Monday, October 15, 2012

नदुखेको घाउ भो नकोट्याऊ

कपिलवस्तु नरसंहारपछि मनको वेदना कागजमा पोखेको रहेछु । पुरानो नोटबुकमा भेटेँ ।

नदुखेको घाउ 

दिक्क लाग्छ 
अख़बार, रेडियो र टीवी च्यानलसँग
काठमाडौंलाई नदुखेको कपिलवस्तु 
कोट्याइरहेको देख्दा

नदुखेको यो घाउ
कोट्याई कोट्याई भो नदुखाऊ
काठमाडौं त उत्सवमा रमाइरहेको छ 
इन्द्र जात्रा छ
इन्डियन आइडल छ 
( प्रशान्त तामांगलाई भोट दिन काठमाडौंमा देखिएको उत्ताउलो व्यग्रतामा प्रहार गरेर पत्रकार चन्द्र किशोरले कपिलवस्तु नदुखेको गुनासो गरेका थिए ।)
कपिलवस्तु दुख्न मुटुमा ठाउँ छैन ।
यहाँ त उत्सव पो छ !

यहाँ गिरिजाबाबु छन्
कमरेड प्रचण्ड छन्
उनीहरूका चण्डमुण्ड छन्
कांग्रेस एकीकरणको माचो छ
माओवादीलाई सत्तामा फर्काउनु छ
कपिलवस्तुको आर्तनाद सुन्ने
फुर्सद कहाँ छ ?

तेसमा पनि
तेहाँ के पो भइहालेको छ र?
केही मारिएका छन् रे
केहीको घर खरानी भएको छ रे
केही हजारको उठीवास भएको छ रे
केहीको वास रुखमुनि छ रे
केही चेलीको बलात्कार भएको छ रे
यस्ता दिनहुॅ हुने घटनालाई
ठूलो ठानेर साध्य चल्छ र? 
शासन चलाउन सकिन्छ र? 

काठमाडौं त नयाँ नेपालको तयारीमा व्यस्त छ
संविधान सभाको चुनाव गर्नु छ
देशको भाग्य बनाउने व्यक्ति छान्न
उमेदवारको बन्दसूची बनाउनु छ 
देशलाई गणतन्त्र बनाउनु छ
के के गर्नु छ !

यस्तो माचोमा
कपिलवस्तु घटनाजस्ता 
सानोतिना क़ुरामा अलमलिने 
फुर्सद कहाँ हुन्छ ?
यस्तो बेलामा नदुखेको कपिलवस्तुको घाउ कोट्याई कोट्याई 
किन उप्काउनु परेको ? 

रामदेवको योग शिविर छ
कांग्रेसको संयुक्त महासमिति छ
राजदूतहरूको भेटघाट
अनमिनका इयान मार्टिन
ट्रान्सपरेन्सीको प्रतिवेदन 
महत्त्वपूर्ण समाचार हुने यति धेरै विषय छन्
तेतै ध्यान केन्द्रित किन नगरेको ?
काठमाडौंलाई कहिल्यै नदुख्ने 
कपिलवस्तु किन कोट्याएको ?




Sunday, October 14, 2012

कांग्रेसको आत्मा


कांग्रेसको आत्मा त डा. शशाङ्ककै घरमा रहेछ कि कुन्नि त्यहाँ आज देखिएका अनुहारले पुराना दिन सम्झाउँथे । गिरिजाबाबु धेरै िबरामी भएपछि डा शशाङ्ककोइरालाको  महाराजगंजस्थित घरबाट सर्नुभयो । मलाई नयाँ डेरामा जाने खण्डै परेन । संस्थागत काम वा बोलाएका बेलाबाहेक २०४६ सालपछि म नेताहरूको घर वा नेपाली कांग्रेसकाे कार्यालयमा गएको छैन । दोस्रो जनआन्दोलनपछि कुन्नि किन सत्तासँग नजिकिनै मन लागेन । बीचमा पत्रकारितामा सक्रिय हुँदा धेरै िहमचिम बढाउनु उिचत पनि लागेन । यसपटक नागरिकबाट िबदा पाएपछि बोलाएका ठाउँमा गएको छु । नेपाली कांग्रेससँग प्रत्यक्षपरोक्ष सम्बन्ध भएका केही कार्यक्रममा उपस्थित भएँ । धेरै नयाँ अनुहार भेटिए पनि अझै चिनिएका अनुहार भेटिने रहेछ । 
आज (आइतबार) पनि एउटा कार्यक्रममा सहभागी त नभनौ उपस्थित हुने मौका पाएँ । पुराना साथी वीरेन्द्र दाहालले बोलाएपछि अल्छी लागे पनि नाइँ भन्न सकिन । निर्वाचनमा विजयी लाेकतन्त्रवादी प्राध्यापकको स्वागतमा डाक्टर शशाङ्क कोइरालाको घरैमा कार्यक्रम आयोजना गरिएको थियो । उपस्थिति राम्रो थियो । भीमबहादुर तामाङलगायत वरिष्ठ नेताहरू थिए । नवनिर्वाचित पदाधिकारी त थिए नै अरू पनि धेरै देखिए । कांग्रेसप्रति नयाँ पुस्ताको आकर्षण पनि बाँकी रहेको देखियो । 
शीर्ष नेताहरूप्रति धेरैले आक्रोश पोखेको सुनियो । कांग्रेसमा पनि 'सप्रे दोषादोष बिग्रे खोसाखोस ' गर्ने पंचायतको रोग सल्केको छ । अलिअलि तेस्तै पनि भयो । तर त्यहाँ पुग्दा कताकता उहिल्यै जयवागेश्वरी र पछि त्यही घरमा पुग्दाको अनुभव भयो । कांग्रेसको आत्मा त्यही घरमा भएजस्तो । दक्षिण एसियाली राजनीतिक परम्परा नेपालमा पनि चरितार्थ हुने हो भने कांग्रेसलाई पुनर्जीवन दिन कोइराला निवासले नै नेतृत्व लिनुपर्छ । कोइराला निवासका उत्तराधिकारी डाक्टरहरू शेखर र शशाङ्क कोइराला चिकित्सा छाडेर राजनीतिमा आइसकेका छन् । पुर्खाको बिँडो थाम्लान् त ?

