Tuesday, April 30, 2013

सपनाको बजार


    नेताले सपना देख्नुपर्छ र जनतालाई पनि देखाउनुपर्छ तर बेच्नुहुँदैन। नेपालका राजनीतिक नेताहरू कि त सपनै देख्दैनन् र देखिहाले भने बेच्न उद्यत भइहाल्छन्। सपना आफैँले देख्नुपर्छ। सपनामा पनि देखासिकी गर्दा मायाजालमा परिन्छ। आर्थिक विकासको ढाँचाका सम्बन्धमा नेपालका राजनीति नेता र विशेषज्ञ मायाजालमा परेका देखिन्छन्। भारत र चीनको विकासको सिको गरेर नेपालले फाइदा लिनुपर्छ भन्ने कथन यसैको एउटा उदाहरण हो। नेपालको विकासका लागि अरूको सिको र सहयोगको याचना गर्नु समय खेर फाल्नुमात्रै हो। मुलुकमा सही नीति अपनाउने हो भने नेपाली जनताको हित हुने गरी नेपालको विकास गर्न भारत र चीनको सद्भावबाहेक अरू सहयोग आवश्यक हुने छैन। तर, राजनीति, व्यापार, उद्योग क्षेत्रका अगुवाहरू भने सधैँ तिनको विकासबाट फाइदा लिन सक्नुपर्ने रट लगाएर उपलब्ध अवसर गुमाउनैमा ब्यस्त र मख्ख देखिन्छन्। 

त्यसमाथि 'आर्थिक विकासमा सहयोग गरेनौ भने तिम्रो सुरक्षामा हित पनि हेर्न सकिँदैन’ भन्नु त झन् दुनियाँ हँसाउने मूर्खता हो। यस्तो मुर्ख्याइँ प्रत्युत्पादक हुन्छ। (भारत वा चीन असुरक्षित भए पनि नेपाल सुरक्षित रहन सक्छ भन्ने सोच त भारतीय कर्मचारीतन्त्रकै जस्तो हो। सीमा क्षेत्रमा सडक वा बाँध बनाएर तिनले नेपाली भूमि डुबानमा पारेका छन्। तिनलाई लाग्दो हो डुब्ने जति नेपालीको जमिन र फाइदा जति भारतमा! केही वर्ष त्यस्तै होला पनि तर प्रकृतिलाई कृत्रिमरूपमा सधैँका लागि तह लगाउन सकिँदैन। कुनै पनि दिन ती बाँध फुटे भने कति ठूलो क्षति होला, त्यसको अनुमान पनि गर्न सकिँदैन। अति भयो भने बाँधका कारण उठीवास लागेकाहरूले नै रिस फेर्न बाँध भत्काइदिन सक्छन्।) यसैले भारत वा चीनलाई घुर्की र धम्कीबाट हैन, सद्भावबाट विश्वासमा लिनुपर्छ। त्यतिमात्र हैन, चीन वा भारतको विकासको सिको पनि नेपालले गर्नु हुँदैन। कम्तीमा ती मुलुकमा आर्थिक वृद्धिसँगै बढेको असमानतालाई नेपालमा भित्रन दिनुहुँदैन। अहिले नै नेपाली समाजमा असमानताले समस्याको रूप लिई जो सकेको छ।
चीन र भारतलाई मालसामान ओसारपसार गर्न नेपालको बाटो छोटो पर्ला तर झन्झटिलो हुन्छ। सीमा जोडिएका दुई मुलुकलाई व्यापारकै लागिमात्र अर्को देशको बाटो किन चाहियो? सस्तो जलमार्गमा दुवैको पहुँच छ। व्यापारबाहेक अरू केही गर्ने हो भने नेपाललाई फाइदा त हुँदैन। कन्टेनर वारपार गर्दा बाटामा पर्ने भट्टीहरूमा चिया खाजाको व्यापार होला तर स्थानीय अर्थतन्त्रको विकास हुँदैन। चीन वा भारतबाट जाने मालसामान वारपारमात्र गराएर नेपाललाई के फाइदा होला? यसैले सुरक्षाको घुर्कीजस्तै 'दुई देशको पुल’ बन्ने सपना पनि भ्रमसिवाय केही होइन। त्यसो त, भारतीय विदेश मन्त्री सलमान खुर्सिदले नै त्रीपक्षीय सहयोगका लागि बेला नभएको भनेर यो हावादारी प्रस्ताव भारतलाई मन नपरेको स्पष्ट पारेका छन्।
चीन र भारत दुवैले बितेका दुई दशकमा हासिल गरेको आर्थिक वृद्धिलाई परम्परागत अर्थतन्त्रका पक्षधरहरूले चमत्कार मानेका छन्। ती दुवै मुलुकमा बितेको दुई दशकमा गरिबीको रेखामुनिको जनसंख्यामा उल्लेख्य कमी भएको तथ्यांक सार्वजनिक भइरहेका छन्। दुवै मुलुकमा मानव विकास दरमा पनि उल्लेख्य प्रगति भएको देखाइएको पाइन्छ। यस्ता तथ्यांकमा यद्यपि, चर्को विवाद पनि छ। तिनमा विश्वास गर्ने हो भने पनि अझै ती मुलुकमा करोडौँ जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि छन्। यो संख्या गरिबीको परिभाषा र मानवोचित जीवन यापनको मापदण्डअनुसार धेरै वा थोरै होला तर संसारभरमा गरिबीको रेखामुनि रहेको मानिएको एक अर्ब चालीस करोड जनसंख्याको आधा त यिनै दुई मुलुकमा छन्। यतिमात्र हैन, आर्थिक असमानताका आधारमा हेर्दा पनि चीन र भारतको अवस्था कहालीलाग्दो देखिन्छ।
चीनमा सबैलाई 'समान बनाउने’ भनिएको कम्युनिस्ट शासन प्रणाली स्थापना भएको करिब ६० वर्षभन्दा बढी भयो। भारतमै पनि जवाहरलाल नेहरूले स्वतन्त्रतापश्चात् 'समाजवादी अर्थतन्त्र’ अपनाएका थिए। स्वतन्त्र भएको करिब ३० वर्षसम्म नेहरूकै पार्टीको शासन रह्यो। इन्दिरा गान्धीले त झन् 'गरिबी हटाओ’ भन्ने नारालाई शासनको मूल मन्त्र नै बनाएकी थिइन्। तर, गरिब त घटेनछन्। भारतमा विनोवा भावेको भूदान यज्ञलाई राज्यले उपेक्षा गर्योन। गान्धीको स्वावलम्बी ग्रामीण अर्थतन्त्रको सपनाको पनि शासकहरूले उपहास गरे। राज्यले ठूला उद्योगहरूको विकास गर्योस। भौतिक संरचनाको उन्नति भयो। असमानता भने उपनिवेशकालमा भन्दा पनि बढेर गयो।
अझ, चीनमा त सन् १९४७ लगत्तै 'क्रान्तिकारी भूमि सुधार’ पनि गरिएको थियो। पुरानो सामन्ती अर्थतन्त्र र परम्परामा ध्वस्त पारिएको थियो। यस्ता सुधार (?) लागु गर्ने नाममा करिब ६० लाख चिनियाँको ज्यान लिइयो तर अहिले शहर र गाउँ, धनी र गरिब तथा सम्भ्रान्त र सामान्य वर्गबीचको असमानता झन् बढेर गएको छ।। प्रतिशतको खेल देखाएर शासनको उपलब्धि गणना गर्दा कुपोषणका कारण बालकैमा मरेका वा बैंसमै गालाको रंग फुङ्ग उडेका नागरिक बिर्सनु अन्याय हुन्छ।
चीनमा लागु गरिएको सामाजिक सुरक्षा कार्यक्रम 'दाई बाओ’ मा दर्ता नभएका आप्रवासी कामदार समावेश गरिँदैनन्। जन्म थलोको गरिबीबाट आत्तिएर अवसरको खोजीमा शहर पसेका यस्ता कामदार शहरका बासिन्दाका रूपमा स्वीकार गरिँदैनन्। सरकारी स्वीकृतिबिना शहर पसेकाले तिनले सामाजिक सुरक्षाको लाभ पाउँदैनन्। सबैभन्दा बढी सामाजिक सुरक्षा चाहिनेलाई नै समावेश नगर्ने सामाजिक सुरक्षाले कसरी गरिबको हित होला र?
भारतले गरिबी निवारणमा फड्को मारेका भन्ने विश्व बैंककै तथ्यांकमा पनि करिब ४५ करोड जनसंख्या गरिबीको रेखामुनि छ। गाउँमा गुजारामुखी खेतीमा संलग्न जनसंख्याका लागि १.२५ अमेरिकी डलरभन्दा कम खर्चको विश्व बैंकको मानकले गुजारा चल्ला तर पानी पनि किनेर खानुपर्ने र सडकमा नाङ्ले पसल थाप्दा पनि महानगरपालिका र स्थानीय माफिया गिरोहलाई कर तिनुपर्नेहरूलाई त त्यसबाट हातमुख जोर्न पनि पुग्दैन भने ओखतीमुलो र सन्तानको शिक्षादीक्षाको खर्च कसरी पुग्ला?
दुवै मुलुकमा बेग्लाबेग्लै राजनीतिक प्रणाली छ। आधा शताब्दीसम्म दुवै मुलुकमा एउटै शासन प्रणाली छ। अर्थात्, राजनीतिक अस्थिरताले तिनको विकास र वितरणमा असर पारेको छैन। तैपनि, किन त विकासको प्रतिफल सबै जनताले समानरूपमा पाउन नसकेका? जति नै प्रगति गरेको तथ्यांक देखिए पनि दक्षिण एसियामा सन् १९८७ मा करिब एक अर्ब जनसंख्या गरिबीको रेखामुनि रहेको मानिएको थियो। अहिले २०११ मा त्यस्तो जनसंख्या करिब डेड अर्ब जति पुगेको छ। दक्षिण एसियाको तथ्यांक मूलतः भारतकै अवस्थाले निर्धारण गर्छ।
यी दुवै बजारमुखी अर्थतन्त्रका सफल (?) उदाहरण हुन्। एउटामा राज्यको पूर्ण नियन्त्रण छ र अर्कोमा निजी क्षेत्र अगाडि छ। तर सामान्य जनताका लागि यो दुवै ढाँचा उत्तम होइन रहेछ। यसैले नेपालले यिनकै सिको गरेर उद्योग वा व्यापारमा आधारित अर्थतन्त्र अपनाउनु उचित होइन। विकासको ढाँचा अहिलेको असमानतालाई अझ बढाउने प्रकारको भयो भने अन्ततः त्यो प्रत्युत्पादक हुनेछ।
नेपालले निर्यातका लागि भन्दा नेपाली जनताको खपतका लागि सामग्री उत्पादन गर्ने हो भने मुलुकको अर्थतन्त्र स्वचालित हुन पुग्छ। हिमाल, पहाड तराई एकअर्काका लागि बजार बन्न सक्छन्। भारत र चीनका हकमा बजारको खासै समस्या हुँदैन। यिनीहरू दुईवटा मुलुकभन्दा दुई महादेश जस्तै हुन्। जनसंख्या, भूगोल, स्रोतसाधन आदिका दृष्टिले यी दुवै मुलुक एक्लाएक्लै युरोप, अफ्रिका, अमेरिका जत्रै जो छन्। यसैले पनि नेपालले तिनको सिको गर्नु व्यावहारिक हुने छैन।
नेपालका लागि विकासको ढाँचा असमानता नबढाउने र सबैले मानवोचित जीवन यापन गर्नसक्ने प्रकारको हुनुपर्छ। चीनको जस्तो शहरबासीले सामाजिक सुरक्षाका धेरै सुविधा पाउने तर गाउँमा बस्नेले त्यस्ता सुविधाका लागि पैसा तिर्नुपर्ने प्रकारको हुनुहुँदैन। यस्तै, भारतमा जस्तो जात, धर्म, लिंगका साथै भूगोलका आधारमा राज्यको सुविधामा पहुँच नियन्त्रण गर्ने प्रकारको पनि हुनुहुँदैन। भारतमा गरिएको त्यस्तो व्यवस्थाले लक्षित समूहकै समेत हित गरेको छैन। सबैलाई दिने व्यवस्था नहुने हो भने बलियाले निर्धाको भाग खोसेर लिन्छ। यो प्राकृतिक नियम हो। राज्य वा समाजले प्रकृतिले बाँधेको नियम टुटाउन जो सक्तैनन्।

