Wednesday, January 8, 2014

सालिक भत्काउनुको अर्थ

राजतन्त्र त गयो तर 'अन्धेर नगरी चौपट राजा :  टका सेर भाजी टका सेर खाजा’ वाला कथा भने नेपाली राजनीतिमा अझै सान्दर्भिक छ। राजाको रिस पोख्दैजाँदा पृथ्वीनारायण शाहको सालिक भत्काउनेसम्मको मूर्खता नेपालमा राजनीतिकै नाममा भइसकेको छ। जाति र क्षेत्रको पहिचान खोज्दा मुलुककै पहिचान मेटाउन उद्यत कालीदासहरू समाजमा गनिनसक्नु देखापरेका छन्। राज्य तमासे भएको छ भने राजनीतिक नेता गड्यौला।

पृथ्वीनारायण शाहमाथि केन्द्रित प्रहार प्रकारान्तरले नेपाली राष्ट्रियता र स्वाभिमानमाथि नै लक्षित हो तर, गड्यौलावर्गका शासकहरू आँधीको सुतुरमुर्ग बनिरहेका छन्। 
नेपाली राष्ट्रियताको माया गर्नेहरू यस्तो अवस्थामा निराश हुनु स्वाभाविकै हो। निराश व्यक्ति वा समाजले कुनै नै कुनै सम्बल खोजेको हुन्छ। त्यसैले नेपाली पहिचान र स्वामिभानको माया गर्नेहरू आधुनिक नेपालका निर्माता कहलिएका पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउन अग्रसर भएको हुनुपर्छ। राजा भएकैले इतिहासमा नाम लेखिएकालाई नेपाली जनताले सम्भि्करहनु पर्ने कुनै कारण छैन। तर, आजको नेपालै बनाउने व्यक्तिलाई भने न समाजले बिर्सन सक्छ न बिर्सनै हुन्छ। पृथ्वीनारायण नेपाल भन्ने मुलुक रहुन्जेल नबिर्सने नाम हो। उनका यावत कमजोरी र त्रुटि केलाउनुपर्छ र कुनै अपराध गरेका छन् भने त्यसलाई पनि बिर्सनु हुँदैन। कीर्तिपुरेमाथि भएको अत्याचारको कलंकबाट उनी मुक्त हुन पाउँदैनन्। यत्ति हो, नेपाल भन्ने मुलुकको अस्तित्वका लागि चाहिँ उनको गुन मान्नैपर्छ। उनलाई सम्झिनुपर्छ। राज्य उनीप्रति कृतज्ञ हुनैपर्छ र राष्ट्रिय एकताको एउटा आधार पृथ्वीनारायण शाह हुन् भन्ने मान्नुपर्छ। पृथ्वी जयन्ती मनाउन बिदै दिनु चाहिँ आवश्यक छैन। बिदा त यसै पनि धेरै भएको छ। बरु, समुदाय विशेषका पर्वमा दिइने बिदा कटौती गरे हुन्छ। बिदा दिँदा पनि सम्बन्धित समुदायका व्यक्तिलाई मात्रै दिए हुन्छ। दसैँमा इसाई वा मुसलमानलाई किन बलजफ्ती बिदामा बस्न लगाउनेे? अनि तिनका पर्वहरूमा अरूलाई बिदा किन दिने? तर, पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवस भने घोषित गरिनुपर्छ। 
पृथ्वीनारायण शाह महान् शासक हैनन् होला। उनले नितान्त व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नैका लागि काठमाडौं उपत्यकामाथि आँखा गाडेका हुन् भन्दा पनि आपत्ति गर्नुपर्ने पनि देखिँदैन। त्यतिबेलामा राजाहरूजस्ता हुन्थे र अझ भनौ राजारजौटा जस्ता हुन्छन् पृथ्वी पनि त्यस्तै थिए। तर, उनले यक्ष मल्ल र मुकुन्द सेनको गल्ती दोहोर्याकएनन्। राज्यलाई 'भोग्या’ भनेर भागबन्डा गरेनन्। भाइहरूको भाग नदिन भागबन्डा नगरेका होलान् तर पृथ्वीनारायण शाहले अखण्ड राखिदिएकै कारण अहिले नेपाल भन्ने मुलुकको अस्तित्व छ। यसका लागिमात्र पनि उनीप्रति हामी नेपाली कृतज्ञ हुनैपर्छ।
