Monday, March 1, 2010

सस्तो जिन्दगी!

सस्तो जिन्दगी!


smaller text tool iconmedium text tool iconlarger text tool icon
धनकुटाको हिलेस्थित नम्बर २ बाहिनीमा तालिम लिँदै गरेका सिपाही रेशमबहादुर भण्डारीको माघ २७, २०६६ का दिन मृत्यु भयो। दैलेखको डाँडापराजुल निवासी भण्डारी नेपाली सेनाको कालीध्वज गणका सिपाही हुन्। सेनाले भण्डारीको मृत्युको घटना छानबिन गर्न तीन सदस्यीय ‘कोर्ट अफ इन्क्वायरी बोर्ड' गठन गरेको र तालिममा संलग्न अधिकृतलगायत ६ सैनिकलाई हिरासतमा लिई कारबाही चलाएको औपचारिक जानकारी दिएको छ। भण्डारीको शव परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन संस्थानमा गरिएको थियो। अहिलेसम्म भण्डारीको मृत्युको कारण सार्वजनिक गरिएको छैन। तर, उनलाई दिइएको शारीरिक सजायका कारण मृत्यु भएको दाबी प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनका आफन्तले गरेका छन्। सेनाको विज्ञप्तिमा घटनामा संलग्न रहेका व्यक्ति दोषी ठहरिएमा सैनिक ऐन, २०६३ बमोजिम कडा कारबाही गरिने उल्लेख भएकाले पनि भण्डारीको मृत्यु भवितव्य थिएन भन्ने पुष्टि हुन्छ।

काठमाडौंको प्रणवानन्द आश्रममा ६ वर्षका बालक रूपेश गिरीको मृत्यु भयो। अहिलेसम्म थाहा भएअनुसार आश्रमकै अर्का बालकको कुटपिटबाट उनको मृत्यु भएको हो। तर, उनको मृत्युलाई दबाउन खोजियो। आश्रमका सञ्चालक सुदानन्दको निर्देशनमा शरण कोइरालाले मृत बालकलाई अस्पताल पुर्‍याएका थिए। ओम अस्पतालका चिकित्सकले बालकको शरीरमा नीलडाम देखेपछि प्रहरीलाई खबर गरेका कारणमात्र हत्याको घटना बाहिर आयो। बालक गिरीलाई उनकै आश्रमका अर्का विद्यार्थीले कुटेका रहेछन्। आश्रमभित्र ज्यानै लिने गरी कुटपिट गर्दा पनि सँगै बस्ने कसैले बचाउन नखोजेकाले रूपेशको ज्यान गयो। यस घटनाबाट आवासीय विद्यालय वा यस्तै आश्रम वा विभिन्न नामका गृहहरूमा राखिएका बालबालिका कति असुरक्षित छन् र तिनका सञ्चालक कति संवेदनहीन छन् भन्ने देखिन्छ। सबै आवासीय विद्यालय वा बाल गृहहरू यस्तै नहोलान् तर सुदानन्द बाल गृह सञ्चालकहरूको प्रतिनिधि पात्र र प्रवृत्ति हो।

पाँचथरमा प्रहरीले हिरासतमा लिएको व्यक्तिलाई गाउँलेले कुटेर मारेका छन्। चोरीको आरोपमा पक्राउ परेका प्राङबुङ - ४बम ज्ञाङ्मी मगरका बाबुछोरा दलबहादुर र विक्रमलाई प्रहरीकै सामु गाउँलेले कुटपिट गरेपछि मृत्यु भए पनि कसैमाथि मुद्दा चलाइएको छैन। किटानी जाहेरी नपरेकाले मुद्दा नचलाएको प्रहरीको बताएको रहेछ। प्रहरीको संख्या थोरै भएकाले गाउँलेको कुटाइबाट जोगाउन नसकेको स्पष्टीकरण पनि प्रहरीले दिएको छ। सरकारवादी हुने मुद्दामा आँखै अगाडि भएको वारदातका दोषीलाई पक्रनुको साटो काइते तर्क दिएर उम्कन खोज्नुले घटनामा प्रहरीको संलग्नता वा समर्थन कुनै न कुनै रूपमा रहेको अनुमान सहजै गर्न सकिन्छ। कमाइ नहुने घटनालाई अनावश्यक झ्याउलो ठान्ने प्रहरीको मानसिकता यस घटनाबाट पुनः प्रकट भएको छ।

सञ्चार माध्यममा आएका समाचार हेर्दा यी तीनैवटा घटना सकेसम्म सामसुम गर्न खोजिएको देखिन्छ। सैनिक र प्रहरी मुछिएको घटनामा त यसै पनि खासै कारबाही हुँदैन। ‘तालिमका क्रममा सिपाहीले अनुशासन भंग गरी रक्सी खाएको र सम्झाइबुझाइ गर्न खोज्दा भवितव्य परी निजको ज्यान गएको देखिएकाले संलग्न भएका सैनिकलाई दोषी ठहर्‍याउन नमिल्ने' भन्ने बोलीको प्रतिवेदन लिएर भण्डारीलाई ज्यानै जाने गरी कुटपिट गर्नेहरूलाई चेतावनीस्वरूप ग्रेड रोक्का गर्ने निर्णय गरेर मिसिल बन्द हुनसक्छ। सेनाले यस्ता घटना सधैँजसो सामसुम पार्दै आएको दृष्टान्त जो छ। बालक रूपेश गिरीको हत्यालाई पनि सामसुम पारियो भने आश्चर्य मान्नु पर्दैन। बाबु विदेशमा रहेका र आमा पनि सामान्य व्यक्ति भएकाले पैसाको बल वा माथिको आदेश भयो भने प्रहरी, त्यसपछि सरकारी वकिल र अन्त्यमा प्रमाण कमजोर भएको कारण देखाएर अदालतबाटै हत्यारा उम्कने सक्छन्। नभए कुटपिटमा प्रत्यक्ष संलग्न बालकलाई जिम्मेवार बनाएर अरूलाई उम्काउने प्रपञ्च हुनसक्छ। ताप्लेजुङका बाबुछोरामाथि त यसै पनि चोरीको आरोप लागेको छ। प्रहरीकै कुटाइले मरेको भनिएको छैन। न गाउँलेको सहानुभूति उनीहरूले पाउँछन्। तिनको हत्या सामसुम हुनु के अनौठो भयो र?

के सेनाको अनुशासन, आश्रमको इज्जत वा प्रहरीको मनोबल मान्छेको जीवनभन्दा ठूलो हो? सामान्य मान्छेको जिन्दगीको महत्व हुँदैन? कानुनअनुसार त सबै बराबरै हुनुपर्ने हो। सेनाको कुनै अधिकृत त्यसरी मारिएको भए यस्तै सामसुम पार्ने काम हुन्थ्यो त? अवश्य पनि हुने थिएन। रूपेश वा ती बाबुछोरा कुनै राजनीतिक दलका कार्यकर्ता भएका भए प्रहरीका सामु कुटपिट गरेर मार्दा मानव अधिकारवादी भन्नेहरू यसरी तमासा हेरेरै बस्ने थिए त?

के पद, पैसा र पहुँच नहुनेको जिन्दगी सस्तो ठान्ने मानसिकता कहिले बदलिएला? जिन्दगी यसरी नै सस्तो भइरहने हो भने कसरी भए त यी नागरिक सार्वभौम?


No comments:

Post a Comment