Wednesday, October 10, 2012

औषधि पसलमा ठगी

मेरी उनीले नियमित खानुपर्ने एउटा औषधि वरपर नपाएपछि खोज्दै शिक्षण अस्पतालसम्म पुगेँ। अस्पतालको डिस्पेन्सरी बन्द थियो। सडकतिर निस्कने बाटामा औषधि पसल छन्। तीमध्ये एउटा हाम्रो फार्मेसी भन्ने पसल रहेछ। त्यहीँ 'बिटालक-१००'मागेँ। त्यो पसलमा जम्मा ३० चक्की बाँकी रहेछ। त्यसको २५०। रुपियाँ तिरेँ। 
दिनहुँ खानुपर्ने औषधि भएकाले अरु पनि लैजाऊँ भनेर खोज्दै सडकपटि्ट गएँ। सडकतर्फको एउटा पसलमा पाइएन। अर्को पसलमा सोधेको विक्रेता नानीले फोनमा सोधेर 'एकैछिन बस्नुस्' भनिन् र बाहिर निस्किन्। सडकपारिको पसलबाट उनले औषधिको बट्टै लिएर आइन्। मैले ३० चक्की मागेँ। उनले हिसाब गरिन् र 'रु २३०। पर्छ' भनिन्। सुनौलो फर्मामा पैसा तिरेँ र पहिलेकै पसलमा फर्केँ। मलाई औषधि बेच्ने भाइसँग 'किन २०। रुपियाँ बढी लिएको?'भनेर सोधेँ। ऊ अकमकाए। पसलका साहुजस्ता अर्काले नाक खुम्च्याउँदै सोधे। मैले २०। रुपियाँ बढी लिएकै कुरा बताएँ। 'पैसा त हामीले लिएजत्तिकै पर्ने हो अर्को पसलले छुट दियो होला' भनेर टार्न खोजे। मैले यसरी फरक त पर्न नहुनेमात्रै भने। म झगडा गर्ने मुडमा थिइन बरु लेखेरै साटो फेर्ने सुरमा थिएँ। म फर्कन लागेको देखेर उनले अनिच्छापूर्वक रु २०। फिर्ता दिए। पैसा लिएँ र फर्केँ। 
यसरी पनि ठगिँदा रहेछौँ त हामी। औषधिको व्यापारमा धेरै नाफा हुन्छ र बदमासी पनि धेरै नै हुन्छ भन्ने त मलाई थाहा थियो। तर, औषधि पसलमा ग्राहकलाई यसरी पनि ठगिँदो रहेछ भन्ने चाहिँ बल्ल अनुभव भयो। अर्को पसलमा किन्न नगएको भए म ठगिएको ठगिएकै हुन्थेँ। सुनौलो फार्माले पनि नाफा राखेरै बेचेको होला। यस्तो ठगी कालो बजारीमा पर्छ कि पर्दैन? औषधिको अधिकतम मूल्य नै बढी तोक्नु कालो बजारी हो कि होइन? सरकारको नियामक निकायको अधिकार क्षेत्रमा यस्तो ठगी पर्छ कि पर्दैन? पर्छ भने कारबाही नगर्नु अख्तियारको दुरुपयोग हुन्छ कि हुँदैन? अस्पताल परिसरमा त औषधि झन् सस्तो हुनुपर्ने। २५०। को औषधिमा त २० रुपियाँ फरक पर्छ भने धेरै पैसाको औषधिमा कति फरक पर्छ होला? मभन्दा सोझो मान्छे भएको भए पैसा फिर्ता माग्ने आँट पनि गर्ने थिएन होला। अनि मभन्दा बलियो युवा भएको भए पसलेलाई चड्काउन बेर लगाउने थिएन होला। 

Tuesday, October 9, 2012

कस्तो विकास ?


कस्तो विकास?

