Monday, September 9, 2013

सत्याग्रहीको जित!



अन्ततः सत्याग्रही अधिकारी दम्पतीलाई सरकारले जबर्जस्ती खुवाउन परेन। सरकारी आश्वासनलाई  साक्षीहरूको अनुहार हेेरेर पत्याएर हो कि तिनले आफैँ शनिबार मध्यरातमा अनशन स्थगित गरे। कान्छा छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही होस् भन्ने तिनको माग पूरा गर्न सरकारले अग्रसरता देखायो भन्ने उनीहरूलाई लागेको हुनुपर्छ।
अगिल्लो साता किटानी जाहेरीमा नाम परेकामध्ये एक जनालाई प्रहरी पक्रेको समाचारले तिनलाई अलिकति आश्वस्त बनाएको हुनसक्छ। चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्र महासभामा भाग लिन जाने कार्यक्रम नभएको र अन्तर्राष्ट्रिय समुदायले लामो मौन भंग गरेर अधिकारी दम्पतीको अनशनप्रति चासो नदेखाएको भए घटनाक्रम कस्तो हुन्थ्यो यसै भन्न सकिँदैन। कारण, सरकार पटक्कै संवेदनशील देखिएको थिएन। त्यसमाथि अध्यक्ष रेग्मीका 'मेन्टर’ मानिएका पुष्पकमल दाहालले निकै चर्को स्वरमा अधिकारी दम्पतीको अनशनप्रति विष बमन गरेर 'पक्रेर देखाउने' चुनौती जो दिएका थिए।
यस प्रकरणमा चितवन प्रहरीलाई चाहिँ धन्यवाद भन्न मन लागेको छ कर्तव्य पालना गर्न अग्रसर भएकोमा। नत्र, फुजेलका कसैले सुनाएका थिए — ' गोरखाबाट प्रहरी आउँछन् र माओवादी कार्यकर्तालाई मात्र भेटेर फर्कन्छन्।’ यसो त प्रहरीले नन्दप्रसादसँग वयान लिँदा पनि उनले भनेको सबै लेखिएन भन्ने सुनिएको छ। तैपनि, प्रहरीले जति गर्‍यो त्यो सराहनीय छ। डेकेन्द्रका हत्यारालाई पक्रेर मुद्दा दायर गर्ने दैलेखका प्रहरी निरीक्षकको नियति चितवन प्रहरीका अधिकृतहरूले भोग्नु नपरोस् भनेर चाहिँ सायद नागरिक समाज पनि सजग रहनुपर्छ। नत्र, प्रहरीको मनोबल पुनः खस्कनेछ। जेहोस्, अधिकारी दम्पतीले अनशन स्थगित गरेर धेरैलाई चिन्तामुक्त हुने मौका दिएका छन्। मानवीयतामा विश्वास भए पुष्पकमलहरूले पनि आत्मालोचना गरे हुने हो कृष्णप्रसादको हत्याका बारेमा। हत्यारालाई सजायबाट जोगाउने प्रयासले राज्यको साख गिरेकोमा पनि छातीमा हात राखेर सोचे हुन्छ। सामाजिक सञ्जालमा कसैले लेखेको पढेको थिएँ — हत्याका आरोपीलाई पत्रे्ककोमा बन्द गर्नुभन्दा अधिकारी दम्पतीलाई अनशन तोड्न अनुरोध गरे हुन्थ्यो। दुर्भाग्य, पुष्पकमल दाहालबाट यस्तो अपेक्षा राख्न सायद सकिँदैन। उनी त अझै कानुनबमोजिम कारबाही गरिए आन्दोलन गर्ने धम्की पो दिँदैछन्!
