Thursday, March 3, 2016

का‌ग्रेस अब कता ?

‘जो जिते पनि के भयो त ? आखिर जित्ने र हार्ने कांग्रेसैले हो ।’ चर्चामा आएका उमेदवारमध्ये जस्ले जिते पनि फरक पर्दैन भन्नेहरूको तर्क हो यो । नेपाली कांग्रेसका सामान्य मतदाता र शुभेच्छुकका लागि भने अनुहार हैन चार तारा र रुख कांग्रेस हो । व्यक्तिलाई तिनले खासै महत्व कहिल्यै दिएनन् । यसैले त २०१५ सालमा निर्वाचित सांसदमध्ये दुई तिहाइले पञ्चायतलाई समर्थन गर्दा वा पार्टीको केन्द्रीय समितिका महामन्त्रिलगायतका नेतामा आधाभन्दा बढीले पार्टी छाड्दा पनि विश्वेश्वरप्रसाद कोइरालाले भनेजस्तै-जहाँ बीपी, गणेशमानजी र किसुनजी रहे, कांग्रेस त्यही भयो । बीपीले नै पनि पार्टी छाडेर गएका भए पनि सायद उनी मातृकाबाबु वा बखान सिंहजस्तै हुनेथिए । पार्टी छाडेर जाँदा फाइदा हुने भए शेरबहादुर देउवा नै पनि किन फर्किन्थे होलान् र ? पोखरा महाधिवेशनमै सभापतिमा चुनाव लडेका देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएर सभापति भएकै थिए । पार्टी बेग्लै रहेको भए उनको पद अभैm केही वर्ष सुरक्षितै हुनेथियो । तर उनले बेलैमा थाहा पाए – चारतारा र रुख जहाँ हुन्छ कांग्रेस त्यहीँ हुन्छ ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशन पनि चुनावमै केन्द्रित र सीमित हुनेभयो । नेतृत्व हस्तान्तरणको बेला निर्वाचनमा बढी ध्यान जानु स्वाभाविक पनि हो । कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ट नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले महामन्त्रीसहितको प्यानल घोषणा गरेका छन् । कार्यवाहक सभापति पौडेलबाहेकका प्रत्याशीहरूले चुनावकै लागि नयाँ गठबन्धन गरेको देखिएको छ । कांग्रेसको पर्याय बन्न पुगेको कोइराला र सिंह परिवारका सदस्यहरूमाथि संस्थापनलाई जिताउने बढी नै दबाब परेजस्तो छ । सम्भवतः कार्यवाहक सभापति जो हुन्थ्यो शशांक कोइराला र प्रकाशमान सिंहको समर्थन उसैले पाउँथ्यो । कार्यवाहक सभापति उत्तराधिकारी हुुनु स्वाभाविक र प्राकृतिक पनि हो । सुजाता कोइरालामाथि सभापतिमा उमेदवारी नदिन परेको दबाबका पछाडि पनि संस्थापनको यही दायित्व बोधले काम गरेको हुनुपर्छ ।
कांग्रेस बन्न सजिलो छ तर हुन अप्ठरोे छैन । बीपीका छोरा चुनाव लड्दैछन् । उनका प्रतिद्वन्द्वीले आपूm बीपीको वैचारिक उत्तराधिकारी भएको दाबा गरेका छन् । यसो त कांग्रेसमा वंश परम्परा बलियै देखिन्छ । शिखरमा मात्र हैन तल्लो तहमा समेत ४ पुस्तासम्म निरन्तर पार्टीमा सक्रिय रहेका परिवार थोरै छैनन् । धेरै प्रतिनिधि गर्भे कांग्रेस