Saturday, April 13, 2013

साझा बसमा जो पनि चड्दछ !




साझा बस
सँग कुनै बेला काठमाडौंको पहिचान जोडिएको थियो । त्यसलाई पुनः िबउँताउने प्रयासको साक्षी बसियो आज ।  सहकारी व्यवस्थापनमा सञ्चालित हुने साझा बसको आज शनिबार उद्घाटन गरियो । बैशाख १, २०७० बाट १६ वटा बसले २ रुटमा िनयमित सेवा दिने जानकारी दिइएको छ ।









 साझालाई माया गर्ने धेरै रहेछन् । संस्थापक अध्यक्ष िवश्वबन्धु थापा समेत आशीर्वाद दिन आइपुगेका थिए । ( उनलाई मञ्चमा राखिएको भए कार्यक्रमको गरिमा झन् बढ्थ्यो होला ) 



अहिले यहाँको सार्वजनिक यातायात व्यवस्था काठमाडाैंको कलंकका रूपमा रहेको छ। जनसंख्या बढ्ने सार्वजनिक यातायातका सवारी सभधन चाहिँ सानो बनाउने सरकारी नीतिले अहिलेको बेथिति र असुविधा उत्पन्न भएको हो । साझा बस चलाउने प्रयासमा कसैले भाँजो हालेन भने यसबाट सहरको यातायात समस्या समाधान गर्न पक्कै सहयोग पुग्नेछ । विध्वंशमा गौरव मान्नेहरूको रजाइँ भएका बेला िकचलो हुँदैन भनेर ढुक्क हुन जो सकिँदैन ।
साझा बसलाई बिउँताउन कनकमणिजी लगायतले गरेका प्रयासको कार्यक्रममा पनि सराहना भएको थियो । यो सबैको साझा हो भन्ने ठानेर सबैफे यसलाई माया गर्ने  र व्यवस्थापन अव्यवस्थित नहुने हो भने काठमाडौंका लागि नवोदित साझा वरदान िसद्ध हुनसक्छ । 
नयाँ वर्षमा महानगरवासीलाई  यसभन्दा राम्रो उपहार के होला र ?

Tuesday, April 9, 2013

स्कुलकै अगाडि भट्टी !




यो तस्बिर रानीबारी चोकबाट गोंगबु आवास क्षेत्रभित्र पस्ने बाटामा खिचिएको हो। चोकैबाट पस्ने बाटामा एउटा विद्यालय छ। त्यो विद्यालयको पर्खालमा सेतो रंगको भुइँमा केही चित्र लेखिएका छन्। त्यसको ठीक सामुन्ने रातो पोतेको भित्ता देखिन्छ। सँगै भित्रपट्टि सुगा रंगको भित्ता पनि देखिएको छ।  भित्तामा रातो रंग पोत्दै गरेका मजदुरले दिएको जानकारीअनुसार त्यहाँ कोलाकोलाको विज्ञापन लेख्ने तयारी गरिएको हो। त्यो पर्खालभित्र एउटा भट्टी (रेस्टुराँ) पसल खोल्ने तयारी पनि गरिएको छ। केही दिनमा खुल्ला पनि। 

विद्यालयको सामुन्ने भट्टी पसल खोल्न दिन नहुने हो। यसले त्यहाँको वातावरण पक्कै बिगार्छ। त्यसो त आवास क्षेत्रभित्रै भट्टी खोल्नै नदिए अझ राम्रो हुन्थ्यो।  कोकाकोला मानव स्वास्थ्यका लागि विषै तुल्य प्रमाणित भइसकेको छ। त्यसको विज्ञापन पनि यसरी विद्यालयकै सामुन्ने लेख्न नदिनुपर्ने हो। सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने हो। सरकार भए नभएकौ थाहै छैन ।

सञ्चार माध्यमले पनि यस्ता विषयलाई खासै उठाउँदैनन्। कोकाकोलाजस्ता कम्पनीले विज्ञापनका नाममा करोडौँ रुपियाँ प्रचारप्रसारमा खर्च जो गर्छन्।  
विद्यार्थी संगठनहरूले यस्ता विषयलाई उठाउनु पर्थ्यो। तर, विद्यार्थी राजनीति त बाहुबल प्रदर्शन र प्रचारवाजीमा सीमित छ। विद्यालयको नाममा आपत्ति गर्नेहरूलाई यस्ता विषय उठाउने बुद्धि आओस् पनि कसरी?  

धेरै वर्ष पहिले भृकुटी मण्डपमा लाउड स्पिकर बजाउन र मेला लगाउन नदिने निर्णय गरिएको थियो। भृकुटी मण्डप उति बेलाको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् हालको समाज कल्याण परिषद्लाई सरकारले दिएको हो। त्यहाँ २०४९ सालसम्म पनि विभिन्न स्टलहरूमा अनेकौँ प्रकारको जुवा खेलाउने, तमासा देखाउनेले कब्जा जमाएका थिए। मेलाका नाममा लाउड स्पिकरमा गीत घन्काइन्थ्यो। सडकको वल्लोपट्टि लहरै कलेज छन्। भृकुटी मण्डपमा बज्ने चर्को गीतले पढाइमा बाधा पुग्थ्यो। म समाज कल्याण परिषद् मा काम गर्थेँ। मलाई त्यो मेला बन्द गर्न पाए हुन्थ्यो भन्ने लाग्यो। तत्कालीन व्यवस्थापन र प्रशासन दुवैको साथ पाएँ। त्यहाँ लाउड स्पिकर बजाउन र जुवातास खेलाउन नपाउने प्रकारान्तरले मेला लगाउन नदिने निर्णय भयो। 

यस्तै, प्रदर्शनीका लागि बनाइएको हलमा भिडियो देखाउन पनि बन्द गराइयो।   त्यसको अर्को वर्ष सरकार बदलियो। नयाँ व्यवस्थापनले मेलैका लागि भृकुटी मण्डपको जग्गा एउटा संस्थालाई दियो। त्यसपछि त झन् त्यहाँको जग्गाको अपचलन गर्ने क्रम रोकिँदै रोकिएन। बाबुरामका पालामा त झन् त्यो सम्पूर्ण परिसरै बेच्ने ( लामो लिजका नाममा) तयारी भएको सुनेको थिएँ। निर्णय हुन भ्याएन क्यारे !  
विद्यालय वरपर जात्रा लगाउने, भट्टी पसल खोल्नेजस्ता शैक्षिक वातावरण बिगार्ने क्रियाकलाप रोक्ने दायित्व सरकारको हो। नागरिक समाजले विशेषगरी शिक्षाका क्षेत्रमा काम गर्छौँ भन्नेहरूले पनि ध्यान दिनुपर्ने हो। विडम्बना, कसैले पनि यसमा ध्यान दिएजस्तो लागेन। 

समाज कल्याण परिषद्ले पहिले थालेको राम्रो कामले पनि निरन्तरता पाएन। दुःख लागेको छ।  यो तस्बिरको बाटो दिनहुँ हिँड्नुपर्छ । मनमा सधैँ चस्स बिझ्छ होला ।

११ अप्रिल २०१३
नभन्दै कोकाकोलाको विज्ञापन भित्तामा लेखी हालेछन् । पापीहरू !