सर्वोच्च अदालतले 'जबर्जस्ती भए पनि खाना खुवाउने’ अन्तरिम आदेश दिएर आफ्नै प्रतिष्ठा गुमाएको थियो। धन्न! अधिकारी दम्पतीले अनशन स्थगित गरेर अदालतलाई दुर्नाम हुनबाट जोगाइदिए। हुनत, पेट बोलीमा सरकारलाई अरू आदेश पनि दिइएको छ क्यारे न्यायाधीश प्रकाश वस्तीको फैसलामा तर बाहिर आयो यही जबर्जस्ती खुवाउने प्रसंगमात्र। यसले विषाद नै थपेको छ संवेदनशील नेपालीका मनमा। प्रधान न्यायाधीशको पदमा बहालै रहेका मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको यस निर्णयमा प्रभाव नहुन पनि सक्छ तर कसैले पत्याए पो! साख जो गुमाएका छन् सबैले। सम्भवतः चिकित्सकहरूको अडानले जबर्जस्ती खुवाउने आदेशको कार्यान्वयन भएन। सरकारले पनि वार्तालाई प्राथमिकता दिएर बुद्धि पुर्‍यायो। जबर्जस्ती खुवाउन हच्किने कर्मचारीको सुझबुझले रेग्मीलाई कलंकबाट जोगाइ दियो। सरकारको नैतिकता मात्र हैन डाक्टरहरूको धर्मको प्रश्न पनि जोडिएको थियो यसमा। जेहोस्, नेपालको इतिहासमा नन्दप्रसाद दम्पतीको सत्याग्रह अविस्मरणीय घटना सिद्ध हुने चाहिँ निश्चित छ।
यी सत्याग्रहीले शरीरले धान्नै नसक्ने कष्ट सहेर नेपाली समाजलाई झकझक्याएका छन्। जगाएका छन्। न्याय खोज्नका लागि संघर्ष गर्न सक्नुपर्छ भन्ने स्थापित गराएका छन्। उनीहरूको नैतिक विजय भइसकेको छ। यसैले यिनले अनशन तोड्नु नै उचित थियो। बुद्धि पुर्‍याए। प्रहरीले आरोपितमध्ये एक जनालाई पत्रे्कको छ। अरूलाई पनि पक्रला। न्यायिक प्रक्रियामा गएपछि त्यसका विधि पनि मान्नुपर्छ। कलियुगमा पापीले यही जुनीमा पापको फल भोग्नुपर्छ भन्छन्। आफैँ नबाँचे ती अपराधीले सजाय पाएको कसरी हेर्ने?
सरकारको विश्वास गरेर नन्दप्रसाद दम्पतीले अनशन तोडे। तर, प्रचण्डको घमण्ड र हुँकार हेर्दा सुन्दा यिनको सुरक्षामा भने सरकार बढी नै सजग हुनुपर्ने देखिन्छ। विशेषगरी आमाबाबुलाई अनशन गराउने भनेर छोरा नुरप्रसादका निन्दा अभियानसम्म चलाइएको छ। जानेर वा नजानीकन नुरप्रसादलाई खलनायक बनाउन खोजिएको थियो। माओवादीले नुरप्रसादलाई बढी नै आँखी गरेको हुनसक्छ। यसैले अधिकारी परिवारको सुरक्षामा सरकार चनाखो हुनु जरुरी छ।
जेहोस्, पापलाई धर्मले जित्छ, असत्यमाथि सत्यको विजय हुन्छ र नैतिक शक्ति सबैभन्दा बलियो हुन्छ भन्ने सिद्ध गरे नन्दप्रसाद र गंगामायाले। पुराणहरूमा वर्णन गरिएका तपस्याका पूराकथा चरितार्थ भएजस्तो लाग्यो। ईन्द्रको आसन डगमगाउँथ्यो। राक्षसहरूमाथि बज्र प्रहार हुन्थ्यो। नन्दप्रसाद दम्पतीले प्राण नदिएरै पनि ईन्द्रलाई बज्र दिएकाछन्। अधर्मको अन्त्यका लागि।
सत्याग्रही दम्पतीलाई श्रद्धापूर्वक प्रणाम!