उनले जितेका ठाउँहरूमा अत्याचार गरेको उदाहरण छन्। तिनका लागि दोष पनि दिनुपर्छ। तर, सामान्यतः अन्यत्रका विजेताहरूले जस्तो हारेका मुलुकका प्रजामाथि व्यापक अत्याचार गरेनन्। 'कुल धर्म थाम्नु’ भनेर बरु सहिष्णुता नै देखाए। कुनै समुदाय वा धर्म मास्ने उनको चाहना कतै व्यक्त भएको देखिँदैन। यसैले अहिले पहिचानको खोजी गर्नेहरूले पनि लहैलहैमा पृथ्वीनारायण शाहप्रति द्वेष राख्नुपर्ने थिएन। नेपालै नरहेको भए अहिले जाति र क्षेत्रको पहिचान कहाँ खोजिन्थ्यो? 
पृथ्वीनारायण स्वतन्त्रता सेनानी हैनन्। त्यस्तै उनले जितेका रजौटाहरू मल्ल, सेन वंशका राजा पनि सामन्त नै थिए। त कुनै गणराज्यका नायक थिएनन्। पृथ्वी विजयको सपना देख्ने महत्वाकांक्षी योद्धा हुन्। यसैले उनलाई महत्वाकांक्षी राजाकै रूपमा हेर्नु र मूल्यांकन गर्नु न्याय हुन्छ। ल भैगो! नेपाल एकीकरण गरेर एउटा स्वतन्त्र मुलुकको बीजारोपण गर्ने महान् लक्ष्य लिएर उनले गोरखाबाट विजय अभियान थालेका हैनन् भन्ने पनि मानौ। तर पृथ्वीनारायणले व्यक्तिगत महत्वाकांक्षा पूर्तिकै लागि पनि लडाइँ गरेर वरपरका राज्य नजितेका भए अहिले नेपाल भन्ने स्वतन्त्र राष्ट्र विश्व मानचित्रमा कहाँ हुने थियो होला र? बाइसे र चौबीसे रजौटा त पक्कै रहने थिएनन् होला। अनि अंग्रेजहरूलाई यस भूखण्डमा उपनिवेश विस्तार गर्न रोक्ने अर्को कुनै शक्ति उत्पन्न हुने थियो होला र? 
नियतिलाई नै जस दिऊँ। पृथ्वीनारायण शाहलाई उसले नेपाली पहिचानको जनक बनायो। उनैको नेतृत्वमा गोरखाबाट थालिएको विजय अभियान सफलताको उत्कर्षमा पुग्यो। नेपाली राष्ट्रियताको पहिचानसँग उनको नाम अभिन्नरूपमा जोडिन पुग्यो। उनको वंशको शासन समाप्त भए पनि अहिलेसम्म नेपालको अखण्डता कायमै छ। नेपालको अस्तित्व कायम रहनुपर्छ भन्ने ठान्ने हो भने पृथ्वीनारायण शाहलाई पनि सही नै मान्नुपर्ने हुन्छ। हैन, नेपालको विखण्डन हुनुपर्छ भन्ने हो भने चाहिँ पृथ्वीनारायणलाई जति दुत्कारे पनि हुन्छ। उनलाई इतिहासबाटै मेटाइदिए पनि हुन्छ। 
'असली हिन्दुस्थान’ बनाउने चाहना भए पनि उनले इसाईबाहेक अरू धर्ममाथि हस्तक्षेप गरेनन्। इसाई धर्मावलम्बीहरूले संसारभर धर्म र व्यापारका नाममा प्रवेश गरेर उपनिवेशको विस्तार गर्दै थिए। त्यसलाई पृथ्वीनारायणले रोकेकै हुन्। अपराध हो भने त्यो उनले गरेकै हुन्। अहिले विभिन्न जाति र संस्कृतिका नेपाली आआफ्ना मौलिक संस्कृतिको पुनर्जागरणमा रमाउन थालेका छौँ। पृथ्वीनारायण शाहले उतिबेला इसाईहरूलाई नरोकेका भए सायद अहिलेका कतिपय संस्कृतिहरू दन्त्यकथा बनिसकेका हुनेथिए। इतिहास साक्षी छ, बाइबल लिएर घुसेर धेरै मुलुकमा तिनले राजपाठ खोसेेका थिए। संसारका थुप्रै मुलुकका भाषा उपनिवेशकालमा तिनले समाप्त पारेका छन्। पराजित जातिको संस्कृति मेटाएका छन्। सबैभन्दा बढी तिनको पञ्जामा परेको जाति र धर्मलाई खोक्रो बनाइदिएका छन्। यिनलाई उतिबेला रोकेकैले नेपालका विभिन्न जाति, भाषा, संस्कृति र धर्मको अस्तित्व बाँकी रहेको हो। यति स्वीकार गर्न हिचकिचाउनु पर्दैन।