पाखण्ड हेरौँ त ! स्कुलको अगाडि विषको प्रचार गर्ने अनि गाडी चाहिँ बिस्तारै हाँक्नु रे ! कति न नानीहरूको मायाले भुतुक्कै भएजस्तो !


महासमितिको दायित्व


नेपाली कांग्रेस अहिले सिद्धान्त र व्यवहार दुवै कसीमा विफल देखिन पुगेको छ। स्थापना कालदेखि कांग्रेस लोकतन्त्रप्रति निष्ठावान् थियो र यो निष्ठा धेरै हदसम्म सिद्धान्त र व्यवहार दुवैमा प्रकट हुने गरेको पाइन्थ्यो। दोस्रो जनआन्दोलनपछि भने लोकतन्त्रप्रतिको निष्ठामा समेत कांग्रेसले सम्झौता गर्न थाल्यो। आफ्नो पहिचान र प्रकृतिविपरीतका सम्झौताले कांग्रेस अहिलेको स्थानमा झरेको हो। 

नेपाली कांग्रेस लामो समयसम्म नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय बनेको थियो। यसैले नेपालमा सबै सफल लोकतान्त्रिक आन्दोलन कांग्रेसकै नेतृत्वमा भएका हुन्। संविधान सभाको निर्वाचनपछि भने कांग्रेस मुलुकको राजनीतिमा मियो बनिरहन सकेन। त्यसपछि खस्कन थालेको कांग्रेसको साख पुनः स्थापित हुन सकेको छैन।
कांग्रेसका नेताले विगतमा अत्यन्त प्रतिकूल परिस्थितिमा पनि सिद्धान्तसँग सम्झौता गरेनन्। लोकतन्त्र र राष्ट्रियताका पक्षमा अविचल निष्ठाकै कारण पटकपटक कांग्रेसलाई नेपाली जनताले मत र साथ दिएका हुन्। माओवादीको हिंसात्मक विद्रोह समाप्त पार्न कांग्रेसले अगुवाइ गर्नुपर्थ्यो। तर त्यसैका लागि सिद्धान्तसँग सम्झौता गर्नु आवश्यक र उचित थिएन। संविधान सभाको निर्वाचनपूर्व माओवादीलाई दिइएको अनुचित छुट अन्ततः कांग्रेसका लागि आत्मघाती हुन पुग्यो। कांग्रेस नेतृत्वकै सरकारले विधिको शासनको मर्ममा प्रहार हुन दियो। त्यसको परिणाम निर्वाचनमा देखियो। संविधान सभामा पनि कांग्रेसका नेताले नेतृत्व क्षमता देखाउन सकेनन्। कतिपय अवस्थामा त तिनीहरू सस्तो प्रहसनका विदूषकजस्ता देखिए। यसैले महासमितिमा तिनको चर्को आलोचना हुनु स्वाभाविकै हुन्छ। तर, तिनको आलोचनामा समय खेर फाल्नुभन्दा महासमितिले अग्रगामी मार्ग निर्देश गर्न सकेमात्र फलदायी हुनेछ। अहिलेको नेतृत्व पंक्तिमा आलोचना सुनेर सुध्रने प्रवृत्ति पनि त छैन।
छिमल्नेलाई पनि छहारी 
जति नै कमजोर भए पनि नेपाली कांग्रेसबिना संविधान बन्न सक्ने रहेनछ। माधवकुमार नेपालको सरकारबाहेक अरू मन्त्रिपरिषद्मा कांग्रेस सहभागी थिएन। पुष्पकमल दाहाल र झलनाथ खनाल सरकारको त संविधान सभामा दुई तिहाइ बहुमत थियो। नेपालको अन्तरिम संविधान, २०६३ अनुसार दुई तिहाइ बहुमत भए संविधान पारित हुन सक्थ्यो। तर बनेन। कांग्रेसले मुलुकको लोकतान्त्रिक मूलधारको प्रतिनिधित्व अहिले पनि गर्छ। दुर्भाग्य, त्यो मूलधारको प्रतिनिधित्व धान्न सक्ने नेतृत्व कांग्रेसमा भएन। यसैले कांग्रेसकै वैशाखीमा अडिएकाले समेत पार्टीलाई 'बूढो गोरु' भन्ने आँट गर्न थालेका छन्।
नेपाली कांग्रेसको विगत मूल प्रवृत्ति प्रतिक्रियात्मक होइन। यसैले अरूले के भने भनेर कांग्रेसजनहरू नअलमलिने अपेक्षाचाहिँ अझै गर्न सकिन्छ। अहिले ताक पर्नेबित्तिकै कांग्रेसलाई छिमल्न उद्यत कृतघ्नहरूलाई समेत अन्ततः कांग्रेसकै छहारीमा ओत लाग्नुपर्ने हुन सक्छ। नेपालको राजनीतिमा यस्ता धेरै उदाहरण छन्। सबैभन्दा धेरै नेपाली कांग्रेसका कार्यकर्ता मार्ने माओवादी पनि कांग्रेसकै आडमा मूलप्रवाहमा आउन सकेको हो। माओवादीलाई मूल प्रवाहमा ल्याउन कांग्रेसले पहल नगरेको भए मुलुकले थेग्नै नसक्ने विध्वंश हुन्थ्यो होला तर माओवादीले चुनाव जितेर सत्तामा पुग्ने मौकाचाहिँ पाउने थिएन। यसैले पार्टीको इतिहास र गरिमाअनुरूप महासमितिले लोकतन्त्रका पक्षमा आउनसक्ने सबै शक्तिलाई समेट्ने निर्देश नेतृत्वलाई दिनुपर्छ। कांग्रेसको छहारीमा अझै सबै अटाउन सक्ने सन्देश प्रवाह गर्नुपर्छ। आवश्यक देखिएमा आउने चुनावमा लोकतन्त्रवादी शक्तिलाई संगठित र एकत्रित गर्ने पहल गर्न महासमितिले निर्देश दिनु उचित हुनेछ।
अग्रगामी क्रियाशीलता 
स्थापनापछिका ७ दशकसम्म नेपालको राजनीतिको केन्द्रमा नेपाली कांग्रेस रह्यो। अरूले कांग्रेसको पक्ष वा विपक्षमा प्रतिक्रिया देखाए। यस्तै, नेपालमा अधिकांश आर्थिक-सामाजिक आन्दोलनमा पनि कांग्रेसले नै अगुवाइ गरेको हो। आफ्नै सरकारका विपक्षमा समेत कांग्रेसका नेता/कार्यकर्ताले आन्दोलन गरेका थिए। अहिले भने कांग्रेस सुस्त देखिन थालेको छ। अरूको पछि लागेको छ। न्यायका पक्षमा हुने आन्दोलनमा समेत कांग्रेसका नेता संवेदनहीन रहेका छन्। उदाहरण धेरै होलान्। यहाँ दुईवटामात्र उल्लेख गरौँ। यी उदाहरणमात्र हेर्दा पनि अहिलेको कांग्रेसले न्यायका पक्षमा उभिने मौलिक चरित्र अर्थात् 'स्वधर्म' गुमाउँदै गएको देखिन्छ।
