्रक्रियाविरुद्ध निकै सक्रिय हुनपुगेका युरोपेली मुलुकका राजदूतहरूलाई बोलाएर कूटनीतिक मर्यादा सम्झाउने आँटले प्रधानमन्त्री कोइरालाको छवि उजिल्याएको हो। राजदूतहरूलाई छाडा हुने बानी परिसकेको थियो। पहिलेका प्रधानमन्त्रीहरूले पदमा छँदा विदेशी हस्तक्षेपविरुद्ध चुँ पनि गर्दैनथे। सुशील कोइरालाले आँट गरेर मुख फोरे। नेपाल बन्द गराउनसमेत लगानी गर्ने विदेशी राजदूतावासलाई कोइरालाको 'धृष्टता' पचाउन निकै कठिन भएको होला। आन्दोलनमा जान खुट्टा उचालेका विपक्षीलाई तिनले उचाल्न पनि सक्छन्। कोइरालालाई पद छाड्नुपर्ने अवस्थामा पुर्याखउन पनि सक्लान्। तर, बेलामा मुख फोरेर कोइरालाले इतिहासमा ठाउँ भने बनाए। सायद, अब। राजदूतहरू पनि मुख र मुठी खोल्नुभन्दा पहिले नै सावधान हुनेछन्।
बीपीलाई आजीवन 'अराष्ट्रिय तत्व' भनेहरू पनि अहिले गुणगान गर्दैछन्। यस्तै, उनको राष्ट्रिय मेलमिलापलाई प्रतिक्रियावादीसँग आत्मसमर्पण ठान्नेहरूले पनि उनलाई आदर्श मान्दैछन्। मरेकै तीन दशकभन्दा बढी भइसकेपछि पनि सम्मानमा कमी नहुनुको कारण भने बीपीको राष्ट्रियता र लोकतन्त्रप्रतिको अविचल प्रतिबद्धता हो। बीपीले राष्ट्र भनेको जनता हो भनेका थिए। यस्तै, लोकतन्त्रमा सम्झौता नगर्ने भनेका थिए। सार्वभौम जनताले चुनेको संविधान सभालाई अधिनायकवादीले मात्र हेप्ने दुस्साहस गर्छ। जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने कानुनी र नैतिक अधिकार जनताका निर्वाचित प्रतिनिधिलाई मात्र हुन्छ।
ठालुतन्त्रको पैरवी!
एनेकपा (माओवादी) नेता बाबुराम भट्टराईले लोकतान्त्रिक प्रक्रिया सुरु गरेकोमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङलाई 'शिखण्डी' भनेर कटाक्ष गरेका छन्। भट्टराईले ट्विटबाटै कित्ता काट गरिदिए। शिखण्डी पाण्डवका पक्षमा थिए। यसैले भट्टराईको पार्टीले नेतृत्व गरेको मोर्चालाई कौरव पक्ष भन्नुपर्ने भयो। हुन पनि त्यस मोर्चाका नेता पुष्पकमल दाहालको दम्भ हेर्दा उनलाई दुर्योधनसँग दाँज्न मिल्ने देखिन्छ। अझ कौरव गणको सेनापति भीष्मको भूमिका राष्ट्रपति डा. रामवरण यादवले पूरा गर्न खोजेको देखिन थालेको छ। भीष्म दुर्योधनको सेनापति भएपछि अर्जुनलाई धनु समाउनै गीता सुनाउनु परेको थियो। कृष्णको भूमिकामा कोही नदेखिएका बेला अर्जुनले धनु बिसाएको बिसायै हुनसक्छ। अर्थात्, राष्ट्रपति डा. यादव नै अग्रसर भएपछि संविधान सभामा थालिएको प्रक्रिया फास्स न फुस्स बनाइन पनि सक्छ। कतै प्रधानमन्त्री कोइरालाको पछिल्लो पत्र त्यसैको आरम्भ बिन्दु त हैन?
जनताले चुनेका प्रतिनिधिले निर्णय गर्न पाउँदैनन् र केही ठालुहरू बसेर भारतको हरियाणा प्रान्तको 'खप पञ्चायत' शैलीमा गरिएको निर्णय मान्य हुनुपर्छ भनेर गरिएको जिद्दीका पक्षमा अन्तर्राष्ट्रिय ठालुहरूमात्र हैन देशकै राष्ट्रपतिसमेत ढल्कनुको रहस्य बुझ्न सजिलो छैन। (अधिनायकवादीलाई काखमा राख्नु नै थियो भने रुक्मांगत कटुवाललाई हटाउनै दिएको भए हुन्थ्यो। अधिनायकवादीलाई उक्साएको आरोप त लाग्ने थिएन महामहिम राष्ट्रपति र राजदूतहरूलाई! ) यसरी सबै नै लागे तिनै ठालुको हठ पूरा पनि होला सहमतिका नाममा। नेपाली जनतामाथि तिनैको 'निर्णय' लादिएला सहमतिको संविधानका नाममा। तर, त्यो लोकतन्त्रको उपहास हुनेछ। सहमतिका नाममा बहुमतलाई अल्पमतको हठका सामु आत्मसमर्पण गराउँदा देश द्वन्द्व मुक्त हुन्छ भन्ने ठान्नु अर्को मुर्ख्याइँ हो। बहुमतमाथि गरिएको बलमिचाइ बहुसंख्यकका लागि सह्य र स्वीकार्य जो हुँदैन। अहिलेको संविधान सभालाई मान्यता दिने हो भने जनताका प्रतिनिधिलाई ठालुहरूको चंगुलबाट मुक्त गराउनुपर्छ। स्वतन्त्ररूपमा निर्णय गर्न पाए भने सभासद्हरूले पार्टी विशेषको रेखालाई भत्काएर संविधान बनाउन सक्छन्। अहिलेको संविधान सभामा जनताको सही प्रतिनिधित्व हुनसकेन भन्ने लागेको हो भने बरु विवादका विषयमा जनमत संग्रह गर्नु लोकतन्त्रसम्मत हुनेछ। जनताका प्रतिनिधिले निर्णय गर्न नपाउने नै हुन् भने जनतालाई फैसला गर्न देऊ। लठैतहरूको निर्णय थोपर्नु अन्याय हो।
पञ्चहरू भन्थे जनताले चुनेकाले हैन राजाले छानेकाले शासन गर्नुपर्छ। पञ्चायत घोषित रूपमै बहुलताविरोधी व्यवस्था थियो। अहिले पनि जनप्रतिनिधिले संविधान बनाउन पाउँदैनन् भन्नेहरूको बोलीमा त्यही पञ्चायती सर्वसत्तावाद ध्वनित हुन्छ। सडकबाटै संविधानको छिनोफानो गर्ने र हुने हो भने मध्ययुगका युद्धसरकारको राजभन्दा के फरक भयो अहिलेको व्यवस्था? सर्वसाधारण जनतालाई मामुली र केही व्यक्तिलाई विशिष्ट ठान्नेहरूलाई अरू जे भने पनि लोकतन्त्रवादी भन्न र मान्न सकिँदैन। बल पुगेका बेला राणाहरूले पनि जनतालाई यसरी नै मामुली ठानेका थिए। राजाले पनि जनतालाई मामुली नै ठानेका थिए। यी सबै त गए। के सहमतिका नाममा लोकतन्त्रका मूल्य र मान्यता मिच्न चाहने अहिलेका ठालुहरूमात्रै अजम्मरी होलान् र?
र अन्त्यमा
कांग्रेस खोज्दै केबी सर!
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. रामवरण यादव अहिले गणतन्त्र नेपालका राष्ट्रपति छन्। अर्का पूर्वमहामन्त्री सुशील कोइराला देशका प्रधानमन्त्री छन्। कांग्रेसको राजनीतिमा सम्भवतः यी दुवैभन्दा वरिष्ठ र अहिले पनि राजनीतिमा सक्रिय केबी सर अर्थात् कुलबहादुर गुरुङले भने जिल्लातिर कार्यकर्ता भेला गरेर कांग्रेस खोज्दै रहेछन्। तेजोबध गरिएका थकित, स्पन्दनहीन र निस्त्रि्कय प्रायः कार्यकर्ताको भिडमा खोजेर कांग्रेसको आत्मा भेटिँदैन भन्ने चाहिँ यिनले हेक्का नराखेको देखियो। सत्ताका दलालहरूले पार्टीको आत्मालाई दन्त्यकथाका राक्षसहरूको जस्तै मुठीमा लुकाएका छन्। यसैले कुमारझैँ भौँतारिएर हैन गणेशजस्तै भित्रै खोज्नुपर्छ र बन्धक बनेको निष्ठा र आस्थालाई मुक्त बनाउनुपर्छ। विचार र व्यवहारमा फरक नहुँदासम्म केबी सरको खोजी मृगमरीचिकामात्र हुनेछ। मैले चिनेका कांग्रेसजनका लागि लोकतन्त्र जीवनशैली हुन्थ्यो। तिनीहरू पाखण्डी र दम्भी थिएनन्। आफूलाई विशिष्ट र अरूलाई मामुली ठान्दैन थिए। विचार स्पष्ट हुन्थ्यो र निष्ठामा सम्झौता गर्दैन थिए। केबी सरले त्यस्तै कांग्रेस खोजेका हुन् अहिलेका नेता कार्यकर्तामा बिरलै भेटिएलान्। नयाँ पुस्तालाई आदर्श र निष्ठाको बाटो देखाए अर्को पुस्तामा त्यस्ता कांग्रेस तयार हुन्थे कि?

