Tuesday, March 22, 2016

देउवाको तेस्रो 'ब्लन्डर'

घटनाले अडकलै गर्न नसकिने गरी देश, काल र परिस्थितिलाई प्रभावित गर्छ । अझ कुनै घटनाले त सोच्दै नसोचेको असर देखाउँछ । एमेजोनको जङ्गलमा एउटा पुतलीले पखेटा चलाउँदा उत्पन्न प्रभावले संसारको अर्को कुनै कुनामा आँधी आउनसक्छ रे । त्यसलाई ‘बटर फ्लाई इफेक्ट’ भन्ने गरिन्छ । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनको त्यस्तै विश्वव्यापी असर त पर्ला नपर्ला तर नेपालको राजनीतिलाई भने त्यसले बढी नै तरङ्गित बनाएको देखियो । महाधिवेशन सकिनेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको राजनीतिको केन्द्रमा स्थापित भएका छन् । विश्वेश्वरप्रसाद कोइरालाको देहावसानपछि कुनै बेला गणेशमान सिंह र कुनै बेला गिरिजाप्रसाद कोइराला यसरी नै राजनीतिको मियो बनेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि नेपालको राजनीतिलाई तरङ्गित बनाएका थिए तर गिरिजाप्रसाद कोइराला बाँचुन्जेल उनी एउटै मियो बन्न पाएनन् । गिरिजाबाबुको मृत्युपछि प्रचण्डको केन्द्रीय स्थान कायम रहेन । नेपाली कांग्रेसका सभापति त सुशील कोइराला पनि भएका थिए । सुशील त झन् प्रधानमन्त्री पनि भए । संविधान निर्माण उनकै नेतृत्वमा भयो । तैपनि, सुशील कोइराला अहिलेका देउवाजति नेपालको राजनीतिको केन्द्रमा थिएनन् । रामचन्द्र पौडेल वा कृष्णप्रसाद सिटौलाले सभापतिमा जितेका भए सायद यसरी राजनीतिक केन्द्रमा पुग्ने थिएनन् । अर्थात्, देउवाको व्यक्तित्वकै कारण उनी कांग्रेसको सभापति हुनेबित्तिकै राजनीतिको केन्द्रमा पुगेका हुन् । उनीप्रतिको आशा वा अपेक्षाका कारण देउवामा सबैका आँखा केन्द्रित भएका हैनन् । बरु, सत्ताका लागि जे पनि गर्ने पुरानो छविले गर्दा जनमानसमा उब्जेको एक प्रकारको सन्देहका कारण देउवा चर्चाको केन्द्रमा पुगेका हुन् ।
हुन पनि, राजनीतिमा शेरबहादुर देउवाको छवि भने खासै उज्यालो छैन । नेपालको संसदीय इतिहासमा भित्रिएको चरम विकृति उनको पहिलो प्रधानमन्त्री कालमा थालिएको थियो । सांसद किनबेचको त्यो अभ्यासले नेपालमा संसदीय व्यवस्था प्रकारान्तरले लोकतन्त्रमाथि नै वितृष्णा उत्पन्न गरायो । उनको दोस्रो कार्यकाल पनि विवादमुक्त रहेन । संकटकाल लम्याउन पार्टीले सहयोग नगरेको झोंकमा देउवाले राजा ज्ञानेन्द्रको लह-लहैमा चुनाव हुनै नसक्ने बेलामा प्रतिनिधि सभा भङ्ग गरिदिए । त्यही कारणले पार्टी फुट्यो । कांग्रेस कमजोर भएको मौका छोपेर राजा ज्ञानेन्द्रले देउवालाई नै अपदस्थ गरिदिए । नेपालका राजाले दोस्रोपटक लोकतन्त्र खोसे । गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा पुनःस्थापनाको माग राखेर सडकमा आन्दोलनको नेतृत्व गरिरहेका थिए । देउवा भने तिनै ज्ञानेन्द्रले न्याय गरेभन्दै टीके प्रधानमन्त्री बने । उनले रोजेको बाटो लोकतन्त्रको थिएन । त्यसैले पछिल्लोपटक राजाको टीके प्रधानमन्त्री हुनु वा नहुनुको खासै अर्थ थिएन । तर, पहिलो कार्यकालमा संसदीय पद्धतिप्रति नै वितृष्णा जन्माउने गरी विकृत अभ्यास सुरु गर्नु र दोस्रो कार्यकालमा राजालाई लोकतन्त्र खोस्न सजिलो पर्ने गरी चुनाव गराउनै नसक्ने अवस्थामा प्रतिनिधि सभा भंग गर्नु उनका ठूला गल्ती हुन् । उनले त्यसपछि पनि राजालाई साथ दिएका भए पछिल्लो गल्ती ‘लोकतन्त्रप्रतिको अपराध’ मानिने थियो । जनआन्दोलन निर्णायक नहुँदै उनलाई राजाले दोस्रो पटक बर्खास्त गरे । देउवा त्यसपछि भने आन्दोलनमा समाहित भए । यसले उनलाई कलङ्कबाट जोगिन सहयोग पुग्यो । नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा सभापतिमा विजयी भएपछि देउवा पार्टी फुटाएको दोषबाट पनि मुक्त भए । पार्टी फुटाएकोमा कांग्रेसकै नेता कार्यकर्ताले क्षमा गरिसकेपछि इतिहासबाहेक सायद त्यो अब अरूको टाउको दुखाइको विषय रहेन ।
देउवा : अब कता ?
