Monday, September 23, 2013

कांग्रेसको तमासा



पार्टीहरू संविधान सभा चुनावमा उमेदवारी तय गर्न लागेका छन्। चुनावपूर्व कुनै गठबन्धन हुने लक्षण छैन। र प्रत्याशीहरूको संख्या हेर्दा गठबन्धन सम्भव पनि देखिँदैन। संसदीय निर्वाचनमा उमेदवारी चयनका सम्बन्धमा अस्तिको एउटा घटना र वीश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’बाट दुईवटा प्रसंग प्रस्तुत गर्न मन लाग्यो।





शनिबार साँझतिर काठमाडौंको बसुन्धरा थुम्की (हाइट)मा कांग्रेसका पुराना नेता भेटिए। फटाफट कतै जाँदै थिए। उनी त्यतै घर भएका उनीभन्दा धेरै कनिष्ट तर प्रभावशाली नेताकहाँ जान लागेका रहेछन्। त्यो सुन्दा दिक्क लाग्यो। 'यस्तो दिन पनि आउने रहेछ। ... कहाँ ... धाउने! ’ मेरो मुखबाट निस्क्यो। मसँग भेटिएमा कांग्रेस नेता करिब ४० वर्षदेखि राजनीतिमा सक्रिय छन्। उच्च शिक्षा हासिल गरेका, निर्वासन, जेल सबै भोगेका। उमेदवारी मिलाई दिन भन्नका लागि उनले नेहोरा गर्न लागेका नेता चाहिँ उनीभन्दा कम्तीमा पनि १५ वर्ष कान्छो। उनको नाम लिँदा चितवनको प्रशासन झस्कने बेलातिर अर्को नेता काठमाडौंको कुनै गल्लीमा गुच्चा खेल्दै थिए होलान्। विद्यार्थी राजनीतिमा सक्रिय भए पनि पछि अमेरिकामा गएर उच्च शिक्षा हासिल गरेपछि उतै बस्नुभन्दा यता आउनु नाफा देखेर फर्केका। नेता विशेषको प्रियपात्र हुनपुगेकैले राजनीतिमा पाउनुपर्नेभन्दा बढी नै पाएका। राजनीतिबाट अघिल्लाले धेरै गुमाएका र पछिल्लाका लागि चाहिँ राजनीति फापेको व्यवसाय।
उनी हिँडिहाले। धेरै बेर मन खिन्न भयो। ती साथीलाई पनि पक्कै ग्लानि भयो होला। मैले त्यसो नभनेकै भए पनि हुन्थ्योजस्तो लागिरह्यो। कम्तीमा ती मित्रका मनमा ग्लानि त हुने थिएन!
कुनै जनमानामा स्वाभिमानका उदाहरण मानिने कांग्रेसका नेता कार्यकर्तालाई यस्तो अवस्थामा समयले मात्र पक्कै पुर्‍याएको हैन। पार्टीका जिम्मेवार नेतामा विवेक नभएकैले नेपाली कांग्रेस निरन्तर ओरालो लागेको हो। अब २०१५ सालको चुनावका दुई प्रसंग उद्धृत गरौँ :
१. ' ... त्यहाँ पनि त्यही कुरा थियो, मधेसीलाई दिनुपर्छ नत्र हामी हार्छौँ। मलाई त्यो विचार ठीक लाग्दैनथ्यो। मैले आफ्नो कुरा भने। तर, त्यहाँ पनि एक जना मधेसी उभियो। झा नै थियो त्यो पनि। त्यसले के भन्यो भने — ' यो मधेसी पहाडी किन भनेको? अगर मधेसी भनेरै दिने हो भने त वेदानन्दको पार्टी त छँदै थियो। म तपाईँको पार्टीमा आएर किन बस्ने? ऊ त मधेसी। ऊ नै भन्छ मधेसीहरू सेकेन्ड क्लास नागरिक भए भनेर। तर, यस सिद्धान्तका आधारमा त चुनावको टिकट बाँड्ने त होइन।
आजकाल कोही भन्छ त्यस्तो कुरा?
' तर त्यहाँ त्यस्तो कुनै पहाडी थिएन। अनि त्यहाँ माधव रेग्मी एउटा कुनामा बसिरहेको थियो। ३ बिघा जमिन थियो जम्मा ऊसँग। अरू केही छैन। मैले भने — यो माधव रेग्मीलाई टिकट दियो भने तिमीहरू मद्दत गर्छौ? ’
मित्रलालले भने — हुन्छ पार्टीले टिकट दिएपछि त हामी मद्दत गरिहाल्छौं नि