Monday, February 2, 2015

केका लागि संविधान?

माघ ८ को ‘खड्को’ टरेकोमा ठूला भनिएका राजनीतिक दलका नेताहरू भित्रभित्रै रमाएजस्ता देखिएका छन्। संविधान बनाउन नसकेकोमा जिम्मेवारी लिएर राजीनामा दिनु त परै जाओस् कसैले पछुतो मानेको देखिएन। हुन पनि नेताहरूलाई के घाटा भयो र? संविधान बनेको भए सत्ताको जोडघटाउ सुरुहुन्थ्यो होला। 

कम्तीमा केही दिनका लागि नै सही कुर्सी त जोगियो। यसैगरी एनेकपा (माओवादी) नेतृत्वको मोर्चाको औचित्य पनि संविधान निर्माणसँगै सकिन्थ्यो। पुष्पकमल दाहाल एउटा पार्टीका नेतामात्र रहन्थे। उनको रोबरबाफ पनि खस्कन्थ्यो। सबैको जोगिएकाले होला संविधान नबनेकोमा कसैले पनि दुःख मनाउ गरेनन्। हुनपनि, अगतिला नेतालाई चुनेकोमा दुःखमनाउ गर्नुपर्ने नेपाली जनताले पो हो। यसैले पाठकहरू! हामी नै आआफ्नो सुविधाअनुसार संविधानका नाममा मौन धारण गरौँ।
माघ ८ पछिको सातामा राजनीतिक दलहरू वार्तामै बसेका छैनन्। बरु निषेधका अलगअलग रणनीति बनाउन व्यस्त देखिएका छन्। संविधान सभामा अल्पमत पक्षको मोर्चाका नाममा एमाओवादीका केही सभासद्ले उद्दण्डता देखाएपछि सत्ता पक्षले वार्ताका लागि सर्त राखेको थियो। अहिले संविधान सभाका अध्यक्षले प्रश्नावली निर्माण समिति बनाएपछि मोर्चाले वार्ताका लागि सर्त राखेको छ। संविधान बनाउने बेलामा वार्ताकै लागिसमेत सर्त राखेर घुर्की लगाउने र धम्की दिनेहरूले मिलेर संविधान बनाउलान् भनेर कसरी पत्याउनु? 
प्रधानमन्त्री सुशील कोइराला वार्तामा आउन मनाउन प्रचण्ड निवास पुगे रे। उनकै अरू सहयोगीलाई भने अहिले ‘प्रक्रिया’को ‘वायु' आङमा चडेको छ। यी सत्ताका ‘बालुवा’हुन् घाम लागेका बेला सूर्यभन्दा तातो र ओझेल पर्नेबित्तिकै चिसिइहाल्ने। केही पहिलेसम्म ‘कोभन्दा को कम’ शैलीमा सहमतिको भूत चड्थ्यो र उनीहरू सहमतिबिना सास फेर्न पनि हुँदैनजस्तै गर्थे। अहिले प्रक्रियाको लहर चल्दा पनि त्यसैगरी बम्केका छन्। नेता हुन् कि घुर्रा? कसैले मच्चाई दिनेबित्तिकै मच्चिने अनि थेचारेपछि थच्चिइहाल्ने! जनताका आदेशमा मच्चिने र थच्चिने गरे त हुन्थ्यो तर यिनलाई त पराइले ‘कान समाई वर र कानसमाई पर ’ गर्छन् र पो! 
केका लागि संविधान?
संविधान चाहिने व्यक्तिको स्वतन्त्रता र समानता सुनिश्चित गर्नका लागि हो। पछिल्ला दिनमा व्यक्तिको स्वतन्त्रता र समानताका लागि अपरिहार्य भएकाले सामाजिक सुरक्षा पनि उत्तिकै महत्वपूर्ण मौलिक अधिकार मानिएको छ। अझ संविधानमा प्रकृतिको अधिकार समावेश गरेर इक्वेडरले मौलिक अधिकारलाई नै नयाँ अर्थ दिएको छ। तर, नेपालको संविधान सभामा भने स्वतन्त्रता, समानताजस्ता आधारभूत विषयमै गहिरो छलफल भएको छैन। सामाजिक सुरक्षा झारा टार्ने विषय बनेको छ भने प्रकृतिको अधिकारको त चर्चै भएको छैन। यहाँ त प्रकृतिको अधिकार हैन प्रकृतिको दोहनमा पो आँखा गएको छ। 
राजावादी, माओवादी, पहिचान, धर्म, जाति, क्षेत्र अनेकौँ आवरणमा संगठित र सक्रिय साम्प्रदायिक शक्तिलगायतका अधिनायकवादीहरू जनताको स्वतन्त्रता र समानताजस्ता मौलिक अधिकारका पक्षमा नहुनु स्वाभाविकै हो। आफूले भनेजस्तो भएमात्र संविधान सभाले संविधान बनाउन पाउँछ भन्ने बाहुबलीले अरूको अधिकारको कुरा नगर्नु के अनौठो भयो र? विधि र प्रक्रिया मिच्नुलाई बहादुरी ठान्नेहरूबाट स्वतन्त्रता र समानताजस्ता जनअधिकारको सम्मान हुने अपेक्षा गर्नु नै मूर्खता हुन्छ। 
जस्तो भए पनि ‘एक थान संविधान’ बनाए भइहाल्छ भन्ने मानसिकता भएका ठालुहरूले त झन् लोकतन्त्रको नाम लिएरै त्यसको मूल्य र मान्यतामा प्रहार गर्नेगरेका छन्। तिनको शब्दकोशमा पनि ‘ स्वतन्त्रता र समानता’ भन्ने शब्द के होला र? यसैले संविधान निर्माणका क्रममा भएको यति चर्काे विवाद जनताको हितका लागि भएको हैन भन्ने स्पष्ट हुन्छ। पहिचान वा सामर्थ्य, सहमति कि प्रक्रिया ठालुहरूको स्वार्थमा केन्द्रित देखिएको छ।
पहिचानको दोहोरो मापदण्ड