E-mailPrint'?विकास' का विभिन्न रूप, शैली, उद्देश्य आदिसँग संसर्ग हुन थालेको ४५ वर्ष जति हुन थाल्दा पनि मेरा लागि यो विषय अझै परमेश्वरको 'विश्वरूप' जस्तै छ। के हो के हो? भेउ पाउनै नसकिने। बिस्तारै मलाई लाग्दै गएको छ- विकास व्यक्तिका लागि हुनुपर्छ। शिक्षाले जिन्दगी पढ्न सिकाउनुपर्छ। ज्ञानबाट सन्तोष प्राप्त हुनुपर्छ। स्वास्थ्य सेवाले निरोगी बनाउनुपर्छ। यो मेरो मौलिक सोच हैन। विकासका विभिन्न अवधारणामध्येकै हो। विश्वेश्वरप्रसाद कोइरालादेखि अमर्त्य सेनसम्मका विद्वान्लाई पढ्दा र दुर्गम गाउँदेखि टोक्यो वा न्युयोर्कको जनजीवन हेर्दा विकास र जीवनबीचको यो सम्बन्धमा मेरो विश्वास बढेको हो। अगिल्लो साताको अन्त्यतिर पढेको एउटा प्रतिवेदन र गएको आइतबार हेरेको जन भोजन कार्यक्रमबाट मेरो विश्वास झन् बलियो भएको छ।
संयुक्त विकास कार्यक्रममा आवासीय प्रतिनिधिले भरतपुरस्थित उनको क्षेत्रीय कार्यालयले तयार गरेको चेपाङसम्बन्धी बुलेटिनको लिंक टुइट गरेका थिए। लामो सन्दर्भ सूचीसहितको त्यस लेखोटमा चेपाङलाई राज्यले उपेक्षा गरेकाले उनीहरू सकसमा परेका हुनाले उनीहरूको स्वशासन आवश्यक छ भन्ने सन्देश त्यसमा दिन खोजिएको छ। त्यस्तो बुलेटिन विकासे शब्द संग्रह हुनु स्वाभाविकै हो। अहिलेसम्म सुन्दै र सुनाइँदै आएका केही विकासे तर्क र अंक त्यसमा पनि छन्। बुलेटिनमा उल्लेख भएअनुसार अहिले चेपाङको जनसंख्या ५० हजारको हाराहारीमा छ र मूलतः चितवन, गोरखा, धादिङ, मकवानपुरलगायत्का जिल्लामा उनीहरूको बसोबास छ। करिब ९० प्रतिशत चेपाङ 'गरिबीको रेखामुनि' छन्। त्यस समुदायमा साक्षरको संख्या २५ प्रतिशतभन्दा कम छ। त्यसमा पनि चेपाङ महिला त १ प्रतिशतले मात्र लेखपढ गर्न सक्छन्। उच्च शिक्षा हासिल गर्नेको संख्या त झन् थोरै छ। यस्तै यस्तै लेखिएको छ। 
चेपाङहरूलाई पहिले सरकारी कामकाजमा 'प्रजा' भन्ने गरिन्थ्यो। सन् १९७० को दशकको आरम्भदेखि नै नेपालमा 'प्रजा विकास कार्यक्रम' लागु गरिएको थियो। अहिलेसम्म एक प्रतिशतमात्र चेपाङ महिला साक्षर भएका हुन् भने भन्नैपर्छ- चार दशकभन्दा लामो विकास प्रयास विफल भयो। राज्यले केही नगरेकै भए पनि चेपाङहरूको अवस्था अहिलेभन्दा कमजोर त पक्कै हुने थिएन। अर्थात्, चेपाङका नाममा राज्यको ढुकुटी र विदेशी सहयोगबाट गरिएको सबै खर्च खेरै गयो।
राष्ट्रसंघीय बुलेटिनमा अहिलेसम्म धेरै प्रयास उपकार (च्यारिटी) को भावनाबाट उत्पे्ररित भएकाले चेपाङहरूको जीवनस्तर नसुधि्रएको भनिएको छ। यसैगरी चेपाङहरूका बारेमा अध्ययन धेरै भयो तर तिनलाई सबल बनाउने काम भएन पनि बुलेटिनमा उल्लेख गरिएको छ। यस्ता बुलेटिन प्रायः चलनचल्तीका शब्दावली प्रयोग गरेर स्थितिको वर्णन गर्ने र अरूकै निष्कर्षमा आधारित सुझावको 'झारा' टार्न प्रयोग हुन्छन्। यसैले गम्भीरतापूर्वक लिनु जरुरी थिएन। तर, जन भोजनको स्वाद चाखेपछि चेपाङ विकासका नाममा भएको पाखण्डको सम्झना भयो। जनभोजन कुनै अधिकारमुखी अवधारणामा आधारित विकासे कार्यक्रम हैन। यो त प्रेम रावत नामका सज्जनको परिकल्पना र सहयोगमा सञ्चालित नितान्त 'परोपकारी' कार्य हो।
प्रेमसागर फाउन्डेसन नामको गैरसरकारी संस्थाले धादिङको दामेचौर गाउँमा 'जन भोजन' अनुष्ठान सञ्चालन गर्दोरहेछ। यसलाई पूर्वीय परम्पराको सदावर्त भने पनि हुन्छ। खाना खाने बेलामा जो आइपुग्छ, उसले एक पेट खान पाउँछ। खान दिएबापत व्यक्तिले कुनै प्रभुको भजन गाउन पनि पर्दैन। कोहीप्रति कृतज्ञ हुन पनि पर्दैन र कसैलाई केही तिर्न पनि पर्दैन। यहाँ त खाएको थाल मा‰न पनि पर्दैन। केटाकेटीलाई चाहिँ खानुभन्दा पहिले हात धुन लगाइँदो रहेछ। बस्! संसारमा धेरै ठाउँमा लामो समयदेखि यस्ता सदावर्त चलाइएका छन्। फरक के भने तिनीहरू धेरै धर्मका नाममा चलाइएका छन् र व्यक्ति अझ भनौं एउटा गाउँको सिंगो पुस्ताको जीवनमा तिनले फरक पारेजस्तो लाग्दैन। परोपकार भएर पनि लक्षित कार्यक्रम भएकाले प्रेमसागर फाउन्डेसनको 'जन भोजन' सामान्य सदावर्तभन्दा फरक हुन पुगेको छ। 