क्यासिनोमा झगडा हुँदा केन्द्रीय समितिले उपसमिति बनायो तर शारदा भुसाल वा अकुपाइ बालुवाटार आन्दोलनप्रति स्पष्ट धारणासम्म सार्वजनिक गरेन। यी दुवै आन्दोलन मामुली तिनलाई लागेको होला। तिनको आयाम पनि सीमित छ। तर अहिंसात्मक उपायबाट न्याय खोज्ने प्रयासलाई लोकतन्त्र पक्षधरहरूले प्रोत्साहन नगर्ने हो भने हिंसात्मक पक्षलाई लाभ हुनेछ। लोकतन्त्र बलियो बनाउन यस्ता प्रयासलाई कांग्रेसले नैतिक समर्थन दिनुपर्थ्यो। माओवादीभन्दा अलग्ग देखिन पनि कांग्रेसले अहिंसात्मक आन्दोलनको पक्ष लिनैपर्छ। केन्द्रीय समितिमा 'तर्बुजा कांग्रेस' प्रभावशाली छन् भन्दैमा महासमितिले पनि त्यही प्रवृत्ति अपनाउनु उचित हुँदैन। स्मरणीय छ, भारतको पश्चिम बंगालबाट कम्युनिस्ट शासन हटाउन तर्बुजाहरूले सकेका थिएनन्। कारण, तिनीहरू भित्र राता जो थिए।
महासमितिबाट मार्गनिर्देश
युगको अपेक्षा पूरा गर्नसक्ने नेतृत्व भएको भए महासमितिका सदस्यले नीति निर्देश गर्नुपर्ने थिएन। यसैले नेतृत्वको कमजोरी महासमितिले पूरा गर्न सक्नुपर्छ। नत्र, कांग्रेसको भविष्य समाप्त हुनेछ। संघीयता, राष्ट्रियता, जनजीविकाका सम्बन्धमा महासमितिले स्पष्ट निर्णय गर्नु आवश्यक देखिएको छ। राष्ट्रियता र लोकतन्त्रलाई अलग्याउन सकिँदैन भन्ने बीपी कोइरालाको मान्यता अझै पनि उत्तिकै मान्य छ। कांग्रेस नेपालको राष्ट्रियताप्रति संवेदनशील हुन्छ तर 'राष्ट्रवाद' का नाममा जनअधिकार कुण्ठित हुन पनि दिँदैन भन्ने यथार्थ महासमितिका सदस्यहरूलाई सम्झाइरहनु पक्कै परोइन। आगामी निर्वाचनमा माओवादी र मधेसी मोर्चाका दलहरूलाई एकै ठाउँमा उभ्याएर नेपालको राष्ट्रियता र लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास हुन सक्छ। नेपाली जनताले कसैको इसारामा भोट हाल्दैनन्। यत्ति हो- यस्ता कुत्सित प्रयास बेलैमा रोक्न सक्नुपर्छ र कांग्रेसभित्रका पञ्चमांगीलाई पनि कार्यकर्ताले चिन्नुपर्छ।
संघीयता सम्बन्धमा
संघीयता नागरिकलाई शासनमा बढी सहभागी र निर्णायक बनाउन आवश्यक परेको हो। व्यक्तिलाई बलियो बनाउने शासनका पक्षमा उदार लोकतन्त्रवादीमात्र हुन सक्छन्। अहिले कोही संघीयताको मर्मविपरीत मेचीदेखि महाकालीसम्मको तराईलाई एउटै प्रदेश बनाउने हठ गरिरहेका छन्। कोही जातैपिच्छेको राज्य बनाउने पक्षमा लागेका छन्। यस्तो प्रवृत्ति यथार्थमा संघीयताविरोधी हो। जातका आधारमा प्रदेश विभाजन गरिए नयाँ 'बाइसे चौबीसे' रजौटालाई राज गर्ने अवसरबाहेक अरू उपलब्धि हुने छैन। यसैले कांग्रेसले राष्ट्रियता र लोकतन्त्रका पक्षमा हुनेगरी संघीयताको निर्णय गर्नुपर्छ। कांग्रेसले सही विकल्प दिनसके जनताले त्यसलाई अनुमोदन गर्नेछन्। नेपाली जनताले लोकतन्त्र र राष्ट्रियतालाई महत्व दिँदै जो आएका छन्। मधेसका जनतामा नेपाली राष्ट्रियताप्रतिको निष्ठा मधेसी दलका नेताहरूको जस्तो कमजोर जो छैन।
तराईमा पहाडीले शोषण गरेको प्रचार गरेर मधेसी दलका केही नेताले विद्वेष बीउ रोप्न खोज्दैछन्। यिनको दुर्नियतपूर्ण प्रचार वास्तविकतामा आफ्नो ठेकेदारी कायम राख्ने प्रयासमात्रै हो। पहाडी मूलका व्यक्तिको अपेेक्षाकृत बाक्लो बसोबास भएका जिल्लाहरूको आर्थिक-सामाजिक परिसूचक एकल जातिको बसोबास धेरै भएका जिल्लाहरूको भन्दा राम्रो देखिन्छ। यसलाई विस्तृत अध्ययनबाट पुष्टि गराएर कांग्रेसले जातीय सद्भाव सुदृढ बनाउन प्रयोग गर्नुपर्छ।
आर्थिक-सामाजिक नीति
यस्तै देशको आर्थिक सामाजिक नीति जनताका पक्षमा हुनुपर्छ। कांग्रेसमाथि विगतमा बिरामी र विद्यार्थीलाई करको भारी बोकाएको कलंक लागेको छ। अरू दलले जनताको नाम लिने हुन्, भलो गर्ने हैनन्। कांग्रेस यथार्थमै जनतालाई बलियो बनाउने नीति भएको पार्टी बन्नुपर्छ। विदेशी दाताको इसाराका नीति बनाउनुको साटो राष्ट्रिय अर्थतन्त्रमा दिगो वृद्धि र न्यायपूर्ण वितरणका पक्षमा उभिन सकेमात्र मुलुकको भलो हुनेछ।
केन्द्रका शीर्ष नेताहरूको मूल चरित्रका रूपमा रहेको अन्योल, अकर्मण्यता, संकीर्णता तथा अनुत्तरदायी प्रवृत्ति त्रिवेणीमै विर्सजन गराउन महासमितिका सदस्यहरूलाई सफलता मिलोस्!