पहिचान पहाडका जनजातिलाई मात्रै चाहिने हो कि मधेसीलाई पनि चाहिन्छ? तराईको आदिवासी थारुको भाषा, संस्कृति ‘देशी’को भन्दा बेग्लै छैन? आर्थिक सामाजिक सूचकले पनि उनीहरूलाई अलग बनाएको छ। दाङका थारुले अरू मधेसीलाई ‘देशी’ भन्दारहेछन्। हाम्रो गाउँतिर पनि उहिल्यै भारत जानुलाई ‘देश’ गएको भन्थे। भाषाकै आधारमा पनि मधेसमा मैथिली, भोजपुरी र अवधि त साहित्यकै दृष्टिले समेत सम्पन्न छन्। थारु समुदायमै पूर्वदेखि पश्चिमसम्म विभिन्न भाषिक र सांस्कृति भिन्नता पाइन्छ। यिनलाई चाहिँ पहिचान चाहिँदैन? तमुवान वा मगरात हुँदा थारुवान किन नहुने? कि पहाडी फुटाउने र मधेसी जुटाउने रणनीतिअन्तर्गत यो प्रपञ्च गरिएको हो? जातीय राज्यले निमुखाको हित हुन्छ भने चेपाङका लागि अलग्गै प्रदेश किन नहुने? कुन सिद्धान्तले १० प्रतिशतले राज्य पाउने तर ९ प्रतिशत वा १ प्रतिशत नपाउने भन्छ? केका आधारमा बनाउने हो राज्यहरू? भूगोल, जनसंख्या? सबैतिर त अन्यहरू नै बहुमतमा छन्। मधेसका दलितका लागि के नि? 
सैद्धान्तिक ध्रुवीकरण
मधेसका लोकतन्त्रवादीले लोकतन्त्र र राष्ट्रियताप्रतिको प्रतिबद्धता अग्निपरीक्षा फेरि दिनुपर्ने भएको छ। कम्युनिस्टहरूका लागि लोकतन्त्र र राष्ट्रियता सिद्धान्ततः रणनीतिक विषय हो। उपेन्द्र यादवलगायतका पुराना कम्युनिस्टहरू लोकतान्त्रिक प्रक्रिया अस्वीकार गरेर माओवादीसँगै आन्दोलनमा जान बढी उद्यत हुनु र पुराना कांग्रेस नेता विजयकुमार गच्छदार लोकतान्त्रिक प्रक्रियाप्रति लहसिनुको मूल कारण यही हुनुपर्छ। महन्थ ठाकुरहरूले बीपीले भनेजस्तै ‘एक मुठी माटो हातमा लिएर’ अन्तरात्मालाई प्रश्न गरून् — माओवादीको नेतृत्वमा मधेसको हित होला त? दुबिधा भए स्वार्थ नभएको शुभचिन्तकलाई सोध्नु उचित हुनेछ। मधेसमा सैद्धान्तिक ध्रुवीकरण अवश्यम्भावी छ र सधैँजस्तै मधेसवासी नेपाली लोकतन्त्रकै पक्षमा उभिनेछन्। अन्ततः राजनीतिक ध्रुवीकरण सिद्धान्तकै आधार हुनेछ। यसै पनि अहिलेको धमिलो तुवाँलो बिस्तारै फाट्ने नै छ।
मधेसमा थोरै प्रदेश बनाउँदा घाटा लाग्ने त मधेसीलाई नै हो। निर्वाचक मण्डलमा प्रदेशहरूको प्रतिनिधित्व हुने भएमा जनसंख्या र मतमा समानता नहुन सक्छ। प्रदेश प्रमुखहरूकै बैठक भयो भने मधेस आनुपातिक दृष्टिबाट अल्पमतमा हुन्छन्। नेपाली कांग्रेसका मधेसी सभासद्ले सही विषय उठाएका छन्। कांग्रेस कम्तीमा संस्थागत हुन सक्नुपर्थ्यो। सहमति भए पो अडान छाड्नु त? मधेसमा धेरै प्रदेश बनाउन हुन्न भन्नेहरूको नियत सफा देखिँदैन। भूगोलले हैन विकास र स्रोतमा प्रभाव त शक्तिको विभाजनले पार्ने हो। संघीयताको सबैभन्दा महत्वपूर्ण विषयलाई भने महत्व नै दिइएको छैन। त्यसैले पनि यी सबै नेताहरूले जनताको आँखामा छारो हाल्नमात्र खोजेका हुन् भन्ने स्पष्ट हुन्छ। 
अनुचित हठ
झापा, मोरङ र सुनसरी तथा कैलाली र कञ्चनपुरलाई पहाडका जिल्लामा मिलाउनै पर्छ भन्ने तर्कमा विवेक र बुद्धि दुवै नपुगेको देखिन्छ। सुनसरी र कैलालीलाई पहाडसँग जोड्नै पर्ने हो भने सप्तरी र बर्दियालाई जोड्न किन नपर्ने? ती पाँच जिल्लामा पहाडी मूलको जनसंख्या धेरै भएकाले पहाडसँग जोड्न खोजिएको हो भने नेपाली जनतालाई विभाजित गर्ने रणनीतिकै एउटा अंग भएन र त्यो? बर्दिया र सप्तरीवासीलाई कैलाली र सुनसरीवासीभन्दा बेग्लै ठान्ने मानसिकता हुनेहरूले राष्ट्रियताको कुरा गर्नु फट्याइँमात्रै हो। मधेसका यी पाँच जिल्ला पहाडसँग मिलाउनै पर्ने कारण के? मधेसीको राष्ट्रभक्तिमा विश्वास नभएर? कि ओली र देउवाको निर्वाचन क्षेत्र भएर? 
मुलुक अरूलाई नै सुम्पने नियत हैन भने पहाडीलाई वैरी ठान्ने र मधेसीलाई पराइ मान्ने दुवै पक्षको मानसिकता बदलिनैपर्छ। 
र, अन्त्यमा 
अमेरिकी विदेशमन्त्री जोन केरीलाई बोस्टन नगरको स्थानीय निकायले घरबाहिरको सडक पेटीमा थुप्रेको हिउँ सफा नगरेकोमा ५० डलर जरिवाना गरेछ। हिउँ परेका बेला विदेशमन्त्री केरी साउदी अरेबियामा राष्ट्रपति बाराक ओबामाको भ्रमणमा सँगै थिए रे। तैपनि, उनका सहयोगीले केरीले आनाकानी नगरी जरिवाना तिर्ने बताएका छन्। नेपालमा भए जरिवाना गर्ने कर्मचारीको सके त जागिरै जान्थ्यो नभए सरुवा त पक्कै हुन्थ्यो होला!

Monday, January 26, 2015

अधिनायकवादी षड्यन्त्र

जनताले चुनेको संविधान सभालाई सहजरूपमा संविधान निर्माण प्रक्रिया अगाडि बढाउन दिइएन। अन्ततः संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले दलहरूलाई सहमतिको बाटो खोज्ने मौका दिए। संविधान सभामा लोकतान्त्रिक प्रक्रिया र विधि चल्नै नदिने एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालको अहङ्कार र हठको बन्धक हुनुबाट मुक्त हुने अपेक्षा बढेको छ। सभा अध्यक्ष नेम्बाङलई ‘कलंकको टीका' लाग्दैन। बरु, उनले ‘नीलकण्ठ' हुने आँट गरेका छन्।