वरपरका गाउँको सर्वेक्षण गरेर जीवनस्तर कमजोर देखिएको क्षेत्रमा जन भोजन कार्यक्रम थालिएको रहेछ। विशेषगरी, त्यहाँका बालबालिकामा जन भोजनको अत्यन्त सकारात्मक प्रभाव परेको रहेछ। उनीहरूको नियमित विद्यालय जाने संख्या ह्वात्तै बढेर ९५ प्रतिशत पुगेको छ रे। गएको एसएलसी परीक्षामा जन भोजनका नियमित सहभागी विद्यार्थीहरू ७५ प्रतिशत उत्तीर्ण भए रे। व्यक्तिगत सरसफाइमा सुधार र पोसिलो खाना उपलब्ध भएकाले उनीहरू कम बिरामी हुन्छन्। जुटाउन नसक्ने परिवारका आमाबाबुले छोराछोरीलाई बाल मजदुर बनाउनु परेन। पापी पेट भर्नैका लागि कलिला चेलीहरू यौन शोषणमा पर्नु परेन। यस कार्यक्रमले एक दशक निरन्तरता पायो भने सम्भवतः त्यस गाउँकै जीवनस्तर निकै माथि उठ्नेछ। 
अब चर्चा गरौँ चेपाङहरूको। उनीहरूका लागि भन्दै आधा शताब्दीजति विकासका नाममा खर्च र प्रयास गर्दा पनि जीवनस्तर त उस्ताको उस्तै छ। यो कस्तो विकास हो? बाहुनलाई पुरोहित्याइँ र नेवारको पसल जोगाउन नपर्ने तर चेपाङलाई परम्परागत जीवनशैली जोगाउन कर किन लगाउने? समर स्कुलका विद्यार्थी र तिनका सहायकको भाषिक अध्ययनका लागि कतिन्जेल चेपाङले पिछडिइरहनु पर्ने हो? परम्परा त मानवोचित जीवन बाँचेर जोगाउने हो। परम्परा जोगाउने नाममा दुःख सहेर अविकासकै अवस्थामा समाप्त हुने कि मूलधारमा समाहित भएर सन्तानको भविष्य सुरक्षित गर्ने? युएनडीपीलगायत् संस्थाले चेपाङकै अध्ययनमा गरेको खर्च जति पनि सोझै तिनका हितमा लगाइएको भए उनीहरू निकै समर्थ भइसक्ने थिए। जनजीवनमा साँच्चै प्रभाव पार्ने काममा 'सेक्स अपिल' भेट्दैनन् कि कमिसन नआउने भएर हो कुन्नि राजनीतिकर्मी र कर्मचारीले जनतालाई सोझै छुने कार्यक्रमलाई रुचाउने वा चासो लिने गरेको देखिएको छैन। अधिकारप्रति सचेत गराउने पैरवीका नाममा गरिने जनताको जीवनमा प्रत्यक्ष प्रभाव नपार्ने काम सबै ठगी हुन् भन्ने निष्कर्षमा विमति जनाउने धेरै होलान्। तर विवेक हुनेले त्यसमा पक्कै सही थाप्नेछन्।
एउटा उदाहरण, चेपाङले खोरिया अंशमा पाए। तर, खोरिया र त्यसको हकवालाको सम्बन्ध काठमाडौंले कहिल्यै बुझेन। सरकारले चेपाङको खोरियामाथिको हकलाई मान्यता दिएन। जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) नभएकाले तिनले नागरिकता पाएनन्। नागरिकता नभई तिनले सुकुम्बासीका नाममा दिइने जमिन पनि पाएनन्। फलस्वरूप, डँडेलो नियन्त्रण गर्नेदेखि खोरिया फँडानी बन्द गर्ने सरकारका सबै प्रयास विफल भए। समुदायलाई सुम्पेपछि खोरिया फँडानी कम भयो। जमिनसँग जोडिएको समस्याको मानवीय आयाम हुन्छ। त्यसलाई सम्बोधन नगरी यो समस्या समाधान हुँदैन। चितवनमा ७५ वटै जिल्लाका मानिसले जग्गा पाए तर चेपाङलाई सम्म जमिन दिइएन। उनीहरुलाई पहाडमै राखियो। म्युजियममा सजाउने वस्तु हुन् कि व्यक्ति हुन् चेपाङ?
बंगलादेशको ग्रामीण बैंक अभियानका अगुवा मुहम्मद युनुससँग सन् १९९२ मा भेट्ने मौका पाएको थिएँ। त्यति बेला उनी ग्रामीण बैंकको जग बसाउँदै थिए। उनले भनेका थिए- व्यक्तिलाई गरिबीबाट मुक्त गर्न कि आर्जन हुने सीप सिकाउनुपर्छ कि त बचत गर्ने बानी पार्नुपर्छ। यी दुई उपायबाट मात्र गरिबी निवारण सम्भव छ। प्रेमसागर फाउन्डेसनको जन भोजन कार्यक्रम अवलोकन गरेपछि एकै छाक सही पेटभर खान पाउने हो मात्रै भने पनि गरिबी न्युन गर्न सकिँदो रहेछ लाग्यो। जिल्लामा दुईचार वटाका दरका चेपाङ गाउँ बनाएर यस्ता कार्यक्रम चलाउने हो भने सायद अर्को २० वर्षभित्रै चेपाङहरू अरू समुदायसरह सक्षम हुनेछन्। पहाडी संस्कृति जोगाउनुपर्छ भन्ने लागे उनीहरूले नै त्यति बेला जोगाउलान्। अहिले अरू जातिमा देखिएको जातीय पुनर्जागरण तिनमा पनि आउला। चेपाङ समुदायलाई अधिकार र विकासका नाममा 'गिनीपिग' बनाइरहने हो भने अर्को २० वर्षमा चेपाङ जनसंख्या ५ हजारको हाराहारीमा झर्नसक्छ। जीवनस्तरमा सुधार पनि हुनेछैन। 
विकासले त व्यक्तिलाई सक्षम, समृद्ध र सशक्त बनाउनुपर्छ। शिक्षा सम्भवतः त्यसका लागि अपरिहार्य आधार हो। स्वास्थ्य सेवा व्यक्तिको सर्वांगीण विकासमा सहयोगी हुनुपर्छ। परिवार, समाज वा राष्ट्र त समष्टि हुन्। व्यक्ति सक्षम, सशक्त र समृद्ध भए अन्ततः परिवारदेखि राष्ट्रसम्मका सबै समष्टि स्वतः समृद्ध हुन्छन्। व्यक्तिलाई उपेक्षा गर्ने विकास अर्थहीन हुन्छ। व्यक्तिलाई छोडियो भने समृद्धि पनि समस्या बन्छ। चीन, भारत र संसारका धेरै मुलुकले अहिले सबैभन्दा बढी यही कारणले समस्या भोग्नुपरेको छ। संसारभरकै विकासको इतिहासलाई राम्ररी केलाउने हो भने यही निष्कर्ष निस्कन्छ होला!