Monday, April 8, 2013

स्वयंसेवाको लत


यो संरचना तस्बिरमा देखिएका स्वयंसेवीहरूले नै बनाएका हुन्। दाङ देउखुरीको गंगापरस्पुर गाउँ विकास समितिमा पर्ने चैनपुर उच्च माध्यमिक विद्यालयको कक्षा कोठा निर्माण गर्न यी स्वयंसेवी क्यानाडाबाट आएका हुन्। यस पटक आएका स्वयंसेवकमा ११ जना महिला र एक जना पुरुष िथए । यीमध्ये अधिकांश युवा नै छन्। डेभलपिङ वर्ल्ड कनेक्सन (Developing World Connection ) नामक संस्थाको संयोजनमा यी स्वयं सेवी नेपाल आएका हुन्। 
क्यानाडाको इन्टर कल्चरल वुमन्स एजुकेसनल नेटवर्ल्ड (IWEN) नामक संस्था र क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) मिलेर चैनपुर आसपासका गाउँका केही किशोरीलाई शैक्षिक सहयोग उपलब्ध गराउँदै आएका छन्। यही क्रममा डीडब्लुसीसँग सम्पर्क भएको थियो। थारु समुदायमा मूलतः गरिबीका कारण छोरीलाई कमलरीका रूपमा अर्काको घरमा काम गर्न पठाउने चलन थियो। सरकारले कमलरी राख्ने र बस्न पठाउने कार्यलाई गैरकानुनी र दण्डनीय अपराध घोषणा गरिसकेको छ। तैपनि, फा1ट्टफुट्ट कमलरी राख्न लाने र पठाउने चलन छँदैछ। यसको मूल कारण चेतनाको अभाव र गरिबी नै हो। सीपी र आईवीनले छोरीहरूलाई विद्यालयमा पढ्न पठाए आवश्यक शैक्षिक सामग्री, शिक्षण शुल्कलगायत सहयोग उपलब्ध गराउँदै आएको छ। छोरीहरूलाई विद्यालयमा आउन जान सहज होस् र घरको काममा आमालाई सघाउने समय पनि बचोस् भनेर उपल्लो कक्षामा पुगेकाहरूलाई केही वर्षदेखि साइकल पनि उपलब्ध गराइँदै आएको छ। 
यही क्रममा सीपी\आईवीन छात्रवृत्ति कार्यक्रमबाट सहयोग पाउने छोरीहरू पढ्ने विद्यालयको भौतिक संरचनामा सुधारका लागि सहयोग मागिएपछि कक्षा कोठा बनाउन सहयोग गर्ने निर्णय भएको थियो। गत वर्ष पनि डीडब्लुडी र आईवीनका स्वयंसेवीले कक्षा कोठा बनाएका बनाएका थिए।  यी स्वयंसेवीमा विश्वविद्यालयका प्राध्यापकदेखि सामान्य गृहीणीसम्म हुँदारहेछन्। उनीहरूलाई काम गर्न आउँदा लाग्ने खर्च व्यक्तिगतरूपमा बेहोर्छन्। तिनले काम गर्दा लाग्ने निर्माण सामग्री किन्न र दक्ष श्रमिकलाई ज्याला दिन आवश्यक रकमका लागि प्रतिव्यक्ति चार सय डलरका दरले चन्दा पनि दिन्छन्। अर्थात्, यो निर्माण यज्ञका कर्ता र पुरोहित दुवै उनीहरू नै हुन्। 

यस्ता काममा धेरैपल्ट संलग्न भएका र जीवनमा पहिलो पटक ज्यावल समातेका स्वयंसेवकले देउखुरीको मध्य चैतको चर्को घाममा पसिना बगाएर काम गरेको देख्दा निकै रमाइलो लाग्दो रहेछ। कुनै संरचना तयार भएपछि उनीहरू पनि निकै खुसी हुन्थे। 
 पेसेवर श्रमिकबाहेक अरूले पनि यस्ता काम गर्न सक्ने रहेछन्। साना छरिता घर बनाउन दक्ष श्रमिकको रेखदेखमा शरीरमा बल हुने जोसुकैले पनि अगाडि बढे हुनेरहेछ। यस्तै, छुट्टी मनाउन लाखौँ खर्चेर विदेश जाने नेपालीको संख्या पनि बढ्दै छ। विलासको खोजीमा जानेका लागि त यो विकल्प नहोला तर सन्तोषको चाहना राख्नेहरूले उमेर छँदै स्वयंसेवाका यस्ता विकल्प रोज्नु उपयुक्त हुनसक्छ। नेपाली स्वयंसेवीहरूले त झन् कम खर्चमा बढी काम गर्न सक्छन् होला। कामकाजका सन्दर्भमा सहरमा बसेर केही कमाउन सफल भएकाले पनि आफ्ना जन्मस्थलमा अन्त कतै केही काम गर्नसक्छन्। राष्ट्रिय विकास सेवामा मुलुकको कुनाकाप्चामा पुगेर काम गरेका उति बेलाका विद्यार्थी फेरि त्यहीँ जान र केही गर्न मन लाग्नसक्छ। पुराना साथी भेट्न मन लाग्न सक्छ। 