नेपाली जनताले चुनेका प्रतिनिधिलाई संविधान बनाउन नदिने षड्यन्त्र संविधान सभाको परिकल्पनाजत्तिकै पुरानो हो। पात्र र शैली फेरिएका छन् तर भित्री मनसाय एउटै छ। संविधान जनताका प्रतिनिधिले हैन केही भारदारले बनाउने हो भन्ने सामन्ती मानसिकता नै यसको कारक हो। पहिलो संविधान सभामा दुई तिहाइ बहुमत नभएकाले संविधान बनेन भन्ने निष्कर्षमा पुगेर एनेकपा (माओवादी)ले दोस्रो निर्वाचनमा दुई तिहाई बहुमत मागेको थियो। सहमति नभए प्रक्रियामा गएर पनि संविधान बनाउने ‘भीष्म प्रतिज्ञा’ निर्वाचन घोषणापत्रबाटै गर्ने दल सायद एमाओवादीमात्रै थियो। विडम्बना, आफ्नो दलको स्थान कम हुनेबित्तिकै संविधान सभामा लोकतान्त्रिक प्रक्रिया सुरु गर्न नदिने मुख्य बाधक त्यही दल बन्यो।
यसैगरी पहिचानका नाममा डाँडै पिच्छे जातीय राज्य बनाउन चाहनेले प्रत्यक्ष निर्वाचनमा एउटै स्थानमा जितेनन्। पहिलो संविधान सभामा मधेसी जनअधिकार फोरम एक्लै चौथो स्थानमा थियो। यस पटक चौथो स्थानमा पुग्न सबै मधेसी दल एकजुट हुनुपर्योए। पहिलो संविधान सभामा १ प्रतिशत स्थान पनि नभएको राजावादी दललाई जित्न सबै मधेसी दल एक हुनुपर्यो । 
निर्वाचनमा जनताले एउटै दललाई दुई तिहाइ बहुमत दिएनन्। एमाओवादीलाई त झन् दुई तिहाइ त के एक तिहाइ पनि दिएनन्। नेपाली कांग्रेस र नेकपा (एमाले) लाई जनताले संविधान सभामा पहिलो र दोस्रो दलको हैसियत दिए। कांग्रेस–एमाले गठबन्धनमा अरू लोकतन्त्रवादी पनि मिलेपछि दुई तिहाइ बहुमत पुग्यो। तैपनि, संविधान सभा बाहुबलीको कब्जामा पर्यो् र संविधान जारी गर्ने भनिएको २०७१ साल माघ ८ गतेको मिति त्यसै टर्योह। 
अधिनायकवादीको सक्रियता
संविधान सभालाई एमाओवादी नेतृत्वको मोर्चाका नाममा बाहुबलीहरूले कब्जामा लिएकै बेला अरू अधिनायकवादी पनि जुर्मुराउन थालेका छन्। नेकपा—माओवादीका उपाध्यक्ष सीपी गजुरेलले ‘अधिकार सम्पन्न राष्ट्रिय सभा बोलाएर सबैको माग सम्बोधन हुने गरी जारी गरिने संविधानमात्र मान्य हुने’ धारणा व्यक्त गरेका छन्। सम्भवतः माओवादीका सबै घटकको भित्री मनसाय यस्तै हो। सिद्धान्ततः पनि कम्युनिस्टहरू जनताले चुनेका प्रतिनिधिले हैन पार्टीका नाममा संगठित भारदारको जमातले शासन गर्नुपर्छ भन्ने ठान्छन्। यसैलाई उनीहरू ‘सर्वहाराको अधिनायकत्व’ भन्छन् क्या रे! संविधान सभालाई जति नै आफ्नो कार्यसूची भएको दाबी गरे पनि माओवादीका एउटै घटकले समेत त्यसलाई आत्मसात् गर्न सकेका छैनन्। जनताले चुनेका प्रतिनिधिले संविधान बनाउने अभ्यास उदार लोकतान्त्रिक हो र कम्युनिज्म लोकतन्त्रको प्रतिवाद र निषेधमा जन्मेको मत हो। यही सैद्धान्तिक दुबिधाले उनीहरूलाई संविधान सभाको चुनाव बहिष्कार गर्नदेखि लोकतान्त्रिक निर्णय प्रक्रिया नमान्नसमेत प्रेरित गरेको हुनुपर्छ।
यसैगरी, संविधान सभाबाट संविधान बनाउने अभ्यासप्रति दक्षिणपन्थी अधिनायवादीले पनि विमति जनाएका छन्। अहिले अपेक्षाकृत कमजोर भएकाले तिनले सोझै भनिहालेका छ छैनन् तर घुमाइफिराई उनीहरू पनि सीपी गजुरेलकै पछि लागेका छन्। राजा महेन्द्रले २०१७ सालमा सेनाको बलमा संसदीय लोकतन्त्रको हत्या गर्दा पनि यही चरम दक्षिणपन्थी र उग्रवामपन्थी तत्वलेे राजालाई साथ दिएका थिए। अहिले पनि दुवैथरी संविधान सभाविरुद्ध एक भएका छन्।
नियतमा शंका 
संघीयता भनेकै प्रदेशको भूगोल र नाम हो भन्ने ठानेर बबण्डर मच्चाउनेहरूले जनता वा प्रदेशका अधिकारका विषयमा एक शब्द बोलेका छैनन्। यसैले यिनको नियतमै शंका लाग्छ। सायद, यिनीहरू संघीयतालाई शासनमा जनताको पहुँच कायम गर्न हैन भुरे टाकुरे राज्य बनाएर आआफ्नै ‘ताजपोसी'का लागि प्रयोग गर्ने दाउमा छन्। के मेचीदेखि महाकालीसम्म ढाक्ने ‘गाउँ पञ्चायत’ बनाए हुन्छ? अथवा, जातैपिच्छेको नाम राखेर थुमथुममा जातैपिच्छेका मुखियालाई राजा बनादिए हुन्छ? यसैका लागि हो त संघीयता?
मधेसको इतिहास
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ‘सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाएर बाँकी (संघीयता) विषयमा सहमति खोज्न वार्ता जारी राख्ने प्रस्ताव गर्दा पनि प्रचण्ड मानेनन्। यसले पनि माओवादी लोकतन्त्रलाई आत्मसात् गर्न तयारै छैन भन्ने स्पष्ट हुन्छ। मधेसी नेताले अब माओवादीको पछि लागेर मुलुकलाई अधिनायकवादतर्फ लैजाने कि लोकतान्त्रिक प्रक्रियाका पक्षमा उभिने भन्ने विषयमा स्पष्ट निर्णय गर्नुपर्छ। 
मधेसका जनता नेपालको लोकतान्त्रिक आन्दोलनमा सधैँ लोकतन्त्रका पक्षमा रहँदैआएका छन्। मधेसी जनताको गौरवमय लोकतान्त्रिक इतिहास कायमै राख्ने कि माओवादीको अधिनायकवादी मनसुवा पूरा गरेर कलंकित हुने हो? मधेसका नाममा राजनीति गर्नेहरूले अब के गर्ने हो रोज्नुपर्छ। मधेसका जनताले भने निर्वाचनमै अभिमत प्रकट गरिसकेका छन्। 
मधेसी दलहरूभित्र ‘सर्वहाराको अधिनायकत्व’ कायम गर्ने सपना देखेर कम्युनिस्ट पार्टीबाट राजनीति सुरु गर्नेहरूको संख्या निकै ठूलो छ। तिनको अवचेतनले बेलाबखत ‘अधिनायकवाद’लाई आदर्श मान्न निर्देश गरिरहनु मनोविज्ञानसम्मतै हो। यसैगरी नेपाली कांग्रेस, सद्भावना पार्टीबाट राजनीति सुरु गर्ने लोकतान्त्रिक आदर्शबाट दीक्षित नेताहरू पनि त्यहाँ छन्। लोकतान्त्रिक प्रक्रियाकै उपहास हुने अभ्यासमा संलग्न रहनुपर्दा तिनलाई सायद आफ्नै विवेकले पनि धिक्कारेको होला। पञ्चायत प्रवेश गर्ने कांग्रेसहरूले परिवारकै पनि कटाक्ष सुन्नुपरेजस्तै तिनलाई परिवारजनले पनि दुत्कारेको हुनुपर्छ।
सहमतिको बखेडा 
विगतमा संक्रमणका बेला अनगिन्ती सम्झौता गरिएका छन्। अहिलेका सत्ता र विपक्ष दुवै कुनै न कुनै रूपमा सहमति र सम्झौताका पक्ष भएकाले त्यस्ता सम्झौताको सम्मान गर्नु तिनको नैतिक दायित्व हो। कुनै सम्झौतामा एकल जातीय राज्य र ‘समस्त मधेस एउटै प्रदेश’ हुनेछ भन्ने लेखिएको छ भने त्यसलाई स्वीकार नगर्नु राजनीतिक बेइमानी हो। यस्तै कुनै सम्झौतामा प्रत्यक्ष मतदानबाट निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरूप अपाउने प्रतिबद्धता व्यक्त गरिएकोे छ भने त्यसलाई मान्नु पनि राजनीतिक नैतिकता हो। तर, कतै पनि कुनै कुरा स्पष्ट लेखिएको छैन भने त अहिलेको आधिकारिक निकायले व्याख्या गर्ने हो। कसैलाई पनि अरूको हठ स्वीकार गर्न बाध्य बनाउन पाइँदैन। त्यस्तो अवस्थामा लोकतन्त्रमा विश्वास गर्नेले बहुमतको निर्णय स्वीकार गर्नुपर्छ। लोकतान्त्रिक प्रक्रिया खेलजस्तै हो। त्यसमा सामेल भइसकेपछि प्रक्रियाअनुसारको निर्णय स्वीकार गर्नुपर्छ। सैद्धान्तिक आधारमा स्वीकार गर्न नसके पनि बहुमतले निर्णय गर्ने लोकतान्त्रिक विधि त मान्नु पर्योछ नि? जनमत संग्रहमा पञ्चायतले जितेको घोषणा गरिएपछि बीपीले पञ्चायत त स्वीकार गरेनन् तर जनमत संग्रहको परिणामलाई ‘अव्याख्येय र अप्रत्याशित’ भनेरै पनि स्वीकार गरे। 
कुनै पनि बहानामा देशलाई सधैँ बन्धक बनाइरहन पाइँदैन। अहिले नै बाह्र बुँदे सम्झौताको विरोध बढ्दैगएको छ। नयाँ पुस्ताले पुराना सम्झौता मानिरहनुपर्छ भन्न पनि त मिल्दैन। धर्मनिरपेक्षता र संघीयताका विपक्षमा जनमत बढ्दो छ। राजतन्त्रलाई संविधान सभाकै बैठकले खारेज गरेको हो। तैपनि, अहिले राजतन्त्रलाई बिउँताउने कसरतमा ठूलै समूह सक्रिय भएको छ। संविधान सभालाई दुत्कारेर माओवादीसँगै राजावादी पनि ‘भारदारी भेला’बाट संविधान लेख्नुपर्छ भन्ने पक्षमा देखिन थालेका छन्। अनुचित जिद्दी गरिरहने हो भने ‘भुइँको टिप्न खोज्दा पोल्टाको’ खस्न सक्छ। 
संविधान वर्षदिन ढिलो हुनुको अर्थ अर्को एक दशक विकासका सम्भावना पर धकेलिनु हो। आन्दोलन बगेका रगतको मान राख्ने हो भने तिनका उपलब्धि संस्थागत गर्न पनि संविधान सभाबाट संविधान पारित गर्नैपर्छ। संविधान सभाबाटै संविधान बनाउने हो भने सबैले लोकतान्त्रिक विधि र प्रक्रिया पनि स्वीकार गर्नुपर्छ। विधि र प्रक्रिया मिचेर लोकतान्त्रिक संस्था अगाडि बढ्न सत्तै्कन। संविधान सभाका सदस्यलाई पन्छाएर शीर्ष नेता नामका ठालुले ठेक्का लिन पनि अब छाड्नुपर्छ। प्रक्रिया अपनाउने पूर्वसर्त हो योे। 
र अन्त्यमा,
‘जनजाति र मधेसी’ले तोडफोड गरेका हुन् भने प्रचण्डले। उनले तोडफोडको नैतिक जिम्मेवारी लिएनन्। यस भनाइबाट मधेसी र जनजातिप्रति प्रचण्डको धारणा व्यक्त भएको छ। माओवादी नेताहरू मधेसी र जनजातिलाई बाहुबलीमात्र ठान्दारहेछन्। कथित ‘जनयुद्ध’मा त प्रयोग गरे गरे, अहिले पनि जोखिमका काममा तिनैलाई अगाडि सार्दारहेछन्। अझै पनि तिनैको स्वार्थ र दम्भ पूरा गर्न प्रयोग भइरहने हो?