Sunday, October 7, 2012

जन भोजनको स्वाद


आज (आइतबार २१ असोज २०६९) । प्रेमसागर फाउन्डेसनले धािदङको दामेचाैरमा संचालन गरेको जन भोजन कार्यक्रम अवलोकन गर्ने मौका पाएँ । अहिलेसम्म सयौँ संस्थाका कार्यक्रम हेरिसकेको छु । केही कार्यक्रमको संचालनमा सहभागी पनि भएको छु । थोरैबाट मात्र प्रभावित भएको छु । तीमध्ये जन भोजन कार्यक्रम पनि परेको छ । हरेक दिन बिहान १२ बजेसम्म त्यहाँ शाकाहारी खाना जाने जति सबैलाई िदइँदो रहेछ । आज ३११ जनाले त्यहाँ खाना खाए । तीमध्ये ३०० जनाभन्दा बढी स्थानीय विद्यालयका विद्यार्थी थिए । यो कार्यक्रम सुरु भएपछि विद्यालय छाड्ने (drop out) दर ह्वात्तै घटेकाे छ रे । स्थानीय बालबालिकाले हात धोएर खाना खान थालेका छन् । उनीहरूको पढाइ पनि राम्रो भएको छ । यस वर्षको एसएलसीमा त्यहाँको स्कुलको परीक्षाफल पनि राम्रो भएछ ।
िदनहुँ सयौँ जनालाई खाना खुवाउने ठाउँको सरसफाइ पनि अचम्मैको थियो । यथार्थमा अन्तर्राष्ट्रिय स्तरको । नेपालका बाल गृहहरूसँग त दाँज्नै नसकिने । अनि यसको आर्थिक स्रोत दाताहरूको स्वेच्छाको दान रहेछ । व्यवस्थापनमा पनि धेरै काम स्वयंसेवकले गर्दा रहेछन् । 
लाग्यो, वास्तवमा विकास भनेको त यस्तो पो हुनुपर्ने ! 
प्रेम रावत फाउन्डेसनसँगको सहकार्यमा याे जन भोजन कार्यक्रम चलाइएको रहेछ । बाल योगेश्वरका नामले पनि चिनिने रावत संसारमा शान्तिको सन्देश फैलाउन सक्रिय रहेछन् । यो जन भोजनमा भने धर्मसँग कुनै सरोकारै रहेनछ । दैनिक औसत २५ हजार रुपियाँ खर्च हुन्छ रे । केही दाताले पितृका नाममा खुवाउँदा रहेछन् । दानबाटै संचालन गरिएको रहेछ । वर्षको करिब १ करोड । 
विद्यालयमा बालबािलकाको उपस्थिति र तिनको शैक्षिक उपलब्धि  बढाउन यो उत्तम उपाय होजस्तो लाग्यो । 
कार्यक्रम स्थल छान्दा वरपरको जनजीवनको सर्वेक्षण पनि गरिएको रहेछ । सबैभन्दा चर्को गरिबी र दयनीय स्थिति देिखएपछि दामेचौर छानिएको रहेछ । नौबीसेबाट त्रिभुवन राजपथमा १६ किलोमिटर अगाडि गएपछि त्यहाँ पुगिन्छ ।






