Monday, May 13, 2013

सातु र सर्वत


धेरैपछि 
आज अक्षय तृतीयाका दिन
सातु र सर्वत खाइएन
खान पाइएन

घरकी मूली घरमा थिइनन्
घरै गएकी थिइन्
अरूले सम्झेनन्
मैले पनि सम्झाउन
बिर्सेछु

आँबैले आमाले 
पछिपछि श्रीमतीले
सधैँ सातु र सर्वत
खुवाउँथे
अक्षय तृतीया सम्झाउँथे
म म भएको
पहिचान र अस्तित्व बोध गराउँथे
( यी उनीहरूले नधानेको भए सायद
हामी उहिल्यै हराउँथ्यौँ होला !)

यो वर्ष
अक्षय तृतीया
घरमा आएन
सहरको कुनै
गल्लीमा हराएजस्तै भयो
फर्कने बाटो बिराएजस्तै भयो ।

माटामा परेको असिनाजस्तै
बाटामा झरेको हइउँजस्तै
बिलाउँदै गएको छु
खरानी नहुँदै
निभेको कोइलाजस्तै
सेलाउँदै
गएको छु ।

अक्षय तृतीयाको सातु र सर्वतले
नागपंचमी र जनै पूर्णिमा सम्झाउने गर्थ्यो 
मेरो मको जनाउ दिन्थ्यो ।
यो वर्ष त तेसले पनि बिर्स्यो ।
आउने कुनै वर्ष
नागपंचमी बिर्सने होला
जनै पूर्णिमा
अरूले सम्झाइदिुपर्ला
आफू बिर्सने बिर्साउने क्रममा
कहिँ, कतै, कसैको कोही नभएर बिलाएर जाने त होला ।

गाउँमा हुँदो हो त मैले नसम्झे
वल्लोपल्लो घरका
छरछिमेकका कोही न कोहीले पक्कै सम्झाइदिन्थे ।
यो बिर्सनु केको संकेत हो?
म म नरहेको जनाउ दिएको पो हो कि?

धेरै पछि आज
सातु र सर्वत खाइएन
सातुको टीका लाइएन
नरमाइलो लागेको छ ।
पेट पोलेको छ
मन जलेको छ ।



1 comment:

  1. जीवन भूत जसरि देखिने र लेखिने भए
    भविष्य अनुकुल कोर्न हुन्थ्यो
    शीतको थोपा माटोमा मिलेर जिवन संचार गरेझैं
    जिवन बिलाउने भए बिलाउनु के गाह्रो हुन्थ्यो ?
    पुराना बिर्षदै या अनुकुलहुदै नयाँ नयाँ नथपिने भए
    भ्यालेन्टाइन डे र न्यू इयर किन यति जिवन्त बन्थे ?

    सार्बकालिकता जिवन हुँदो त एक ठाँउमा टक्क अडिन्थ्यो होला
    यौटा पछि आर्को नहुँदो हो त मान्छे के मान्छे रहन्थ्यो होला?
    सम्झे सम्झाउनेको लर्कै’भा पनि बिर्सनु त अवश्यै पर्छ
    पेट पोल्नु र मन गल्नु “नरहनु”हँुदो हो त मनमा हुटहुटि के बढ्थ्यो होला !
    जिवन आखिर प्रवाह न हो टक्क के रोकिन्थ्यो होला

    ReplyDelete