Tuesday, January 20, 2015

युद्ध सरदार कि राजनेता?

भनेको पुगोस् भन्ने कामना सबैको हुन्छ। कहिले कहीँ भने आफूले भनेको नपुगे हुन्थ्योजस्तो लाग्दोरहेछ। कस्तो विडम्बना! मैले २०७१ सालको भदौ २६ (११ सेप्टेम्बर २०१४) मा टिवट गरेको रहेछु — 'संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधानको खाका बाबुरामजीले नै बनाए पनि प्रचण्डले पारित हुन दिँदैनन्। बुझ पचाउने काम नगरौँ। ' (मेरो त्यो टिवट गलत सिद्ध भएको भए म खुसी हुन्थेँ।) नभन्दै, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली जनताको 'संविधान सपना' तुहाउन बढी नै उद्यत देखिएका छन्। (हुनत, सत्तारुढ दलका नेताहरू लोकतान्त्रिक प्रक्रिया अपनाएर पनि संविधान बनाउने भन्दैछन्। संविधान सभाका दुई तिहाइभन्दा बढी सदस्यले माघ ८ मै संविधान जारी गर्न लिखित माग गरेका छन्। आलंकारिक राष्ट्रपति भनिएका डा. रामवरण यादवसमेत निकै सक्रिय भएका छन्। यसैले यी पंक्तिहरू पाठकसम्म पुग्दा संविधान निर्माण प्रक्रिया अगाडि बढ्न पनि सक्छ। मलाई भने अझै पनि विश्वास लागेको छैन। कारण, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतालाई फकाएर, तर्साएर, घुर्क्याएर नभए फुटाएर कुनै पनि बेला संविधान निर्माण प्रक्रिया रोकाइदिन सक्छन्। केही विदेशी र प्रचण्डको बोली पनि मिलिरहेकै छ। यताबाट नपुगे उताबाट पनि दबाब आउनसक्छन्। विदेशी दबाबप्रति नेपाली कांग्रेस र नेकपा (एमाले) बढी नै लचिला जो हुन्छन्।)