छन् । यसैले बीपी, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाका सन्तानको समर्थन अवश्य पनि महत्वपूर्ण हुन्छ । नेपालमा मात्र किन संसारमै लोकतान्त्रिक राजनीतिमा यस्तो धेरै देखिएको छ । सायद, राजनीति वंशानुगत रोग हो । राजनीतिका कीटाणु धेरै नेताका सन्तानमा सरेको देखिन्छ । सफल हुनु नहुनु त लोकतन्त्रमा व्यक्तिको क्षमतामा भर पर्छ । अधिनायकवादी शासनमा पो सन्तानलाई आदेशका भरमा उत्तराधिकारी बनाउन सकिन्छ । पक्कै पनि बीपीका छोरा हुनाले डा. शशांक कोइरालालाई चुनाव जित्न सजिलो भयो होला । तर उनलाई मनोनीत गरेर स्थापित गरिएको त हैन । प्रकाशमान सिंहले गणेशमान सिंह बाँचुन्जेल त चुनाव पनि जितेका थिएनन् । पार्टीको महामन्त्री र संसद्मा चुनाव जितेका शशांक र प्रकाशमान क्षमताकै आधारमा स्थापित भएका देखिन्छन् । उनीहरूलाई पिताको नामले सजिलो भयो होला तर त्यसलाई धान्न आँफैले परिश्रम पनि गरेका छन् । यसैले शशांक र प्रकाशको उदय राजकुमारका रूपमा भएको भन्नु कुतर्कमात्रै हो ।
भागबन्डै दोहोरिने !
पार्टीको आन्तरिक निर्वाचनमा विद्यार्थी युनियनको निर्वाचनमा जस्तो समूह बनाउनु उचित होइन । यसले पार्टीलाई एक बनाउन सहयोग गर्दैन । यस्तो शैली कायम राख्नु गुट जोगाएर भागबन्डा गरिरहने धुत्र्याइँ हो । सभापतिबाहेक अरू पदमा पनि निर्वाचन गर्ने पार्टीको विधान त्रुटिपूर्ण छ । कांग्रेसका नेताभन्दा कम्युनिस्टहरूसँग मन र मत मिल्ने ‘तर्बुजा कांग्रेस’हरूले विधानलाई कम्युनिस्टहरूकै जस्तो बनाइदिए । सभापतिको मात्र निर्वाचन गर्नुपथ्र्यो जाधारित (मास बेस्ड) पार्टीमा । अनि बल्ल पार्टीलाई कुन दिशामा लैजाने वा कस्तो नीति अपनाउने भन्ने छलफल गर्न पनि मिल्थ्यो । वैचारिक आधारमा नेतृत्व चयन हुन्थ्यो । पार्टीले कुन विषयमा कस्तो नीति लिन्छ भनेर अनुमान गर्न सकिन्थ्यो । नेतालाई जनमुखी हुन कर लाग्थ्यो । अब एउटा समूहको सभापति र अर्को समूहको महामन्त्री चुनियो भने कसरी पार्टी सञ्चालन हुन्छ ? अगिल्लो कार्यसमितिले कामै गर्न सकेन । सुशील कोइरालामात्रै दोषी थिएनन् । महामन्त्री उनकै समूहबाट निर्वाचित भए पनि अरू कार्यसमितिले राम्ररी काम गर्नै सकेन । यस्तो गुटबन्दी र भागबन्डा सरकारमा समेत प्रतिविम्बित भयो । सुशील कोइरालाले आफ्नै पार्टीबाट मन्त्री हुनेहरू पनि सबै जना छान्न पाएनन् । केही देउवा समूहका र केही संस्थापन पक्षको भनेर भागबन्डा गर्नुप¥यो । पार्टी अभैm एक भएको रहेनछ । यसैले त अहिले पनि देउवा पक्ष र संस्थापन पक्षले आआफ्नै समूह बनाएर प्रतिस्पर्धा गरे । अर्थात्, अब पनि सभापति चुनिनेले काम गर्न पाउँदैनन् । सबैमा सधैँ भागबन्डा गर्नैपर्ने हुन्छ ।
