Monday, March 22, 2010

ढल्यो धरहरा!

गिरिजाप्रसाद कोइराला सामयिक नेपाली राजनीतिका धरहरा हुन्। धरहरा अर्थात् सबैभन्दा अग्लो व्यक्तित्व। शारीरिक कदमा पनि गिरिजाबाबु अरूभन्दा अग्लै थिए। राजनीतिक कदमा त उनीसँग दाज्न मिल्ने कोही पनि अहिले नेपालको राजनीतिमा सक्रिय छैनन्।

कोइरालाका समवयी नेता कृष्णप्रसाद भट्टराई राजनीतिक मूल प्रवाहमा छैनन्। अरू योगदानमात्र हैन उमेरकै आधारमा पनि उनका सामु पुड्का देखिन्छन्। यसैले गिरिजाप्रसाद कोइरालाको मृत्यु सामयिक नेपाली राजनीतिमा धरहरा ढलेजस्तै हो।
विश्वेश्वरप्रसाद कोइरालाको निधनपछि उनी नेपाली राजनीतिको केन्द्रमा स्थापित भएका हुन्। धेरै जना ठान्थे - बीपीको भाइ भएकाले गिरिजाबाबु नेपाली कांग्रेसको नेतृत्वमा स्थापित भएका हुन्। कांग्रेसको नेता भएकैले उनी राजनीतिको केन्द्रविन्दु भएका हुन्। यो धारणा गलत साबित भयो। बीपीको देहावसानपछि कांग्रेसलाई जीवन र गति दिन गिरिजाबाबुले गरेको परिश्रमले उनी 'आकासेबेली' हैन 'बटवृक्ष' साबित भएका थिए। दोस्रो जनआन्दोलनको अघि र पछिको भूमिका र योगदानले गिरिजाबाबुलाई राजनीतिको धरहरा बनायो। नेपालीका सामुमात्र हैन संसारकै अगाडि उनी आफ्नै नाम र कामले चिनिने व्यक्तित्व बने। यही पहिचानले उनलाई स्वाभिमानी बनायो। त्यही स्वाभिमान शत्रु कमाउने कारण बन्यो।
राजा वीरेन्द्रकै पालादेखि गिरिजाप्रसाद कोइरालालाई अप्ठेरोमा पार्न थालिएको थियो। जननिर्वाचित भए पनि तिमीहरू रैती नै हौ भन्ने साबित गर्न खोजियो। सशस्त्र प्रहरी बल बनाउने प्रस्ताव कार्यान्वयन हुन नदिएर राजाले निर्वाचित नेतालाई 'हैसियत' देखाएका थिए।

त्यसपछि ज्ञानेन्द्र राजा भए। त्यति बेला गिरिजाबाबुले चाहेका भए ज्ञानेन्द्रलाई राजा हुनबाट रोक्न सक्थे तर त्यसको परिणाम निकै भयावह पनि हुनसक्थ्यो। यसैले होला कांग्रेसका धेरै नेताले दबाब दिँदा पनि गिरिजाबाबुले संसद् बोलाएनन्। त्यो उनको बुद्धिमानी थियो कि भूल त्यसको विवेचना होला। तर तत्कालको संकट टार्न उनी सफल भएका थिए।
कोइराला राजनीतिको केन्द्रमा रहेजस्तै उनकाविरुद्ध खुला र गोप्य षड्यन्त्र पनि भइरहे। पञ्चायतको अवशानपछि मुलुकले राजनीतिक मात्र हैन सामाजिक व्यवस्थामा पनि परिवर्तन गर्नुपर्थ्यो। तर उनका निकट हुन पुगेका यथास्थितिवादीले परिवर्तनको गति अत्यन्त सुस्त पारिदिए। उनकै कार्यकालमा आर्थिक उदारीकरणको आरम्भ भएको हो। शिक्षा, सञ्चार र स्वास्थ्यका क्षेत्रमा पनि मुलुकले फड्को मार्‍यो। निर्वाचित स्थानीय निकायमा विकेन्द्रीकरणको अभ्यास थालियो। मुलुकले आर्थिक-सामाजिक विकासका क्षेत्रमा फड्को मार्ने आधार तयार हुन थाल्यो। तर, नियतिलाई यो मञ्जुर थिएन। विपक्षीका साथै उनको पार्टीभित्रैबाट कोइरालाविरुद्ध षड्यन्त्र सुरु भयो।

