'विवस्त्र’ नेपाली भाषामा खासै प्रयोग नभएको संस्कृत शब्द हो। नेपाली बृहत् शब्दकोशमा यस विशेषणलाई स्वतन्त्ररूपमा नराखी 'विवसन/विवस्त्र’ लेखिएको छ।
यसको अर्थ चाहिँ 'शरीरमा कुनै किसिमको वस्त्र नभएको, लुगा नलाएको, नाङ्गो, दिगम्बर’ भनेर दिइएको छ। नागरीप्रचारिणी सभा, वाराणसीबाट प्रकाशित संक्षिप्त हिंदी शब्दसागर’ पनि यसको अर्थमा 'नग्न, नंगा’ उल्लेख भएको छ। अर्थात्, विवस्त्र शब्दको अभिधा अर्थ 'नांगो’ हो। 'सम्राट्’शब्दको अर्थ त ठूलो राजा वा बादसाह भन्ने नै हो। सम्राट् कहलिन राजाहरूको राजा हुनुपर्छ।विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो साहित्यिक मान्यता प्रकट गर्ने क्रममा 'साहित्य’मा 'सम्राट्’ पनि 'विवस्त्र’ हुन्छ भनेका छन्। यसको सामान्य अर्थ त साहित्यमा सम्राट् पनि नाङ्गै हुन्छ भन्ने नै हो। उनले प्रयोग गरेको यो विवस्त्र अर्थात् 'नाङ्गो’ शब्दको व्यञ्जनात्मक अर्थ भने 'लुगा नलगाएको जन्मजात अवस्था’ मात्रैले धान्दैन। सायद, विश्वेश्वरप्रसाद कोइराला (बीपी)ले आवरण, आडम्बर र आलम्बन विहीन भन्ने अर्थमा 'विवस्त्र' शब्द प्रयोग गरेका हुन्। साहित्यमा बीपीको व्यक्तित्व आडम्बर, आवरण र आलम्बनबिना प्रकट भएको छ। अर्थात् विश्वेश्वरप्रसाद कोइराला आफैँ नै नेपाली साहित्यमा 'विवस्त्र’ प्रकट भएका छन्। राजनीतिक व्यक्तित्व वा सम्भ्रान्त पारिवारिक पृष्ठभूमिको मर्यादाले बीपीका अभिव्यक्तिलाई छोप्नसकेका छैनन्। नेपाली आख्यानमा उनका कमजोरीहरूसहितै पनि बीपीलाई 'सम्राट्’ भन्नु अतिशयोक्ति हुँदैन। यसरी विश्वेश्वरप्रसाद कोइराला आफैँ नै नेपाली साहित्यका 'विवस्त्र सम्राट्’ सिद्ध हुन्छन्।
आधुनिक नेपाली साहित्य र बौद्धिकतामा विश्वेश्वरप्रसाद कोइरालाको विशिष्ट स्थान छ। उनका राजनीतिक विरोधी र आलोचकसमेत नेपाली साहित्यमा बीपीको उच्च मूल्यांकन गर्छन् र उनीप्रति नतमस्तक हुन्छन्। हुन पनि राजनीतिमा मात्र हैन नेपाली समाजको आधुनिकीकरणमा पनि बीपीको भूमिका नेतृत्वदायी नै छ। बीपी नेपाली साहित्यमा मनोविश्लेषणको प्रयोग गर्ने अग्रणी स्रष्टामध्येका हुन्। त्यसमा पनि धेरैजना बीपीलाई नेपाली साहित्यमा यौन मनोविश्लेषणको प्रथम प्रयोक्ता नै मान्छन्। 'साहित्य मेरो क्षेत्र हैन’ भनेर पन्छे पनि र राजनीतिबाट फुर्सद पाएका बेलामा मात्र साहित्यतर्फ ध्यान दिएका भए पनि नेपाली मनोविश्लेषणात्मक कथा र उपन्यासमा उनलाई अरूले उछिन्न सकेका छैनन्। उनका आत्मकथात्मक कृतिहरूको साहित्यिक मूल्यमा विवाद होला। (कमल दीक्षितले त जेल जर्नलको साहित्यिक मूल्यको पनि निकै सराहना गरेका छन्।) जे भए पनि तिनले नेपाली समाज र चिन्तनमा पारेको प्रभावका दृष्टिबाट भने अतुलनीय छन्। यसैले विश्वेश्वरप्रसाद कोइरालालाई परम्परागत मूल्यांकनका आधारमै पनि नेपाली साहित्यका 'सम्राट्’ भन्नु अतिशयोक्ति हुँदैन।
