Tuesday, January 21, 2014

अनशन र आन्दोलन

छोराका हत्यारालाई कारबाहीको माग गरेर अनशन बसेका अधिकारी दम्पतीको चर्चै हराइसकेको छ। हत्यालाई राजनीतिक आवरण दिएर न्याय खोस्नेहरूको हुँकारसामु निरीह नन्दप्रसादको चित्कार दबिनु अन्याय हो तर नेपाली समाजको 'बलेको आगो ताप्ने’ प्रवृत्ति सम्झने हो भने आश्चर्य मान्नु पर्दैन। 

तिनको हेरविचारमा खटिएका वीर अस्पतालका डाक्टर र केही आफन्तबाहेक सायद अरू धेरैले अधिकारी दम्पती अझै अनशन गर्दैछन् भन्ने नै बिर्सिसके। नबिर्से पनि तिनको सम्झना आक्कलझुक्कल गरिने लहडमा सीमित भएको छ।
सामाजिक सञ्जाल समाजको ऐना हो भने अनशनकारीलाई नेपाली समाजमा उपहासको पात्रसमेत बनाइएको देखिन्छ। मोहनदास करमचन्द गान्धीले 'स्वराज’का लागि भारतमा अगिल्लो शताब्दीको पूर्वार्धमा अहिंसात्मक आन्दोलनको एउटा विधिका रूपमा अनशनको प्रयोग सुरु गरेका थिए। त्यति बेलाका अंग्रेज शासक र तिनका मतियारले पनि अहिंसात्मक सत्याग्रहको यसरी नै उपहास गरेका थिए। त्यस्तै मानसिकता अझै पनि रहेछ नेपाली समाजमा। सायद, हाम्रो समाज अहिले पनि अगिल्लो शताब्दीको सुरुतिरै छ विशेषगरी सोच र संस्कारमा। 
डा. गोविन्द केसीको अनशनप्रति चाहिँ धेरैले अलिकति चासो लिएको देखियो। ती 'साधु' डाक्टरलाई चिन्ने र नचिन्ने धेरै जना भावनात्मकरूपमै मात्र भए पनि उनको संघर्षको समर्थक हुन पुगेका छन्। स्वार्थमै प्रत्यक्ष प्रभाव पर्ने र पटक्कै संवेदनशीलता नभएको उर्बौलो जमातबाहेक अरू धेरैले डा. केसीको समर्थन गरेका छन्। नेपाली समाजमा आउन लागेकेा परिवर्तनको संकेत हुनसक्छ यो। लाग्छ, नेपाली समाज सामन्ती थिचाइबाट मुक्त हुन छटपटाइरहेको छ। राजनीतिक 'आवरण’ अब सामन्ती छैन। यस्तै राजनीतिक 'आभूषण’मा पनि सामन्ती छवि त्याग गर्न खोजिएको छ। विडम्बना, सामन्ती संस्कार र पद्धतिको सबैभन्दा चर्को विरोध गर्नेहरू भने आचरणबाट सबैभन्दा विलासी सामन्त हुनपुगे। 
लोकतन्त्रको उज्यालो छिर्नै नदिने गरी लागेको सामन्ती कुहिरोबाट समाजलाई मुक्त गर्न प्रकाश छर्ने काममा मूलतः राजनीतिकर्मीले अगुवाइ गर्नुपर्थ्यो। नेपाली राजनीतिमा यतिखेर त्यस्तो अग्रगामी नेतृत्वको अभाव छ। समाजका अरू क्षेत्रमा पनि स्वार्थको खेती नगरी सामन्ती संस्कारविरुद्ध उभिने अगुवाको खडेरी छ। आक्कलझुक्कल केही सज्जन अगाडि सर्छन्। अहिले डा. गोविन्द केसीजस्तै। त्यसले अँध्यारो सुरुङमा आशाको किरण देखाएको छ। 
धेरैलाई लाग्दो हो डा. केसीको अनशन चिकित्साशास्त्र अध्ययन संस्थानभित्रको किचलोमात्रै हो। हुनत, डा. केसीलाई आफ्नै संस्थाको मायाले उद्वेलित बनाएको पनि हो तर उनले रोजेको विधिले शक्तिशालीको तजबिजमा जे गरे पनि हुने अभ्यासलाई चुनौती दिएको छ। यस्ता चुनौती शासकहरूलाई रुच्दैन। शासकहरू राज्यलाई बपौती ठान्छन्। लोकतान्त्रिक मान्यता स्वीकार गर्ने हो भने निर्णय पारदर्शी हुनुपर्छ। पारदर्शिता भनेको निर्णय गरेपछि त्यसको विधि र प्रक्रियाका बारेमा जानकारी दिनुमात्र हैन। त्यस्तो निर्णयको औचित्य र निर्णयकर्ताको नैतिक वैधता पनि त्यसमा जोडिएको हुन्छ।