तुलसी गिरीले विरोध गर्‍यो, त्यो हुँदैन भन्यो। तर, सारा कार्यकर्ताहरूले भने — हामी समर्थन गर्छौँ। मैले उसलाई टिकट दिएँ।
त्यहाँ देवनारायण यादव पनि थियो। उसलाई टिकट दिनुथियो त्यसभन्दा पूर्वपट्टिको निर्वाचन क्षेत्रमा। ... देवनारायणले के भन्यो भने — एकचोटि तपाईँ आइदिनुपर्छ। म जिम्मालिन्छु जिताउने।’
 २. ' ... मेरो घोडाको सँगसँगै हिँड्ने एक जना लिम्बु ठिटो थियो। मैले भने — 'होइन, यहाँ त लिम्बुलाई टिकट नदिने हो भने जित्दैन भन्छन् क्या हो? ’
'... ... किन? लिम्बुलेमात्रै जित्ने हो र? हामीहरू लिम्बु होइनौ?'
मैले भने — 'रिजाललाई टिकट दियो भने के हुन्छ?' उसले भन्यो — 'जसलाई दियो भने पनि मैले टिकट पाउने हैन। हामीले त हो जिताउने त्यसलाई। कांग्रेसले टिकट दिने हो। जसलाई टिकट दिए पनि हामी जिताउँछौँ।'
... ... एउटा सानो १५ — १६ वर्षको त्यो ठिटो, घोडाको नजिक झन्डा लिएर हिँड्ने त्यस ठिटोको कुराबाट म प्रभावित पनि भएँ र मेरो विचार पनि त्यस्तै किसिमको थियो। त्यहाँ मैले गणेश रिजाललाई त्यो टिकट दिएँ। अत्यधिक बहुमतका साथ त्यहाँ तिनी जिते। तिनको विरुद्धमा उभिएको लिम्बु हार्‍यो। तर अर्को क्षेत्रमा मैले एउटा लिम्बुलाई नै दिएको थिएँ। ’
( विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, २०५५, ( पृ. २०६—२०८ )
नेपाली कांग्रेसले २०१५ सालको निर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो। नेपाली जनताले २०४६ सालपछि पनि २०४८ र २०५६ मा कांग्रेसलाई बहुमत दिए। विसं २०५१ मै पनि कांगे्रेसले प्राप्त मतका आधारमा सबैभन्दा ठूलो पार्टी कायमै रहेको थियो। पहिलो संविधान सभा निर्वाचनमा कांग्रेस सेनापतिविहीन भएर होमिएको थियो। गिरिजाबाबुले चुनाव अभियानमा कांग्रेसको नेतृत्व गरिदिएनन्। बिलखबन्द कार्यकर्तामाथि माओवादीको उद्दण्ड जत्थाले कति ठाउँमा आक्रमण गर्‍यो र कति क्षति भयो भन्ने लेखाजोखा पनि पार्टीले गरेनहोला। अचम्म, कुनै अध्येताको पनि यस्तो ज्यादती र लाचारीको तुलनात्मक अध्ययनमा ध्यान गएको देखिएन। पहिलो संविधान सभाको विफलतापछि कांग्रेसका पक्षमा जनमत बढ्दै गएको केही अध्ययनबाट देखिएको छ। यसको कारण बुझ्ने व्यवस्थित प्रयास चाहिँ सायद कसैले गरेको छैन। राजनीतिक अभ्यास हेर्ने हो भने संसारभर निर्वाचनमा पहिलो भएको दलले जनसमर्थन गुमाउँदा त्यसको लाभ स्वतः निकटतम प्रतिद्वन्द्वीले पाउने गरेको देखिन्छ। अहिले कांग्रेसका पक्षमा जनसमर्थन बढ्नुको मूल कारण पनि सायद यही नै हो। नत्र, कांग्रेसलाई मत दिने वा समर्थन गर्ने कुनै आधार यस पार्टीका नेताले बनाउन सकेका छैनन्। सर्वसाधारण जनतामा त परै जाओस् आफ्नै कार्यकर्तालाई चित्त बुझाउन, आकर्षित र उत्साहित गर्न सकेका छैनन्।