 के हामी यस्ता कार्यक्रम सञ्चालन गर्न सक्तैनौ? युवा स्वयंसेवीको जमात तयार गर्न सके नेपालको विकासमा पनि योगदान हुनेथियो। स्वयंसेवा पनि एक प्रकारको लत नै त हो। उनीहरूले जिन्दगीभर कुनै न कुनै रूपमा स्वयंसेवामा समय दिने थिए।  

Saturday, April 6, 2013

सत्याग्रहका सय दिन


'अकुपाई बालुवाटार' सत्याग्रह आज १०० दिन पुगेछ। धेरैले नपत्याएको यस सत्याग्रहलाई केहीले त 'डलर खेती'को आरोपसमेत लगाए। सत्याग्रही युवाको अठोट हेर्दा आशा जागे पनि न्यायको खोजीमा गरिएको यो आन्दोलन १०० दिनसम्म चल्ने विश्वास भने मैले गरेको थिइन। अचम्म ! आन्दोलनको सयौं दिनमा पनि यी उत्साही युवा उत्तिकै सक्रिय र सत्याग्रही देखिए। आजको कार्यक्रमको आरम्भमा १०० दिनको समीक्षा गरिएको थियो। महिला हिंसा र दण्डहीनताविरुद्ध राज्यलाई संवेदनशील बनाउन थालिएको यस सत्याग्रहले तत्काल उल्लेख्य उपलब्धि हासिल गर्न सकेन भने पनि नेपालको अहिंसात्मक आन्दोलनमा यसले महत्वपूर्ण स्थान हासिल गरिसकेको छ। यसैले यी युवा सत्याग्रहीलाई धन्य भन्नुपर्छ। सरकारी संवेदनहीनता र अनुत्तरदायी प्रवृत्ति यस प्रकरणको दुःखद पक्ष हो। बाबुराम मोर्चाको सरकारले न्यायका पक्षमा थालिएको आन्दोलनको उपेक्षा गर्नु अस्वाभाविक थिएन। दण्डहीनता अन्त्य गर्नु अप्रत्यक्षरूपमा बाबुराम प्रभृतिका लागि आत्मघातसरहै हो। अपराधीलाई सजाय हुने हो भने बाबुरामहरूमध्ये धेरै झ्यालखानामा बस्नुपर्छ। उनीहरू दण्डहीनताको अभ्यासलाई शासकीय संस्कारकै रूपमा स्थापित गर्न उद्यत् छन्। यसैले बाबुरामहरूले दण्डहीनताको अन्त्य गर्ने मागको उपेक्षा गर्दा उति चित्त दुखेको थिएन। (दुर्भाग्य, भोलिपल्ट त झन् सत्याग्रहीले प्रहरी दुर्व्यवहार सहनु परेछ ।) सत्याग्रहकै क्रममा बाबुराम भट्टराईको सरकार हटेर प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा नयाँ सरकार बन्यो। न्यायमूर्तिकै अध्यक्षतामा बनेको सरकारले दण्डहीनताको अन्त्यको माग राखेर गरिएको आन्दोलनप्रति कम्तीमा संवेदनशीलता देखाउला भन्ने लागेको थियो। बालुवाटार सत्याग्रहमा उठाइएका दुवै विषय - महिलामाथि हुने हिंसाविरुद्ध कडा कानुनी व्यवस्था र दण्डहीनताको अन्त्य - का पक्षमा नेपालको न्यायपालिका विशेष गरी सर्वोच्च अदालतले विगतमा सराहनीय अग्रसरता देखाएको छ। यस्ता कतिपय मुद्दामा त स्वयं रेग्मीले न्यायाधीशको आसनबाट अग्रगामी निर्णयहरू गरेका छन्। त्यसैले कम्तीमा पनि उनैको शासनमा ती विषयले प्राथमिकता पाउने आशा लागेको हो। राजनीतिक कारणले प्राथमिकता दिन नसके पनि उनले सत्याग्रहप्रति संवेदनशीलता देखाउन सक्थे। आफ्नै सरकारी निवासबाहिर बसेका सत्याग्रहीलाई भेटेर कानुन कार्यान्वयन गर्ने आश्वासनसम्म त दिन सक्थे। सत्याग्रहीहरूले भेट्न खोज्दासमेत उनले चासो नदेखाएको गुनासो छ। यतिमात्र हैन आजको कार्यक्रममा त अध्यक्ष रेग्मीले बालकृष्ण ढुंगेललाई भेटेको आरोपसमेत सार्वजनिकरूपमै लगाइयो। रेग्मीले ढुंगेललाई भेटेका हुन् भने त्यो कानुनी र नैतिक दुवै आधारमा अपराध हो। प्रधान न्यायाधीशको पद लियनमा राखेर मन्त्रिपरिषद्को अध्यक्षमा काजमा गएका व्यक्तिले फरार अपराधीसँग भेटघाट त नगर्नुपर्ने हो ! उनले भेट गरेका हैनन् भने यसको उचित स्पष्टीकरण जनसमक्ष दिनुपर्छ। भेटेका हुन् भने उनले नैतिकताकै आधारमा पद छाड्नुपर्छ। किनभने, बालकृष्णले आत्मसमर्पण गरेका छैनन्। माओवादी र मधेसी मोर्चा बालुवाटार सत्याग्रहका विरुद्ध छन्। सबैलाई थाहा छ। तिनैको पछि लागेका नेपाली कांग्रेस र नेकपा (एमाले) पनि दण्डहीनता र महिला हिंसालाई संरक्षण गर्ने पक्षमै हो? नत्र, तिनले किन मुख फोर्न सत्तै्कनन्? क्यासिनोका मजदुरहरूकाे झगडा हेर्न कांग्रेसको केन्द्रीय समितिले उपसमिति नै बनाएको थियो। तर, बालुवाटार सत्याग्रहमा उठाइएका यस्ता गम्भीर विषयमा पार्टीको धारणासमेत सार्वजनिक भएको थाहा पाइएको छैन। यस्ता दलहरूबाट लोकतन्त्रको रक्षा हुने अपेक्षा गर्नु सायद, शल्य सेनापति बनाएर महाभारत जित्ने दुर्योधनको आशाजस्तै हो। जेहोस्, यस सत्याग्रहले राजधानीका युवा वर्गलाई झकझक्याएको छ। यो सम्भवतः सुकैकै भए पनि माटो भेट्नेबित्तिकै पलाउने दुबो हुनेछ। हिंसाको संस्कृतिको अन्त्य चाहनेहरूले न्यायका लागि हुने अहिंसात्मक आन्दोलनलाई सहयोग र समर्थन गर्नुपर्छ। न्याय र अन्यायका बीचमा पनि तटस्थ बस्न खोज्नु अन्यायको पक्ष लिनु हो। अहिंसाको उपेक्षा गर्नु अप्रत्यक्ष हिंसालाई दुरुत्साहित गर्नु हो। यी सत्याग्रही युवा अहिलेको लक्ष्य प्राप्त गर्न सफल होऊन्। जीवनमा सधैँ सत्यका पक्षमा क्रियाशील रहनसकून्। यही शुभकामना!