परन्तु, इतिहास सोझो बाटामा मात्र हिँड्दैन । इतिहासका बाटामा त घुम्ती, उकालीओराली र मोड पनि हुन्छन् । अझ चौबाटो पनि हुन्छ । अलिकति बिरायो भने यता जान भनेर हिँड्दाहिँड्दै उता पुगिन्छ । बाटो बिराएका यात्रुले अन्ततः गन्तव्य नै बिर्सेको उदाहरण इतिहासमा बग्रेल्ती भेटिन्छ । नेपालको इतिहासमा अझ नेपाली कांग्रेसकै इतिहासमा यस्ता बाटो बिराएका यात्रु धेरै नै भेटिन्छन् । बाटो बिराउनेको पछि लाग्दा नियत नराम्रो नहुनेहरूले समेत गन्तव्य बिर्सेको उदाहरण खोज्न पनि अरू मुलुकको इतिहास पल्टाउन पर्दैन । यसैले ‘जो जिते पनि के भयो त ? आखिर जित्ने र हार्ने कांग्रेसैले हो’ भन्दा ठूलो अनर्थ हुनसक्ने जोखिम पनि उत्तिकै देखिन्छ ।
नेपाली कांग्रेसमा गिरिजाबाबु जीवित रहँदासम्म २००७ सालको क्रान्तिमा भाग लिएकै पुस्ताको नेतृत्व थियो । अहिलेसम्म नेपाली कांग्रेसका सभापति भएका मातृकाप्रसाद, बीपी, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला सबै २००७ सालको क्रान्तिका नायक हुन् । नेतृत्वमा निरन्तर रहे पनि सभापति नभएका गणेशमान सिंह त झन् १९९७ सालकै क्रान्ति नायक हुन् । विसं २००७ सालको जनक्रान्तिका सर्वोच्च कमाण्डर मातृका बाबुले पार्टी फुटाए, पञ्चायतको समर्थन गरे । राजालाई सघाउन एक पाइला दायाँ लागेका के थिए मातृका बाबु त्यही क्रान्तिको उपलब्धि संसदीय लोकतन्त्र समाप्त पार्ने राजाको चाहना पूरा गर्न सहयोगी बन्न पुगे । मातृका बाबुले सायद राजालाई सहयोग गर्दा प्रजातन्त्र खोस्ने मतियार बनिन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।
सुशील कोइराला यथार्थमा भारतमा जन्मेहुर्केका बीपी, किसुनजी, गिरिजाबाबु र नेपालमै राजनीति गरेका रामचन्द्र पौडेल, शेरबहादुर देउवाहरूको पुस्ताका बीचमा साँघु बनेका रहेछन् । अब त पूरै नेपालभित्रै र पञ्चायतकै पालामा हुर्केको पुस्तामा नेपाली कांग्रेसको नेतृत्व आउन लागेको छ । यद्यपि, २०४६ पछि हुर्केकाहरू पनि उल्लेख्य संख्यामा कांग्रेसमा स्थापित भइसकेका छन् । सुशील कोइराला २०१२ सालको वीरगन्ज महाधिवेशनबाट राजनीतिमा देखिएका थिए । पौडेल र देउवा मूलतः नेपाल विद्यार्थी संघबाट हुर्केका हुन् । यद्यपि, पौडेल शैलजा आचार्य, प्रदीप गिरीलगायत संलग्न प्रजातान्त्रिक युवा लिगमा पनि सहभागी थिए । जेठा भएकैले पनि पौडेल देउवाभन्दा राजनीतिमा वरिष्ठ हुनु अस्वाभाविक होइन । जेहोस्, नेपाली कांग्रेस संक्रमणको दोस्रो चरणमा प्रवेश गर्न लागेको