Friday, October 9, 2015

बैगुनी मुलुक : भारत र बेलायत

कविशिरोमणि लेखनाथ पौड्यालले मानिस जातिलाई नै 'गुणको वैरी' भनेका छन् । नेपालीमा 'बैगुनीलाई गुनले मार्नू' भन्ने उखान पनि छ । समाजमा बैगुनीलाई पनि गुन लगाउने चलन नभएको भए उखान पक्कै बन्ने थिएन । यसैले सबै बैगुनी हुँदैनन् र गुनको बदला बैगुन गर्ने पनि हुन्छन् भन्ने मान्नु नै सही होला ।

चीनलाई संसारले एक्ल्याएका बेला पनि नेपालले सकेको साथ दिएको थियो । एक चीनको नीतिलाई सबै प्रमुख राजनीतिक शक्तिले विनासर्त अपनाएका छन् । चीनले पनि परेका बेला नेपाललाई सघाउँदै आएको छ । यसैले सबै बैगुनी हुन्छन् त कसरी भनौ ?
नेपालीले जुन जुन मुलुकका लागि रगत बगाएका थिए ती मुलुकहरू भने बैगुनी निस्के । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहीँ भनेका थिए — भारतले त्यस्तो कुनै युद्ध जितेको छैन जसमा नेपालीको रगत नबगेको होस् । हुन पनि बेलायतकै पालादेखि नेपालीले भारतका लागि रगत बगाउन थालेका हुन् । अहिलेसम्म पनि बगाइरहेका छन् । दुर्भाग्य, भारतले अहिले गुनको बदला नाकाबन्दी लगाएर तिरेको छ । अझ विसंगतिपूर्ण त के छ भने भारतका लागि रगत बगाउने पहाडी नेपालीविरुद्ध नाकाबन्दी लगाइएको छ । नाकाबन्दी ती मधेसीका लागि लगाइएको छ जस्ले भारतका लागि कहिल्यै रगत त के पसिनासम्म पनि बगाएका छैनन् ।
अर्को बैगुनी मुलुक हो बेलायत । नितान्त व्यक्तिगत प्रसङ्ग तर बैगुनी बेलायतको बदनियतको उदाहरण । एउटा बैठकमा भाग लिन दसैंका बेलामा स्विटजरल्यान्ड जानुपर्ने भयो । सोेचेँ यही बेला बेलायतमा भएका छोरी, ज्वाइँ, नाति र नातिनीलाई पनि भेटौँ । स्विस भिसा नेपालमै दिइन्छ र अत्यन्त सरल र भद्र व्यवहार गरिँदो रहेछ । दूतावासमा आयोजकले निम्ता पठाएका रहेनछन् । हामीले पनि हामीलाई आएको निम्ताबाटै काम चल्ला भन्ने ठानेका थियौँ । म एसिया, युरोप, अमेरिकाका केही मुलुकमा गएको छु । सन् १९९० मा चीन जाँदाबाहेक दूतावासमा आयोजकले पत्र पठाउने गरेको थाहा पनि थिएन । तर, अहिलेको प्रविधिले त्यो कुनै कठिन काम थिएन । दूतावासमा इमेल भोलिपल्ट आयो । भोलिपल्ट फोनबाटै सोधेर भिसा फारम बुझाइयो । अन्तर्वार्ता भयो । सबै कागजपत्र र छानबिनपछि उत्तिखेरै भिसा दिने निर्णय गरेर पैसा तिर्न र १ प्रति तस्बिरसहित राहदानी छाड्न भनियो । एक साता त लाग्यो तर अन्योल पनि रहेन र अप्ठेरो पनि भएन ।

