Wednesday, December 17, 2014

संवेदनहीन ठालुतन्त्र

सत्ताको आकारहीन अनुहार र अमानवीय चरित्रको यस पटक नजिकैबाट अनुभव गर्नुपर्योल। बागलुङका सांसद् हरिबहादुर खड्काको अकाल मृत्युमा सत्ताको संवेदनहीन त्रू्करता पुनः प्रकट भयो। खड्काका परिवारजन, शुभेच्छुक र समर्थकको पीडा, आक्रोश र सन्देह सम्भवतः अनुत्तररित नै रहनेछ। सत्ताधारीमा मानवीय संवेदना जो देखिँदैन।
बागलुङमा प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन जाँदा सांसद हरिबहादुर खड्का मोटर दुर्घटनामा परे। टाउकामै चोट लागेकाले उनको अवस्था निकै गम्भीर थियो। उनलाई उपचारका लागि तत्काल काठमाडौं लैजान स्थानीय चिकित्सकहरूले 'रिफर' गरे। प्रधानमन्त्री त्यतिबेलै सेनाको हेलिकप्टर लिएर बागलुङ पुगेका थिए। शोकाकुल परिवारजन खड्कालाई तत्काल काठमाडौं पुर्यायउन हतारिन थाले। सरकारी हेलिकप्टरले काठमाडौं नलैजाने हो भने आफैँ व्यवस्था गर्न पनि परिवारजन तयारै थिए। काठमाडौंबाट बागलुङ जान हेलिकप्टर तयार भइसकेको थियो। सरकारले हेलिकप्टरको व्यवस्था गर्ने भनिएकाले त्यसको भर परियो। बागलुङबाट बिरामीलाई हेलिकप्टरमा राख्ने बेलामा आफन्त कसैलाई जान दिइएन। बेहोस पतिलाई लगेको हेलिकोप्टरमा सँगै जानका लागि खड्काकी पत्नीलगायतले गरेका अनुनयविनय पाइलटका सामु अरणरोदन भयो। प्रधानमन्त्रीले पठाएको भनिएको हेलिकप्टर त बेहोस अवस्थाका सिकिस्त घाइते बिरामीलाई पोखरामा अलपत्र छाडेर बागलुङ पो पर्क्यो। त्यही कारणले खड्कालाई काठमाडौंमा अस्पताल पुर्याबउन ढिलो भयो। विशेषज्ञ चिकित्सकहरूका अनुसार समयैमा ल्याउन सकिएको भए उनलाई बचाउन सकिने थियो। सेनाको हेलिकप्टर भएकाले हो कि 'आदेश छैन' भन्दै पाइलटले खड्कालाई पोखरैमा छाडिदिए। 'आदेश छैन' उनको थेगो नै बनेको थियो रे!

प्रधानमन्त्री सुशील कोइराला खड्का गम्भीर घाइते भएका बेला बागलुङकै अर्का सांसदका घरमा थिए रे। कोइरालाका शुभेच्छुकहरूले सुनाएअनुसार उनले खड्काको अवस्थाको गम्भीरता थाहै पाएनन् रे! अलिकति पनि मानवीय संवेदना हुँदो हो त उनी स्वयं सबै कार्यक्रम छाडेर खड्कालाई लिएर काठमाडौं फर्कनुपर्थ्यो। त्यति हुँदा पनि खड्कालाई बचाउन नसकिएको भए परिवार र शुभेच्छुकले चित्त बुझाउने बाटो हुन्थ्यो। हुनत, प्रधानमन्त्री कोइराला कुनै राष्ट्रिय महत्वको कामका लागि सरकारी खर्चमा हेलिकप्टर चडेर बागलुङ गएका पनि थिएनन्। सांसद् वा कांग्रेसका नेता भनेर विशेष महत्व नदिए नै पनि हरिबहादुर खड्काको जीवनभन्दा उनको त्यहाँको कार्यक्रम महत्वपूर्ण थिएन। तैपनि, प्रधानमन्त्री आइसकेपछि पूर्वनिर्धारित कार्यक्रममा उपस्थित हुनुलाई महत्वपूर्ण ठान्ने हो भने पनि उनले कम्तीमा खड्काको अवस्था थाहा पाउन त खोज्नुपर्थ्यो। खड्को गम्भीर अवस्थाको जानकारी दिन प्रधानमन्त्रीलाई गरिएको फोन उनका सहयोगीले बागलुङकै अर्का सांसदलाई दिएकाले कोइरालाले थाहै पाएनन् रे! स्थितिको गम्भीरतासमेत बु‰न नसक्ने सहयोगी सुशील कोइरालाले नै त छानेका हुन्। यसैले यस प्रकरणमा प्रधानमन्त्री सुशील कोइराला नैतिक जिम्मेवारीबाट हुन सत्तै्कनन्।