स्पष्टै देखिन्छ, प्रचण्डको मनले जनादेश स्वीकार गर्न मानेकै छैन। लाग्छ, उनमा संविधान सभाको दोस्रो निर्वाचनमा आफ्नो तेजोबध भएको बदला नेपाली जनतासँग लिने उत्कट चाहना छ। उनको दमित अवचेतनमा बसेको यही कुण्ठा अहिले आन्दोलन, मुठभेड, रक्तपातजस्ता शब्दका रूपमा व्यक्त भएको हुनसक्छ। उनको भित्री मनमा जनतालाई 'देख्यौ त हामीलाई मत नदिँदा के भयो? भनेर खुच्चिङ गर्ने इच्छा हुनसक्छ। संविधान सभाको पहिलो निर्वाचनमा माओवादी कार्यकर्ताले 'चुनाव नजिते फेरि वन पस्ने' धम्की दिएका थिए। हिंसा र आतंक फेरि सहनु नपरोस् भनेर पनि माओवादीलाई जनताले मत दिएका रहेछन्। लडाइँ नजितीकनै माओवादी नेता कार्यकर्ताले मध्ययुगका 'युद्ध सरदार' हुन पाएका छन्। चोरेका गाडी, लुटेको धन, खोसेको जमिन र लुकाएको बन्दुकसम्म पनि राज्यले खोजेको र खोसेको छैन। संविधान बने संक्रमण सकिन्छ। त्यसपछि कमजोरै भए पनि विधिअनुसार शासन चल्छ। जनताले विगतका ज्यादतीको कुरा उठाउन सक्छन्। न्याय नै खोजे भने त्यति बेला प्रचण्डलगायत माओवादीका धेरै नेता अदालतको कठघरामा उभिनुपर्ने हुनसक्छ। यही डरले उनीहरूको बोली र व्यवहार बढी आक्रामक भएको हुनसक्छ। मनोविज्ञानमा भनिन्छ – व्यक्ति जति डराउँछ उति चर्का कुरा गर्छ।
त्यसो त, माओवादीले देशमा उदार लोकतन्त्र स्थापनाका लागि बन्दुक बोकेका पनि हैनन्। अहिलेसम्म कुनै पनि माओवादी नेताले लोकतन्त्रका लागि लडेको भनेका पनि छैनन्। तर संविधान सभाले बनाउने संविधान भने अपेक्षाकृत उदार लोकतान्त्रिक हुनेछ। त्यस अवस्थामा कसैले पनि सजिलै 'हुकुम चलाउन' सक्नेछैन। प्रचण्ड भने मन, वचन र कर्मले मध्ययुगका युद्ध सरदारजस्तै देखिन्छन्। मूलतः माओ र स्टालिन उनका आदर्श हुन्। अर्थात्, प्रचण्ड 'हुकुमी शासन' चलाउन चाहन्छन्। त्यसैले पनि लोकतान्त्रिक संविधान बनाउने वा लोकतान्त्रिक प्रक्रिया र विधि अपनाउने उत्कट इच्छा उनमा नहुनु अस्वाभाविक होइन।
यस्तै, मधेसीलाई साथमा लिएर र जनजातिका जिम्मुवाललाई जातीय राज्यको लोभ देखाएर 'सर्वशक्तिशाली शासक' बन्ने आशा उनमा पलाएको हुनसक्छ। मधेस केन्द्री राजनीतिक दलका नेताले पनि प्रचण्डको साथ लागेर मधेसमा राज गर्ने सपना देखेका होलान्। जनजातिका ठेक्का लिनेहरूको पनि सपना त शासन गर्ने नै हो। लाग्छ, मधेसी र माओवादी अहिले 'पातको भर माटो र माटाको भर पात' भनेजस्तै भएका छन्। पानीमात्र पर्दा बोहोताले माटाको डल्लालाई जोगाउन सक्छ। जस्तो अहिले भएको छ। हुरीमात्र चल्दा माटाले पातलाई बचाउन सक्छ। अगिल्लो संविधान सभामा प्रचण्ड र बाबुराम भट्टराईलाई मधेसीले सघाएजस्तै। तर, आँधीबेहरी आयो भने बोहोता उडाउँछ र माटाको डल्लो पग्लिन्छ। संविधान नबने त्यस्तै हुनसक्छ।
अहिलेका मधेसमा केन्द्रित दलका नेतामध्ये केहीको नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान थियो। मधेस केन्द्रित राजनीतिको बीजारोपण गर्ने गजेन्द्रनारायण सिंह लोकतन्त्रवादी थिए। तर, सद्भावना पार्टीको त्यो परम्पराबाहेक बाँकी मधेसी दल र नेताको लोकतान्त्रिक साख छैन। माओवादीले वर्गीय राजनीति छाडेर जातीय विग्रहमा खेल्न खोजेजस्तै मधेसी नेताहरूले क्षेत्रीय विद्वेष चर्काएर राजनीतिक लाभ लिन खोजेका मात्र हुन्। तिनको राजनीति सिद्धान्तमा आधारित देखिँदैन।
माओवादी अधिनायकवादी कम्युनिस्ट हुन्। सिद्धान्ततः उनीहरू संघीयताका पक्षधर हुनै सक्तैनन्। 'बहुलता' भन्ने शब्दसम्म स्वीकार गर्न नसक्नेहरू पहिचानका पक्षमा कसरी हुनसक्छन्? सही अर्थको संघीयता उदार लोकतन्त्रबाहेक अन्यत्र सम्भव हुँदैन। मधेसीहरू वास्तवमै संघीयता चाहन्थे भने तिनको सहकार्य माओवादीसँग हुने नै थिएन। अहिले कांग्रेस र एमालेले प्रस्ताव गरेका संघीयता बरु अपेक्षाकृत संघको मर्मको नजिक छ। आवधिक निर्वाचनमा प्राप्त स्थानका आधारमा अहिले पनि मधेसको पहिलो शक्ति नेपाली कांग्रेसै हो। उदार लोकतन्त्रको सबैभन्दा नजिकको दल भएकाले संघीयता नेपाली कांग्रेसको कार्यसूची बन्न सक्नुपर्ने हो। यसरी हेर्दा त मधेसी दलहरू र कांग्रेस स्वाभाविक मित्र शक्ति हुनुपर्ने थियो। विडम्बना, मधेसीहरू माओवादीको ओत लागे। फलस्वरूप, संघीयता बेवारिस भयो। यसै पनि मेची र महाकालीलाई एउटै प्रदेश बनाउनुपर्छ भन्नेहरूलाई संघीयताका पक्षधर भन्नु नै विसंगत हुन्छ। स्पष्ट छ, मधेसी र माओवादीका लागि संघीयता तत्काल सत्तामा जाने रणनीतिक अभीष्टमात्रै हो मूल्य, मान्यता र जीवनशैली हैन।
यसैले संविधान बनाउने हो भने प्रचण्डलाई पर्खनुको अर्थ छैन। प्रचण्डका दाहिने र देब्रे हातजस्ता देखिएका मधेसी र जनजाति दुवैका माग सिद्धान्ततः परस्पर विरोधी छन्। झापा, मोरङ र सुनसरीलाई कुन प्रदेशमा राख्ने भन्नेसम्म निर्णय गर्न पनि माओवादी नेतृत्वको मोर्चाले सकेको छैन। माओवादी मोर्चा सिद्धान्तहीन गठबन्धन हो। राष्ट्रियता र लोकतन्त्रप्रतिको प्रतिबद्धताको आधारमा टेकेकाले मात्र कांग्रेस र एमालेले एउटै मस्यौदा तयार गर्नसकेका हुन्। जस्तो संविधान बने पनि त्यसपछिको राजनीतिमा आआफ्नो भूमिका अझ खुम्चिने स्पष्ट भएकाले प्रचण्ड र अहिलेका मधेसी तथा जनजाति नेताहरू सकेसम्म संविधान बन्नै नदिन चाहन्छन्। तर, माओवादी विद्रोह वा मधेस आन्दोलन ताकाभन्दा परिस्थिति धेरै बदलिएको छ।
जनता यी नेताभन्दा धेरै सचेत भइसकेका छन्। चेतनाको स्तर नाप्न निकै कठिन हुन्छ। धेरै परिश्रम, बुद्धि र पैसा चाहिन्छ होला जनचेतनामा आएको परिवर्तनको मापन गर्न। तर, तीव्र परिवर्तन भएको भने वरपर हेरेरै पनि थाहा हुन्छ। अहिले जनतामा नेताहरूप्रति बढेको वितृष्णा हेर्न मत सर्वेक्षण गर्नै पर्दैन। कसैले नहुँदो बोल्नेबित्तिकै सामाजिक सञ्जालमा व्यक्त हुने आक्रोश नै पर्याप्त हुन्छ।
मूलतः सूचना प्रविधिमा भएको विकास र बितेका दुई दशकमा वैदेशिक रोजगारीबाट बढेको नेपालीहरूको विश्वव्यापी सम्पर्कका कारण जनतामा अपूर्व चेतना उत्पन्न भएको हो। यथार्थमा २०३६ सालको विद्यार्थी आन्दोलन नेपाली पुनर्जागरणको निर्णायक प्रस्थान विन्दु हो। पहिलो जनआन्दोलन, माओवादी विद्रोह, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन सबैले नेपाली जनतालाई चेतनशील बनाएका हुन्। यही चेतनाले संविधान सभाको पहिलो निर्वाचनमा कांग्रेस र एमालेलाई थान्कोमा राख्ने जनताले दोस्रो चुनावमा सर्वसत्तावादी तथा साम्प्रदायिक चरित्रका दललाई हैसियत देखाइदिए। यो नेपाली जनता कसैको तालुकी वा 'भोट बैंक' हैनन् भन्ने स्पष्ट सन्देश हो। यसैले अलिकति पनि राष्ट्र र जनताप्रति जिम्मेवारी बोध भए सबै राजनीतिक शक्ति संविधान सभामा हुने लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनुपर्छ। लोकतान्त्रिक विधिअनुसार भएको निर्णयमा चित्त नबुझे त्यसलाई बदल्ने प्रयास गरिरहन पाइन्छ।
युद्ध सरदारको नियति दुःखान्त हो। अरूबाट जोगिए पनि युद्ध सरदार आत्माको श्रापबाट उम्कन सक्तैन। हार्नभन्दा मर्न तत्पर हुने हठले अधिकांश युद्ध सरदारले 'हाराकिरी' गरेका छन्। राजनेता तत्कालको हारजितभन्दा माथि उठ्छ। बृहत्तर र दीर्घकालीन हित रक्षा उसको अभीष्ट हुन्छ। प्रचण्डका सामु अझै मौका छ। युद्ध सरदार हुने कि राजनेता? रोजाइ उनकै हो। लोकतन्त्रसँग वैरभाव राख्दा संसारका धेरै शक्तिशाली शासक सिद्धिएका छन्। इतिहासबाट सिक्नेलाई नै बुद्धिमान भनिन्छ।