Tuesday, October 2, 2012

राष्ट्रपति कांग्रेसै हुन् त ?


 माओवादीले हात पारेको सत्ता अब सजिलै छाड्दैन। छाड्दिन नभन्ने तर छाड्दा पनि नछाड्ने गर्दा जनताले थाहा पाउने डर हुन्छ। जनताको आँखामा छारो हाल्न कुनै न कुनै बहाना त बनाइरहनु पर्‍यो। त्यसैले अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईलगायत् एनेकपा (माओवादी) का नेता र तिनैको बोलीमा लोली मिलाउने मधेसी मोर्चाका केही नेताले समेत राष्ट्रपति रामवरण यादव पनि कांग्रेसै भएकाले नेपाली कांग्रेसका अर्का नेतालाई प्रधानमन्त्री दिन मिल्दैन भन्न थालेका छन्। 

कांग्रेसको नेतृत्व स्वीकार गर्ने कि नगर्ने निर्णय सम्बन्धित दलले गर्ने हो। माओवादी, मधेसी वा अरू कसैलाई पनि कांग्रेसको नेतृत्व स्वीकार गर्नैपर्ने बाध्यता छैन। (अहिलेसम्मका सबै निर्वाचन कांग्रेसकै नेतृत्वमा भएको छ। जति नै कमजोर र नेताहरू बुद्धिहीन भए पनि कांग्रेसको साख अझै बाँकी छ। हिङ नभए पनि हिङ हालेको टालो जो हो। तर, बाबुराम मण्डलीलाई चुनाव गराउनु नै छैन। यसैले सरकार किन छाड्ने? विपक्षीहरू अरू कसैको नेतृत्वमा सरकार बनाउन सहमत भए भने माओवादी-मधेसी झुन्डले अर्को बखेडा निकाल्ने निश्चित छ।) कांग्रेसका पक्षमा आन्दोलनको आँधीबेहरी उत्पन्न भएको पनि छैन। यस्तै, कांग्रेसलाई नै सरकारको नेतृत्व सुम्पनुपर्ने गरी जनमत प्रकट भएको पनि देखिएको छैन। यसैले कांग्रेसको नेतृत्व स्वीकार गर्दैन भनेकै कारण माओवादी वा मधेसी नेताहरूको आलोचना गर्नु उचित नहोला। तर, राष्ट्रपति रामवरण यादवलाई अहिले चर्को स्वरले कांग्रेसको नेता भन्नुमा चाहिँ उनको चरित्र हत्या गर्ने र सरकार नछाड्ने रणनीतिअनुसार जनताको ध्यान अन्तै तान्ने षड्यन्त्रको गन्ध आएको छ। 
पक्कै पनि रामवरण यादव राष्ट्रपति पदमा निर्वाचित नहुँदासम्म नेपाली कांग्रेसका नेता थिए। राजनीति गर्न थालेदेखि राष्ट्रपति पदमा निर्वाचित नहुँदासम्म उनी कांग्रेसै रहे। उनको राजनीतिक जीवन पारदर्शी छ। किन्तु, राष्ट्रपति निर्वाचित भएपछि यादव कांग्रेसको दलगत राजनीतिमा संलग्न भएको देखिएको छैन। उनले पार्टीको सदस्यता त्यागिसकेका छन्। राष्ट्रपति भए यता उनले नेपाली कांग्रेसलाई मात्र फाइदा पुर्‍याउने काम गरेका पनि छैनन्। यसैले अहिले राष्ट्रपति यादवलाई अहिले कांग्रेस भन्नु उनको निष्ठा र इमानमा प्रश्न उठाउनु हो। (अचम्म छ! राष्ट्रपति यादवले बाबुरामका हुँदा/नहुँदा सिफारिस स्वीकार गरे कांग्रेस नहुने तर अदालतले समेत हुँदैन भनिसकेको कर्तव्य ज्यानमा सजाय पाएको व्यक्तिलाई माफी दिन नमाने कांग्रेस हुने?) राष्ट्रपति यादवलाई अहिले आएर कांग्रेस भन्नु षड्यन्त्रकै अंग हो।
चुनावी सरकारको नेतृत्व कांग्रेसका नेताले गर्ने सहमति भएको प्रचारवाजी पुष्पकमल र बाबुरामहरूले सयौँ पटक गरेका छन्। त्यतिबेला पनि रामवरण यादवै राष्ट्रपति थिए। अहिले एकाएक पुष्पकमल, बाबुरामहरूको आँखा खुल्नुको रहस्य के हो? मधेसी मोर्चाका नेताले माओवादीको इसाराअनुसार बोलेकोमा खासै आपत्ति र आश्चर्य मान्नुपर्दैन। अहिलेको सरकार कांग्रेसको नेतृत्वमा हुन्थ्यो भने उनीहरू त्यहीअनुसार बोल्थे। पार्टी फोर्ने र बोली फेर्ने प्रतिस्पर्धा मधेसी नेताबीच चलेको जो छ। पुष्पकमलकै हकमा पनि धेरै आपत्ति गर्नुपर्दैन। यसै पनि उनी जुन बेला जे