खड्को मृत्यु भएपछि बिहान न्युरो अस्पताल पुगेका कांग्रेसका नेता र मन्त्रीहरूको अनुहार भावशून्य थियो। तिनको अभिव्यक्तिमा पनि मानवीय संवेदनाभन्दा बढी अहंकार र पाखण्ड बढी सुनिन्थ्यो। परिवारजन र तीभन्दा पनि बढी समर्थक कार्यकर्ताले खड्काको उपचारमा गरिएको हेलचेक्य्राइँलाई 'षड्यन्त्र' ठानेका छन्। सरकार र नेपाली कांग्रेसले छानबिन गर्न समिति पनि बनाएको घोषणा गरिएको छ। छानबिन गर्नेहरूले प्राविधिक र कानुनी विषयमा ध्यान देलान्। तर, मानवीय पक्ष उनीहरूको कार्यक्षेत्र र प्राथमिकतामा पक्कै पर्नेछैन। यसैले छानबिन अर्थहीन हुने भविष्यवाणी गरिहाल्नु हतार भए पनि सायद अर्घेल्याइँ नहोला।

खड्का जेठा छोराले अस्पताल आएका कांग्रेसका नेताहरूसँग सोधेका थिए — कुन संहिताअनुसार गम्भीर घाइतेको उद्धार गरेपछि अर्को ठाउँमा पुर्याआएर अलपत्र छाडिएको हो? संसारमा कतै पनि यस्तो त हुँदैन। के सरकार र कांग्रेसका नेताहरूले यसको उत्तर सार्वजनिकरूपमा देलान्? पाइलटले धेरैपटक दोहोर्यापएको यो 'आदेश' मान्छेको जीवनभन्दा ठूलो हो? रक्षा मन्त्रालयसमेत हेर्ने प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौं लैजाने आदेश दिने वा दिलाउने गर्न सत्तै्कनथे? सक्थे भने उनले किन नदिएका हुन् भनेर छानबिन समितिले सोध्ला? अनि छानबिन प्रतिवेदन सार्वजनिक होला?

षड्यन्त्रको सन्देहलाई पन्छाए पनि हरिबहादुर खड्काको ज्यान सत्ताधारीको अमानवीय हेलचेक्य्राइँकै कारण गएको हो भन्ने निष्कर्ष निकाल्न कुनै छानबिन र अनुसन्धान गरिरहनु पर्दैन। त्यस्तो हेलचेक्य्राइँका कर्ताहरूलाई मानवीय संवेदनहीनताका लागि सजाय गर्ने कानुन छैन। तिनले पाउने सजाय भनेको त आत्मग्लानि नै हो। तर संवेदनहीनहरूमा ग्लानि पनि त हुँदैन के होला र?