Tuesday, January 13, 2015

पुस्तौँ पुस्ताको पीडा

पुस्तौँ उस्तै पीडा सहनु परेपछि पीडकप्रति आक्रोश वा घृणाभन्दा सन्तानले त्यस्तै कहर काट्न नपरे हुन्थ्यो भन्ने कामना बढी हुनेरहेछ। पूर्व कमलरीका चार पुस्तासँग एकैछिन 'बतियाउदा' तिनमा प्रतिशोध वा आक्रोश खासै भेटिएन। बरु उनीहरू आफूले सहेको पीडा सन्तानले 'भोग्न नपरे' हुन्थ्यो भन्ने कामना गर्दै थिए। र, अलिकति 'नपर्ला कि' भन्ने आशा पनि तिनमा देखिएको थियो। 

लखनिया करिब ६५ वर्षकी थिइन्। करिब किनभने उनलाई आफू कति वर्ष भएँ भन्ने नै थाहा छैन। उनकी नातिनी १४— १५ वर्षकी भइन्। यसैले त्यति वर्ष भइन् कि? छोराछोरी पाएको उमेरसम्म पनि उनी वर्षमा बताउन सक्तिनन्। यसैले अनुमान गर्नुबाहेक उनको उमेर पत्ता लगाउने उपाय मसँग भएन। सामान्य नेपाली बुझ्छिन् तर मनका कुरा बताउन सक्तिनन्। थारु भाषामा उनले आफूले भोगेको सास्ती र दुनियाँमा आएको परिवर्तनका बारेमा बताइन्।

लखनिया 'मालिक'का घरमा काम गर्न कुन उमेरदेखि थालेको हो भन्ने चाहिँ सम्झिन्नन् । उनका बाबु मालिकका घरमा काम गर्थे। कमैया भनिने बँधुवा मजदुरका रूपमा। उनी र आमा पनि मलिककै घरमा काम गर्थे। त्यसपछि बिहा भयो। पति अर्को मालिकको काम गर्थे। उनी स्वतः पतिको मालिकको परिवारकी कामदार भइन्। यस्ता महिला कामदारलाई जुठोपुरो खान र झुत्रा जडाउरी लगाउन दिए पुग्थ्यो। तिनलाई ज्यालाबनी दिनुपर्दैन थियो।

लखनियाका पतिले मालिक मालिक फेरेसँगै उनले पनि 'देशी' र 'पहाडी'का घरमा काम गरिन्। दौँतरी र आमाहरूजस्तै लखनियाले पनि कुटपिट, दुर्वचनलाई मालिकको अधिकार र आफ्नो भाग्य ठानेर स्वीकार गरेकी थिइन्। पति सायद बढी नै स्वाभिमानी थिए। भोकै बस्नु परे पनि कमैया नबस्ने निधो गरेर मालिकको घर छाडे। मजुरी गर्न थाले। लखनियाले उतिबेलाका धेरै दुःख त बिर्सिसकिन् रे। तर, पछिल्लो मालिकले कोदो दिएर धानको भाउमा ऋण बोकाएको र मजुरी गरेर कमाएको सबै उसैलाई बुझाउँदा पनि ऋण नघटेको भने कहिल्यै बिर्सिन्नन्।

लखनियाँ सँगै उनकी १५ वर्षकी नाती रुबी पनि थिइन्। रुबी कक्षा ४ मा 'बोर्डिङ' स्कुलमा पढ्छिन्। विद्यालयकै पोसाकमा थिइन्। रुबी पूर्वकमलरी हुन्। रुबीलाई ८—९ वर्षकै उमेरमा पहाडी 'मालिक'का घरमा काममा लगाइएको थियो। छोरीलाई कमलरी राख्नुको साटो पढ्न पठाए लाग्ने सबै खर्च एउटा संस्थाले बेहोर्ने भएपछि रुबी पनि गाउँका अरू सँगीहरूसँगै विद्यालय जान थालिन्। पहिले सरकारी विद्यालयमा पढ्थिन्। सरकारी स्कुलको पढाइबाट रुबी र उनका साथीहरूले खासै प्रगति गर्न नसेकपछि उनीहरूलाई यस वर्ष कक्षा घटाएर भए पनि निजी विद्यालयमा पढ्न पठाइएको छ। रुबीले कमलरी भए पनि गाउँ छाडेर जान परेन। अर्थात्, परिवारबाट टाढा जानु परेन। यसैले मालिक्नीले बेलाबखत कुटेकी, कपाल 'लुछेकी' र खान नदिएकीबाहेक अरू दुर्व्यवहारको खासै अनुभव छैन। अनि रुबीको अनुहारमा पीडाका रेखा पनि छैनन्। बोलीमा पीडाका सुस्केरा पनि छैन। बरु आशाको उज्यालो र विश्वासको चमक छ।

पार्वतीको उमेर त्यस्तै ३५ — ४० को हुनुपर्छ। उनकी छोरी १२ वर्षकी छिन्। पार्वतीले पनि बाबुकै मालिककोमा काम गर्न थालेकी हुन् रे। उनको बेलासम्म पनि छोरीमात्रैलाई काममा लगाउन टाढा पठाउने र लैजाने चलन खासै थिएन रे। कति वर्षमा आफू अर्काको धरमा काम गर्न थालेँ भन्ने उनलाई हेक्का नै छैन। अर्काको घरमा काम गर्नुपर्दाको सास्तीका सम्झना पार्वतीका आँखाबाट रसाइहाले। लखनियाको घाउमा सायद खाटा बसिसकेको थियो। पुराना दिन सम्झँदा उनका आँखा रसाएनन्। रुबीले कमलरी हुनुको चोट खासै सहनु नपर्दै मुक्ति पाइन्। उनले मालिक्नीले 'कपाल लुछेकी' पनि सजिलै बताइन्। सायद घाउको दाग बस्नै पाएन। पार्वतीको घाउमा खाटा बसे पनि कसैले छुनेबित्तिकै चस्स दुखिहाल्ने रहेछ। मालिक्नीले मासु पकाएको भाँडामा पानी हालेर दिएको र काममा चित्त नबुझ्ने बित्तिकै बाबुआमा उड्केर गाली गरेको दुर्व्यवहार पावर्तीले बिर्सनै सक्तिरहिन छिन्। पावर्तीकी छोरी अहिले रुबीलाई छात्रवृत्ति दिएर पढाउने संस्थाकै सहयोगमा नजिकैको निजी विद्यालयमा पढ्छिन्। पावर्तीले आफ्नी छोरी त्यसरी स्कुल जाली भनेर चिताएकै थिइनन् रे!