बोल्दा सजिलो हुन्छ त्यही बोल्ने व्यक्ति कहलिइसकेका छन्। साथै, उनी सरकारमा छैनन्। सरकार उनैले चलाएको भए पनि संविधानतः उनी जिम्मेवार हुँदैनन्। कुनै पार्टीको नेताले लगाएको आरोपका बारेमा धेरै टाउको दुखाउनु मूर्खता हुन्छ। किन्तु, बाबुराम भट्टराई भने प्रधानमन्त्री पदमा छन्। उनी त्यस पदका लागि जति नै अयोग्य र हाल 'कामचलाउ' भए पनि संविधानतः यो मुलुकका प्रमुख कार्यकारी त हुन्। त्यसैले बाबुरामको कथनलाई सामान्य मान्न मिल्दैन। 
मधेसी मोर्चाका नेताहरू 'मुलुक टुक्य्राउने' धम्की दिन थालेका छन्। यति नै बेला मधेसी मूलका राजनीतिक व्यक्तित्वमा राष्ट्रिय अखण्डताका पक्षमा सबैभन्दा दृढ देखिएका राष्ट्रपति रामवरण यादवको निष्ठामा प्रश्न उठाउने र विवादमा तान्ने प्रयास भएको छ। त्यसमा पनि 'रअ' सँग निकट सम्बन्ध भएका भनेर प्रचारित व्यक्तिहरू नै राष्ट्रपति यादवलाई विवादमा मुछ्न बढी उद्यत देखिएका छन्। यो संयोगमात्र पनि हुनसक्छ तर यसमा सन्देह गर्नुपर्ने ठाउँ पनि धेरै नै छन्। (कांग्रेसको नेतृत्व मान्न संविधानका प्रावधानमा अहिले नै सहमति गर्नुपर्ने तर माओवादी वा अरूको नेतृत्वमा सरकार बनाउन नपर्ने? कस्तो झेली तर्क हो यो? संविधान सभाकै निर्वाचन गर्ने सहमति भएपछि संविधानका बारेमा पहिले नै अरूले निर्णय गर्न खोज्नु जनताको अधिकार खोस्नु हो। कांग्रेस जनअधिकार हरण गर्ने यस्ता अलोकतान्त्रिक झेली तर्कमा सहमत हुनसक्ला र? यसैले पनि माओवादी-मधेसी मोर्चाको जिद्दीमा षड्यन्त्रको गन्ध बढी आउँछ।)
रामवरण यादवले भारतीय छात्रवृत्तिमा पढेका त होलान् तर 'रअ' मा निवेदन हालेर राजनीति गरेका हैनन्। उनका बोली र व्यवहार दुवैले यसलाई पुष्टि गर्छन्। उनका पक्षमा 'रअ' प्रतिनिधि कुनै ऋषिमुनि बेला न कुबेला प्रकट भएको पनि देखिएको छैन। यादव 'पञ्चमांगी' त हैनन् नि भनेर ढुक्क हुन सकिन्छ। राष्ट्रियता र लोकतन्त्रका विषयमा बाबुराम, पुष्पकमल, महन्थहरूभन्दा रामवरण यादवकै प्रतिबद्धता र साख बलियोे छ। शायद, यही कारणले यादवलाई विवादमा तान्न निरन्तर प्रयास भएको पनि हो। उनलाई विवादमा तान्न खोज्नेहरूको अनुहार हेर्ने हो भने ती कहाँबाट दीक्षित, प्रशिक्षित र सञ्चालित छन् भनेर ठम्याउन कठिन पनि देखिँदैन। 
राष्ट्रपति यादवले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्दा नेपाली कांग्रेसकै स्वार्थ पूरा गरेको ठहर्छ भने बेग्लै नत्र उनलाई विवादमा तान्नुपर्ने कारण देखिएको छैन। राष्ट्रियता र लोकतन्त्रप्रति निष्ठा हुनेहरूले अब पनि तमासामात्र हेरेर बस्दा पछुतो लाग्नसक्छ। शिखण्डीलाई अगाडि राखेर नेपथ्यबाट अर्जुनले भीष्म पितामहलाई प्रहार गरेजस्तै षड्यन्त्र भएको देखियो। अहिले बुद्धि पुगेन भने पछि पछुताउनु पर्नेछ। यादवका पक्षमा हैन, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि पनि राष्ट्रपतिमाथि गरिएको 'शिखण्डी प्रहार' को सामना गर्न अगाडि देखापर्नुपर्छ। कारण, यादव आफैँले प्रतिरक्षा गर्न उनको मर्यादाअनुरूप हुँदैन। उनलाई मर्यादा भंग गर्न बाध्य नपार्ने अरूले उनीमाथि भएको प्रहारको जवाफ दिनुपर्छ। शिशुपालले जस्तै बाबुरामहरूले पनि मर्यादाको अन्तिम सीमा नाघे भने कृष्णजस्तै राष्ट्रपति यादव पनि दण्डको चक्र प्रहार गर्न बाध्य नहोऊन्!
प्रतिक्रियाहरू (0)Add Comment

