‘मान्धाता च
महीपति कृतयुगालङ्कार भूतो गतः ।
सेतुर्येन महौदधो
विरचितः क्वाअसौ दशास्यान्तकः ।।
अन्ये चापि
युधिष्ठीरप्रभृतयो याता दिवं भूपते ।
नैकेनापि समं गता
बसुमती नूनम् त्वया यास्यतिः ।।’
यो संस्कृत श्लोक
पहिले कहाँ पढेँ सम्झना छैन । म संस्कृतको विद्यार्थी हैन । अर्थभन्दा पनि यस
श्लोकसँग जोडिएको कथा हृदयस्पर्शी छ ।
बालक छोरा भोजलाई
भाइ मुंजको संरक्षणमा सुम्पेर राजा सिन्धुले प्राण त्याग गरे । मुंजले भोजका
संरक्षकका हैसियतमा शासन गर्न थाले । शासनप्रतिको आशक्तिले उनको नियत बिग्य्रो ।
भोजको हत्या गर्न पाए त साँच्चै राजा हुन पाइने ठानेर उनले सिपाहीहरूलाई वनमा लगेर
बालक भोजको हत्या गर्ने आदेश दिए । वनमा पुगेपछि भोजले माथि उद्धृत श्लोक लेखेर
‘मुंजलाई दिनु’ भनेर सिपाहीलाई दिए । यसपछिको कथातिर अहिले नजाऊँ । श्लोकको
भावार्थ हो – मान्धाता, राम, युधिष्ठीरजस्ता प्रतापी राजाहरू कसैसँग पनि
राज्यसँगै गएन भने तिमीसँग जान्छ र !
यो श्लोक पढेपछि
मुंजले विवेकहीन मनले उब्जाएको लोभ र त्यसले गराएको पापप्रति पछुतो गरेको कथा छ ।
संसारका धेरै भाषामा यस्ता कथा प्रचलित छन् । तर व्यवहारमा साँच्चै नै हृदय
परिवर्तनका उदाहरण भने बिरलै देखिन्छ ।
महाभारतमा
विचित्र प्रकृतिका अनगिन्ती पात्र छन् । शल्य तीमध्ये एउटा हो । नकुल र सहदेवको
मामा मद्र नरेश शल्य झुक्किएर दुर्योधनको आतिथ्य स्वीकार गर्नपुग्छ । अनि
कौरवहरूकै पक्षबाट युद्धमा संलग्न हुन्छ । कर्णको तेजोबध गरेर पाण्डवहरूको मद्दत
गर्छ । तर शल्यलाई दुर्योधनले सेनापति बनाउँछ र युधिष्ठीरका हातबाट
उसको मृत्यु हुन्छ । गोटीका रूपमा खेलाइने मानव नियति देखाउनैका लागि सिर्जना
गरिएको पात्रजस्तो लाग्छ सेनापति शल्य । के अहिलेका राजनीतिक दलका नेताहरूलाई पनि
नियतिले यस्तै कुनै विसङ्गतिका लागि निमित्त बनाएको त हैन ? उत्तर त फेरि पनि उनीहरूले नै खोज्नुपर्छ छातीमा हात राखेर
वा एक मुठी माटो हातमा लिएर !
No comments:
Post a Comment