Tuesday, April 2, 2013

बलमिचाहा संस्कार


बलमिचाहा संस्कार

नेपालको राजकाजमा अहिलेसम्म पनि बलमिचाहा संस्कार व्याप्त छ। ठूला भनिएका चार दलको बलमिचाइँविरुद्ध आवाज उठाउनेले पनि मतदाता नामावली संकलन गर्न गएको टोलीमाथि आक्रमण गरी तिनको सरसामान लुट्नु यही बलमिचाहा संस्कारकै उदाहरण हो। मतदाता नामावली संकलन गर्न नदिएर सरकारविरोधी ३३ दलले चुनाव हुन नदिएर मुलुकमा अस्थिरता बढाउन चाहने तत्त्वलाई नै प्रकारान्तरले जानीनजानी सहयोग पुर्याएका छन्। सरकारले तिनलाई वार्ताका लागि आह्वान गरेर सही काम गरेको छ। तर, आह्वानको औपचारिकतामा मात्र सरकारी प्रयास सीमित हुनुहुँदैन। 
चार दलको सिन्डिकेटविरुद्ध संघर्षरत् दलहरूले राष्ट्रपतिसँग मात्र वार्ता गर्ने भनेका छन्। राष्ट्रपतिसँग मात्र वार्ता गर्ने भन्ने तिनको जिद्दी सही होइन तर चार दलसँग वार्ता नगर्ने अडानलाई चाहिँ अनुचित भन्न मिल्दैन। राज्य सञ्चालनमा चार दलका नेताको हैकम हुनु नैतिक र राजनीतिक दुवै दृष्टिबाट न्यायोचित हुन सत्तै्कन। अहिले राजनीतिक दलहरू निर्वाचन गर्ने र नगर्ने पक्षमा विभाजित भएका छन्। निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने प्रत्याभूति गर्नु सरकारको दायित्व हो। निर्वाचनको अरू प्राविधिक व्यवस्थापन निर्वाचन आयोगले गर्ने हो। यसैले निर्वाचनमा भाग लिन आह्वान गर्नु चार दलका नेताको सदाशय मानिए पनि तिनले असन्तुष्ट पक्षका माग पूरा गर्ने अधिकार आफूसँग रहेको ठानेका हुन् भने त्यो अलोकतान्त्रिक र अनुचित दम्भमात्र हो। 
कार्यकारी अधिकार भएको मन्त्रिपरिषद्ले नै असन्तुष्टलाई सम्बोधन गर्नुपर्छ र निर्वाचनमा सकेसम्म व्यापक सहभागिता जुटाउने प्रयत्न गर्नुपर्छ। निर्वाचनका पक्ष र विपक्षमा विभक्त दुवै पक्षसँग वार्ता गर्ने जिम्मेवारी पनि सरकारकै हो। सरकार विफल भएका अवस्थामा राष्ट्रपतिले सहजीकरण गर्नुपर्छ। परिस्थितिवश आवश्यक भए वार्ताको पहल पनि गर्नुपर्छ तर त्यस अवस्थामा पनि मन्त्रिपरिषद्लाई पन्छाउन मिल्दैन। राष्ट्रपतिलाई अनुचितरूपमा पन्छाउन खोज्दा अहिलेको असहज अवस्था उत्पन्न भएको हो। मन्त्रिपरिषद्लाई उछिन्न खोजे अर्को अनर्थ हुनसक्छ। यसैले राजनीति गर्नेहरूले अहिले विचार पुर्यातउन आवश्यक छ। 
कुनै पनि पक्षले संयम गुमाएमा राष्ट्रियता नै संकटमा पर्नसक्छ। बाबुराम भट्टराईको शासनकालमा नेपाली राष्ट्रियता सम्भवतः सबैभन्दा कमजोर विन्दुमा पुगेको थियो। उनको बहिर्गमनले राष्ट्रियता र लोकतन्त्र बलियो हुने सम्भावना देखापरेको छ। माओवादी-मधेसी मोर्चालाई सत्तारुढ बनाउन अहिले नेपाल कम्युनिस्ट पार्टी - माओवादीमा रहेका राजनीतिकर्मीको पनि उत्तिकै हात छ। यसैले राष्ट्रियताको विषयमा साँच्चै नै संवेदनशील भए तिनले पनि पाप पखाल्नु आवश्यक छ। नियत सफा छ भने निर्वाचनमा भाग लिएर नेपाली राष्ट्रियताविरोधी शक्तिलाई कमजोर बनाउन सहयोग गर्नु नै तिनका लागि उपयुक्त प्रायश्चित हुनसक्छ। निर्वाचन हुनै नदिँदा राष्ट्रियता कमजोर बनाउन चाहने तŒवबाहेक अरू कसैलाई पनि लाभ हुने छैन।
पक्कै पनि चार दलको सिन्डिकेटले गैरसंवैधानिक शक्ति केन्द्रका रूपमा शासन गर्न खोज्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत प्रयत्न हो। प्रमुख भनिएका चार दल ठूला होलान्, तिनको देशव्यापी प्रभाव पनि होला। निर्वाचनपछि पनि उनीहरू नै निर्णायक हैसियतमा पनि पुग्लान् तर राज्यले अहिले सबै दललाई समान व्यवहार नगर्ने हो निष्पक्ष र स्वतन्त्र निर्वाचन हुन कठिन हुन्छ। निर्वाचनको मिति घोषणा हुनेबित्तिकै स्थानीय निकायमा हैकम चलाउने कथित सर्वदलीय संयन्त्र व्यवहारमा पनि भंग गरिनुपर्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि कानुनी अस्तित्व नभए पनि स्थानीय निकायको सञ्चालनमा मूलतः विकास बाँडेर खाने राजनीतिकर्मीहरूको त्यस्तो कथित संयन्त्र सक्रिय नै जो राखिएको छ। यस्तै नेकपा-माओवादीलगायत्का दलहरूले कथित संयन्त्रमा ठाउँ पाउन चार दलीय सिन्डिकेट राजको विरोध गरेका हुन् भनेचाहिँ त्यसलाई उचित मान्न मिल्दैन। अरू दललाई थप्ने हैन, राजनीतिक संयन्त्र नामको चार दलको सिन्डिकेट खारेज गरेमात्र निर्वाचनको साख बढ्छ।