स्विस भिसा हात नपर्दैदेखि बेलायतको भिसाको फर्म भर्ने तरखरमा लागेँ । झन्झटै झन्झट छ । अनलाइन फारम बुझाएपछि राहदानी जम्मा गर्न २२ सेप्टेम्बर दिउँसो १२:४० मा बोलाइयो । बेलायतको भिसा प्रशोधन प्रक्रिया एउटा कम्पनीको जिम्मा दिइएको छ । जटिलतम बनाइएकाले धेरै सामान्य नेपालीका लागि कठिन पनि छ । भिड पनि खासै थिएन । बरु स्विस भिसा माग्नेहरूको संख्या धेरै देखिएको थियो । पैसा स्विस भिसाको भन्दा दोब्बरभन्दा पनि बढी लिइयो । फर्म बुझाएँ । भिसाको निर्णय १५ 'वर्किङ डे'मा भइसक्ने लेखिएकाले राहदानी बेलैमा फिर्ता आउनेमा ढुक्क थिएँ । अक्टोबर ६ तारिखका दिन भिसामा निर्णय भइसकेको र राहदानी लिन सम्बन्धित ठाउँमा सम्पर्क राख्नु भन्ने बेहोराको इमेल आयो । तर लगातार ३ दिन गइसकेँ भारतबाट कुनै पनि कागजपत्र नआएको जानकारीमात्र दिइएको छ । अर्को शुक्रबारसम्म पनि आएन भने मलाई भिसा दिएकै भए पनि काम लाग्दैन । म स्विटजरल्यान्डको बैठकमा जान नपाए बेलायत पनि जान्न ।
भिसा दिनु नपर्ने कारण पनि खासै छैन । बेलायत गइसकेको हुनाले र सँगै बुझाएको राहदानीमा जापान, अमेरिका, युरोप गइसकेको पनि देखिने हुनाले ढुक्क नै छु ।
भिसा पाउनेमा उति शंका छैन तर १९ तारिखभन्दा पहिले राहदानी हात पर्ला कि नपर्ला भन्ने चिन्ता बढी छ । करिब दुई साता यता भारतबाट राहदानी फिर्ता आएकै छैन रे ! अर्को साता पनि आएन भने मेरो स्विस भिसा पनि खेर जान्छ । आउँछ नै भनेर ढुक्क हुने ठाउँ छैन । भारतमै गएर भए पनि राहदानी संकलन गर्ने भन्दै थिए केही । शनिवारको टिकट छ रे । म त त्यसो गर्ने पक्षमा छैन । सकेसम्म भारतमा टेक्नै नपरोस् । बरु, स्विस आयोजक र भिसा दिने स्विस दूतावाससँग विनम्र क्षमा याचना गर्नेछु । मेरा नातिनातिना र छोरीज्वाइँलाई यहीँबाटै आशीर्वाद दिनेछु । शुक्रबार बिदाबाहेक १५ दिन पुग्छ । बेलायतमा नातिलाई म पक्कै आउँछु भन्न सकेको छैन । आउन सक्तिन पनि भन्न सकेको छैन ।
संसारका धेरै मुलुकले नेपालीलाई यहीँ भिसा दिन्छन् । अमेरिकादेखि स्विटजरल्यान्डसम्मले यहीबाट भिसा दिएका छन् । हामीले केही दिन नसके पनि हामीलाई माया गरिरहने मित्र हो स्विटजरल्यान्ड । बेलायती र स्विस मित्रताको तुलना पनि हुँदैन । सायद, हाम्रो हित स्विसहरूजस्तै साना मुलुकसँगको सम्बन्धबाट बढी हुन्छ । तर, जस्का लागि नेपालीले रगत बगाए त्यो बेलायतले भने खर्च कटौतीका बहानामा नेपालीलाई दुत्कारेको छ, दुःख दिएको छ । बेलायतले यहाँको जातिवादी आन्दोलनका लागि गरेको खर्चको सानो अंशले नै भिसाको काम चल्थ्यो होला । त्यसो त बेलायतका तर्फबाट युद्धमै खटिएका गोर्खा सैनिकलाई त न्यायका लागि मुद्दै लड्नुपर्यो । तैपनि, उनीहरूमाथि भेदभाव भइरहेकै छ । त्यस्तो मुलुकले गुन सम्झला भन्ने चिताउनु पनि सायद उचित होइन ।