Sunday, April 28, 2013

सौरभको लेखले सम्झाएका घटना

 गत बिहीबार ( अप्रिल २५, २०१३) प्रकाशित लेख 'नजिकिँदो अँध्यारो' पढेपछि केही पुराना घटना सम्झेँ।  कान्तिपुरलाई पत्र पनि पठाएको छु तर यो लामो भएकाले छापिए पनि सबै नछापिन सक्छ । तेसैले यहाँ पनि राख्न मन लाग्यो ।

१. पञ्चायत कालको घटना हो। कास्कीको कुनै गाउँमा लागेको मेलामा केही कम्युनिस्ट शिक्षकले सूर्यमोहन भट्टराईले लगाएका राजारानी अंकित लकेट खोसेर खुट्टाले कुल्चिदिएछन्। सूर्यमोहनजीले प्रजिअसमक्ष उजुरी गरे। रामचन्द्र पौडेल कास्कीका प्रमुख जिल्ला अधिकारी थिए। प्रशासनले ती शिक्षकहरूलाई कारबाही चलाउने तयारी गर्‍यो। मुद्दा दायर भयो। गण्डकी अञ्चलमा पहिलेका कम्युनिस्ट तर त्यति बेला शरदचन्द्र शाहाको निकट मानिने खड्गबहादुर जीसी अञ्चलाधीश थिए। प्रजिअमाथि मुद्दा नचलाउन दबाब पर्न थाल्यो। प्रमुख जिल्ला अधिकारीले पनि लिखित निर्देशन मागेछन्। तेतिबेलाका मन्त्री राधेश्याम कमारोको विशेष अग्रसरतामा ती शिक्षकहरूमाथि मुद्दा चलाउन रोकियो। पछि सुनियो, त्यही मुद्दामा अञ्चलाधीशले भनेको नटेरेको भनेर पौडेलको सरुवा भयो।  सीडीयो सरुवा दरबारले चाहेमात्र हुन्थ्यो ।

२. वालिग मताधिकारका आधारमा राष्ट्रिय पञ्चायतको चुनाव भएपछि बनेको सूर्यबहादुर थापाको सरकारले विकेन्द्रीकरणमा विशेष जोड दिएको थियो। विकेन्द्रीकरणको नमुना योजना तयार गर्न तनहुँ जिल्ला रोजिएको थियो। कृषि आयोजना सेवा केन्द्रले विश्व खाद्य संगठनलगायतका संस्थाको सहयोगमा त्यो पाइलट प्रोजेक्ट चलाइएको थियो।  विकेन्द्रीकरणसम्बन्धी अञ्चल, क्षेत्र र राष्ट्रिय स्तरका गोष्ठी र बैठक पोखरामा भइरहन्थे। म लगभग सबैमा आमन्त्रित हुन्थेँ। जिल्ला पञ्चायतको उपसभापतिलाई पदेन बोलाइनेबाहेकका भेलामा पनि कर्मचारीहरूले मलाई बोलाउने गर्थे। धेरैजसो भेलामा कट्टर पञ्चहरू दुई खेमामा विभाजित हुन्थे। राजावादी पञ्चहरू राज्यको नीति हो भने विरोध गर्नु हुँदैन भन्नेजस्तो व्यवहार गर्थे भने कम्युनिस्ट पञ्चहरू विकेन्द्रीकरणले निर्दलीयतामा असर पर्ने हुनाले ठीक हुँदैन भन्थे। (सामान्यतः जनमतसंग्रहमा पंचायतका पक्षमा लागेका र बहुदलका पक्षमा लागेकाको बीचमा विभाजन हुनेगर्थ्यो । निर्दलकै पक्षमा लागेका पनि उदार र अनुदार खेमामा बाँडिएका थिए)।  राघवलाल वैद्य अञ्चलस्तरीय कुनै वर्गीय संगठनमा थिए। उनले विकेन्द्रीकरणलाई वीक केन्द्रीकरण अर्थात् केन्द्रलाई कमजोर बनाउने षड्यन्त्र भनेको अझै सम्झना छ। तिनै राघवलालजी पछि पुष्पकमल दाहालका पालामा महान्यायाधिवक्ता नियुक्त भए।