शेरबहादुर देउवाले अब पनि पहिलो वा दोस्रो कार्यकालमा गरेकै गल्ती दोहो-याउँछन् भनेर ठोकुवा गर्नु उनलाई शंकाको सुविधा नदिनु हो । शंकाको सुविधाबाट कसैलाई पनि वञ्चित गर्नु अन्याय हुन्छ । यस्तै, देउवालाई तपस्याबाट खारिएका बाल्मीकि भइसकेको ठान्नु पनि मूर्खता नै हुनेछ । उनका आगामी क्रियाकलाप हेरेरमात्र निष्कर्षमा पुग्नु उचित हुन्छ ।
देउवाका क्रियाकलापमा सबैका आँखा केन्द्रित भएजस्तै उनका सामु चुनौती पनि चानेचुने छैनन् । नेपाली कांग्रेसको नयाँ कार्यसमितिको संरचना तथा व्यवस्थापन नै सम्भवतः देउवाका लागि सबैभन्दा ठूलो चुनौती र अवसर हुनेछ । यसैगरी सत्ताका लागि सिद्धान्त र व्यवहारमा समेत सम्झौता नगरी संविधानको कार्यान्वयनमा नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने दायित्व पूरा गर्नु देउवाका लागि अर्को कठिन चुनौती हो । नेपालको संविधान, २०७२ ले संस्थागत गरेका अग्रगामी परिवर्तनहरू गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताको कार्यान्वयनका क्रममा क्षेत्रीय, जातीय, धार्मिक साम्प्रदायिक तत्वलाई काबुमा राखेर अगाडि बढ्न देउवाले नेकपा (एमाले) एनेकपा (माओवादी) र मधेसी दलहरूको साथ लिनसक्नुपर्छ भने लोकतन्त्रलाई सुदृढ गराउन राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका परम्परावादी दलहरूलाई पनि विश्वासमा लिनसक्नुपर्छ । नेपाली कांग्रेस कम्युनिस्टहरूसँग मिलेर ससाना दलहरूको अस्तित्व नै समाप्त पार्ने पो हो कि भन्ने डर धेरैलाई परेको छ । पार्टीभित्रै पनि कांग्रेस कम्युनिस्टहरूसँग बढी लहसिएको मन नपराउनेको संख्या सानो छैन । त्यतिमात्र कतिपय परम्परावादी सोच हुनेहरू त नेपाली कांग्रेस माओवादीको पछि लागेको ठान्छन् । यस्तो अवस्थामा अब कता जाने ? भन्ने प्रश्नको उत्तर देउवाले छिटै दिनुपर्नेछ । उनका निकट सहयोगीमध्ये केही हिजैका दिन राम्रा ठान्नेहरू छन् । देउवाले प्रतिनिधित्व गर्ने भनिएका भारदार, जर्नेल र साहुजीहरू परिवर्तनलाई आआफ्ना पक्षमा मोड्न उनलाई प्रभावित पार्ने अगाडि सर्नेछन् । नेपालकै इतिहासमा ‘अग्रगामी छलाङ’ भन्नुपर्ने गरी भएको परिवर्तनलाई पचाउन धेरैलाई निकै कठिन भएको हुनसक्छ । तर त्यसो भन्दैमा अब देश र नेपाली समाज रोकिन वा पछाडि फर्किन त मिल्दैन ! अगाडि बढ्ने गतिलाई सन्तुलितसम्म बनाउन मिल्ला । यही सन्तुलन निकै चुनौतीपूर्ण हुनसक्छ ।
दललाई नयाँ दृष्टि