आफ्नै पार्टीका सदस्यहरूको असहयोगका कारण सरकार गिरेपछि उनले पनि प्रतिनिधिसभा भंग गराएर मध्यावधि निर्वाचनको घोषणा गराए। पछिल्ला दिनमा उनको यही निर्णय राजनीतिक अस्थिरता र विकृतिका बीउ बनेको देखियो। मध्यावधि निर्वाचन २०५१ मा कांग्रेसले बहुमत ल्याउन सकेन। पार्टीको पराजयको दोष स्वाभाविकरूपमा उनले स्वीकार गरे। कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवालाई बनाए। सत्ताको स्वाद पाएका कांग्रेसहरू सरकारबाहिर बस्नुपर्दा निकै अप्ठेरो मान्न थाले भने नेकपा (एमाले)ले पनि सत्तामा पुग्ने बित्तिकै कब्जा गर्ने मानसिकता देखायो। यस्तो अवस्थामा गिरिजाप्रसाद कोइराला सक्रिय हुनु स्वाभाविकै थियो। उनले 'फु' गरेर एमाले सरकार ढाल्ने उद्घोष गरे। अल्पमतको सरकारले प्रतिनिधिसभा भंग गर्ने सिफारिस गर्‍यो। सर्वोच्च अदालतले प्रतिनिधिसभा भंग गर्ने निर्णय संविधानसम्मत नभएको ठहर गरी पुनःस्थापना गरिदियो। कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्री भए। उनको सरकार अन्ततः कांग्रेसकै सदस्यहरूका कारण गिरेपछि पञ्चायतका नेताहरूलाई पालैपालो एमाले र कांग्रेसले प्रधानमन्त्री बनाए। संसदीय पद्धतिकै चरम दुरुपयोग र बदनाम भएको समय थियो त्यो। त्यसपछि पुनः गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए। यसभन्दा पहिले नै कोइराला नेपाली कांग्रेसको सभापति भइसकेका थिए। भट्टराईलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेर २०५६ सालमा कोइरालाले निर्वाचन गराए।