छ । यसैले पनि ‘जो जिते पनि के भयो त ? आखिर जित्ने र हार्ने कांग्रेसैले हो’ भन्न कांग्रेसका कार्यकर्ता त के देशको भविष्यप्रति चिन्ता गर्ने कसैले पनि सक्ने र हुने देखिँदैन । दिनहुँ जसो सत्ताधारी दलकै नेताहरू नेपाली कांग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ भन्दैछन् । यसैले पनि स्पष्ट हुन्छ महाधिवेशनमा कांग्रेसले हार्नु हुँदैन ।
कांग्रेसको नीति र नेतृत्व
विपक्षीले नेपाली कांग्रेसको नेतृत्व चयनलाई ‘नीतिबीनाको नेतृत्व’ भनेर खिस्याउने गरेका छन् । झट्ट हेर्दा हो कि जस्तो पनि भान हुन्छ । तर, नेपाली कांग्रेसमा सधैँ नै नीतिगत भिन्नता पनि रहिआएकै देखिन्छ । कांग्रेसलाई एउटा समूहले पुँजीवादी परम्परावादी दलजस्तो बनाउन खोजेको देखिएको छ । अर्को समूह प्रगतिशील उदारवादको बाटोमा पार्टीलाई हिँडाउन चाहन्छ । यद्यपि, दुवै थरीले भन्न चाहिँ ‘लोकतान्त्रिक समाजवाद’ भन्ने गरेका छन् । कांग्रेसको स्थापनाकालको घोषणापत्र हेर्ने हो भने यो पार्टी सही अर्थमा सामाजिक न्यायमा विश्वास गर्ने उदार लोकतन्त्रवादी दल हो भन्ने स्पष्ट हुन्छ । बीपी कोइरालाका उत्तरार्धका आर्थिक सामाजिक तथा राजनीतिक विचारहरू बढी परिष्कृत छन् । तिनलाई केलाउने हो भने पनि कांगे्रस सामाजिक न्यायमा विश्वास गर्ने उदार लोकतन्त्रवादी दल देखिन्छ । कम्तीमा राष्ट्रियता र लोकतन्त्रका विषयमा सम्झौता नगर्ने दल हो भन्ने स्पष्ट हुन्छ । समाजवादीहरूको राष्ट्रियतासम्बन्धी सैद्धान्तिक धारणा र नेपाली कांग्रेसको मान्यता मिल्दैन । यस्तै ‘राष्ट्रिय मेलमिलाप’को सिद्धान्तले पनि कांग्रेसलाई समाजवादी खेमाबाट बाहिरै राखेको छ । वर्ग संघर्ष कांग्रेसको कहिल्यै अभीष्ट भएन । कांग्रेसलाई पुँजीवादी र समाजवादी देख्ने दुवै दृष्टि गलत हुन् । अहिले पनि नेपाली कांग्रेसको नेतृत्वमा पुग्न परम्परावादी र प्रगतिशील विचारकै बीचमा प्रतिस्पर्धा छ ।
बीपीको नामको खेती
बीपीको उत्तराधिकारी भएको (वंश वा विचार) उत्तराधिकारी भएको दाबी गर्नेहरूले बिरामी र विद्यार्थीसँग कर लिएर भ्याट ठग्ने व्यापारीलाई पोस्ने अर्थतन्त्रको विरोध भने गरेका छैनन् । यस्तो नीति बीपीले भनेजस्तो ‘भुइँफुट्टा वर्ग’को मात्र हितमा हुन्छ । नेपालमा अर्थतन्त्रको आकार बढाउनैका लागि भन्सारमा आधारित आर्थिक व्यवस्थालाई प्रोत्साहित गरिएको छ । कम्युनिस्टहरूलाई सुहाउने यस्तो प्रणाली उदारवादका नाममा चलाइँदा पनि विरोध नगर्नेहरूले बीपीको विचारको चर्चा नगरेकै बेस हुन्छ ।