नेपाली कांग्रेसमा ‘नीतिबिनाको नेतृत्व’ हुन्छ भन्ने आरोप लाग्दै आएको छ । हुन पनि बीपी कोइराला र केही हदसम्म गणेशमान सिंहपछि कांग्रेसले वैचारिक नेतृत्व गरेको देखिएको छैन । पहिलो जनआन्दोलनपछि कांग्रेसले अपनाएको ‘क्वाँटी’ आर्थिक नीतिले मुलुकको भलो गरेको देखिएको छैन । केही ‘समृद्ध’ हुने र धेरै तन्नम बनाउने अहिलेको आर्थिक नीतिले असमानताको खाडल गहिरो र फराकिलो बनाउँदै लगेको छ । यसैगरी शिक्षा र स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा पनि विकासको प्रतिफलबाट सामान्य जनता वञ्चित भएका छन् । त्यतिमात्र हैन शिक्षाले त जनतालाई विभाजितै गरेको छ । यो विभेद रोक्न प्रभावकारी उपाय नअपनाए मुलुक झन् असमान र अशान्त हुँदै जानेछ । यस्तो अवस्था मुलुकको सबैभन्दा ठूलो पार्टीले टुलुटुलु हेरेरमात्र बस्यो भने सबैभन्दा ठूलो क्षति पनि त्यही दलले बेहोर्नुपर्ने छ । यसै पनि यो विभेदको भुइँफुट्टा अर्थतन्त्रबाट सबैभन्दा धेरै मर्का कांग्रेसको मताधार रहेको निम्नमध्यम वर्गका किसान र सहरका व्यवसायीलाई परेको छ । तिनलाई त्राण दिने उपाय नअपनाउने हो भने उनीहरूले कांग्रेसको साथ छाड्नेछन् । यसैले देशमा नयाँ आर्थिक सामाजिक दृष्टिकोणको खाँचो छ ।
वृद्धि र समृद्धिमा जोड दिने विकासको प्रचलित पुँजीवादी ढाँचाले जनताको हित गर्नसकेको छैन । यस्तै समान वितरणमा जोड दिने कम्युनिस्टहरूको अधिनायकवादी ढाँचा पनि अब स्वीकार्य हुँदैन । नेपाली कांग्रेसले त बीपीले कल्पना गरेको मानवतावादी विकासको युगसापेक्ष व्याख्या गरेर नयाँ विचार निर्माण गर्नुपर्छ । लोकतन्त्रलाई जनताको जीवनसँग जोड्न नसकिएका कारण अहिले भारदार, साहु र जर्नेल शासनमा प्रभावशाली भएका हुन् । राजनीतिक नेतृत्व जतिसुकै प्रभावशाली भए पनि किनाराको साक्षी हुने क्रममा बिलाउँदै जाँदो छ । अधिकांश नीतिगत निर्णय कर्मचारी तन्त्रले ठालुवर्गको हित हुने गरी गर्र्छ र गराउँछ । त्यसको दोष जति राजनीतिकर्मीमा थोपर्ने धुर्त्याइँ पनि यही समूहले गरिरहेको हुन्छ । यही क्रममा समृद्धिको होडमा पार्टीहरू राजनीतिक दलभन्दा बढी गिरोहहरूको (सिन्डिकेटहरू) महासंघजस्ता हुन पुगेका छन् । यस्ता दलहरूले परिवर्तनलाई जनताका पक्षमा उपभोग गर्न सक्तैनन् । यसैले नीतिगत परिवर्तनका लागि दलहरूको संरचना र स्वरूप पनि बदल्नुपर्छ ।
मानवतावादी शासन नै मूलतः लोकतन्त्रको अभीष्ट हो । बीपीले विशेषगरी २०३७ सालमा बहुदल हारेपछि दिएका भाषणमा मानवतावादी शासन र विकास अवधारणाको सूत्रहरू बताएका छन् । त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रम र दमौलीमा (?) भूतपूर्व सैनिकलाई सम्बोधन गर्दाको उनको भाषणले अहिले पनि कांग्रेसलाई मार्गदर्शन गर्न सक्छ । त्रिविमा ‘मरेको घोडालाई चाबुक नहान्ने’ भनेर बीपीले पछाडि फर्कने वा यथास्थितिमा रहने राजनीतिलाई अस्वीकार गरेका थिए । भूतपूर्व सैनिकहरूलाई गरेको सम्बोधनमा उनले अहिलेको सन्दर्भ मिलाउने हो भने नेपालको विकास श्रम प्रधान, अर्थव्यवस्था गुजारामुखी, आत्मनिर्भर र सामाजिक न्यायमा आधारित हुनुपर्छ भनेका थिए । यथार्थमा नेपालका लागि अहिले पनि साना, धान्न सकिने, जनजीवनसँग जोडिने विकास ढाँचामात्र उपयुक्त हुनेदेखिन्छ ।