३. शिक्षकहरूले संगठनको अधिकारलगायतका माग राखेर देशव्यापी आन्दोलन थालेका थिए। म तनहुँ जिल्ला शिक्षा समितिको सदस्य थिएँ। मेरो गाउँको राम शाह माध्यमिक विद्यालय सञ्चालक समितिको अध्यक्ष पनि थिएँ। म पढाइ बिथोलिनु हुन्न भन्ने मान्यतामा थिएँ। अर्कातिर, शिक्षकहरूको संगठन स्वतन्त्रताको विषय भएकाले विरोध गर्न मेरो नैतिकताले रोकेको थियो। सरकार निकै आक्रामकरूपमा प्रस्तुत हुने लक्षण देखिन थालेको थियो। पञ्चायत विरोधी शिक्षकहरूमाथि कारबाही गर्न परिपत्र जारी भइसकेको थियो।
कुनै कार्यक्रमका सन्दर्भमा चन्द्रावती पुगेका बेला त्यहाँका शिक्षकहरूसँग सल्लाह गरेँ। मैले उनीहरूलाई हडताल गर्ने तर विद्यार्थीको पढाइ नबिगार्ने उपाय खोज्न आग्रह गरेँ। हाँजिर नगरी पढाउन शिक्षकहरू सहमत भए समाधान भेटिने भयो। केन्द्रमा नेतृत्व कम्युनिस्टहरूले गरे पनि हडताल संयुक्त थियो । कांग्रेस समर्थक शिक्षकहरू पनि हडतालबाट पछि हट्न तयार थिएनन्। छलफलका क्रममा मैले हडताल दबाउन मण्डलेहरू सक्रिय हुनसक्ने र त्यस प्रकारको वातावरण बनाउन प्रशासनले भेला बोलाउन थालेको जानकारी पनि दिएँ।
भोलिपल्ट डुम्रेको पवित्रा माविमा प्रशासन पक्षको भेला थियो। म पनि बोलाइएको थिएँ। बोल्ने क्रममा शिक्षकहरू पढाउन तयार भए भने दमनको बाटो लिन नहुनेमा मैले जोड दिएँ। बीचको बाटो निस्कन्छ कि भन्ने मेरो आशा थियो। तनहुँमा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद उपाध्याय थिए। उनले मैले चन्द्रावतीमा शिक्षकहरूसँग गरेको सल्लाहको विवरण मैलेमात्रै बुझ्ने गरी भेलामा बताइदिए। म अवाक् भएँ। शिक्षक हडताल पञ्चायत विरोधी राजनीति भएकाले सहन नसक्ने हुँकार गरे।
 केही दिनपछि जिल्ला शिक्षा समितिको बैठक भयो। हडताली शिक्षकहरूलाई कारबाही नगर्ने सञ्चालक समिति भंग गर्ने प्रस्ताव बैठकमा आयो। मैले शैक्षिक सत्रको बीचमा शिक्षकहरूमाथि कारबाही गर्दा पढाइ बिथोलिने तर्क दिएर असहमति जनाएँ। निकै चर्काचर्की भयो। शिक्षकहरूलाई मैले उकासेको आरोप लगाउँदै उनले चन्द्रावती बैठकमा मैले भनेका शब्दहरू दोहोर्‍याइदिए। म केही क्षण बैठकबाट बाहिरिनु पर्‍यो। त्यही मौका छोपेर मलाई सञ्चालक समितिको अध्यक्षबाट हटाउने निर्णय गरिएछ। जिल्ला शिक्षा समितिमा हाम्रो बहुमत थिएन। सञ्चालक समितिबाटै हटाइएपछि म जिल्ला शिक्षा समितिबाट पनि हटाइएँ। नेपाली कांग्रेस निकट सबैजसो अध्यक्षहरू हटाइएका थिए भने कतिपयमा कम्युनिस्ट निकट मानिनेहरू नियुक्त गरिएका थिए। जिल्लामा हडतालको नेतृत्व कम्युनिस्ट शिक्षकले गरेको देखिन्थ्यो। चन्द्रावतीमा भएको सल्लाहमा सबैजसो कम्युनिस्ट निकट शिक्षकहरू सहभागी थिए। माधवजी दरबारको पनि  भूमिगत गिरोह निकटका प्रशासक मानिन्थे।

४. म राजनीति छाडेर काठमाडौं पसेपछि पढाउन थालेको थिएँ पिपल्स क्याम्पसमा। तीर्थरत्न बज्राचार्य क्याम्पस प्रमुख थिए। पहिले त्रिविको विद्यार्थी हित शाखा प्रमुख भइसकेका हुनाले धेरै विद्यार्थी नेताको चिना उनलाई क48ठै थियो। क्याम्पसमा टंक कार्की, ज्ञानेन्द्र कार्की, हिरण्यलाल श्रेष्ठजस्ता राजनीतिक प्राणीहरू पनि थिए। पहिलो जनआन्दोलन सुरु हुन लागेको थियो। बज्राचार्य पंचायत समर्थक थिए। यसैले क्पाम्पसमा राजनीतिक गफ हुने नै भयो। बज्राचार्य भन्ने गर्थे - अखिलका धेरै नेतालाई मैले पैसा दिएको छु। यिनीहरू कम्बल ओडेर घिउखाने  खालका हुन्।  टंकले चाहिँ पैसा नखाएको भन्न छुटाउँदैन थे ।

५. विस्तृत शान्ति सम्झौता भइसकेको थियो। माओवादीले राज्यको नीतिनियम मात्र हैन संविधान र कानुन मिच्दा पनि कारबाही हुँदैन थियो। एउटा मित्रको विवाहको २५ औँ वार्षिकोत्सवमा त्यति बेला मन्त्री रहेका नेपाली कांग्रेसका एक जना नेतासँग भेट भयो। पुरानै चिनाजानी भएकाले कुराकानी सोझै सामयिक राजनीतिमै पुग्यो। मैले माओवादीलाई छाडा छाडेर सरकारले गल्ती गरेको, त्यसबाट सामान्य नागरिक पीडित भएको र कांग्रेसका तल्लो तहका कार्यकर्ताको पनि मनोबल गिरेको छ के भनेको थिएँ उनले त मेरा विचारलाई नै शान्ति विरोधी र राजवादीको धारणा  पो भनिदिए। तनहुँ कांग्रेसका तत्कालीन सभापति रघुनाथ पौडेल पनि सँगै थिए।
सौरभको लेखमा व्यक्त विचारको यी घटनासँग सोझो सम्बन्ध देखिँदैन तर कुन्नि किन त्यो लेख पढ्दा मलाई यिनको सम्झना भयो।  