कांग्रेसले बहुमत ल्यायो। कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए। तर, उनको कार्यशैलीमा कोइरालाको चित्त बुझेन। विशेषगरी माओवादीले थालेको सशस्त्र आन्दोलनप्रति भट्टराई मन्त्रिपरिषद्को कारबाही प्रभावकारी भएन भनेर कोइरालालाई उक्साइएको थियो। समवयी नेता भट्टराईको चित्त दुखाएर पदबाट हट्न बाध्य बनाई कोइराला प्रधानमन्त्री भए। कांग्रेसमा पलाएको विभाजनको विषवृक्षलाई यस घटनाले मलजल गर्‍यो। त्यसपछि, दरबारले खेल्न थाल्यो।
दोस्रो जनआन्दोलन माओवादीसमेतको संलग्नतामा सफल भएको हो। त्यसमा एमालेको पनि सहभागिता थियो। अरू साना दलहरू पनि थिए। तर नेताका रूपमा सबैले गिरिजाबाबुलाई नै स्वीकार गरे। यसको मूल कारण उनको दृढता र समर्पण थियो। र, त्यही दृढता शत्रु बढाउने कारक बन्यो। मूलतः दरबारसँगको उनको सम्बन्ध चिसिन धेरै समय लागेन। दरबारले उनलाई समाप्त पार्ने खेल थाल्यो। यस पटक नियतिलाई सायद त्यो मन्जुर थिएन। अन्ततः राजतन्त्र गिरिजाप्रसाद कोइरालाकै हातबाट समाप्त भयो। आफूलाई लागेको कुरा स्पष्ट भन्ने उनको स्वभाव राजालाई मन परेन। नेपाली कांग्रेसका नेताहरू बीपीलगायत गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र
गिरिजाप्रसाद कोइराला जनताका प्रतिनिधि हुनुको गर्व थियो। राजा र उनका भारदारले त्यस गर्वलाई दर्प ठाने। कांग्रेसहरूले सास्ती पाउने र राजतन्त्र समाप्त हुने एउटा कारण यो असमझदारी पनि थियो।
गिरिजाप्रसाद कोइरालाप्रति काठमाडौं सधैँ नकारात्मक रह्यो। त्यसको मूलकारण उनको क्रियाशीलता र दृढ निश्चय थियो। मूलतः राजधानीका रैथाने सम्भ्रान्तहरू गिरिजाको सेखी झार्न चाहन्थे। कार्यकर्ताका बलमा गिरिजाले ठड्याएको औँलाले आफ्नो अपमान भएको उनीहरू ठान्थे। उनीहरू डर पनि गिरिजासँगै थियो। गणेशमानजी र किसुनजीसँग सम्पर्क बनाउन सकिन्थ्यो। परेका खण्डमा सूत्र भिडाएर काम लिन पनि सकिन्थ्यो तर गिरिजाबाबुप्रति यो तत्व विश्वस्त थिएन। यसैले शासन र प्रशासन जताततै जमेर बसेका भारदार, साहुजी र साहेबहरूले गिरिजाप्रसाद कोइरालाविरुद्ध मोर्चाबन्दी गरे। त्यो मोर्चा अहिलेसम्म कायमै छ। ठाडो शिर गर्न खोज्नेको सेखी झार्ने तिनको अभियान अब कता सोझएला कुन्नि?
भारदारका खोपीका रचिने षड्यन्त्रले अनेकौँ कथा रचिएका छन्। गिरिजाप्रसाद कोइरालालाई खलनायकका रूपमा स्थापित गर्ने त्यस षड्यन्त्रको एउटा साधन नेपाली सञ्चार माध्यम पनि भएको छ। जानेर नजानेर उनको बदख्वाइँ गरिएको छ। गिरिजाबाबु गणेशमानजीप्रति चरम दुर्भाव राख्छन् भन्ने र गणेशमानजी बाहुनहरूलाई देखिसहँदैनन् भन्ने प्रचार गर्नेहरूको पृष्ठभूमि हेर्ने हो भने दरबारसँग जोडिएको देखिनेछ। गणेशमानजीले बेलाबखत कटु वचन गरे पनि गिरिजाबाबुले कहिल्यै मुख फर्काएनन्।
गणेशमानजीलाई मानव अधिकार पुरस्कारका लागि सिफारिस गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीले आँटै गरेनन्। गणेशमानजीले सरकार र विशेषगरी गिरिजाबाबुको चर्को आलोचना गर्न थालेका थिए। अनि, समाज कल्याण परिषद्लाई मनोनयनका लागि नाम छान्ने जिम्मा लगाइयो। कृष्ण खनाल सदस्यसचिव थिए। गणेशमानजीकै नाम पठाउने हाम्रो सहमति भयो। परराष्ट्र मन्त्रालयका अधिकृतहरूले त्यसमा हृषिकेश शाहको नाम पठाउने वा गणेशमानजीसँग शाहको पनि नाम जोड्नेजस्ता प्रस्ताव गरेका थिए। खनाल मानेनन्। गणेशमानजीसँग अरूको नाम जोड्न मिल्दैन भन्ने हाम्रो अडान थियो। प्रधानमन्त्री मान्दैनन् भनेर अत्तो थाप्न थाले। आधिकारिक सिफारिस त त्यहीँबाटै पठाउनुपर्थ्यो। अन्ततः प्रधानमन्त्रीसँग सोध्नैपर्ने भयो। मनमा कता कता अलिकति संकोच लागेको थियो। तर गणेशमानजीको नाम लिनेबित्तिकै गिरिजाबाबु त अत्यन्त खुसी पो भए। उत्साहित भएर स्वीकृति दिए।
गिरिजाबाबु कम्युनिस्टका कट्टर वैरीका रूपमा पनि चित्रित भएका थिए। उनले माले, मसाले र मण्डले एउटै हुन् भनेका पनि थिए। तर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर सत्तामा पुर्‍याउने काम पनि उनैले गरे। तिनै माओवादीले उनलाई राष्ट्रपति बन्न दिएनन्। तर पछिल्ला दिनमा माओवादीसँग संवाद पनि उनैले थालेका थिए। पछाडि फर्केर नहेरे पनि उनले बाँचुन्जेल अगाडि हेरिरहे।
यसोत, राष्ट्रप्रतिको दायित्व बोध गिरिजाप्रसाद कोइरालाले पारिवारिक उत्तराधिकारमै पाएका थिए। उनका पिता कृष्णप्रसाद कोइरालाले निरंकुश राणा शासनको पनि उत्कर्षकालमा जनताका पक्षमा आवाज उठाउने धृष्टता गरेका थिए। त्यसको परिणामस्वरूप कोइराला परिवारको सर्वस्व हरण भएको थियो। त्यसपछि दुम्जाबाट विराटनगर बसाइँ सरेको त्यो सम्भ्रान्त कोइराला परिवारले विपत्ति र विपन्नतालाई अँगाल्नु पर्दा पनि विद्रोहको परम्परा कायमै राख्यो। स्वयं कृष्णप्रसाद कोइरालाको राणाहरूको कारागारमा मृत्यु भयो।

उनका छोराहरू राणा शासनविरुद्धको २००७ मा भएको सशस्त्र जनक्रान्तिका नायक बने। नेपालको राजनीतिमा एकै बाबुका सन्तान तीन दाजुभाइ प्रधानमन्त्री बन्ने गौरव यिनै कोइरालालाई प्राप्त भएको छ। तिनै कृष्णप्रसाद कोइरालाका कान्छा छोरा हुन् गिरिजाबाबु।
जसरी धरहरा हेर्न आफ्नो पनि शिर ठाडो पार्नुपर्छ त्यसरी नै गिरिजाबाबुलाई हेर्न पनि पूर्वाग्रहबाट मुक्त हुनुपर्छ। धरहराजस्तै एकै पटक सबै नदेखिन पनि सक्छन् - गिरिजाप्रसाद कोइराला। यस्तै धरहराबाट तल हेरेझैँ गिरिजाबाबुले अरूलाइ सधैँ होचा देखे । वरपरकाले भन्दा टाढा पनि देखे । धरहराको गुण दोष सबै थियो उनमा ।

No comments:

Post a Comment