Saturday, May 16, 2015

मित्रतामा सद्भावको चर्चा


'यस विपत्तिले तपाईँहरूबीचको विवाद र विभाजन मेटाओस्। सबै मिले विपत्तिको सामना गर्न सहज हुन्छ।' मिसेलले अंग्रेजीमा भनिन्। मैले त्यसको अनुवाद सुनाउँदा हलमा भएका सबैले ताली बजाए। त्यहाँ उपस्थित सबैभन्दा पाकी थिइन् मिसेल बोनु। नेपालीलाई असाध्यै माया गर्ने यी क्यानाडेली दिदी हामीसँगै तनहुँको आँबुखैरेनी - १ मा पर्ने सत्रसय फाँटको मित्रता उच्च माध्यमिक विद्यालय परिसरमा पुगेकी थिइन्। मिसेल क्यानाडाको एउटा संस्था IWEN की संस्थापक पनि हुन् । हामी विद्यालयको वैशाख १२ को भुइँचालाले नभत्काएको एउटा खण्डमा जम्मा भएका थियौँ। मित्रताको पुरानो अंग्रेजी अक्षर 'C' आकारको भवन कक्षा चलाउनै नहुने गरी भत्केको रहेछ। (गत मंगलबार दिउँसोको ठूलो भुइँचालो आउँदा हामी त्यहाँको छलफल सकेर बाटो लागेका मात्र थियौँ। केही मिनेटमात्रै ढिलो भएको भए भत्केका कक्षाहरु भित्र भएकै बेला भुइँचालो आउने रहेछ। )
मित्रताको परिसरमा म धेरै वर्षपछि पुगेँ। विसं २०४३ मा राजनीति छाडेर हिँडेपछि मेरो गाउँसँग पनि नाता टुटेजस्तो भएको थियो। म आफ्नै मेलोमा लागेँ। गाउँलेहरुले पनि बिर्से। समयसँगै त्यहाँको नेतृत्व प्रतिनिधित्व गर्ने पनि धेरै जना निस्के। हुनात, यसपटक पनि मलाई गाउँलेले खोजेका हैनन्। मैले नै गाउँमा सोधेको थिएँ - मैले गर्नसक्ने केही छ कि भनेर। विपत्तिका बेला न हो सम्झनुपर्ने। अनि त्यही क्रममा मित्रता उच्च माध्यमिक विद्यालयको भवन भत्केकाले त्यसैलाई बनाइदिन गाउँ विकास समितिका सचिव र स्थानीय अगुवाहरुले भने। अनि के गर्न सकिन्छ र कसरी गर्ने भन्ने बुझ्न क्रियटिंग पोसिबिलिटिज नेपालका निर्देशक दीनेश सापकोटासँगै म र मिसेल सत्रसय गएका थियौँ। त्यहीँ भएको परिचय कार्यक्रमपछि मिसेलले विपत्तिले नेपालीबीच विवाद हटाएर सद्भाव कायम गराओस् भन्दा सबैले ताली बजाएर समर्थन गरेका थिए।
(मलाई तीन दशकपछि पुरानो अवतारको भूत चड्ने हो कि भन्ने डर पनि लागेको थियो। म २०३० देखि २०४४ सम्मका १५ वर्ष स्थानीय राजनीतिमा लुटपुटिएको थिएँ। त्यसो त २०२७ मा मित्रता माध्यमिक विद्यालय खोल्नुभन्दा पहिले खैरेनीमा हामीले रामशाह माध्यमिक विद्यालय खोलेका थियौँ। रामशाह र मित्रताका बीचमा सधैँ नै प्रतिस्पर्धा हुन्थ्यो। आँबु र सत्रसयका बीचमा पनि त्यस्तै प्रतिस्पर्धा हुन्थ्यो। मसँग गाउँ पञ्चायतको निर्वाचनमा उपप्रधान र प्रधान पञ्चको चुनावमा पनि सत्रसयकै उमेदवारको प्रतिस्पर्धा भएको थियो। तर उपप्रधान पञ्च भएका बेला मित्रतामा कुलो बनाउन अनुदान दिलाउन मैले विशेष प्रयास गरेको थिएँ। जिल्ला पञ्चायतको उपसभापति चुनिएपछि सत्रसयकै पदमबहादुर थापा रिक्त पदमा प्रधानपञ्च चुनिए। पहिलो चुनावमा उनी नै मेरा प्रतिस्पर्धी थिए। त्यो निर्वाचनमा मैले अर्कै उमेदवारलाई समर्थन गरेको थिएँ। तर चुनावपछि भने हामीबीचको सम्बन्ध अत्यन्त हार्दिक रह्यो। कतिसम्म भने मैले पञ्चायतको अर्को चुनाव नलड्ने घोषणा गर्दासमेत उनले मलाई साथ दिए।)  
मिसेल दिदी मित्रता उच्च माध्यमिक विद्यालयका शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुको क्रियाशीलताबाट प्रभावित भइन्। विद्यालय भवनको एउटा सानो खण्ड निर्माण गर्न सहयोग जुटाउन सकिने आशा जागेको छ। हुन नेपालमा अहिले आइपरेको विपत्तिमा सहयोग गर्न संसारभरका भला मानिसहरु सहायता जुटाउन लागेका छन्। ती सबैलाई सलाम ! सरकारी वा बहुपक्षीय र  केही हदसम्म कर्मचारी पोस्ने ठूला अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सरकारले आफ्नो सर्तमा मात्र काम गर्न दिनुपर्छ। बाटामा कागती पानी बेचेर वा खाली बोतल जम्मा गरेर जुटाएको पैसा केही परोपकारी काममा खर्च गर्न चाहने स्वयंसेवीलाई हामी सबैले स्वागत गर्नुपर्छ। सरकारले विधि र प्रक्रियाको अनावश्यक बोझ बोकाउनु हुँदैन।

No comments:

Post a Comment