Tuesday, April 23, 2013

कुण्ठाको विरेचन


'विरेचन' चिकित्सामा प्रयोग हुने विधि हो। अरस्तुले त्यसलाई साहित्यको विवेचनाका क्रममा प्रयोग गरेका छन्। सजिलोसँग भन्नुपर्दा विकारहरूको बमन नै विरेचन हो। बमन गराएर 'बिगार' निको पार्ने उपचार विधि पश्चिम पहाडमा पनि प्रचलित थियो। नेपालका राजनीतिकर्मीहरू पनि धेरैजसो यही विरेचन विधि रुचाउँछन्। बाबुराम भट्टराईले यसका पछिल्ला उदाहरण बनेका छन्। 
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारहरूलाई बोलाएर राष्ट्रपति रामवरण यादवले चार पटक 'कु' गर्न खोजेको 'गम्भीर रहस्य' खोल्दै आफ्नो 'लोकतान्त्रिक साख' उजागर गरेका छन्। सञ्चार माध्यममा सार्वजनिक भएको सूचनाअनुसार उनैको सुझबुझका कारणले मात्र राष्ट्रपति यादवको प्रयास असफल भएको र लोकतन्त्र 'बाँचेको' दाबी पनि भट्टराईले गरेका छन्। उनका यी भनाइ पत्याउने हो भने 'महान् लोकतन्त्रवादी नेता बाबुराम भट्टराई' प्रति सबै नेपाली नतमस्तक हुनुपर्छ। विडम्बना, उनैका कार्यकर्ताले पनि यस्तो हावादारी गफ पत्याएको देखिएन। सत्ता कब्जा गर्ने सपना लिएर आफ्नै नेतालाई समेत धोबीघाटको बलले 'धोबीपाट' लगाउन सक्ने बाबुरामलाई राष्ट्रपति यादवले ढिलै सही सरकार छाड्नुपर्ने बनाए। यादवले आँखा चिम्लेर ल्याप्चे लगाउँदै गएका भए बाबुराम अहिले पनि बालुवाटारमै जो हुन्थे।
अब एनेकपा (माओवादी)ले चुनाव जिते नै पनि अध्यक्ष दाहाल पदका प्रमुख दाबेदार हुनेछन्। दाहालको भारतीय शासनसँगको सम्बन्ध सुधि्रएपछि बाबुरामको प्रयोजन पनि शायद सकिइसक्यो। चतुर बाबुरामले यो पक्कै बुझेका छन्। नेपालका राजनीतिक नेताहरू विशेषगरी कम्युनिस्टहरूलाई बेलाबखत 'राष्ट्रवाद' को भूत चड्छ। राष्ट्रवाद बिकेन भने उनीहरू 'प्रगति' बेच्न खोज्छन्। त्यसले पनि बजार नपाए 'लोकतन्त्र' बेच्न खोज्छन्। बाबुरामको पछिल्लो अभिव्यक्ति शायद यसैको निरन्तरता हो। राष्ट्रपति यादवले नयाँ सरकारसँग विगतका भ्रष्टाचार र अनियमितताको जानकारी मागेको समाचार सार्वजनिक भएपछि बाबुराम निकै चिडिएको देखिएका छन्। राष्ट्रपतिले भ्रष्टाचार र अनियमितताको प्रसंग उठाएकामा उनले सार्वजनिकरूपमै आपत्ति जनाएका थिए।
बाबुरामको कुकोे आरोप सम्भवतः भ्रष्टाचारको छानबिन हुन नदिन र जनताको ध्यान अन्यत्र तान्न गरिएको प्रयास पनि हुनसक्छ। 'तमासामा अलमलिने' भनेर कहलिएका राष्ट्रपति यादवलाई बाबुरामको आरोपले हच्काउन सक्छ। बाबुरामसँगै जुहारी खेल्न पनि राष्ट्रपति यादवलाई सुहाउँदैन। तर, यत्तिकै भरमा अरू पनि हच्किएर भ्रष्टाचार र अनियमितताको छानबिन रोकियो भने त्यो ठूलो दुर्भाग्य हुनेछ। संविधान सभा निर्वाचनपछिका वर्षहरूको तजबिजी खर्चको श्वेतपत्र तयार गरेर सार्वजनिक गरे भने अर्थमन्त्री शंकर कोइरालाले मुलुकलाई ठूलो गुन लगाउनेछन् र उनलाई पछिसम्म पनि सम्झने बाटो रहनेछ।
हुन त, यही 'प्रलाप' बाट बाबुरामको सत्ता छाड्नुपरेको कुण्ठा विरेचन हुने हो भने त्यसमा चिन्ता गर्नु पनि आवश्यक छैन। तर चार दलका नेताले यस विषयमा धारणा भने सार्वजनिक गर्नु आवश्यक र उचित हुनेछ। पुष्पकमल दाहाल राष्ट्रपति यादवले 'कु' गर्न खोजेको बाबुराम प्रचारवाजीमा सहमत छन् कि छैनन्? यति जान्ने हक त नेपाली जनताको छ कि!

कार्टर सेन्टरको वैधता

नेपालमा निकै 'प्रतिष्ठित' कार्टर सेन्टरको क्रियाकलाप त प्रचलित कानुनबमोजिम 'अवैध' पो रहेछ। यस खुलासामा आश्चर्य मान्नु भने पर्दैन। कार्टर सेन्टरमात्र हैन, नेपालमा यस्ता थुप्रै संगठन र संस्थाले प्रचलित कानुन मिचेका छन्। अर्थात्, अवैध क्रियाकलापमा संलग्न छन्। त्यतिमात्र हैन, त्यस्ता संस्थालाई कानुन मिच्न सरकारका कानुन पालन गराउने अधिकारीहरूले नै सघाउने गर्छन्। कार्टर सेन्टरका कर्मचारीले सजिलै राष्ट्रपति, प्रधानमन्त्री र सरकारका उच्च पदाधिकारीलाई भेट्छन्। उनीहरूले भेट्नेमात्र हैन, कार्टरसँग पनि भेटाउँछन्। यस्तो भेटघाटको व्यवस्था परराष्ट्र मन्त्रालयमार्फत् हुनुपर्ने प्रावधानलाई कसैले पालना गर्दैन। राम्ररी खोजतलास गर्ने हो भने कार्टर सेन्टरको अवैध क्रियाकलापलाई सघाउने पनि सरकारी अधिकारीहरू नै फेला पर्नेछन्। यसरी कानुन मिच्नेहरू अधिकांशले विधिको शासनको पैरवीका लागि पैसा पनि दिन्छन्। नागरिकमा छापिएको एउटा लेखमा सीके लालले लेखेजस्तै संसारभरको पापको कमाइ (कालो धन) थन्क्याउने र लुकाउन सघाउने मुलुकले नेपालीलाई पारदर्शिताको उपदेश दिन्छ। हुन पनि, हामी त्यस्तै पाखण्डलाई राष्ट्रिय विकासको मन्त्र र सूत्र ठान्दै थपडी बजाउँछौँ। कार्टर सेन्टरकै कुरा गर्ने हो भने पनि वैधता नभएको क्रियाकलापमा सामेल हुने र कतिपय अवस्थामा लाभ पनि लिने सरकारी पदाधिकारीमाथि कारबाही हुनुपर्ने हैन? नेपाली सञ्चारकर्मीहरूले पनि यस्ता विषयलाई उठाउने गरेको देखिँदैन। समस्या यसैले दोहोरिइरहन्छ। केही दिनभित्रै कार्टर सेन्टरको क्रियाकलापलाई वैधता दिन सरकारी निकायबीच तँछाडमछाड हुनेछ। ( सके त, यो प्रक्रिया सुरु नै भइसकेको होला। ) कार्टर सेन्टरको क्रियाकलाप यसैले रोकिने छैन।
कार्टर सेन्टरको वैधतामा प्रश्न उठेका बेला पुरानो एउटा प्रसंगको सम्झना भयो। नेपालमा फिनल्यान्डको प्रतिनिधित्व त्यति बेला फिनिडाले गर्थ्यो। फिनिस संसद्ले नेपालमा खर्च गरिएको सहयोगको लेखापरीक्षण गर्न टोली पठाएछ। त्यस्तो सहयोग गैरसरकारी संस्थामार्फत् पनि परिचालित गर्नुपर्ने उनीहरूको नियम रहेछ। त्यही क्रममा त्यो टोली समाज कल्याण परिषद्मा पनि आइपुग्यो। फिनिस सहयोग गैरसरकारी संस्थाले पाएको कुनै जानकारी समाज कल्याण परिषद्मा थिएन। मैले त्यही बताएँ। एउटा कुटुला भन्ने संस्थाले नेपाल बाल संगठनलाई सहयोग गर्ने सम्झौता गरेको थियो तर बीचैमा त्यसले कार्यक्रम अलपत्र पारेर छाडिसकेको थियो। गैरसरकारी संस्थालाई दिइने वैदेशिक सहयोगका लागि समाज कल्याण परिषद्को स्वीकृति आवश्यक हुने कानुनी प्रावधान भएको जानकारी दिएपछि टोलीका सदस्य छक्क परे।
टोलीको प्रतिवेदनमा मलाई उद्धृत गर्दै त्यही बेहोरा लेखिएछ। फिनिडाको त्यस्तो खर्च बेरुजु भएछ। फिनिस संसद्ले केही प्रतिशत वैदेशिक सहयोग गैरसरकारी संस्थामार्फत् खर्च गर्नुपर्ने नियम बनाएपछि फिनिडाका केही नेपाली कर्मचारीले हतारमा संस्था दर्ता गरेछन् र त्यही गैससलाई पैसा दिएछन्। फिनिडाले दिने पैसामा नेपालको कानुन मान्ने झन्झट किन बेसाउनु भन्ने ठानेर उनीहरूले कानुन मिचेका रहेछन्। बेरुजु देखिएपछि हतारमा रकमी उपाय निकालिएछ। वैदेशिक सहयोग स्वीकृत गर्ने अर्थ मन्त्रालयको स्वीकृति लिने र फिनिस संसद्को टोलीलाई त्यही जानकारी दिने। अर्थ मन्त्रालयमा बैठक भएछ। बैठकको एजेन्डामा 'गैरसरकारी संस्थामार्फत् सहयोग परिचालन' भन्ने विषय पनि राखिएछ तर त्यसमा छलफल भने भएनछ। बैठकको निर्णय (एग्रिड माइन्युट) फिनिडाले तयार गरेर पठायो। निर्णयको एउटा बुँदामा यति रकम यतिवटा संस्थामार्फत् परिचालन गर्ने पूर्वसहमतिअनुसार काम भएको जानकारी दिइयो भन्ने प्रकारको बेहोरा उल्लेख भएछ। अर्थ मन्त्रालयमा निर्णय आयो र त्यसलाई फाइल गरेर राखियो।
ढाँटेको कुरा काटे मिल्दैन भन्ने उखान चरितार्थ भएछ फिनिडाको माइन्युटमा। लेखापरीक्षण टोलीले समाइहाल्यो। निर्णयमा लेखेको पैसाको अंक र संस्थाको संख्या दुवै मिलेनछ। अनि सहमति भएको भनेको पहिलेको बैठकको मिति संसदीय टोली आउनुभन्दा पनि पहिलेको परेछ। पहिले सहमति भएको भए किन उति बेला जानकारी नदिएको भनेर र्‍याख्र्‍याख्ती पारेछ लेखापरीक्षण टोलीले। सन् १९९३ तिरको घटना हो यो। अहिले पनि त्यस प्रकारको अभ्यासमा खासै परिवर्तन भएको छैन। कार्टर सेन्टरको अवैध क्रियाकलाप त यसैको निरन्तरतामात्रै हो।