हुनत, व्यक्ति कोही पनि ठूलो र सानो नभएजस्तै सिर्जना पनि कुनै ठूलो र कुनै सानो हुँदैन। कुनै रचना कालजयी होला भने कुनै क्षणमै बिलाउला तर रचना त दुवै हुन्। इतिहासले छोपेको कतिपय व्यक्तित्व समाजमा पछि स्थापित भएजस्तै कलाका विभिन्न विधाका कतिपय रचनाले पनि कालान्तरमा संसारलाई चकित, मोहित र रोमाञ्चित गराएकै छन्। त्यसैले सिर्जनालाई कुनै कालखण्डकै प्रभाव र मनोगत मूल्यांकनका आधारमा ठूलो र सानो कसरी भन्नु र? सिर्जनाजस्तै स्रष्टालाई पनि साना र ठूला भन्न पक्कै मिलोइन। साहित्यमा कुनै पनि स्रष्टाको अर्को सर्जकसँग तुलना गर्नु मूर्खता हो। प्रत्येक स्रष्टाको परिवेश, चिन्तन र व्यक्तित्व अलग हुने हुनाले अनुकरण गर्न खोजेर पनि अर्कोजस्तै हुन कोही पनि सत्तै्कन। यसैले स्रष्टा सबै सम्राट् हुन्। कम्तीमा आआफ्नो वैयक्तिकताका सम्राट्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले सुलोचना महाकाव्यमा प्रतिनिधि पात्रका मुखबाट भनेजस्तै — 'म आफ्नो घरको राजा झोपडी नै भए पनि।’
'विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्यमा मनोविश्लेषण विशेषगरी यौन मनोविश्लेषणका प्रथम प्रयोक्तामध्येका हुन्। उनका पात्रहरू जीवन्त छन्। उनको प्रभाव पछिल्ला साहित्यकारहरूमा परेको छ। उनका पात्रहरूमा अस्तित्ववादी प्रवृत्ति पाइन्छ। नेपाली साहित्यमा पश्चिमी साहित्यको प्रभाव भित्र्याउनेमध्ये पनि कोइराला अग्रणी स्रष्टा हुन्। ’ यी यस्तै असंख्य वाक्य बीपीको साहित्यिक योगदानको चर्चाका क्रममा लेखिएका छन्। उनका पात्र र प्रवृत्तिकै बारेमा पनि भइसकेकै चर्चा दोहोर्या उनुको कुनै तुक छैन। यस्तै उनले कहिलेदेखि लेख्न थाले? के लेखे? कति लेखे? जस्ता विवरण दोहोर्या उनु पनि पक्कै आवश्यक छैन। अब त रुचि हुने पाठकले इन्टरनेटमा खोजेरै पनि बीपीका बारेमा धेरै जान्नसक्छन्। उनका कृति बजारमा सजिलै र छ्याप्छ्याप्ती पाइन्छन् भने बीपीको साहित्यिक योगदानमै विद्यावारिधि गर्नेको संख्या पनि थुप्रै भइसकेको छ। कतै अभिलेख छ छैन थाहा छैन तर नेपालीमध्ये साहित्यिक र राजनीतिक पक्षमा गरिएका प्राज्ञिक अध्ययन अनुसन्धान सायद बीपीकै बारेमा सबैभन्दा धेरै भएको हुनुपर्छ। यसैले विश्वेश्वरप्रसाद कोइरालाले दाबी गरेजस्तै उनी साहित्यमा 'अराजकतावादी’ नै हुन् त भन्ने प्रश्नमा चर्चा केन्द्रित गरौँ।
सामान्य अभिधात्मक अर्थमा अराजकता पक्कै पनि वाञ्छित अवस्था हैन। राजनीतिमा चाहिँ अराजकतावाद 'राज्यविहीन खुला र स्वशासित’ समाजको कामना हो। साहित्यमा पनि अराजकतावादले उन्मुक्तिको कामना त गर्छ नै तर केही हदसम्म यसमा अधियथार्थवादी प्रवत्ति पनि पाइन्छ। बीपी भने आफ्ना रचनामा प्रायः सामाजिक र वैयक्तिक मनोविज्ञानका प्रयोक्ता तथा फ्रायडका प्रवक्ता बनेका भेटिन्छन्। अधियथार्थ उनको प्राथमिक प्रवृत्ति बनेको छैन। बरु, सामाजिक यथार्थ बीपीमा पाइने प्रवृत्ति हो। अराजकतावाद