Monday, May 13, 2013

आन्दोलनका पाँच दिन



पंचायत फर्केको भान ः 


राष्ट्रपति निवासबाहिर लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा गरिएको िसफारिसमा राष्ट्रपतिको ध्यानाकर्षण गर्न शितल निवासबाहिर नागरिक समाजले प्रदर्शन गर्ने कार्यक्रम थियो ।  लैनचौरदेखि नारायण गोपाल चोक महाराजगन्जसम्म बाक्लो प्रहरी उपस्थिति देख्दा भने २०४६ को जनआन्दोलनको झल्को लाग्यो। संयोग, उति बेलैका केही साथी पनि शीतल निवासबाहिर भेटिए । पंचायत फर्केको जस्तो लाग्यो । सायद लोकतन्त्रको लागि अर्को लडाइँ हुनै बाँकी छ । दुर्भाग्य, राष्ट्रपतिले पनि पनि िववेकको बोली सुनेनन् ।

प्रहरीले घेरेको पेरिस डाँडा ः 
लोकमान कार्कीलाई अख़्तियारको प्रमुख आयुक्त बनाउने सिफारिसविरुद्ध आन्दोलित नागरिक समाजले मंगलबार एनेकपा (माओवादी ) को कार्यालय पेरिसडाँडामा धर्ना दियो । पहिलोपल्ट माओवादीको कार्यालयमा जाने काम परेको थियो । पहिल्याउन एक छिन लाग्यो । धेरै साथीहरू पहिल्यै पुगिसकेका रहेछन् । पार्टी कार्यालयको मूल ढोकै बन्द थियो । प्रहरी धर्नाकारीका तुलनामा धेरै थिए । यो अभियान व्यक्ति विशेषविरुद्ध वा दलका नेताहरूको निन्दा अान्दोलन नभएर विधिको शासन, नैतिक आचरण र लोकतान्त्रिक मान्यताका पक्षमा जनमत निर्माणमा केन्द्रित हुनुपर्छ। विधि र निषेधका सबै मान्यता मिच्ने माओवादी खेल विफल पार्न र जानीनजानी त्यसको मतियार बन्ने कांग्रेस तथा एमालेका नेताको आँखा खोल्न जनदबावको खाँचो देखिएको छ । एक्काइसौं शताब्दीमा कोही पनि "पाटनका ६ प्रधान" जस्ता "किंग मेकर" बन्न सक्तैन भन्ने हेक्का पनि नेताहरू र अध्यक्ष रेग्मीलाई दिलाउने आन्दोलनको लक्ष्य हुनुपर्छ

सुशील दा! -  "यु टु ?"