बीपी वैदेशिक सहायताले विकासमा सहयोग गर्दैन बरु विकृति बढाउँछ भन्ने ठान्थे । राजा महेन्द्रले शीतयुद्धको फाइदा उठाएर पञ्चायत टिकाउन परिचालन गरेको वैदेशिक सहायता र पञ्चायतकै उत्तरार्र्धमा सुरु भएको वैदेशिक ऋणको परम्परा लोकतन्त्रपछिका दिनहरू निरन्तर रहे । यसले केही भौतिक विकास त भयो तर अहिले असमानता झन् गहिरो र फराकिलो भएको छ । जनसंख्याका आधारमा हेर्दा २०१७ सालका तुलनामा गरिब, निरक्षर र बेरोजगारको संख्या धेरै गुना बढेको छ । जनसंख्या वृद्धिका अनुपातमा नबढेकाले अंकशास्त्रीहरूले पछिल्ला दिनमा धेरै प्रगति भएको तर्क दिनसक्लान् तर विकासले त सबैलाई छुन सक्नुप¥यो नि ! अहिलेको शैलीको विकासले कमजोर, निमुखा वर्गलाई बाहिर पारेको छ ।
एफ्लुएन्जा ग्रस्त समाज र कांग्रेस
पहिलो पुस्ताका कम्युनिस्ट नेतामा खोटै लगाउनुपर्ने गरी आर्थिक कमजोरी देखिएको थिएन । दोस्रो पुस्ता र त्यसपछिका कम्युनिस्ट नेताहरू आर्थिक दृष्टिमा पनि बढी नै बदनाम भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जति नै आँखा चिम्ले पनि कम्युनिस्ट नेताहरूको जीवन शैली र सम्पत्तिले तिनको कथा बताएको छ । पुँजीवादी भनिने कांग्रेसका सभापति फकिरजस्ता थिए । अथाह सम्पत्ति भएका सुवर्ण शमशेरमा पनि पैसाको मोह थिएन । प्रतिफलको आशै नगरी उनले कांग्रेसका कार्यकर्ता पालेका थिए । बीपीको देहावसान भाइको घरमा भयो । गिरिजाबाबुको पनि काठमाडौंमा निजी सम्पत्ति थिएन । उनले धेरै समय भतिजाकै घरमा बिताएका थिए । सुशील कोइराला त झन् संसारकै सबैभन्दा कम व्यक्तिगत सम्पत्ति भएका प्रधानमन्त्री हुनपुगे । फकिरको जस्तो जीवन शैली भएका सुशीलको मृत्यु पनि योगीको जस्तो भयो । कृष्णप्रसाद भट्टराईको जीवन त झन् वास्तवमै फकिरको जस्तो थियो । अन्तिम समय उनले राज्यले दिएको आश्रममा बिताएका थिए । यस्ता नेताको पार्टीका कार्यकर्तामा भने अहिले ‘एफ्लुएन्जा’ व्याप्त छ । अंग्रेजीमा एउटा शब्द छ ‘एफ्लुएन्जा’ । धनी हुने व्यग्र चाहनाले रोगकै रूप लिनु ‘एफ्लुएन्जा’ हो । समाजमा यसले सबै नराम्रै त गर्दैन होला तर सामाजिक असमानता बढाउने कारक भने यो पनि हो । नेपाली समाजलाई पनि यो ‘समृद्धि रोग’ लागेको छ । एफ्लुएन्जा ग्रस्त समाज र दरिद्रताको संस्कृति व्याप्त शासकीय मानसिकताबीच सन्तुलन एवं संगति कायम गर्न सहज हुँदैन । शासनको शैली र संस्कृति परिवर्तन गर्न आवश्यक राजनीतिक नेतृत्वको अभाव सायद अहिलेको सबैभन्दा ठूलो समस्या हो । सुशील कोइरालाजस्ता फकिरहरू राजनीतिमा धेरै र प्रभावशाली भएको भए एफ्लुएन्जाको विस्तार कम गर्न सहयोग पुग्थ्यो ।
प्रगतिशील उदारवाद कि सामन्ती परम्परावाद ?