नेताले समाजलाई ‘टेलिस्कोपिक’ र ‘माइक्रोस्कोपिक’ दुवै दृष्टिबाट नियालेमात्र सही निष्कर्ष निस्कन सक्छ । अर्कातिर, राजनीतिको प्रचलित शब्दावलीमा भनिने उदार लोकतन्त्रकै सेरोफेरोभित्र ‘मध्य दक्षिण वा मध्य वाम’ पन्थी नीति र कार्यक्रमबाट धेरै टाढा जानसक्ने अवस्था भूराजनीतिक कारणबाट पनि छैन । पुँजीवाद र उदारवाद बेग्लाबेग्लै हुन् भन्नेसम्म पनि कांग्रेसका नेताले छुट्याउन छाडिसकेका छन् । बजारमुखी पुँजीवाद पञ्चायतमै सुरु भएको थियो । यसबाट फाइदा थोरैलाई भयो भने समाजमा असमअनता धेरै बढ्यो । पञ्चायतले दरबारबाहेक अरू शक्ति केन्द्रको अस्तित्व स्वीकार गर्न नसक्ने हुनाले बजार शक्तिका रूपमा बहुदलपछिमात्र.स्पष्ट देखिन पुगेको हो । सामाजिक न्याय र उदारवाद एकअर्काका परिपूरक हुन् । कांग्रेसले अब पनि समाजवादी खोल ओडिरहनु जरुरी छैन । स्थापना कालमै जस्तो सामाजिक न्यायमा आधारित उदारवाद अपनाए सम्भवतः धेरै समस्याको समाधान निस्कन्छ ।
क्षेत्रीय आकांक्षाको सम्बोधन 
संघीयताले क्षेत्रीय विकासको चाहना र सम्भावना दुवै बढाएको छ । यसले स्वायत्तताको आंकाक्षा पनि सबै प्रदेशका जनतामा बढ्दै गएको छ । यो चाहना अझै बढ्नेछ । राष्ट्रिय दलहरूभित्र क्षेत्रीय आकांक्षालाई सम्बोधन गर्ने तत्परता देखाइएन भने अहिले तराईमा मात्र प्रभावशाली देखिएको क्षेत्रीय शक्ति बिस्तारै देशभर उदाउन सक्छ । कांग्रेस क्षेत्रीय आकांक्षा सम्बोधन गर्न तत्पर र समर्थ भएन भने क्षेत्रीय दलहरूको निर्माण तीव्र हुनेछ र त्यसमा कांग्रेसजनले नै नेतृत्व लिन सक्नेछन् । मधेसमा गजेन्द्रनारायण सिंह, महन्थ ठाकुरदेखि विजयकुमार गच्छदारसम्मले पार्टी छाडेजस्तै अवस्था उपत्यका, पहाड र हिमालमा पनि आउन सक्छ । त्यसलाई रोक्ने हो भने राज्य स्थानीय तथा क्षेत्रीय महत्वाकांक्षाप्रति बढी संवेदनशील र गम्भीर हुनुपर्छ । यसको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्छ । तर, देउवाको क्षेत्रीयता र स्वायत्तताप्रतिको प्रतिबद्धता सन्देहास्पद छ । जनचाहना बुझ्न र त्यसलाई शासनको मन्त्र बनाउन उनी कति तयार र सक्षम हुन्छन् त्यसले कांग्रेस र देशकै पनि भविष्यको निर्धारण गर्नेछ । पार्टीमा एकलौटी हैकम जमाउन खोजियो भने (देउवाभन्दा पनि उनका सहयोगीहरूबाट त्यसो हुनसक्ने जोखिम बढी छ ) स्थिति विष्फोटक हुनसक्छ । स्थानीय निकायको निर्वाचनमा उमेदवार चयन गर्ने क्रममै यसको परीक्षण हुनेछ । उमेदवार छनौट गर्दा स्थानीय चाहनाको उपेक्षा गरियो भने नेतृत्व विकास पनि हुनेछैन । त्यस अवस्थामा क्षेत्रीय दलको चाहना र खाँचो झन् बढ्नेछ ।
समानुपातिक प्रतिनिधित्त्व