राहदानीको सोधखोज गर्न गएका दिन एक जना सांसद् भेट भएका थिए भिसाको ठेकेदारका ढोकामा । भन्दै थिए — हामीसँग जस्तो व्यवहार गर्ने हो हामीले पनि उस्तै व्यवहार गर्नुपथ्र्यो । हामीलाई 'एराइभल' प्रवेशाज्ञा दिए हामीले पनि दिने, ५ वर्षको दिए हामीले पनि त्यत्तिकै दिने । नदिनेलाई नदिने ।' किनेर ल्याउने तेल त तिमीले नदिए अन्तै किन्छौँ भन्न नसक्ने हुतिहाराले शासन गरेको मुलुकमा यति ठूलो सपना के देख्नु ?
बेलायतले नेपालमा थुप्रै अड्डा चलाएको छ । भिसाको आवेदन लिने र बुझाउने काम ठेकेदारलाई नै लगाए पनि नेपालबाटै दिने गरेमा कम्तीमा नेपालीले 'ह्युमिलिएसन' त सहनु पर्ने थिएन । भारतको साटो नेपालीको राहदानी पाकिस्तान वा बंगलादेश पठाएको भए पनि यति धेरै अविश्वास लाग्ने थिएन । भिसा आवेदन लिने र फिर्ता बुझाउने ठेकेदार कम्पनीका स्थानीय कामदार भारतीय नै होलान् । कतै तिनकै बेवास्ता वा अरू कुनै कारणले नेपालीलाई दुःख दिनैका लागि यस्तो विलम्ब गराइदिएको त हैन ? हैन होला तर भारतीयहरूको व्यवहार हेर्दा शंका त लाग्छ नै । भीएफएसका कर्मचारीका अनुसार भारतले भिसा लागेका राहदानी पनि फिर्ता ल्याउन नदिएपछि दिल्लीबाट दुबई लगेर काठमाडौं ल्याउन लागिएको छ रे ! नयाँ दिल्लीस्थित बेलायतको हाइकमिसनका अधिकारीले 'राजनीतिक समस्या' भनेर मानवीय पक्षलाई उपेक्षा गरे रे ! कुनै पनि जहाजले भारी ल्याएको छैन रे । नेपालको परराष्ट्र मन्त्रालयले चासो राखेकै छैन। कसैले निवेदन नदिउन्जेल छु मतलब ? एक जना विद्यार्थी छटपटीँदै थिए । भोलिको टिकट छ रे ! विश्वविद्यालयमा एकपटक थपिसकेकाले भर्ना हुने म्याद अब थप हुँदैन भनेर ।

दुष्टताको पनि हद हुन्छ नि ! डाँक त युद्धरत शत्रुले पनि रोक्तैनन् । यो भीएफएस ग्लोबलको पनि त जिम्मेवारी हो ।
नेपाल सरकारै नालायक भएपछि जनताका समस्यालाई वास्ता नगर्ने भएपछि जनताले हेपिनु र सहनु बाहेक अरू गर्नै पो के सकिन्छ र !
बेलायत सरकारले नेपाललाई दिने सहयोग कट्टा गरेर पनि भिसा यतैबाट दिने बन्दोबस्त मिलाए नेपालीको मान राखेजस्तो हुन्थ्यो । सामान्य जनताका लागि दूतावासकाे अर्थ भिसा न हो । भिसाको कारोबार चाहिँ नहुने हो भने दूतावासै पो किन चाहियो ? तर, बैगुनी बेलायतबाट पनि नेपालीको सम्मान हुने आशा छैन । आखिर यिनैले सिकाएर त भारतीयहरूले पनि हामीलाई हेप्ने र सताउने गरेका न हुन् !

No comments:

Post a Comment