बीपीले पहिलो संसदीय चुनावमा कार्यकर्ताकै सल्लाहमा उनीहरूबै बीचमा बसेर उनीहरूमध्येकै कसैलाई उमेदवार बनाएका रहेछन्। माधव रेग्मी र गणेश रिजाललाई त खोजेर पो चुनावको टिकट दिएका रहेछन् त। काठमाडौं धाउनु परेको भए सायद तिनीहरू आउने नै थिएनन्। उमेदवारी पाउने त कुरै भएन। यो ५५ वर्ष पहिलेको कुरा हो। काठमाडौं आउन उतिबेला सजिलो थिएन। त्यसैले नेता उतै गएका हुन् भने पनि होला। तर, प्रश्न प्रवृत्तिको हो। बीपीको कदको नेता छैन। बीपीको कदको त के सबै कांग्रेस कार्यकर्ताले विश्वास र सम्मान गर्न सक्ने एउटै नेता कोही पनि छैन अहिले। यसो हुँदैमा बीपीले देखाएको बाटामा हिँड्नै नसकिने त पक्कै होइन।
बीपीले कार्यकर्ताको विश्वासमा र तिनकै कुरा सुनेर निर्णय गरेका रहेछन्। चाटुकार मण्डलीसँग साउती मारेर निर्णय गरेका त रहेनछन्। उमेदवारीको आकांक्षा बोकेका हजारौं कार्यकर्ताको काठमाडौं आउनजान, बस्नखानमा खेर गएको रकम, समय र ऊर्जाको हिसाब गर्ने हो भने कति ठूलो नोक्सानी भएको होला? विधानमा उमेदवारी चयनको प्रक्रिया छ। त्यसैका आधारमा जिल्लास्तरमै टुंग्याएको भए हुन्थ्यो। केन्द्रबाट प्रतिनिधि गएर जिल्लामा उमेदवारी तय गर्ने प्रक्रिया अपनाएको भए यति धेरै समय, ऊर्जा र स्रोतको अपव्यय हुने थिएन। हजारौं रुपियाँ खर्चेर नेताहरूको चाकरी गर्न काठमाडौं आउँदा पनि उमेदवारी नपाएपछि कार्यकर्ताको पक्कै मन भाँचिने छ। पहिल्यै भग्नमनोरथ र उत्साहहीन  कार्यकर्ताले चुनावको सामना कसरी गर्लान्? नेताहरूले विवेक प्रयोग गर्ने गरेको भए सायद योग्य कार्यकर्ताले उमेदवारी पाउन पत्नीको गहना बेचेर वा अडना राखेर खर्च जुटाएर काठमाडौं आउनुपर्ने थिएन।
निर्वाचनका लागि हुने गतिविधिले राजनीतिक संगठनमा रक्त सञ्चार हुन्छ। नेपाली कांग्रेसका कार्यकर्ता पनि अहिले तातेका देखिएका छन्। अधिवेशन स्थगित गरिएका नेपाल विद्यार्थी संघका विद्यार्थीसमेत रिस देखाउनभन्दा चुनावमा सघाउन अग्रसर भएका देखिन्छन्। तर, कांग्रेसका ठूला नेता चाहिँ संसदीय बोर्डमा तेरो र मेरो को र कति भन्ने झगडा गरेरै बसेका छन्। यी पंक्तिहरू लेख्दासम्म बोर्ड गठन भएको सार्वजनिक भएको छैन। भागबन्डामै विवाद गरिरहनु थियो भने किन बित्थामा पार्टी एकीकरण गर्नुपरेको?
कार्यकर्ता यसरी काठमाडौं ओइरिँदासम्म पनि संसदीय बोर्ड बनाउन नसक्ने नेतालाई तिनले के ठानेका होलान्? अरू पार्टीका नेता घोषणापत्र लिएर मतदातासम्म पुग्ने बेला भइसक्यो। कांग्रेसका नेता चाहिँ यहीँ तमासा देखाइरहेका छन्। सहमतिका कुनै निर्णय हुन सत्तै्कन भने केन्द्रीय समितिबाट चुने भइहाल्यो नि! नियत नराम्रो नभए उमेदवारीको आधार पहिले तय गरेर त्यसैका आधारमा सूची बनाउन विशेषज्ञहरूलाई जिम्मा दिए पनि हुन्छ।
पार्टी जिम्मुवाली चलाएजसरी चल्दैन। कांग्रेस सुशील कोइराला र शेरबहादुर देउवाका आसेपासेको बिर्ता पनि हैन। यसैले नेता हुन् भने तिनले विवेक प्रयोग गर्ने विश्वास कार्यकर्तामा जगाउन सक्नुपर्छ। त्यति पनि गर्न नसक्ने हो भने कार्यकर्ताले त नेतालाई धारे हात लगाएर पनि आफ्नै पार्टीलाई भोट हाल्लान् तर जनताले त पक्कै त्यसो गर्ने छैनन्।

No comments:

Post a Comment