आजको धर्ना हिजो र अस्तिको भन्दा अलि बेग्लै थियो । लोकतन्त्र जोगाउन राष्ट्रपति डा. रामवरण यादव अग्रसर होलान् कि भन्ने झिनो आशा मरिसकेको थियो। लोकमान सिंहकाे नियुक्ति व्यक्ति िवशेषकाे िवषय थिएन। विधि र निषेधका प्रश्नहरू जोडिएका छन् त्यसमा । त्यसैले धेरै कालपछि राजनीतिक प्रकृतिको अभियानमा सामेल हुन मन लागेको थियो । राष्ट्रपति यादवबाट आन्दाेलनकारी निराश भएका थिए। तेतिमात्र हैन आजै पहिलो पटक आन्दोलनकारीहरूलाई प्रहरीले पक्रेको थियाे । यसैले नेपाली कांग्रेसको पार्टी कार्यालय, बीपी नगर पुग्दा सबै जना अलि व्यग्र र खिन्न देिखएका थिए । प्रहरीको संख्या भने हिजोअस्तिभन्दा कम थियो । कांग्रेसलाई डर नभएको हो कि कर्मचारी सरकारले भाउ नदिएको हो कुन्नि !
(मलाई नरमाइलो लाग्नुका अरू कारण पनि थिए । अहिलेसम्म कांग्रेसको कार्यालयमा विरोध प्रदर्शनका लागि गएको थिइन। राजनीतिमा छँदा त कांग्रेसको विरोध गर्ने कुरै भएन राजनीति छाडेपछि पनि एक प्रकारको मोह बाँकी नै थियो । राजनीतिमा नभएपछि चित्त दुखाउने कारण पनि थिएन । पहिलो पटक कांग्रेसको ढोकामा विरोधका लागि उभिनुपर्दा नरमाइलै लाग्यो। २०४६ सालपछि पार्टीको सदस्य नभएको र कुनै औपचािरक पदमा नबसेको भए पनि कांग्रेसको मतदाता त हो नि ! यसैगरी पार्टी कार्यालयको ढोकामा पुगेर भित्रै नछिरी फर्केको पनि पहिलो पटक हो । हुनत म अत्यन्त कम जान्थे त्यहाँ । सामान्यतः दसैँका चियापान र कसैको निधनमा श्रद्धान्जली दिन जाने गर्थेँ । तैपनि कुन्नि किन भित्र नपसी फर्कँदा नरमाइलो लाग्यो । त्यसबाहेक गिरिजाबाबु बाचुन्जेल बेलाबखत बोलाहट हुँदा जाने गर्थे । अचेल न उनीहरूले बोलाउँछन् न मै जाने गर्छु ।
नरमाइलो लागे पनि कांग्रेसको कार्यालय बाहिर विरोध प्रदर्शन गर्दा र भित्र नपसी फर्कँदा पछुतो चाहिँ लागेको छैन । नेपाली कांग्रेस अब हिजोको पार्टी रहेन। चुनाव भइहाले अरूलाई भोट हाल्न मन लाग्ला नलाग्ला अहिले नै भन्न सक्तिन तर पार्टीमा ठूलै परिवर्तन नभए कांग्रेसका लागि भोट माग्ने जाँगर पक्कै लाग्नेछैन । लोकमान नियुक्ति प्रकरणमा पनि कांग्रेसका नेता िसद्धान्तनिष्ठ हुन सकेनन् । व्यवहारका नाममा सिद्धान्तहीन सम्झौता गरे। कांग्रेस मन परेको कारण लोकतन्त्र र राष्ट्रियताप्रति यस पार्टीको अविचल प्रतिबद्धता हो । त्यही नभएपछि िनष्ठाकाे जगै भािसएपछि केको माेह?)
कार्यक्रममा भ्रष्टाचारविरुद्ध अभियान चलाएकी शारदा भुषाल भावुक भइन् र बनाइन् । सहिदपुत्र द्रोण लामिछानेले विवेक जगाउने गरी चुनौती दिए । शर्मिला कार्की र शम्भु थापाको कथन उनीहरूको पहिचान सुहाउँदै थियो ।
प्राध्यापक कपिल श्रेष्ठले तन्देरी बेलाकै जोस देखाए बोल्दा । उनका भाषा र भाषण बेलाबेला त २०३२ सालतिरकै जस्तो लाग्थ्यो । तर सबैभन्दा मलाई छोएको चाहिँ कांग्रेस सभापति सुशील कोइरालालाई सम्बोधन गरेर उनले -' सुशील दा यु टु' भनेका बेला लाग्यो। ( जुलियस िसजरले आफ्ना विश्वासप्राप्त भारदार ब्रुटस समेत आफ्नो हत्याकाे षड्यन्त्रमा सामेल भएको थाहा पाएपछि खेद र आश्चर्य मिसिएको  झिनो स्वरमा ब्रुटस् यु टु भनेको दृश्य शेक्सपियरको दुःखान्त नाटक जुलियस सिजरमा पनि छ । सबैभन्दा विश्वास गरेकै व्यक्तिले विश्वासघात गरेको घटना वर्णन गर्दा यो प्रसंग उद्धृत गर्ने गरिन्छ ।) लोकतन्त्रको मर्यादा जोगाउने पक्षमा प्रचण्ड वा अरू नेता उभिने अपेक्षा थिएन । सुशील कोइरालाकाे इतिहासले उनको निष्ठामा शंका गर्न दिँदैनथ्यो । दुर्भाग्य, उनले समेत निष्ठाकाे बत्ती जोगाउन खोजेनन् । 
भोलिसम्मका कार्यक्रममा सहभागी हुने विचार छ । हेरौँ, पूर्णकालीन आन्दोलनकारी बनाउने पो हो कि बूढेसकालको बेरोजगारीले !