यी माथिका तीन पुस्ताले पाएको दुःख पक्कै पनि असामान्य र अमानवीय हो। नेपाल 'कमलरी'हरू कलिलै उमेरमा बालापनमात्र हैन जीवनै खोसिएका पात्र हुन्। तिनले किन क्षतिपूर्ति नपाउने? लेखपढ गर्ने, सीप सिक्ने उमेरकालाई सायद त्यस्तो अवसर जुटाएर पनि सहयोग गर्न सकिएला तर उमेर घर्केकाहरूलाई राज्यले विशेष सहयोग उपलब्ध गराएर आँसु पुछ्नु नै मानवीय व्यवहार हुनेछ।

'कमलरी' प्रथाका साँच्चैका पीडितले भने माथिका तीन पुस्ताले भन्दा बढी नै कहर काटेका छन्। लखनिया र पावर्ती दुवैले कमैया प्रथाकै विस्तारित कहरमात्र काट्नु परेको हो। तिनले कम्तीमा राति आमाबाबु वा पतिलाई दुःख सुनाएर रुने मौका पाएका थिए। बेचिएर पराईको घरमा पुगेका थिएनन्। रुबीलाई 'कमलरी'कै रूपमा काममा पठाइएको भए पनि गाउँमै थिइन्। उनले पनि नचिनेको बाटो हिँड्नु परेको थिएन। यसैले यिनीहरूले 'कमलरी' प्रथाको वास्तविक प्रतिनिधित्व गर्दैनन्।

झरना ९ वर्षकी छँदा काठमाडौंका कुनै सज्जनले घरमा अलिअलि काम पनि सघाउने र स्कुलमा पढ्न पठाउने भनेर परिवारबाट छुटाएर ल्याए। पैसा पाएपछि झरनाका बाबुले छोरी पढ्नै पठाएको पनि ठाने। कुकुर खेलाउने काम लगाइएकी झरना आफूलाई कुकुरसरह पनि व्यवहार नगरेको कहिल्यै बिर्सन्नन्। यसरी परिवारबाट छुट्ट्याएर लगिएकी बालिकाहरूले भोगेका हुन् यस प्रथाका चरमा यातना। कमलरी प्रथाविरुद्ध संघर्ष गर्नेहरू यही पुस्ताका हुन्। झरनाको पुस्ताका थारु बालिकाले बढी नै सास्ती बेहोरेका छन्। तिनका अनगिन्ती कथाव्यथा सार्वजनिक भइसकेका छन्। तिनको पीडाको व्यापारसमेत सुरु भएको छ। अर्कातिर, पूर्वकमलरीको उद्धार, पुनःस्थापना र परिपूरणका क्षेत्रमा केही काम भएको छ। राज्यले केही गरेजस्तो गरेको छ। सामाजिक संस्थाले पनि केही गरेका छन्। राज्य र सामाजिक संस्थाले यिनका नाममा गरेको खर्चबाट को बढी लाभान्वित भएको छ भन्ने बहसको अर्को विषय हुनसक्छ तर जे जति भएको उनीहरूले भोगेको अन्याय र तिनको आवश्यकताका तुलनामा अत्यन्त थोरै छ।

विशेषगरी २०३६ सालपछि नेपाली समाजमा नवधनाड्यको संख्या बढ्न थाल्यो। सम्भवतः सामन्ती मानसिकता र उपभोक्तावादी भौतिकता दुवैको संयुक्त विष समाजमा फैलन थाल्यो। बाबुआमालाई कलिला छोरीहरू 'बेचेर' घरखर्च चलाउन तम्से। धनीहरू आफ्ना छोरीकै उमेरका 'कमलरी' किनेर कजाउन पौरख ठान्न थाले। नाता र व्यवहारमा मानवीय पक्ष हराएपछि उचित र अनुचितको भेद पनि मेटिनेरहेछ। थारु महिलाले धेरै वर्षदेखि नेपालका अरू महिलाले भन्दा थप शोषण र दमन सहनुपरेको छ। तिनले सहनुपरेको यौन उत्पीडन त अझ राम्ररी सतहमा आएकै छैन।

कुनै बेला काठमाडौँकै छेउछाउका जिल्लामा छोरी बम्बई (मुम्बई) पठाउन तँछाड्मछाड् गर्थे। राष्ट्रिय पञ्चायतका एक जना सदस्यले २०३०को दशकको प्रारम्भमा आफू बम्बई गएर कोठीवालीको मेजवानी खाएको वर्णन निकै गर्वसाथ गरेको सम्झन्छु। अहिले चेलीबेटी बेचबिखन गम्भीर अपराध भएको छ। यस्तै, कमलरी राख्नेहरूले बढो गर्वसाथ घरमा 'थरुनी' केटी राखेको वर्णन गर्थे। अब सायद, दण्डको भयमात्र हैन सनमाजिक कलंकका डरले पनि सार्वजनिकरूपमा बताउने आँट गर्दैनन्। सामाजिक र कानुनी दृष्टिकोणमा परिवर्तन भएको छ। अहिले कमलरी किनबेचका लागि माघीमा मेला लाग्दैन। काठमाडौं वा छिमेकको सहरबजार र गाउँबाट कुनै मालिक चिल्लो मोटर चडेर कमलरी किन्न सानसँग जाने आँट गर्दैनन्। काम गर्ने केटी खोज्नेहरू भने अझै सुटुक्क जाँदा रहेछन्! माघीको मौकामा त बरु पूर्वकमलरी रहेका र कमलरी हुनुपर्ने जोखिममा भएकाहरूको सम्मान गर्न थालिएको छ। (म पनि यस्तै कार्यक्रममा देउखुरीको चैनपुर, बाकीमा पुगेको थिएँ। त्यही भेटेको हुँ लखनिया, पार्वती, झरना र रुबीलाई। यी सबै नाम मैले राखेको भए पनि अरू उनीहरूकै विवरण हो।)

लखनियादेखि रुबीसम्मको पुस्ताले बेग्लाबेग्लै प्रकारले तर उस्तै अमानवीय अन्याय सहेको छ। उनीहरूको भोगाइ बेग्लै छ। अचम्म मैले उनीहरूको चाहना सोध्दा भने सबैले लगभग एउटै कुरा भने। लखनियाले भनिन् — रुबी मेरी ठूलो छोराको छोरी हो। यसले यसरी स्कुल गएको देख्दा मलाई रमाइलो लाग्छ। सपनामा पनि यस्तो होला भन्ने सोचेकी थिइन। कान्छो छोराकी पनि छोरी छ। उसलाई पनि यसरी नै पढाउने व्यवस्था भए हुन्थ्यो। पार्वती अर्की छोरीलाई पनि पढाउने व्यवस्था (निजी स्कुलमा) भए हुन्थ्यो भन्छिन्। झरना अहिले एउटा संस्थामा काम गर्छिन्। उनी सबैलाई पढाउने र सीप सिकाउने व्यवस्था मिलाउन पाए हुन्थ्यो भन्छिन्। अरू त अरू रुबीले भनिन्- मौसीकी छोरीलाई पनि पढाउन पाए हुन्थ्यो। कसैले पनि 'कमलरी'ले राज्य वा पुराना पीडकबाट क्षतिपूर्ति पाउनुपर्ने अधिकार खोज्दैखोजेनन्।

राज्य चलाउनेहरूसँग बन्दुक बोक्नेबाहेक अरूका कुरा सुन्ने मन छैन। व्यक्ति वा सामाजिक संस्थाको सद्भावमात्रले सबैलाई राम्रो शिक्षा दिएर तिनका सन्तानलाई 'कमलरी' बन्नै नपर्ने बनाउन सक्तैन । प्रतिशोध र क्षतिपूर्तिको माग नचर्कँदै सरकार पूर्वक्रियाशील होला?