डा. केसीको अगिल्लो पटकको अनशनपछि डा. प्रकाश सायमी चिकित्सा शास्त्रका डिन नियुक्त गरिएका थिए। त्रिवि पदाधिकारीले बाध्य भएर डा. सायमीलाई स्वीकार गरेका थिए। मौका पाउनेबित्तिकै तिनले उनलाई असहयोग गर्न थाले। असहयोगमात्र हैन जे हुनुहुँदैन भन्ने मान्यता राखेर उनलाई नियुक्त गरिएको थियो त्यही काम गर्न दबाब पनि दिन थाले। डा. केसीजस्तै जुझारु स्वभावका भएका भए डा. सायमीले दबाब दिनेहरूको पोल खोलेर पदमा बसिरहने दृढता देखाउनु पर्थ्यो। डा. सायमीले इमानमा अडिन पद छाड्ने उपाय रोजे। तर, उनको पद त्यागले मेडिकल कलेजहरूलाई सम्बन्धन दिएर पैसा कमाउने गिरोहलाई पो सजिलो बनायो। अर्थशास्त्रको नियम लागु भयो। असल मुद्रा बजारबाट हराएपछि खराब मुद्रा चलनमा आयो। यसले संस्कार परिवर्तनका लागि भएको संघर्ष समाजका एकाध असल व्यक्तिले मात्र गरेर पुग्दैन भन्ने पनि सिद्ध भएको छ। परिवर्तनको रथ अगाडि बढ्दै जाँदा कुनै एउटा चुकुलमात्रै पनि फुस्क्यो भने दुर्घटना हुन्छ। त्यस्तो अवस्थामा रथमा चुकुलको साटो परेका बेला औँला हालेर पनि गुडाउन मद्दत गर्ने कैकेयीहरू आवश्यक हुन्छन्। ( तिनै कैकेयीले पनि जब साँच्चै नै क्रयविक्रयको बेला हुन्छ मन्थराले कान फुकेको निहुँ बहाना बनाएर भनिहाल्छिन् — 'रामलाई वनवास भरतकन त राज माग्छु म चाँडो गई।’ )
संस्कार परिवर्तन साँच्चै नै कठिन कार्य हो भन्ने त नेपाल मेडिकल एसोसियसनको निर्णयले पनि प्रमाणित गरेको छ। डा. केसीको समर्थनमा मेडिकल एसोसियसन पहिलो दिनदेखि नै संघर्षमा उत्रनुपर्थ्यो। सही र गलतका बीचमा पक्ष लिन पटक्कै ढिलो गर्नु हुँदैन। सत्यको पक्ष लिँदा पनि गलत बाटो समाउनु हुँदैन। मेडिकल एसोसियनका पदाधिकारीले डा. शशि शर्मालाई दबाब दिन देशभरका बिरामीलाई सजाय दिने बाटो अपनाए। आफ्नो शक्तिको प्रयोग गर्दा अरूलाई पर्ने मर्काको बेवास्ता गरे। अर्थात्, सामन्ती संस्कारलाई नै पछ्याए। डाक्टरहरूको यो छनोट अश्वत्थामाले उत्तराको गर्भमा अस्त्र प्रयोग गरेजस्तै धर्मयुद्धको नीतिविरुद्ध छ। यसले डाक्टरहरूको पेसामाथि नै अश्वत्थामाको शिरमा लागेको कहिल्यै निको नहुने घाउजस्तै कलंक लाग्नसक्छ। उपचार बन्द गर्ने निर्णयले डाक्टरहरूलाई त्रिविका पदाधिकारीजस्तै तजबिजी बनाएको छ। मोर्चा जुन भए पनि पात्र र प्रवृत्ति उस्तै देखिएको छ।
सबै डाक्टरलाई उपचारै बन्द गर्न आह्वान गर्नुको साटो मेडिकल एसोसियनका पदाधिकारीले डा. शशि शर्माको कार्यालय अगाडि अनशन थालेका भए सायद बढी नैतिक दबाब सिर्जना हुन्थ्यो। कालो पट्टी बाँधेर बिरामीको उपचार गर्दै डा. गोविन्द केसीको बचाउन दबाब दिन आग्रह गरेको भए सायद सरकार र त्रिवि पदाधिकारीमाथि बढी दबाब पर्थ्यो। बिरामीहरू स्टे्रचरमै बसेर पनि आन्दोलनमा निस्कने थिए। त्यो संसारले देख्ने थियो। झट्ट हेर्दा यो विधि उति आकर्षक र प्रभावकारी नदेखिएला। मामुली ज्वरो आउँदासमेत कडा मात्राको एन्टिबायोटिक खुवाउने बानी परेका डाक्टरहरूलाई