एमालेका नेतालाई खबरदारी 

प्रतिगमन विरुद्धको अान्दोलनका क्रममा अाज (बिहीबार) नेकपा (एमाले) को कार्यालय, बल्खुमा पुगियो । अाज हिजोअस्ति भन्दा कार्यक्रम अलि जीवन्त भयो । एमाले नेताहरूले राजनीतिक संस्कार देखाए । माधव नेपाल, केपी ओलीलगायतका नेता नारा र भाषण सुन्न आए । वक्ताहरूले पनि त्यसका लागि धन्यवाद दिए। प्रहरीको उपस्थिति कांग्रेसकैमा जस्तो पातलो थियो। कार्यालयभित्रै केही तैनाथ थिए । माओवादीको कार्यालयमा मूल ढोकै बन्द थियो र प्रहरीले घेरकर राखेको थियो। कांग्रेसको कार्यालयको ढोका त खुला थियो तर कसैले सामान्य शिष्टाचार पनि देखाएन । एमालेका नेताको उपस्थितिसमेतकै कारणले हो कि सुबोध प्याकुरेलले निकै भावुक भाषण गरे।
दलहरू प्रतिगमनको मतियार हुन पुगेको दाबी गर्दै वक्ताहरूले नेताहरूलाई सुध्रिन भनेका थिए। भोलि ४ बजे मधेसी मोर्चाको कार्यालयमा जाने कार्यक्रम छ ।

मुकेशकी आमाको आक्रोश



प्रतिगमनविरुद्धको आन्दोलनमा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यालयमा धर्ना दिने पालो थियो। मधेसी मोर्चाको सायद अलग्गै कार्यालय छैन। त्यसैले मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारको पार्टी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को कार्यालय, सानेपामा धर्ना दिइयो। कार्यालय सहायकले बस्नका लागि अखबार दिएर सौहार्द देखाए। वक्ताका भनाइ टिपे। नेकपा (एमाले)का त नेता नै उपस्थित भएर भाषण सुनेका थिए। मोर्चा कम्तीमा सहायकों नै भए पनि राजनीतिक संस्कार देखाए । एनेकपा (माओवादी)ले ढोकै थुनेर प्रहरी तैनाथ गरेको थियो । नेपाली कांग्रेसको कार्यालयमा ढोका त खुलै थियो तर भित्रबाट कसैले वास्ता गरेनन्। आजको कार्यक्रममा पनि वक्ताले प्रतिगमनको मतियार भएकोमा नेताहरूको आलोचना गरे। तर मुकेश कायस्थकी आमा मिराले सबैलाई रुवाइन्। उनी पनि रोइन्। दोस्रो जनआन्दोलनका घाइते मुकेश अझै थला परेकैछन्। छोराको स्याहार गर्न छाडेर प्रतिगमनको खबरदारी गर्न आउनु परेकोमा उनले चित्त दुखाइन्। नेताहरूलाई प्रतिगमनमा नलाग्न चेतावनी दिइन्। धर्नाको शृंखला सकिएको छ। राष्ट्रपतिले अलिकति अडान लिइदिएको भए सम्भवतः पछिल्ला धर्ना बस्नै पर्ने थिएन। कांग्रेस र एमालेका शीर्ष नेता लाचार र बेइमान देखिए। माओवादीको त पहिलेका अपराध सबै राफसाफ हुन्छ भन्ने देखाउने रणनीति नै हो। जनआन्दोलनका दोषीलाई कारबाही नभएपछि सशस्त्र द्वन्द्वका दोषीलाई कसरी कारबाही गर्ने? 
कांग्रेस र एमालेले भने जनतालाई उत्तर दिने ठाउँ रहेन। अहिल्यै मनोबल गिराउन सके चुनावी लडाइँ माओवादीका लागि सजिलो हुने नै भयो। चुनावमा जनताको सामना गर्नुपर्ने त कार्यकर्ताले नै हो। त्यसैले हो कि कांग्रेस र एमालेका अधिकांश कार्यकर्ता अहिले शीर्ष नेताले गरेका कामका विरुद्ध देखिन्छन्। पार्टी जोगाउन नेताविरुद्ध विद्रोह गर्ने कि नेतासँगै माओवादीको पछि लाग्ने हो अब सायद, तिनले पनि रोज्नै पर्ने बेला भयो। प्रतिगमनविरुद्ध उभिएर लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेस र एमालेका अरू नेता अगाडि सर्लान् त?

No comments:

Post a Comment