 शीतलहरको कहर

शीतलहरको कहरबारे नागरिकमा प्रकाशित समाचार र सम्पादकीयले कम्तीमा सञ्चारजगतलाई छोएछ। सगरमाथा एफएममा आइतबार बिहान नागरिकको सम्पादकीय त पढियो नै गृह मन्त्रालयका विपद व्यवस्थापन शाखाका अधिकृतसँग त्यही विषयमा कुराकानी पनि गरियो। गृहका ती अधिकृतले शीतलहरका सम्बन्धमा केही साता पहिले नै केन्द्रमा बैठक बसेर चेतनामूलक सन्देश प्रचारप्रसार गर्न स्थानीय प्रशासनलाई परिपत्र गरिसकिएको जानकारी दिए। स्थानीय निकाय र संघसंस्थालाई सहयोगका लागि आह्वान गरिएको, दाउरा वितरण र तातोको व्यवस्था मिलाउन भनिसकिएको पनि तिनले बताएका थिए। उनले सही भने 'विपत्ति व्यवस्थापन गर्ने निकायले मात्र' यो समस्या समाधान गर्न सत्तै्कन। तर, तिनले त शीतलहरको कहर सहनुपर्ने तराईका गरिबले 'वातावरणमा भएको परिवर्तनसँग अनुकूलन' गनुपर्छ पनि भने। हिमालका जनताले जस्तै हिउँदमा उपयुक्त जीवनशैली अपनाउन पनि उनले सल्लाह दिए। यिनले शीतलहरको कहरमा पर्ने तराईका गरिबहरू दिनहुँ कमाएर हातमुख जोर्ने वर्ग हो भन्ने चाहिँ ख्यालै गरेनन्। वर्षामै छाक टार्न नसक्नेहरूले हिउँदका लागि के जोहो गर्ने? कसरी गर्ने? दिनहुँ खानेकुरा खोजेर जोहो गर्नुपर्नेले कसरी हिउँदे जीवनशैली अपनाउन तयारी गर्ने? बिचरा! ती अधिकृतलाई के भन्नु? उनले जे बुझेका थिए त्यही भने। तर, खानेकुरा, लगाउने लुगाफाटा र शीतसम्म पनि छेक्नसक्ने छत नभएकाहरू गृह मन्त्रालयको परिपत्रकै भरमा शीतलहरबाट जोगिएलान् र?

अहिले नै ज्यान जाने जोखिममा भएकालाई तत्काल जे हुनसक्छ उपलब्ध गराएर यो जाडोमा ज्यान बचाउन सहयोग गर्ने मानवीय संवेदना देखाऊ। यस्ता गरिबलाई एक वर्ष राम्ररी सहयोग गर्ने हो भने अर्को वर्षदेखि दिनु पर्दैन। यिनीहरूसँग 'छेपाराको उखान' नदोहोर्याोऊ ! सरकारले अनावश्यक खर्चमात्र कटाउने हो भने तराईका अतिविपन्नलाई छत र काम दिन पैसा पुग्छ। सिंहदरबारमा एक दिन खर्च हुने बिजुलीको पैसाले गरिबका लागि त एउटा घरै बन्छ होला। सुरक्षा खतराका नाममा जनतालाई तर्साउने लस्कर अगिपछि लगाउने 'अति विशिष्ट व्यक्ति' ठानिने ठालुहरूका लागि राज्यले गर्ने एक दिनको खर्चले तराईको कुनै पनि गाउँका अतिविपन्न परिवारका सबैलाई महिना दिन पेटभर खान पुग्छ।

समस्या सिंहदरबारमा बस्नेहरूको संवेदनहीनता नै हो। सिंहदरबारलाई 'प्रतिभाको ब्लटिङ पेपर' भनेर एकजना विद्वान्ले उहिल्यै लेखेका थिए। उनी प्रतिभाशाली भएकाले प्रतिभा सोसिएको देखेका होलान्। सिंहदरबार त सबैभन्दा बढी व्यक्तिबाट मानवीयता चुस्ने र सोस्ने, शासकलाई हृदयहीन रोबोट बानाउने महल पो रहेछ! बोधविक्रम अधिकारीले अहिलेको अवस्था देखेका भए सायद राजकुमारीलाई लठ्याएर थुन्ने गुफा यही सिंहदरबारलाई बनाउने थिए होलान्!

संविधानजस्तो बनाए पनि हरिबहादुर खड्को जीवनसँग हेलचेक्य्राइँ गर्ने वा शीतलहरबाट जोगिन तराईका तन्नम गरिबहरूले 'जीवनशैली अनुकूलन' गर्नुपर्छ भन्नेहरूमा मानवीय संवेदना र अन्तदृष्टि त पक्कै पलाउनेछैन। ठालुतन्त्रका उपज नवसामन्तहरूको आँखा पैसामा र ध्यान सत्तामा मात्र हुँदोरहेछ। राजतन्त्र हटाएर के गर्नु? नेपाली जनता ठालुतन्त्रको जुवाबाट मुक्त हुन पाएको भए पो! साँच्चै, शासनमा मानवीय संवेदना असम्भवै हुन्छ त?

No comments:

Post a Comment