यसैगरी पार्टीको निर्वाचनमा जनसंख्याअनुसारको प्रतिनिधित्व सुनिश्चित भएको छैन । क्षेत्रीबाहुन समुदायबाट लगभग दुई तिहाइ सदस्य जितेका छन् भने पूर्वाञ्चलबाट पनि त्यहाँको जनसंख्याका तुलनामा धेरै सदस्य (२६ प्रतशित) जितेका छन् । मधेसी, जनजाति, दलित र महिलाको प्रतिनिधित्व समानुपातिक हुनसकेको छैन । यस्तै कतिपय ठूलो जाति नै प्रतिनिधित्वबाट वञ्चित भएका छन् । निर्वाचनमा देउवाले गर्नसक्ने सायद धेरै थिएन । तर अब उनले मनोनयनको अधिकार प्रयोग गर्दा क्षेत्रीय र जातीय न्याय गर्न सक्नेछन् । अहिलेसम्म प्रतिनिधित्व हुन नसकेको चेपाङजस्तो आदिवासी समुदायको मात्र हैन मधेसी दलित महिलाको पनि कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व हुनुपर्छ । त्यसले कांग्रेसलाई सामाजिक न्यायका दिशामा उन्मुख त बनाउने छ नै अरू दललाई पनि अनुसरण गर्न कर लाग्नेछ।
नयाँ नेतृत्व विकास
सभापति देउवाले इतिहासमा आफूलाई ‘सक्षम’ प्रमाणित गर्ने हो भने पुराना समवयी सहयोगीको भन्दा नयाँ तरुण सहकर्मीहरूको साथ लिनु जरुरी हुन्छ । यसपटक नेविसंघका संस्थापकहरूदेखि २०३६, २०४६ र २०६३ का आन्दोलनबाट स्थापित नेताहरू केन्द्रीय समितिमा विजयी भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिमा खुला प्रतिस्पर्धाबाट विमलेन्द्र निधिमात्र स्थापित नेताका रूपमा उदाएका छन् । उनकै कोटीका अरू मधेसी नेता पार्टीमा अहिले देखिएनन् । यसैले देउवाले पदाधिकारी मनोनयन गर्दा निधिको महत्व र उपादेयतामा विचार पु¥याउनुपर्छ । मधेस आन्दोलनले धेरै ठूला नेताहरूलाई तानेका बेलामा पनि राष्ट्रिय पार्टी नछाडेर बसेको निधिको सिद्धान्त निष्ठा पुरस्कृत हुनु आवश्यक छ । यसैगरी नेविसंघका सबै पूर्व सभापतिहरूलाई विशेष जिम्मेवारी दिएर सक्रिय बनाउन सके देउवा कांग्रेसकै इतिहासमा कुशल संगठक सिद्ध हुनेछन् । यसै पनि देउवाका समवयी नेताहरूले उनलाई विधि र प्रक्रियामा समेत आपूmलाई सर पर्दामात्र सहयोग गर्ने हुन् । अब मनोनयन र जिम्मेवारी बाडफाँट गर्दा तरुणहरूलाई अगाडि बढाउन सके पार्टी र देश दुवैले नयाँ गति लिनसक्छन् ।
र अन्त्यमा,
सभापति देउवासामु सबैभन्दा ठूलो चुनौती भने सरकारै हो । उनले सत्ताका लागि लोकतन्त्र र राष्ट्रिय हितसँग सम्झौता गरे भने चरम व्यवहारवादीको कलङ्कबाट मुक्त हुनेछैनन् । अर्कातिर, मुलुकलाई अहिलेजस्तै गिरोहका हातमा कक्रक्क पर्न दिइराखे भने त्यो पनि देउवाको तेस्रो महाभुल मानिनेछ । अहिलेको सरकारमा कांग्रेस सामेल हुनु संसदीय धर्म र लोकतन्त्रको मर्मविपरीत हुन्छ । अहिलेको सिन्डिकेट राजको आयु जति लमिन्छ मुलुक उति विकृति र विसंगतिको दुश्चक्रमा फस्दै जान्छ । त्यसका लागि पनि इतिहासले देउवालाई क्षमा दिनेछैन । देशलाई अहिलेको गिरोह राजको चंगुलबाट मुक्त गर्ने तर सिद्धान्तहीन अनैतिक चलखेल नगर्ने दायित्व विक्रमादित्यको काँधमा चडेको बेतालका प्रश्नहरूभन्दा कम जटिल छैन । यसमा चुके भने यो देउवाको तेस्रो ब्लन्डर (महाभुल) हुनेछ र इतिहासले त्यसपछि उनलाई क्षमा र मौका दिनेछैन ।

No comments:

Post a Comment