दाहालको सगुफा

माओवादी अध्यक्ष दाहालको चीन भ्रमणलाई नेपाली सञ्चार माध्यमले अलि बढी नै उजागर गरेको देखियो। हुन पनि अहिले अलिकति 'खाइलाग्दो' नेता दाहाल नै छन्। त्यसमाथि 'महाचीन' ले पनि भाउ दिएको! भारतले पत्याएको! अनि त उनका पछि ताबेदारको हुल हुनु के आश्चर्य भयो र? चिनियाँ नेताहरूसँग उनले के के कुरा गरे उनीहरूबाहेक अरूले थाहा पाउने कुरा त भएन। चिनियाँतर्फबाट खासै जानकारी दिइएको छैन। यस्तो व्यक्तिगत भेटघाटकोे भित्री कुरा भन्ने चलन पनि हुँदैन। यसैले दाहालको चीन सयरको प्रचार जसरी मन लाग्छ, त्यसरी नै गर्ने सुविधा छ। चुनाव भइहाल्यो भने माओवादीले यसलाई चुनावमा भजाउने प्रयास गर्नेछन्। तिनले माओवादीलाई भोट दिए चीनले सहयोगको ओइरो लगाउँछ भन्ने 'सगुफा' छाड्नेछन्। जनताले भने तिनको सगुफा सुनेपछि लुम्विनीसम्बन्धी प्रचारवाजी पक्कै सम्झनेछन्। चीनले भ्रमणका लागि चारै दलका नेतालाई बोलाउँदैछ भन्ने प्रचार पनि गरिएको छ। बोलाउला पनि। चीनका नेताहरूले पछिल्ला दिनमा आक्रामक कूटनीतिक अभ्यास जो रोजेको देखिएको छ। यसैले दाहालको भ्रमणलाई स्वाभाविक र सहजरूपमा वर्णन गरिएको भए र उनले पनि नेपालको आर्थिक विकासको ठूला कुरा नगरेकै भए बढी सार्थक र उपलब्धिमूलक हुने थियो। 
जे होस्, दाहालको सयरले अरू नेता र तिनका पछुवाहरूको मुख रसाएको हुनुपर्छ। अतिथि सत्कारमा चिनियाँ र जापानीहरू सबैभन्दा प्रख्यात् छन्। त्यसमा पनि चीनको सत्कार पाउनेहरू त भाग्यमानी नै हुन्। नेपालीको दुर्दिन र दुर्दशाका कारकहरू चीनको सत्कारका हकदार हुन जो पुगेका छन्।

Saturday, April 20, 2013

  
ओत लाग्ने न हो ः तिलंगाटार प्रहरी चौकी नजिकै ह्युम पाइपलाई कसैले स्थायी वासस्थान बनाएजस्तो छ । आज िबहीबार दिउसोँ त्यहाँ मान्छे त थिएनन्  तर बस्ने गरेको स्पष्ट छनक पाइन्थ्यो ।
 रहरको खेती ः सामाखुसी खोलाको किनारमा खाली ठाउँमा सानो सुर्की बनाएर लगाइएको मकै । के थाहा गाउँमा कतै यी मकै खेती गर्नेको भित्री बारी पनि बाँझै पो छ कि 


इमानदार साथी ः कुकुर र प्रहरी जवानहरूसँगै  कबाज खेल्दै । रानीबारीमा िबहीबार िबहान ८ः३० बजेतिर ।








साझाको साख

साझा यातायात पुनः सञ्चालनका दिन भव्य उद्घाटन कार्यक्रमको साक्षी बसे पनि सेवा प्रयोग गर्न साता दिन लाग्यो। कहिले घरबाहिरै निस्किइएन भने कहिले साझा बसमा चड्ने मौकै मिलेन। गएको मंगलबार श्रीमतीको नियमित स्वास्थ्य परीक्षणका लागि त्रिपुरेश्वर जाँदा चड्ने प्रयास गरेको रुटको जानकारी नभएका कारण मिलेन। हिजो शुकबार नातिलाई साझा पनि चडाउँछु आँखा जँचाउँदा साथी पनि हुन्छ भनेर त्रिपुरेश्वरबाट गोंगबु फर्कने बेलामा चड्न खोजेँ। अलमल भयो। त्रिपुरेश्वरमा गोँगबु आउने बस रोक्ने ठाउँ पत्ता लगाउन नसक्ता बस छुट्यो। एक जनालाई सोध्दा माथि रोक्छ भने। उतै गइयो। निधो गर्न अर्कालाई सोधेको बोल्दा नोक्सानै पर्ने जस्तो गरे। यस्तैमा बस कटिहाल्यो। टेलिकमको अफिस नजिकै रोक्ने रहेछ। स्टप लेखिएको संकेत भने भेटिएन। त्यहाँ २० मिनेटजति पर्खँदा पनि बस आएन। नातिले जिस्क्याउन थाल्यो। गोंगबु आउने माइक्रो बस चढ्न कुस्ती नै खेल्नुपर्छ। यसैले सफा टेम्पोमा लाजिम्पाट ओर्लेर रानीबारीको बाटो घर आइयो।

(करिब ४ दशक पहिलेको अनुभव दोहोरिएजस्तो भयो। म सात दोबाटोस्थित महेन्द्र आदर्श विद्यालयमा साँझ दुई घन्टा पढाउँथे। डेरा थियो काठमाडौं इटुम्बहालमा। लगनखेलबाट साझा रत्नपार्कसम्म चल्थ्यो। म सात दोबाटोबाट ६ बजे फकन्थेँ। लगनखेल आइपुग्दा ६ः१५ जति हुन्थ्यो। बस नभेटेपछि म हिँड्थे। बाटाबाट चडौँला नि भनेर। बीच बाटामा बसले उछिन्थ्यो। म अर्को बिसौनीमा चडौँला भनेर हिँड्थेँ। धेरै जसो त यसो गर्दा गर्दै कुप48डोल पुगिन्थ्यो। रत्नपार्क ओर्लेर इटुम्बहाल आउनुभन्दा सोझै त्रिपुरेश्वरको बाटो जान सजिलो लाग्थ्यो र म हिँडेरै इटुम्बहाल पुग्थेँ। भोलिपल्ट फेरि उस्तै।)