नेपालको पहिचान मेटिए हुन्छ, कमजोर समुदायको संस्कार कुलधर्म लोप भए हुन्छ र भौगोलिकरूपमा पनि मुलुक अखण्ड रहनुपर्दैन भनेर ठान्नेहरूबाहेक नेपाली राष्ट्रियतामा गर्व गर्ने अरूले पृथ्वीनारायणप्रति बैगुनी हुनुपर्ने कारण देखिँदैन।  संघीयता र स्वायत्त प्रदेशको हदसम्म जाँदा पनि पृथ्वीनारायणको अस्तित्वले बाधा दिँदैन। नेपालको विखण्डनै होस् भनेर चाहने हो भने चाहिँ पृथ्वीनारायणका सालिक ढाले हुन्छ। उनलाई इतिहासको पानाबाटै मेटाए हुन्छ। पृथ्वीनारायण भन्ने शब्दै मेटाउन सके नेपालको भौगोलिक एकीकरण वा सीमा पनि मेटाउन सजिलो जो हुन्छ। यसैले जो जुन किनारामा उभिने हो उभिए हुन्छ। पृथ्वीनारायण शाहले जग राखेको नेपालको राष्ट्रिय स्वतन्त्रता र पहिचान कायम रहोस् भन्ने चाहने हो भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस मनाऊँ। हैन राष्ट्रिय अखण्डता कायम रहनु जरुरी छैन वा विखण्डनै होस् भन्ने चाहना छ भने उनलाई दुत्कारौँ। 
पृथ्वीनारायणमाथिको आक्रमण र उनको मानमर्दनको प्रयास नेपाली पहिचान मेटाउने नियतले थालिएको हो। हामी जानीनजानी त्यस षड्यन्त्रमा गोटी भएका छौँ। मुलुकमा कुनै राजनेता हुन्थ्यो भने जनताले अग्रसर हुनुपर्ने थिएन। दुर्भाग्य, अहिले विवेक र स्वाभिमानहीनहरूले शासन गरिरहेका छन्। तिनको तुच्छताले विवेकको वाक्य बन्द भएको छ। नेपाल भन्ने मुलुकको स्वतन्त्रता र पहिचान आवश्यक छ भन्ने लाग्छ भने पृथ्वीनारायण शाहको मर्यादा मेटिन नदिऊँ।
र अन्त्यमा
महाभारतको एउटा प्रसंग। महाभारत युद्ध सकिएपछि कृष्ण द्वारका पर्के। गान्धारीको श्राप लागेर यदुवंशको विनाश भयो। कृष्ण स्वयं पनि व्याधाको वाणबाट मारिए। यदुवंशको विनाश भएको सुनेपछि अर्जुन द्वारका गए। यादव नारीहरूलाई हस्तिनापुर लैजान भनेर रथमा राखेर फर्के। बाटामा डाँकाहरूले आक्रमण गरे। परमवीर सर्वश्रेष्ठ धनुर्धर अर्जुनले ती डाँकाहरूको सामना गरेर स्त्रीहरूलाई जोगाउन सकेनन्। महाभारत युद्धपछि कृष्णको प्रयोजन सकिएको थियो। उनी गए। कृष्णकै कारण शक्तिशाली भएका अर्जुनको शक्ति पनि सकियो। 
मन्त्रिपरिषद्का अध्यक्ष प्रधान न्यायाधीश खिलराज रेग्मीलाई संविधान सभाको चुनाव गराउने आँट र सुझबुझ देखाएकोमा स्याबासी दिन कन्जुसी गर्नुपर्दैन। तर अब उनको प्रयोजन सकियो। इतिहासले उनलाई यसैका लागि सम्भि्कनेछ। यसैले अरू महत्वाकांक्षा नदेखाउनु नै उनका लागि उचित हुनेछ। उनलाई नियतिले खटाएको काम जो सकियो। संविधान सभा सकेसम्म चाँडै बोलाउन सहयोग गरेमै चुनाव गराएको पनि काम लाग्छ। अनि, संविधान सभा चाँडै बोलाउन जसरी सजिलो हुन्छ त्यही गरे भइहाल्थ्यो। राष्ट्रपति महोदयलाई पनि नचाहिने विषयमा कचकच गर्ने रहर किन लागेको हो कुन्नि?

No comments:

Post a Comment