Wednesday, August 12, 2015

अाँखा चिम्लेर गाेली नहान

माओवादी हिंसा बढ्दै गएको थियो । नेपाल प्रहरीसँग बन्दुकसम्म पनि थिएन । माओवादीलाई तह लगाउन सेना प्रयोग गर्नुपर्ने सन्देश बिस्तारै प्रवाह गर्न थालिएको थियो । यस्तै बेला एउटा सामाजिक समारोहमा नेपाल प्रहरी र नेपाली सेनाका उच्चअधिकारीहरूसँग कुराकानी गर्ने मौका मिलेको थियो । माओवादीको प्रसंगमा दुवै अधिकृतहरूको एउटै मत थियो – सेनालाई अगाडि सानु उचित हुँदैन ।
प्रहरी अधिकारीले माओवादीको सामना गर्न प्रहरीलाई आधुनिक हतियार दिनुपर्ने र मनोबल गिराउन दिनु नहुनेमा जोड दिएका थिए । त्यही क्रममा उनले के पनि भनेका थिए भने ज्यादती गर्ने प्रहरीलाई कारबाही गर्दा मनोबल गिर्दैन बरु बलियो हुन्छ । प्रहरीले गोली चलाउनुपर्दा सकेसम्म ज्यान नजाने गरी चलाउनुपर्छ ।
सेनाका अधिकृतले चोटिलो तर्क दिएका थिए । प्रहरीले मार्नै परे पनि खोजेर र चिनेर मार्छ तर सेनाले त जो अगाडि प¥यो त्यसैलाई गोली हान्छ । यसैले मुलुकभित्र सेनाको प्रयोग गर्नु हुँदैन ।
माओवादीले नै ब्यारेकमा आक्रमण गरेपछि सेना प्रयोग गरियो । त्यसपछि जे भयो सबैलाई थाहा नै छ । सुर्खेतमा भएको गोली प्रहार दुःखद त छँदैछ त्यसको प्रकृति थप चिन्ताको विषय भएको छ । गोली लागेका मानिस ठहरै हुनुले प्रहरीको तालिममा खोट रहेको स्पष्ट हुन्छ ।
प्रहरीलाई बन्दुक दिइएको छ । पक्कै पनि परेका बेला प्रयोग गर्नैका लागि हो । तर कि त भिडको उपद्रोमा तमासा हेर्ने नभए आँखा चिम्लेर बन्दुक चलाउने शैली नेपाल प्रहरीले अपनाउने गरेको पाइन्छ । लोकतन्त्रमा यस्तो शैली सुहाउँदैन । प्रहरी बढी संयमित र सुझबुझयुक्त हुनुपर्छ ।
ती दुवै सुरक्षा अधिकारी धेरै पहिले सेवा निवृत्त भइसके । कतै नियुक्ति पनि पाएनन् । अहिले सुर्खेतको घटनापछि तिनको सम्झना आयो ।
गोलीको अाँखा हुन्न तर हान्नेकाे त हुन्छ नी हैन ?

No comments:

Post a Comment