सिन्डिकेटका चार दलमा बढी नै अहंकार देखिन थालेको छ। असन्तुष्टहरूलाई वार्तामा बोलाउँदा पनि प्रकारान्तरले त्यही अहंकार अभिव्यक्त भएको छ। तिनले त असन्तुष्टहरूसँग वार्ता गर्न सरकारलाई आह्वान गरेको भए पो उपयुक्त हुन्थ्यो। जे होस्, वार्ताका लागि तयार रहनुलाई भने सकारात्मकै मान्नुपर्छ। विडम्बना! पार्टीका नेता वार्ताको आह्वान गरे पनि तिनका 'लप्टन' हरू चाहिँ होच्याउने र हेप्ने भाषण गदर्ैै हिँडेका छन्। कसैलाई पनि हेपेर वा होच्याएर समस्या समाधान हुँदैन। पञ्चायतकालमा हुर्केको यस पुस्ताले निषेधको राजनीति देखे/भोगेकै हो। यीमध्ये केही त पञ्चायतविरुद्ध सक्रिय पनि भएका थिए। दुर्भाग्य, तिनले अहिले पञ्चायतकै सिको गरिरहेका छन्। यसैले चार दलका नेता साँच्चै नै चुनाव होस् र त्यसमा सबै दलले भाग लिउन् भन्ने चाहन्छन् भने निषेध र उत्तेजनामा रमाउने 'छुटभैया' लाई ठेगानमा राखून्! विशेषगरी, एनेकपा माओवादी र मधेसी मोर्चाका नेता असन्तुष्टहरूलाई होच्याउने भाषण गर्दै हिँडेका छन्। यिनलाई मोहन वैद्य र उपेन्द्र यादवले बहिष्कार गरे भने तिनको दलले धेरै भोट पाउनेछन् भन्ने लागेको हुनसक्छ। तर, यिनको यो चाहना बिरालाले 'घरका सबै मान्छे मरे भने तातो चुलामा आनन्दले सुत्न पाउने थिएँ' भनेजस्तो मात्रै हो। चेतना भया!
यता, अध्यक्ष खिलराज रेग्मीको मन्त्रिपरिषद्को १५ दिन खासै उत्साहप्रद रहेनन्। अनपेक्षित नयाँ भूमिकामा अलमल हुनु अस्वाभाविक पनि होइन। तर, अरू केही दिन यस्तै अल्याङटल्याङ गर्न थाले भने तिनको पनि विकल्प खोज्न थालिनेछ। यसैले अब निर्वाचनमा केन्द्रित भएर सक्रिय हुनु आवश्यक छ। यही सरकारले निर्वाचन गराउन सके मुलुकका लागि बढी लाभदायी हुनेछ। यति बेला राष्ट्रपति रामवरण यादवले पनि कार्यकारी भूमिकामा हस्तक्षेप नगरी सरकारलाई गतिशील बनाउने मार्गनिर्देशकको दायित्व पूरा गर्नुपर्छ। अलिकति पनि तल-माथि भयो भने इतिहासमा सबै कलंकित हुने त छँदैछ, मुलुककै अस्तित्व जोखिममा पर्नेछ। 
अराजक समाजवाद
लमहीबाट घोराही जानुपर्ने थियो। यात्रुबाहक मिनी बस, माइक्रो बस र जिप चल्दारहेछन् तर यात्रुले रोजेर जान नपाइने रहेछ। थोत्रो मिनी बसमा जान मन नलागेर त्यसपछिको जिपमा चढ्न खोजेको पाइएन। लमहीमा त मिनी बसमा जाँदै नजाने जिद्दी गरेर पनि जिपमा चढियो। त्यो जिपले दुईवटा मिनी बसलाई उछिन्यो। फर्कने बेलामा सिन्डिकेट राजको झन् कुरूप पक्ष भोगियो। सिट भरिए कोचिएर भने पनि तिनले खटाएकैमा चढ्नुपर्ने रहेछ। बुटवल, नेपालगन्ज आउने माइक्रोबसमा सिट भएर पनि आउन पाइएन। भाडा पनि समितिले नै तोकेर बढाउने गर्दोरहेछ। घोराही बजार क्षेत्रभित्र नजिकै जानेले तिनमा चढ्न नपाउने रे। टाढा जाने गाडी रित्तै भए पनि लमही जाने यात्रु लान नपाउने रे। यो नियम पनि तिनैले बनाएका हुन्। 
प्रचलित कानुनअनुसार सिन्डिकेट अवैध हुन्छ। त्यसको राज त झन् दण्डनीय नै हुनुपर्ने हो। तर, कानुन कार्यान्वयन गराउने प्रहरी र स्थानीय प्रशासनकै सहमा यस्तो अराजक अवस्था कायम छ। सेवा प्रदायक र उपभोक्ता दुवैले रोज्न नपाउने हो भने राज्यले कमजोर पक्ष अर्थात् उपभोक्ताको हित हुनेगरी नियमन गर्नुपर्थ्यो। यहाँ त प्रकारान्तरले राज्यले अराजकतालाई सह दिएको देखियो। पुँजीवादको प्रतिस्पर्धालाई अस्वीकार गरेर सबैलाई बराबर बनाउने नाममा कमजोर र बलियोलाई समान व्यवहार गर्ने यो व्यवस्था पनि समाजवादको कुरूप पक्ष हो। 
उदारवादमा नैतिकता र आत्मनियमनमा जोड दिइन्छ। पुँजीवादमा निर्मम नै सही प्रतिस्पर्धा हुन्छ र सेवा रोज्नसम्म पाइन्छ। तर यो आत्मनियमन, नैतिकता र आत्मानुशासनबिनाको अराजक समाजवादी प्रयोगले चाहिँ कमजोर वर्गलाई झन् दुर्बल बनाउने रहेछ। व्यवहारमा जस्तो भए पनि दर्शनमा लगभग यही पद्धति अपनाएको चीनमा शासक वर्ग अर्थात् कम्युनिस्ट पार्टी, जनमुक्ति सेना र प्रशासन तन्त्रका ठालुहरू धनी बन्ने क्रम संसारका चरम पुँजीवादी मुलुकहरूमा भन्दा निकै तीव्र रहेको छ। विलास र सम्पत्ति संग्रह दुवैमा चिनियाँ शासकहरूले संसारलाई उछिनेका छन् रे! 
शायद, हामी पनि त्यही अराजक समाजवादको दिशामा अगाडि बढ्दै छौँ। ठूला सबै दल समाजवादी (?) छन्। यतिमात्र हैन, नेपालका कथित बुद्धिजीवीबीच 'समाजवाद' शब्दप्रतिको 'सेक्स अपिल' अझै बाँकी छ। सबैभन्दा त जनतामै पनि समाजवाद चाख्ने रहर मरेको जो छैन। 