आज शनिबार पनि स्वास्थ्य परीक्षणकै क्रममा त्रिपुरेश्वर जानु थियो। आज त साझा चडेरै छाड्छु भन्ने अठोट गरेँ। गोँगबु चोकको बस बिसौनीमा चक्रपथ बाहिर साझा पर्खेर बसेँ। साझा कहाँ रोक्छ भनेर सोध्दा त्यहाँ सानो बोर्ड भएको थाहा भयो। हेर्न गएँ। बाँसमा टाँसेको सानो संकेत पाटी रहेछ। केही बेर ( १० मिनेट जति) पर्खेपछि साझाको हरियो बस आयो। आज त पक्कै साझा चड्ने भएँ भन्ने लाग्यो। तर, हेर्दाहेर्दै बस त नरोकीकनै गयो। लौ जा ! आज पनि बस छुट्यो जस्तो लाग्यो। तर, अलि अगाडि गएर बस रोकियो। दौडँदै गएर बस चडेँ। बिसौनी लेखेको ठाउँमा किन नरोकेको भनेर कन्डक्टरलाई सोध्दा रोकेको थियो भनेर ढाँटे। ड्राइभरले भने अरू गाडीका कारण त्यता रोक्न नमिलेको भने।

महाराजगन्ज नारायण गोपाल चोक हुँदै बस लाजिम्पाटतिर लाग्यो। शिक्षण अस्पताल र बजारमा बस रोकियो तर पानी पोखरीमा बिसौनी सायद थिएन। बिहानै भएकाले बस आधा जतिमात्र भरिएको थियो। बाटामा धेरैले बसलाई कौतुहलपूर्वक हेरेको देखिन्थ्यो। गोँगबुबाट त्रिपुरेश्वरसम्म आउँदा कतै पनि चालकले नियम मिचेको थाहा पाइएन। राम्ररी हाँके। यात्रुहरूले पनि हडबड गरेको देखिएन । चर्को स्वरमा कुरा गरेको सुनिएन।

फर्कँदा पनि साझा नै चड्ने निधो गरेँ। टेलिकम नजिकै धेरै बेर कुर्दा पनि बस आएन। त्यहाँ बिसौनीको संकेत पनि फेला परेन। अनि हिँडेरै माइक्रो बस स्टपसम्म पुगेर फर्केँ।

साझाको सेवाका कारण साख कायम रहेको रहेछ। व्यवशायमा साख कमाउन निकै खर्चनुपर्ने हुन्छ। अरू कम्पनीले साझाकै जत्तिको सेवा दिए पनि विश्वास जित्न थुप्रै समय र पैसा खर्च गर्नुपर्छ। साख गुमाउन भने धेरै बेर लाग्दैन। साझाको प्रवेशले यातायात माफिया आत्तिएको हुनुपर्छ। माफियाले प्रारम्भिक प्रतिक्रिया देखाइसक्यो। यातायात माफियासँग साझाले कल, बल, छल केहीमा पनि जित्न सक्तैन। माफियाले राजनीतिक, प्रशासनिक संरक्षण पाएको छ। पैसा उसैसँग धेरै छ। बाहुबलमा त झन् माफियालाई जित्नै सकिनेछैन। यसैले साझाको शक्ति भनेको यसको साख नै हो। यसैले साख जोगाइराख्न साझा सबैभन्दा बढी चनाखो हुनुपर्छ।

 साझा सहकारी हो र सबैको हो भनेरमात्रै जनताले माया गर्दैनन्। त्यसो हुन्थ्यो भने त एनसेलको प्रयोगै कसैले गर्ने थिएन। सेवाबाटै जनताको मन जित्नसक्नुपर्छ साझाले।  अहिले बस थोरै भएकाले होला १५ -२० मिनेट जति कुनुपर्दो रहेछ। यति लामो समय पर्खने फुर्सद धेरैलाई हुँदैन। यसैले बस थपेर सेवा सुलभ बनाउनेतर्फ ध्यान दिनु उचित हुनेछ। यसैगरी साझा स्टपमा मात्र रोक्छ भन्ने सबैले सहजै स्वीकार गरेका छन्। त्यसलाई व्यवस्थित पनि बनाउनुपर्छ। अति व्यस्त बिसौनीमा साझाको साइनबोर्ड देखिँदैन। अरू सवारीले घुइँचो गर्ने ठाउँभन्दा ५० -६० मिटर फरक गरेर साझाको बिसौनी तय गर्ने हो भने यात्रुलाई सहज हुनेछ।

यस पटक माफियाका सामु साझा टिक्न सकेन भने त्यसको दूरगामी असर पर्नेछ। यातायात क्षेत्रमा स्तरीय सेवा दिने गरी लगानी गर्न कोही पनि तत्पर हुनेछैन। यस्तै, राजधानीको सडक जति नै फराकिलो बनाए पनि आवागमन सुविधाजनक हुनेछैन। साझाको प्रयास यथार्थमा यातायात सुविधामा सुधारको निम्नि चालिएको पहिलो पाइला हो। यसैले साझाको गति रोकिनु हुँदैन।  यातायात व्यवसायीहरूले पनि बुद्धि पुर्‍याउने हो भने सेवामा प्रतिस्पर्धा गर्न खोजे हुने हो। समिति र विभिन्न नामका गिरोहहरूलाई सडक कब्जा गर्न पैसा तिर्नुभन्दा त यात्रुलाई सुविधा दिए राम्रो हुन्थ्यो।

साझा र अरू ठूला बस चलाउने कम्पनीले लामा रुटमा बस चलाउने र माइक्रो बस र टेम्पोहरू भित्री बाटाहरूमा चलाउने हो भने अहिलेको अस्तवयस्तता धेरै घट्ने निश्चित छ। कम्तीमा पार्किङ गरेर उत्तिकै बाटो हिँड्ने सौकिनहरूले गाडी सडकमा ल्याउने थिएनन्। बाध्यताले मोटरसाइकल चड्नेहरूले पनि सुविधा पाउनेछन्। साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले भनेजस्तै निजी गाडीका यात्रु सार्वजनिक यातायाततर्फ आकर्षित हुनेछन्।  उनीहरू थपिए भने काम सबैले पाउने छन् ।

सार्वजनिक यातायातमा मानवोचित सुविधा दिएर यात्रुको मन जित्ने कि गिरोहलाई फूलपाती चढाएर जनतालाई सताउने हो रोज्ने पालो यातायात व्यवसायीकै हो । जनताका पक्षमा लिइने निर्णयमात्र दिगो र अन्ततः लाभदायी हुन्छ । 