नेपाली कांग्रेस समाजको परम्परागत सामन्ती स्वरूपलाई कायमै राख्नेतर्फ लाग्ने कि त्यसको आधुनिक युगसापेक्ष प्रगतिशील रूपान्तरण गर्न अगुवाइ गर्ने भन्ने प्रश्नको निराकरण यही अधिवेशनले गर्नुपर्नेछ । समाज त स्थिर रहन वा पछाडि फर्कन सत्तैmन । कांग्रेसले सामन्ती संरचना जोगाउने पक्षलाई साथ दिए पनि नेपाली समाजको प्रगतिशील रूपान्तरण त हुन्छ, हुन्छ । अहिलेसम्मका आधुनिकतातर्पmका सबै यात्रामा अगुवाइ गरेकाले कांग्रेस नेपालको सबैभन्दा ठूलो र भरपर्दाे राजनीतिक शक्ति रहिरहन सकेको हो । समयलाई रोक्ने वा पछि घचेट्ने दुश्चेष्टा गरे कांग्रेस आँफै पछाडि पर्नेछ । यसैले नेपाली कांग्रेसको यस महाधिवेशनमा हुने हारजितमा कांग्रेसकै जित र हार हुन्छ ।
यसपटक धेरै तरुणहरू महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएर आएका छन् । उनीहरूले ६० नाघेका बूढाको नेतृत्व स्वीकार गर्नु परे पनि आफ्नो भविष्यलाई अँध्यारो बनाउन परम्परागत सामन्ती संरचनाका पक्षधरको साथ पक्कै दिनेछैनन् । किनभने, समाजबाट सामन्तवादको गहिरो जरा उखेलेर नफाले अहिलेको तरुण पुस्तामाथि पनि ‘चिल्ला गाडी’ चड्नेहरूले नै हैकम जमाउनेछन् । सामन्तवादको जरा उखेल्न पनि भुइँफुट्टाहरूलाई पार्टीको नेतृत्वबाट पन्छाउँदै जानुपर्छ । तर कांग्रेसले जितेर कांग्रेस हा¥यो भने मुलुककै लागि दुर्भाग्य सिद्ध हुनेछ । आशा छ, महाधिवेशन प्रतिनिधिले देशहितका लागि पनि विवेक प्रयोग गर्नेछन् र कांग्रेस नेतृत्वका दृष्टिले पनि प्रगतिशील उदारवादी दल बनिरहनेछ । अर्थात्, बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराईको बाटोलाई कांग्रेसले बिर्सनेछैन ।
नेपालको संविधान, २०७२ थोरै नै भए पनि अग्रगामी छ । यसको कार्यान्वयनका लागि प्रगतिशील उदारवादी नेतृत्व आवश्यक हुन्छ । कांग्रेसमा त्यस्तो नेतृत्व छानिएन भने देशको नेतृत्व अरूले नै गर्नेछन् । कांग्रेसलाई निर्णायक शक्ति बनाइराख्न प्रगतिशील उदारवादी नेतृत्व आवश्यक हुन्छ । यस्तै, अहिले देखिएको तडकभडक नेपाली कांग्रेस सुहाउँदो छैन । अपवित्र स्रोतको आर्जनमा निर्भर रहनेहरूको आचार र विचार पवित्र हुनसक्तैन । कांग्रेसको सुदृढीकरणको अनिवार्य आधार शुद्धीकरण हो ।
कांग्रेसको आत्मा बाँच्यो भनेमात्र कांग्रेस हार्दैन । कांग्रेसका मूल्य र मान्यताको मर्यादा रहेमात्र कांग्रेसले जित्छ । कांग्रेसको इतिहास कृष्णप्रसाद कोइरालासम्म पुग्छ । चन्द शमशेरलाई पार्सल गरेर पठाइएको ‘घेरोमात्र बाँकी रहेको टोपी र फाटेको भोटो’ लाई बिर्सने हो भने कांग्रेसको आत्मा पनि मेटिन्छ । यसैगरी बीपी कोइरालाको चेतावनी — ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा सुकिलामुकिला चिल्ला गाडी चड्नेहरू पार्टीभित्र हावी हुनेछन् । त्यसका विरुद्ध आम कार्यकर्ताले एक चोटि फेरि संघर्ष गर्नुपर्ने हुन्छ ।’ पनि सम्झनुपर्छ ।

No comments:

Post a Comment