सिद्धान्ततः मानवतावादकै अंश र वंश हो। यसमा व्यक्ति सर्वोपरि हुन्छ। अराकतावादमा व्यक्ति विश्वको केन्द्रमा हुन्छ। यसैले त अराजकतावादीहरू राज्यमात्र हैन समाजकै पनि बन्धन स्वीकार गर्दैनन्। अर्थात्, अराजकतावादी व्यक्ति समाजवादी हुनसत्तै्कन। बीपीले भने आफू राजनीतिमा 'समाजवादी’ र साहित्यमा 'अराजकतावादी’ भएको घोषणा गरेका छन्। उनैले घोषणा गरेको र उनका अनुयायी र मित्रहरूले मानेको हुनाले विश्वेश्वरप्रसाद कोइरालालाई 'समाजवादी’ भन्नुपरेको हो। नत्र राज्य, जनता, व्यक्ति र शासन प्रणालीसम्बन्धी उनका विचारलाई राम्ररी केलाउने हो भने वीपी राजनीतिमा समाजवादभन्दा अराजकतावादका निकट देखिन्छन्। लोकतन्त्र र मानवतावादमात्र उनको अभिन्न प्रवृत्ति नै हो। बीपी 'समाजवादी’ नदेखिने धेरै सन्दर्भ छन् तर सबैतिर उनी मानवतावादी छन्। साहित्य त झन् अपवाद बन्ने विषयै भएन। यसैले बीपीका सन्दर्भमा साहित्यमा अराजकतावादी हुनुको अर्थ मूलतः मानवतावादी हुनु नै हो। 'ठूलो हैन असल' हुने वादका प्रवक्ता हुन् बीपी।
बीपीले नेपाली साहित्यमा समाजभित्र पर्दाले छोपिएका विषयलाई उजागर गरेका छन्। उनले जगत्लाई पनि अलग्गै कोणबाट हेरेका छन् तर जीवनलाई हेर्ने उनको दृष्टिकोण उतिबेलाको त कुरा छाडौं अहिले पनि चकित पार्नेे गरी नयाँ छ। यसो त, प्रयोगकै लागि प्रयोग गर्ने 'प्रयोगवादी’ प्रवृत्ति बीपीले कतै पनि प्रदर्शित गरेका छैनन्। विषयवस्तु, विधा, भाषाशैली कतै पनि प्रयोगकै लागि प्रयोग गरेका छैनन्। लाग्छ, उनले जस्तो देखे, भोगे, सुने, पढे त्यसैका आधारमा संसारलाई बुझे र त्यसलाई कुनै आवरण, आडम्बरबिना आफैँ कतै भोक्ता र कतै द्रष्टा भावले प्रस्तुत भएका हुन्। शैलीमा पनि लेख्दैमा बान्की परे परिहाल्यो नत्र उनले अलंकारका लागि अभिव्यक्ति सहजतामा सम्झौता गरेका छैनन्। जसरी राजनीतिमा सत्तैका लागि उनले सम्झौता गरेनन्। उनको विशेषता मनोविश्लेषण हो तर बीपीले यदाकदा वर्णनकै माध्यमबाट पनि पात्र र कथानक प्रस्तुत गरेका छन्।
प्रचलित मान्यताप्रति तर्कसम्मत सन्देह र त्यसविरुद्ध विवेकपूर्ण विचार निर्माण उदारवादी चिन्तनको सबैभन्दा पुरानो शैली र प्रवृत्ति हो। बीपीका साहित्यिक कृतिको आग्रह पन्छाएर अनुशीलन गर्ने हो मूलतः यही उदार चिन्तनको छाप भेटिन्छ। विशेषगरी उनलाई चिन्तनका दृष्टिबाट उत्तरार्धको 'मोदीआइन’ले कालजयी बनाएको छ। उनका पात्र पनि कति जीवन्त छन् भने कथाको शीर्षक र कथानक बिर्सँदा पनि पात्रहरू सम्झनामा रहन्छन्।
राजनीतिमा विफल भएर पनि राजनेता भएजस्तै साहित्यलाई आफ्नो नठान्ने र आफूलाई 'अराजकतावादी’ मान्ने बीपी यथार्थमा पनि उदार अराजकतावादी नै देखिएका छन्। बीपी नेपाली साहित्यका अराजक सम्राट् हुन्। विडम्बना, उनको यो मूल प्रवृत्तिलाई खुट्याएर त्यसकै सेरोफेरोमा विवेचना भने खासै भएको पाइँदैन।
No comments:
Post a Comment