Wednesday, March 20, 2013

खुसीका क्षणहरू

१. सेवाको सन्तोष 

आज विश्व खुसी दिवस ( World Happyness Day)  हो रे ! जीवनमा सबैभन्दा खुसी भएका क्षणहरू सम्झन मन लाग्यो। यसो त ससाना घटनामा पनि खुसी हुने बालसुलभ बानी छ मेरो। रिस पनि छिटै उठ्छ र साम्य हुन्छ। रिसाउन्न भन्यो सक्तै सक्तिन। रिसलाई छाडौँ। कहिल्यै नर्बिसने खुसीका दुई क्षणहरू यहाँ प्रस्तुत गर्न मन लाग्यो। विसं २०४१/४२ तिर हुनुपर्छ। म तनहुँ रेडक्रसको सभापति थिएँ। मोतिबिन्दुका लागि आँखा शिविर सञ्चालन गर्ने निर्णय भयो। पोखराबाट डाकटरहरू आउने भए। हामीले बिरामीलाई खाने र बस्ने प्रबन्ध मिलाउनु पर्ने भयो। दमौली बजारमा चन्दा उठाइयो। अलिकति पैसा तनहुँ जिल्ला पञ्चायतले पनि दियो। कम्बल रेडक्रससँग थियो। परालमाथि कम्बल ओछ्याएर जिल्ला सभा गृहलाई आवास र उपचार कक्ष बनाइयो।   

अपेक्षा गरेभन्दा बढी नै बिरामी आए। धेरैजसा ६०-७० वर्षका थिए। अपरेसन गर्नुपर्ने जतिलाई भर्ना गरियो। पालैसँग डाक्टरहरूले अपरेसन गरे। डा. केशव अधिकारीले गरेको परिश्रम अझै सम्झन्छु। बिरामीहरू अधिकांश परिवारले हेपेका हेला गरेकामध्येका रहेछन्। अधिकांशले स्पष्ट देख्न छाडिसकेका थिए। धेरैका परिवारले त्यहाँ भर्ना गरेपछि छाडेर हिँडेका थिए। त्यसैले आँखाको अपरेसन गरेका ती बूढाबुढीको स्याहार पनि गर्नुपर्थ्यो। बूढाबुढीलाई दिसापिसाब गर्न पनि चौरसम्म लैजानुपर्थ्यो। केही साथीहरू स्वयंसेवकका रूपमा सेवारत थिए। म पनि तिनैसँग रातदिन त्यही बसेको थिएँ। आँखाको पट्टी खोल्ने दिन आयो। डाक्टरहरूले बिरामीलाई सोध्न  थाले - पहिले कस्लाई हेर्ने? बिरामीहरू कसैले डाक्टरकै मुख हेर्ने भने। कसैले सन्तानको नाम लिए। यस्तैमा एक जना बूढी आमाको पालो आयो। उनले भनिछन् - मलाई दिसापिसाब गराउने बाहुन नानीको मुख हेर्छु ! म अलि पर कसैलाई केही सम्झाउँदै थिएँ। मेरो स्वर चिनेर उनले संकेत गरिछन्। डाक्टरले मलाई बोलाएर ती आमाको पट्टी समाउन भने। अनि आमाले सबैभन्दा पहिले मेरो मुख हेर्न खोजेको जानकारी दिए। म हर्ष विभोर भएँ। अवाक् भएछु। गहभरि आँसु भए। मैले जीवनमा सबैभन्दा ठूलो पौरख गरेजस्तो आनन्द भयो। अनिदो, भोक, थकाइ सबै मेटिएजस्तो लाग्यो। खुसीको त्यो क्षण म कहिल्यै बिर्सन सक्तिन। 

२. डाक्टरको धर्म

मेरो ठूलो छोरा पवनलाई मेनेन्जाइटिस भएको थियो। उपचारपछि पनि राम्रो निको भएन। आँखा गडबड हुन थाल्यो। डा. उपेन्द्र देवकोटालाई देखाउन पाए हुन्थ्यो भन्ने लाग्यो। चिनेका अर्को बिरामीको पालोमा पवनलाई पनि लगेर देखाएँ। उनले बिरामी देख्नेबित्तिकै रोग चिने। तत्काल अपरेसन गर्नुपर्छ भने। वीर अस्पतालमा अपरेसन गर्नलाई उनले भर्ना गरिदिए। अपरेसन गर्ने दिनमा सबै तयारी गरियो। तर, नेपाल मेडिकल एसोसिएसनले त्यो दिन हडताल गर्न आह्वान गरेको रहेछ। बिहानै नेता टाइपका डाकटर आएर अपरेसन नहुने सूचना दिए। म आत्तिन थालेँ। बाबु पनि आत्तिइसकेको थियो। यस्तैमा ९ बजेतिर डाक्टर देवकोटा आए र अपरेसनको तयारीका लागि सामान किन्न भने। हडताली डाक्टरहरू पनि आए। देवकोटाले भने - २१ /२२ वर्षको एक जना युवक मर्ने बाँच्ने दोसाँधमा छ। तिमीहरू आफ्ना सानातिना मागका लागि उसको अपरेसन नगर भन्छौ। मेरा लागि यो अपरेसनभन्दा महत्वपूर्ण केही छैन। हडतालमा नैतिक समर्थन छ।  
अपरेसन सफल भयो।  छोरालाई घर लिएर आउने दिन झुलुक्क डा. देवकोटालाई देखेँ। उनलाई धन्यवाद भन्न खोजेको त हर्षले बोल्नै सकिन। उनले मेरो काँध थपथपाए र मुसुक्क हाँसेर भित्र पसे। त्यो क्षण म अहिले पनि सम्झन्छु ।