Tuesday, April 16, 2013

सन्तुलनको आधार



E-mailप्रशासकहरूको शासनमा चमत्कार हुने अपेक्षा गर्नु उचित थिएन। दैनिक कामकाजमात्रै नियमितरूपमा सञ्चालन भए पनि सन्तोष मान्नुपर्छ। संयोगवश मन्त्री हुन पाएकाहरूले पनि नाम र दामको लोभ नगरी कर्तव्य पूरा गर्न सके त्यसैमा सन्तोष गर्नुपर्छ। यो मुलुकको भविष्य निर्माण र निर्धारण गर्न जनादेशअनुसार गठन भएको मन्त्रिपरिषद् होइन। संविधान सभाको निर्वाचन सकेसम्म स्वतन्त्र र निष्पक्षरूपमा गराउन सके यो प्रयोग सफल भएको मान्नुपर्छ। विडम्बना! यो सरकार बनाउने र सरकारमा जानेहरू कसैले पनि निर्वाचनलाई प्राथमिकतामा राखेको भने अझै देखिएको छैन। सरकारको विरोध गर्नेहरू प्रत्यक्षमा मन्त्रिपरिषद्भन्दा 'चार दलको सिण्डिकेट' को र अप्रत्यक्षरूपमा चुनावविरुद्ध देखिएका छन्। तर, ताजा जनादेशबिना मुलुकले गति लिन सत्तै्कन। मन्त्रिपरिषद् वा चार दलको सिण्डिकेटको विरोध गर्नेहरू जनतामा विश्वास गर्छन् भने निर्वाचनकै विरोध गर्नुको साटो निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने उपाय खोज्नेतिर लाग्नु उचित हमुलुक केही पढे/लेखेका ठालुहरूको पेवा त हैन तर अधिकांश निर्णय तिनैको प्रभावमा हुन्छ। संसारभर यही चलन छ। पुराना र परिपक्व भनिएका लोकतन्त्रहरूमा पनि बहुधा मौन बहुमतको उपेक्षा नै हुने गरेको छ। तैपनि, 'बेलाको बेाली' वा 'भित्ताको लेखाइ' जस्ता शब्दहरू प्रचलित छन् र तिनलाई समसामयिक जनचाहनाको प्रतिध्वनि मान्ने गरिन्छ। सामाजिक सञ्जालका टिप्पणी अब नेपालमा पनि भित्ताका आवाज बन्न लागेका देखिएका छन्। 'अरब जागरण' लगायत्का आन्दोलनहरूमा त सामाजिक सञ्जालको भूमिका महŒवपूर्ण रहेको मानिएकै अहिले सामाजिक सञ्जालमा नेपालका राजनीतिक नेताहरूलाई गम्भीरतापूर्वक लिएको देखिँदैन। त्यसमा पनि नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई त झन् हल्कारूपमा चित्रण गरिएको देखिन्छ। उमेर वा शारीरिक अवस्थाका आधारमा व्यक्ति विशेषलाई उपहासको पात्र बनाउनु सभ्य व्यवहार हैन। तर, सार्वजनिक व्यक्तित्वप्रति भने सञ्चार माध्यम अपेक्षाकृत निर्मम हुँदै आएको छ। सुशील कोइराला पनि अपवाद बन्न सकेका छैनन्। जति नै उल्याए पनि सुशील कोइरालाप्रति सामाजिक सञ्जालमा घृणा प्रकट भएको खासै पाइएको छैन। यो उनका लागि सन्तोष मान्ने विषय हो। अर्थात् सुशील कोइराला टिठ लाग्दा होलान् तर रिस उठ्दाचाहिँ छैनन्। यिनै कोइरालाले आफू संयोजक भएपछि चार दलको 'सिण्डिकेट' टुटाउने घोषणा गरेका छन्। यसमा सफल हुन सके भने नेपालको राजनीतिमा त्यो एउटा कोसेढंुगा सिद्ध हुनेछ। अहिले मूलतः चुनावका विपक्षमा उभिएकाहरूमा मोहन वैद्य र उपेन्द्र यादव प्रमुख छन्। यिनलाई विश्वास दिलाएर चुनावको वातावरण सहज बनाउनु अहिले लोकतन्त्रका पक्षधर सबैको दायित्व पनि हो। सबैभन्दा पुरानो र लोकतन्त्रवादी छवि भएको पार्टीका नेताको हैसियतमा सभापति कोइरालाले गरेको यो उद्घोषप्रति उनी स्वयं र उनको पार्टीका नेताहरू गम्भीर र अविचल रहन सके भने यसले नेपाली कांग्रेसको साख पनि बढाउनेछ। मोहन वैद्य वा उपेन्द्र यादवसँग के कुरामा सहमति गर्ने अर्थात् सिण्डिकेट किन टुटाउने भन्ने विषयमा भने स्पष्ट र पारदर्शी हुनु आवश्यक हुन्छ। चुनाव नगर्न त उनीहरूसँग सहमति गर्नै पर्दैन। लोकतन्त्रका मूल्य र मान्यताविपरीतका तिनका मागमा त नेपाली कांग्रेसका नेता सुशील कोइराला सहमत हुन सकोइनन्। वैद्य वा यादवसँग सहमतिका लागि मूल बुँदा चुनाव गराउने अर्थात् तिनीहरू लोकतान्त्रिक प्रक्रियामा समाहित गर्ने नै हो। यसैले सबैभन्दा पहिले कोइराला उनीहरूका मागप्रति स्पष्ट हुन सक्नुपर्छ। पार्टीलाई त्यसमा विश्वासमा लिनुपर्छ भने जनतालाई त्यसको पूर्ण जानकारी दिनुपर्छ।गिरिजाप्रसाद कोइरालाले दिल्लीमा गएर माओवादीसँग १२ बुँदे सहमति गरे। त्यही सहमति अन्ततः कांग्रेसका लागि आत्मघाती बन्न पुगेको ठहर धेरै कांग्रेसजनले नै गरेका छन्। मुलुकमा व्याप्त हिंसा अन्त्य गर्न भने १२ बुँदे सहमति धेरै हदसम्म सफल भयो। गिरिजाबाबुले बेलाबखत साध्यका लागि साधन, प्रक्रिया र विधिलाई उपेक्षा पनि गरेका छन्। त्यस प्रकारको 'दुस्साहस' बाट देश, पार्टी र व्यक्ति स्वयंमा पर्ने धक्का थेग्न गिरिजाबाबुले सकेका पनि थिए। तर परिस्थिति बदलिएको छ। अब साध्यका लागि साधनको पवित्रताप्रति आँखा चिम्लने अभ्यास गर्न सहज छैन। अर्थात् सुशील कोइराला गिरिजाबाबु बन्न सत्तै्कनन्। बन्न खोज्नु पनि हुँदैन। मोहन वैद्य बलियो भए पुष्पकमलविरुद्ध प्रयोग गर्न सकिएला भन्ने ठानेर तिनलाई बढी सह दिनु हुँदैन। कारण, वैद्यहरू अहिले लोकतन्त्रकै प्रतिवादमा जो उभिएका छन्। उतिबेला माओवादीलाई एमालेको हाराहारीमा उभ्याएर गिरिजाबाबुले गरेको गल्ती दोहोर्या इयो भने त्यो आत्मघात सिद्ध हुनेछ। लोकतन्त्रका मूल्य/मान्यता तथा अभ्यासमा वैद्यलाई बिनासर्त समाहित गराउन सक्नु नै अहिले सुशील कोइरालाका लागि सबैभन्दा ठूलो चुनौती हो।उपेन्द्र यादवले समग्र लोकतन्त्रप्रति वितृष्णा प्रकट गरेका छैनन्। तर संविधान सभाको अधिकार कटौती हुने गरी कुनै सर्त स्वीकार गर्नु लोकतान्त्रिक मान्यताविरुद्ध हुन्छ। यसैले कांग्रेस यस विषयमा पनि पहिले स्पष्ट हुनुपर्छ। कांग्रेस कति लचिलो हुनसक्छ भन्ने स्पष्ट पार्नुपर्छ। कसैसँग पनि संविधानका अन्तर्वस्तुमा सहमति गर्नु उचित र आवश्यक छैन। चुनावमा मिलेर जाने हो भने त्यस्तो शक्तिसँग साझा घोषणापत्र नै बनाए हुन्छ तर जनादेशबिना संविधानको विषयवस्तु टुंगो लगाउने प्रयास गर्नु जनअधिकारमा अतिक्रमण हो। लोकतन्त्रवादीले स्पष्ट भन्न सक्नुपर्छ- जनताले गर्ने निर्णयमा हामी तगारो लगाउन सत्तै्कनौ। नेपाली कांग्रेस जति नै कमजोर भएको भए पनि अझै नेपालको राजनीतिको केन्द्रमै छ। यसैले कांग्रेसले सिद्धान्तविपरीत तुष्टीकरणको नीति अपनाएर बढी लचिलो हुने हो भने चरम दक्षिण वा उग्र वामपन्थीहरूलाई फाइदा हुन्छ। कांग्रेस बढी दाहिने ढल्कियो भने केन्द्रमा कम्युनिस्ट स्थापित हुन्छन्। देब्रे ढल्कियो भने राजावादीहरूले त्यसको ठाउँ ओगट्नेछन्। यसैले कांग्रेसले दुवै पक्षलाई सन्तुलनमा राख्न सक्नुपर्छ। पार्टीको सिद्धान्तमा अडिन सक्नुपर्छ। सम्भवतः नेताको साख र सीप दुवैको कसी पनि यही सन्तुलन कायम राख्ने क्षमता हो। नेपालको राष्ट्रियता र लोकतन्त्रको भविष्य पनि यही सन्तुलनमा निर्भर छ।साध्य र साधन दुवैको पवित्रता तथा लोकतन्त्रका मर्म र भावनामा आघात नपारी अरू विषयमा अत्यन्त लचिलो हुन सक्नुपर्छ। कांग्रेसका नेता शायद सबैभन्दा कम चतुरा छन्। यसैले तिनले चतुर्याोइँ गरेर जित्न सत्तै्कनन्। कांग्रेसको शक्ति सैद्धान्तिक दृढता हो। सुशील कोइरालाको शक्ति उनको सरलता हो। यिनैलाई उनले उभिने आधार बनाउनुपर्छ। अति महŒवाकांक्षाको सिंहमा सवार हुनुहुँदैन। त्यति गर्न सके उनले 'चार दलको सिन्डिकेट' टुटाउन सक्नेछन्। त्यतिमात्र हैन, गैरसंवैधानिक शक्ति केन्द्रजस्तो देखिने यो संयन्त्र लोकतान्त्रिक मूल्य विपरीत छ। यसैले सुशील कोइरालाले चुनाव निश्चित गरेर त्यसलाई पनि भंग वा स्थगित गराउन सक्नुपर्छ। अनिमात्र उनलाई 'गम्भीर नेता' का रूपमा सबैले लिनेछन्।नेपाली कांग्रेसको महासमितिले उल्लेख्य निर्णय गर्न सकेन। तर, यत्तिकै आधारमा कांग्रेसको भविष्य आकलन गर्नु न्यायोचित हुँदैन। अहिले महासमितिको बैठक आयोजना गर्नु र बिनाअवरोध सम्पन्न हुनु पनि आफैँमा उपलब्धि हो। पक्कै पनि कार्यकर्तामा यसबाट जोस थपिएको हुनुपर्छ। यस ऊर्जाबाट संगठन बलियो बनाउने र त्यसलाई निर्वाचनमा प्रयोग गर्ने दायित्व अब नेताको हो। नेताहरूले गुटगत भागबन्डामा गरेको दन्त बजानले कार्यकर्ताको उत्साह मार्ने गरेको देखिएको छ। बाटो पहिल्याउँदा पनि अगाडि बढ्न नसक्नेहरूले मुलुकलाई गति देलान् भनेर जनताले पत्याउँदैनन् भन्ने यथार्थ कांग्रेसका नेताहरूले मनन गर्नु जरुरी छ।