मन पनि नपर्ला तर यसले चिकित्सा शास्त्रको रोग सधैँका लागि साँच्चै नै निको बनाउन सहयोग गर्ने थियो। दुर्भाग्य, डाक्टरहरूले राम्रो काम गर्न पनि नराम्रो विधि अपनाए। कस्तो विडम्बना! सत्याग्रहीको समर्थनमा चिकित्सकहरूले आफ्नो मूल धर्मविरुद्ध बिरामीको सेवा रोकेर आन्दोलन गर्ने रे। डाक्टर केसीले आफ्नो धर्म राम्ररी पालन गरेकाले उनीप्रति जनसमर्थन र सहानुभूति बढेको हो। बिरामीलाई अलपत्र पारेर आन्दोलनमा उत्रने डाक्टरहरूले भने आफ्नो मूल धर्मको रक्षा गरेनन्। भनिन्छ— 'धर्मो रक्षति रक्षितः ’। अर्थात्, धर्मको रक्षा गरेमात्र धर्मले पनि रक्षा गर्छ। बिरामीको उपचार रोक्नेबित्तिकै डाक्टरहरू धर्म च्युत भएका छन्। तिनको रक्षा अब डा. केसीको समर्थनले मात्र गर्न कठिन छ। अहिले डा. केसीको संघर्ष एकल आन्दोलनजस्तो देखिएको छ। अगिल्लो पटकका उपलब्धि रक्षा नहुनुको कारण आन्दोलनको स्वामित्व लिने उनी एक्लै हुनाले पनि हो। अहिले डा. केसीको पक्षमा देखिएको समर्थन यथार्थमा उनको मागभन्दा पात्रताको सम्मान हो। मेडिकल एसोसियसन आन्दोलनमा सरिक भएपछि यसको स्वामित्व पनि लिने बाटो बनाउनुपर्छ। अनि उपलब्धि खोस्ने आँट सहजै कसैले गर्नेछैन। 
डा. शशि शर्मालाई उनकै अन्तरात्माले पनि धिक्कारेको हुनुपर्छ। सहयोगीको मृत्युको कारण बन्नु पर्योस भने उनको आत्माले पनि पक्कै धान्न सक्नेछैन। शर्माका परिवारजनमा पनि यसको दबाब परेको होला। आफन्तका लागि ग्लानिको विषय बन्ने कि गर्वको? डा. शर्माले राजीनामा दिँदैमा समस्या समाधान नहोला तर कम्तीमा उनले डा. केसीको जीवन रक्षा गरेको जस त पाउनेछन्। डा. शर्माको हठ 'चोरी मारिलियौ न यश हुन गयो न मासु खानु भयो।’ भनेजस्तो नहोस्! 
उपचार रोकेर आन्दोलनमा उत्रने डाक्टरहरूको निर्णय यथार्थमा समसामयिक राजनीतिकै एउटा अनुहार हो। नेपाली राजनीतिमा साध्य असल भए साधनजस्तो भए पनि हुन्छ भन्ने मध्ययुगीन चिन्तनकै प्रभाव बलियो छ। शसस्त्र संघर्ष र त्यसको महिमा गायन त्यसैको उदाहरण हो। पछिल्ला दिनमा देखिएको सहमतिका नाममा शासन गर्ने प्रवृत्ति पनि त्यसैको सहउत्पादन हो। यथार्थमा यो शक्ति भयो भने कसैप्रति पनि जवाफदेही हुनुपर्दैन भन्ने सामन्ती संस्कारकै अर्को रूप न हो। दण्डहीनताको कारक यही हो। भ्रष्टाचारको मूल कारण पनि यही हो। डा. केसीको अनशनले सायद उनले सोच्दै नसोचेका विषयलाई सतहमा ल्याएको छ। अब नेपाली समाजले कुन बाटो समाउने हो रोज्ने बेला भएको छ। संसारका धेरै मुलुक अहिले पनि हिंसाकै बाटामा छन्। लोकतन्त्र शासन पद्धतिका रूपमा स्थापित भएकै समाजमा समेत जीवन शैलीमा सामन्ती प्रवृत्ति बलियोसँग जमेको छ। हाम्रो त झन् यसै पनि लोकतन्त्रको अभ्यासै नगरेको समाज। लोकतान्त्रिक अप्ठेरो बाटो हिँडेर ढिलै भए पनि सुरक्षितरूपमा गन्तव्यमा पुग्ने कि हतार छ भनेर सहज तर गलत बाटो लाग्ने? अगुवाले बाटो बिराएका बेला रोजाइ सजिलो हुँदैन। तर, गलत बाटोबाट गन्तव्यमा पुग्नै सकिँदैन। यत्ति हेका राखौँ।

No comments:

Post a Comment