प्रतिक्रिया लेख्नुस्

Monday, October 1, 2012

तमासे हुने बेला हैन


असोज महिनासम्म समाधान निकाल्ने सहमति कार्यान्वयन होला भन्ने विश्वास सायद तिनै नेतालाई पनि छैन। अहिले राजनीतिमा स्पष्ट दुई धार देखिएको छ। नयाँ चुनाव गरेर जनादेशका आधारमा समस्या टुंग्याउने पक्षमा एउटा र संविधान सभा ब्युँताएर वा अरू कुनै बहानामा सत्तामा टिकिरहने वा पुग्ने दाउमा अर्को। माओवादी र मधेसीबाहेक अरू सबै पार्टीभित्र यी दुवै पक्ष देखिएका छन्। सत्तामा हुने र सत्तामा पुगिएला कि भन्ने सपना भएकाहरू जसरी पनि चुनाव टार्न खोज्दैछन्। माओवादीको जालमा परेका अरू पार्टीका नेताले पनि सत्ताको भागबन्डालाई जनादेशलाई भन्दा बढी महत्व र प्राथमिकता दिएको देखापरेको छ।  राजनीतिक नेताहरू राजनीतिका मूल पात्र हुन् तर तिनलेे बाटो बिराउन लागेका बेलामा सूत्रधारले खबरदारी गर्नुपर्छ। यसैले अहिले नागरिकका तहबाट हस्तक्षेप हुनु जरुरी देखिएको छ। बेला छँदासम्म सुस्ताउने र समय बितेपछि पछुताउने गर्नु बुद्धिमानी होइन।  
संविधान सभाको अर्को निर्वाचन गर्न माओवादी र मधेसी सहमत भएकै हुन् भने उनीहरू सरकारबाट बाहिरिन पनि तयार हुनुपर्छ। तर, यिनीहरू सत्ता छाड्न तयार होलान् भन्ने चाहिँ लाग्दैन। यसैले नागरिक अगुवाहरूको पहिलो काम बाबुराम नेतृत्वको सरकारलाई हटाउन दबाब दिन जनमत बनाउनु अग्रसर हुनुपर्छ। विपक्षमा रहेकाहरूले पनि सरकारको नेतृत्व मागेर अलमल गर्नुभन्दा त चुनाव निष्पक्ष हुने आधार बनाउन बढी ध्यान दिनुपर्छ। यसैले, नेपाली कांग्रेस र नेकपा (एमाले) लोकतान्त्रिक आदर्श, विधि र प्रक्रियाको सम्मान गर्न तयार छन् भने तिनले पनि स्वतन्त्र व्यक्तिका नेतृत्वमा चुनावी सरकार गठन गर्ने प्रस्ताव स्वीकार गर्न हिचकिचाउन हुँदैन।  
सहमतिबाट सरकार परिवर्तन हुनैसकेन भने त्यसको समाधान राष्ट्रपतिको हस्तक्षेपबाट हैन जनमतको दबाबबाट निकाल्नेे वातावरण बनाउनुपर्छ। समय लाग्नसक्छ र यो निकै कठिन तथा विवादपूर्ण विधि पनि हो। सकेसम्म मुलुकले सडकबाट सरकार हटाउने अभ्यास गर्नु नपरेकै राम्रो। परन्तु, अहिलेसम्मको राजनीतिक घटनाक्रमको विकास र परिदृश्य हेर्दा भने लोकतन्त्र र राष्ट्रियता जोगाउन त्यही अप्रिय उपाय अपनाउनै पर्ने बाध्यता उत्पन्न हुँदै गएको देखिएको छ।  यसैले निर्वाचनको साख राख्नका लागि पनि यो सरकार हट्नुपर्छ। त्यसका लागि हुने आगामी आन्दोलनमा लोकतन्त्र र राष्ट्रियताका पक्षधरहरू तटस्थ बस्न मिल्दैन। त्यसो त दलहरूले आन्दोलन गरेनन् भने पनि नागरिक समाजका अगुवाहरूले पहल गर्नुपर्छ। 
कृशकाय डा. गोविन्द केसीले सिंगो राज्य संयन्त्रलाई झुकाए। मुलुकको माया गर्ने एक जनाले पनि ज्यानको माया नगर्ने हो भने ठूला शक्तिलाई ढाल्नसक्छ। मुलुकको माया हुनेहरू तमासा हेरेर नबसौँ !