Monday, April 15, 2013

जनभोजनकै गुणगान

 



यस पटक पनि जनभोजनमा जाने मौका अमेरिकी मित्र ब्रुस केनानले नै जुराएका हुन्। गएको वर्ष जाँदा त्यहाँ फेरि आउने र मिले रात बस्नै गरेर पनि आए हुन्छ भन्ने निम्ता पाएको थिएँ। बस्दै आउने वचन पनि दिएको थिएँ। काठमाडौं फर्केपछि त्यस्तै त हो। म काम र धाम नभएको मान्छेलाई समेत फुर्सद नहुने रहेछ। कहिले अल्छी लाग्ने, कहिले बिर्सने र कहिले समय नमिल्ने भइरहेको थियो। ब्रुस नेपाल आएका बेला एक पटक त्यहाँ पुग्छन्। उनी त प्रेमी पनि हुन् रे ( जनभाेजनका परिकल्पनाकार प्रेम रावतका अनुयायीलाई उनीहरू प्रेमी भन्दा रहेछन्।) अमेरिकामा मुख्यालय रहेको  फाउन्डेसनमा ब्रुस पनि सक्रिय रहेछन्। ब्रुसले नै गाडी भाडामा लिएका रहेछन्। म पनि नकच्चरो भएर पत्नी र नातिलाई समेत लिएर टोलीमा मिसिएँ।  जनभोजनका बारेमा मैले गएको वर्ष केही लेखेको थिएँ। त्यो त्यहाँका कार्यकर्ताले दिएको जानकारीमा आधारित थियो। 

विकाससँगको ४५ वर्षजति लामो संसर्गबाट आफूले पाएको अनुभव पनि त्यस टिप्पणीमा सामेल थियो। यसपटक चाहिँ म त्यहाँका सेवाग्राही (लाभान्वित समूह)सँग भएको कुराकानीमै केन्द्रित भएको छु।  उनले आफ्नो नाम साइँली बल तामाङ भनेकी थिइन्। छोरीको नाम चाहिँ विमला लामा। ( दुई पुस्ताबीच नाममा पनि ठूलै अन्तर भइसकेछ। राजनीति गर्नेहरूले जति नै पहिचानको नारा चर्काए पनि पछिल्लो पुस्ता बिस्तारै धुलमिल हुँदै गएको छ। 'संस्कृतीकरण' भन्छन् क्यार समाजशास्त्रीहरू ! 
आमा छोरी दुवै जना जनभोजनका बारेमा अनुभव बताउन तयार भए। आमाले भनिन् - जनभोजनले गर्दा उनले छोरीलाई सधैँ स्कुल पठाउन सकेकी हुन्। छोरालेे एसएलसी पास गर्नुमा पनि जनभोजनको सहयोग छ रे। उनका अनुसार छोराछोरीको खानाका लागि चिन्ता गर्नु नपरेपछि उनले छोरालाई नौबीसेसम्म पठाएर पनि ट्युसन पढाउन सकिन्। नत्र, तिनलाई खाना खुवाउने पैसा र समय जोहो गर्न उनलाई धौ धौ हुन्थ्यो र छोरीलाई नियमित विद्यालय पठाउन झन् गाह्रो हुन्थ्यो रे। छोरालाई ट्युसन पढाउन नराखेको भए एसएलसी पास नहुन पनि सक्थ्यो। यसैले उनलाई जनभोजन मन पर्छ रे। 
विमलाले भने आमाको भनाइमा सही थाप्नुबाहेक खासै केही भनिनन्। जनभोजन नभए आफ्नो पढाइ बिथोलिने थियो भन्ने चाहिँ तिनलाई पनि लागेको रहेछ।  
साइँलीले जनभोजनको फाइदाका बारेमा अर्को जानकारी पनि दिइन्। उनका अनुसार जनभोजनमा नआउँदासम्म छोरी अलि खियाउटी थिइन् रे। घरमा सधैँ एकै प्रकारको खाना खाने चलन भएकाले अन्न, सागपात, गेडागुडी र हरियोपरियो मिलाएर खाने बानी थिएन। जनभोजनको खानामा भने सबै कुरा मिलाएको हुन्छ। यसले केटाकेटी खाइलाग्दा हुँदै गएका छन्। अचेल उनीहरू बिरामी उति हुँदैनन्। घरमा समेत पाए र पुगे सबै कुरा मिलाएर खाने बानी पर्दै गएको छ रे ।

 विकासको परिभाषा विशेषज्ञका लागि यत्तिमात्रै नहोला तर मलाई भने यति जान्नु र मान्नु विकासको जग हो जस्तो लागेको छ। साइँलीले मुलुकको योजना बनाउन पाए पक्कै पनि शिक्षा, भोजन र प्रकारान्तरले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने थिइन् होला। 

जनभोजन थालिएको चार वर्षमात्र भयो । छोटै अवधिमा त्यस कार्यक्रमले प्रभाव देखाउन थालेको छ। हुनत, यस्तो सदावर्त कहिल्यै बन्द गर्नु पर्दैन। तर, त्यसको समाजको उन्नतिमा प्रत्यक्ष प्रभाव पर्ने भने केही वर्षपछि कम हुनेछ। अहिले जनभोजन खाएर पढ्न गएको 'खाइलाग्दो' पुस्ताले आर्जन गर्न थालेपछि तिनका सन्तानले घरैमा सन्तुलित भोजन पाउनेछन्। पेट भोको भएकै कारण तिनले स्कूल छाड्नु पर्ने छैन। अर्थात्, गरिबीको चक्र तोडिनेछ।  गरिबी निवारणका लागि यस्तै उपाय बढी फलदायी हुँदारहेछन्।

 विडम्बना, राज्य सञ्चालनमा हर्ताकर्ता हुन पुगेकाहरूले भने यस्ता साना काममा ध्यान दिने फुर्सद बिरलै पाउँछन्।