नन्दप्रसाद र गंगामायाको अनशनले मन विचलित बनाएपछि बीपीको आत्मवृत्तान्त फेरि पढे। बीपीले मोहन शम्शेरको शासन कालमा राणाका जेलमा अनशन गरेका थिए। भारतको दबाबले हो कि 'बाहुनको छोरो’ मर्ला र ब्रह्महत्याको पाप पाग्ला भनेर हो गर्दाको बीपीको माग पूरा गरेका थिए। उति बेला त सर्वाेच्च अदालत थिएन। यसैले न्यायाधीश प्रकाश वस्तीको इजलास पनि थिएन। मोहन शम्शेरलाई अनशनकारीलाई 'जबर्जस्ती खाना खुवाउन’ कसैको आदेश पनि चाहिँदैन थियो। तैपनि उनले बीपीको माग पूरा गरे, बलजफ्ती गरेनछन्। त्यसो त महात्मा गान्धीले समेत चासो लिएका थिए रे बीपीको स्वास्थ्यको। अहिले मोहनदास करमचन्द गान्धी जीवित छैनन्। मानव अधिकार सोनिया गान्धीको चासोको विषय होइन। नत्र त भुटानी शरणार्थीले मातृभूमि फर्कने बाटो पनि नपाउने हुने थिएन। र नन्दप्रसाद र गंगामायाले नितान्त पुत्र स्नेहमा विह्वल भएर न्याय खोज्नका लागि अनशन गरेका हुन्। बीपीले जस्तो 'धमाका गरेर मर्नु पनि’ नन्दप्रसाद दम्पतीको अभीष्ट थिएन। यसैले बीपीको अनशनसँग तुलना गर्नु युक्तिसंगत पनि नहोला। तैपनि, समानता चाहिँ छ दुवै प्रकरणमा। त्यो हो — न्यायको खोजी।
विश्वेश्वरप्रसाद कोइरालाको आत्म वृत्तान्तबाट अनशन सम्बन्धी प्रसंगको केही पंक्ति उद्धृत गर्न मन लाग्यो। बीपीले अनशन थालेका रहेछन् 'एउटा धमाका गरेर मर्नु नै असल होला’ भनेर सन् १९४८ को मे, १ देखि। उनलाई अनशन तोडाउने प्रयास गरेर राणा सरकार थाकेछ। बीपीकी माता मोहन शम्शेरसँग मुखमुखै लागिछन्। आत्मवृत्तान्तमा त्यसपछिको वर्णन बीपीले यसरी गरेका छन् :
'त्यसपछि त अरू कुरै भएन। अब त मर्ने नै कुरा भयो। डाक्टर रोज—व—रोज आउन थाले। मलाई थुनेको थियो तारिणीहरूका साथै। तर उनीहरूमाथिको नियन्त्रण उस्तै थियो, मलाई अलि खुला गरेजस्तो थियो। छोडेको जस्तो पनि नछोडेको जस्तो पनि।
अनि २७ या २८ दिनको कुरा थियो। आमाले डा. सिद्धिमणिलाई सोध्नु भएछ। तर ऊ बढो निर्दयी किसिमको मान्छे थियो भनेर आमा भन्नुहुन्थ्यो। सायद, सिद्धिमणिले अब म बाँच्दिन भन्ने रिपोट पठाएपछि २९ दिनका दिन माथिबाट खबर आयो — 'तिमी छुट्यौ। ’
यसै प्रसंगमा 'नेपाली कांग्रेसको इतिहासको प्रारूप’मा बीपीलाई कारामुक्त गरिएपछि अनशन तोडेको घटनाको विस्तृत वर्णन छ। पछि बीपी र मोहन शम्शेर बीचको भेटमा भएको वार्ताका रूपमा एउटा संवाद उद्धृत गर्न मन लाग्यो। लेखिएको छ —  'बीपीले मोहन शम्शेरसित भनेका थिए रे — शासकले कठोर नीति छाड्दा त्यसलाई कमजोरी भनिदैन, उदारता भनिन्छ।’आज बीपीको सयौं जन्म जयन्ती हो। निरंकुश राणा शासकलाई समेत झुकाउने गरी अनशन गर्ने यी पहिला सत्याग्रहीलाई श्रद्धाञ्जली!

No comments:

Post a Comment